ताप्लेजुङ । ताप्लेजुङमा रहेको प्रसिद्ध धार्मिक तीर्थस्थल पाथीभरा देवी मन्दिरसम्म पुग्ने पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार परियोजना निर्माण कार्य आजबाट सुरु भएको छ । हिमालय कन्स्ट्रक्सनका प्रमुख इन्द्र केदेमले बटम स्टेसनबाट केबलकार निर्माणको कार्य आजैबाट सुरु भएको जानकारी दिए ।
जिल्लाका सबै राजनीतिक दलहरू, सांसद, स्थानीय जनप्रतिनिधिहरू तथा स्थानीयवासी, सरकारी निकाय सहित सुरक्षा निकाय समेतको सहयोग र समन्वयमा काम अघि बढेकाले निर्माणको अबको चरण द्रुत गतिमा अघि बढ्ने पनि इन्द्र केदेमले उल्लेख गरेका छन् ।
केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले पाथीभरा केबलकार निर्माण भई सञ्चालनमा आउँदा ताप्लेजुङ जिल्लाको आर्थिक, सामाजिक तथा सांस्कृतिक विकासमा टेवा पुग्ने र समग्र कोशी प्रदेशकै आर्थिक समृद्धिको कोशे ढुङ्गा बन्ने जनाउँदै केबलकार निर्माण कार्य द्रुत गतिमा अगाडि बढाइने जनाएका छन् ।
पौडेलले अबको १५ महिनाभित्र केबलकार चढेर पाथीभरा देवीको दर्शन गर्न सकिने विश्वास पनि दिलाए । यो केबलकारले अशक्त वृद्ध वृद्धा तथा बालबालिका लगायतका भक्तजनलाई समेत पाथीभरा देवीको दर्शन गर्न सहज हुने छ । पर्यटन प्रवर्द्धन, रोजगारी सिर्जना, वातावरणीय सन्तुलन र आर्थिक तथा सामाजिक विकासका लागि पाथीभरा केबलकार अनुपम उदाहरण बन्ने पनि सञ्चालक पौडेलले उल्लेख गरेका छन् ।
यो परियोजना सम्पन्न हुँदा पाथीभरा देवीको दर्शन गर्न आउने पर्यटकहरूको सख्याँ १० लाख सम्म पुग्ने विश्वास कम्पनीले लिएको छ । केबलकार सञ्चालनले पाथीभरा देवीको दर्शनको मौका सबैले सहजै प्राप्त गर्दा भक्तजनको सख्यां ह्वात्तै बढ्ने छ । यसका साथै केबलकार परियोजनाले ताप्लेजुङलाई सुरक्षित, दिगो तथा विश्व स्तरीय पर्यटन उत्पादन र सेवा सुविधाहरू सहितको विश्व प्रसिद्ध एक अनुपम पर्यटन गन्तव्यको रूपमा स्थापित गर्नको लागि सहयोग पुग्ने छ ।
पाथीभरा देवी मुकुम्लुङ दर्शन केबलकार सञ्चालन तथा व्यवस्थापन आइएमई ग्रुपले गरिरहेको छ । आइएमई ग्रुपले केबलकार निर्माण तथा सञ्चालनमा डेढ दशक लामो अनुभव हासिल गरिसकेको छ । काठमाडौंको चन्द्रागिरिमा पहिलो केबलकार निर्माण गरी काठमाण्डौंमा नयाँ उत्कृष्ट पर्यटकीय गन्तव्य बनेको छ भने नवलपुरको मौलाकाली र बुटवलको लुम्बिनी केबलकारको निर्माण पुरा भई सञ्चालनमा छन् । यी दुवै केबलकार तोकिएको समयभन्दा अघि नै निर्माण सम्पन्न भई सञ्चालनमा आएका हुन् । कर्णालीको जालपादेवी केबलकार निर्माणको काम द्रुत गतिमा अघि बढेको छ ।
आइएमई ग्रुपले बनाउने पाथीभरा केबलकारको निर्माण आजबाट सुरु, १५ महिनाभित्र चढेर मन्दिर जान पाइने
कुमारी बैंक र वात्सल्य नेचुरल आईभिएफबीच सम्झौता
