काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले सम्पत्ति शुद्धीकरण तथा आतंङ्कवादी क्रियाकलापमा वित्तीय लगानी निवारण सम्बन्धी तालिम आयोजना गरेको छ । महोत्तरीको बर्दिबासमा आयोजित कार्यक्रममा बर्दिबास क्षेत्रका साथै हेटौंडा क्षेत्र लगायत नारायणगढ शाखाका अभिकर्ता एवम त्यहाँको सम्पुर्ण कर्मचारी र केही विभागीय प्रमुख समेतको सहभागिता रहेको थियो ।
सो अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत पोषकराज पौडेलले गैरकानुनी कमाई र आतंककारी कार्यबाट संकलित कालो धनलाई बीमाको माध्यमबाट सेतो धन बनाउने कार्यलाई कसरी नियन्त्रण गर्न सकिन्छ, यसका प्रकृयाहरु के के हुन, रिपोर्टिङ कसरी गर्ने आदि विषयमा विस्तृत प्रस्तुतीकरण दिएका थिए । उनले यसको महत्व र प्रभावका साथै यसलाई कार्यन्वयन गर्न हरेक कर्मचारीले गर्नुपर्ने कामको बारेमा जानकारी दिए ।
गत सालझै यस वर्ष पनि कम्पनीले देशभर विभिन्न ठाउँमा सम्पत्ति शुद्धीकरण सम्बन्धी यस तालिमको आयोजना गर्दै आएकोमा यो सातौं र अन्तिम स्थान हो ।
यसभन्दा पहिले मंसिर २७ गते पूर्वको इटहरी, इनरुवा र बिर्तामोड क्षेत्रका कर्माचारी र अभिकर्ताका लागि इटहरीमा, मङ्सिर २२ गते पश्चिमको धनगढी, नेपालगन्ज, सुर्खेत क्षेत्रको लागी कोहलपुरमा, बुटवल, जीतपुर र भैरहवा क्षेत्रको लागि मङ्सिर १ गते बुटवलमा, पोखरा र बाग्लुङ क्षेत्रको लागि कार्तिक १० गते पोखरामा र असोज साथै मङ्सिर ६ गते दुईपटक काठमाडौंमा यस तालिम आयोजना गरिएको थियो ।
बर्दिबासमा सम्पन्न अन्तिम तालिमपश्चात कम्पनीले सम्पत्ति शुद्धीकरण सम्बन्धी तालिम नेपालभरि सम्पन्न गरेको छ ।
सिटिजन लाइफ इन्स्योरेन्सले नेपालभर आयोजना गर्यो सम्पत्ति शुद्धीकरण निवारण तालीम
नागरिक लगानी कोषको शेयर मूल्य समायोजन
काठमाडौं । नागरिक लगानी कोषको शेयर मूल्य समायोजन भएको छ ।
कोषले शेयरधनीहरुलाई ७ प्रतिशत बोनस दिने भएपछि प्रतिशेयर मूल्य रु. १९७१.९६ कायम गरिएको छ । यसअघि रु. २११० थियो ।
समायोजन गरिएको मूल्यबाट भोलि सोमबारदेखि उक्त कम्पनीको शेयर कारोबार हुने नेप्सेले जानकारी दिएको छ ।
लक्ष्मी सनराइज बैंकको अगुवाईमा अपर मर्स्याङ्दीमा १६ अर्ब लगानी
काठमाडौं । लक्ष्मी सन्राईज बैंकको अगुवाईमा सहवित्तीयकरणमा सहभागी बैंकहरु र अपर मर्स्याङ्दी हाइड्रोपावर कम्पनी प्रालिबीच सो कम्पनीले लमजुङ्ग जिल्ला स्थित मर्स्याङ्दी नदीमा निमार्ण गर्ने १०२ मेवा क्षमताको अप्पर मर्स्याङ्दी–१ जलविद्युत आयोजनामा लगानी गर्ने सम्झौता सम्पन्न भएको छ । सो आयोजनाको कूल लागत रू २१.४० अर्ब रहेको छ ।
