काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले स्थानीय तहको औचित्य स्थापित गर्न र सेवामा प्रभावकारिता दिन महिला जनप्रतिनिधिहरुले सक्रिय भूमिका निर्वाह गरेको दाबी गरेका छन् ।
कल्प संस्थाद्वारा आज आयोजित जनप्रतिनिधिहरुको सम्मान ‘शी लिड्स आइकन’ कार्यक्रममा प्रधानमन्त्री ओलीले नगरपालिका र गाउँपालिकाको इज्जत धान्ने र औचित्य स्थापित गर्ने काममा महिला जनप्रतिनिधिले अगुवाइ गरेको दाबी गरेका हुन् । हिजो छोरीहरुको साक्षरताको स्तरमाथि आउन नसकेकामा आज महिलाहरु शासन गर्ने ठाउँमा पुग्नु राजनीतिक परिवर्तनको उपलब्धि भएको उनको भनाइ थियो ।
“व्यवस्थामा परिवर्तन भयो, अवस्थामा परिवर्तन भएन भन्ने गलत भाष्य चिर्न महिला जनप्रतिनिधिहरुको उपस्थिति र सक्रियता नै काफी छ । महिला जागे भने समाज परिवर्तन हुन्छ भन्ने स्थापित भएको छ ।”, प्रधानमन्त्री ओलीले भने, “ महिलाले समान अधिकार पाउनु संवैधानिक र कानुनी अधिकार हो । ती सबै समानता दिने ठाउँमा हामी पुग्नुपर्छ । हक अधिकारको उपभोग र अवसरमा समानाता चाहिएको छ । प्राप्त उपलब्धिहरु पर्याप्त नभएका हुन सक्छन् । आज स्थानीय तहमा ४० प्रतिशत जनप्रतिनिधि छन् । यो उपस्थिति प्रगतिउन्मुख छ । यसलाई बढाएर लानुपर्छ ।”
प्रधानमन्त्री ओलीले महिलाहरुमा करुण, माया र स्नेहभाव बढी हुने र उनीहरुको भूमिका हरेक क्षेत्रमा उत्कृष्ठता र श्रेष्ठता हासिल गरेको उल्लेख गरे ।
कार्यक्रममा विभिन्न पालिकाका छानिएका २७ महिला जनप्रतिनिधि र तीन उत्कृष्ट महिला जनप्रतिनिधिलाई आइकन सम्मान प्रदान गरिएको थियो ।
महिला जनप्रतिनिधिको सक्रियताले स्थानीय तहको औचित्य स्थापित भएको प्रधानमन्त्रीको दाबी
संघीय संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने माओवादीको निर्णय
काठमाण्डौं । संसद्को प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रले संघीय संसद् बैठक बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।
पेरिसडाँडास्थित पार्टी कार्यालयमा शुक्रबार बसेको स्थायी समिति बैठकले संसद् बैठक बोलाउने विषयमा आलटाल गरिएको बताउँदै बैठक बोलाउन दबाब सिर्जना गर्ने निर्णय गरेको छ ।
संसद् बैठक बोलाउने सवालमा ढिलासुस्ती गरेकोबारे बैठकमा छलफल भएको र ढिलासुस्तीका कारण लोकतन्त्रमाथि नै गम्भीर समस्या पैदा भएको प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
बैठकमा समसामयिक परिस्थिति र पार्टी रूपान्तरण लगायत विषयमा छलफल भएको उनले जनाए । माओवादी स्थायी समिति बैठक शनिबार दिउँसो २ बजे बस्ने गरी स्थगित भएको छ ।
नेपाल लाइफले सार्वजनिक गर्यो ‘रक्षा कवच म्यादी जीवन बीमा’ योजना
काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्सले नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना सार्वजनिक गरेको छ ।
