काठमाडौँ । इसेवाले २ लाख रुपैयाँसम्म इजी लोन प्रदान गर्ने भएको छ । इसेवा र गुडविल फाईनान्स बिचको सहकार्यमा यो सेवा थप गरिएको हो ।
इसेवाले गुडविल फाइनान्स लिमिटेडको सहकार्यमा एजेन्टहरुलाई अब ३० हजार देखि २ लाखसम्म इजी लोन प्रदान गर्ने छ । व्यवसाय सञ्चालन गर्न रकमको अभाव भएको खण्डमा होस् वा अनपेक्षित खर्चको लागि पैसाको आवश्यकता परेको बेला बैंक तथा वित्तीय संस्थाबाट ऋण लिने प्रक्रिया झन्झटिलो प्रक्रिया रही आएको छ । इजी लोन आएसँगै यो कुराको धेरै हदसम्म समाधान भएको र व्यापारिक सहजता धेरै बढाएको इसेवा एजेन्टहरूको भनाइ रहेको छ ।
इसेवा इजी लोनमा २ लाख रुपैयाँसम्म पाइने
यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको डीसीईओमा रिजाल नियुक्त
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स कम्पनीको नायब प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) मा रेना रिजाल नियुक्त भएकी छिन् ।
यसअघि सानिमा जीआईसी इन्स्योरेन्स कम्पनीमा उप–महाप्रबन्धक (डीजीएम) रहेकी उनले आगामी सोमबारदेखि यूनाइटेड अजोडमा कार्यभार सम्हाल्ने भएकी हुन् ।
तत्कालीन डीसीईओ नवीन सुवेदीले गत भदौ २८ गते राजीनामा दिएपछि उक्त पद रिक्त थियो ।
२०५७ सालमा तत्कालीन एभरेष्ट इन्स्योरेन्समा अफिसरको रूपमा काम सुरु उनीसँग कुमारी बैंकमा सहायक प्रवन्धक पदमा काम गरेको अनुभव समेत छ ।
महाकुम्भमा भागदौड हुँदा १४ जनाको मृत्यु, ५० बढी घाइते
काठमाडौं । भारतको उत्तर प्रदेशको प्रयागराजमा जारी महाकुम्भ मेलाको संगम तटमा भागदौड हुँदा १४ जनाको ज्यान गएको छ भने ५० भन्दा बढी घाइते भएका छन् । यद्यपी, मृतक वा घाइतेको संख्याबारे प्रशासनले कुनै जानकारी दिएको छैन ।
भारतीय सञ्चारमाध्यमका अनुसार भागदौडपछि प्रशासनको आग्रहमा १३ वटै अखाडाले आज मौनी अमावस्याको अमृत स्नान रद्द गरेका छन् । अखाडा परिषद्का अध्यक्ष रवीन्द्र पुरीका अनुसार संगम नाकामा अत्याधिक भीडभाडका कारण यस्तो निर्णय गरिएको हो । प्रधानमन्त्री नरेन्द्र मोदी र गृहमन्त्री अमित शाहले मुख्यमन्त्री योगी आदित्यनाथसँग फोनमा घटनाको जानकारी लिएका छन् ।
संगम नाकामा अफवाहका कारण भागदौड मच्चिएको हो । केही महिलाहरू भुइँमा लडे र मानिसहरू उनीहरूमाथि दौडे । दुर्घटनापछि ७० भन्दा बढी एम्बुलेन्स संगम तटपुगेका थिए । घाइते र मृतकलाई अस्पताल लगिएको छ । अहिले संगम क्षेत्रमा सर्वसाधारणको प्रवेश रोकिएको छ । भीड बढ्न नदिन प्रयागराज सहरमा पनि भक्तजनको आगमनमा रोक लगाइएको छ । त्यसका लागि सहरसँग सीमा जोडिएका जिल्लामा प्रशासनलाई सतर्कता अपनाइएको छ ।
आज मौनी अमावस्याको महाकुम्भमा स्नान हुने भएकाले करिब ५ करोड भक्तजन नगरमा आउने अनुमान गरिएको छ । प्रशासनका अनुसार राति अबेरसम्म संगमसहित ४४ घाटमा आठदेखि १० करोड भक्तजनले स्नान गर्ने अपेक्षा गरिएको छ ।