काठमाडौं । कुमारी बैंक लिमिटेड र वात्सल्य नेचुरल आईभिएफ प्रा.लि. बीच विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता अनुसार कुमारी बैंकका ग्राहकहरूलाई वात्सल्य आईभिएफ प्याकेजमा रु.१०,००० को छुट प्रदान गरिनेछ । साथै उपचारको क्रममा आवश्यक पर्ने सबै प्याथोलोजी परीक्षणहरूमा १०५ र औषधि खरिदमा ५ प्रतिशतसम्म छुट प्रदान गरिनेछ ।
वात्सल्य नेचुरलले बाँझोपन परिक्षण, बाँझोपन उपचार, प्रजनन क्षमता संरक्षण, दाता उपचार तथा गर्भ परीक्षण लगायतका सेवाहरु प्रदान गर्दै अएको छ ।
यता बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
नबिल बैंकद्वारा जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण
काठमाडौँ । नबिल बैंकले जाजरकोट र रुकुम पश्चिमका भूकम्प प्रभावितलाई कम्बल वितरण गरेको छ । भूकम्पपछि जाजरकोट र रुकुम पश्चिममा बैंकले निर्माण गरेका ९६ वटा अस्थायी आवासमा बसोबास गरिरहेका परिवारलाई कम्बल वितरण गरिएको हो ।
बैंकले एक कार्यक्रम आयोजना गरी यही माघ १ गते नलगाड–१ का वडा अध्यक्ष धनबहादुर महर र माघ २ गते चौरजहारी १ का वडा अध्यक्ष ईन्द्रे गिरीको उपस्थितिमा कम्बल वितरण गरेको थियो । यस वर्षको हिउँदमा पनि अस्थायी आवासमा बिताउनु पर्दा खासगरी वृद्धवृद्धा, बालबालिका र सुत्केरीहरुको स्वास्थ्यमा पर्नसक्ने समस्यालाई ध्यानमा राखी कम्बल वितरण गरिएको नबिल बैंकका वरिष्ठ नायब प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले जनाए ।
बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत स्थानीय सरकारसँगको साझेदारीमा जाजरकोटको नलगाड नगरपालिका–१ मा ४७ र रुकुम पश्चिमको चौरजहारी नगरपालिका–१ का भूकम्पपीडितका लागि ४९ वटा अस्थायी आवास निर्माण गरेको थियो । सोही अस्थायी आवासमा बसोबास गर्ने परिवारका लागि यसपटक कम्बल वितरण गरिएको बैंकले जनाएको छ ।
त्यसअवसरमा नलगाड–१ का अध्यक्ष महर र चौरजहारी–१ का अध्यक्ष गिरीले भूकम्प प्रभावितका लागि ओत लाग्न सुरक्षित ठाउँ उपलब्ध गराउनुका साथै यसवर्ष चिसोबाट बच्न कम्बल वितरण गरी राहत उपलब्ध गराएकामा नबिल बैंकलाई धन्यवाद दिए ।
विसं २०८० कात्तिक १७ गते जाजरकोटको बारेकोट गाउँपालिका–१ रामीडाँडा केन्द्रविन्दु भइ ६।४ रेक्टर स्केलको भूकम्प जाँदा जाजरकोट र रुकुम पश्चिममा ठूलो क्षति पुर्याएको थियो ।
साथीलाई खुकुरी प्रहार गरेको अभियोगमा ५ जना पक्राउ
सुनसरी । साथीलाई खुकुरी प्रहार गरेको अभियोगमा पाँच जना पक्राउ परेका छन् । गत शनिबार धरान उपमहानगरपालिका–१५ स्थित सदन रोडमा २१ वर्षका रिजन राईमाथि खुकुरी प्रहार भएको थियो ।
पक्राउ पर्नेमा धरान–१३ का १८ वर्षीय उत्सव मगर, २१ वर्षीय विश्रान्ती मगर, धरान–८ का २२ वर्षका रोमन गुरुङ, सोही ठाउँका १७ वर्षका प्रस्थान राई र धरान–५ का २१ वर्षीय सुदीप तामाङ छन् । उनीहरुलाई जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरीका प्रहरी उपरीक्षक सुमनकुमार तिमल्सिनाले जानकारी दिए ।
