काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले कीर्तिपुर क्रिकेट रंगशालाको तोकिएको समयमा पूर्वाधार निर्माण सम्पन्न हुने गरी तीव्रताका साथ काम गर्न सहरी विकास मन्त्रालयलाई निर्देशन दिएका छन् ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा मन्त्रालयका विषयमा बुधबार ब्रिफिङ लिँदै प्रधानमन्त्री ओलीले कीर्तिपुर क्रिकेट रंगशालालाई अन्तर्राष्ट्रियकरण बनाउने कार्यलाई छिटो अघि बढाउन निर्देशन दिएका हुन् । प्रधानमन्त्री ओलीले पद बहालीका क्रममा ३०० दिनभित्र उक्त रंगशालाको स्तरोन्नति गर्ने निर्णय लिएका थिए । रंगशालामा प्यारापिट र ल्फडलाइट निर्माणका लागि मन्त्रालयले आह्वान गरेको बोलपत्रबमोजिम मूल्याङ्कको चरण सकिन लागेकाले चाँडै ठेक्का सम्झौता हुने प्रधानमन्त्रीलाई अवगत गराइएको थियो । प्रधानमन्त्री ओलीले यस चरणको काम जारी हुँदै अर्को चरणको निर्माणको कामका लागि सम्झौता प्रक्रिया अघि बढाउन पनि आग्रह गरे ।
बैठकमा हरेक जेठ १५ मा संसद्मा बजेट आउने हुँदा नयाँ आर्थिक वर्ष सुरु भएदेखि नै तदारुकताका साथ बजेट र कार्यक्रमको कार्यान्वयन हुनुपर्नेमा ढिलाइ हुने आम प्रवृत्तिप्रति चिन्ता प्रधानमन्त्री ओलीले व्यक्त गरे । सो मन्त्रालयको चालु आर्थिक वर्षको चालु प्रगति १९ दशमलव ३५ र पुँजीगत प्रगति १२ दशमलव ०४ मात्रै भएको पाइए पनि समग्र कार्य प्रगति सन्तोषजनक पाइएको प्रधानमन्त्री ओली भनाइ थियो । उनले पूर्वाधार निर्माणमा ढिलाइ भएमा मुलुकको उत्पादन र उत्पादकत्व वृद्धिमा असर पर्ने भएकाले ढिलाइ नगरी काम गर्न निर्देशन दिए ।
उपप्रधान एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह र सम्बन्धित उच्चाधिकारीसमेतको सहभागितामा भएको छलफलमा मन्त्रालय मातहत रहेका सङ्घीय संसद् भवन, धरहरा, सङ्घीय मन्त्रीहरूको निवास, दमक व्यापारिक कम्ल्पेक्स, नेपाली सेनाको चण्डी दल, थापाथलीस्थित नेपाल राष्ट्र बैँकको भवन निर्माण, हस्तान्तरण, सञ्चालन र मन्त्रालयको भावी योजनाबारे अवगत गराइएको थियो ।
कीर्तिपुर क्रिकेट रंगशालाको स्तरोन्नतिको काम छिटो अघि बढाउन प्रधानमन्त्रीको निर्देशन
रवि लामिछानेलाई हिरासत पठाइयो
चितवन । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई हिरासत पठाइएको छ । लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ।
साहारा बचत सहकारीको थुनछेक बहस नसकिएकोमा जिल्ला अदालत चितवनका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई हिरासतमा पठाएको हो । लामिछानेलाई पुनः बिहीबार बिहान १० बजे अदालतमा उपस्थित गराउने गरी जिल्ला प्रहरी कार्यालय चितवनको हिरासत राख्ने भएको हो।
बुधबार अदालतमा उपस्थित भएका लामिछानेको बयान सकेर थुनछेक बहस सुरू भएको छ ।
दिल्ली विधान सभा चुनाव, बिहानैदेखि मतदान सुरु
काठमाडौँ । भारतको दिल्ली विधानसभा चुनावको मतदान सुरु भएको छ । दिल्लीका ७० विधानसभा सिटका लागि ६९९ उम्मेदवार प्रतिस्पर्धामा छन् । मतदान बिहान ७ बजेदेखि साँझ ६ बजेसम्म हुने भारतीय सञ्चारमाध्यमले जनाएका छन् । चुनावको नतिजा फेब्रुअरी ८ मा घोषणा गरिनेछ ।
