Page 14

आज नेपाल र थाइल्याण्डबीच सवा १२ बजे खेल हुुँदै

काठमाडौं । त्रिकोणत्मक महिला टी–२० अन्तर्राष्ट्रिय क्रिकेट श्रृङ्खलामा आज नेपालले थाइल्याण्ड संग खेल्दैछ । खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा दिउँसो सवा १२ बजे शुरु हुनेछ ।
लगातार तेस्रो हार व्यहोरेको नेपाल प्रतियोगितामा पहिलो जित निकाल्न चाहन्छ । तर अपराजित रहेको थाइल्याण्डसामु नेपालका लागि त्यति सहज भने छैन । शृङ्खलामा लगातार तेस्रो जित हात पारेको थाइल्याण्ड ६ अंकसहित शीर्ष स्थानमा छ । नेदरल्याण्ड्सले चार खेलमा ४ अंक जोडेको छ । नेपाल भने अंकविहीन अवस्थामा पुछारमा छ ।

पाठेघरको मुखको क्यान्सरविरुद्ध निःशुल्क ‘एचपीभी खोप’ आजदेखि लगाइँदै

काठमाण्डौं । आज फेब्रुअरी ४ अर्थात् विश्व क्यान्सर दिवस । यही दिवसको अवसरमा सरकारले मंगलबारदेखि देशभर पाठेघरको मुखको क्यान्सरविरुद्धको निःशुल्क ‘एचपीभी खोप’ दिँदै छ । विद्यालय केन्द्रित यो खोप अभियान माघ २२ गतेदेखि फागुन ६ गतेसम्म देशभरि एकैपटक सञ्चालन गर्न लागिएको हो ।
नेपालमा महिलाहरूमा हुने क्यान्सरमध्ये पहिलो स्थानमा रहेको पाठेघरको मुखको क्यान्सरको जोखिमबाट जोगाउने उद्देश्यले मुलुकभर एपीभी खोप अभियान सञ्चालन गर्न लागिएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार देशभर करिब १७ लाख किशोरीलाई खोप दिन लागिएको छ ।
यस अभियानमा १६ लाख ८८ हजार सात सय ६८ जना किशोरीलाई खोप दिइने लक्ष्य सरकारले राखेको छ । विद्यालयमा अध्ययन गर्ने कक्षा ६ देखि १० सम्मका छात्रा र विद्यालय बाहिर रहेका १० देखि १४ वर्ष उमेरका किशोरीलाई खोप दिन लागिएको हो ।
मन्त्रालयका प्रवक्ता डा. प्रकाश बुढाथोकीले देशभरि तोकिएको उमेर समूहका किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्ध ह्युमन प्यापिलोमा भाइरस (एचपीभी) खोप दिन लागिएको जनाउँदै सबैजना आआफ्नोतर्फबाट अभियानमा जोडिन आग्रह गरे ।
उनले भने, ‘हामीले पहिले पनि यसको ‘पाइलटिङ’ गरिसकेका छौँ । सफल परीक्षण भइसकेको छ । अभियान सफल बनाउन मन्त्रालय र विभिन्न तह र तप्काका निकायले सक्रिय योगदान गरेका छन् । दुई हप्तासम्म हुने यो अभियानका रूपमा सञ्चालन हुने भएकाले तोकिएको उमेर समूहका कोही पनि किशोरी नछुटुन् र नदोहोरिउन् भन्ने मान्यताका साथ खोप अभियानमा सरिक हुन आग्रह गर्दर्छौं ।’
अभियानमा १८ हजार नौ सय विद्यालयका खोप केन्द्र र आठ हजार दुई सय अन्य खोप केन्द्र रहने र २७ हजार ८० स्वास्थ्यकर्मी परिचालन हुनेछ । त्यसैगरी ५४ हजार एक सय ६० स्वयंसेवक खटाइनेछन् भने १५ हजार छ सय ७४ जना सुपरिवेक्षकहरू संलग्न हुनेछन् ।
सरकारले १ अर्ब ३० करोड रुपैयाँ लगानी गरी १७ लाख ७० हजार २० डोज खोप लगाउँदै छ । यो खोप सन् २०३० सम्ममा कम्तीमा पनि ९० प्रतिशत किशोरीलाई लगाउने लक्ष्य लिइएको छ । सन् २०३० सम्ममा पाठेघर मुखको क्यान्सर निर्मूल पार्न ९०ः९०ः९० को योजना छ । यो भनेको ९० प्रतिशतलाई खोप लगाउने, ९० प्रतिशतको स्क्रिनिङ गर्ने र ९० प्रतिशतको सफल उपचार गरिने सरकारी अधिकारीले जनाएका छन् ।
३० वर्ष उमेरका महिलालाई पाँच–पाँच वर्षमा पाठेघर मुख क्यान्सरको स्क्रिनिङ गर्नुपर्छ । ती महिलामा क्यान्सर छ भने कम्तीमा ९० प्रतिशतको सफल उपचार हुन्छ ।
विद्यालयमा अध्ययनरत बालिकाले विद्यालयमा नै खोप लगाउन पाउने छन् । विद्यालय नजाने १० देखि १४ वर्ष उमेरका बालिकाले नजिकैको विद्यालयमा गएर एचपीभी खोप लगाउन सक्छन् । केही कारणवश छुटेका किशोरीले नजिकैको स्वास्थ्य संस्थाबाट पनि खोप लगाउन सक्ने डा. गौतम जनाउँछन ।

