काठमाडौं । संघीय संसद्अन्तर्गत राष्ट्रिय सभाको बैठक आज (मंगलबार) बस्ने भएको छ । बैठक बिहान ११ः१५ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्न लागेको हो ।
आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले लोकसेवा आयोगको आर्थिक वर्ष २०८०, ८१ को ६५औँ वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ ।
यसैगरी, भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले पानीजहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ दफावार छलफलका लागि विधायन व्यवस्थापन समितिमा पठाउन प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।
राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
क्यानडाको टोरन्टो विमानस्थलमा ८० जना सवार विमान पल्टियो
काठमाडौं । क्यानडाको टोरन्टो विमानस्थलमा एउटा विमान पल्टिएको छ । डेल्टा एयरलाइन्सको विमान अवतरणको क्रममा चिप्लिएर दुर्घटनामा भएको हो ।
उक्त विमान रनवेको किनारमा उत्तानो परेको छ । जहाँ बाक्लो हिउँ जमेको छ ।
स्थानीय समय अनुसार दिउँसो करिब पौने तीन बजे विमान पल्टिएको हो । उक्त विमानमा ८० यात्रु सवार थिए ।
बीबीसीका अनुसार यो दुर्घटनामा करिब १५ जना घाइते भएका छन् र तीमध्ये तीन जनाको अवस्था गम्भीर छ ।
तर डेल्टा एयरलाइन्सका सीईओ डेबोराह फ्लिन्टले भने कुनै पनि यात्रु गम्भिर घाइते नभएको जनाएका छन् ।
यो विमान पल्टिनुअघि टोरन्टो पियर्सन अन्तर्राष्ट्रिय विमानस्थलमा करिब २६ उडान डाइभर्ट गरिएको थियो । धेरैजसो विमानलाई मोन्ट्रियल र ओट्टावा डाइभर्ट गरिएको थियो ।
विमान दुर्घटनाको कारण खुलेको छैन । विमानस्थलका अधिकारीहरुले रनवे सुक्खा रहेको बताएका छन् । तर विमान कसरी चिप्लियो भन्नेबारे अनुसन्धान सुरु गरिएको जनाएका छन् । बीबीसी
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाण्डौं । संघीय संसद् अन्तर्गत् प्रतिनिधि सभाको बैठक मंगलबार बस्दैछ। आज दिउँसो १ बजे संसद् भवन नयाँ बानेश्वरमा बस्ने बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन आर्थिक वर्ष २०७९, ०८० पेश गर्ने कार्यसूची छ।
उद्योग तथा बाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको प्रतिवेदनसहितको राष्ट्रियसभामा उत्पति भएको विद्युत ब्यापार बिधेयक, २०८० माथि छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने तथा बिधुतीय ब्यापार (ई कमर्श) बिधेयक, ०८१ लाई पारित गरियोस् भनि प्रस्ताव प्रस्तुत गर्ने महासचिव पदमप्रसाद पाण्डेले सार्बजनिक गरेको सम्भावित कार्यसूचीमा उल्लेख गरिएको छ।
सोमबार बसेको प्रतिनिधिसभा बैठकले ‘भ्रष्टाचार निवारण (पहिलो संशोधन) विधेयक, २०८१’ प्रतिनिधिसभाबाट सर्वसम्मतिले पारित गरेको थियो।
६ महिनामा ११३३८ दुर्घटना, १२३६ जनाको मृत्यु
