काठमाडौं । सत्तारुढ दल नेकपा एमाले र नेपाली कांग्रेसले संसदमा अनिवार्य उपस्थित हुन सांसदहरूलाई ह्वीप जारी गरेको छ ।
बुधबारको संसद् बैठकमा सरकारले ल्याएका अध्यादेशहरू स्वीकृतिका लागि प्रस्तुत हुने भएकाले अनिवार्य उपस्थितिका लागि ह्वीप जारी गरेका हुन् ।
भूमि अध्यादेश रोकेर सकारले ५ अध्यादेश बुधबार प्रतिनिधिसभामा पेस गर्दैछ ।
संसद् बैठकमा अनिवार्य उपस्थित हुन एमाले र कांग्रेसको ह्वीप
अपुग कागजात पेश गरी दाबी रकम लिन यूनाइटेड अजोडको आग्रह
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले गत असार ३१ गतेसम्म परेको कृषि तथा पशुपन्छी दाबी निवेदनमा अपुग कागजात पेश गरेर दाबी रकम लिन बीमितलाई आग्रह गरेको छ।
कम्पनीले पहिलो पटक सूचना प्रकाशित गर्दा समेत केही बीमितले थप कागजात पेश नगरेको र बीमित वा बीमितको प्रतिनिधि सम्पर्कमा नआएको कारण दाबी भुक्तानी प्रक्रिया रोकिएकाले पुनः सूचना प्रकाशित गर्नु परेको कम्पनीले जनाएको छ।
कम्पनीले त्यस्ता बीमितहरूलाई थप कागजात पेश गर्न र प्रधान, प्रादेशिक, शाखा तथा उपशाखा कार्यालय वा सम्बन्धित सर्भेयरसँग सम्पर्क गर्न १४ दिने थप समयावधि दिएको छ।
यस अवधिमा पनि थप कागजात प्राप्त हुन नआएमा वा बीमित सम्पर्क बाहिर रहेमा त्यस्तो बीमितको दाबी फाइल बन्द गरिने जनाएको छ।
नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नियुक्त
काठमाडौं । नेपाल इन्भेष्टमेन्ट मेगा बैंकको अध्यक्षमा पृथ्वी बहादुर पाँडे नियुक्त भएका छन्।
आज बसेको बैंकको ६१७औँ सञ्चालक समितिको बैठकले उनलाई अध्यक्ष पदमा सर्वसम्मत चयन गरेको हो।
पाँडेसँग बैंकिङ क्षेत्रमा झण्डै ४ दशकको अनुभव छ। उनी मर्जर अघि नेपाल इन्भेष्टमेन्ट बैंकको अध्यक्ष थिए । उनी हिमालयन बैंकका संस्थापक सदस्य समेत हुन्।
उनी नेपाल बैंकर्स एसोसिएसनका पूर्वअध्यक्ष पनि हुन्।
राष्ट्रिय वाणिज्य बैंक र जुम्लाको सिंजामा ‘किसान सरल कर्जा’ कार्यक्रम सञ्चालन गर्ने
काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र सिंजा गाउँपालिका, जुम्ला, कर्णाली बीच किसान सरल कर्जा कार्यक्रम सञ्चालन गर्ने सम्बन्धी प्रारम्भिक सम्झौता भएको छ । सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनाल र सिंजा गाउँपालिकाका अध्यक्ष पूर्णबहादुर धितालले एक कार्यक्रमका बीच सोमबार हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात कुनै कृषि व्यवसायमा आबद्ध १८ वर्षदेखि ६५ वर्ष उमेर सम्मका नेपाली नागरिक वा कानूनी रुपमा दर्ता भएका कृषि व्यवसायमा संलग्न फर्म वा कम्पनीले गाउँपालिकाको सिफारिस सहित कर्जाको लागि आवेदन दिन सक्नेछन् ।
