Page 13

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । नयाँ बानेश्वरस्थित संसद् भवनमा बिहान ११ बजे बैठक सुरु हुनेछ ।
बैठकका निम्ति संसद् सचिवालयले सम्भावित कार्यसूची तय गरेको छ । बैठकमा उपप्रधान एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उनले नै ‘निजीकरण (पहिलो संशोधन) विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
अर्थमन्त्री पौडेलले ‘आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथि विचार गरियोस्’ भन्ने प्रस्ताव पनि प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।

पूर्वराजामाथि विनाप्रमाणको लाञ्छना नलगाउन प्रचण्डलाई राप्रपाको चेतावनी

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अत्तालिएर, सन्तुलन गुमाएर पूर्वराजा ज्ञानेन्द्र शाहमाथि तुच्छ, अमर्यादित, विनाप्रमाणको लाञ्छना लगाएको निष्कर्ष निकालेको छ ।
राप्रपाका महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक डा. धवलशमशेर राणाको अध्यक्षतामा बसेको बैठकले विनाप्रमाणको आरोप लगाए राप्रपा मुकदर्शक भएर नबस्ने निष्कर्ष निकालेको प्रवक्ता सगुनसुन्दर लावतीले जनाए ।
उनका अनुसार पूर्वराजाप्रति प्रचण्डले लगाएको लाञ्छनाको बैठकले भर्त्सना गरेको छ ।
उनले भने, ‘नेपाली जनता परिवर्तनको पक्षमा देखिएपछि अत्तालिएर पुष्पकमल दाहालले सन्तुलन गुमाएको आमनेपाली जनताले राम्ररी बुझेका छन् । परिवर्तन देश र समयको आवश्यकता हो, परिवर्तन निश्चित छ ।’
हिजो मेलम्ची पुगेर प्रचण्डले पूर्वराजामाथि भाइमारा, मूर्ति चोर र सुन तस्कर भएको आरोप लगाएका थिए ।

भ्रष्टाचार र कमिशनले अर्थतन्त्र संकटग्रस्त भएको समाजवादी मोर्चाको आरोप

काठमाण्डौं । समाजवादी मोर्चाले राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको आरोप लगाएको छ ।
समाजवादी मोर्चा नेपालले शनिबार पत्रकार सम्मेलन गर्दै भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त रहेको भन्दै नेपाली जनताको जनजीविका कहालिलाग्दो अवस्थामा रहेको जनाएको छ ।
मोर्चाले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्थाको विकाशमा देखिएको ठहराव र राज्यसत्ताको बागडोर सम्हालेकाहरूको अलोकतान्त्रिक रबैया र गतिविधीका कारण नेपाली जनताका अधिकारहरू एकपछि अर्को कुण्ठित हुँदै गैरहेका छन् । राज्य सञ्चालकको स्वेच्छाचारिताका कारण देशले अप्ठ्यारो र संकटपूर्ण अवस्थाको सामना गरिरहेको छ । भ्रष्टाचार, कमिशन र कालोबजारीले अर्थतन्त्र संकटग्रस्त छ । नेपाली जनताको जनजीविका कहाली लाग्दो अवस्थामा छ ।’
मोर्चाले सरकार बिचौलिया दलालहरूको स्वार्थसिद्धिमा केन्द्रित रहेको भन्दै सरकारको कुशासन र अस्तव्यस्तताका कारण नेपाली जनतामा एकपछि अर्को असन्तुष्टि र आक्रोश तीव्र रूपमा बढ्दै गएको जिकिर गरेको छ ।
यसैगरी समाजवादी मोर्चाले काठमाण्डुमा संघीय लोकतान्त्रिक गणतन्त्रको रक्षाको निम्ति चैत १५ गते संयुक्त विरोध आन्दोलन गर्ने जनाएको छ ।

नागरिक लगानी कोषको ३५ औं वार्षिकोत्सवमा प्रभातफेरी

काठमाडौं । नागरिक लगानी कोषले ३५ औं वार्षिकोत्सवको अवसरमा शनिबार प्रभातफेरी कार्यक्रम आयोजना गरेको छ । कोषले चैत ४ गते ३५ औं वार्षिकोत्सव कार्यक्रम मनाउँदै छ । प्रभातफेरीमा कोष सञ्चालक समितिका अध्यक्ष, सदस्य तथा कार्यकारी निर्देशक लगायत सम्पूर्ण कर्मचारीले सहभागिता जनाएका थिए ।
कोष कार्यालय परिसरबाट ब्यानरसहित सुरु भएको प्रभातफेरी कार्यक्रम तीनकुने, सिनामंगल, पुरानो बानेश्वर हुँदै कोष परिसरमा आएर सम्पन्न भएको हो । वार्षिकोत्सवको अवसरमा कोषले विभिन्न खेलकुद तथा रक्तदानका कार्यक्रम गर्दै आइरहेको छ ।

