काठमाडौं । काठमाडौंको स्वर्णलक्ष्मी सहकारीको बचत अपचलनको मुद्दामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको थुनछेक बहस आजदेखि सुरू हुनेछ।
काठमाडौं जिल्ला अदालतमा न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासमा लामिछानेलाई पुर्पक्षका लागि थुनामा पठाउने कि धरौटीमा छाडेर मुद्दा लड्न दिने भन्नेबारे सरकारपक्ष र विपक्षी वकिलहरूबीच बहस हुनेछ।
आइतबार लामिछानेको बयान लम्बिएपछि थुनछेक बहस हुन सकेन। त्यसपछि न्यायाधीश अधिकारीले लामिछानेलाई प्रहरीको जिम्मा लगाएको थियो। उनी काठमाडौं प्रहरीको हिरासतमा छ। प्रहरीले नै उनलाई थुनछेक बहसमा अदालत उपस्थित गराउनेछ।
आइतबार थुनछेक बहस नहुने भएपछि रवि लामिछाने र उनका वकिलहरूले प्रतिवादी आफै अदालतमा हाजिर हुन आएकाले परिवारको जिम्मा लगाउन माग गरेका थिए।
न्यायाधीश अधिकारीले थुनछेक नभएका कारण मुद्दा हेर्दाहेर्दैमा परेको र हेर्दाहेर्दैमा परेका मुद्दाका प्रतिवादीलाई परिवारको जिम्मामा छाड्ने नजीर नरहेको जनाउँदै लामिछानेलाई प्रहरी परिसर काठमाडौंको जिम्मा लगाएका हुन्।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा सरकारी वकिलको कार्यालय पुस २१ गते लामिछानेसहित ३९ जनालाई प्रतिवादी बनाएर मुद्दा दायर गरेको थियो। यो मुद्दामा एक अर्ब १९ करोड ४९ लाख २१ हजार २७० रूपैयाँ बिगो माग गरिएको छ ।
लामिछाने र उनी र गोर्खा मिडियाका तत्कालीन सञ्चालक जिबी राईको हकमा पाँच करोड ८ लाख ६९ हजार ६ सय ३३ रूपैयाँ संयुक्त बिगो मागदाबी गरिएको छ।
सोही मुद्दामा प्रतिवादी रहेका सुनिता नेवा र कमल लामा धरौटीमा रिहा भइसकेका छन्।
काठमाडौं अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि
आजदेखि स्वस्थानी व्रतकथा, साँखुमा शालीनदी मेला
काठमाडौं । वैदिक सनातन परम्पराअनुसार आफ्नो वरिपरिका देवीदेवतालाई पुज्न नेपालमा चन्द्रमास अनुसार माघ महिनालाई विशेष रुपमा छुट्याइएको छ ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्मको एक महिने अवधिमा नेपालका विभिन्न शक्तिपीठको पूजा आराधना गरिन्छ । ती स्थानमा सतीदेवीको अङ्ग पतन भएपछि देवीदेवताको बास रहेको विश्वासका आधारमा यो परम्परा सुरु भएको हो । आजदेखि वैदिक सनातन धर्मावलम्बीले विधिपूर्वक माघ स्नान, स्वस्थानी व्रत एवं कथा वाचन सुरु गरेर पूजा आराधना सुरु गर्दै छन् ।
धेरैजसो महिलाले यो व्रत बस्ने गर्छन् । नेपालमा गरिने स्वस्थानी व्रतकथाका विषयमा विद्यावारिधि शोध गरेकी अमेरिकी नागरिक जेसिका भेन्तिन बिर्केनहोल्ज यो परम्परा दक्षिण एसियाकै अरु देशमा नभेटिएको जनाउँछिन । जेसिका हाल अमेरिकाको इलिनोय विश्वविद्यालयमा धर्म विषयको उपप्राध्यापकका रुपमा कार्यरत छन् ।
