काठमाडौं । सेयर बजारमा २१.१२ अंकको गिरावट आएको छ । बजार मापन गर्ने सूचक २१.१२ अंकले घटेर परिसूचक २६०९.५८ बिन्दु कायम भएको छ ।
बजारमा २१.१२ अंकको गिरावट आउँदा पनि अन्तिम १ मिनेटमा भने बजारमा ६ अंकको सुधार आएको छ । ३१६ कम्पनीको १ करोड १० लाख ९९ हजार २३९ कित्ता सेयर ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७६४ रुपैयाँको सेयर किनबेच भएको छ ।
कारोबारमा ६९ कम्पनीको सेयर मूल्य बढेको छ भने १७२ कम्पनीको घटेको छ ।
कारोबारमा माइक्रोफाइनान्स र अन्य समूहको उपसूचक बढेको छ भने बाँकी समूहको उपसूचक घटेको छ । यो दिन महिला लघुवित्त र आत्मनिर्भर लघुवित्त वित्तीय संस्थाको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ भने सपोर्ट माइक्रोफाइनान्स, नारायणी डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, जानकी फाइनान्स, सिन्धु विकास बैंकको सेयर मूल्यमा नकारात्मक सर्किट लागेको छ ।
कारोबार रकमका आधारमा प्रभु बैंक अग्रस्थानमा छ भने दोस्रो र तेस्रो स्थानमा जानकी फाइनान्स तथा एनआरएनए इन्फ्रास्टक्चर डेभलपमेन्ट बैंक छन् ।
सेयर बजारमा २१.१२ अंकको गिरावट, तीन विकास बैंकको मूल्यमा नकारात्मक सर्किट
सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै
काठमाडौँ । आज सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्दै छ । बिहानको ११ः३० बजे समितिको हलमा बैठक बस्ने भएको हो ।
बैठकमा समितिबाट सम्पादन भएका कार्यहरूको पुनरावलोकन तथा विविध सम्बन्धमा छलफल हुने संघीय संसद् सचिवालयले जानकारी दिएको छ ।
दक्षिण कोरिया जहाज दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुग्यो
काठमाण्डौं । दक्षिण कोरियाको मुआन अन्तर्राष्ट्रिय विमानस्थलमा १८१ जना सवार विमान दुर्घटनामा मृत्यु हुनेको संख्या ४७ पुगेको छ।
दक्षिण कोरियाली समाचार एजेन्सी योनहापले अधिकारीलाई उधृत गर्दै मृतकको संख्या ४७ पुगेको जानकारी दिएको हो। २ जनाको भने उद्धार गरिएको जनाइएको छ।
स्थानीय समयअनुसार आइतबार बिहान ९ बजे बैंककबाट आएको जेजु एयरको ७ सी २२१६ कलसाइनको जहाज मुआन अन्तर्राष्ट्रिय विमानस्थलभित्र दुर्घटना भएको थियो।
मुआनमा अवतरणका क्रममा धावनमार्गबाट चिप्लिएर जहाज पर्खालमा ठोक्किएको थियो। पर्खालमा ठोक्किएपछि जहाजमा आगो लागेको थियो।
आज त्रिविको ५०औँ दीक्षान्त समारोह, १४ हजार विद्यार्थी दीक्षित हुँदै
काठमाडौं । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले आज ५०औँ दीक्षान्त समारोह आयोजना गर्दैछ । आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा ५०औँ दीक्षान्त समारोह आयोजना गरिएको हो ।
समारोहमा यस पटक १४ हजार ३ सय आठ विद्यार्थी दीक्षित सहभागी हुँदैछन् । सोही संख्यामा अभिभावककोसमेत सहभागिता हुनेछ । गत वर्षभन्दा यस पटक दुई हजार भन्दा बढी विद्यार्थी दीक्षित हुने छन् ।