काठमाण्डौं । चालु आर्थिक वर्षको छ महिनामा सडक दुर्घटनामा परेर १२३३ जनाको निधन भएको छ । लापराहीपूर्वक सवारीसाधन चलाएको तथा ट्राफिक नियमको पूर्ण परिपालनामा ध्यान नदिएका कारण दुर्घटनामा ज्यान जानेको सङ्ख्या गत आवको सोही अवधिको तुलनामा वृद्धि भएको हो ।
गृह मन्त्रालयका अनुसार विसं २०८० को पुस मसान्तसम्म देशभर १२८५६ सडक दुर्घटनामा ११४९ जनाको ज्यान गएको थियो । यस वर्षको पुस मसान्तसम्म ११३३८ सडक दुर्घटना हुँदा १२३३ जनाको ज्यान गएको छ ।
गत वर्षको छ महिनाको तुलनामा यस वर्षको छ महिनामा सडक दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा वृद्धि भएको छ । गत मङ्सिरको तुलनामा पुसमा सडक दुर्घटना बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको गृह मन्त्रालयका प्रवक्ता रामचन्द्र तिवारीले जानकारी दिए ।
मन्त्रालयका अनुसार गत साउनमा एक हजार छ सय २८ सडक दुर्घटनामा एक सय ५२, भदौमा एक हजार छ सय १९ दुर्घटनामा एक सय ७४ जनाको अकालमा ज्यान गएको थियो । गत असोजमा एक हजार आठ सय ७३ सडक दुर्घटनामा दुई सय, कात्तिकमा एक हजार नौ सय २८ दुर्घटनामा परी दुई सय ५८ जनाको निधन भएको विवरण छ । अघिल्लो गत मङ्सिरमा दुई हजार १४ सडक दुर्घटनामा परी दुई सय ५२ र पुसमा सबैभन्दा बढी दुई हजार दुई सय ७६ दुर्घटनामा परेर एक सय ९७ जनाको निधन भएको छ ।
मन्त्रालयले उपलब्ध गराएको विवरण अनुसार गण्डकी, काठमाडौँ उपत्यका र कर्णालीमा दुर्घटनाको सङ्ख्या घटे पनि मृत्यु हुनेको सङ्ख्यामा बढोत्तरी भएको छ । मधेस प्रदेश र बागमती (काठमाडौँ उपत्यका) बाहेकमा दुर्घटनाको सङ्ख्या बढे पनि मृत्यु हुनेको सङ्ख्या घटेको छ ।
ओडिसा घटनाका विषयमा कूटनीतिक पहल भइरहेको छ ः परराष्ट्रमन्त्री
काठमाडौं । परराष्ट्रमन्त्री डा। आरजु राणा देउवाले भारतको ओडिसास्थित कलिंगा इन्स्टिच्युट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) विश्वविद्यालयमा भएको घटनाका विषयमा आवश्यक कूटनीतिक पहल भइरहेको जनाएकी छन् ।
सो विश्वविद्यालयको होस्टेलमा नेपाली विद्यार्थी प्रकृति लम्सालको मृत्यु भएको र त्यसपछि नेपाली विद्यार्थीमाथि भएको व्यवहारका सन्दर्भमा आफू बिहानदेखि नै सम्पर्कमा रहेर आवश्यक कूटनीतिक पहल थालेको जनाएकी हुन् ।
एक औपचारिक कार्यक्रमका लागि हाल ओमनमा रहेकी मन्त्री डा. देउवाले यससम्बन्धी समाचार, सामाजिक सञ्जाल तथा मिडियामा आएपछि यस विषयलाई गम्भीर रूपमा लिएर आज बिहानदेखि नै आफूले कूटनीतिक पहल सुरु गरेको जानकारी दिइन् ।
मन्त्री डा. देउवाले उक्त घटनाका सन्दर्भमा आफू सम्बद्ध पक्षसँग आज बिहानैदेखि सम्पर्कमा रहेको र बिहान आफूले भारतका लागि नेपाली राजदूत डा. शंकर शर्मालाई घटनाको वास्तविकता बुझेर नेपाली विद्यार्थीलाई परेको समस्याका बारेमा आवश्यक तत्परता लिइ काम गर्न निर्देशन दिएको जानकारी दिइन् ।
सोही बमोजिम राजदूत डा. शर्माले काम गरिरहेको र केहीबेर अघि नेपाली राजदूतावास नयाँदिल्लीले विज्ञप्ति पनि प्रकाशन गरिसकेको उनले जनाईन ।
