Page 7

आज विश्वभर भ्यालेन्टाइन डे मनाइँदै

काठमाडौं । आज १४ फेब्रुअरी अर्थात् ‘भ्यालेन्टाइन्स डे’ । पछिल्लो समय युवा पुस्ताले नेपालमा पनि यसलाई प्रणय दिवसका रूपमा मनाउन थालेका छन् । यो विशेष गरी पश्चिमा मुलुकमा धेरै ठूलो सांस्कृतिक महत्त्व बोकेको ‘पर्व’ हो ।
विशेष गरी सामाजिक सञ्जालको कारणले गर्दा यो दिवस नेपालमा पनि चर्चित हुँदै गएको छ । किंवदन्ती हेर्दा एक जना भ्यालेन्टाइन नाम गरेका सेन्टले रोमन साम्राज्यका सम्राट्को आदेश विपरीत प्रेम जोडीको विवाह गराइदिएका थिए । त्यसपछि ती रोमन सम्राट्ले सेन्टलाई मृत्युदण्ड दिए । त्यसैले प्रेमका लागि शहीद हुने उनै सेन्ट भ्यालेन्टाइनको सम्झनामा हरेक वर्षको फेब्रुअरी १४ का दिन ‘भ्यालेन्टाइन्स डे’ मनाइन्छ ।’
सन्त भ्यालेन्टाइनले प्रेमका लागि गरेको त्यस त्यागको सम्झनामा विश्वभर हरेक वर्ष १४ फेब्रुअरीमा प्रेम दिवसको रुपमा भ्यालेन्टाइन्स डे मनाउने गरिएको हो ।

राष्ट्रपति ट्रम्प र भारतीय प्रधानमन्त्री मोदीबीच भेटवार्ता

काठमाण्डौं । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकका राष्ट्रपति डोनाल्ड ट्रम्पबिच ह्वाइट हाउसमा द्विपक्षीय भेटवार्ता भएको छ । भेटमा दुई देश बिचको व्यापार सुमधुर बनाउन अमेरिकी तेल र ग्यास भारतले आयात गर्ने विषयमा छलफल भएको छ ।
वार्तापछि दुई नेताले संयुक्त पत्रकार सम्मेलन गरेका छन् । त्यस अवसरमा अमेरिकी राष्ट्रपति ट्रम्पले २००८ को मुम्बई आक्रमणका आरोपी तहव्वुर राणालाई भारत सुपुर्दगी गर्ने घोषणा गरे । ‘भारतसँग अमेरिकाको व्यापार घाटा लगभग १०० अर्ब डलर छ,’ ट्रम्पले भने, ‘मोदी र म पारस्परिक व्यापारलाई सुदृढ पार्न र अमेरिकीहरूका लागि यसलाई अझ ’निष्पक्ष’ बनाउन छलफल सुरु गर्नेछौँ ।’
त्यस्तै प्रधानमन्त्री मोदीले भारत र अमेरिकाको एकता र सहयोगले राम्रो संसारलाई आकार दिन सक्नेमा विश्वास व्यक्त गरे । भारत र अमेरिका बिचको साझेदारीले लोकतन्त्र र लोकतान्त्रिक मूल्यमान्यता र प्रणालीहरूलाई बलियो बनाउने पनि मोदीले जनाए । उनले इन्डो–प्यासिफिकमा शान्ति, स्थिरता र समृद्धि बढाउन सँगै काम गर्ने पनि प्रतिवद्धता जनाए ।
भारतीय प्रधानमन्त्री मोदीले दुवै देशले सन् २०३० सम्ममा द्विपक्षीय व्यापार दोब्बर गर्ने लक्ष्य राखेको जिकिर गरे । उनले भने, ‘भारत र अमेरिका आतंकवाद विरुद्धको लडाइँमा दृढतापूर्वक एकसाथ उभिएका छन्। सीमापार आतंकवाद उन्मूलन गर्न ठोस कारबाही आवश्यक रहेकोमा हामी सहमत छौँ ।’
यसअघि सन् २०१९ मा मोदी अमेरिका भ्रमणमा गएका थिए । सो समयमा उनको स्वागतका लागि भव्य कार्यक्रमको आयोजना गरिएको थियो । सो कार्यक्रमलाई हाउडी मोदीको नाम दिइएको थियो । यसले भारतलाई पनि सुपर पावरको रूपमा स्वीकार गरेको प्रस्ट पारेको थियो ।
यस ५ वर्षको बिचमा मोदी र ट्रम्पको सम्बन्ध सुमधुर भए पनि अमेरिका र भारतको सम्बन्ध केही जटिल पनि बनेको थियो । गत वर्षको निर्वाचनमा मोदीको लोकप्रियता खस्किएको थियो भने भारतीय अर्थतन्त्रमा पनि केही समस्या आएको जनाइन्छ ।