आज दिउँसो काठमाडौंका यी स्थानमा बिजुली काटिने

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले मर्मत सम्भारलगायतका लागि आज काठमाडौंका विभिन्न स्थानमा बिजुली कटौती हुने भन्दै सूचित गरेको छ । प्राधिकरणले सार्वजनिक सूचना प्रकाशित गरी विभिन्न वितरण केन्द्र मातहतका स्थानमा बिजुली कटौती जानकारी दिएको हो ।
प्राधिकरणले बलम्बु वितरण केन्द्रअन्तर्गत मातातीर्थ फिडरमार्फत वितरण गरिएका लाइनमा बिहान ११ बजेदेखि ४ बजेसम्म बिजुली कटौती हुने जनाएको छ । ‘कन्डक्टर अपग्रेडिङ’का लागि उक्त ‘फिडर सटडाउन’ हुने सूचनामा उल्लेख छ । सोही वितरण केन्द्रको सतुङ्गल फिडरअन्तर्गत पर्ने कञ्चन गेट, बोसीगाउँ, बौथली, सतुङ्गल चोक आसपासका स्थानमा पनि आज बिहान ११ बजेदेखि ४ बेसम्म लाइन काटिनेछ ।
यस्तै, जोरपाटी वितरण केन्द्रको डाँछी फिडरमा पर्ने माकलबारी, दक्षिणढोका, तिवारी टोल, शिवचोक, अर्याल गाउँ, ग्रीनहिल सिटी, भद्रबास, नाँ गाउँ, हरियाली नगर, गजरकोट क्षेत्रमा बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म बिजुली काटिनेछ । मुलपानी पिपलबोटमा तार तान्नका लागि लाइन काटिने प्राधिकरणको सूचनामा उल्लेख छ ।
सोही वितरण केन्द्रको मुलपानी फिडरमा पर्ने मुलपानीचौर, थली, थापाचोक, लक्ष्मीनारायण चोक, चापाबोट, देवलधारा, मनकामनामाई मन्दिर, मुलपानी खहरे, डुमाखाल, डाँछी, भद्रबास, गजरकोट क्षेत्रमा पनि आज बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म लाइन काटिनेछ ।
जोरपाटी वितरण केन्द्रको साँखु फिडरमा पर्ने नयाँ पाटी, ब्रम्हखेल, इन्द्रायणी, साँखु, जर्सिङपौपा, नाङ्लेभारे, गागल, गागलफेदी, मुलपानी पिपलबोटलगायतका स्थानमा पनि लाइन कटौती हुने जनाइएको छ । तोकिएको कार्य निर्धारित समय अगावै सम्पन्न भएका लाइन पुनः सञ्चालनमा आउने प्राधिकरणले जनाएको छ ।

बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्दै समाजवादी मोर्चा

काठमाडौँ । समाजवादी मोर्चाले विभिन्न क्षेत्रका बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने भएको छ । आज बिहान ११ बजेबाट बुद्धिजीवी र नागरिक समाजसँग अन्तरक्रिया गर्ने र दिउँसो साढे २ बजे पत्रकार सम्मेलन गर्ने नेकपाका नेता खड्गबहादुर विश्वकर्माले जानकारी दिएका छन् ।
यस अघि शुक्रबार बसेको बैठकले परिस्थिति एकपछि अर्को जटिल बन्दै गएको भन्दै यसलाई असफल बनाउन चैत्र १५ गते काठमाडौँमा वृहत् विरोध कार्यक्रम गर्ने र हजारौँ मानिस उतार्ने निर्णय गरेको थियो ।
नेता विश्वकर्माले सांसदवादी दलहरू र संसदीय राजनीति भन्दा बाहिर रहेका राजनीतिक दल र नेताहरूसँग पनि नयाँ ढङ्गले छलफल गर्ने मोर्चाको तयारी रहेको जानकारी दिए ।

पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको तयारी नभएको सिंहको दाबी

तानसेन । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वविशिष्टलाई सुविधा थप्ने सरकारको कुनै तयारी नभएको दाबी गरेका छन् ।
नेपाल पत्रकार महासंघ पाल्पाले शनिबार आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै उनले सरकारले पूर्वविशिष्टलाई सुविधा थप्ने तयारी नगरेको दाबी गरेका हुन् ।
यसअघिका सरकारले अगाडि बढाएको पूर्वविशिष्टको सुविधाको विषय सर्वोच्च अदालत पुगेपछि कानून बनाएर व्यवस्थित गर्ने गरी निर्देशनात्मक आदेश जारी भएको भन्दै उनले भने, ‘पूर्वविशिष्टलाई सुविधा थप्ने गरी सरकारले गृहकार्य अघि बढाएको छैन । सुविधा थप्ने सरकारको मनसाय छैन ।’
उपप्रधानमन्त्री सिंहले वर्तमान सरकार आर्थिक समृद्धि र विकासमा केन्द्रित रहेको र सोही अनुसार काम अघि बढाएको पनि जनाए ।
राजनीतिक स्थिरता नभई विकासको कामले गति लिन नसक्ने भएकाले अहिले कांग्रेस, एमालेसिहतका दलहरू मिलेर सरकार बनाएको भन्दै उनले जनताको जीवन र जीविका सहज बनाउनु नै सरकारको प्राथमिकता रहेको जानकारी दिए ।
शुक्रबार पाल्पा कांग्रेसको कार्यक्रममा सहभागी भएका सिंह आज गुल्मी क्षेत्र नं १ को क्षेत्रीय सम्मेलनमा सहभागी हुने कार्यक्रम छ ।

नेपालले हङकङलाई ६ विकेटले हरायो

काठमाण्डौं । महिला टी–२० अन्तरराष्ट्रिय क्रिकेट प्रतियोगितामा नेपालले हङकङविरुद्ध सान्त्वना जित निकालेको छ।
युगान्डाको इन्टेबे क्रिकेट मैदानमा जारी खेलमा सम्झना खड्काको उत्कृष्ट ब्याटिङमा नेपालले हङकङलाई ६ विकेटले हरायो ।
१०५ रनको लक्ष्य पछ्याएको नेपालका लागि ओपनर सम्झना खड्काले ४३ बलमा ४७ रन बनाइन्।
त्यस्तै कप्तान इन्दु बर्माले ३२ बल खेल्दा एक चौकासहित १८ रन बनाइन् भने रोमा थापा र बिन्दु रावल समान ४ रन जोडेर आउट भए।
पूजा महतोले अविजित २० रन बनाउँदा र एलिसा यादव ५ रनमा नटआउट रहिन्।
हङकङका इमा लाई र काउर महेकदीपले एक एक विकेट लिए।
यो खेल जितेपनि नेपाल फाइनलमा पुग्न सकेन । नेपालले ले ६ खेलमा २ खेल जित्यो।
यसअघि ‘टस’ जितेर पहिला ‘ब्याटिङ’ गरेको हङकङले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १०४ रन बनाएको थियो ।
हङकङका लागि शान्जिन शहजदले सर्वाधिक ५४ रन बनाइन् । उनले ४७ बलमा ५ चौका र एक छक्का प्रहार गरिन् । त्यसैगरी, करी चानले १६ तथा यास्मिन दासवानीले १४ रन जोडिन् ।
बलिङतर्फ नेपालकी राजमती ऐरीले तीन, कप्तान इन्दु बर्माले दुई तथा पूजा महतो र ईश्वरी विष्टले एक एक विकेट लिइन् ।

गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न प्रधानमन्त्रीको निर्देशन

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले उत्पादन, उत्पादनकत्व र उद्यमशीलता वृद्धि गरी गरिबी निवारणलाई पहिलो प्राथमिकतामा राख्न राष्ट्रिय योजना आयोगका पदाधिकारीलाई निर्देशन दिएका छन् ।
आयोगको कार्यसम्पादन र भावी कार्यदिशाका विषयमा आज प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा उपाध्यक्षसहित पदाधिकारीसँगको छलफलमा आयोगका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले प्रधानमन्त्री ओलीले पूर्वाधार विकासका काम लगभग पूरा हुने चरणमा रहेकाले अब सीप विकास, उद्यमशीलता, रोजगारीका अवसर सृजना, कृषि क्षेत्रका ठुला उत्पादन र लगानी वृद्धि गर्न आग्रह गरेका हुन् ।
“हामीले जनतालाई सबल बनाउने बाटो लिनुपर्छ । सहयोग गरेर मात्रै हुँदैन । उत्पादन र आत्मनिर्भरता बढाउने बाटोमा जानुपर्छ ।”, प्रधानमन्त्री ओलीले भने, “जनतालाई कर्मशील बनाउन प्रेरित गर्नुपर्छ । गरिबी घटाउने कामलाई पहिचान गरी मौलिक हकको उपयोग गर्न पाउने आधार तय गर्नुपर्छ । मन्त्रालयहरुलाई उत्पादन र उत्पादकत्व बढाउने ठोस योजना ल्याउन हामीले भन्नुपर्छ । उत्पादकत्व बढेपछि अर्थतन्त्रमा सकारात्मक प्रभाव पर्न थाल्छ ।”
उनले राष्ट्रिय गौरवका आयोजनाको प्रभावकारी अनुगमन–मूल्याङ्कन, उद्यमशीलताको विकास र जनताको सेवा प्रवाह एवं सुशासनमा सकारात्मक प्रभाव पर्ने कार्यमा लाग्न पनि आग्रह गरेका छन् ।
सो अवसरमा आयोगका उपाध्यक्ष प्रा.डा शिवराज अधिकारीले १६ औँ योजनाको कार्यान्वयन, यसका चुनौतीहरु, राष्ट्रिय आयोजना बैँकको नयाँ मापदण्ड र परिमार्जन, अधुरा योजनमाथिको व्यवस्थित विश्लेषण, परियोजना विश्लेषणको नयाँ मापदण्ड, समपुरक र विशेष अनुदानको कार्यविधिमा संशोधन आदि विषयमा अवगत गराएका थिए । उनले परिमार्जित मापदण्डबारे प्रदेश र स्थानीय तहसँग पनि अन्तक्र्रिया गरिएको जनाउँदै वित्तीय सङ्घीयताको प्रभावकारी कार्यान्वयन गर्न स्थानीय तहलाई स्रोत साधन सम्पन्न बनाउनुपर्नेमा जोड दिए ।
छलफलमा प्रधानमन्त्रीका आर्थिक तथा विकास मामिला सल्लाहकार डा. युवराज खतिवडा, नेपाल सरकारका मुख्यसचिव एकनारायण अर्यालयलगायत सहभागी थिए ।