अपर मर्स्याङ्दी हाइड्रोपावर १ ले पुस १०, २०७५ मा विद्युत विकास विभागबाट आयोजना निर्माणको लागि विद्युत उत्पादनको अनुमति पत्र लिनुका साथै पुस ०९, २०८१ मा नेपाल विद्युत प्राधिकरणसँग विद्युत खरिद बिक्री सम्झौता समेत गरिसकेको छ । सो कम्पनीको प्रवर्द्वकको रुपमा केसी ग्रुप र क्याल ग्रुप छन् ।
सो परियोजना निमार्णको लागि लक्ष्मी सन्राईज बैंकको नेतृत्त्वमा सहवित्तीयकरणमा सहभागी बैंकहरुले परियोजना लागतको ७४.७७ प्रतिशत लगानी गर्ने प्रतिवद्धता जनाएका छन् भने बाँकी २५.२३ प्रतिशत रकम सो कम्पनीका प्रवर्द्वक र संस्थापकहरुको लगानी रहने छ ।
लक्ष्मी सन्राईज बैंकको प्रोजेक्ट फाइनान्स (टर्म लोन) प्रतिवद्धता ७ अर्ब छ भने सहवित्तीयकरणमा सहभागी अन्य बैंकहरु मध्ये सह–अगुवा ग्लोबल आइएमई बैंकको ६ अर्ब तथा प्रभु बैंकको ३ अर्ब समेत गरी जम्मा लगानी १६ अर्ब रहेको छ ।
सो आयोजना जुन २०२९ भित्र निर्माण सम्पन्न भई विद्युत उत्पादन भएपश्चात वार्षिक करिब ५८३.०३ गिगावाट आवर इनर्जी विद्युत राष्ट्रिय प्रसारण लाइनमा जडान हुँदा यो ठूला स्वतन्त्र उर्जा उत्पादक मध्य एकको रुपमा रहने विश्वास लिइएको छ ।
यू–१९ महिला विश्वकप खेल्ने नेपाली टोली घोषणा
काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले एसिसी यू–१९ महिला विश्वकप प्रतियोगिताका लागि नेपाली टोली घोषणा गरेको छ । क्यानले पूजा महतोको कप्तानीमा शनिबार १५ सदस्यीय टोली घोषणा गरेको हो ।
नेपाली टोलीका अन्य खेलाडीमा सोनी पाख्रिन (उपकप्तान), साना प्रविन, ज्योत्सिन्का मरासिनी, कुसुम गोदार, सावित्रा धामी, कृश्मा गुरुङ, रिया शर्मा, सिमाना केसी, स्नेहा महरा, किरणकुमारी कुँवर, रचना चौधरी, तृष्णा विक, अनु कडायत र एलिसा कुमारी यादव रहेका छन् ।
गत महिना भएको यू–१९ एसिया छनोटमा च्याम्पियन बन्दै नेपालले विश्वकपमा स्थान बनाएको हो । यू–१९ विश्वकप आगामी माघ ५ देखि २० गतेसम्म मलेसियामा हुँदै छ । प्रतियोगितामा १६ टोली सहभागी हुने छन् ।
नेपाल समूह ‘डी’ मा रहेको छ । यो समूहमा बङ्गलादेश, अस्ट्रेलिया र स्कटल्याण्ड समेत रहेका छन् ।
नेपालले पहिलो खेल माघ ५ गते बङ्गलादेशसँग खेल्ने छ । नेपालले दोस्रो खेल माघ ७ गते स्कटल्याण्डसँग तथा तेस्रो खेल माघ ९ गते अस्ट्रेलियासँग खेल्ने तालिका छ ।
रास्वपा केन्द्रीय समिति बैठक आज पनि
काठमाडौ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक आज पनि जारी रहनेछ । हिजोदेखि काठमाडौंमा सुरू भएको बैठक आज पनि जारी रहने भएको हो ।
जारी बैठकले मुख्यतयाः सभापति रवि लामिछानेमाथि भएको सहकारी ठगीको आरोपमा गरिएको गिरफ्तारी र संविधान संशोधनबारे दलको धारणा तय गर्ने प्रमुख अजेन्डा बनाइएको छ ।
