Page 18

आज प्रधानमन्त्रीले सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले आज सुदूरपश्चिम प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । आज दिउँसो १ बजे धनगढी पुगेर प्रदेश सभाको बैठकलाई सम्बोधन गर्ने कार्यसूची रहेको प्रदेश सभा सचिवालयले जानकारी दिएको छ ।
प्रधानमन्त्री सम्बोधन गर्ने बैठकका लागि सबै प्रबन्ध मिलाइएको छ ।
प्रधानमन्त्री ओली प्रदेश सभाको बैठकलाई सम्बोधन गर्नुअघि सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोह लगायतका कार्यक्रममा सहभागी हुने कार्यक्रम रहेको छ ।
विश्वविद्यालयका कुलपति समेत रहेका प्रधानमन्त्री ओलीले बिहान ११ बजे कञ्चनपुरको महेन्द्रनगरमा हुने दीक्षान्त समारोहलाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

पूर्वराजा शाहको पक्षमा काठमाडौंमा शक्ति प्रदर्शन हुँदै

काठमाण्डौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लगायत राजावादीहरुले आज राजधानी काठमाडौंमा शक्ति प्रदर्शन गर्दैछन् ।
केही समयदेखि पोखरामा बसेर गण्डकी प्रदेशका विभिन्न जिल्लाको भ्रमण गरिरहेका पूर्वराजा ज्ञानेन्द्र शाह आज काठमाडौं आउन लागेका छन्। यसैअवसरमा राजावादी दलहरु राप्रपा, राप्रपा नेपालसहित राजा फर्काउने अभियान चलाइरहेका दुर्गा प्रसाईंले काठमाडौँमा संयुक्त रुपमा शक्ति प्रदर्शन गर्न लागेका हुन्।
फागुन ७ गते प्रजातन्त्र दिवसको पूर्व सन्ध्यामा पूर्वराजा ज्ञानेन्द्रले भिडियो सन्देश जारी गर्दै देश संकटमा परेकोले राष्ट्र बचाउन आफूलाई साथ दिन अपिल गरेपछि राजावादीहरु उत्साहित हुँदै आफ्नो अभियानलाई तिब्र बनाइरहेका छन्।
पूर्वराजाको अपिलले राजवादीहरु हौसिएपछि सत्तारुढ र प्रतिपक्ष दलहरु पनि तरंगित हुदै पूर्वराजालाई चेतावनी दिइरहेका छन्। प्रधानमन्त्री केपी शर्मा ओलीदेखि प्रतिपक्षी दलका नेता पुष्पकमल दाहाल प्रचण्डले पुर्व राजालाई राजनीति गर्ने भए दल खोलेर चुनाव लड्न चेतावनी दिएका छन्।
राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता–कार्यकर्तासहित राजसंस्था पक्षधर आज पूर्वराजा शाहलाई स्वागत गर्न त्रिभुवन विमानस्थल जाने कार्यक्रम छ । त्यसपछि उनलाई महाराजगञ्जस्थित निर्मल निवास पुर्‍याइने कार्यक्रम रहेको राष्ट्रिय प्रजातन्त्र पार्टीले जनाएको छ ।
राष्ट्रिय प्रजातन्त्र पार्टीको कार्यक्रमलाई मध्यनजर गरेर आज काठमाडौंमा सुरक्षा व्यवस्था कडा बनाउने नेपाल प्रहरीले जनाएको छ । आज बिहानैदेखि काठमाडौंको नारायणहिटी दरबार संग्रहालय, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल सहितका संवेदनशील पहिचान गरिएका क्षेत्र र मुख्य चोकहरुमा सुरक्षाकर्मीको तैनाथी बढाइएको छ । बिहानैबाट काठमाडौंका चोकचोकमा बर्दीसहितका र सादा पोशाकका गुप्तचर टोली परिचालित छन् ।

म्याग्दीपछि बागलुङमा पनि भूकम्पको धक्का

काठमाडौँ । म्याग्दीमा भूकम्प गएको केही घण्टामै बागलुङमा पनि भूकम्प गएको छ । म्याग्दीमा भूकम्प गएको तीन घण्टापछि बागलुङमा भूकम्प गएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार बिहान ६ बजेर २० मिनेट जाँदा बागलुङको खुखानीलाई केन्द्रबिन्दु बनाएर ४.१ म्याग्निच्युडको भूकम्प गएको छ ।
बिहान ३ बजेर १४ मिनेट जाँदा म्याग्दीको मुरी केन्द्रबिन्दु भएर ४ म्याग्निच्युडको भूकम्प गएको थियो ।