हिजो मंगलबार साढे ५ करोडभन्दा बढी भक्तजनले संगममा स्नान गरेका थिए । प्रयागराज सहरमा सुरक्षाका लागि ६० हजारभन्दा बढी सैनिक तैनाथ छन् ।
आज शहीद दिवस मनाइँदै
काठमाण्डौं । प्रजातन्त्र स्थापना एवम् पुनःस्थापना अनि विभिन्न कालखण्डमा स्वतन्त्रताका लागि जीवन अर्पण गरेका शहीदको सम्झनामा बुधबार विभिन्न कार्यक्रम गरी शहीद दिवस मनाइँदै छ ।
२००७ सालपछि हरेक वर्ष माघ १६ गतेलाई शहीद दिवसका रुपमा मनाउने गरिएको छ । माघ १० देखि १६ गतेसम्म विभिन्न कार्यक्रमका साथ शहीद सप्ताह मनाउने घोषणा गरी विविध कार्यक्रम हुँदै आएका छन् ।
२०१२ सालदेखि नै तत्कालीन काठमाडौं नगरपालिकाको संयोजकत्वमा हरेक वर्ष माघ १६ गते शहीदको सम्झनामा दिवस मनाउन थालिएको हो ।
स्वतन्त्रताको माग गर्दा १९९७ सालमा शुक्रराज शास्त्रीलाई माघ १० गते काठमाण्डौको टेकुको पचलीमा, माघ १३ गते धर्मभक्त माथेमालाई सिफलमा र गङ्गालाल श्रेष्ठ एवम् दशरथ चन्दलाई माघ १५ गते शोभा भगवतीमा राणा शासकले मृत्युदण्ड दिएका थिए ।
शहीद दिवसको अवसरमा सरकारले सार्वजनिक विदा दिएको छ । बिहान शान्तिबाटिका रत्नपार्कदेखि शहीद स्मारक लैनचौरसम्म प्रभातफेरि कार्यक्रम आयोजना गरिएको छ ।
प्रधानमन्त्री, मन्त्री, सरकारका उच्च पदस्थ अधिकारी, जनप्रतिनिधि, सुरक्षा निकायको ब्याण्ड टोली र मार्चपास टोलीसहितको प्रभातफेरि शहीद स्मारक लैनचौर पुगेर ज्ञातअज्ञात शहीदप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ ।
यसैगरी लखन थापादेखि पछिल्ला स्वतन्त्रताका आन्दोलनमा शहादत प्राप्त गर्नुहुने शहीदको सम्झनामा मन्त्रिपरिषद्को २०६४ साल जेठ ११ गतेको निर्णयअनुसार उपत्यकाको उत्तरपूर्वी भेग गोकर्णेश्वरमा निर्माण भइरहेको राष्ट्रिय शहीद स्मारकमा कार्यक्रमको तयारी भएको छ ।
पछिल्लो समय नारायणहिटी दरबार सङ्ग्रहालय परिसरमा निर्माण भएको गणतन्त्र स्मारकमा शहीदप्रति श्रद्धाञ्जली गर्ने स्थल राखिने घोषणा गरिएको छ । स्मारकमा राष्ट्रपति, उपराष्ट्रपति, प्रधानमन्त्री, मन्त्रीलगायत उच्च पदस्थले शपथ लिएपछि शहीदलाई श्रद्धाञ्जली अर्पण गर्ने गरी तयारी गरिएको छ ।
भाइरल गर्ल मोनालिसालाई चलचित्रको समेत अफर
काठमाडौं । सामाजिक सञ्जालमा नीला आँखावाली एक किशोरी चर्चामा छिन् । भारतको प्रयागराजमा चलिरहेको महाकुम्भ मेलामा माला बेच्दै गरेकी युवती आकर्षक नीला आँखा र मीठो मुस्कानले अहिले देशविदेशमा भाइरल छिन् ।
ती हुन् मोनालिसा भोस्ले, जसलाई भाइरल मोनालिसाको नाम दिइएको छ । उनले मेलामा रुद्राक्षका माला बेच्छिन् । त्यही बेला उनको सौन्दर्यमा लोभिएका केही मान्छेले भिडियो खिचेर सामाजिक संजालमा पोस्ट गरे । भिडियो रातारात भाइरल भयो ।