न्यूनतम बीमा शुल्कमा उच्चतम सुरक्षा प्रदान गर्ने अभिप्रायका साथ बिहीबार काठमाडौँमा आयोजित एक विशेष समारोहका बीच कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीणरमण पराजुलीले उक्त बीमा योजना सार्वजनिक गरेका हुन ।
एक निश्चित अवधिको लागि सुरक्षा प्रदान गरी दुर्भाग्यपूर्ण घटनाको अवस्थामा आफ्नो परिवारको लागि आर्थिक सुरक्षा, सुनिश्चिता प्रदान गर्ने नेपाल लाइफ रक्षा कवच जीवन बीमा योजना (मुनाफामा सरिक नहुने) म्यादी जीवन बीमा हो ।
यसको न्यूनतम बीमाङ्क रकम रू ५,००,००० (पाँच लाख) र अधिकतम बीमाङ्क रकम रु १,००,००,००० (एक करोड) रहेको छ । यस योजनामा सरिक हुन बीमितको उमेर न्यूनतम १८ वर्ष र अधिकतम ५९ वर्ष हुनुपर्नेछ । बीमा अवधि न्यूनतम १ वर्ष देखि अधिकतम ३५ वर्ष सम्म हुनेछ भने बीमा समाप्तिमा बीमितको अधिकतम उमेर ६० वर्ष रहेको छ । यस योजनामा ऐच्छिक सुविधा एडीबी, एडीबी–पीटीडी–पीडब्लूबी पनि न्यूनतम ५ वर्ष देखि अधिकतम ३५ वर्ष अवधि सम्म लिन सकिने छ ।
यस योजना अन्तर्गत बीमा अवधि भित्र जुनसुकै समयमा बीमितकोे मृत्यु भएमा बीमाङ्क रकम भुक्तानी गरिनेछ र बीमालेख स्वतः अन्त्य हुनेछ ।
कार्यक्रममा बोल्दै यस कम्पनीका प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले यो योजना सार्वजनिक गर्न पाउँदा खुशीको आभास भएको जनाए । सामान्य सिद्धान्तअनुसार आम्दानीको १५ गुणासम्मको बीमा लिनु नितान्त आवश्यक रहेको विचार व्यक्त गरे । जोखिम बहनलाई मुख्य प्राथमिकतामा राख्दै यो म्यादी जीवन बीमा योजना सार्वजनिक गरिएको जनाए ।
यो पोलिसीलाई मूल पोलिसीमा गाभेर बीमितलाई दिन सकिए सानो रकममा ठूलो जोखिम बहन हुने जनाए । सम्पूर्ण अभिकर्तालाई सहजताका साथ यसलाई बजारीकरण गर्न आग्रह गरे । कोर प्रोडक्टसँगै गाभेर बजारमा पस्किइएको यो योजना एकदमै प्रभावकारी र उत्तम रहेको र नेपाली बीमा उद्योगमा यो योजना कोसेढुङ्गा साबित हुनेमा आफू विश्वस्त रहेको जनाए । यस योजनाको उद्देश्यलाई मूर्तता प्रदान गर्न समस्त अभिकर्ता तथा कर्मचारीहरूलाई अग्रसरताका साथ अगाडि लम्कन आग्रह गरे ।
साथै कम्पनीका नेसनल सेल्स हेड उमापति पोखरेलले थोरै बीमाशुल्कमा धेरै जोखिम बहन हुने बताए । यस बीमा योजना छुट्टै बीमालेखको रुपमा पनि लिनुका साथसाथै अन्य ६ वटा योजनामा पुरक करार सुविधाको रुपमा पनि लिन सकिने हुँदा यसको फाइदा उठाउन सबैमा आग्रह गरे ।
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृत अमितकुमार कयालले यो योजना उकृष्ट रहेको र यसले बीमाको दायरा बढाई हरेक आयस्रोत भएका वर्गमा बीमाको पहूँच पुर्याउन सम्पूर्ण अभिकर्ता तथा कर्मचारीहरुलाई दत्त चित्त भई लाग्न अनुरोध गरे । साथै नेपाल लाइफ जीवन बीमा क्षेत्रको एक अग्रणी संस्था भएकाले आर्थिक जोखिमलाई कम बीमाशुल्कमा बीमितलाई आवश्यक पूर्ण सुरक्षा प्रदान गर्न यो योजना ल्याइएको कुरा प्रकाश पारे । यस किसिमको योजनाले बिमालेखको विविधिकरण गर्दै संस्थालाई स्थायित्व प्रदान गर्र्न महत्वपूर्ण भूमिका खेल्ने विश्वास व्यक्त गरे ।