प्रभु बैंकमार्फत मुक्तिनाथ मन्दिरमा भीम यूपीआई सेवा सुरु

काठमाडौं । मुस्ताङको प्रसिद्ध धार्मिकस्थल मुक्तिनाथ मन्दिर परिसरमा विशेष समारोहबीच भीम यूपीआई सेवा सुरुआत गरिएको छ । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको प्रमुख आतिथ्यतामा सेवा शुभारम्भ गरिएको हो ।
उक्त सेवाको सुरुआतसँगै भारतका नागरिकहरूले आफ्नो बैंक खाताबाट भीम यूपीआईमार्फत क्यूआर स्क्यान गरी मुक्तिनाथ मन्दिरमा भेटी, दान, दक्षिणा तथा अन्य भुक्तानी गर्न सक्नेछन् ।
यसले मुक्तिनाथ मन्दिरमा आउने भारतीय भक्तजनहरूलाई डिजिटल माध्यमबाट सरल, सुरक्षित र सहज भुक्तानी गर्ने सुविधा प्रदान गर्नुका साथै नेपाल – भारत वित्तीय सम्बन्धलाई थप सुदृढ बनाउने विश्वास गरिएको बैंकले जनाएको छ ।
साथै, यो सेवा क्रस–बोर्डर (सीमापार) डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने महत्त्वपूर्ण प्रयास भएको छ, जसले भारत र नेपालको वित्तीय सहकार्यलाई नयाँ उचाइमा पुर्‍याउने बैंकले जनाएको छ ।
राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, नेपाल राष्ट्र बैंकका निर्देशक मुक्ती सापकोटा, राष्ट्र बैंक पोखरा प्रादेशिक कार्यालयका प्रमुख दीपकराज लामिछाने, प्रभु बैंक गण्डकी प्रदेश प्रमुख राजुराना मगर, स्थानीय प्रशासन, मन्दिर व्यवस्थापन समिति, धार्मिक गुरुहरू, बैंकका उच्च पदाधिकारी तथा अन्य विशिष्ट व्यक्तिहरूको उपस्थिति रहेको थियो ।

लेटेष्ट समाचार

गृह मन्त्रालयको भर्चुअल बैठक ः निर्वाचन सुरक्षामा केन्द्रित रहन निर्देशन

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, शान्तिपूर्ण र भयरहीत वातावरणमा सम्पन्न गर्न गृह मन्त्रालयले सबै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुसँग भर्चुअल बैठक सम्पन्न...

सामाजिक सञ्जाल नियमन सम्बन्धी विधेयक संसदवाट फिर्ता लिने सरकारको निर्णय

काठमाण्डौं । सरकारले सामाजिक सञ्जालको सञ्चालन प्रयोग तथा नियमन गर्न बनेको विधेयक सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८१ संघीय संसदवाट फिर्ता लिने निर्णय गरेको...

पुरानो संसद् फर्काउने चलखेल र धम्की स्वीकार्दैनौं ः रवि लामिछाने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले अझै पनि ज–जसले गठबन्धन गरे पनि निर्वाचनबाट आउने परिणाम स्वीकार्न तयार रहेको जनाएका छन्...