मोनालिसाको गाढा छाला, सुन्दर आँखा अनि लवजलाई धेरैले मन पराउन थाले । त्यसयता उनको चर्चा देश विदेशमा चुलिएको छ । केही मिडिया रिपोर्टमा निर्देशक सनोज मिश्राले चलचित्रको अफर गरेको दावी गरेका छन् । मिश्राले यसअघि ‘दी डायरी अफ वेस्ट बंगाल’ र ‘रामकी जन्मभूमि’जस्ता चलचित्र निर्देशन गरेका छन् ।
मोनालिसाले भने अफरको बारेमा कुनै प्रतिक्रिया नदिएको जनाईएको छ । मिश्राले ‘दी डायरी अफ मणिपुर’मा भूमिकाको लागि अफर गरेका थिए ।
अनलाइन भाइरल हुन थालेपछि मेलामा उनको पसल बाहिर मान्छेको भीड लाग्न थाल्यो । अटोग्राफ लिन र तस्वीर खिचाउनेको भीड जम्मा हुन थाल्यो । भीड बढ्न थालेपछि १६ वर्षिया किशोरीमाथि दुव्र्यवहार समेत हुन थाल्यो । परिवार छोरीको सुरक्षालाई लिएर चिन्तित हुन थाल्यो ।
एक भिडियोमा मोनालिसालाई पसल वरपर मान्छेले तानिरहेको देखाइएको थियो । त्यतिबेला परिवारले माथिबाट कपडाले ढाक्नुपरेको थियो । वास्तवमा यो चिन्ताको विषय बन्यो । यसपछि उनका पिताले घर फर्काइदिए ।
मोनालिसा मेलाबाट फर्केपछि पनि क्लिप भाइरल भए । केही भिडियोमा स्थानीय मेकअप आर्टिस्टबाट मेकओभर गरिरहेको देखियो । मेकअप गर्दा उनको प्राकृतिक सौन्दर्य ढाकिएको भन्दै विरोध पनि भयो । धेरैले उनको प्राकृतिक सौन्दर्य राम्रो रहेको जनाए ।
यसरी माला बेचेर बस्ने किशोरी रातारात भाइरल बनिन् । उनको यो यात्रा महाकुम्भ मेलादेखि बलिउडसम्म निकै कठिन थियो । इन्टरनेटको प्रसिद्धिले उनलाई चर्चामा ल्यायो, यसको कारण उनले मानसिक र शारीरिक दुःख पनि भोग्नुपर्यो । उनको चर्चा यतिसम्म छ कि भारतीय मूलधारका मिडियाले समेत कभरेज गरिरहेका छन् ।
चलचित्र दुःखी आत्मा’ फागुन २ गतेबाट प्रदर्शनमा आउने
काठमाण्डौं । प्रणय दिवसको दिन पारेर आगामी फागुन २ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको चलचित्र ‘दुःखी आत्मा’को टिजर र ‘ब्रेकअप कविता’ले चर्चा पाइरहँदा पहिलो गीतको रुपमा मंगलबार ‘जुनीजुनी भरिलाई’ सार्वजनिक गरिएको छ । रोमान्टिक भावको गीतमा केतन क्षेत्री र मुना ठटालको पार्श्व गायन छ भने इश्वर कार्कीको शब्द रचना तथा संगीत छ । उदयराज पौडेलले एरेञ्ज गरेका हुन् ।
सार्वजनिक गीतको भिडियोमा फिल्मका मुख्य अभिनेता दयाहाङ राई र अभिनेत्री आँचल शर्मा चित्रित छन् । गीतले उनीहरुको प्रेमभाव बोल्छ । तीन फरक फरक ठाउँमा खिचिएको गीतलाई झकिझकाउ देखाउन सुन्तला, फूल, छाता, ढकी जस्ता प्रप्सहरु ठूलो संख्यामा प्रयोग गरिएको छ भने कोरस पनि उल्लेख्य छन् । भिडियोका कोरियोग्राफर रामजी लामिछाने हुन् ।
चलचित्रको लेखन तथा निर्देशन दीपेन्द्र लामाले गरेका हुन् । यो उनको छैठौँ निर्देशित चलचित्र हो । यसअघि उनले ‘घामपानी’, ‘गोपी’, ‘दुई नम्बरी’, ‘छ माया छपक्कै’ र ‘नाङ्गो गाउँ’ निर्देशन गरिसकेका छन् । रोचक कुरा के छ भने ‘गोपी’ र ‘छ माया छपक्कै’बाहेक उनका अन्य चलचित्रमा दयाहाङ छुटेका छैनन् । दयाहाङसँग उनको सहकार्य फापेको पनि छ ।