कार्यवहाक महामन्त्री कविन्द्र बुर्लाकोटीका अनुसार जारी बैठकमा राजनीतिक घटनाक्रम, समसामयिक विषय, जनपक्षीय मुद्दालाई सशक्त रूपमा अघि बढाउने, संगठनको भावी रणनीति, संगठन सबलीकरणका बारेमा केन्द्रीत भएर छलफल भइरहेको छ ।
पुष्पसदन स्कुलले अन्तर्विद्यालय चेस तथा टेबल टेनिस प्रतियोगिता आयोजना गर्ने
काठमाण्डौं । नेपालमा विभिन्न खेलहरूको प्रबर्धनमा आफूले सकेको योगदान पु¥याउने उद्देश्य राखी विगतका विभिन्न वर्षहरूमा यस पुष्पसदन आवासीय माध्यमिक विद्यालयले कीर्तिपुर नगरस्तरीयदेखि लिएर उपत्यकाव्यापी तथा राष्ट्रिय स्तरसम्मको अन्तर्विद्यालय तथा खुल्ला बुद्धिचाल (चेस) प्रतियोगिताका साथै बास्केटबल र टेबल–टेनिस प्रतियोगिताहरूको आयोजना गर्न सफल भइसकेको छ । यसै सन्दर्भ यो वर्ष पनि बुद्धिचाल प्रतियोगितालाई अन्तर्राष्ट्रिय स्तरसम्म लैजाने उद्देश्यले भारत, बङ्गलादेश, श्रीलङ्का तथा चीनजस्ता छिमेकी मित्र राष्ट्रहरूका केही इच्छुक विद्यालयहरूलाई समेत आमन्त्रण गरी यही ११ देखि १३ जनवरी २०२५ सम्म (२०८१ पौष २७ देखि २९ गते) तीन दिवसीय (पुष्पसदन अन्तर्राष्ट्रिय अन्तर्विद्यालय बुद्धिचाल प्रतियोगिता–२०२५) आयोजना गर्ने निश्चय गरेको व्यहोरा जानकारी गराउन पाउँदा हामीलाई हर्ष लागेको छ । प्रतियोगितामा काठमाडौँ उपत्यकाबाहिर र नेपालबाहिरबाट सहभागी हुने खेलाडीहरूको टोलीलाई विद्यालयले आफ्नै खर्चमा निःशुल्क आवास र खानपिनको प्रबन्ध मिलाएको छ, साथै नेपालबाहिरबाट सहभागी हुन आउने खेलाडीहरूलाई दर्ता शुल्कमा समेत सहुलियत प्रदान गर्ने निश्चय गरेको छ ।
प्रतियोगिता नेपाल बुद्धिचाल संघको प्राविधिक सहयोगमा स्वीस लीग प्रणालीका आधारमा (७ राउण्डमा) सञ्चालन गरिनेछ, जसमा अण्डर ११, अण्डर १३ र अण्डर १५ उमेरका छात्र तथा छात्राहरूले छुट्टाछुट्टै प्रतिस्पर्धा गर्नेछन् । १०औँ स्थानसम्म हासिल गर्ने उत्कृष्ट खेलाडीहरूलाई स्वर्ण, रजत तथा कास्यँ पदक तथा प्रमाणपत्र दिइनेछ भने विजेता तथा उपविजेता विद्यालयहरूलाई ट्रफी तथा प्रमाणपत्र प्रदान गरिनेछ ।
१३ जनवरी २०२५ (२०८१ पौष २९ गते) अपरान्ह सम्पन्न हुने उक्त प्रतियोगिताको समापन तथा पुरस्कार वितरण समारोहमा कीर्तिपुर नगरपालिकाका मेयर श्री कृष्णमान डङ्गोलको प्रमुख अतिथि रहनुहुने निििश्चत भइसकेको व्यहोरा पनि जानकारी गराउँदछौँ ।
त्यसै गरी, आगामी २०८१ माघ २४ देखि २६ गते (६ देखि ८ फरवरी २०२५) मा विभिन्न समूहअन्तर्गत काठमाडौँ उपत्यकाव्यापी अन्तर्विद्यालय टेबुल–टेनिस प्रतियोगिता समेत सम्पन्न गर्ने विद्यालयको योजना रहेको जानकारी गराउँदछौँ ।
एमाले केन्द्रीय कमिटी बैठक भोलि ११ बजेदेखि सुरु हुुँदै
काठमाडौं । नेकपा (एमाले) केन्द्रीय कमिटी बैठक आइतबारदेखि सुरु हुँदैछ ।