पूर्वउपराष्ट्रपति नन्दबहादुर पुनले अब माओवादीमा काम गर्ने

काठमाण्डौं । नेकपा माओवादी केन्द्रले पूर्वउपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई पार्टीको काम दिने भएको छ ।
सोमबार बसेको पदाधिकारी बैठकले पूर्वउपराष्ट्रपति पासाङलाई उत्पादन क्षेत्र हेर्ने संयन्त्रको प्रमुख बनाउने निर्णय गरेको छ ।
पूर्वउपराष्ट्रपति पुन माओवादी केन्द्रको बैठकमा यसअघि सहभागी भए पनि विवाद उत्पन्न भएपछि पछि हटेका थिए । तर माओवादीले उनलाई पुनः पार्टी काममा सक्रिय बनाउने निर्णय गरेको छ ।
पुस अन्तिम हप्ता बसेको केन्द्रीय कमिटी बैठकमा उनी पदाधिकारीकै लहरमा उपाध्यक्ष भएर बसेका थिए ।
२०७२ सालमा संविधान जारी भएपछि पुन २ कार्यकाल उपराष्ट्रपति बनेका थिए ।

बालुवाटारमा मन्त्रिपरिषद् बैठक जारी

काठमाडौं । मन्त्रिपरिषद्को बैठक प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसिरहेको छ । यसअघि प्रायः सिंहदरबारमा बैठक बस्ने गरेको भए पनि आज भने बालुवाटारमा बसेको हो ।
बैठकमा मन्त्रालयका नियमित एजेण्डाका विषयमा छलफल भइरहेको जनाईएको छ ।

सिद्धार्थ बैंकद्वारा विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री हस्तान्तरण