पौष शुक्ल पूर्णिमादेखि माघ शुक्ल पूर्णिमासम्म एक महिना स्वस्थानी व्रत र माघ स्नान गरिन्छ । पौष शुक्ल चतुर्दशीको दिन हात गोडाका नङ काटी स्नान गरी शुद्ध वस्त्र पहिरिएर यसको सुरुवात् हुन्छ । बिहान माघ स्नान गरी मध्यान्हकालमा महादेवको पूजा आराधना गरिन्छ । बेलुकी स्कन्द पुराणको केदार खण्ड अन्तर्गत माघ माहात्म्यको कुमार अगस्त्यबीच संवाद भएको स्वस्थानी व्रत कथा सुन्ने सुनाउने परम्परा छ ।
एक महिनासम्म यो विधिबाट व्रत गरी माघ शुक्ल पूर्णिमाका दिन १०८ जनै, १०८ सुपारी, १०८ पान, १०८ फूल, १०८ रोटी, १०८ अक्षता विभिन्न थरीका फलफूल, धूप, बत्ती, नैवेद्य, श्रीखण्ड, रक्तचन्दन, सिन्दूर, वस्त्र, भेटी चढाई व्रतको कामना पूर्ण होस् भनी भगवतीलाई अघ्र्य दिइन्छ ।
आफू बसेको स्थानकी देवी देवताको पूजा गर्नु नै स्वस्थानी पूजा हो । उत्तरायणपछिको समय ध्यान योग साधनाका लागि उपयुक्त भएकाले स्वस्थान अर्थात् आफ्नो आत्मामा सम्पर्कको अभ्यास गर्नुलाई स्वस्थानी भनिएको विश्वास पनि छ ।
सुवर्ण वर्णकी, त्रिनेत्रधारी, प्रसन्न मुद्रा भएकी, कमल र सिंहासनमा बसेकी, चार हात भएकी देवीलाई स्वस्थानी देवी भनी स्कन्द पुराणमा उल्लेख गरिएको धर्मशास्त्रविद् एवं नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका सदस्य प्राडा देवमणि भट्टराईले जानकारी दिए ।
देवीको विधिपूर्वक व्रत गरेमा बिछोड भएका जोडीको पुनःमिलन हुन्छ भन्ने विश्वास छ । रोग व्याध लागेको भए ठीक हुने र पति वा पत्नीका रुपमा कसैलाई इच्छाएको भए प्राप्त हुने कथासमेत प्रचलित छ ।
सत्य युगमा हिमालय पर्वतकी पुत्री पार्वतीले महादेवलाई पति पाऊँ भनी विष्णुको निर्देशानुसार स्वस्थानीको व्रत गरेको कथा स्वस्थानीमा वर्णन गरिएको छ ।
यसैबीच, यस अवसरमा आजैदेखि एक महिनासम्म उपत्यकाको उत्तर पूर्वीभेगस्थित १८ किमीको दूरीमा रहेको साँखुस्थित शालिनदीमा माघस्नान सहित माधवनारायणको मेला सुरु भएको छ ।
‘माघ महिनामा यहाँ आई स्नान गरेर माधवनारायणको दर्शन गरेमा पाप पखालिई पुण्य कमाइने धार्मिक विश्वास छ, यहाँ प्रत्येक वर्ष लाखौँ भक्तजन आउने गर्छन्,’ साँखुको ऐतिहासिक, धार्मिक, पुरातात्विक, सांस्कृतिक र पर्यटकीय विषयमा अनुसन्धानरत इतिहासकार प्रकाश श्रेष्ठले भने ।
शालीनदीमा लाग्ने मेलाको सबै तयारी पूरा भएको मेला व्यवस्थापन समितिले जनाएको छ ।
कुलमान घिसिङले बुझाए स्पष्टीकरणको जवाफ
काठमाडौं । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले स्पष्टीकरण बुझाएका छन् । घिसिङले आइतबार ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा स्पष्टीकरणको जवाफ बुझाएका हुन् ।
गत सोमबार ऊर्जा मन्त्रालयले घिसिङलाई नौबुँदे स्पष्टीकरण सोधेको थियो । मन्त्रालयले सात दिनभित्र जवाफ दिन भनेको थियो ।
आफ्नो निर्णयमा साथ नदिएपछि ऊर्जामन्त्री दीपक खड्काले घिसिङलाई हटाउने तयारीका साथ सातदिने स्पष्टीकरण सोधेका थिए । खड्काले आफ्ना सचिव सुरेश आचार्यमार्फत ‘तपाईंको नियुक्ति किन अन्त्य नगर्ने ?’ भन्दै सात दिनभित्र स्पष्टीकरण बुझाउन पत्राचार गरेका थिए ।