यस चुनावमा लगभग १्.५६ करोड मतदाताले मतदान गर्नेछन् । दिल्ली चुनावको मतदानलाई ध्यानमा राख्दै आज दिल्ली र हरियाणामा सार्वजनिक बिदा घोषणा गरिएको छ । आम आदमी पार्टीले दिल्लीमा २०१५ र २०२० को विधानसभा चुनावमा बहुमत हासिल गरेको थियो ।
पाथीभरा केबलकार विवादमा ६ बुँदे सहमति
काठमाडौं । ताप्लेजुङ जिल्लास्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माणका विषयमा भएको विवादसम्बन्धी सहमति भएको छ ।
गएराति अबेरसम्म गृह मन्त्रालयबाट गठित वार्ता टोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुको वार्ता सहजीकरण समितिबीच ६ बुँदे सहमति भएको हो । सहमतिमा पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा यही माघ २७ गते हुने वार्तामा विस्तृत छलफल गर्ने उल्लेख छ ।
सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने, आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने तथा मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने सहमति भएको छ ।
यस्तै, मुक्कुमलुङ संरक्षक पक्षधरबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमतिलगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न माघ २७ गते बिहान ११ः०० बजे वार्ता गर्ने सहमति भएको गृह मन्त्रालयले जानकारी दिएको छ ।
सहमतिपत्रमा सरकारी वार्ता टोलीका संयोजक गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराई र आन्दोलनरतपक्षका तर्फबाट वार्ता सहजीकरण समितिकी सरस्वती सिंगक (सरु) ले हस्ताक्षर गरेका छन् ।
जारी महिला टी–२० सिरिजमा नेपालले आज नेदरल्याण्ड्ससँग खेल्दै
काठमाडौं । काठमाडौँमा जारी त्रिकोणात्मक महिला टी–२० शृङ्खला अन्तर्गत आज नेपालले नेदरल्याण्ड्ससँग खेल्दैछ । नेपाल जारी सिरिजमा चार खेल खेल्दा चारैमा पराजित भएको छ । नेदरल्याण्ड्ससँगको खेल बुधबार दिउँसो १२ः१५ बजे कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा हुँदैछ ।
उपाधि होडबाट बाहिरिएको नेपालमाथि घरेलु मैदानमा जित निकाल्न नसक्दाको दबाब छ । पाहुना टोली नेदरल्याण्ड्स भने यसअघि दुई खेलमा नेपाललाई पराजित गरेकाले उच्च मनोबलका साथ मैदानमा हुनेछ ।
पहिलो खेलमा नेदरल्याण्ड्ससँग २० रनले पराजित भएको नेपाल दोस्रो खेलमा थाइल्याण्डसँग चार विकेटले पराजित भएको थियो । तेस्रो खेलमा फेरि नेदरल्याण्ड्ससँग १५ रनले पराजित नेपाल चौथो खेलमा मंगलबार थाइल्याण्डसँग मात्र पाँच रनले पराजित भएको थियो । उपाधिको गणितीय सम्भावना कायमै रहेको थाइल्याण्डसँगको खेल मंगलबार नेपालले गुमाएको हो ।
प्रतियोगितामा अपराजित थाइल्याण्ड आठ अंकका साथ शीर्ष स्थानमा छ भने नेदरल्याण्ड्सले चार अंक जोडेको छ । चार खेल खेलिसकेको नेपाल अंकबिहीन अवस्थामा तालिकाको पुछारमा छ ।
उपभोक्ता अदालत गठन गर्ने सरकारको निर्णय
काठमाडौं । सरकारले काठमाडौं उपत्यकामा उपभोक्ता सरोकारसम्बन्धी मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले काठमाडौं, भक्तपुर र ललितपुरमा रहेका मुद्दाहरू हेर्नेगरी उपभोक्ता अदालत गठन गर्ने निर्णय गरेको हो ।
