पाल्पा । राष्ट्रिय गौरवको आयोजना सिद्धबाबा सुरुङमार्ग आज वारपार छेडिँदै छ । शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा सुरुङमार्ग छिचोलिने भएको हो ।
प्रधानमन्त्री ओली आज बिहान पाल्पाको बगनासकाली गाउँपालिका भवन र तिनाउ गाउँपालिकाको दोभानमा नवनिर्मित प्रशासकीय भवन उद्घाटन गरिसकेपछि सुरुङमार्ग छिचोल्ने कार्यक्रममा सहभागी हुने कार्यक्रम तय भएको छ ।
कुल एक हजार एक सय २६ मिटर लामो सुरुङमा मुख्य सुरुङको खन्न बाँकी रहेको साढे एक मिटर भाग आज छिचोलिने आयोजनाका प्रमुख कृष्णराज अधिकारी जानकारी दिए । सुरुङ छिचोलिएपछि अन्य कामलाई तीव्रता दिइने उनले जनाए ।
सुरुङमार्गको तीन वटा सहायक सुरुङ यसअघि नै छिचोल्ने काम सकिएको छ । जसमा बाइपास सुरुङ ३ को गत भदौ २६ मा, बाइपास सुरुङ १ को असोज ४ मा र बाइपास सुरुङ २ को पुस ७ मा ‘ब्रेक थ्रु’ भएको थियो । बाइपास सुरुङहरु क्रमशः १५१, २६१ र ३३० मिटर लामा छन् ।
मुख्य सुरुङ ‘ब्रेक थ्रु’ गरेपछि सुरुङभित्रको भुइँ र भित्तामा बिजुलीबत्ती जडान लगायतका कामलाई तीव्रता दिइने प्रमुख अधिकारीले जनाए । यस्तै गाडी गुड्ने क्षेत्र निर्धारण गरेर ‘पेभमेन्ट’ ढलानको काम अघि बढ्ने आयोजनाले जनाएको छ ।
आयोजनाकी सूचना अधिकारी सबिता ज्ञवालीका अनुसार आयोजनमा विद्युतीकरण, भेन्टिलेसन, नालीलगायतका कामलाई पनि गति दिइने छ । यस्तै सुरुङमार्गको उत्तर र दक्षिण भागमा ‘रक सेड’ र ‘रक नेट’को काम अघि बढाइने आयोजनाले जनाएको छ ।
सिद्धार्थ राजमार्गको दोभानदेखि सिद्धबाबा मन्दिरसम्मको क्षेत्रलाई पहिरोको अति जोखिम क्षेत्र मानिने हुँदा सरकारले सुरुङमार्ग निर्माणको अवधारणा अघि सारेको थियो ।
सिद्धबाबा सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले सात अर्ब ३४ करोड २१ लाख रुपियाँमा ठेक्का सम्झौता गरेर पाँच वर्षमा निर्माण सक्नेगरी काम अघि बढाएको थियो । वि.स. २०८० माघ ४ गतेदेखि सुरुङ खन्न सुरु भएको थियो ।
हालसम्म सिद्धबाबा सुरुङमार्गको भौतिक प्रगति ४०.१८ प्रतिशत र वित्तीय प्रगति ३९.९० प्रतिशत पुगेको आयोजनाले जनाएको छ । बाँकी कामलाई गति दिएर अबको दुई वर्षभित्र सबै काम सक्ने लक्ष्य आयोजनाले राखेको छ ।
आज प्रधानमन्त्रीको उपस्थितिमा सिद्धबाबा सुरुङमार्ग छिचोलिने
रवि लामिछानेको मुद्दामा आज पनि थुनछेक बहस हुने
काठमाडौं । बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन प्रकरणमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं पूर्वगृहमन्त्री रवि लामिछानेविरुद्धको मुद्दामा आज पनि थुनछेक बहस जारी रहने भएको छ।
जिल्ला अदालत रुपन्देहीमा बिहीबार सरकारी वकिलहरूले ४ घण्टा बहस गरेका गरेका थिए। आज पनि सो क्रम जारी रहने र बाँकी रहेका वकिलहरूको बहसपछि रविको पक्षमा रहेका वकिलहरूले बहस गर्नेछन्।
आज शुक्रवार भएकाले र रवि पक्षका धेरै वकिल भएर नसकिने भएकाले कम वकिललाई बहस गराएर आजै टुङ्गाउने तयारी छ।