त्यसैगरी आजै अपराह्न आफूले नेपालका लागि भारतीय राजदूत नवीन श्रीवास्तवसँग नेपाली विद्यार्थीको सुरक्षाको वातावरणका लागि फोनमा कुरा गरेको जनाईन । उनले पनि यसका लागि आवश्यक पहल र समन्वय गरिरहेको जानकारी दिएको देउवाले जनाईन ।
यस विषयमा परराष्ट्र मन्त्रालयले आवश्यक तत्परताका साथ काम गरिरहेको र पछिल्लो अवस्थाका बारेमा जानकारी गराउने पनि मन्त्री डा. देउवाले जानकारी दिईन ।
नेपाल अब सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको प्रधानमन्त्रीको दाबी
दाङ । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल अब सुरुङ मार्ग र पानी जहाजको युगमा प्रवेश गरिसकेको दाबी गरेका छन् ।
सोमबार दाङको घोराहीमा आयोजित सभालाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले देउखुरीमा पनि सुरुङ मार्ग बनाउने आफ्नो योजना रहेको जनाएका हुन् । ‘पहिला मैले सुरुङका कुरा गर्दा धेरैले गिज्याए, रेलका कुरा गर्दा धेरैले गिज्याए, अहिले जनकपुरमा त रेल चलिरहेको छ, त्यो विस्तार हुँदै छ, पानी जहाजका कुरा गर्दा धेरैले जिस्क्याए, अब नारायणी नदीबाट तपाईँहरू जलयात्रा सुरु गर्न सक्नुहुन्छ, त्यसलाई गङ्गासम्म लैजान सक्नु हुन्छ, त्यहाँबाट बङ्गाल जान सक्नुहुन्छ’, उनले भने ।
ओलीले यही वर्षको चैत महिना भित्र केही आरक्षण भित्र बाहेक सम्पन्न हुने जानकारी दिए । त्यस्तै पुष्पलाल मार्ग, मदन भण्डारी मार्ग निर्माणको काम पनि चलिरहेका प्रधामन्त्रीको भनाइ छ । उनले एमालेको नेतृत्वले मात्र देश विकास गर्न सक्ने जनाउँदै शंकर पोखरेललाई चुनाव जिताएर नपठाउँदा विकासको अभियान अघि बढाउन आफूलाई केही समस्या भएको जनाएका थिए । ओलीले अब हाइ काढेर बस्ने होइन, सक्रियता देखाएर मिसन २०८४ सफल गर्न निर्देशन दिए ।
‘हामी अलमल नगरी मिसन २०८४ तर्फ लाग्नु पर्छ, तपाईँहरूको साथ चाहिन्छ, देश बदल्ने कामको अगुवाइ गर्ने जिम्मा मेरो हो, कसैले पनि यो अभियानलाई रोक्न सक्दैन’, उनले भने ।
माओवादीका अध्यक्ष प्रचण्ड अहिले आत्तिएर बोल्ने नबोल्ने सबै कुरा बोल्न लागेका उनले जनाए । अहिलेको सरकार देशमा स्थिरता ल्याउन बनेकाले यो सरकार ढल्छ भन्दै बरबराएर नहिँड्न उनले प्रचण्डलाई आग्रह गरे । अहिलेको सरकार, शान्ति, स्थायित्व, विकास, गरिबी निवारण लगायतका उद्देश्यले बनेकोले सोही कुरालाई मूल उद्देश्य बनाएर काम गर्ने उनले स्पष्ट पारेका छन् ।
सामाजिक एकता, सद्भाव र राष्ट्रिय एकता कायम गर्दै राष्ट्रलाई अगाडि बढाउन आफूले सरकारको नेतृत्व गरेको उनले जनाए । समृद्ध नेपाल र सुखी नेपालीको आकाङ्क्षा पूरा गर्न आफ्नो नेतृत्वको सरकार केन्द्रित भएको ओलीले स्पष्ट पारे । नेकपा एमाले कोही नेपाली पछि नपरोस् भन्ने गन्तव्यको साथ अघि बढेको उनले जनाए । एमालेको विरुद्ध विभिन्न हल्ला गरिएको भन्दै उनले त्यस्तो हल्लाको पछाडि लाग्नु नहुने जनाएका हुन् ।
