काठमाडौँ । नेपाल विद्युत प्राधिकरणको कार्यकारी निर्देशक पदबाट बर्खास्त गर्ने सरकारको निर्णयविरुद्ध कुलमान घिसिङ सर्वोच्च अदालत पुगेका छन् । उनले गैरकानुनी रुपमा आफूलाई हटाइएको भन्दै पुनर्स्थापनाको माग गर्दै रिट निवेदन पेस गरेका हुन् ।
सर्वोच्चका सहरजिस्ट्रार अच्युत कुइँकेलले रिट आएको जानकारी दिए । उनले सर्वोच्चमा रिट आएको हेर्न नभ्याइएको जानकारी दिए । ‘रिट आइपुगेको छ हेर्न भ्याइएको छैन । भोलि मात्रै थप अध्ययन गरेर प्रक्रिया अघि बढ्छ ।
सरकारको निर्णयविरूद्ध सर्वोच्च गए कुलमान
एउटा कर्मचारीलाई हटाउँदा केही छाती पिटिपिटी रोएको प्रधानमन्त्रीको टिप्पणी
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले कुलमान घिसिङलाई हटाउँदा केही मान्छे छाती पिटिपिटी रोएको टिप्पणी गरेका छन् ।
आज राष्ट्रिय युवा सङ्घ नेपालद्वारा आयोजित राष्ट्रिय स्वयंसेवक भेला, २०८१ लाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले एउटा कर्मचारी हटाउँदा जवाफ दिइरहनु नपर्ने जनाएका हुन् । ‘प्रधानमन्त्रीले जवाफ दिइसक्यो । एउटा हटायो, अर्को नियुक्ति गर्यो, सक्कियो । त्यही हो जवाफ । उहाँहरुलाई सहयोग हुने उहाँहरुले जे भन्यो त्यही नियुक्ति गर्ने हाम्रो काम होइन,’ उनले भने ।
यस्तै प्रधानमन्त्री ओलीले देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टने जनाए । युवा सङ्घसँग कति तागत छ भन्ने कुरा मान्छेहरुले आँकलन नै नगरेको भन्दै देश र जनताको लागि परि आएमा यसले प्रतिगामी शक्तिसँग जस्तोसुकै मुकाविला गरेर पनि सक्षमता देखाउने स्पष्ट पारे ।
उनले भने, ‘हामीले लडेर ल्याएको अधिकार खोस्ने तागत कसैको छैन । यो कुरा अझ राम्रोसँग युवाहरुले बताउन सक्छ । देशलाई कसैले अप्ठ्यारोमा पार्न खोजेमा युवा सङ्घले बाघले झम्टिए झैँ झम्टन्छ ।’
प्रधानमन्त्री ओलीले थप भने,‘स्वयंसेवाको यो क्रियाकलाप राम्रो थालनी हो । यस शक्तिलाई व्यवस्थित र मर्यादित रुपमा परिचालन गर्नुस् । पहिलाको युथफोर्स जस्तै । यो एउटा निशस्त्र स्थायी टोली होस्, कोही प्रतिगामी शक्ति टाउको जुधाउन आएमा वा विकास विरोधीहरुले हाम्रा काममा अवरोध खडा गरेमा सशक्त प्रतिवाद गरोस् ।’
हुम्लामा भूकम्पको धक्का महसुस
काठमाडौं । हुम्लामा भूकम्पको धक्का महसुस गरिएको छ । बुधबार हुम्लाको कालिका आसपास केन्द्रविन्दु भएको ४.५ म्याग्निच्युडको धक्का मापन गरिएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी गराएको छ ।
बुधबार साँझ ७ बजेर ४४ मिनेटमा धक्का मापन गरिएको केन्द्रले जनाएको छ ।
यसअघि बुधबार नै चीनको स्वशासित क्षेत्र तिब्बतको टिंग्री काउन्टी आसपास केन्द्रविन्दु भएर ५.५ म्याग्निच्युडको धक्का मापन गरिएको थियो ।
प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन चल्न नदिने समाजवादी मोर्चाको धारणा
काठमाडौं । समाजवादी मोर्चाले कुलमानको विषय लगायत अध्यादेश र सुशासन सबैलाई लिएर प्रधानमन्त्रीले चित्त बुझ्दो जवाफ नदिएसम्म सदन अवरुद्ध हुने धारणा व्यक्त गरेको छ ।
बुधबार बसेको मोर्चाको बैठकपश्चात सञ्चारकर्मीहरुसँग बोल्दै नेकपाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेश र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्त बुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने जानकारी दिए ।
उनले भने,‘ आज सदनमा संघर्ष त चल्यो, सदन अवरुद्ध भएको छ । समाजवादी मोर्चामा रहेका पार्टीहरुले कुलमान लगायत अध्यादेशको र सुशासन सबै विषयलाई लिएर प्रधानमन्त्रीले आफैले चित्तबुझ्दो जवाफ नदिएसम्म सदनको संघर्ष जारी रहने छ र राखिने छ भन्ने जानकारी दिनु भएको छ ।’