आज सुरुमा जाहेरवाला तर्फका वकिलहरू वरिष्ठ अधिवक्ता सुरेन्द्र भण्डारी र अधिवक्ता आर्सी गौतमले बहस गरेपछि लामिछानेका वकिलहरूले बहस गर्नेछन्।
लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ता तथा पूर्वमहान्यायाधिवक्ता सुशीलकुमार पन्तसहितका अधिवक्ताको बहस सकिएपछि सरकारी वकिल र जाहेरवाला तर्फका वकिलले जवाफी बहस गर्नेछन्।
त्यसपछि भने न्यायाधीशले थुनछेक आदेशमार्फत रवि पुर्पक्षका लागि थुनामा जाने, धरौटीमा रिहा हुने वा साधारण तारिखमा रिहा हुने आदेश सुनाउनेछन्।
गत माघ ६ गते जिल्ला सरकारी वकिल कार्यालयले पूरक अभियोग पत्रबाट लामिछाने, पूर्वडीआईजी छविलाल जोशीसहित १४ जनाविरुद्ध सहकारी ठगी र सङ्गठित अपराधमा मुद्दा दर्ता गरेको थियो।
मुद्दामा जीबी राई, रवि लामिछानेसहित २८ जनाबाट ५५ करोडभन्दा बढी र रवि, छविलाल जोशी र लक्ष्मीप्रसाद पौडेलबाट १० करोड ९९ लाख थप बिगो र रविको व्यक्तिगततर्फ २ करोड बिगो समेत दाबी गरिएको छ।
पोखरा र भैरहवाबाट हुने अन्तर्राष्ट्रिय उडानमा सेवा शुल्क खारेज, भाडा ३ हजार घट्ने
काठमाडौं। सरकारले पोखरा र भैरहवास्थित अन्तर्राष्ट्रिय विमानस्थलबाट हुने अन्तर्राष्ट्रिय उडान टिकटमा समावेश हुँदै आएको विमानस्थल सेवा शुल्क खारेज गरेको छ । यस्तो शुल्क प्रतियात्रु ३ हजार रुपैयाँ बराबर छ ।
संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव विनोदप्रकाश सिंहका अनुसार भदौ २०८३ सम्मका लागि विमानस्थल सेवा शुल्क पूर्णरूपमा छुट दिने निर्णय भएको हो ।
योसँगै यी विमानस्थलबाट हुने उडानमा अब प्रतिटिकट कम्तीमा ३ हजार रुपैयाँ घट्ने छ । अहिले नेपाल नागरिक उड्डयन प्राधिकरणले यात्रु सेवा शुल्कबापत प्रतिटिकट ३ हजार बराबर शुल्क लगाउँदै आएको छ।
यो शुल्क काठमाडौं विमानस्थलबाट विदेश उड्नेका हकमा भने यथावत छ । सरकारले नयाँ विमानस्थलमा वायुसेवा कम्पनी र यात्रु आकर्षित गर्न यस्तो निर्णय गरेको जनाएको छ ।
थुनछेक बहस सकियो, रवि भोलि पुनः अदालत उपस्थित हुने
बुटवल । रास्वपाका सभापति रवि लामिछानेको थुनछेक बहस सकिएको छ । बिहीबार रुपन्देही जिल्ला अदालतमा लामिछाने विरुद्धको थुनछेक मुद्दामा सरकारी वकिलको बहस सकिएको हो । पीडित पक्षको दुई वकिलको बहस भने बाँकी रहेको छ ।
रुपन्देही जिल्ला अदालतका स्वास्तेदार गोविन्द ज्ञवालीले सरकारी वकिलको बयान सकिएको जनाए । उनले पीडित र रविका तर्फबाट भोलि बहस हुने जनाए। उनले रविलाई हिजो जस्तै परिवारको जिम्मा लगाइएको जानकारी दिए ।
सरकारी बहसमा जिल्ला सरकारी वकिलका प्रमुख प्रेमराज पौडेल, गोकर्ण घिमिरे, पवित्रा भण्डारी, वसन्त पोखरेल र सुनिल लामिछानेले बहस गरेका छन् । जिल्ला अदालत रुपन्देहीका न्यायाधीश प्रह्लादकुमार योगीको इजलासमा भएको बहसमा उच्च सरकारी वकिल कार्यालय बुटवलका तर्फबाट सोमकान्त भण्डारी, प्रकाश मरासिनी र रवि न्यौपाने बहस गरेका छन् ।
आईएमईसँगको सहकार्यमा अशोक लेल्यान्डले ल्यायो लेपावर जेनसेट