अब अबुधाबीबाट पनि श्रम स्वीकृति पाईने

काठमाडौं । सरकारले संयुक्त अरब इमिरेट्स (युएई) बाट पनि श्रम स्वीकृति पाईने भएको छ । बिहीबार दुबईमा आयोजित एक कार्यक्रममा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सेवाको शुभारम्भ गरे ।
अबुधाबीस्थित नेपाली राजदूतावासका अनुसार मन्त्री भण्डारीले नेपाल सरकारले वैदेशिक रोजगारीमा गएका श्रमिकहरुको हित र सुविधालाई ध्यानमा राखी राज्यले प्रदान गर्ने सेवा सुविधाहरुलाई सहज, सरल र प्रविधिमैत्री बनाउँदै लैजाने जनाए । उनले सम्बन्धित राजदूतावासहरुबाटै श्रम स्वीकृति उपलब्ध गराउने व्यवस्थाले नेपाली श्रमिकहरु लाभान्वित हुने, नेपालमा गइरहनुपर्ने झन्झटबाट मुक्त हुने र आफ्नो पेसा र व्यवसायलाई निरन्तरता दिन सहज हुने जानकारी दिए ।
मन्त्री भण्डारीले यो व्यवस्था क्रमैसँग अन्य दूतावासहरुबाट पनि प्रवाह हुने जनाउँदै उनले देशको ठूलो युवाशक्ति वैदेशिक रोजगारीमा रहेको, विप्रेषणको मुख्य स्रोत वैदेशिक रोजगारी भएको परिप्रेक्ष्यमा सरकारले नेपाली श्रमिकको हक, हित र संरक्षणका लागि आवश्यक नीति निर्माण गरी समयानुकूल सेवा सुविधा उपलब्ध गराउन आवश्यक भएको उल्लेख गरे ।
संयुक्त अरब इमिरेट्सका लागि नेपालका राजदूत तेजबहादुर क्षेत्रीले श्रमिकका लागि दूतावासले गरिरहेका कामबारे जानकारी दिँदै ‘अनलाइन’ श्रम स्वीकृति सेवा दूतावासबाटै उपलब्ध भएपछि नेपाल सरकारले श्रमिकहरुलाई उपलब्ध गराउने सुविधा लिन सहज हुने जनाए । उनले नेपाली राजदूतावास अबुधाबी नेपाली श्रमिकहरुको हकहित संरक्षणमा सधैँ प्रतिबद्ध रहेको र सोहीअनुरुप राजदूतावासमा उपलब्ध सीमित जनशक्ति र स्रोतसाधनका बाबजुद पनि प्रभावकारी सेवा प्रदान गरेको जनाए ।
राजदूत क्षेत्रीले राजदूतावासका विभिन्न सेवालाई विगतदेखि अनलाइन प्रणालीबाट प्रवाह गरिएको र श्रम स्वीकृति लिने कार्य पनि अनलाइन भएपछि सेवा प्रवाहमा चुस्तता आउने विश्वास व्यक्त गरे ।
त्यसअवसरमा गैरआवासीय नेपाली संघ र युएईस्थित नेपाली समाजका प्रतिनिधिसहित युएईमा रहेका विभिन्न संघ संस्थाका प्रतिनिधिको सहभागिता थियो । साथै, गैरआवासीय नेपाली संघ युएईका अध्यक्ष विकास शाही र नेपाली समाज युएईका अध्यक्ष राम मोक्तानले पनि आआफ्ना धारणा व्यक्त गरेको दूतावासले जारी गरेको प्रेस विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा श्रमसम्बन्धी अन्तरक्रिया पनि आयोजना गरिएको थियो ।
वैधानिकीकरण श्रम स्वीकृति प्रदान गर्ने अबुधाबी मस्कटपछि दोस्रो राजदूतावास हो ।
यसैबीच, गत माघ २९ देखि यही फागुन १ गतेसम्म युएईमा भएको ‘वल्र्ड गभर्नमेन्ट समिट २०२५’ मा मन्त्री भण्डारीले नेपालको प्रतिनिधित्व गरेका थिए । समिटमा विश्वका ३० भन्दा बढी राष्ट्रप्रमुख तथा सरकार प्रमुखको सहभागिता रहेको सम्मेलनमा एक सय ४० देशका प्रतिनिधिसहित विभिन्न अन्तर्राष्ट्रिय तथा क्षेत्रीय सङ्घसंस्थाका प्रतिनिधि, बौद्धिक तथा प्राज्ञिक क्षेत्रका विशेषज्ञ, उद्योग वाणिज्य तथा निजी क्षेत्रका प्रतिनिधिसहित छ हजार जनाको सहभागिता थियो ।
समिटमा बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामाले पनि भाग लिएका थिए ।

