काठमाण्डौं । त्रिभुवन अन्तराष्ट्रिय विमानस्थलबाट पौने ४ किलो सुनसहित ४ जना पक्राउ परेका छन् । फ्लाई दुबईको एफजेएड ५७५ उडानबाट त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका ३ महिला र १ पुरुष सुनसहित पक्राउ परेका हुन् ।
बुधबार राति फ्लाई दुबईबाट आएका उनीहरूले मलद्वारमा राखेर सुन ल्याएका हुन्। प्रहरीले बरामद गरेको सुनको परिमाण ३ किलो ७४५ ग्राम छ।
पक्राउ पर्नेमा अखमदजनोभ्ना डिल्फुजा मारिफालिब, इस्राइलोभ्ना साओदत फैजिवा, गुलामनोभन उमिदा अखमेदोभ र सरदार तुर्सुनोभ रहेका छन् ।
उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।
पौन ४ किलो सुनसहित ४ जना पक्राउ
राष्ट्रपति पौडेलद्वारा ग्याल्पो लोसारको शुभारम्भ
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले शेर्पालगायत हिमाली, आदिवासी समुदायको नयाँ वर्ष श्यिङ मो डुल लो २१५२ ग्याल्पो ल्होसारको शुभारम्भ गरेका छन् ।
राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा फेमार (शेर्पा परिकार) काटेर राष्ट्रपति पौडेलले ग्याल्पो ल्होसारको शुभारम्भ गरेका हुन् । राष्ट्रपति पौडेलले बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक विविधतायुक्त नेपाली समाजमा ग्याल्पो ल्होसारजस्ता पर्वहरूले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र बन्धुत्वको भावना अभिवृद्धि गर्दै राष्ट्रिय एकतालाई थप सुदृढ गर्न योगदान दिने विश्वास लिएको जनाए ।
उनले नेपाल बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुधार्मिक देश भएको तथा यहाँ बसोबास गर्ने सबै जातजातिको आफ्नो भिन्न परम्परा, रीतिरिवाज र संस्कृति रहेको जनाएका हुन् ।
राष्ट्रपति पौडेलले भिन्न सांस्कृतिक विविधता बोकेको नेपालमा शेर्पा समुदायको आफ्नै र विशिष्ट पहिचान रहेको उल्लेख गर्दै शेर्पा तथा हिमाली आदिवासीले नेपालको हिमाली क्षेत्रको भाषा, धर्म, कला, संस्कृति र परम्पराको निरन्तरता, संरक्षण, सम्वर्धन तथा विकासमा आफ्नो पहिचान कायम राख्दै पर्यटन तथा आफ्नो व्यवसायमार्फत मुलुकलाई आर्थिक रूपमा सबल बनाउन उल्लेखनीय भूमिका निर्वाह गरेको धारणा राखे ।
सो अवसरमा खेम्पो लामा आचार्यले ल्होसारका बारेमा जानकारी गराएका थिए । कार्यक्रममा ल्होसारसम्बन्धी गित तथा स्याब्रु नृत्य प्रस्तुत गरिएको थियो ।
सामाजिक अधिकार एक सेन्टिमिटर पनि तलमाथि नहुने प्रधानमन्त्रीको दाबी
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफूहरूले परिपूर्ण डेमोक्रेसी चाहेको जनाएका छन् । बिहीबार काठमाडौँमा भएको डिजिटल अपराधसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले राजनीतिक परिवर्तन भए पनि त्यसले मात्र मानिस सुखी र खुसी हुन नसक्ने भएकाले परिपूर्ण डेमोक्रेसीले मात्र मानव खुसी र सुखी बन्न सक्ने जनाएका हुन् ।
उनले मानिसलाई खुसी हुन नदिने तत्त्व अपराध एक रहेको भन्दै प्रधानमन्त्री ओलीले मानव जाति अझै पनि अभाव र भोकमरीमा तड्पिरहनुपरेको जनाए । ‘मानिस अभाव र भोकमरीमा तड्पिरहेको छ भने अरू कुराले मात्र सुखी हुन सक्दैन’, प्रधानमन्त्री ओलीले भने– ‘हामी परिपूर्ण डेमोक्रेसी चाहान्छौ । सामाजिक क्षेत्रका जीवन उन्नत र सम्पन्न हुनुपर्छ । जैविक र मानवीय आवश्यकताको सहज आपूर्तिको परिपाटी हुनुपर्छ र मात्र समाजलाई समृद्ध, सन्तुष्ट र खुसी राख्न सक्छौँ ।’