स्नातकतर्फ नौ हजार ६८, स्नातकोत्तर पाँच हजार ५५, एमफिलतर्फ ६३ र विद्यावारिधि(पिएचडी) तर्फ एक सय २२ जना विद्यार्थी दीक्षित हुँदैछन् ।
समारोहमा २०८० असारदेखि २०८१ असार मसान्तसम्म पास भएका ७४ हजार एक सय ४९ विद्यार्थीसहित ६२औँ ग्रेस लिष्टमा भएका विद्यार्थीसमेत दीक्षित हुँदै छन् । समारोहमा विभिन्न १७ वटा विधिका पुरस्कार वितरण गरिने छ ।
समारोहमा त्रिविका कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओली, त्रिविका सहकुलपति एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री विद्या भट्टराईलगायत विद्यार्थी र अभिभावकको सहभागी रहनेछ ।
सर्वोच्चका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन
काठमाण्डौं । सर्वोच्च अदालतका पूर्वन्यायाधीश प्रकाश वस्तीको निधन भएको छ।
काठमाडौँको नयाँबजारस्थित आफ्नै निवासमा गएराति हृदयाघातका कारण गएराति उनको निधन भएको हो।
हृदयघातपछि उनलाई थापाथलीस्थित नर्भीक अस्पतालमा लगिएको थियो, लानेबित्तिक चिकित्सकले मृत घोषणा गरेको पारिवारिक स्रोतले जनायो ।
७१ वर्षीय पूर्वन्यायाधीश वस्तीका श्रीमती, ३ छोरी र १ छोरा छन्। छोराछोरीचाहिँ अमेरिका बस्छन्। पूर्वन्यायाधीश वस्ती २०१० सालमा गोरखाको खोप्लाङमा जन्मिएका थिए।
उनी करिब ६ वर्ष सर्वोच्च अदालतको अतिरिक्त न्यायाधीश थिए । २२ भदौं २०६५ मा नियुक्त भएका उनी पदावधि नथपिएपछि २९ चैत, २०७० मा अस्थाथी न्यायाधीशबाटै अवकाश भएका थिए ।
दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको बालेनको आरोप
काठमाडौं । काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र शाह(बालेन) ले अहिले दुई तिहाइको सरकार भएपनि केही काम गर्न नसकेको आरोप लगाएका छन् ।
शुक्रबार काठमाडौंमा आयोजित प्रथम कोटेश्वर महोत्सव–२०८१ उद्घाटन समारोहमा बोल्दै उनले ५० औं वर्षदेखि जग्गाको समस्याका कारण मुआब्जा नपाएको भन्दै सरकारले काम प्रकृयामा छ भनेर झुटो आश्वासन मात्र देखाएको जनाएका हुन् ।
उनले भने,‘५० औं वर्षदेखि जग्गाको समस्यासमाधान भएको छैन् । त्यही कारण मुआब्जा प्राप्त भएको छैन् । यसपाली त बहुमत भएको दुई तिहाईको सरकार छ । त्यही पनि केही गरेको छैन् । कोही नेताले तपाईंहरुको काम प्रकृयामा छ । काम हुँदैछ भनेर आश्वासन दिन आउनुभएको छ भने नपत्याउनु होला । कुनै प्रोसेस भएको छैन् । केही काम भएको छैन् ।’
उनले सरकारले व्यक्तिको जग्गा लुटेर राखेको भन्दै अहिले सरकारमा प्रधानमन्त्री, गृहमन्त्रीदेखि अर्थमन्त्रीसम्म आफ्नै हुँदा पनि काम भएन भने कहिल्यै नहुने जानकारी दिए ।
उनले भने,‘सरकारले व्यक्तिको जग्गा लुटेर राखेको छ । यसको मुआब्जा दिन कुनै पनि प्रोसेस भएको छैन् । अहिलेको दुई तिहाईको सरकारले चाहेमा जे पनि गर्न सक्छ । गृहमन्त्री आफ्नै, अर्थमन्त्री आफ्नै, पैसा आफ्नै, स्रोत साधन आफ्नै, सबै आफ्नै, अझ वडा समिति पनि आफ्नै छ । अहिले पनि यो काम भएन भने कहिले पनि हुँदैन् ।’