पार्टी केन्द्रीय कार्यालय च्यासलमा बिहान ११ बजेदेखि सुरु हुने बैठकमा पार्टी अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले राजनीतिक प्रतिवेदन प्रस्तुत गर्नेछन् । यसअघि प्रतिवेदनमाथि समूहगत छलफल हुने गरेकामा यसपटक भने प्रत्येक केन्द्रीय सदस्यलाई बेग्लाबेग्लै धारणा राख्ने व्यवस्था मिलाइएको पार्टी उपाध्यक्ष सुरेन्द्र पाण्डेले जानकारी दिए । प्रत्येक सदस्यलाई करिब तीन मिनेटको समय उपलब्ध गराउने तयारी गरिएको छ ।
बैठकको प्रारम्भमा अध्यक्ष ओलीले पछिल्लो राष्ट्रिय राजनीतिक परिस्थितिका बारेमा मन्तव्य दिनेछन् । उनीबाट प्रस्तुत हुने राजनीतिक प्रतिवेदनमा आगामी कार्ययोजना, पार्टी संगठन सुदृढीकरण, वर्तमान सरकार गठन, यसअघिका सरकारमा साझेदारी, सरकारका प्राथमिकता, संविधान संशोधन, आर्थिक सुधार, सहकारीलगायत विषय समेटिएका उपाध्यक्ष पाण्डेले जनाए ।
बैठकमा केन्द्रीय सदस्य र आयोगका प्रमुखलगायत सहभागी हुनेछन् । दुई दिनभित्र बैठक सक्ने तयारी छ । यही पुस १८ गते एमाले सचिवालय बैठकले केन्द्रीय समिति बैठकमा प्रस्तुत हुने राजनीतिक प्रतिवेदन पारित गरेको थियो । अध्यक्ष ओली नेतृत्वमा सरकार गठन भएपछि पहिलो पटक केन्द्रीय समिति बैठक बस्न लागेको हो ।
संसद्को हिउँदे अधिवेशनको पूर्वसन्ध्यामा बस्न लागेको बैठकले संविधान संशोधनलगायतका ‘एजेण्डा’मा ठोस धारणा तय गर्ने जनाईएको छ ।
पर्यटकीय सोलुखुम्बुको विकासलाई तीव्रता दिने प्रधानमन्त्रीको दाबी
सोलुखुम्बु । प्रधानमन्त्री केपी शर्मा ओलीले पर्यटनमा विशेष योगदान दिने सोलुखुम्बुको विकासलाई तीव्रता दिन सरकारले कुनै कमी हुन नदिने दाबी गरेका छन् ।
खुम्बु पासाङ ल्हामु गाउँपालिका–२ सुर्केमा आज आयोजित ङिमदोर्जी शेर्पा पर्यटन सडक उद्घाटन समारोहलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले सोलुखुम्बुजस्तो विशेष महत्वको जिल्लामा विकासका संरचनाहरूलाई थप सबल बनाइने जनाए । उनले यस सडकलाई पक्की बनाउने विषयमा प्रदेश र संघीय सरकारबीच सहकार्य कायम रहेको जानकारी गराउँदै भने, ‘यो सडकलाई कालोपत्रे बनाउने जिम्मा दुवै सरकारको हुनेछ । सोलुखुम्बुको विकासको अभियानमा सरकारले कुनै कसर बाँकी राख्दैन ।’
प्रधानमन्त्री ओलीले सोलुखुम्बु सहासिक व्यक्तित्वहरूको जिल्ला भएको उल्लेख गर्दै, ‘राष्ट्रिय विभूति पासाङ ल्हामु शेर्पा र तेन्जिङ नोर्गे शेर्पा जस्ता विश्वविख्यात सहासिक व्यक्तिहरूको जन्मभुमि खुम्बुमा थप विकासका कामले पर्यटन प्रवर्द्धन गर्न ठूलो सहयोग पुर्याउनेछ, ’ भने ।
प्रधानमन्त्री ओलीले सोलुखुम्बुलाई पर्यटकीय सम्भावनाले भरिपूर्ण जिल्ला भन्दै यहाँका जनतालाई आर्थिक रूपमा सबल बनाउने गरी विकासका कार्यक्रम अगाडि बढाउन सरकार तयार रहेको आश्वासन दिए । विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार भएको यो क्षेत्रले साहसिक पर्यटकहरूलाई आकर्षित गर्दै आएको उनको भनाइ छ ।
