काठमाडौं । कुमारी बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना अन्तर्गत खातावालाको परिवारलाई १० लाख रुपियाँँको दुर्घटना बीमा रकम भुक्तानी गरेको छ ।
खातावालाको परिवारको तर्फबाट श्रीमती मुना राणालाई कुमारी बैंकको टोखा शाखाबाट रकम हस्तान्तरण गरिएको थियो ।
बैंकले ‘कुमारी परिवार सुरक्षा बचत खाता’ मा आकर्षक बीमा सुविधा उपलब्ध गराउँदै आएको छ । यस खातामा खातावाला सहित परिवारका चार जना सदस्यहरुले २६ लाख रुपियाँसम्मको बीमा प्राप्त गर्न सक्ने सुविधा रहेको छ ।
बैंकले विगत ५ वर्षदेखि ग्राहकहरुको सुविधाका लागि ‘कुमारी परिवार सुरक्षा बचत खाता’ योजना मार्फत बिमा लगायत अन्य उत्कृष्ट सुविधा प्रदान गर्दै आएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१५ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको विज्ञप्तिमा उल्लेख गरेको छ ।
कुमारी बैंकद्वारा १० लाख रुपियाँको बीमा रकम भुक्तानी
शेयर बजारमा ५.१० अंकको सुधार, कारोबार रकम साढे ३ अर्ब
काठमाडौं । निरन्तर घटिरहेको शेयर बजारमा आज बुधवार अंग्रेजी नयाँ वर्षको पहिलो दिन अर्थात जनवरी १ मा झिनो सुधार देखिएको छ । नेप्से उचालिए पनि कारोबार रकम भने साढे ३ अर्बमा समेटिएको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५.१० अंकले उचालिएको हो । ०.१९ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २५८१.६० अंकमा उक्लिएको छ ।
समग्रमा बजार बढे पनि बैंकिङ, जीवन बीमा, लघुवित्त, म्युचुअल फण्ड र अन्य समूह क्रमशः ९.७२, ०.०६, ०.१६, ०.१७ र ०.४१ प्रतिशतले घटेका छन् । बाँकी अरु समूहमा भने हरियाली छाएको छ ।
आज ३०५ कम्पनीका ९४ लाख ३४ हजार ९ कित्ता शेयर किनबेच हुँदा ३ अर्ब ३९ करोड ७४ लाख ४५ हजार ३ सय ३४.३७ रुपियाँ बराबरको शेयर किनबेच भएको थियो ।
शेयर बजारमा झिनो सुधार देखिए पनि विभिन्न ५ कम्पनीका लगानीकर्ताहरुले ९ प्रतिशत बढी नाफा कमाएका छन् । त्रिशुली जलविद्युत, आत्मनिर्भर लघुवित्त, सुपर मादी हाइड्रो, कर्पोरेट डेभलपमेन्ट बैंक र जोशी हाइड्रोका लगानीकर्ताहरुले क्रमशः १०, ९.९३, ९.८३, ९.३६ र ९.२९ प्रतिशतले नाफा कमाएका छन् ।
त्यस्तै सपोर्ट माइक्रोफाइनान्सका लगानीकर्ताहरुले सबैभन्दा बढी १० प्रतिशतले घाटा व्यहोरेका छन् ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको आज उच्च कारोबार भएको छ । उक्त कम्पनीको २१ करोड ८२ लाख १७ हजार ३ सय ४९.६० रुपियाँ बराबराको कारोबार भएको नेप्सेले जानकारी दिएको छ ।
साताको पहिलो दिन आइतबार २१.१२ अंकले बजार घट्दा ५ अर्ब ४७ करोड ४८ लाख ६८ हजार ७ सय ६४.७७ रुपियाँ र हिजो मंगलबार ३३.०८ अंकले बराबरको घट्दा ५ अर्ब ६७ करोड ४६ लाख ८६ हजार ९१.४९ रुपियाँ कारोबार भएको थियो । सोमबार भने ल्होसारको सार्वजनिक बिदाका कारण बजार बन्द रहेको थियो ।