काठमाडौँ । कमर्सियल सवारी साधन र पावर सोलुसनको क्षेत्रमा परिचित कम्पनी अशोक लेल्यान्डले आईएमई ग्रुपसँगको सहकार्यमा नेक्स्ट–जेन लेपावर जेनसेट सार्वजनिक गरेको छ ।
लेपावर जेनसेटको आधिकारिक वितरकको रूपमा आईएमई इलेक्ट्रिक प्रालिले देशमा बढ्दै गएको ऊर्जा मागलाई पुरा गर्ने उद्देश्यका साथ अत्याधुनिक पावर सोलुसन उपलब्ध गराउने क्रममा लेपावर जेनसेट बजारमा ल्याएको हो ।
सो अवसरमा नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले अशोक लेल्यान्डको सन्तुष्ट ग्राहकको नाताले म हिनो इन्जिन र यसको सुपेरियर बिल्ड क्वालिटीप्रति विश्वस्त रहेकाले पावर सोलुसन बजारमा समेत लेपावर जेनसेट गेम चेन्जर बन्ने विश्वास लिएको जनाए ।
अशोक लेल्यान्डका सार्क हेड तथा कार्यक्रमका प्रमुख अतिथि अमिताभ श्री वास्तवले अशोक लेल्यान्ड इन्डियाले लेपावर जेनसेटका साथ नेपालको बजारमा आफ्नो उपस्थितिलाई विस्तार गर्दै गइरहेको जनाए । आईएमई ग्रुपसँगको सहकार्यले विश्वसनीयता र उत्कृष्टताका माध्यमबाट सहरी र औद्योगिक क्षेत्रमा आवश्यक ऊर्जा उपलब्ध गराउनका लागि यी जेनसेट उत्पादन तथा बिक्री वितरण गरिएको श्रीवास्तवको भनाइ छ ।
सो अवसरमा आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले सबै क्षेत्रमा गुणस्तरीय उत्पादन र सेवा उपलब्ध गराउनमा आईएमई ग्रुप प्रतिबद्ध रहेको जनाए । ग्राहक सन्तुष्टि र विश्वसनीयता बढाउन बिक्री पछिको सेवालाई प्राथमिकता दिएको र लेपावर जेनसेटका ग्राहकलाई समेत खुसी र विश्वसनीयता कायम राख्न अतुलनीय सेवा र जेन्युइन स्पेयर पार्ट्स उपलब्ध गराउन प्रतिबद्ध रहेको पनि अध्यक्ष ढकालले उल्लेख गरे ।
कार्यक्रममा आईएमई इलेक्ट्रिकका कार्यकारी निर्देशक निशान ढकाल, आईएमई मोटर्सका निर्देशक सन्दिप अग्रवाल र अशोक लेल्यान्डका कन्ट्री म्यानेजर बिप्लव पाउल लगायतका व्यक्तिहरूको समेत उपस्थिति थियो ।
कार्यक्रममा लेपावर जेनसेटका नयाँ ग्राहकलाई साँचो हस्तान्तरण समेत गरिएको थियो । हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको छ । यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरिएको छ ।
महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिताको पुरस्कार वितरण
काठमाडौं । महालक्ष्मी विकास बैंकले अगस्ट १९ मा मनाइने विश्व फोटोग्राफी दिवसको अवसरमा आयोजना गरेको “महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण २” को पुरस्कार वितरण कार्यक्रम आज सम्पन्न भएको छ ।
काठमाडौं, दरबारमार्गमा आयोजित कार्यक्रममा प्रथम, द्धितीय, तृतीय स्थान तथा पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो ।
उक्त प्रतियोगितामा सुवास श्रेष्ठ प्रथम, शौरभ बज्राचार्य दोस्रो र पारस राज बर्जाचार्य तेस्रो हुन सफल भएका छन् । विजेताले प्रमाणपत्रका साथमा क्रमश २० हजार, १५ हजार र १० हजार रुपियाँँको नगद पुरस्कार प्राप्त गरेका छन् ।
पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी घनश्याम श्रेष्ठल अवार्ड जित्न सफल भउका छन् । उनले प्रमाणपत्रको साथै ५ हजार रुपियाँ प्राप्त गरेका छन् । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो ।