बैंकले कृषि कर्जा निर्देशिका, २०६९ (संशोधन सहित) अनुसार लगानी गरिने यो कर्जा आवधिक र चालुपुँजी दुबै प्रकृतिको हुनेछ । यो कर्जा ग्रेस अवधिसहित अधिकतम १० वर्ष अवधिका लागि प्रदान गरिने छ । बढिमा १० लाख रुपियाँसम्म प्रदान गरिने किसान सरल कर्जामा आधार दरमा ०.५० प्रतिशत प्रिमियम जोडी ब्याजदर निर्धारण गरिने छ । गाउँपालिकाले आफ्नो कोषबाट ऋणिलाई एक प्रतिशत ब्याज अनुदान दिने छ ।
हाल बैंकको आधार दर ५.४४ प्रतिशत रहेको छ । यो कर्जा लगानी पश्चात कृषि उपजको व्यवसायिक उत्पादन भई स्वरोगारमा बृद्धि हुने, आयआर्जन बढ्ने, आयात प्रतिस्थापन हुने तथा गाउँपालिकाको नागरिकको जीवनस्तरमा सकारात्मक परिवर्तन आउने अपेक्षा गरिएको छ । उक्त कार्यक्रममा सिंजा गाउँपालिकाका २ न. वडाका वडा अध्यक्ष तिर्थ वड, बैंकका कृषि तथा सामाजिक बैंकिङ्ग विभागका विभागीय प्रमुख अच्युत गौतम लगायत कर्मचारीहरुको उपस्थिति थियो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकामसहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखारहित बैंकिङ्ग रहेको छ ।
थापाथलीमा मेलम्ची खानेपानी आयोजनाको पाइप फुट्दा सडक अवरुद्ध
काठमाडौं । थापाथली क्षेत्रमा आज बिहान मेलम्चीको पाइप फुटेको छ।
थापाथली चोकबाट नर्भिक अस्पतालतर्फ मोडिने ठाउँमा खानेपानीको पाइप फुटेको हो।
पाइप फुटेपछि ठूलो फोर्समा पानी बाहिर निस्किँदा सडक भत्किएको छ। सडकपेटीमा पनि क्षति पुगेको छ। सडकभरि हिलो र ढुंगाका गिट्टी छरिएका छन्।
वरपरका पसलहरुमा पानीको भेल पसेको छ। सो क्षेत्रमा रेष्टुरेन्ट, औषधि र फलफूल पसलहरु छन्। केही पसल र रेष्टुरेन्टहरुमा भेल पसेर जलमग्न भएको छ। घरका भुइँतला डुबानमा परेका छन्।
आज बिहान करिब पाँच बजेतिर पाइप फुटेको जनाईएको छ। पाइप फुटेको थाहा पाउनासाथै काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) का कर्मचारीले गेटभल्भ बन्द गरेकाले ठूलो क्षति हुन भने पाएन।
पाइप फुट्नुको कारण भने खुलिसकेको छैन।
यसअघि माघ ३० गते काठमाडौंको बिजुलीबजार–बबरमहल सडकखण्डमा पनि मेलम्चीको पाइप फुटेको थियो। त्यतिबेला सो क्षेत्रमा रहेका वन कार्यालय लगायतका सरकारी कार्यालयहरु जलमग्न भएका थिए।
बबरमहल क्षेत्रको सडकमा नेपाल विद्युत् प्राधिकरणले बिजुलीको भूमिगत तार बिछ्याउने क्रममा मेलम्चीको ठूलो पाइपमा क्षति पुगेको थियो। अर्को दिन नै पाइप मर्मत गरिएको थियो।
आज दुईवटा संसदीय समितिको बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत विभिन्न दुईवटा समितिको बैठक बस्दैछ ।
आज बिहान ११ बजे सिंहदरबारमा बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक उपर दफावार छलफल गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै, विधायन व्यवस्थापन समितिको बैठक दिउँसो १ बजे सिंहदरबारमा बस्नेछ । बैठकमा पानी जहाज (सञ्चालन तथा व्यवस्थापन) विधेयक, २०८१ मा पानी जहाज कार्यालय सम्वद्ध पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ ।
भूमिसम्बन्धी अध्यादेशबाट पछि हट्यो सरकार