लोकतन्त्र र लोकतान्त्रिक आन्दोलनमा लागेकालाई राजासँग मिलेर मास्छौँ भनेर हिँडेकाहरू अहिले बाध्यताले लोकतन्त्रसँग सम्झौता गर्न आएका र उनीहरू नै लोकतन्त्रका मसिहा बनेका भन्दै ओलीले आलोचना गरे । माओवादीले तत्कालीन राजा ज्ञानेन्द्रसँग लोकतन्त्र मास्ने र प्रचण्ड प्रधानमन्त्री बन्ने गरी सम्झौता गरेको ओलीको भनाइ छ ।
‘त्यस्ता मान्छेले हामीलाई लोकतन्त्रको दुहाइ दिने’, उनले भने । ओलीले प्रचण्डलाई बकवास चलाएर नहिँड्न आग्रह गरे । त्यसै गरी हिँड्ने हो भने प्रचण्डका धेरै षडयन्त्रको पर्दाफास गरिदिने उनले चेतावनी दिए । ‘यहाँका धेरै कुराका षडयन्त्रहरूको पर्दाफास गर्नु नपरोस्’, उनले भने । कसैले कमाएको देख्नु नहुन, कसैले राम्रो गरेको देख्नै नहुने, लुटिहाल्नु पर्ने, कुटिहाल्नु पर्ने, जे भेट्यो त्यही झ्वाम पार्नेहरू भ्रष्टाचार विरुद्धका अभियन्ता भएका भन्दै ओलीले कटाक्ष गरे । ‘नाटक गरेको कि साँच्चैको कुरा गरेको यो ?’, उनले प्रश्न गरे ।
ओलीले नयाँ भनिएका दलहरू पनि चटके भएका जनाए । उनीहरूलाई एमालेका विरुद्ध अनर्गल प्रचारमा नलाग्न उनीहरूलाई पनि चेतावनी दिए । एमाले हरेक ठाउँमा एक्लै लड्दै आएको र लड्न सक्ने जनाउँदै उनले अहिले देशमा अलि असहज स्थिति बनेकोले एमाले कांग्रेससँग मिलेर सरकारमा गएको ओलीले स्पष्ट पारे ।
देशको विकासका लागि, देशमा न्याय स्थापनाका लागि एमाले नेतृत्वमा सरकार बनेको उनले स्पष्ट पारेका छन् । सरकारले देश विकासका लागि ल्याएको अध्यादेश पास गरेरै छाड्न पनि उनले जनाए ।
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकद्धारा गेटा आँखा अस्पताललाई सहयोग
काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कैलालीको गेटा आँखा अस्पताललाई १५ सेट तीन सीटर क्षमताको स्टिल कुर्सीहरु प्रदान गरेको छ ।
यो सहयोगले बिरामी र उनीहरुको परिवारहरुका लागि थप आराम शुनिश्चित गर्दै अस्पतालको सिट सुविधा बढाउने लक्ष्य राखेको बैंकले जनाएको छ ।
गेटा आँखा अस्पताल सुदुरपश्चिम प्रदेशकै एक प्रमुख स्वास्थ्य सेवा प्रदायक हो । राम्रो पूर्वाधारको आवश्यकतालाई स्वीकार गर्दै, बैंकले सामुदायिक कल्याणको लागि आफ्नो प्रतिबद्धतालाई सुदृढ गर्दै अस्पताललाई सहयोग गरेको हो ।
नेशनल लाईफले गर्यो एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम
काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
चितवनमा प्रमुख कार्यकारी अधिकृत सुरेश खत्रीको सभापतित्वमा अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२५ मा छनौट हुनका लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट छनौट हुनु भएका १०० जना एमडिआरटी अभिकर्ताहरुलाई भव्य समारोहका बीच सम्मान गरेका हुन् ।