तालिम विभागका प्रमुख रोजेश बस्नेतले यो योजनासँग आधारित प्रस्तुति दिनु भएको थियो। उहाँले यो योजनाका मुख्य विशेषता र यसका फाइदाका विषयहरूमा स्पष्ट पारे
ग्लोबल आइएमई बैंकको १८औँ वार्षिकोत्सवका अवसरमा वृहत् रक्तदान कार्यक्रम आयोजना, ७५७ व्यक्तिद्वारा रक्तदान
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो १८औँ वार्षिकोत्सवको अवसरमा वृहत रक्तदान कार्यक्रमको आयोजना गरेको छ ।
ग्लोबल आइएमई बैंक पौष १८ गते विहीबारदेखि स्थापनाको १८ वर्ष पुरा गरी १९ औँ वर्षमा प्रवेश गरेको छ । यही अवसरमा बैंकले मुलुकका सातवटै प्रदेशमा एकैसाथ रक्तदान कार्यक्रमका साथ–साथै निशुल्क आँखा जाँच, रक्तचाप तथा मधुमेह परीक्षण कार्यक्रम आयोजना गरेको हो ।
यस कार्यक्रमअन्तर्गत, कोशी प्रदेशको तीनपैनी शाखा, मधेश प्रदेशको जनकपुर शाखा, बाग्मती प्रदेशको कान्तिपथ शाखा र नारायणगढ शाखा, गण्डकी प्रदेशको पोखरा न्यूरोड शाखा, लुम्बिनी प्रदेशको मिलनचोक बुटवल शाखा र नेपालगंज शाखा, कर्णाली प्रदेशको सुर्खेत शाखा र सुदूरपश्चिम प्रदेशको धनगढी शाखामा रक्तदान कार्यक्रम आयोजना गरिएको छ ।
कार्यक्रममा ७५७ रक्तदाताहरुले रक्तदान गरेका छन् । यसैगरी, ११९ जनाको आँखा जाँच गरिनुका साथै २०० जनाको रक्तचाप तथा मधुमेहको परीक्षण गरी आवश्यक परामर्श प्रदान गरिएको छ ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वलाई मध्यनजर गरी यस्ता समाजपयोगी कार्यहरुमार्फत आम जनमानसलाई प्रत्यक्षरुपमा लावान्भित गर्दै आएको छ ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ–संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३८४ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, संयुक्त अधिराज्य, क्यानडा, अस्ट्रेलिया, मलेशिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डन लगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।
महुली लघुवित्तको एफपीओ बाँडफाँट
काठमाडौं । महुली लघुवित्तको एफपीओ आज शुक्रबार बाँडफाँट भएको छ । बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलले बिहान १०.३० बजे एफपीओ बाँडफाँट गरेको हो । जसमा ४७ हजार ५५४ जनाले १० कित्ताका दरले सेयर हात पारेका छन् । त्यस्तै, ९ जनाले थप १ कित्ता सेयर प्राप्त गरेका छन् भने १ आवेदकले ०।१५ कित्ता प्राप्त गरेका छन्।
यो सेयर खरिदका लागि कुल १६ लाख ९२ हजार १ सय ६ आवेदकले २ करोड २८ लाख ५२ हजार ८० कित्ताका लागि आवेदन दिएका थिए। सोमध्ये १६ लाख ८७ हजार ७७४ आवेदन स्वीकृत भएको छ भने ४ हजार ३३२ आवेदन रद्द भएको छ।
लगानीकर्ताले बिक्री प्रबन्धक लक्ष्मी सनराइज क्यापिटलको वेबसाइट र मेरोसेयर एकाउन्टबाट एफपीओको नतिजा हेर्न सक्नेछन् ।