शनिबार बिहान चिया खाएर पैसा तिर्ने विषयमा विवाद हुँदा राईमाथि खुकुरी प्रहार भएको प्रहरीले जनाएको छ । खुकुरी प्रहारबाट गम्भीर घाइते भएका राईलाई उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो । प्रतिष्ठानले तत्कालै विराटनगरस्थित बिराट नर्सिङ अस्पताल रेफर गरेको थियो ।
राईको टाउको, बायाँ हात र कुहिना काटिएको छ । हाल उनको उपचार भइरहेको प्रहरीले जनाएको छ । राईमाथि खुकुरी प्रहार गरेको अभियोगमा पक्राउ परेको पाँचै जनालाई प्रहरीले पक्राउ गरी सोमबार सार्वजनिक गरेको हो ।
राष्ट्रपति पौडेलले ट्रम्पलाई दिए सफल कार्यकालको शुभकामना
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले अमेरिकाको राष्ट्रपतिको कार्यभार ग्रहण गरेकोमा समकक्षी डोनाल्ड ट्रम्पलाई बधाई दिएका छन् ।
राष्ट्रपतिको आधिकारिक ट्विटर मार्फत पौडेलले अमेरिकाको ४७ औँ राष्ट्रपतिको रूप मा कार्यभार ग्रहण गरेको उपलक्ष्यमा सफल कार्यकालको कामना पनि गरेका छन् ।
अमेरिकाको राष्ट्रपतिका रूपमा ट्रम्पको दोस्रो कार्यकालमा नेपाल–अमेरिकाबिचको सम्बन्ध अझ बलियो हुने विश्वास पनि लिएका छन् ।
एमालेको सचिवालय बैठक ४ बजे बस्दै
काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज बस्दैछ । बैठक च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयमा अपरान्ह ४ बजे बस्नेछ ।
सचिवालय बैठकमा एमालेमा फर्किन लागेका राष्ट्रिय सभा सदस्य बामदेव गौतमको बारेमा छलफल हुने जनाइएको छ । यसअघि दुई पटक अध्यक्ष केपी शर्मा ओलीसँग भएको वार्ता सकारात्मक भएको भन्दै एमालेमा प्रवेश गर्ने गौतमले जनाइसकेका छन् । सम्भवतः उनलाई सचिवालय बैठकले स्वागत गर्ने र जिम्मेवारी तोक्न सक्छ ।
माघ १८ गते संसद्को हिउँदे अधिवेशन बोलाउने सरकारको निर्णय
काठमाडौं । सरकारले संघीय संसद्को हिउँदे अधिवेशन बोलाउने निर्णय गरेको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले माघ १८ गते संघीय संसदको दुवै सदनको बैठक बोलाउन राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सिफारिस गरेको हो ।
रविसहितलाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता
पोखरा । पोखराको सूर्यदर्शन सहकारी ठगी आरोप लागेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसहितलाई थुनामै राख्न माग गर्दै पोखरा उच्च अदालतमा निवेदन दर्ता भएको छ ।
सरकारी वकिलको कार्यालयले रविसहितलाई थुनामै राख्न माग गर्दै निवेदन दिएको हो । यसअघि जिल्ला अदालत कास्कीले रविसहित सातजनालाई धरौटीमा रिहा गरेको थियो ।
रवि लामिछाने ६५ लाख धरौटीमा रिहा भएका हुन् भने पूर्वडीआईजी छविलाल बन्जाडे जोशी ८८ लाख रुपैयाँ धरौटी बुझाएर रिहा भएका हुन् ।
यस्तै, लिला पछाईलाई ३७ लाख, पूर्वप्रहरी रामबहादुर खनाललाई १५ लाख, पूर्वसांसद मीना गुरुङलाई ५ लाख, मीनाका बुबा कृष्णबहादुर गुरुङलाई एक लाख र आरती गुरुङलाई ५ लाख धरौटी माग गरिएको थियो।
सानिमा रिलायन्सका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी
काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सको विभिन्न पदमा कार्यरत रही उत्कृष्ट कार्य गरिरहेका कर्मचारीहरू अन्तर्राष्ट्रिय प्रशिक्षणमा सहभागी हुँदै छन् । प्रशिक्षण छिमेकी मुलुक भारतको मुम्बई स्थित भारतीय बीमा संस्थानमा माघ ७ गते देखि ९ गते सम्म संचालन हुने छ । भारतीय बीमा संस्थान बीमा शिक्षा र तालिममा समर्पित भारतको एक प्रमुख राष्ट्रिय संस्था हो ।
यस संस्थानले व्यावसायिक प्रमाणपत्रहरू प्रदान गर्ने र विभिन्न परीक्षाहरू सञ्चालन गर्दछ । यसले भारत र भारत बाहिरका बीमा क्षेत्रमा आबद्ध व्यक्तिहरुको सीप र ज्ञान बढाउन महत्वपुर्ण भूमिका निर्वाह गर्दै आएको छ । यस ३ दिने कार्यक्रममा बिमामा आबद्ध कर्मचारीहरूको लागि अपरिहार्य व्यवहारिक ज्ञान तथा सीप वृद्धि विकास गर्ने खालका प्रशिक्षण सामग्रीहरू समावेश गरिएका छन् । जस अन्तर्गत बजार प्रवद्र्धन तथा बिक्री, वितरण माध्यम व्यवस्थापन, संचार कौशलता, व्यवहारिक अन्तरक्रिया र परामर्शका विषयहरू रहेका छन् ।
सहभागीहरू प्रस्थान गर्नु अगाडी बिदाई कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत श्री शिवनाथ पाण्डेले प्रशिक्षणका लागि छनौट हुन सफल कर्मचारीहरूलाई बधाई दिंदै यस प्रकारका अन्तर्राष्ट्रिय तालिमले कर्मचारीहरूको वृद्धि विकासमा उल्लेखनीय योगदान पुर्याउने हुँदा कार्यक्रममा सिकाइएका ज्ञानलाई उचित ढङ्गले ग्रहण गर्दै यसलाई व्यक्तिगत र कम्पनीको व्यवसाय विकासमा उपयोग गर्नुपर्ने जनाए । साथै आफूले सिकेका ज्ञानबद्र्धक कुराहरू अन्य कर्मचारीहरूसंग साटासाट गर्न निर्देश दिए । प्रशिक्षणमा सहभागी हुन कम्पनीका शाखा प्रबन्धक, एरिया म्यानेजर, क्षेत्रीय प्रबन्धक, र प्रदेश प्रमुखहरू सहभागी भएका छन् ।
सानिमा बैंकद्वारा पर्सागढीस्थित विद्यालयमा न्यानो लुगा हस्तान्तरण
काठमाडौं । सानिमा बैंकले आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व बहन गर्ने क्रममा शिक्षा, स्वास्थ्य, वित्तीय साक्षरता लगायत अन्य विभिन्न क्षेत्रहरुमा विभिन्न वर्गका जनतालाई प्रत्यक्ष फाइदा हुने गरी विभिन्न कार्यक्रमहरु संचालन गर्दै आइरहेको छ ।
यसै क्रममा सानिमा बैंकको पर्सागढी शाखाले, पर्सागढी वडा नं ५ स्थित नेपाल राष्ट्रिय आधारभूत विद्यालय र नेपाल राष्ट्रिय माध्यमिक विद्यालय विद्यार्थीहरुलाई न्यानो लुगा हस्तान्तरण गरेको छ ।
कार्यक्रममा पर्सागढी शाखाका कर्मचारीद्वारा दुबै विद्यालयका विद्यार्थीहरुलाई लुगा हस्तान्तरण गरिएको हो । चिसो मौसमका कारण न्यानो लुगाको अभावमा विद्यार्थीहरुको पठनपाठनमा समेत असर परेको हुँदा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत विद्यार्थीहरुलाई न्यानो लुगा वितरण गरिएको हो ।
बैंकले भविष्यमा पनि समाजमा सकारात्मक बिकास गर्ने किसिमका विभिन्न क्रार्यक्रमहरु गर्ने योजना जनाएको छ ।
सानिमा बैंकको सातै प्रदेशमा हाल १३४ वटा कार्यालयहरु र १२५ वटा ए.टि.एम. संचालनमा रहेका छन् ।