सहकारी ठगी मुद्दामा रवि लामिछानेको बयान सकियो
काठमाण्डौं । सहकारी ठगी प्रकरणमा मुद्दा दर्ता भएपछि कास्की जिल्ला अदालतमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेको बयान सकिएको छ ।
जिल्ला न्यायाधीश नीतिज राईको इजलासमा लामिछानेको बयान सकिएको सूचना अधिकारी सुरज अधिकारीले जानकारी दिए ।
मुद्दा अन्तर्गत हालसम्म छविलाल जोशी, लिला पछाईं र रविको बयान सकिएको छ । अब नेचर हब्र्सका सञ्चालक रामबहादुर खनाल, पूर्वसांसद मीना गुरूङ, पूर्वकोषाध्यक्ष आरती गुरूङ, पूर्वसञ्चालक ललितबहादुर गुरूङ, पूर्वसञ्चालक कृष्णबहादुर गुरूङको बयान बाँकी रहेको छ ।
सबै प्रतिवादीहरूको बयान सकिएपछि मात्रै थुनछेक बहस र आदेश हुने अधिकारीले जानकारी दिए ।
लामिछानेमाथि सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणको आरोप छ । गत आईतबार लामिछानेसहित ४४ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर भएको थियो ।
एभरेष्ट बैंकद्वारा फिदिम र फुङलिङमा नयाँ शाखा बिस्तार
काठमाडौं । एभरेष्ट बैंकले फिदिम नगरपालिका वडा नं. १, पाँचथरमा १३०औं शाखा र फुङलिङ नगरपालिका वडा नं. ४, ताप्लेजुङमा १३१औं शाखाको शुभारम्भ गरेको छ ।
यी दुई शाखाको सञ्चालन पश्चात कोशी प्रदेशमा बैंकको शाखा संख्या २० पुगको छ । यससँगै देशभर छरिएर रहेका बैंकका सम्पूर्ण शाखा सञ्जालहरू मार्फत आफ्नो सेवा विस्तार गर्न सम्पूर्ण ग्राहकलाई सहज हुने विश्वास बैंकले लिएको छ ।
पंजाब नेशनल बैंक भारतसंग संयुक्त साझेदार रहेका यस बैंकले देशैभरी छरिएर रहेको आफ्नो १३१ शाखा संजाल, ४ एक्सटेन्सन काउण्टर, ७ प्रादेशिक कार्यालयहरु, १६७ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल, इन्टरनेट र एसएमएस बैंकिङ सुबिधा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३२ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको जनाएको छ ।
नेपालको डिजिटल सीपलाई अगाडि बढाउँदै सामसङ इनोभेसन क्याम्पस
काठमाडौं । आफ्नो विश्वव्यापी सीयसआर पहल सामसङ इनोभेसन क्याम्पस (एसआईसी) मार्फत सामसङ नेपालले नेपाली युवाहरूलाई सशक्तिकरण गर्न जारी राखेको छ ।
त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङ पुल्चोक क्याम्पसमा आयोजित समारोहमा आर्टिफिसियल इन्टेलिजेन्स (एआई) कोर्स पूरा गरेका ३० विद्यार्थीलाई प्रमाणपत्र प्रदान गरेको छ । यसका साथसाथै, कार्यक्रमले कोडिङ र प्रोग्रामिङ कोर्सको तेस्रो ब्याचमा प्रवेश गर्ने ६० जना विद्यार्थीहरूको पनि स्वागत गरेको छ ।
सन् २०२२ मा सुरु भएदेखि, एसआईसीले युवाहरुलाई चौथो औद्योगिक क्रान्तिको लागि आवश्यक सीपहरू प्रदान गरी भविष्यका लागि तयार हुने सामसङको “टुगेडर फर टुमरो १ इन्एबलिंग पिपल”को उदेश्यलाई अघि बढाउन निर्णायक भूमिका खेलेको छ । लगभग पाँच महिनाको दौरानमा सम्पन्न भएको यो एआई पाठ्यक्रम, उन्नत एआई अवधारणाहरू र व्यावहारिक अनुप्रयोगहरूमा केन्द्रित रहेको थियो ।