साइन्स एन्ड टेक्नोलोजीले मानव जातीलाई सुख सुविधा दिने भए पनि यसको दुरुपयोगबाट अपराध समेत हुनसक्ने भएकाले त्यसतर्फ सचेत हुन जरुरी रहेको प्रधानमन्त्रीको भनाइ छ ।
उनले बेथितिबाट राम्रा काम प्राप्त गर्न नसकिने भएकाले थिति बसालेर राम्रा काम गर्न सक्नुपर्नेमा जोड दिए ।
‘समाजमा ठुलो परिवर्तन आएको छ । राजनीतिक परिवर्तन र अरू स्वतन्त्रताका हकको मात्र होइन । हामी हरेक हिसाबले अधिकार सम्पन्न हुन चाहन्छौँ’, प्रधानमन्त्रीले भने, ‘सामाजिक प्रबन्धहरू यसरी गइरहेको छ अझै पनि डिजिटलको कुरा गरिरहेका छौँ तर त्यसैबैला उल्लेखनीय प्रतिशत मानवजाति निरपेक्ष गरिबीको रेखामुखी छ ।’
प्रधानमन्त्री ओलीले सामाजिक सञ्जाल प्रयोगकर्ताको अधिकार एक सेन्टिमिटर पनि तलमाथि नहुने गरी सामाजिक सञ्जालको नियमन गर्ने तयारीमा सरकार रहेको दाबी गरे । तर उनले असामाजिक कुरा रोक्नै पर्ने प्रधानमन्त्रीको भनाइ छ । ‘यस्तो कुरा रोक्नुपर्छ भन्दा डिबेट गर्ने नै होइन, त्यो विरोधका लागि विरोध मात्र हो’, प्रधानमन्त्रीको भनाई छ ।
प्रचण्डमा तीव्र निराशा देखिएको महासचिव पोखरेलको टिप्पणी
काठमाण्डौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’मा तीव्र निराशा र छटपटाहट देखिएको टिप्पणी गरेका छन् ।
बुधबार साँझ सामाजिक सञ्जाल फेसबूकमा लेख्दै महासचिव पोखरेलले माओवादीले जनादेश गुमाउँदै जाँदा प्रचण्डमा निराशा देखिएको टिप्पणी गरे ।
‘वास्तवमा सरकारको नेतृत्वमा रहँदा प्रचण्डले अवलम्बन गरेको अस्थिर र स्वार्थपरक नीति तथा द्वैध चरित्रका कारणले माओवादी आन्दोलनले कार्यकर्ताको विश्वास र जनताको जनादेश गुमाउन पुगेको हो । यो क्रम निरन्तर जारी छ । त्यसको हेक्का भएर नै प्रचण्डमा यतिबेला तीव्र निराशा र छटपटाहट देखिन थालेको छ,’ उनले लेखेका छन् ।
नेकपा एमाले र नेपाली कांग्रेसको सहयोगमा सत्ता समीकरणको कथित म्याजिक नम्बर पाउन सफल माओवादी अध्यक्ष प्रचण्डले ती दलहरूको सहयोग नपाउने भएपछि आफ्नो सहयोगमा ती दल ठूला भएको हास्यास्पद दावी गरेको उनको टिप्पणी छ ।
उनले लेखेका छन्, ‘साँच्चै नेपालको राजनीतिलाई विकास र समृद्धिका लागि राजनीतिक अस्थिरताको दुश्चक्रबाट मुलुकलाई बाहिर निकाल्ने हो राजनीतिक ध्रुवीकरणको बाटोमा जानु आवश्यक छ । त्यसका लागि अब आउने चुनावमा सबै राजनीतिक दलले आफ्नो नीति तथा कार्यक्रमका आधारमा जनतामा जाने आँट गर्नु पर्दछ । यस्तो भएमा कथित म्याजिक नम्बरको नाममा साना दलले ठूला दलहरूमाथि शासन गर्ने स्थित अन्त्य हुनेछ ।’
अध्यक्ष प्रचण्डले माओवादीको सहयोगमा अन्य दलहरू ठूला दलहरू बनेको दाबी गरेपछि महासचिव पोखरेलको टिप्पणी आएको हो ।
उपाधिबाट चुक्यो नेपाल, म्यानमार २–० ले विजयी
काठमाडौं । नेपाल अन्तर्राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जित्नबाट चुकेको छ ।
आज त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा नेपाल म्यानमारसँग पराजित भएको हो । नेपालले म्यानमारसँग २–० गोलको हार बेहोर्यो ।
म्यानमारले ६२ औँ मिनेटमा गोल गर्दै अग्रता कायम गरेकामा लगत्तै फेरि दुई मिनेटमै दोस्रो गोल गर्दै दोब्बरको अग्रता बनाउन सफल भएको थियो ।
प्रधानमन्त्री ओली आज पोखरा जाँदै
काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार पोखरा जाँदै छन् । उनी पोखरा विश्वविद्यालयको २० औँ दीक्षान्त समारोहमा भाग लिन पोखरा जान लागेका हुन् ।