महुलीले पुस ५ गतेदेखि ९ गतेसम्म प्रतिकित्ता १ सय रुपैयाँ अंकित मूल्यमा ४ लाख ७५ हजार ४४९ कित्ता सेयर बिक्रीमा ल्याएको थियो ।
क्रेडिट रेटिङ संस्था इक्रा नेपालले यस एफपीओलाई वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम रुपमा सुरक्षित रहेको जनाउने ‘इक्रा इस्यूअर रेटिङ बी माइनस’ प्रदान गरेको छ । इक्रा नेपालले २०८१ साउन २५ मंसिर १४ गते यो रेटिङ दिएको हो । यो रेटिङ २०८२ मंसिर ९ गतेसम्म बाहल रहनेछ ।
बझाङमा जिप दुर्घटना हुँदा चालकसहित ५ जनाको मृत्यु
बझाङ । बझाङका दुई छुट्टाछुट्टै स्थानमा भएका जिप दुर्घटनामा चालकसहित पाँच जनाको मृत्यु भएको छ ।
विहीबार राति तलकोट गाउँपालिका–२ सुकगाडमा भएको दुर्घटनामा चालकसहित चार जनाको र कोटदेवल भन्ने स्थानमा भएको दुर्घटनामा एक जनाको गरी पाँच जनाको मृत्यु भएको हो ।
सुकगाडमा से १ ज ८४३ नम्बरको जिप दुर्घटना हुँदा चालक केदारस्युँ गाउँपालिका –१ रायलका ३३ वर्षीय शम्शेर मल्ल, तलकोट गाउँपालिका –४ का ३६ वर्षीय बम बहादुर धामी, ७२ वर्षीया जोगेनी देवी धामी र मृतक बम बहादुर धामीकी छोरी पाँच वर्षीया आकृतीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक लोकेन्द्र सिं ठगुन्नाले जानकारी दिए ।
चालक सहित तीन जनाको घटनास्थलमै र पाँच वर्षीया बालिकाको उपचारका लागि सदरमुकाम ल्याउँदै गर्दा बाटोमा मृत्यु भएको थियो । शुक्रबार राति साढे आठ बजे तिर तलकोट गाउँपालिकाबाट चैनपुर तिर आइरहेको उक्त जिप सडकबाट करिब दुई सय मिटर तल खसेको थियो ।
विहीबार राति नै करिब नौ बजेतिर सुदूरपश्चिम प्रदेश ०१–००१ ज १३९८ नम्बरको जिप बझाङको कोटदेवल भन्ने ठाउँमा दुर्घटना हुँदा ४२ वर्षीय जिप चालक धर्म थापाको मृत्यु भएको छ । चालक थापाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।
उक्त जिप मष्टा गाउँपालिकाको भातेखोलाबाट रनाडा तर्फ जाँदै थियो ।
मुगुको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का
काठमाडौँ । आज बिहान मुगु जिल्लाको लुमा आसपास केन्द्रबिन्दु भएर भूकम्पको धक्का गएको छ ।
स्थानीय समय अनुसार बिहान ८ः०३ बजे ४।४ रेक्टर स्केलको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।
पछिल्ला केही दिनयता सुदूरपश्चिम र कर्णाली प्रदेशका जिल्लाहरूमा लगातार जसो भूकम्प जाँदा स्थानीयहरू त्रसित बन्दै आएका छन् ।
सशस्त्र प्रहरीमा भर्ना खुल्यो, एक हजारभन्दा धेरैलाई जागिरको अवसर
काठमाडौं । सशस्त्र प्रहरीमा एक हजार भन्दा धेरै जनाका लागि भर्ना खुलेको छ । सशस्त्र प्रहरी निरीक्षक (इन्सपेक्टर) देखि चर्मकर्मीसम्मका लागि भर्ना खुलेको हो ।
सशस्त्र प्रहरी निरीक्षकमा ६८ जना, सशस्त्र प्रहरी सहायक निरीक्षकमा ८३ जना र सशस्त्र प्रहरी जवानमा ९४१ जनाका लागि भर्ना खुलेको छ ।
यसैगरी भान्छे २० जना, कूचिकार १९ जना, सूचिकार १० जना, केशकर्तक २४ जना र चर्मकर्मी १४ जनाका लागि पनि सशस्त्र प्रहरीमा जागिरको अवसर छ ।
