Page 17

नबिल एसएसई फेलोसिप कार्यक्रमको आवेदन खुला

काठमाडौं । नबिल बैंकले नबिल स्कुल अफ सोसल इन्टरप्रेनरसिप (नबिल एसएसई) फेलोसिप कार्यक्रमको पाँचौं समूहका लागि आवेदन खुला गरेको छ ।
सामाजिक उद्यमशीलताको प्रवर्द्धन गर्ने लक्ष्यका साथ सुरु गरेको यस कार्यक्रममा उद्यमशीलतामार्फत समाजमा सकारात्मक योगदान पुर्याउने सोच भएका व्यक्तिहरु सहभागी हुन सक्नेछन् । इच्छुक व्यक्तिहरुले आगामी चैत २५ गतेसम्म आवेदन दिन सक्नेछन् ।
त्रिभुवन विश्वविद्यालयको व्यवस्थापन संकायअन्तर्गतको स्कुल अफ म्यानेजमेन्टको सहकार्यमा सञ्चालन भइरहेको नबिल एसएसई फेलोसिप कार्यक्रम ६ महिनासम्म सञ्चालन हुन्छ । जसमा १८ दिनको निःशुल्क आवासीय तालिम र एक वर्षको परामर्श कार्यक्रम समावेश छ ।
यसमार्फत हालसम्म तीन वटा समूहका ५६ उद्यमीले तालिम लिइसकेका छन् भने ४५ सामाजिक उद्यममार्फत १ हजार १८४ जनालाई रोजगारी दिइसकेको छ । कार्यक्रमअन्तर्गत हाल चौथो समूहका २० उद्यमीले प्रशिक्षण लिइरहेका छन् भने पाँचौँ समूहमा पनि देशभरिबाट आएका आवेदनबाट २० जना छनौट हुने नबिल बैंकले जनाएको छ ।
कार्यक्रममा सहभागिताका लागि केबल १८ वर्ष उमेर पूरा भएको नेपाली नागरिक हुनुपर्ने योग्यता तोकिएको छ । व्यवसाय सुरु गरिसकेका तथा नवीन उद्यमशीलता सोच भएका व्यक्तिले यस कार्यक्रममा आवेदन भर्न सकिनेछ । कार्यक्रममा सहभागिताका लागि नबिल स्कुल अफ सोसल इन्टप्रेनरसिपको फेसबुक पेजमा उपलब्ध क्यूआर कोड स्क्यान गरेर आवेदन दिन सकिन्छ । साथै नबिल बैंकको वेबसाइटबाट फारम डाउनलोड गरी इमेलमार्फत पठाउन पनि सकिन्छ ।
यस कार्यक्रममा जीविकोपार्जन, शिक्षा, स्वास्थ्य, सूचना प्रविधि, कला, सामुदायिक विकास, कृषि, ऊर्जाका साथै दिगो विकासका लक्ष्यसँग मेल खाने क्षेत्रमा काम गरिरहेका उद्यमीहरु कार्यक्रममा सहभागी हुन सक्नेछन् । कार्यक्रमले विभिन्न क्षेत्रका उद्यमीलाई एकै ठाउँ ल्याइ अनुभवी मार्गदर्शकहरु र उद्योग विशेषज्ञहरूबाट प्रशिक्षण दिने बैंकले जनाएको छ । नबिल एसएसईले सहभागीलाई उनीहरूको व्यवसाय विकास गर्न आवश्यक स्रोतहरू उपलब्ध गराउनुका साथै सम्बन्धित प्लेटफर्म र सञ्जालमा पहुँच स्थापित गर्न र वित्तीय पहुँचका लागि अवसरहरू खोज्न सहयोग गर्दै आएको छ ।
नबिल एसएसई सामाजिक परिवर्तनको संवाहकका रूपमा स्थापित भइसकेको छ । नबिल बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत नबिल एसएसई कार्यक्रम तीन वर्ष देखि सञ्चालन गर्दै आएको छ । यस कार्यक्रम अन्तर्गत हाल फेलोसिप प्रोग्राम र सर्टिफिकेट कोर्स सञ्चालन भइरहेका छन् ।
नबिल एसएसई अन्तर्गत फेलोसिप र सर्टिफिकेट कोर्समार्फत हालसम्म एक सय १७ उद्यम स्थापना भई एक हजार दुई सयभन्दा बढी रोजगारी सृजना भइसकेको बैंकको विज्ञप्तिमा उल्लेख छ ।
फेलोसिप प्रोग्राम त्रिभुवन विश्वविद्यालयको स्कुल अफ म्यानेजमेन्टसँगको सहकार्यमा सञ्चालन भइरहेको छ भने सर्टिफिकेट कोर्स सातै वटै प्रदेशका ११ वटा शैक्षिक संस्थाबाट नबिल सेन्टर फर सोसियल इन्टरप्रेनरसिप स्थापना भई सञ्चालन भइरहेको छ ।
नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । बैंकले विशेष गरी वित्तीय साक्षरता, उद्यमशीलता विकास, स्वास्थ्य, शिक्षा, विपद् जोखिम न्यूनीकरण, व्यवस्थापन र जलवायु परिवर्तनका क्षेत्रमा प्राथमिकताका साथ काम गरिरहेको छ । बैंकको उक्त प्रयासबाट विभिन्न समुदायका हजारौँ मानिसहरूको जीवनमा सकारात्मक सुधार हुनुका साथै वातावरण संरक्षणतर्फ ठोस कदम अगाडि बढाउन सहयोग पुगेको छ ।