१२ कार्तिकमा न्यायपरिषद्ले काठमाडौं जिल्ला अदालतका न्यायाधीश रामप्रसाद शर्मालाई अध्यक्ष तोकेर उपभोक्ता अदालत गठनको सिफारिस गरेको थियो । उक्त अदालतको सदस्यमा सर्वोच्च अदालतका उपरजिष्ट्रार गेहेन्द्रराज रेग्मी रहनेछन् । उनी हाल विशेष अदालतमा कार्यरत छन् ।
उपभोक्ता अदालतले हाललाई तीनवटा मुद्दा हेर्नेछ । उपभोक्तालाई हानी पुगेको हकमा क्षतिपूर्तिको मुद्दा, उपभोक्ता संरक्षण ऐन बमोजिमका कसुरका मुद्दा र सरकारले तोकेका उपभोक्ता हित सरोकारका अरु मुद्दा उपभोक्ता अदालतले हेर्नेछ ।
अहिलेलाई काठमाडौं, भक्तपुर र ललितपुर जिल्ला अदालतमा विचाराधिन उपभोक्ता हित सरोकारसँग सम्बन्धित मुद्दाहरू उपभोक्ता अदालतमा सर्नेछन् ।
यो सरकार असंवैधानिक भएको प्रचण्डको दाबी
काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ वर्तमान सरकारलाई आफूले संविधान विरोधी भनेर त्यसै नभनेको जनाएका छन् ।
मंगलबार म्याग्दीको बेनीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्री प्रचण्डले संविधान र स्थापित नियम र मान्यता विरोधी भएको जनाएका हुन् ।
‘संविधानमा प्रस्टसँग भनिएको छ– संविधानको धारा ७६ को उपधारा २ बमोजिम बनेको सरकारले विश्वासको मत लिन खोज्यो र भोटिङमा हार्यो भने ७६ को ३ मा गएर सबभन्दा ठुलो दलको नेतृत्वमा सरकार बनाउनुपर्नेछ प्रस्ट लेखिएको छ’, प्रचण्डले भने, ‘तर मैले ७६ को २ अनुसार भोटिङमा गएँ, म विजयी नभएपछि ठुलो पार्टीको नेताको नेतृत्वमा सरकार बन्नुपर्नेमा फेरि ७६ (२) अनुसार दोस्रो पार्टीको नेतृत्वमा सरकार बन्यो । त्यसकारण यो असंवैधानिक सरकार हो ।’
उनले यसरी बनेको सरकारबारे गहिरोसँग बुझ्ने हो भने संविधान मिच्ने हिजोदेखिको केही पार्टी र नेताहरूको कोशिसको निरन्तरता भएको पनि जनाए ।
‘संविधानलाई मिचेर नेपाली जनतामाथि निरंकुशता लाद्ने’, उनले यो सरकारलाई आफूले लोकतन्त्र विरोधी पनि भन्ने गरेको जनाए ।
‘किनभने सामान्यतः लोकतन्त्र भन्ने सिस्टममा संसद्का पहिलो र दोस्रो दल मिलेर सरकार बनाउँदै बनाउँदैनन्’, प्रचण्डले हिन्दुस्तानमा कांग्रेस आइ र विजेपी मिलेर अहिलेसम्म सरकार नबनेको जनाए । उनले मिल्नै नमिल्ने तत्त्वहरू भ्रष्टाचारको रक्षा र जनतामाथि निरंकुशता लाद्न मिलेको प्रस्ट्याए । उनले अप्राकृतिक सरकार भएको पनि जनाए ।
अहिले प्रधानमन्त्रीको कुर्सीमा बसेका एमालेका अध्यक्ष ढाँट, छल, जालीझेली र फटाहा भएको पनि जनाए ।
‘एमालेको नेता जो अहिले प्रधानमन्त्रीको कुर्सीमा हुनुहुन्छ । उहाँले यति धेरै ढाँटछल, जालझेल गर्नुभयो । मलाई त गर्नसम्म गर्नुभयो । स्वर्ग र नर्कका कुरा’, प्रचण्डले भने, ‘उहाँ हस्ताक्षर गरेर आएर गरेकै छैन । पत्रिका छापिइसक्यो फोटो । यो कहिलेको छाप्यो भन्न सक्ने भनेपछि यस्ता जालीझेली, यस्तो फटाहा मान्छे प्रधानमन्त्री भएपछि देशले सुख पाउँछ त ?’ उनले देशका लागि यो भन्दा ठुलो दुर्भाग्य केही हुन नसक्ने भन्दै वर्तमान गठबन्धन लोकतन्त्रवादी भएको भए कांग्रेस एमालेले पार्टी कमिटीबाट निर्णय समेत नगरी बनेको जनाए । ‘एमालेको केपीले जे भन्यो त्यही मान्ने । एमालेका एक जना र कांगेसका दुई तिनजनालाई मात्र थाहा छ’, उनले कांग्रेस र एमाले मिलेर सरकार बनेजस्तो लाग्ने भएपनि दलाल बिचौलिया र कमिशनखोरहरुले बनाइदिएको दाबी गरे । उनले विनोद चौधरी र रामेश्वर थापाको घरमा राति बैठक बसेर सहमति भएको भन्दै यस्तो अप्राकृतिक सरकारले दलाल र बिचौलियाको इशारामा काम गर्ने भएकाले जनताको पक्षमा नहुने जनाए ।
नेपाल टेलिकमको सुधारका लागि काम अगाडि बढाइएको मन्त्री गुरुङको दाबी
काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले नेपाल टेलिकमको सुधारको लागि समिति गठन भएर काम अगाडि बढेको दाबी गरेका छन् ।
मंगलबार काठमाडौंमा नेपाल टेलिकमको २१ औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उनले टेलिकमलाई सुधार र व्यवस्थित गर्नको लागि समिति बनाएको भन्दै समितिले उठाएका मुद्दालाई सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने दाबी गरेका हुन् ।
उनले भने, ‘नेपाल टेलिकमको सुधारमा देखिएका समस्या, कर्मचारीको अवस्थाऐन, कानूनबाट के समस्याभएको छ र कसरी व्यवस्थित गर्ने भनेर एउटा समिति बनाएका छौ । त्यसको प्रतिवेदन आइसकेको छैन् । समितिले देखाएको कुराहरुको सम्बोधन गरेर नेपाल दूर सञ्चारहरुलाई व्यवस्थित गर्ने कामयो वर्ष गर्छौ ।’
यसको साथै, उनले नेपाल टेलिकमको इतिहास राम्रो नै भएपनि अहिले प्रतिस्पर्धाको समयमा संस्थाको प्रभाव घटेको पनि जनाए ।
उनले भने, ‘संस्थाको जुन खालको गौरवशाली इतिहास छ र अहिले पनि राम्रो काम गरिरहेको छ । तर चुनौतीहरु धेरै बढिरहेका छन् । प्रतिस्पर्धा धेरै छ । त्यसकारण संस्थाको प्रभाव घटेको जस्तो देखिन्छ । उचित व्यवस्थापन गर्न नसकेको हुनाले हो की, कर्मचारी व्यवस्थापन राम्रो तरिकाले गर्न नसकेर हो कीअथवा ऐन, कानूनले रोकेर हो, के कारणले हो । त्यसमासमिक्षा गर्नुपर्ने अवस्था आएको छ । अहिले नै यो बारेमा सही निर्णय गर्न सकेनौ भने पछि पछुताउनुपर्छ ।’
नबिल बैंकले कतारमा गर्यो कतारमा ‘घर त नेपाल’ नामक बैंकिङ सेवाबारे जनचेतना कार्यक्रम
काठमाडौं । नबिल बैंकले कतारमा रहेका नेपाली आप्रवासी श्रमिकलाई लक्षित गरी सुरक्षित बैंकिङ कारोबारसम्बन्धी चेतनामुलक कार्यक्रम सम्पन्न गरेको छ । कतारको र्याडिसन ब्लु होटलमा आयोजित ‘घर त नेपाल’ शीर्षकको कार्यक्रममा एक सयभन्दा बढी नेपाली आप्रवासी श्रमिकको सहभागिता थियो ।
नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र नबिल स्टक डिलर लिमिटेडको समन्वयमा आयोजित कार्यक्रममा नबिल बैंकका विभिन्न विभागका प्रतिनिधिले रेमिट्यान्स, निक्षेप, डिजिटल बैंकिङ, कर्जा तथा लगानीका साथै वित्तीय सचेतना, वित्तीय सेवाको उपयोग, बचत र लगानीका सम्बन्धमा अन्तरक्रियात्मक छलफल गरेका थिए । कार्यक्रममा विदेशबाट फर्किएका नेपाली कामदारहरूको उद्यमशीलता प्रवद्र्धन गर्ने उद्देश्यले ल्याइएको ‘नबिल दक्ष प्रवासी उद्यमशील कर्जा’ को बारेमा जनकारी दिइएको थियो ।