प्रधानमन्त्री र नेपालका लागि फ्रान्सका राजदूतबीच भेटबार्ता

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र नेपालका लागि फ्रान्सका राजदूत भर्जिनिइ कर्टेभललेबीच आज शिष्टाचार भेटबार्ता भएको छ ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा भएको भेटमा दुुई पक्षीय सम्बन्ध र हितका विविधि विषयहरुका साथै आपसमा हुँदै आएको सहयोग आदानप्रदानलाई अभिवृद्धि गर्ने विषयमा छलफल भएको छ ।
भेटका अवसरमा परराष्ट्र मन्त्रालयका उच्चाधिकारीसहितको सहभागिता थियो ।

नेपाल समाजवादी पार्टीको अध्यक्षमा बाबुराम भट्टराई निर्वाचित

काठमाडौं । नेपाल समाजवादी पार्टी (नयाँ शक्ति) को अध्यक्ष पदमा डा. बाबुराम भट्टराई निर्वाचित भएका छन्। मतगणना सकिनु अघिनै भट्टराई विजयी भएका हुन् ।
प्रवासबाहेकको मतगणना सकिँदा भट्टराई र अध्यक्ष पदका अर्का उम्मेदवार नेत्रप्रसाद चापागाईँबीच ६११ मतान्तर छ।
८७३ मत खसेकोमा चापागाईँले ७१ मत मात्रै पाएका हुन् । जोड्न बाँकी मतभन्दा मतान्तर धेरै भएसँगै भट्टराई अध्यक्षमा निर्वाचित भएका हुन् ।

सानिमा रिलायन्स लाइफद्वारा कर्मचारी माग

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले देशका विभिन्न शाखा कार्यालयको लागि शाखा प्रमुख पदमा कर्मचारी माग गरेको छ । बुधबार कम्पनीले एक सूचना जारी गर्दैै ओखलढुङ्गा, पथरी, बर्दिबास, विरगञ्ज, सिमरा, पाटन, चापागाँउ, भैंसिपाटी, कालिमाटी, कालिमाटी, स्वयम्भु, थानकोट, लमही, गलकोट र बेसीसहर लगायतका शाखा कार्यालयमा कर्मचारी माग गरको हो ।
कम्पनीले उक्त शाखा कार्यालयको लागि दक्ष तथा अनुभवी शाखा प्रमुख आवश्यक भएकोले योग्यता पुगेका नेपाली नागरिकलाई आवेदन अनुरोध गरेको छ । इच्छुक उम्मेदवारले आवश्यक विवरण उल्लेख गरी आफुलाई पायकपर्ने शाखा कार्यालय उल्लेख गरी कम्पनीको इमेल मार्फत आवेदन दिन सकिने कम्पनीले जनाएको छ ।

 