‘दुःखी आत्मा’लाई हिमाल कडरियाले निर्माण गरेका हुन् । यसमा दयाहाङ र आँचलसहित अनुप विक्रम शाही, वुद्दि तामाङ, रेयर राई, पुष्कर गुरुङ, कविता आले, अशान्त शर्मा, लोकेन्द्र लेखक, आरती आचार्य लगायतको अभिनय छ । सुदीप बराल कार्यकारी निर्माता रहेको चलचित्रमा आलोक शुक्लाको छायांकन छ भने निमेष श्रेष्ठको सम्पादन छ । चलचित्रलाई ‘एडल्ट ड्रामा’ भनिएको छ ।
चलचित्र ‘जार’ नयाँ वर्षको वैशाखबाट प्रदर्शनमा आउने
काठमाडौँ । साहित्यकार इन्द्रबहादुर राईको ऐतिहासिक कथामा आधारित चलचित्र ‘जार’ को अफिसियल रिलिज घोषणा गरिएको छ । निर्माण ब्यानर फेरि टेल पिक्चर्सले चलचित्रको एक पोस्टर सार्वजनिक गर्दै ‘जार’ आगामी वैैशाखमा प्रदर्शनमा आउने जानकारी दिएको छ ।
चलचित्र प्रदर्शनको लागि नेपालभित्र एप्पल इन्टरटेन्मेन्ट, रीच इन्टरटेन्मेन्ट र एफडी कम्पनिले वितरण अधिकार खरिद गरेको छ भने अन्तर्राष्ट्रिय वितरकको रूपमा सेभेन सिज सिनेमा अनुबन्ध भएको छ । यसैसाता वितरण कम्पनीहरूसँग सम्झौतापछि निर्माण टिमले आधिकारिक प्रदर्शन मिति तय गरेको हो ।
सार्वजनिक पोस्टरमा प्रमुख तीन पात्रलाई क्यारेक्टर लूक्समा देखाइएको छ । चलचित्रको शीर्ष भूमिकामा अभिनेताद्वय सौगात मल्ल, अनुपबिक्रम शाही र भारतीय राष्ट्रिय चलचित्र पुरस्कार विजेता अभिनेत्री गीताञ्जली थापा छन् । ‘लायर्स डाइस’बाट उत्कृष्ट अभिनेत्री विधामा भारतको राष्ट्रिय अवार्ड जितेकी गीताञ्जली अभिनित चलचित्र टोरन्टो, बुसान, लस एन्जलस, न्युयोर्क लगायतका विश्व चर्चीत फिल्म फेस्टिभलमा समेत स्क्रिनिङ भइसकेका छन् । नेटफ्लिक्स सिरिज ‘सेक्रेड गेम्स’मा पनि गीताञ्जलीले अभिनय गरेकी छिन् ।
फूर्वा छिरिङ लामाको निर्देशन रहेको चलचित्रको सम्पूर्ण छायाङ्कन सिक्किममा गरिएको छ । अधिकांश कलाकार र सम्पूर्ण प्राविधिक टिम भारतबाट नै छन् । होप रिल्स, एलए सेभेन सट्र्स, बराल स्टुडियो र किवा प्रोडक्सनको सहकार्यमा निर्माण भएको यो फिल्मको कार्यकारी निर्मातामा त्रिलोचन पाण्डे, नीरज राई, नुर्साङ भुटिया, ज्योती क्षेत्री र पेमा रिन्जिङ लेप्चा छन् ।
सन् १८ सयको दशक अन्त्यतिर नेपाली समाजमा घटेको एक यथार्थ घटनालाई फिल्मले बोल्नेछ । चलचित्रमा झुमा लिम्बु र गंगा थापाको संगीत छ । नेपाल र भारतसहित अन्तर्राष्ट्रिय बजारमा यो फिल्म एकसाथ प्रदर्शनमा आउने निर्माण टिमले जनाएको छ ।
भोलिदेखि प्रदर्शनमा आउन लागेको ‘एक्टर ः टेक वन’को प्रदर्शन रोक्न अदालतको आदेश
काठमाडौं । काठमाडौं जिल्ला अदालतले चलचित्र ‘एक्टर ः टेक वन’को प्रदर्शन रोक्न अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ ।
भोलि बुधबारबाट प्रदर्शनमा आउन लागेको चलचित्रको प्रदर्शन रोक्न न्यायाधीश ढाकाराम पौडेलको एकल इजलासले आदेश दिएको हो । अदालतले माघ २२ गते दुवै पक्षलाई छलफलका लागि पनि बोलाएको छ ।