काठमाडौं । सिद्धार्थ बैंकले नवलपुर जिल्ला देवचुली नगरपालिकामा स्थित श्री कालिकामाध्यमिक विद्यालयलाई शैक्षिक तथा खेलकुद सामाग्री एक कार्यक्रम आयोजना गरी हस्तान्तरण गरेकोछ । उक्त सामाग्री बैंककोदलदले शाखाका शाखा प्रबन्धक त्रिविक्रम लामिछानेले विद्यालयलाई हस्तान्तरण गरेका थिए ।
बालबालिकाहरूको शारीरिक र मानसिक विकासका लागि सामाजिक अन्तरक्रियामा प्रोत्साहित गर्दै शिक्षाको गुणस्तर अभिवृद्धि गर्ने उद्देश्यले बैंकले उक्त सामाग्री रोटरी क्लबको समन्वयमा प्रदान गरेको हो ।
बालबालिकाहरु राष्ट्रका कर्णधार हुन् र राष्ट्रको उज्जवल भविष्य बालबालिकाहरुको समग्र विकासमा निर्भर हुने मान्यताको साथ बैंकले यस कार्यमा सहभागिता जनाएको हो । यस मान्यतासँगै, बैंकले काठमाण्डौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ बाल अस्पताल निर्माणलाई सहयोग, विपन्न बालबालिकाहरुका लागि छात्रवृत्ति जस्ता कार्यहरुमा योगदान प्रदान गरिसकेको छ ।
बैंकले दिगो विकास लक्ष्यलाई सधैँ आफ्नो उच्च प्राथमिकतामा राखी समाजको विकासमा टेवा पुर्याउने उद्देश्य लिँदै विभिन्न सामाजिक कार्यहरूमा सहभागिता जनाउँदै आएको छ र आगामी दिनहरुमा पनि यस्ता सामाजिक कार्यहरुलाई निरन्तरता दिँदै जाने योजना बैंकको रहेको छ ।