प्रमाणपत्र वितरण समारोहमा सामसङ नेपालका प्रमुख इन सु किम, त्रिभुवन विश्वविद्यालयका, पुल्चोक क्याम्पस त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफ इन्जिनियरिङका क्याम्पस प्रमुख डा. इन्द्रप्रसाद आचार्य, त्रिभुवन विश्वविद्यालयका रेक्टर प्राध्यापक खड्ग केसी र डिन प्रा.डां सुशील बी बज्राचार्यलगायतको उपस्थिति रहेको थियो ।
“सामसङमा ‘टुगेडर फर टुमरो इन्एबलिंग पिपल’ को हाम्रो उदेश्यले हामीलाई नवप्रवर्तन र शिक्षामार्फत युवाहरूलाई सशक्तिकरण गर्न प्रेरित गर्ने गर्दछ । यी विद्यार्थीहरूको समर्पण देखेर र उनीहरूको उपलब्धिहरू मनाउन पाउँदा हामीलाई गर्व लाग्छ । तिनीहरूले भविष्यमा सिर्जना गर्ने प्रभाव देखेर हामी उत्साहित छौँ,” इन सु किमले भने ।
कार्यक्रमको पाठ्यक्रमले एआई, आईओटि, बिग डाटा, र कोडिङमा उन्नत प्राविधिक प्रशिक्षण गर्नुको साथै समस्या समाधान र रचनात्मकता जस्ता आवश्यक सफ्ट–स्किलहरूलाई पनि जोड दिन्छ । यस इनिसिएतिभको एक अद्वितीय पक्ष यसको प्र्यक्तिकल एप्लीकेसन खण्ड हो, जहाँ विद्यार्थीहरूले उनीहरूले सिकेका प्रविधिहरू प्रयोग गरेर वास्तविक–विश्व मुद्दाहरूलाई सम्बोधन गर्छन् ।
त्रिभुवन विश्वविद्यालय इन्स्टिच्युट अफइन्जिनियरिङका डीन प्रा.डा. सुशील बी बज्राचार्यले कार्यक्रमको परिवर्तनकारी प्रभावलाई उल्लेख गर्दै भने, “एआई पाठ्यक्रमको सफल समापन हाम्रा विद्यार्थीहरूलाई यस कार्यक्रमले ल्याएको ठूलो मूल्यको प्रमाण हो । नेपालको युवाहरूमा नवप्रवर्तनलाई बढावा दिन सामसङको प्रयासलाई गहिरो सराहना गरिन्छ, र हामी निरन्तर सहयोगको लागि तत्पर छौँ ।”
आगमन ब्याचको लागि डिजाइन गरिएको कोडिङ र प्रोग्रामिङ पाठ्यक्रमले विद्यार्थीहरूलाई एल्गोरिदम, डेटा संरचना र वास्तविक संसारको प्रोग्रामिङमा आधारभूत र उन्नत ज्ञान प्रदान गर्नेछ । यस पहलको उद्देश्य नेपालमा एक बलियो नवप्रवर्तन इकोसिस्टमको पालनपोषण गर्नु हो, जसले विद्यार्थीहरूलाई विकसित डिजिटल परिदृश्यमा फस्टाउन तयार पार्नेछ ।
शिक्षा र नवप्रवर्तनप्रति निरन्तर प्रतिबद्धताले सामसङको दिगो, सकारात्मक परिवर्तन सिर्जना गर्ने विश्वासलाई जोड दिने कम्पनीले जनाएको छ । सामसङ इनोभेसन क्याम्पस जस्ता पहलहरू मार्फत कम्पनीले नेपाल र नेपाल बाहिरका लागि उज्यालो भविष्य निर्माण गर्न नयाँ पुस्ताका आविष्कारकहरूलाई सुसज्जित गरिरहेको छ ।
३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज
काठमाडौं । नेपाल राष्ट्र बैंकले ३ रेमिट्यान्स कम्पनीको लाइसेन्स खारेज गरेको छ । केन्द्रीय बैंकले भाटभटेनी मनी ट्रान्सफर, नमस्ते रेमिट इन्टरनेसनल र मोडर्न रेमिटको लाइसेन्स खारेज गरेको हो ।
यी कम्पनीसँग कसैले लिनुदिनु बाँकी भए ३५ दिनभित्र राष्ट्र बैंकलाई सम्पर्क गर्न भनिएको छ । यदी त्यसो नगरेमा यी कम्पनीको बैंक जमानत जफत हुने जनाईएको छ ।