सडकको स्तरोन्नति र पूर्वाधारको विस्तारले यहाँको पर्यटन व्यवसायलाई नयाँ उचाइमा पुर्याउने प्रधानमन्त्री ओलीको अपेक्षा छ । यस सडक निर्माणले खुम्बु क्षेत्रका बासिन्दालाई यातायात सुविधा सहज बनाउनुका साथै जिल्लाको समग्र आर्थिक र सामाजिक विकासमा सहयोग पुर्याउने विश्वास गरिएको छ ।
काठमाडौँ र ललितपुरका विभिन्न स्थानमा ३ घण्टा विद्युत् अवरुद्ध हुने
काठमाडौँ । काठमाडौँ र ललितपुर जिल्लाका विभिन्न स्थानमा शनिबार ३ घण्टासम्म विद्युत् आपूर्ति अवरुद्ध हुने भएको छ ।
नेपाल विद्युत् प्राधिकरणले दिएको जानकारी अनुसार डिस्ट्रिब्युसन लाइन भूमिगत गर्ने कार्यका लागि पुलचोक डिस्ट्रिब्युसन सेन्टरको यूएन पार्क फिडरलाई बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्मका लागि बन्द गर्नुपर्ने भएको हो । सो अवधिमा शंखमुल, यूएन पार्क, शंखमुल टाउन प्लानिङ क्षेत्रमा विद्युत् आपूर्ति अवरुद्ध हुनेछ ।
त्यस्तै, सडकको कल्भर्ट निर्माणका क्रममा परेको एचटी पोल सार्नका लागि जोरपाटी डिस्ट्रिब्युसन सेन्टरको साँखु फिडर बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बन्द गर्नुपर्ने भएको छ । सो अवधिमा नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङ पौवा र नांगलेभारेमा विद्युत् अवरुद्ध हुनेछ ।
काम निर्धारित समयभन्दा अघि सकिएमा अगाडि नै सेवा सुरु हुने पनि प्राधिकरणको भनाई छ । यसबाट पर्न गएको असुविधाको लागि प्राधिकरणले क्षमायाचना समेत गरेको छ ।
रास्वपाको केन्द्रीय समिति बैठक आजदेखि सुरु
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को केन्द्रीय समिति बैठक सुरु भएको छ । बैठक बिहान ७ बजेबाट स्वयम्भू स्टार बैंकेटमा सुरु भएको हो ।
बैठकको सुरुमा समसामयिक राजनीतिक विषयमा छलफल र रिपोर्टिङ हुनेछ भने स्थानीय तह उपनिर्वाचनको समीक्षा, संगठनको समीक्षा र संगठन रणनीतिका विषयलाई छलफलको एजेन्डा बनाइएको छ । साथै, संगठन सबलीकरण र जागरण अभियान, लिडरसिप एकेडेमी, क्यान्डिडेट क्लब र ब्लु प्रिन्ट फ्रेमवर्क, प्रदेश समन्वय संयन्त्रका सबन्धमा छलफल गरिने पार्टीले जानकारी दिएको छ ।
यस सेसनमा केन्द्रीय समिति सदस्य, आमन्त्रित सदस्यहरूमा केन्द्रीय संगठन विभाग, प्रशिक्षण विभाग एवं प्रदेशका महामन्त्रीहरू सहभागी रहनेछन् ।
यस्तै, केन्द्रीय समिति सदस्यहरू मात्रै रहने बैठकमा सहकारीसम्बन्धी अध्यादेश २०८१, संसदमा दर्ता भएका विधेयक र पार्टीको धारणा सम्बन्धी छलफल, पार्टी संरचना सम्बन्धमा प्रारम्भिक छलफल गरेर पहिलो दिनको बैठकको समीक्षा र दोस्रो दिनको छलफलको तयारी गरिनेछ ।