आज १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाइँदै
काठमाडौँ । जागरुक युवा अभियान नेपालको आयोजनामा १२औँ राष्ट्रिय पोशाक एवं टोपी दिवस आज विभिन्न कार्यक्रम आयोजना गरी मनाइँदै छ।
‘नेपाली टोपीः हाम्रो पहिचान’ भन्ने नाराका साथ युवाले दिवस मनाउन लागेका हुन्। नेपाली पहिचानका रुपमा रहेको दौरा, सुरुवाल, टोपी र गुन्यु चोलीलाई युवामाझ स्थापित गर्न विसं २०७० देखि राष्ट्रिय पोशाक एवं टोपी दिवस मनाउन थालिएको हो।
दिवसका अवसरमा धेरैले राष्ट्रिय पोशाक लगाएको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्ने गरेका छन्। सडक एवं सार्वजनिक यातायातमा राष्ट्रिय पोशाक लगाएर हिँड्नेको सङ्ख्या पनि धेरै देखिने गरेको छ। बाह्र वर्षअघिदेखि जनवरी १ तारिखका दिन राष्ट्रिय पोशाक दिवस मनाउन थालिएको थियो। दिवस मनाउन थालेपछि जनवरी १ तारिखका साथै विवाह, व्रतबन्धजस्ता सांस्कृतिक उत्सवमा पनि राष्ट्रिय पोशाक लगाउने युवाको सङ्ख्या बढ्न थालेको छ।
नेपाली युवाले बिर्सँदै गएको राष्ट्रिय पोशाकको पुनःजागरण हुन थालेको छ। औपचारिक रुपमा राष्ट्रिय पोशाक हटाइएपछि युवाहरु जागरुक भएर यो अभियान सुरु गरेका हुन्। यस अवसरमा आज पाटन दरबार क्षेत्रमा विशेष कार्यक्रमको आयोजना गरिएको छ। कार्यक्रममा संस्कृति, पर्यटन तथा नागरिक उड्ययनमन्त्री बद्रीप्रसाद पाण्डेलगायत सहभागी हुनुहुने जनाइएको छ।
भीम रावलले आज १ बजे पत्रकार सम्मेलन गर्दै
काठमाण्डौं । एमालेबाट निष्कासित भीम रावलले आगामी कार्य योजनाबारे जानकारी दिन आज पत्रकार सम्मेलन गर्दैछन् ।
उनले भावी कार्ययोजना समेत जानकारी गराउन आज पत्रकार सम्मेलन गर्न लागेको रावलका सहयोगी गोविन्द दुवालले जानकारी दिए ।
एमालेको कारबाहीपछि नयाँ पार्टी खोल्नेबारे रावलले आन्तरिक छलफल गरिरहेका छन् । आज दिउँसो १ बजे कार्की ब्याङकेटमा पत्रकार सम्मेलनको आयोजना गरिएको छ ।
एमालेमा झण्डै पाँच दशक सक्रिय रहेका रावललाई एमालेको गत बुधवार बसेको सचिवालय बैठकले पार्टी सदस्यता समेत नरहने गरी निष्कासन गरेको थियो । २०७८ सालमा चितवनमा भएको दशौँ महाधिवेशनमा अध्यक्षका लागि केपी शर्मा ओलीसँग प्रतिस्पर्धा गरेका रावल त्यसयता पार्टीमा निष्क्रियजस्तै थिए ।
इस्वी संवत्को नयाँ वर्ष २०२५ आजदेखि सुरु
काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष इस्वी संवत् २०२५ सुरु भएको छ ।
जिजस क्राइस्टलाई फाँसी दिएपछि इस्वी संवत्को सुरुवात् भएको मान्यता छ । पोप ग्रेगोरियनले जुलियन पात्रो अनुसारको संवतलाई प्रतिस्थापन गर्दै अहिले प्रचलनमा आएको पात्रोलाई चलाएकाले यसलाई ग्रेगोरियन पात्रो अनुसारको नयाँ वर्ष भनिन्छ ।
यो संवत् नेपालमा प्रचलनमा नभए पनि भ्रमणमा आउने विदेशीले यसको प्रयोग गर्छन् ।
विदेशी पर्यटकको भिडभाड हुने काठमाडौंको ठमेल, बौद्ध, पोखरा, सौराहा, लुम्बिनीलगायत ठाउँमा आज विशेष कार्यक्रम हुँदैछ ।