दरखास्त दिने म्याद पुस २४ गतेदेखि माघ २४ गतेसम्म छ ।
आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक ६ वटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ बजे अर्थ समितिको बैठक बस्दै छ । बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८० का सम्बन्धमा सरोकारवालासँग छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा नेपाल वायुसेवा निगमको विमान सञ्चालन व्यवस्थापन तथा सेवा सञ्चालनका सम्बन्धमा छलफल र नेपाल पर्यटन बोर्डको कार्यसम्पादन स्थितिबारे छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने कृषि, सहकारी तथा प्राकृतिक श्रोत समितिको बैठकमा नेपालमा जलवायु परिवर्तनबाट पुग्न गएको असर र यसको न्यूनीकरण गर्ने सम्बन्धमा नेपालबाट भएका प्रयासहरू तथा कोप–२९ लगायतका अन्तर्राष्ट्रिय स्तरका फोरमहरूमा नेपालको सहभागिताको अवस्था, यसमा भएका सबल तथा कमजोर पक्षहरू र आगामी दिनहरूमा यस प्रकारका सम्मेलनमा सक्रिय तथा प्रभावकारी सहभागितालाई उपलब्धिमूलक बनाउने सम्बन्धमा गर्नुपर्ने पूर्वतयारीका सम्बन्धमा वन तथा वातावरण मन्त्रालयसँग छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका सर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० का सम्बन्धमा छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे नै बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा तिलगङ्गा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि दफावार छलफल हुनेछ ।
अहिलेको सरकार कांग्रेसकै बलमा टिकेको कृष्ण सिटौलाको दाबी
काठमाडौं । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले अहिलेको सरकार आफ्नो पार्टीको बलमा टिकेको दाबी गरेका छन् ।
बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले प्रधानमन्त्री केपी शर्मा ओली कांग्रेसकै बलमा सरकारमा रहेको जिकिर गरे । कांग्रेसकै सहारामा प्रधानमन्त्री बनेकाले ओली एक्लै अघि बढ्न नसक्ने उनको भनाइ थियो ।
‘आखिर यो सरकार हाम्रो बलमा छ । केपी ओलीजी प्रधानमन्त्री हाम्रो बलमा हुनुहुन्छ । हाम्रो सहारामा हुनुहुन्छ,’ सिटौलाले भने, ‘हामी बेगर उहाँ अगाडि एक्लै जान सक्नुहुन्छ भनेर कल्पना पनि गर्न सक्दैनौँ ।’
अहिलेको सरकार विशेष परिस्थितिबाट निर्माण भएकाले यसलाई जोगाएर लैजानुपर्ने आवश्यकता रहेको सिटौलाको भनाइ थियो । बनिसकेको सरकारलाई बीचमा भत्किन दिनु नहुने भन्दै उनले सरकारका नीति र व्यवहारबाट जनताका बीचमा काम गर्नुपर्ने जनाए ।
‘एउटा विशेष परिस्थितिबाट निर्माण भएको सरकार हो यो । यसलाई हामीले जोगाएर लैजानु पनि छ । बनिसकेपछि यसलाई बीचमा भत्किन दिनु पनि भएको छैन,’ सिटौलाले भने, ‘यो सरकार जोगाउनका लागि जोगाउने होइन, यो सरकारले गर्ने नीतिहरूबाट, सरकारले गर्ने व्यवहारबाट राज्य सञ्चालनबाट जनताका बीचमा व्यापक काम गर्न सक्नुपर्छ ।’