त्यस अवसरमा कतारका लागि नेपाली राजदूत रामेशचन्द्र पौडेलले औपचारिक माध्यमबाट रकम नेपाल पठाउँदा नेपालको सम्रग अर्थतन्त्रलाई फाइदा पुग्ने भएकाले पैसा पठाउँदा औपचारिक माध्यमको प्रयोग गर्न आग्रह गरे । राजदुत पौडेलले कार्यक्रम सम्बोधन गर्दै भने, ‘आर्थिक सुरक्षाको लागि प्रवासी नेपालीहरूले आफ्नो रेमिट्यान्स सुरक्षित र व्यवस्थित रूपमा औपचारिक बैंकिङ प्रणालीमार्फत पठाउनुपर्छ । यसले तपाईंहरूको मेहनतको सही संरक्षण गर्ने मात्र होइन, नेपालकै आर्थिक स्थायित्वमा महत्वपूर्ण योगदान पुर्याउनेछ ।’
नबिल बैंकका सीइओ ज्ञानेन्द्रप्रसाद ढुंगानाले नेपाल र कतार दुवै देशको अर्थतन्त्रको विकासमा नेपाली श्रमिकहरुको महत्वपूर्ण योगदान रहेकामा जोड दिए । कतारमा भारतीयपछि नेपाली श्रमिकको संख्या सबैभन्दा धेरै रहेको उल्लेख गर्दै उनले आफूहरु यहाँ आउनुको उद्देश्य डिजिटल सेवाबारे जानकारी गराउनु रहेको जनाए । जसमा कतारको मोबाइल प्रयोग गरी अनलाइनमार्फत बैंकमा खाता खोल्न, कर्जाका लागि आवेदन दिन तथा बैंकअन्तर्गतका अन्य कम्पनीमार्फत एसआईपी, म्युचुअल फण्ड र शेयर बजारमा लगानी गर्न सकिने उनको भनाइ थियो ।
बैंकका नायब महाप्रबन्धक आदर्श बजगाईंले भने, ‘नेपालको अग्रणी वित्तीय संस्थाको रूपमा, हामी विदेशमा श्रम गरिरहेका नेपालीहरूको ठूलो योगदानलाई सम्मान गर्छौं । हाम्रो उद्देश्य भनेकै तपाईंहरूको मेहनतको उचित सदुपयोग गर्दै, तपाईंहरूको आर्थिक सुरक्षालाई सुनिश्चित गर्ने वित्तीय उपकरणहरू उपलब्ध गराउनु हो ।’
गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष श्री रमेश भट्टले प्रवासी समुदायमा वित्तीय सचेतनाको आवश्यकतामा जोड दिए । उनले भने, ‘वित्तीय साक्षरताले दीर्घकालीन समृद्धिको ढोका खोल्छ। सचेत वित्तीय निर्णयहरू गरेर र बैंकिङ सेवा सही रूपमा उपयोग गरेर, हामी रेमिट्यान्सलाई दिगो लगानीमा रूपान्तरण गर्न सक्छौं, जसले हाम्रो परिवार र नेपालको अर्थतन्त्रलाई फाइदा पुर्याउँछ ।’
कार्यक्रमको सफलताका लागि नेपाल व्यवसाय संघ कतारका अध्यक्ष महेन्द्रप्रसाद चम्लागाईको महत्वपूर्ण योगदान रहेको थियो । कार्यक्रमको अन्त्यमा स्ट्यान्डअप कमेडियन सुमन काकीले प्रस्तुति दिएका थिए ।
बैंकले लामो समयदेखि कतारमा रहेका नेपाली श्रमिकलाई नेपालमा पैसा पठाउनका लागि सेवा प्रवाह गर्र्दै आएको छ । कतारबाट श्रमिकहरुले पठाएको पैसा नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा गर्न सकिन्छ । साथै उनीहरुले पठाएको रेमिट्यान्स मुलुकका विभिन्न स्थानमा रहेका २० हजारभन्दा बढी नबिल रेमिटका एजेन्टबाट सहजै प्राप्त गर्न सकिन्छ । बैंकले रेमिट्यान्स पठाउने ग्राहकका लागि विशेष बचत खाता, डिजिटल बैंकिङ सुविधा तथा सरल ऋण सेवा प्रवाह गरिरहेको छ ।
बैंकले २४ लाख भन्दा बढी सेवाग्राहीलाई २६८ शाखा र ३२० एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
ग्लोबल आइएमई बैंक र इन्फोडेभलपर्सबीच बैंकमा बजेट ३६० सफ्टवेयर प्रयोगसम्बन्धी सम्झौता