बाजुरामा ट्याक्टर दुर्घटना हुँदा बुवाको मृत्यु, छोरा घाइते

धनगढी । बाजुरामा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने बालक घाइते भएका छन् ।
आइतबार राति ११ बजेको समयमा खप्तड छेडेदह गाउँपालिका ५ को चिराल्नामा कच्ची सडक खण्डमा डोगडीबाट बुढिगंगातर्फ आउँदै गरेको भे २ त १५८८ नम्बरको ट्याक्टर ओरालो सडकमा अचानक अनियन्त्रित भएर दुर्घटना भएको प्रहरीले जनाएको छ ।
प्रहरीकाअनुसार दुर्घटनामा ट्याक्टर चालक बुढीगंगा नगरपालिका ४ खोलालवाडा बस्ने ३२ वर्षीय पदम रावतको घटनास्थलमै मृत्यु भएको हो ।
रावतको ट्याक्टरको ट्रालीमुनि च्यापिएर घटनास्थलमै मृत्यु भएको प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।
ट्याक्टरमा सवार मृतक चालकका १२ वर्षीय छोरा शमशेर रावत घाइते भएका छन् । उनको स्थानीय स्वास्थ्य चौकीमा उपचार भइरहेको छ भने ट्याक्टर सवार अन्य दुई जना सकुशल रहेको प्रहरीले जनाएको छ ।

चार देशीय महिला टी–२० सिरिज ःआज नेपाल र हङकङ भिड्दै

काठमाडौं । नेपालले आज युगाण्डा क्रिकेट एसोसियसनको आयोजनामा जारी चार देशीय सिरिजअन्तर्गत हङकङको सामना गर्दैछ ।
नेपाली समय अनुसार यो खेल अपरान्ह ४ः४५ बजेदेखि सुरु हुनेछ । यस सिरिजमा नेपालले खेलेका दुई खेलमा एक जित र एक हार बेहोरेको छ ।
त्यस्तै, हङकङले पनि २ खेलमा एक जित र एक हार बेहोरेको छ ।
नेपालले मार्च १२ मा नामिबियाविरुद्ध, मार्च १३ मा युगाण्डाविरुद्ध र मार्च १४ मा हङकङविरुद्ध खेल्ने तालिका रहेको छ ।
त्यसपछि मार्च १६ मा अंक तालिकामा पहिलो र दोस्रो हुने तथा तेस्रो र चौथो हुने देशबीच खेल हुने तालिका रहेको छ ।