स्पष्टीकरणमा कार्यसम्पादन प्रभावकारी नभएको, मन्त्रालयले माग गरेको १५ बुँदे विवरण समयमै उपलब्ध नगराएको, उपलब्ध गराएको विवरण पनि अपुरो र खोजेजस्तो नभएको जिकिर लिँदै जवाफ दिनू भनिएको थियो ।
त्यसका अतिरिक्त छबुँदे विवरणमा सत्यरतथ्य लुकाई वस्तुनिष्ठ, यथार्थपरक जवाफ नपठाई केवल औपचारिकता मात्र निर्वाह गर्ने ढंगको असन्तुलित जवाफ पठाएको अभियोग पनि घिसिङमाथि लगाइएको थियो । सँगै माइन्युटमा ‘नोट अफ डिसेन्ट’ लेखेको, कार्यसम्पादन पुनरवलोकन (रिभ्यू) नगराएको, कार्यसम्पादनमा ५० प्रतिशतकम अंक ल्याएको, असहयोगी भूमिका खेलेको प्रश्न सोधिएको थियो ।
घिसिङले कार्यसम्पादन विवरण शुक्रबार बुझाएका थिए ।
स्पष्टीकरण चित्त नबुझे मन्त्रालयमा प्रस्ताव लगेर घिसिङलाई हटाउने मन्त्री खड्काको तयारी छ ।
रवि लामिछानेलाई प्रहरी हिरासतमा लगियो
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई प्रहरी हिरासतमा लगिएको छ ।
काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले उनलाई न्यायिक हिरासतमा पठाउने आदेश दिएसँगै हिरासत लगिएको हो ।
स्वर्णलक्ष्मी सहकारी ठगी प्रहरणमा आज उनको बयान लिएको छ । थुनछेक बहस नभ्याइएकाले उनलाई न्यायीक हिरासतमा पठाउन इजलाले आदेश गरेको हो ।
उनी आज बिहान आफै अदालतमा उपस्थित भएका थिए।
साल्ट ट्रेडिङ कर्पोरेसनले १० प्रतिशत लाभांश दिने
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेसनले लाभांश घोषणा गरेको छ ।
शुक्रबार बसेको कम्पनी सञ्चालक समितिको बैठकले गत आवको नाफाबाट १० प्रतिशत लाभांश दिने प्रस्ताव गरेको हो ।
यो प्रस्ताव आगामी साधारणसभाले पारित गरेपछि सेयरधनीले पाउनेछन् ।
नेपाल टेलिकमको साधारण सभाबाट लाभांश पारित
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को सत्रौँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ ।
राष्ट्रिय सभा गृह, प्रदर्शनी मार्ग, काठमाडौंमा सम्पन्न भएको साधारणसभाले आर्थिक वर्ष २०८०।८१ को मुनाफा रकम मध्येबाट प्रतिशेयर ३० रुपियाँका दरले शेयरधनीहरुलाई नगद लाभांश वितरण गर्ने प्रस्ताव सर्वसम्मत पारित गरेको छ ।
साधारणसभामा करिब ९१.६२ प्रतिशत शेयरको प्रतिनिधित्व गर्ने शेयरधनीहरुको उपस्थिति रहेको थियो । उक्त सभाले आर्थिक वर्ष २०८०।८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदन सहित २०८१ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह विवरण तथा अन्य अनुसूचीहरु उपर छलफल गरी सर्वसम्मतले पारित गरेको छ ।
यसैगरी साधारणसभाले महालेखा परीक्षकको कार्यालयको परामर्श तथा कम्पनीको लेखापरीक्षण समितिको सिफारिस बमोजिम आव २०८१, ८२ को लागि कम्पनीको लेखा परीक्षण गर्न चार्टर्ड एकाउन्टेन्टद्वय नरेन्द्र भट्टराई र प्रकाशजंग थापालाई लेखापरीक्षक नियुक्त गर्नुका साथै पारिश्रमिक समेत तोकेको छ ।