सामाजिक उद्यमशीलता प्रवर्द्धनमा नबिल बैंक, जनकपुरमा सर्टिफिकेट कोर्स सुरु

जनकपुर । नबिल बैंक लिमिटेडले जनकपुरको मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलमा नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप अन्तर्गतको नबिल एसएसई ‘सर्टिफिकेट कोर्स’ सुरु गरेको छ ।
शनिबार आयोजित एक कार्यक्रममा मधेश प्रदेश सरकारका मुख्यमन्त्री सतिसकुमार सिंह तथा नबिल बैंकका अध्यक्ष उपेन्द्रप्रसाद पौडेललगायतको उपस्थितिमा कोर्सको औपचारिक सुरुआत गरिएको हो । बैंकका अनुसार कोर्सका लागि पहिलो समूहमा खुला आवेदनमार्फत २५ जना छनोट भइसकेका छन् ।
कोर्सको सुरुआत गर्दै मुख्यमन्त्री सिंहले बैंकले सामाजिक उद्यमशीलता बढाउने उद्देश्यले सुरु गरेको उक्त प्रयासको प्रशंसा गरे । ‘बैंकहरुले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सामाजिक महत्वका पूर्वाधार निर्माणमा जोड दिँदै आएकोमा नबिल बैंकले उद्यमशीलताको विकासका लागि सर्टिफिकेट कोर्स सुरु गरेको छ । यो उद्यमशीलतामा रुचि राख्नेका लागि लाभदायक हुने अपेक्षा छ,’ मुख्यमन्त्री सिंहले भने ।
त्यस अवसरमा नेपाल राष्ट्र बैंकका निर्देशक डिलाराम सुवेदीले नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सुरु गरेको सामाजिक उद्यमशीलतासम्बन्धी कार्यक्रम सराहनीय भएको जनाए ।
नबिल बैंकका अध्यक्ष पौडेलले सर्टिफिकेट कोर्सको पहिलो समूहका सहभागीलाई सम्बोधन गर्दै बैंक नाफामा मात्रै नभइ दिगो नतिजा ल्याउने क्षेत्रमा समेत केन्द्रित रहेको उल्लेख गरे । साथै, स्टार्टअप सुरुआत गर्न चाहने र सुरुआत गरिसकेकालाई लक्षित गरी बैंकले नबिल एसएसई कार्यक्रम सुरु गरेको उनको भनाइ थियो ।
जनकपुरधाम उद्योग वाणिज्य संघका अध्यक्ष सुरेन्द्र भण्डारीले बैंकले आयोजना गरेको यो कार्यक्रमलाई सहयोग गर्न आफूहरु तयार रहेको जनाए । मोनास्टिक हाइयर सेकेण्डरी अंग्रेजी बोर्डिङ स्कुलका प्रबन्ध निर्देशक सोनुकुमार साहले नेपालबाट दक्ष जनशक्ति विदेश पलायन भइरहेको अवस्थामा यसप्रकारको कार्यक्रमले युवाहरुलाई देशमा नै केही गर्न सकिन्छ भन्ने आशा जगाउने प्रतिक्रिया दिए । साथै, उनले नबिल बैंकले मोनास्टीक स्कुलसँग यस कार्यक्रमको लागि गरेको सहकार्य एकदमै सराहनीय रहेको व्यक्त गरे ।
नबिल बैंकले समाजिक उद्यमशिलतामा रुचि राख्ने, नविन सोच भएका तथा उद्यमशील क्षेत्रमा संलग्न नव–उद्यमीलाई आवश्यक ज्ञान र मार्गदर्शन प्रदान गर्ने उद्देश्यले उक्त कोर्स सञ्चालन गर्दै आएको छ । कोर्सको पहिलो समूहमा जनकपुर, मिथिला बिहारी नगरपालिका र पिरारी चोकका १२ महिला र १३ पुरुष सहभागी छन् । जसमध्ये तीन जनाले मिथिला कला, आर्ट ग्यालरी र सिक्की कला जस्ता क्षेत्रमा योगदान पुर्‍याएका छन् । साथै पाँच जना थोक बजार, अचार, विद्युतीय सेवा, गद्दा उत्पादन र अनलाइन व्यवसायमा केन्द्रित छन् भने दुई जनाले खुद्रा व्यापार, एक जनाले जैविक ताजा फलखेतीमार्फत उद्यम सुरु गरिसकेका छन् ।
तीन महिने सर्टिफिकेट कोर्सअन्तर्गत १४ दिन ‘एक्सन–बेस्ड’ तालिम प्रदान गरिनेछ । तालिममा सहभागीले आफ्‌नो उत्पादनको प्रवर्द्धन तथा बजारीकरणलगायतका विषयमा प्रशिक्षण लिनेछन् । कोर्समा क्षेत्रीय तथा राष्ट्रियस्तरमा अनुभवप्राप्त उद्यमी तथा प्रशिक्षकसँग अनुभव आदानप्रदान र स्थलगत भ्रमण पनि समावेश गरिएको छ । विद्यालयले कार्यक्रममा सहभागी हुनका लागि खुला आवेदन माग गरेको थियो । जसमा उद्यमशीलताको क्षेत्रमा काम गर्ने अठोट भएकालाई छनोट गरिएको जनाइएको छ ।
नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत नबिल स्कुल अफ सोसियल इन्टरप्रेनरसिप कार्यक्रम सञ्चालन गर्दै आएको छ । यस कार्यक्रमअन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् ।
फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ । बैंकका अनुसार दुवै कार्यक्रममा हालसम्म आठ सय ६६ जना सहभागी भएर छन् । दुवै कार्यक्रममार्फत हालसम्म एक सय १७ वटा उद्यम स्थापना र एक हजार दुई सयभन्दा बढीले रोजगारी पाइसकेको छ ।

कुमारी बैंकको चौबीसौं वार्षिक साधारण सभा सम्पन्न

काठमाडौं । कुमारी बैंकको चौीिसौं वार्षिक साधारण सभा आज सम्पन्न भएको छ ।
सो सभाबाट सामान्य प्रस्तावको रुपमा पेश गरिएको आ.ब. २०८०, ८१ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, लेखा परीक्षण प्रतिवेदन सहित आ.ब. २०८०, ८१ आषाढ मसान्त सम्मको वासलात, नाफा–नोक्सान हिसाब लगायतका वित्तीय विवरण र आ.ब.२०८१, ८२ को लागि वाह्य लेखापरीक्षक नियुक्ति तथा निजको पारिश्रमिक तोक्ने प्रस्ताव पारित गरियो ।
बैंकले आफ्ना देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई सहज, सुरक्षित, अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ ।
साथै आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।