उक्त प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए । प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए ।
प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा राष्ट्रिय स्तरको स्किल फेस्टको आयोजना
काठमाडौँ । टीभीएस मोटर कम्पनीद्वारा काठमाडौँमा आयोजित राष्ट्रिय स्तरको सिप प्रतियोगितामा, जेएमपीएल नेपालको प्रतिनिधित्व गर्दै ३० उत्कृष्ट टेक्नीसियनहरूले सहभागिता जनाएका छन् ।
प्रतियोगितामा सहभागी ३० जना प्रतिभाशाली टेक्नीसियनहरू नेपालभर बाट छानिएका उत्कृष्ट हुन् । तिनले प्रतियोगितामा टीभीएस मोटर्सले आफ्ना टेक्नीसियनहरूको क्षमता बृद्धि गर्दै अटोमोटिभ उद्योगमा आफ्नो नेतृत्वलाई थप बलियो बनाउने प्रतिबद्धताको प्रतिनीधित्व गर्दै मोटरसाइकल प्रविधिको क्षेत्रमा आफ्नो सीप र ज्ञानको बेजोड प्रदर्शनी गरे । यी शीर्ष ३० टेक्नीसियनहरू मध्यबाट पनि उत्कृष्ट ५ को छनोट गरिने र तिनले भारतको बेंगलोरमा टीभीएस मोटर कम्पनीद्वारा आयोजित हुने एसिया स्तरको सीप प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्नेछन् ।
विश्वव्यापी स्तरमै दुईपांग्रे सवारी साधनको क्षेत्रमा अग्रणी कम्पनीका रुपमा परिचित टीभीएस मोटर्सले यो टेक्नीसियन भेटघाट विभिन्न देशका उत्कृष्ट टेक्नीसियनहरूलाई एकै मञ्चमा उभ्याउने उद्देश्यका साथ आयोजना गरेको हो । यो कार्यक्रम ज्ञान आदानप्रदान गर्न, नवीनतम प्राविधिक नवप्रवर्तनहरू उजागर गर्न र मोटरसाइकल उद्योगमा सेवा स्तरलाई नयाँ उचाइमा पुर्याउन लक्षित रहेको छ । प्रतियोगितामा सहभागिताका लागि टीभीएस सवारी साधनहरूको मर्मत तथा सेवा प्रवाहमा अद्वितीय दक्षता देखाएका र उत्कृष्ट प्रदर्शन गर्ने टेक्नीसियनहरूको चयन गरिएको छ ।
प्रतियोगितामा जटिल डायग्नोस्टिक र मर्मत चुनौतीहरूको श्रृंखलाले टेक्नीसियनहरूको समस्या समाधान गर्ने क्षमता, टीभीएस मोटरसाइकलको उन्नत प्रविधिहरूको ज्ञान र ग्राहक सेवा सीपहरूको परीक्षा लिइएको थियो । प्रतियोगिता, सहभागीहरूको प्राविधिक दक्षता प्रदर्शन गर्नका लागि मात्र नभई सहकर्मी र उद्योगकै अग्रणीहरूसँग प्रत्यक्षरुपमा सिक्ने उल्लेखनीय अवसर पनि हो ।
टीभीएस मोटर्सको उत्कृष्टताप्रतिको प्रतिबद्धता उच्च–गुणस्तरीय सवारी साधन निर्माणमा मात्र सीमित छैन । कम्पनीले सेवा सञ्जालको मामिलामा पनि समान स्तरको प्रदर्शन कायम राख्न सकियोस् भन्ने कुरामा विशेष ध्यान केन्द्रित गरेको छ । यस्ता कार्यक्रमहरू मार्फत, टीभीएस मोटर्सले बजारमा आफ्नो नेतृत्वलाई अझ बलियो बनाइरहेको छ । कुशल टेक्नीसियनहरूले पनि ग्राहक सन्तुष्टि र विश्वास कायम राख्न उल्लेखनिय भूमिका खेल्ने कुरालाई विशेष दृष्टिगत गरेको कार्यक्रममार्फत प्रस्ट हुन्छ ।
राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज १ बजे बस्दै
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्दैछ ।