सो अवसरमा कम्पनी सञ्चालक समितिका अध्यक्ष एवं सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव राधिका अर्यालले साधारणसभामा उपस्थित शेयरधनीहरुलाई स्वागत गर्दै कम्पनीको सत्रौँ वार्षिक प्रतिवेदन पेश गरेकी थिइन् ।
प्रतिवेदन प्रस्तुत गर्दै उनले यस क्षेत्रमा रहेको तीव्र प्रतिष्पर्धि वातावरणमा मुनाफाभन्दा बढी सेवाभावलाई उच्च प्राथमिकतामा राखी भौगोलिक रुपले अति विकट तथा दुर्गम क्षेत्रमा सेवा विस्तार तथा वितरण गर्दै डिजिटल नेपाल बनाउने नेपाल सरकारको अवधारणामा सहयोग गर्ने, विद्युतीय सुशासनको क्षेत्रमा सदा झैं थप सहयोगी भूमिका निर्वाह गर्ने तथा अप्टिकल फाईबरको माध्यमबाट सूचना महामार्ग निर्माण गरी डिजिटल डिभाइड कम गर्ने तर्फ कम्पनीले आफ्ना कार्यक्रमहरुलाई परिलक्षित गरिरहेको जनाईन ।
समीक्षा अवधिमा कम्पनीको २ करोड ३० लाखभन्दा बढी सन्तुुष्ट ग्राहक पुगेको उल्लेख गर्दै अध्यक्ष अर्यालले भनिन्, ‘आन्तरिक तथा बाह्य वातावरणमा देखिएका विविध प्रतिकूलताकाबीच कम्पनीले कुल रु ४२ अर्ब ११ करोड आम्दानी गरी रु ६ अर्ब २३ करोड मुनाफा आर्जन गर्न सफल भएको छ । समीक्षा अवधिमा कम्पनीले कर तथा शुल्कवापत आफ्नो कूल आयमध्ये ४१ अर्ब ५९ करोड राजस्वको रुपमा नेपाल सरकारलाई बुझाइ राष्ट्रिय अर्थतन्त्रमा योगदान पु¥याएको छ ।’
कम्पनीले सत्रौँ साधारणसभाले पारित गरेबमोजिमको लाभांश रकम आजदेखि नै एनएमबी बैंकमार्फत सर्वसाधारण शेयरधनीहरुलाई वितरण गर्ने व्यवस्था मिलाएको टेलिकमका प्रवक्ता हरि ढकालले उल्लेख गरेका छन् ।
नबिल बैंकले प्राप्त गर्यो सूचना सुरक्षा व्यवस्थापनका लागि आईएसओ प्रमाणपत्र
काठमाडौं । नबिल बैंक लिमिटेडले सूचना सुरक्षा व्यवस्थापनका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रमाणपत्रलाई विश्वव्यापी मान्यता प्राप्त अन्तर्राष्ट्रिय संस्था इन्टरसर्टले प्रदान गरेको हो । यो उपलब्धिले नबिल बैंकको ग्राहकको डेटा सुरक्षा र संवेदनशील सूचनाको सुरक्षा अभ्यासप्रतिको प्रतिबद्धता स्पष्ट रूपमा देखाउँछ ।
आज नबिल बैंकको मुख्य कार्यालयमा आयोजित प्रमाणपत्र हस्तान्तरण कार्यक्रममा बैंकले क्ष्क्इ प्रमाणपत्र प्राप्त गरेको हो । कार्यक्रममा उच्च पदस्थ कर्मचारीहरूको उपस्थिति रहेको थियो ।
बैंकले आफ्नो सुरक्षात्मक उपायहरू प्रभावकारी रूपमा कार्यान्वयन गरेको पुष्टि प्रमाणपत्र प्रदान गर्ने संस्थाले गहन परीक्षण गरेर गरेको हो । नबिल बैंकले आफ्नो सुरक्षा प्रणाली, अभ्यास र नियन्त्रणको विस्तृत मूल्यांकन पछि यो मान्यता प्राप्त गरेको हो । साइबर जोखिम र चुनौतीहरू बढिरहेका बेला यस्तो प्रमाणपत्रले बैंकको सुरक्षाप्रतिको गम्भीर प्रतिबद्धता झल्काउँछ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्रप्रसाद ढुंगानाले यो प्रमाणपत्रले डाटा सुरक्षामा नबिल बैंकको गुणस्तरलाई मान्यता दिएको जनाए । उनले भने, “हामी ग्राहकहरूको डाटा सुरक्षालाई पहिलो प्राथमिकतामा राख्छौँ । यो प्रमाणपत्रले सुरक्षात्मक उपायलाई निरन्तर सुधार्न गरिएको हाम्रो प्रयासलाई मान्यता दिइएको छ । यो प्रकृयालाई हामी निरन्तर सुधार गर्ने प्रतिबद्धता पनि गर्छौं ।”