आदेशमा भनिएको छ, ‘निवेदकको चलचित्र ‘एक्टर’ प्रदर्शन भइरहेको र प्रतिवादी कम्पनीबाट निर्मित चलचित्र प्रदर्शनको संघारमा रहेको भन्ने देखिएकोले उक्त छलफलको अवधिसम्म सुविधा र सन्तुलनको हिसाबले ‘एक्टर स् टेक वन’लाई सो अवधिसम्म प्रदर्शन नगर्नु नगराउनु भनी चलचित्र विकास बोर्ड समेत विपक्षीका नाममा यो अल्पकालीन आदेश जारी गरिदिएको छ ।’
गत माघ ४ गते प्रदर्शनमा आएको फिल्म ‘एक्टर’को प्रस्तुतकर्ता कम्पनी नेपाली डायस्पोरा इन्टरटेन्मेन्टको तर्फबाट सम्राट थापाले आइतबार आफ्नो चलचित्रको नाम र कथावस्तु चोरी गरेर ‘एक्टर स् टेक वन’ निर्माण गरेको भन्दै चलचित्रको प्रदर्शन रोक्न माग गर्दै जिल्ला अदालत काठमाडौंमा रिट दायर गरेका थिए ।
रविको मुद्दामा कैफियत प्रतिवेदन माग्ने उच्चको आदेश
काठमाडौं । पोखरा उच्च अदालतले रवि लामिछाले दर्ता गरेको निवेदनमा कैफियत प्रतिवेदन मागेको छ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति लामिछानेले दर्ता गरेको निवेदनमा उच्चले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।
न्यायाधीश मीलन कुमार राईको इजलासले कैफियत प्रतिवेदन माग्ने आदेश दिएको हो ।
लामिछानेले ६५ लाख धरौटीमा कास्की जिल्ला अदालतबाट रिहा भएका छन् । जिल्ला अदालतको आदेश चित्तबुझ्दो नभएको भन्दै लामिछानेले उच्च अदालतमा निवेदन दर्ता गरेका थिए ।
०८४ को चुनावपछि मात्र सरकार परिवर्तन हुने प्रधानमन्त्रीको दाबी
काठमाडौं । नेकपा (एमाले) का अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार २०८४ को चुनावपछि मात्रै परिवर्तन हुने दाबी गरेका छन् ।
मंगलबार एमालेको संसदीय दलको बैठकलाई सम्बोधन गर्दै उनले सरकारले ढलिहाल्छ भन्ने भ्रमपूर्ण अभिव्यक्तिहरु आइरहेको भन्दै उनले ०८४ को चुनावसम्म अहिलेकै सरकार जाने दाबी गरे ।
उनले भने, दिनैपिच्छे सरकार ढल्छ, बेलुका वा साँझसम्ममा ढल्छ ढल्छ ,राती नै ढल्छ । भोली नै ढलेन भने पर्सिलाई सार्ने गरिन्छ । तर ०८४ को निर्वाचनपछि सरकार ढल्छ । ०८४ को निर्वाचनमा परिणाम आएपछि कसरी जान्छ भन्ने कुरा त्यहीबेला थाहा हुन्छ । सरकार मंसिरमा ढल्छ, भनेको मान्छेहरुले अस्ति गएको मंसिर बुझेछन् । ०८४ को चुनावपछि सरकार परिवर्तन हुन्छ ।त्यो भन्दा अगाडि ढल्दैन् ।’
यस्तै,उनले आफ्नो श्रीमतीको नाममा स्वीस बैंकमा पैसा राखेको भनेर झुटो प्रचारप्रसार भइरहेकोमा आपत्ति जनाए । उनले भने,‘मैले टिकटकमा हेर्दै थिए । एउटा मानिसले बोलेको रहेछन् । प्रधानमन्त्री केपी शर्मा ओलीले श्रीमतीको नाममा ४१ करोड रुपैयाँस्वीस बैंकमा जम्मा गरेको छ भनेर आफैंले आश्चर्य मान्नुपर्छ ।
त्यस्तै,उनले सरकारले ल्याएका अध्यादेशमार्फत बन्ने कानुन देश विकासमा सहयोगी बन्ने जनाउँदै अध्यादेशबाट देशभित्र बसेर केही गर्छु भन्ने युवाहरू धेरै खुसी भएको जनाए ।