पाथीभरामा केवलकार निर्माण विवाद समाधान गर्न वार्ता टोली गठन

काठमाडौं । सरकारले ताप्लेजुङको पाथीभरा (मुक्कुम्लुङ) क्षेत्रमा केवलकार निर्माणको क्रममा उत्पन्न विवाद समाधानका लागि सम्बद्ध पक्षहरूसँग वार्ता गर्न गृह मन्त्रालयका सहसचिव प्रेमप्रसाद भट्टराईको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ ।
गृह मन्त्रालयले आइतबार अबेर जारी गरेको विज्ञप्तिमा वार्ता र संवादको माध्यमबाट समस्या समाधान गर्न सहसचिव भट्टराईको संयोजकत्वमा सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय र सहरी विकास मन्त्रालयका प्रतिनिधि समेत रहेको वार्ता टोली गठन गरिएको जनाएको छ ।
वार्ता टोलीले तत्काल कार्य प्रारम्भ गर्ने र आन्दोलनरत पक्षलाईसमेत आन्दोलनका कार्यक्रमहरू फिर्ता लिई संवादमार्फत् समस्या समाधानमा सहयोग गर्न गृह मन्त्रालयले अपिल गरेको सहसचिव एवम् प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयद्वारा जारी विज्ञप्तिमा गृहमन्त्री रमेश लेखकले आवश्यक पहलकदमी लिई ताप्लेजुङ र छिमेकी जिल्लाबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यलगायतसँग नियमित संवाद तथा समस्या समाधानका लागि पहल गरेको स्पष्ट पारेको छ ।
सरकारको कार्यविभाजन नियमावली, २०७४ बमोजिम रज्जुमार्ग, केवलकारसम्बन्धी नीति, कानून र मापदण्डको विषय सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयसँग सम्बन्धित देखिएकाले केवलकार निर्माणको विषयमा स्थानीय रुपमा उठेका सवाल र सरोकारका विषयलाई समेत ध्यान दिँदै सबै सरोकारवालासँग समन्वय र सहजीकरण गरिएको मन्त्रालयले जनाएको छ ।
समस्या समाधानका लागि पहल अगाडि बढाइदिन यस मन्त्रालयबाट सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयलाई अनुरोध गरिएको समेत मन्त्रालयले जनाएको छ । यो समस्या बहुपक्षीय सरोकार रहेको तथा शान्ति सुरक्षा व्यवस्थापन समेत गर्नुपर्ने भएकाले अन्य सरोकारवाला निकायसहितको समन्वय र सहजीकरण गृह मन्त्रालयबाटै गर्न उपयुक्त हुने व्यहोराको पत्र सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट प्राप्त भएको गृह मन्त्रालयले विज्ञप्तिमा उल्लेख छ ।