प्रमाणपत्र सूचना सुरक्षा व्यवस्थापन प्रणालीका लागि अन्तर्राष्ट्रिय मान्यता प्राप्त मापदण्ड हो । यो प्रमाणपत्र प्राप्त गर्नु नबिल बैंकको सुरक्षाको उच्च मापदण्ड कायम राख्न गरिएको प्रयासको महत्वपूर्ण उपलब्धिका रूपमा हेरिएको छ । यसले बैंकलाई थप विश्वासिलो बनाउनुका साथै बैंकको ग्राहकप्रति दायित्व झल्काएको छ ।
इन्टरसर्ट एक विश्वव्यापी सर्टिफिकेसन संस्था हो, जसले विभिन्न व्यवस्थापन प्रणालीहरूको लागि सर्टिफिकेसन सेवा प्रदान गर्दछ ।
बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।
आज तीन संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज तीन वटा संसदीय समितिको बैठक बस्दै छ । जसअनुसार अर्थ समितिको बैठक बिहान ११ बजे बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवाला र विज्ञहरूसँग छलफल हुनेछ ।
त्यस्तै मध्यान्ह सवा १२ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
रवि लामिछानेविरूद्वको मुद्दा न्यायाधीश अधिकारीको इजलासमा
काठमाडौं । काठमाडौंको कालिमाटीस्थित स्वर्णलक्ष्मी सहकारी ठगी प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरूद्वको मुद्दाको बयान र थुनछेक बहस न्यायाधीश माधव अधिकारीको इजलासमा परेको छ।
उनी आज कार्यालय समय अगावै काठमाडौं जिल्ला अदालतमा उपस्थित भएका हुन् ।
यसअघि कास्की जिल्ला अदालतले उनलाई सूर्यदर्शन सहकारीको बचत रकम अपचलनमा ६५ लाख धरौटी माग गरी छाड्न आदेश दिएको थियो।
प्रहरीका दुईवटै बिधेयक संसदमा पेश गर्न स्वीकृति
काठमाण्डौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल नेपाल सम्बन्धी कानुनलाई संशोधन तथा एकीकरण गर्न बनेको विधयेक हिजो बसेको प्रधानमन्त्री तथा मन्त्रिपरिषदले संघीय ससदमा पेश गर्न स्वीकृति दिएको छ ।
गृहमन्त्री रमेश लेखकले पद बहालीसँगै प्रहरी सङ्गठन समयसापेक्ष व्यवस्थित, सुदृढ र क्रियाशील बनाउने विषय प्राथमिकतामा राखेर विधेयक परिमार्जन र संशोधनमा जोड दिएका थिए । त्यही अनुरूप गृह मन्त्रालयले विधेयक अघि बढाएको हो।
गृह मन्त्रालयले प्रहरी र सशस्त्र प्रहरी बलसम्बन्धी कानुनलाई संशोधन गर्न अर्थ मन्त्रालय, कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालय र लोक सेवा आयोगको सहमतिपछि प्रहरी विधेयक मन्त्रिपरिषद्मा पेस गरेको थियोे ।
मन्त्रिपरिषद्माको विधयेक समितिमा व्यापक छलफलपछि मन्त्रिपरिषद्मामा पेश गरिएको गृहमन्त्री लेखकले जानकारी दिए । उनले विधयेक पारितका लागि आगामी संघीय संसदमा पेस गरिने जनाए।