काठमाडौँ । सरकारले भूमिसम्बन्धी अध्यादेश तत्काल अघि नबढाउने भएको छ । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौलाले भोलि भूमिसम्बन्धी अध्यादेश छाडेर अन्य पाँच अध्यादेशको प्रतिनिधिसभामा स्वीकृत गराउने जानकारी दिए ।
सत्तापक्षका केही दलको साथ नपाएपछि भूमि सम्बन्धी अध्यादेशमा सरकार पछि हटेको हो । जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवसँगको छलफलपछि नै अन्य पाँच अध्यादेश अघि बढाउने निर्णय गरिएको बर्तौलाले जानकारी दिए ।
ुभोलि प्रतिनिधिसभा बैठक बस्दै छ । आज कार्यव्यवस्था परामर्श समितिको बैठकमा यो विषय कार्यसूचीमा राख्ने तयारी गरेका छौँु बर्तौलाले भने ।
जसपा नेपालको आइतबारबाट जारी केन्द्रीय कमिटी बैठकमा पनि भूमि सम्बन्धी अध्यादेश कुनैपनि हालतमा नस्विकार्ने प्रस्ताव पेस गरिएको थियो । सत्तारुढ लोसपा पनि यस अध्यादेशमा सहमत नभएपछि सरकार पछि हट्न बाध्य भएको हो ।
बेचन झाको मुद्दामा मिसिल झिकाउन सर्वोच्चको आदेश
काठमाडौं । बेचन झाको मुद्वामा सर्वोच्च अदालतले मिसिल झिकाउन आदेश दिएको छ ।
आज तिलप्रसाद श्रेष्ठ र महेश शर्मा पौडेलको इजलासले मिसिल झिकाउन आदेश दिएको हो । नक्कली भुटानी शरणार्थी प्रकरणमा थुनामा रहेका झाले काठमाडौं जिल्ला अदालतल र उच्च अदालतको निर्णयविरूद्व सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए ।
जिल्ला अदालत काठमाडौँले उनलाई ठगी, लिखत किर्ते, राज्यविरुद्ध र संगठित अपराध सम्बन्धी कसुर अभियोगमा पुर्पक्षका लागि थुनामा पठाएको थियो ।
उक्त आदेशविरुद्ध झा उच्च अदालत पुगेकामा उच्चले जिल्लाकै आदेश सदर गरेपछि उनी गत माघ २ गते उनले सर्वोच्च पुगेका थिए ।
जागरण अभियान बहुआयामिक भएको माओवादीको निष्कर्ष
काठमाडौँ । नेकपा माओवादी केन्द्र ‘जनतासँग माओवादी तराई मधेस जागरण अभियान’बाट निकै उत्साहित भएको छ । माओवादी केन्द्रले फागुन १२ गतेदेखि हुलाकी मार्ग केन्द्रित जागरण अभियान सुरु गरेको हो ।
माओवादी ७ दिनमै अभियानबाट उत्साहित देखिएको हो । अभियानको समीक्षा गर्न सोमबार दिउँसो पार्टीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटारमा बसेको पदाधिकारी बैठकले अभियानले जनतासँग पार्टीको सम्बन्धलाई बहुमआयमिक र गुणात्मक बनाएको निष्कर्ष निकालेको प्रवक्ता अग्निप्रसाद सापकोटाले जनाए ।
‘हुलाकी मार्गमा आधारित भएर माघ १२ गतेदेखि पार्टीले तराई मधेस जागरण अभियान सुरु गरेको थियो । धनुषामा आएपछि दुई दिनका लागि विश्राम लिएका छौँ । अभियान निकै उत्साहजनक छ । अभूतपूर्व सहभागी भएका छन्,’ उनले भने ।
पहिला कार्यकर्ता केन्द्रित भएर अभियान चलाएको जिकिर गर्दै सापकोटाले अगाडि भने, ‘२२ गतेदेखि फेरि अभियानमा जोडिन्छौँ । सुशासन, सामाजिक न्याय र समृद्धिको विरुद्धमा सरकारले गरेको गतिविधिबाट जनता निराश देखिएका छन् । जनताले अब माओवादीलाई नै भरोसायोग्य पार्टी मानेका छन् । झापादेखि धुनषासम्म जनसहभागिताले हामी बलियो शक्तिका रूपमा उठ्दै गरेको महसुस गरेका छौँ ।’