माओवादी केन्द्रको पदाधिकारी बैठक आज बस्दै

काठमाडौं । नेकपा (माओवादी केन्द्र) को पदाधिकारी बैठक आज बस्दैछ । बैठक बिहान ८ बजे बस्दैछ ।
बैठकमा नेताहरूको जिम्मेवारी, तराई–मधेश जागरण अभियानको अहिलेसम्मको समीक्षा, आगामी चैत ५ गतेका लागि तय भएको स्ववियु निर्वाचनको तयारी तथा समसामयिक राजनीतिक परिस्थितिबारे छलफल हुने जनाईएको छ ।
फागुन १२ गते झापाको कचनकवलबाट तराई–मधेश जागरण अभियान सुरु गरेको माओवादी राजावादीहरूको गतिविधि बढेपछि अभियान स्थगित गरेर काठमाडौं केन्द्रित भएको छ । अभियान रोकेर नेताहरू काठमाडौं आइसकेका छन् ।

बालसेना सम्बन्धी विवाद सर्वोच्चको पूर्ण इजलासमा

काठमाडौं । संक्रमणकालीन न्यायसँग बालसेनाको सरोकार पनि जोड्नुपर्ने माग सहितको विवाद अब सर्वोच्च अदालतको पूर्ण इजलासमा पेश हुने भएको छ ।
सर्वोच्चको संयुक्त इजलासले संक्रमणकालीन न्यायका विषयमा बालसेनाको सरोकार सम्बोधन गर्नुपर्ने माग सहितको रिट निवेदन पूर्ण इजलासमा पेश गर्न आदेश दिएको हो ।
माओवादीका पूर्वलडाकु लेनिन विष्टले दुई वर्षअघि संक्रमणकालीन न्यायको विषय टुंग्याउन संशोधन गरिएको विधेयक अन्तर्राष्ट्रिय मानवीय कानुन अनुकुल नभएको दावी गर्दै सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेका थिए ।
द्वन्द्वकालीन बालसेनाको पहिचान समाप्त गरेको र बालसैन्य भर्तीलाई गम्भीर मानव अधिकार उल्लंघनको परिभाषाबाट हटाएको भन्दै उनले त्यसलाई समावेश गर्न माग गरेका हुन् ।
विष्टले बालसेनामा भर्ती गर्ने काममा संलग्नहरूमाथि छानबिन गरी कारबाही गर्नुपर्ने भएकाले कानुनमा त्यससम्बन्धी व्यवस्था समावेश हुनुपर्ने जिकिर गरेका थिए । उनले १० वर्षे द्वन्द्वकालका बालसेनाको माग र सवाल सम्बोधन हुनुपर्ने दाबी गरेका थिए ।
सर्वोच्च अदालतको आदेशपछि उक्त रिट निवेदन तीन वा त्यो भन्दा बढी न्यायाधीश संलग्न पूर्ण इजलासमा रिट निवेदन पेश हुनेछ । दुई न्यायाधीशहरूबीच राय बाझिएमा वा गम्भीर कानुनी प्रश्न देखिएमा मुद्दालाई पूर्ण इजलासमा पठाउने कानुनी व्यवस्था छ ।