उक्त समारोहमा सीईओ खत्रीले कम्पनीलाई अग्रस्थानमा पुर्याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको जनाए । कम्पनीले आफ्नो तर्फबाट सकभर प्रयास गरी विगत केही बर्ष देखी कम्पनीले उच्च बोनसदर प्रदान गर्दै आएकोले अभिकर्ताहरुलाई व्यवसायमा सहज भैरहेको जनाउँदै एमडिआरटी २०२५ मा तोकिएको करिब ४७ लाख देखी ३ करोड सम्मको बीमाशुल्क संकलन गरी ९४ जनाले एमडिआरटी ३ जनाले सिओटी र २ जनाले टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै १०० जना अभिकर्ताहरुलाई विशेष सम्मान गरेका हुन् ।
साथै निरन्तर ५१ दिन सम्म ५१ बीमालेख जारी गर्न सफल एमडिआरटी अभिकर्ता रुपक पराजुली र सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल कलंकी शाखालाई पनि सम्मान गरिएको थियो ।
सो कार्यक्रममा सहभागी हुनु भएका प्रदेश प्रमुख, शाखा प्रमुख लगायत मार्केटिङ कर्मचारी र अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय मोटिभेसनल स्पिकर विजयकुमार झाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पूरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
विभागीय प्रमख, प्रदेश प्रमुख, शाखा प्रमुख र मार्केटिङ कर्मचारीहरुको समेत उपस्थिती रहेकोसमारोहमा विभिन्न मनोरन्जानात्मक प्रस्तुती, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रममा सम्मानित भई प्रमुख कार्यकारी अधिकृत खत्रीबाट सम्मान ग्रहण गर्न पाउँदा आफहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेश लिडरहरुले जनाएका थिए ।
कुमारी बैंक र सूर्यविनायक मिसन हस्पिटलबीच सम्झौता
काठमाडौं । कुमारी बैंक र सूर्यविनायक १०, मिलनचोक, भक्तपुर, स्थित सूर्यविनायक मिसन हस्पिटलबीच ग्राहकहरुलाई हस्पिटलबाट प्रदान गरिने विभिन्न सेवाहरुमा विशेष छुट प्रदान गर्ने सम्झौता भएको छ ।
यस सम्झौता बमोजिम सूर्यविनायक मिसन हस्पिटलबाट प्रदान गरिंदै आएका सेवाहरुमा ग्राहकहरूलाई प्रयोगशाला परीक्षण, एक्स–रे, यूसीजी तथा ओपीडी टिकटमा २० प्रतिशत छुट र औषधिमा १० प्रतिशत छुट दिने सम्बन्धमा सम्झौता भएको छ ।
बैंकले देशभर रहेका ३०२ शाखा सञ्जाल, ३१६ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ५४ शाखारहित बैंकिङ्ग ईकाईहरु मार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ
काठमाडौं विश्वकै चौथो प्रदूषित सहर, शीर्ष स्थानमा दिल्ली
काठमाडौं । काठमाडौं विश्वकै चौथो वायु प्रदूषित सहर बनेको छ । विश्वभरको वायु गुणस्तर मापन गर्दै आएको आईक्यूएअरका अनुसार बिहान ७ बजेसम्म काठमाडौंको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ ।
छिमेकी राष्ट्र भारतको दिल्ली प्रदूषित सहरको शीर्ष स्थानमा छ । २०१ एक्यूआईसहित दिल्ली विश्वै सबैभन्दा प्रदूषित सहर बनेको हो ।
त्यस्तै, दक्षिण एसियाली मुलुक बंगलादेशको ढाका दोस्रो नम्बरमा छ । बिहानसम्म ढाकाको वायु प्रदूषण १७० एक्यूआई मापन गरिएको छ । तेस्रो नम्बरमा रहेको पाकिस्तानको लाहोरको वायु प्रदूषण १९० एक्यूआई मापन गरिएको छ ।
काठमाडौंमा वायु प्रदूषण मंगलबार रातिसम्म नै बढ्ने वातावरण विभागको पूर्वानुमान छ ।