पार्टी खोलेर चुनाव लड्न ज्ञानेन्द्रलाई प्रचण्डको सुझाव

रौतहट । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पूर्वराजा ज्ञानेन्द्रलाई पार्टी खोलेर चुनाव लड्न सुझाव दिएका छन् । उनले राजतन्त्र पुनःस्थापना हुने कुरा असम्भव भएको स्प्रष्ट पारे ।
आज बिहान रौतहट गरूडाका उद्योगी तथा व्यापारीसँगको भेटघाटका क्रममा सञ्चारकर्मीहरूले राखेका जिज्ञासाको उत्तर दिँदै अध्यक्ष दाहालले भने, ‘इतिहासको चर्खा कहिले पनि फर्कँदैन, यदी उहाँलाई सत्तामा आउने इच्छा भए पार्टी खोलेर, चुनाव जितेर आउन संविधानले छुट दिएको छ ।’
अर्को प्रसङ्गमा अध्यक्ष दाहालले गरूडामा रहेको श्रीराम सुगर मिल सञ्चालनको लागि सक्दो पहल गर्ने जनाए । यस मिलसँग रोजगारी, आर्थिक विकास समेत जोडिएको हुँदा श्रीराम सुगर मिल सञ्चालनको लागि पार्टीको तर्फबाट सक्दो सहजीकरण गर्ने उनले प्रतिबद्धता जनाए ।
अध्यक्ष दाहालसहितको टोली माओवादी केन्द्रको जनतासँग माओवादी तराई–मधेस जागरण अभिायनअन्तर्गत शुक्रबार साँझ रौतहट आइपुगेका हुन् ।
शनिबार दिउँसो परोहा नगरपालिकाको लौकाहामा आमसभामा सम्बोधन गर्ने कार्यक्रम रहेको पार्टीका पोलिटब्युरो सदस्य एवं रौतहट क्षेत्र नं ४ क का प्रदेशसभा सदस्य युवराज भट्टराई ‘समिर’ले जानकारी दिए ।

प्रधानमन्त्रीद्वारा अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा सबैलाई शुभकामना व्यक्त गरेका छन् ।
सामाजिक सञ्जालमार्फत उनले आज सबैलाई शुभकामना व्यक्त गरेका हुन् । ‘आज मार्च ८, अन्तर्राष्ट्रिय महिला दिवस । सबैलाई शुभकामना ’ प्रधानमन्त्री ओलीले सामाजिक सञ्जालमा लेखेका छन् ।
आज ‘सबै महिला तथा बालिकाको लागि अधिकार, समानता र सशक्तीकरण’ भन्ने मूल नाराका साथ नेपालसहित विश्वभरि नै विविध कार्यक्रमका गरी एक सय १५औँ अन्तर्राष्ट्रिय महिला दिवस मनाइँदैछ । सन् १९७५ देखि संयुक्त राष्ट्र सङ्घले नारी दिवस मनाउन थालेको हो ।

मोरङ एमालेमा संस्थापन इतरको प्यानलै विजयी

काठमाण्डौं । नेकपा एमाले १० औं जिल्ला अधिवेशन अन्तर्गत मोरङ जिल्ला समितिको अध्यक्षमा अजम्बर राई विजयी भएका छन्।
केपी शर्मा ओली पक्षधर राजकुमार ओझालाई पराजित गर्दै संस्थापन इतरको प्यानलै विजयी भएको हो ।
उपाध्यक्षमा सागर थापा, सचिवमा सोम थापा, उपसचिवमा सन्तोष वान्तवा र उषा झा विजयी भएका छन ।
ओझा समूहबाट उपाध्यक्षमा शान्ति लिम्बू, सचिवमा रविन थापा, उपसचिवमा शिल्पा निराला कार्की र इर्जालाल राजवंशी पराजित भए ।
मतदानमा ८सय ८८ मत खसेको थियो ।

पूर्वमन्त्री दीपक मनाङेलाई २० प्रतिशत सजाय छुट

काठमाडौँ । ज्यान मार्ने उद्योगमा दोषी ठहर भई जेलमा रहेका गण्डकी प्रदेशसभा सदस्य तथा पूर्वमन्त्री दीपक मनाङे (राजीव गुरुङ) को २० प्रतिशत सजाय छुट भएको छ।
जिल्ला अदालत काठमाडौँका न्यायाधीश कमलप्रसाद पोखरेलको इजलासले मनाङेलाई २० प्रतिशत छुट दिएको हो।
उनले माघ २९ गते साविक मुलुकी ऐनको दण्ड सजायको ४१ क नं. बमोजिम सुविधा पाऊँ भनी निवेदन दिएका थिए। मनाङे कातिकमा राजधानीको सानोभर्याङबाट पक्राउ परेका थिए।
मनाङले मुलुकी ऐन, दण्ड सजाय महलको दफा ४१ (क) अन्तर्गत २० प्रतिशत कैद छुटको माग गर्दै फागुन १२ गते निवेदन दिएका थिए। उक्त व्यवस्थाअनुसार अन्तिम फैसला भएको ६० दिनभित्र अदालतसमक्ष आत्मसमर्पण गरेमा २० प्रतिशत कैद तथा जरिवाना छुटको प्रावधान रहेको छ।
सजाय छुटपश्चात अब मनाङेले १ वर्ष ४ महिना कैद भुक्तान गर्नुपर्नेछ।