गेटा मेडिकल कलेज चाँडै विश्वविद्यालयमा स्तरोन्नति हुने प्रधानमन्त्रीको दाबी

कञ्चनपुर । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीको उपस्थितिमा आज सम्पन्न सुदूरपश्चिम विश्वविद्यालयको पाँचौँ दीक्षान्त समारोहमा तीन सय ७२ विदार्थी दीक्षित भएका छन् ।
विश्वविद्यालयका मानविकी तथा समाजशास्त्र, शिक्षा, व्यवस्थापन, इञ्जिनियरिङ र कृषि विज्ञानमा स्नातक र स्नातकोत्तर उपाधि हासिल ती विद्यार्थी दीक्षित भएका हुन् ।
दीक्षान्त समारोहलाई प्रधानमन्त्री ओलीले कैलालीको गेटा मेडिकल कलेजलाई चाँडै चिकित्सा विश्वविद्यालयका रुपमा स्तरोन्नति गरिने दाबी गरेका छन् । उनले गेट मेडिकल कलेजलाई राष्ट्रिय चिकित्सा विश्वविद्यालय बनाउनुपर्छ भनेर आफूले पहिलेदेखि नै कुरा उठाउँदै आएको उल्लेख गर्दै भने, “यो खुसीको कुरा हो । नेपालमा कुनै पनि क्षेत्रमा मेडिकल विश्वविद्यालय छैन, त्यो अब यहाँ बन्छ ।’’
डडेल्धुराको पर्शुराम क्षेत्र जोड्ने पुलसँगै सीमा क्षेत्रमा निर्माण हुने पुलका लागि आफू पहिले प्रधानमन्त्री हुँदा भारतीय समकक्षीसँग कुरा उठाएको जनाउँदै उनले त्यस क्षेत्रमा पक्की पुल निर्माणका लागि पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।
प्रधानमन्त्रीले हुलाकी राजमार्ग, दैजी छेला औद्योगिक क्षेत्र, दोधारा–चाँदनीमा सुक्खा बन्दरगाह निर्माण पनि चाँड प्रारम्भ हुनेर सुक्खा बन्दरगाह बनाउन भारत सरकारसँग छलफल जारी रहेको जानकारी दिएका छन् । दीक्षान्त समारोहमा भारतको उत्तराखण्डका सोबनसिंह जीना विश्वविद्यालयका कुलपति प्रा.डा सतपालसिंह अतिथि थिए ।

सानिमा रिलायन्सको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। आठौं वार्षिक साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले भोलि (फागुन २६ गते) बुक क्लोज गर्ने भएकाले आजसम्म कायम शेयरधनीहरूले मात्रै सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन्।
कम्पनीले पूँजीको १ दशमलव २४८९ प्रतिशत बोनस शेयर र ८ प्रतिशत नगद लाभांश (कर सहित) वितरणको प्रस्ताव गरेको छ। प्रस्तावित लाभांश पारितका लागि आगामी चैत ८ गते शुक्रबार काठमाडौंको नयाँ बानेश्वरस्थित अनमोल बैंक्वेटमा बिहान ११ बजेदेखि सभा बस्नेछ।
बोनस शेयर वितरणपछि पूँजी बढ्ने भएकाले प्रबन्धपत्र र नियमावली संशोधन गर्ने, खर्च अनुमोदन गर्ने र सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाका लागि तय गरिएका छन्। यसका साथै गत आर्थिक वर्षको वित्तीय विवरणहरू पारित गरी चालू आवको लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव समावेश छन्।

राष्ट्रिय वाणिज्य बैंकले ९४ जना नवनियुक्त कर्मचारीहरुलाई दियो सेवाकालीन तालिम

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले लोक सेवा आयोगबाट सञ्चालित लिखित परीक्षा तथा अन्तरवार्ताबाट गण्डकी, लुम्बिनी, कर्णाली र सुदूर पश्चिम प्रदेशका लागि प्रदेशगत रुपमा छनौट भएका नवनियुक्त सहायक (प्रशासन सेवाका) ९४ जना कर्मचारीहरुलाई चौध दिने पूर्व सेवाकालिन तालिम काठमाडौंमा सञ्चालन गरिरहेको छ ।
तालिमको उद्घाटन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले तालिममले बैंकिङ्ग काम प्रतिको ज्ञान बढाउनुका साथसाथै काम गर्ने दौरानमा कामप्रति स्मार्टनेश, सकारात्मकता र सेवाभाव झल्कने जनाए । उनले नवनियुक्त युवा कर्मचारीहरुलाई प्रतिस्पर्धी बजारमा खरो रुपमा उत्रनुका साथै जनताको असल सेवक हुनु पर्ने जनाए ।
कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृतहरु सरस्वती अधिकारी र देवेशप्रसाद लोहनीले नवनियुक्त कर्मचारीहरुलाई कार्यस्थलमा जिम्मेवारी बहन गर्दा अपनाउनुपर्ने कर्तव्य बोध गराएका थिए । कार्यक्रममा मानव संशाधन विभागका विभागीय प्रमुख भीमप्रसाद घिमिरेले नवनियुक्त सहायक ९४ जना कर्मचारीहरुलाई बैंकको कर्मचारी सेवा विनियमावली बमोजिम शपथ गराएका थिए । कार्यक्रम माानव संशाधन विभागका विभागीय उपप्रमुख हरिबाबु आचार्यले सञ्चालन गरेका थिए ।
कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृतहरु पवन रेग्मी, विमल डंगोल, दुर्गाकुमारी कँडेल, विभागीय प्रमुख पद्यमा लक्ष्मी जि.सी.लगायत कर्मचारीहरुको उपस्थिति रहेको थियो । बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