एनआईसीले लिलाम गर्ने सम्पत्ति सम्बन्धी सम्पूर्ण जानकारी बिक्री पोर्टलमा पाइने

काठमाडौं । एनआईसी एशिया बैंकले बैंकिङ सम्पत्तिहरु, बैंकको नाममा रहेको गैर बैंकिङ सम्पत्ति तथा धितो सुरक्षणमा रहेको सम्पत्तिसमेतको लिलाम बिक्री सम्बन्धी विस्तृत जानकारी गराउने उद्देश्यले एक अनलाईन पोर्टल सार्वजनिक गरिसकिएको छ ।
बैंकले सञ्चालनमा ल्याएको यस अनलाईन पोर्टलमार्फत बैंकले लिलाम बिक्री गर्ने सम्पत्तिहरु सम्बन्धी सम्पूर्ण किसिमका सूचनाहरूको बारेमा विस्तृत जानकारी समेटिएको छ ।
यसको लागि ग्राहकले लिलाम बिक्री सम्बन्धी प्रकाशन गरिएको सूचनामा रहेको क्युआर कोड स्क्यान गरी आउने पोर्टलभित्र लिलाम बिक्रीमा रहेका सम्पत्तिहरूको कित्ता नं। तथा क्षेत्रफल सहितको विवरण, फोटो, नक्सा एवं उक्त सम्पत्तिको स्थान ९लोकेशन० पहिचानका लागि गुगल म्याप सहितका विविध जानकारीहरू प्राप्त गर्न सक्ने छन् ।
यसरी ग्राहकले लिलाम बिक्रीमा राखेको सम्पत्तिको पूर्ण विवरण हेरेपश्चात् खरिद गर्न चाहेको सम्पत्तिको बारेमा थप जानकारी लिन आवश्यक भएमा सोही सम्पत्ति विवरण रहेको ठाउँमा उपलब्ध म्यासेज बक्समा आफ्नो पूरा नाम, इमेल ठेगाना, मोबाइल नम्बर, सम्पर्क ठेगाना राखी म्यासेज समेत पठाउन सकिने व्यवस्था बैंकले गरेको छ ।
बैंकले सञ्चालनमा ल्याएको उक्त अनलाईन पोर्टलमा नियमित रुपमा बैंकिङ सम्पत्ति, गैर बैंकिङ सम्पत्ति तथा बैंकमा धितो सुरक्षण रहि लिलाम बिक्रीमा रहेको सम्पत्तिहरु र लिलाम बिक्री सम्बन्धी अन्य सूचनाहरू प्रकाशित गरिने हुँदा इच्छुकले अनलाईन पोर्टलको लिंकबाटै विस्तृत विवरणहरूको जानकारी लिई लाभ लिन सक्ने बैंकले विश्वास लिएको छ ।

प्रतिकित्ता १६३ देखि युनाइटेड अजोडको ३.३३ लाख कित्ता शेयरको बिक्री खुल्यो

काठमाडौं । युनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले संस्थापक शेयर बिक्रीमा ल्याएको छ ।
कम्पनीले जुली चाचानको नाममा रहेको १ लाख ४९ हजार ११६, माछापुच्छ्रे बिक्र फ्याक्ट्रीको ७६ हजार ८७८, महेन्द्र कुमार गोयलको ८२ हजार ५९२ र ज्योतिकुमारी सरावगीको २४ हजार ६०२ कित्ता गरी कुल ३ लाख ३३ हजार १८८ कित्ता शेयर बिक्रीमा ल्याएको हो ।
शेयरको मूल्य क्रमशः १८०, २०१, १६३.९० र १६३.५० रुपियाँ तोकिएको छ ।
संस्थापक शेयरधनीले मात्रै खरिद गर्न पाउने यो शेयरमा इच्छुक लगानीकर्ताले ३५ दिनभित्र आवश्यक कागजातसहित कम्पनीको प्रधान कार्यालय सिटिसी मल सुन्धारा, काठमाडौंमा के कति कित्ता खरिद गर्ने सो सोको व्यहोरा खुलाई निवेदन दिनुपर्नेछ ।
साथै ३५ दिनसम्म खरिद आवेदन नपरेमा उक्त शेयर सर्वसाधारणका लागि बिक्री गरिने कम्पनीले जनाएको छ ।