भोलिदेखि सुरू हुने केन्द्रीय समितिको बैठकको अजेन्डा तय गर्नका लागि आज केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्न लागेको हो ।
बैठक आज दिउँसो १ बजे केन्द्रीय कार्यालय, धुम्बाराहीमा बस्ने प्रचार विभाग प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिए ।
आज तीन वटा संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज एकै पटक तीनवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत बिहान ११ः३० बजे राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै छ । बैठकमा सङ्घीय निजामती सेवाको गठन, सञ्चालन र सेवाका शर्त सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक,२०८० माथि दफावार छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा, श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयसँग छलफल हुनेछ ।
बिहान साढे ११ बजे बस्ने उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा नेपाल मेडिकल व्यवसायी सङ्घ र नेपाल निर्माण व्यवसायी महासङ्घका पदाधिकारीहरूसँग छलफल हुनेछ ।
रुपन्देही अदालतमा रवि लामिछानेको थुनछेक बहस आजदेखि
बुटवल । पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछाने आज पनि रुपन्देही जिल्ला अदालतमा उपस्थित हुँदैछन् ।
सहकारी ठगीमा पक्राउ परेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापतिसमेत रहेका लामिछाने हिजो हाजिरी जमानीमा रिहा भए पनि आजबाट हुने थुनछेक बहसका लागि उपस्थित हुन लागेका हुन् ।
हिजो रुपन्देही जिल्ला अदालतका न्यायाधीश प्रल्हादकुमार योगीको इजलासले उनलाई बिहीबार उपस्थित हुने सर्तमा पत्नी निकिता पौडेल र कानुन व्यवसायीको जिम्मामा छाडेका थिए ।
बुटवलको सुप्रिम बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनसम्बन्धी मुद्दामा बुधबार रविको बयान सकिसकेको छ । आजबाट कानुन व्यवसायीहरू थुनछेक बहसमा सहभागी हुनेछन् ।
बुटवलस्थित सुप्रिम सहकारी ठगी प्रकरणमा बयान दिन लामिछाने आज अदालतमा उपस्थित हुँदैछन् । कास्की प्रहरी हिरासतमा रहेका बेला पक्राउ पुर्जी पाएपछि यसअघि उनलाई कात्तिक २७ मा मा बुटवल लगेर बयान गराइएको थियो ।
सुप्रिम सहकारीमा रहेका १ हजार ८३१ बचतकर्ताको ८६ करोड १८ लाख २३ हजार ७५४ रूपैयाँ हिनामिना गरेको दाबी गर्दै २८ जनाविरुद्ध मुद्दा दायर भएको थियो । गत वैशाख ३ मा पहिलो पटक मुद्दा दायर भए पनि लामिछानेलाई भने पुरक उजुरीमा राखिएको हो ।
प्रहरीले सुप्रिम सहकारीबाट १४ करोड २९ लाख रुपैयाँभन्दा बढी रकम गोर्खा मिडिया नेटवर्क प्रालिमा गएको र २ करोड रुपैयाँ भने रवि लामिछानेको नाममा ऋण गएको भेटिएपछि उनीमाथि उजुरी गरिएको हो ।
लामिछाने यसअघि कास्कीमा ६५ लाख र काठमाडौंमा ६० लाख धरौटी बुझाएर छुटेका हुन् । बुटवलपछि उनले चितवन र पर्सा पनि अदालतमा बयान दिन जान बाँकी नै छ । ती जिल्लाबाट पनि पक्राउ पुर्जी जारी गरेपछि चितवन र पर्सा दुवैमा सरकारी वकिलसमक्ष बयान दिइसकेका छन् ।