सिद्धार्थ बैंकको शाखारहित बैंकिङ्ग सेवा १२ घण्टा अवरुद्ध हुने

काठमाडौँ । शाखारहित बैंकिङ्ग प्रणाली स्थानान्तरण कार्यका कारण सिद्धार्थ बैंकको शाखारहित बैंकिङ्ग सेवा २०८१ साल फागुन २३ गते शुक्रबार राति ८ बजेदेखि २०८१ साल फागुन २४ गते शनिबार बिहान ८ बजेसम्म अस्थायी रूपमा अवरुद्ध हुने भएको छ।
बैंकले एक सूचना जारी गर्दै सेवा स्थगनबारे पूर्व जानकारी गराउँदै सम्बन्धित ग्राहकहरूलाई आवश्यक पूर्व तयारी गर्न अनुरोध गरेको छ। साथै, सेवा अवरुद्ध हुने अवधिमा पर्न सक्ने असुविधाप्रति क्षमायाचना गर्दै प्रविधिगत कार्य सम्पन्न भएपछि सेवा पूर्ववत सञ्चालनमा आउने बैंकले जनाएको छ।

ग्लोबल आइएमई बैंकले महिला उद्यमीलाई १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्ने

काठमाडौँ । ग्लोबल आइएमई बैंक लिमिटेडले साना तथा मझौला उद्यमी, विशेष गरी महिला उद्यमीलाई लक्षित गर्दै ‘ग्लोबल म उद्यमी कर्जा’ योजना सार्वजनिक गरेको छ। रोजगार प्रवर्द्धन, सामाजिक विकास तथा स्थानीय समुदायको आर्थिक सशक्तीकरणलाई समर्थन गर्ने उद्देश्यसहित बैंकले आकर्षक सुविधासहित यो कर्जा योजना ल्याएको हो।
महिलाहरूलाई उद्यमशील बनाउने उद्देश्यले ल्याइएको यस योजनाअन्तर्गत कृषि, उत्पादन, प्रशोधन तथा बजारीकरणमा संलग्न घरेलु, साना तथा मझौला उद्योगलाई विशेष प्राथमिकता दिइनेछ। बैंकले न्यूनतम ब्याजदरमा अधिकतम १० करोड रुपैयाँसम्मको कर्जा प्रदान गर्नेछ। महिलाहरूको कम्तीमा ५० प्रतिशत स्वामित्वमा रहेका व्यवसायहरूले मात्र यो कर्जा सुविधा लिन सक्नेछन्। कर्जा लिने उद्यमीहरूलाई बैंकले डिजिटल उपहार समेत प्रदान गर्ने जनाएको छ।
ग्लोबल आइएमई बैंकले हालै ‘ग्लोबल फाइनान्सको बेस्ट बैंक अवार्ड २०२४’ तथा ‘युरो मनी अवार्ड फर एक्सलेन्स २०२४’ प्राप्त गर्दै नेपालको सर्वश्रेष्ठ बैंकको रूपमा मान्यता पाएको छ। विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरूबाट समेत सम्मानित बैंकका रूपमा स्थापित यस वित्तीय संस्थाले देशभर ७७ वटै जिल्लामा आफ्नो शाखा सञ्जाल विस्तार गरिसकेको छ। बैंकका ३५५ शाखा कार्यालय, ३८५ एटीएम, २३७ शाखारहित बैंकिङ सेवा, ६७ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ विदेशस्थित प्रतिनिधि कार्यालयहरूमार्फत सेवा प्रदान गरिरहेको छ।
बैंकले देशभरका ग्राहकहरूलाई बैंकिङ सेवा उपलब्ध गराउनुका साथै संयुक्त राज्य अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत, जोर्डनलगायतका मुलुकहरूबाट रेमिट्यान्स सेवा पनि प्रदान गर्दै आएको छ।

नेशनल लाईफले सप्ताहव्यापी कार्यक्रम गरेर मनायो ३८औं वार्षिकोत्सव

काठमाडौँ । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले सप्ताहव्यापी रुपमा विभिन्न कार्यक्रम गरेर आफ्नो ३८औं वार्षिकोत्सव मनाएको छ ।
कम्पनीले ३८ औं वर्षगाँठका अवसरमा कम्पनीमा आवद्ध बीमित, अभिकर्ता एवं कर्मचारीवर्ग र शुभेच्छुकहरुप्रति आभार व्यक्त गर्नुका साथै सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई आर्थिक सहयोग गर्‍यो भने त्यहाँ रहेका बाल बालिकाहरुलाई खाना खवाउनुका साथै रक्तदान कार्यक्रम गरेको थियो ।
प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीका अनुसार वार्षिकोत्सवको अवसरमा कम्पनीको देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयले समेत वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थामा यस प्रकारका कार्यक्रम गरेका छन् ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...