पोखरा विश्वविद्यालयका कुलपति समेत रहेका उनले दीक्षान्त समारोहलाई सम्बोधन गर्दै विद्यार्थीहरूलाई दीक्षित गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ ।
बिहान ११ गते पोखरा महानगरपालिका वडा नम्बर ३० स्थित ढुंगेपाटनमा कार्यक्रम तय भएको छ ।
स्वर्गद्वारीमा गरियो प्रकृतिको अन्तिम संस्कार
भैरहवा । भारतको उडिसा राज्यस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा प्राण त्यागेकी प्रकृति लम्सालको यहाँस्थित स्वर्गद्वारी घाटमा अन्तिम संस्कार गरिएको छ ।
उनको पार्थिव शरीर भैरहवा परिक्रमा गराई स्वर्गद्वारी घाटमा पुर्याइएको थियो ।
शवयात्रामा सिद्धार्थनगरका सर्वसाधारणका केआईआईटीमा अध्ययनरत नेपाली विद्यार्थी पनि सहभागि थिए । उनलाई हजुरबुवा देवनाथ लम्सालले मुखाग्नि दिएका थिए । उनको पार्थिक शरीर बुधबार उडिसाबाट ल्याइएको हो ।
विसं २०६१ असार ४ गते भैरहवामा जन्मिएकी लम्सालको गत आइतबार निधन भएको हो । उनको शरीर केआइआइटी छात्रावासमा झुण्डिएको अवस्था भेटिएको थियो ।
अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिपः नेपालले लेबनानसँग खेल्दै
काठमाडौँ । काठमाडौँमा जारी अन्तर्राष्ट्रिय महिला च्याम्पियनसिप फुटबलमा आज (बिहीबार) नेपालले लेबनान सँग खेल्दैछ । त्रिपुरेश्वरस्थित दशरथ रङ्गशालामा बिहीबार साँझ ६ बजे लेबनान र नेपाल दुवै टिमले जारी लिगको दोस्रो खेल खेल्दैछन् ।
यसअघि पहिलो खेलमा नेपालले किर्गिस्तानलाई १–० गोलले पराजित गरेको थियो । नेपाल आज दोस्रो जितको खोजीमा हुनेछ । लेबनानले आफ्नो पहिलो खेलमा बलियो मानिएको म्यानमारविरुद्ध उत्कृष्ट खेल खेलेको थियो । यद्यपि खेलमा लेबनान ३–१ गोलले पराजित भएको थियो ।
अघिल्लो खेलमा नेपालकी स्टार खेलाडी सावित्रा भण्डारी साम्बाले दोस्रो हाफमा मात्र खेलेकी थिइन् । नेपालले लेबनानसँगा दोस्रो पटक खेल्न लगेको हो । यसअघि सन् २०२४ को वाफ वुमन्स च्याम्पियनसिपमा नेपाल र लेबनानले सेमिफाइनलमा प्रतिस्पर्धा गरेका थिए । जहाँ नेपालले २–१ गोलले जित निकालेको थियो ।
ओडिसा घटनाबारे परराष्ट्रमन्त्रीले गरिन् भारतीय मन्त्रीसँग कुराकानी
काठमाडौं । परराष्ट्रमन्त्री डा. आरजु राणाले भारतको ओडिसाको उच्च शिक्षामन्त्री (हायर एजुकेशन मिनिस्टर) सूर्यवंशी सुरजसँग कुराकानी गरेकी छिन् ।
उनले नेपाली छात्रा प्रकृति लम्सालको मृत्यु प्रकरणको निष्पक्ष अनुसन्धान गर्न आग्रह गरेकी छन् । ओडिसाका शिक्षामन्त्री सुरजलाई टेलिफोन गरेर परराष्ट्रमन्त्री राणाले बुधबार नेपाली छात्रा प्रकृतिको हत्या प्रकरण निष्पक्ष अनुसन्धान गरी दोषीमाथि कारबाही गर्न आग्रह गरेकी हुन् ।
उनले मन्त्री सुरजसँग ओडिसाको भुवनेश्वरमा रहेको कलिङ्गा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयका नेपाली विद्यार्थीहरूलाई सुरक्षित वातावरणसहित पठनपाठनको व्यवस्थाका लागि पनि आग्रह गरेकी छन् ।
काँग्रेस सभापति देउवा भोलि भारत जाँदै
काठमाडौं । नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवा भोलि भारत जाने भएका छन्।
उत्तर प्रदेशको प्रयागराजमा आयोजित ‘कुम्भ ग्लोबल समिट अन डेभलपमेन्ट एण्ड सस्टेनेबिलिटी’ कार्यक्रममा सहभागी हुन जान लागेका जनाईएको छ ।
कार्यक्रममा उनले सम्बोधन गर्ने कार्यक्रम तय भएको हो ।