एनएमबी बैंकको सीईओमा गोविन्द घिमिरे नियुक्त, सुदेश उपाध्याय सिनियर डीसीईओमा बढुवा

काठमाडौँ । एनएमबी बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा गोविन्द घिमिरे नियुक्त भएका छन् ।
बैंक सञ्चालक समितिको २०८२ वैशाख १० गतेदेखि लागु हुनेगरी घिमिरेलाई प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गरिएको हो । उनी अहिले बैंकको डेपुटी सीईओ रहेका छन् । उनको कार्यकाल ४ वर्षको हुनेछ ।
बैठकले हाल नायव प्रमुख कार्यकारी अधिकृत (डीसीईओ) रहेको सुदेश उपाध्यायलाई सिनियर डीसीईओमा बढुवा गरेको छ ।
दि फिनान्सियल टाईम्स, लण्डनको द ब्यान्कर पत्रिकाद्वारा सन् २०२१ मा एसियाकै सर्वोत्कृष्ट बैंकको अवार्ड पाएको एनएमबी बैंकसँग हाल देशभर २०२ शाखाहरु, १८७ एटिएमहरु र १० एक्सटेन्सन काउन्टरहरु मार्फत उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

आजदेखि कांग्रेसले ‘मिसन रोजगारी’ अभियान सुरु गर्दै

काठमाडौं । नेपाली कांग्रेसले आजदेखि ‘मिसन रोजगारु अभियान सुरु गर्ने भएको छ ।
दुई महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले ‘राजनीतिक विमर्शको केन्द्रमा रोजगार सरकारको प्राथमिकतामा रोजगार’ भन्ने लक्ष्यका साथ ‘मिसन रोजगारी’ अभियान सञ्चालन सुरु गर्न लागेका हुन् ।
रोजगारी सिर्जना गर्न सकिने माध्यम, क्षेत्र, नीतिगत अवस्थालगायतमा वर्षभरी नै छलफल बहस हुने उनीहरुले भनाइ छ । रोजगारी सिर्जना गर्ने उद्देश्यले यस्तो बहस गर्न लागिएको हो ।
एक वर्षसम्म सञ्चालन हुने यो अभियानको आज दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा औपचारिक सुरु हुँदैछ ।
‘अब रोजगारका कुरा गरौं’ विषयमा गोलमेच छलफल सञ्चालन गरेर अभियानको सुरु गर्न लागिएको छ ।

लेटेष्ट समाचार

‘जेनजी’ आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी

काठमाडौँ । ‘जेनजी’ युवाहरुले आन्दोलनको भावनाअनुसार अघि बढ्न सरकारलाई खबरदारी गरेका छन् । ‘जेनजी युनाइटेड–फर परिवर्तन’ संस्थाले आज माइतीघर मण्डलामा आयोजना गरेको खबरदारी सभामा सम्बोधन...

रुकुमपश्चिममा जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु, १० घाइते

रुकुम  । रुकुम पश्चिमको मुसिकोट खलंगाबाट आठविसकोट नगरपालिकाको स्यालाखदीतर्फ जाँदै गरेको जीप दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ भने १० घाइते भएका छन्...

मोरङको लेटाङमा १८ दिनदेखि बेपत्ता बालिका मृत फेला, बलात्कारपछि हत्या भएको...

विराटनगर । मोरङको लेटाङमा दुई सातादेखि हराईरहेकी बालिकाको बलात्कारपछि हत्या भएको आशंका गरिएको छ ।  असोज २१ गतेदेखि हराइरहेकी लेटाङ नगरपालिका–२ स्कुलचोककी १३ वर्षीया...