अभियानको क्रममा कुनै सुविधासम्पन्न होटेलमा नबसेको र आफ्नै वर्ग समुदायको घरमा बस्ने, खाना खाएको, प्रत्यक्ष जनसम्पर्कमा जोडिएको, उनीहरूको पीरमर्का नजिकबाट बुझेकाले यो अभियान असाध्यै बहुआयमिक महत्त्वको भएको सापकोटाले दाबी गरे ।
चन्द्र ढकालले २ अर्ब बढीको लगानीमा खोले कागज उद्योग
काठमाडौं । महोत्तरीको गौशाला नगरपालिकाको गौशाला १ इँटाटार गाउँमा दुई अर्ब बढीको लगानीमा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा आएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्षसमेत रहेका आईएमई ग्रुपका अध्यक्ष चन्द्रप्रसाद ढकालले नेपालकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।
बैंक वित्तीय संस्था, पर्यटन, अटोमोबाइल, सूचना प्रविधि लगायतका क्षेत्रमा संलग्न हुँदै आएका ढकालले ‘नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज प्रालि’ को नाममा देशकै सबैभन्दा ठूलो कागज उद्योग सञ्चालनमा ल्याएका हुन् ।
नेपालमा कागज उत्पादन हुने उद्योग नभएकाले आयात गर्नुपर्ने अवस्थालाई हटाउन र स्वदेशमै रोजगारी सिर्जना गर्न आफूले कागज उद्योग स्थापना गरेको अध्यक्ष ढकाल जनाउँछन । २०७८ मा शिलान्यास भएको उद्योगले निर्माण सकिएसँगै केही समयअघि उत्पादन सुरु गरेको छ ।
उत्पादन सुरु भए पनि उद्योगको औपचारिक उद्घाटन भने यसै साता हुने भएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले उद्योगको औपचारिक उद्घाटन गर्ने तय भएको छ ।
स्वदेशी कच्चापदार्थ र जनशक्तिको प्रयोग गरी उच्च गुणस्तरीय कागज उत्पादन गर्ने लक्ष्य लिएको ढकालले जनाए । उद्योगले प्रत्यक्ष रूपमा ५०० जनालाई रोजगारी दिनेछ ।
नेपालमा वार्षिक झण्डै डेढ लाख मेट्रिक टन कागज खपत हुने भए पनि देशमा कागज उद्योगको अभावका कारण सम्पूर्ण कागज आयात गर्नुपर्ने अवस्था छ ।
विद्यालय तथा कलेजमा प्रयोग हुने कापी, फोटोकपी पेपर, ट्वाइलेट पेपर, टिस्यु पेपर जस्ता उत्पादनहरूका लागि नेपाल पूर्ण रूपमा आयातमा निर्भर छ । नेपाल पल्प एन्ड पेपर इन्डस्ट्रिज सञ्चालनमा आएपछि कुल मागको करिब ३० प्रतिशतभन्दा बढी कागज स्वदेशमै उत्पादन हुने कम्पनीको भनाइ छ ।
भन्सार विभागकाको तथ्यांकअनुसार गत आर्थिक वर्ष नेपालले ८ अर्ब १४ करोड रुपैयाँ बराबरको कागज आयात गरेको थियो । चालु आर्थिक वर्षको पहिलो सात महिनामा ३ अर्ब ६५ करोड रुपैयाँ बराबरको कागज आयात भएको तथ्यांक छ ।
हाल उद्योगको दैनिक कागज उत्पादन क्षमता ७५ मेट्रिक टन रहेको छ । उद्योगले केही समयभित्रै क्षमता वृद्धि गर्दै दैनिक १५० मेट्रिक टन कागज उत्पादन गर्ने लक्ष्य राखेको जनाएको छ ।
पेपर मिलमा १२ किमी टाढा रहेको पूर्व(पश्चिम राजमार्गस्थित विद्युत् स्टेशनबाट बिजुली ल्याइएको छ ।