यसको साथै, उनले जनताको धेरै ठूलो त्याग र बलिदानबाट नेपालमा गणतन्त्र स्थापना भएको भन्दै यसको विरुद्धमा गरिएको षड्यन्त्रविरुद्ध चैत्र १५ गतेको आन्दोलन गर्न लागेको जनाए ।
एसईई दिएकाले २० रुपैयाँमा सिमकार्ड पाउने
काठमाडौं । नेपाल टेलिकमले २०८१ सालको एसईई परीक्षामा सहभागी परीक्षार्थीहरुका लागि एसईई अफर २०८१ उपलब्ध गराउने भएको छ ।
यस अन्तर्गत कम्पनीले एसईई परीक्षा दिएका परीक्षार्थीहरुलाई २० रुपैयाँमा सिमकार्ड उपलब्ध गराउने छ र त्यसमा बोनस अन रिचार्ज पनि उपलब्ध हुनेछ । एसईई अफर तथा बोनस अन रिचार्ज २०८१ चैत १५ देखि २०८२ असार ३० गतेसम्म उपलब्ध हुने कम्पनीले जनाएको छ ।
उक्त सिमकार्ड नेपाल टेलिकमका देशभरका कार्यालयहरुबाट उपलब्ध हुनेछ । सिमकार्ड एक्टिभ गरिसकेपछि ३० दिनसम्मका लागि विभिन्न अफरहरु उपलब्ध हुनेछन् ।
पहिलेदेखि नै नेपाल टेलिकमको सिमकार्ड प्रयोग गर्ने परीक्षार्थीका लागि समेत सोही सिमकार्डमा अफरहरु उपभोग गर्न सकिने व्यवस्था गरिएको छ । नयाँ सिम प्राप्त गरेका परीक्षार्थीहरुले सिमकार्डमा मेन व्यालेन्सको रुपमा उपलब्ध हुने ९.८० बाट जुनसुकै नेटवर्कमा कल गर्न, एसएमएस पठाउन वा डाटा चलाउन सक्नेछन् ।
यसका अतिरिक्त ३० दिन सम्मका लागि प्रतिदिन नेपाल टेलिकमको नेटवर्कभित्र कुराकानी गर्न २० मिनेट अन(नेट भ्वाइस सेवा, १० वटा अन नेट एसएमएस र ५०० एमबी डाटा समेत अफर अन्तर्गत उपलब्ध हुनेछ भने प्रत्येक दिन प्राप्त हुने रिसोर्स सोही दिनका लागि मात्र कायम रहनेछ ।
नयाँ सिम प्राप्त गर्नका लागि परीक्षार्थीले एसईईको प्रवेश पत्र वा कक्षा १० को मार्कसिटको फोटोकपी, एकप्रति फोटो र आफ्नो वा अभिभावकको नागरिकता, राष्ट्रिय परिचयपत्र लगायतका सरकारी परिचयपत्रको फोटोकपी संलग्न गरी फाराम भर्नुपर्नेछ ।
माछापुच्छ्रे बैंक र मर्क्योर होटलबीच समझदारी
काठमाडौं । माछापुच्छ्रे बैंकले आफ्ना ग्राहकलाई थप सुविधाहरू प्रदान गर्ने उद्देश्यले द मेट्रोपोलिटन होटल लिमिटेड (मर्क्योर होटल) सँग साझेदारी गरेको छ ।
यस सहकार्यअन्तर्गत बैंकका डेबिट तथा क्रेडिट कार्डवाहक ग्राहकहरूले मर्क्योर होटलका विभिन्न सेवा सुविधामा बढिमा १० प्रतिशतसम्मको विशेष छुट प्राप्त गर्नेछन् ।
बैंकका ग्राहकहरूले मक्र्योर होटलमा बसाइ, खानपान तथा अन्य सेवाहरूमा उत्तः आकर्षक छुटहरू प्राप्त गर्न सक्नेछन् । बैंकले आफ्ना ग्राहकलाई उच्चस्तरीय सेवा प्रदान गर्ने तथा ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिने उद्देश्यले यस्ता सहकार्यहरू गर्दै आएको छ ।
आफ्ना १६५ वटा शाखाहरु, ९९ शाखारहित बैकिङ्ग सेवा र ११ एक्सटेन्स काउण्टर समेत गरी जम्मा २७५ स्थानमा रहेका सेवा सञ्जाल तथा २०४ वटा एटीएमहरु मार्फत १६ लाख भन्दा बढि ग्राहकहरुलाई अत्याधुनिक प्रविधिसहित सम्पुर्ण बंैकिङ्ग सुबिधा प्रदान गरिरहेको बैंकले विज्ञप्तिमा उल्लेख गरेको छ ।
सलिको इन्स्योरेन्स र सेती महाकाली ट्रक यातायात व्यवसायी संघबीच सम्झौता
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेड (सलिको) र सेती महाकाली ट्रक यातायात व्यवसायी संघ बीच बीमा सेवा सम्बन्धी एक सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
सम्झौतापत्र अनुसार सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा रहेका ट्रकहरुको मोटर बीमा सलिको इन्स्योरेन्सले गर्ने भएको हो ।