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले इन्फोडेभलपर्स प्रालिले विकास गरेको बजेट सूचना व्यवस्थापन प्रणाली ‘बजेट ३६०’ प्रयोगमा ल्याउने भएको छ ।
ग्लोबल आइएमई बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुवंशीले यससम्बन्धी सम्झौतामा हस्ताक्षर गरेका छन् । सफ्टवेयरले बैंकको बजेट तथा योजना तर्जुमाको लागि क्षमता अभिवृद्वि गरी स्रोत परिचालनमा सहयोग पुग्ने छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकिङ इकोसिस्टममा बजेट ३६० को प्रयोगले बैंकको बजेट र योजना क्षमतामा वृद्धि हुनुको साथै स्रोतहरूको उपयुक्त परिचालन सुनिश्चित गर्न, बैंकको वित्तीय उद्देश्यहरू पूरा गर्न र वित्तीय व्यवस्थापनमा प्रभावकारी निर्णय लिन मद्दत पुर्याउने र साथै समग्र बैंकको दिगो विकासमा योगदान पर्याउन मद्दत गर्ने विश्वास व्यक्त गरे ।
इन्फोडेभलपर्स प्रालिका स्ट्राटेजी एण्ड इनोभेसन निर्देशक उमेश रघुवंशीले ग्लोबल आइएमई बैंकसँग सम्झौता गरेर बजेट ३६० कार्यान्वयन गर्न पाउँदा उत्साहित भएको बताउँदै यस सफ्टवेयरले बैंकको वित्तीय योजनाहरूको कार्यलाई सरल बनाउन र डेटा–आधारित निर्णय लिन सहयोग पुर्याउने समेत जानकारी दिए ।
‘बजेट ३६०’ स्वचालित रूपमा वित्तीय व्यवस्थापन गर्ने एक आधुनिक वित्तीय व्यवस्थापन प्रणाली हो । इन्फोडेभलपर्सले विकास गरेको यस सफ्टवेयरमा स्वचालित लक्ष्य निर्धारण, रियल–टाइम रिपोर्टिङ, निरन्तर ट्रर्याकिङलगायतको सुविधा जडित प्रणाली हो । यो सफ्टवेयर बैंकले आफ्नो अनुकूलतामा प्रयोग गर्न सकिने गरी डिजाइन गरिएको छ । यो प्रणाली कुनै पनि कोर बैंकिङ सिस्टम (सीबीएस) सँग सहज रुपमा इन्ट्रिगेट गरेर जान सकिने गरी डिजाइन गरिएको छ ।
कार्यक्रममा बैंकको तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेल, सहायक प्रमुख कार्यकारी अधिकृत चन्द्रराज शर्मा र इन्फोडेभलपर्स प्रालिको तर्फबाट कर्पोरेट म्यानेजर सुबास पौडेलको समेत उपस्थिति रहेको थियो ।
ग्लोबल आइएमई बैंक ग्लोबल फाइनान्सको बेष्ट बैंक अवार्ड २०२४ तथा युरो मनी अर्वाड फर एक्सलेन्स २०२४ अन्तर्गतका दुई विधाबाट नेपालको सर्वश्रेष्ठ बैंकको रुपमा सम्मानित बैंक होे । साथै, ग्लोबल आइएमई बैंक विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघसंस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ ।
ग्लोबल आइएमई बैंक मुलुकको सतहत्तरै जिल्लामा शाखा सञ्जाल रहेको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकको ३५५ शाखा कार्यालय, ३७९ एटिएम, २३७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी १,१०० भन्दा बढी सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
बैंकले नेपाली नागरिकहरूलाई बैंकिङ सेवाहरू प्रदान गर्नुका अतिरिक्त विश्वका विभिन्न देशहरूबाट रेमिट्यान्स सेवा पनि दिँदै आएको छ । बैंकले संयुक्त राज्य अमेरिका, क्यानडा, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायत अन्य देशहरूबाट रेमिट्यान्स भित्र्याउने काम गर्दै आएको छ ।