आज सरस्वती पूजा

काठमाण्डौं । प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीका दिन मनाइने वसन्त पञ्चमी पर्व विद्याकी अधिष्ठात्री देवी सरस्वतीको पूजा आराधनासहित वसन्त श्रवण गरेर मनाइँदै छ । यस अवसरमा काठमाडौंंको हनुमानढोकास्थित नासल चोकमा वसन्त श्रवण गरी मनाइँदै छ ।
वसन्त श्रवणमा राष्ट्रपति रामचन्द्र पौडेल सहभागी हुने हनुमानढोका दरबार हेरचाह अड्डाका प्रमुख सन्दीप खनालले जनाए । वसन्त श्रवणमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्रीद्वय प्रकाशमान सिंह र विष्णुप्रसाद पौडेल, मन्त्रीहरु, सांसदहरु, संवैधानिक अङ्गका प्रमुख एवं सदस्य, प्रदेशसभा सदस्यलगायतको उपस्थिति रहने उनले जानकारी दिए ।
प्रत्येक वर्ष माघ शुक्ल पञ्चमीकै दिन मनाइने ‘श्रीपञ्चमी’ पर्व आज विद्याकी अधिष्ठात्री देवी सरस्वतीको देशभर निष्ठापूर्वक पूजा–आराधना गरी मनाइँदैछ । चन्द्रमाजस्तो गोरो वर्ण भएकी तथा हातमा वीणा र पुस्तक लिएकी विद्याकी देवी सरस्वतीलाई भक्तजनहरूले भारती, शारदा, हंसवाहिनी, जगन्माता, वागीश्वरी, कौमारी, वरदायिनी, बुद्धिदात्री, ब्रह्मचारिणी, चन्द्रघण्टा र भुवनेश्वरीजस्ता नामले पुकार्छन् ।
विद्या र सिर्जनाकी देवी भएकाले विशेष गरी साहित्यकार, कलाकार, पत्रकार, शिक्षक र विद्यार्थी आआफ्ना कला–साधनाका वस्तु कलम, कापी, कुची र वाद्ययन्त्रलाई सरस्वतीका रूपमा पूजा–आराधना गर्छन् । सरस्वतीलाई तान्त्रिकहरूले तन्त्र सिद्धिका लागि तारादेवीका रूपमा मान्छन् ।
सूर्य उत्तरतिर लागी दिन लामो हुने र वसन्त ऋतु प्रारम्भ हुने विश्वासका साथ आजको दिनलाई ‘वसन्त पञ्चमी’ पनि भनिन्छ । ऋग्वेदमा वाग्देवीका नामले प्रसिद्धि पाएकी ब्रह्माकी अर्धाङ्गिनी ब्रह्मायणीको पूजा उपासनाले सबै प्रकारको ज्ञान, सिद्धि र सद्बुद्धि प्राप्त हुने उल्लेख छ । यसैकारणले सरस्वती पूजालाई ठूलो महत्व दिइन्छ । आजका दिन सरस्वतीको पूजा गरी विद्यारम्भ गरेमा सर्वसिद्धि प्राप्त हुन्छ भन्ने विश्वास छ ।
आजका दिन विवाह, व्रतबन्ध, गुफा राख्ने र बेलविवाह ९इही० जस्ता सामाजिक तथा धार्मिक कार्य गर्न साइत हेर्नुपर्दैन भन्ने मान्यता छ । यस दिन बालबालिकालाई शिक्षारम्भ गराउने र नाक–कान छेड्न पनि शुभ मानिन्छ । उपत्यकाका डिल्लीबजार, स्वयम्भू, मैतीदेवी र गैरीधारास्थित नीलसरस्वती, ललितपुरको लेलेलगायत अन्य जिल्लामा रहेका सरस्वतीका मन्दिरमा आज बिहानैदेखि पूजाआजा गर्न भक्तजन, खासगरी छात्रछात्राको घुइँचो लाग्ने गर्छ । सरस्वतीलाई चढाइएको सात गेडा अक्षता निलेमा विद्या र वुद्धि स्फुरण भई विद्यादेवीबाट चेतनाको ज्योति पाइन्छ भन्ने धार्मिक विश्वास छ ।

उमा गौरी सहकारीका अध्यक्ष रौनियार कारागार चलान

विराटनगर । मोरङको उमा गौरी सहकारी ठगी प्रकरणमा सहकारीका अध्यक्ष पुर्पक्षका लागि कारागार चलान भएका छन् ।
धनपालथान गाउँपालिकामा सहकारीका अध्यक्ष शम्भुप्रसाद रौनियार पुर्पक्षका लागि कारागार चलान भएका हुन् । मोरङ जिल्ला अदालतका न्यायाधीश अरुणकुमार झाको इजलासले रौनियारलाई पुर्पक्षको लागि कारागार चलान गर्न आदेश दिएको हो ।
उमा गौरी कृषि सहकारीको २२ करोड ४८ लाख २७ हजार ७ सय रुपैयाँ हिनामिना गरेको पाइएको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...