उक्त सम्झौता पत्रमा सलिको इन्स्योरेन्सको तर्फबाट नायव महा प्रबन्धक कविराज पौडेल तथा सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट अध्यक्ष मोहन सिंह साउदले हस्ताक्षर गरेका छन् ।
सम्झौतापत्र आदानप्रदान गर्ने कार्यक्रममा सलिको इन्स्योरेन्सको तर्फबाट प्रदेश प्रमुख धर्मराज बडु, शाखा प्रमुख हेमन्त लामिछाने लगायत सेती महाकाली ट्रक यातायात व्यवसायी संघको तर्फबाट पदाधिकारी तथा यातायात व्यवसायीहरुको उपस्थिती थियो ।
सेती महाकाली ट्रक यातायात व्यवसायी संघमा आवद्ध सवारी साधनहरुकोे व्यापक सवारी साधन बीमा सलिको इन्स्योरेन्सबाट हुने र उक्त सवारी साधन अन्तर्गत भविष्यमा कुनै दाबी परेमा बीमा कम्पनीले दाबी भूक्तानी प्रकृयालाई थप सरल, सहज तथा शिघ्र भुक्तानी गर्ने समेत जनाइएको छ ।
आज यी तीन प्रदेशमा वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी र स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ । कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी प्रदेश, गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
साविक विजेता अर्जेन्टिना फिफा विश्वकपमा छनोट
काठमाडौं । साविक विजेता अर्जेन्टिना अर्को वर्ष नर्थ अमेरिकामा हुने फिफा विश्वकप २०२६ मा छनोट भएको छ ।
दक्षिण अमेरिकी छनोट अन्तर्गत उरुग्वे र बोलिभियाबीचको खेल गोलरहित बराबरीमा सकिएपछि अर्जेन्टिनाले ब्राजिलसँग खेल्नुअघि नै विश्वकपमा स्थान पक्का गरेको हो ।
१० राष्ट्र सम्मिलित दक्षिण अमेरिकी छनोटबाट ६ टिम सिधै विश्वकपमा छनोट हुने व्यवस्था छ ।
छनोटमा १३ खेल खेल्दा अर्जेन्टिना २८ अंकसहित शीर्ष स्थानमा छ । दोस्रो स्थानको टिममाथि अर्जेन्टिनाले ६ अंकको अग्रता बनाएको छ ।
साविक विजेता समेत रहेको अर्जेन्टिना अर्को वर्ष अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपको लागि छनोट हुने पहिलो दक्षिण अमेरिकन टिम समेत बनेको छ ।
अहिले छनोट अन्तर्गत अर्जेन्टिनाले ब्राजलिसँग खेलिरहेको छ ।
तीन आयोजकसहित अहिलेसम्म ७ टोली विश्वकपमा स्थान बनाइसकेका छन् । एसियाबाट जापान र इरान तथा ओसियानाबाट न्युजिल्याण्ड छनोट भएका हुन् ।
सन् २०२६ को फिफा विश्वकपमा ४८ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् ।
प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौं । आज (बुधबार) प्रतिनिधि सभाको बैठक बस्दैछ । बैठक बिहान ११ बजे नयाँ बानेश्वरस्थित संघीय संसद भवनमा सुरु हुनेछ । आजको बैठकमा ‘बैंकिङ्ग कसुर तथा सजाय (दोस्रो संशोधन) विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देश सहितको विधेयक टेबुल गरिने कार्यसूची छ ।
त्यस्तै कानून, न्याय तथा संसदीय मामिला मन्त्री अजय कुमार चौरसियाले राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल कानून व्यवसायी परिषद् (दोस्रो संशोधन) विधेयक, २०८१ माथी विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदन सहितको राष्ट्रिय सभामा उत्पत्ति भएको संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गरियोस्’ भनी प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची छ ।
त्यस्तै ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) सम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८१ लाई पारित गरियोस् भनी प्रस्ताव प्रस्तुत गरिने सम्भावित कार्यसूची रहेको संसद सचिवालयले जानकारी दिएको छ ।
यस्तै आज नै राष्ट्रिय सभा बैठक दिउँसो १ः१५ मा बस्दैछ ।