वरिष्ठ संगीतकर्मी प्रदिप भट्टराईको नयाँ गीत “उमेर ढल्केको“ सार्वजनिक

काठमाडौं । नेपाली संगीत उद्योगका लोकप्रिय संगीतकर्मी प्रदिप भट्टराईले आफ्नो नयाँ गीत ‘उमेर ढल्केको’को म्युजिक भिडियो सार्वजनिक गरेका छन् ।
नेपाली संगीत क्षेत्रमा २५ वर्षभन्दा बढी योगदान दिइ सकेका उनको परिचय गायक, संगीतकार, गीतकार तथा संगीतकर्मीका रुपमा समेत स्थापित रहेको छ । तथापी, उनी आफैं भने आफूलाई पूर्वेली गायक तथा संगीतकर्मी भन्न रुचाउँछन् । उनले आफ्नो सांगीतिक यात्राको सुरुवात २५ बर्ष अघि मेलान्ज ब्याण्डमार्फत गरेका थिए ।
संगीतकर्मी भट्टराईले नेपाली संगीतमा आफ्नै मौलिक शब्द, संगीत र शैलीले छुट्टै पहिचान बनाएका छन् । भट्टराईले यसअघि पनि आफ्नै शब्द र संगीतमा दुई एल्बम सार्वजनिक गरिसकेका छन् । उनका सिर्जनाहरू नेपाली लोकशैलीदेखि आधुनिक संगीतसम्म विविध स्वाद समेट्ने खालका छन् ।
भट्टराईले नेपाली सांगीतिक यात्रामा विभिन्न कालजयी गीतहरू सिर्जना गर्दै आम संगीतप्रेमीको मन जित्न सफल भएका छन् । उनका गीतहरू प्रेम, जीवन र सामाजिक चेतनासँग जोडिएका विषयवस्तुहरुमा केन्द्रित हुने गर्छन् । थुप्रै प्रतिष्ठित गायकहरूले उनका सिर्जनालाई स्वर दिइसकेका छन् । यसले नेपाली संगीत उद्योगमा उनलाई बहुआयामिक स्रष्टाका रूपमा स्थापित गराएको छ ।
सार्वजनिक नयाँ गीतमा नेपाल आइडल सिजन २ का विजेता रवि ओडले स्वर दिएका छन् । रवि ओडले आफ्नो सुमधुर स्वर र फरक पहिचानले नेपाली संगीतमा छोटो समयमा नै अपार सफलता हासिल गरेका छन् । उनी लोकगीतदेखि आधुनिक पपसम्म सबै विधाका गीतहरूमा जमेका छन् ।
‘उमेर ढल्केको’मा उनले आफ्नो भावनात्मक प्रस्तुति मार्फत गीतलाई अझ बढी सजीव तुल्याएका छन् । गीतको भिडियोमा रबीको आवाज संगै उनको अभिनय, कलाकार जय किशन बस्नेत र बिना राउत तथा संगीतकार भट्टराई स्वयम् लगायत कलाकारको रमाइलो अभिनय रहेको छ ।
काठमाडौंको एक होटलमा आयोजित विशेष समारोहमा प्रमुख मिडिया हाउसका प्रतिनिधिहरूको उपस्थितिमा गीत सार्वजनिक गरिएको थियो । कार्यक्रममा बोल्दै भट्टराईले आफ्नो नयाँ सिर्जनाबारे उत्साह व्यक्त गर्दै यस गीतले समयसँगै परिवर्तन हुने जीवनका भोगाइहरू चित्रण गरेको जनाए ।
गीतको भिडियो नेपाल आइडलका सिजन २ का विजेता रवि ओडको आधिकारिक युट्युब च्यानलमार्फत सार्वजनिक गरिएको छ ।

भ्रातृ संस्थाको अधिवेशनबारे छलफल गर्न कांग्रेस बैठक बस्दै

काठमाडौं । भ्रातृ संस्थाको महाधिवेशन गराउन कांग्रेसले छलफल गर्दैछ । आज छलफलका लागि सभापति शेरबहादुर देउवा, भातृ संस्थाका अध्यक्षलगायतको स‌युक्त बैठक बस्दैछ ।
भातृ संस्थाको महाधिवेशनको समन्वय र सहजीकरण गर्न बनेको पार्टीको निर्देशक समिति र भातृ संस्थाका अध्यक्षको बैठक बस्ने तय भएको कांग्रेसले जानकारी दिएको छ ।
बैठक पार्टी केन्द्रीय कार्यालय सानेपामा दिउँसो १ बजेका लागि तय गरिएको छ ।
तदर्थमा रहेका भातृ संस्थाको महाधिवेशन गराउने विषयमा बैठकमा छलफल हुनेछ । पार्टीले चैत मसान्तभित्र सबै भातृ संस्थाको महाधिवेशन गराउन निर्देशन दिएको छ ।
कांग्रेसका १३ भातृ संस्थामा निर्वाचित समिति दुईवटा संस्थामा मात्रै छ । अन्य सबैमा तदर्थ समिति छ ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...