कठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले देशव्यापी रुपमा सञ्चालन गरेको वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार ३ सय ९२ जना लाभान्वित भएका छन् । ग्लोबल मनी विक २०२५ लाई सफल बनाउने उद्धेश्यले बैंकले देशैभरीका सातै प्रादेशिक कार्यालय र सबै शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरेको हो ।
अन्तराष्ट्रिय रुपमा हरेक वर्ष मार्च महिनामा तेस्रो हप्ता मनाइने ग्लोबल मनी विक बैंकले चैत ४ देखि १० गतेसम्म सञ्चालन गरेको थियो । बैंकले विभिन्न स्कुल तथा कलेजका हजारौं विद्यार्थीहरुको सहभागितामा सातै प्रदेशका शाखा कार्यालयहरुबाट देशव्यापी वित्तीय चेतना अभिवृद्धि कार्यक्रम सञ्चालन गरेको थियो ।
अभियान अन्तर्गत बैंकिसँग कारोबार गर्दा हुने फाइदाहरु, डिजिटल बैंकिङ्ग, क्यूआर, पोस सेवा, आरविवि स्मार्ट बैंकिङ्ग, इन्टरनेट बैंकिङ्ग, पिन तथा पार्सवर्ड सुरक्षा, ओटिपी, रेमिट्यान्स कारोबार, बचत तथा कर्जाको सदुपयोग सम्बन्धी संचेतना कार्यक्रम सञ्चालन गरेको थियो । बैंकका शाखा कार्यालयहरुमा विद्यार्थीहरुलाई भ्रमण गराई सैद्धान्तिक तथा प्रयोगात्मक विधिबाट वित्तीय संचेतना बारे ज्ञान प्रदान गरिएको थियो । यसका साथै सामाजिक सञ्जालबाट चेतनामूलक श्रव्यदृष्य सामग्रीहरु समेत प्रसारण गरिएको थियो ।
सन् २०१२ देखि प्रत्येक वर्ष विश्वका १७६ भन्दा बढी मुलुकमा सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ मुलतः किशोर÷किशोरी तथा युवा–युवती लक्षित वित्तीय शिक्षाको महत्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो ।
बैंकको हाल ७ प्रदेश, ७७ जिल्लाका सबै सदरमुकाममा सहित २९४ वटा शाखा कार्यालय, ७२ वटा एक्सटेन्सन काउन्टर, ३१२ वटा एटिएम र ९९ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।
राष्ट्रिय वाणिज्य बैंकद्वारा सञ्चालित वित्तीय साक्षरता कार्यक्रमबाट १० हजार बढी लाभान्वित
शेयर बजारमा ५५.९० अंकको पहिरो, सबै समूह राताम्मे
काठमाडौं । निरन्तर ओरालो लागिरहेको शेयर बजारमा हिजो सुधार देखिए पनि आज पुनः उच्च अंकले बजार तल झरेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ५५.९० अंकले तल झरेको हो । २.११ प्रतिशतले बजार घट्दा नेप्से परिसूचक २५८४.८८ अंकमा ओर्लिएको छ ।
बजारमा पहिरो गएसँगै सबै समूह राताम्मे भएका छन् । आज फाइनान्स समूह सबैभन्दा बढी ३.४१ प्रतिशतले घटेको हो ।
आज ३२५ कम्पनीका १ करोड ११ लाख ५५ हजार ९ सय ५५ कित्ता शेयर किनबेच हुँदा ५ अर्ब १८ करोड ७ लाख १८ हजार ७ सय ८.१० रुपियाँ बराबरको कारोबार भएको छ ।
एनसीसी डिबेञ्चरका लगानीकर्ताहरुले सबैभन्दा बढी ४.५२ प्रतिशतले नाफा कमाएका छन् भने नारायणी डेभलपमेन्ट बैंकका लगानीकर्ताहरुले सबैभन्दा बढी ९.९७ प्रतिशतले घाटा व्यहोरेका छन् ।
आज पनि हिमालयन रि कै उच्च कारोबार भएको छ । उक्त कम्पनीको २३ करोड २० लाख ७ हजार १ सय ६५.२० रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार ५३.०४ अंकले बजार घट्दा ६ अर्ब ३२ करोड १ लाख ४१ हजार ३ सय ६५.६० रुपियाँ र हिजो सोमबार ३०.५२ अंकले बजार उचालिंदा ४ अर्ब ४८ करोड ३५ लाख ९९ हजार ४.४९ रुपियाँ बराबरको कारोबार भएको थियो ।
आज यी प्रदेशमा चट्याङ्गसहित वर्षाको सम्भावना
काठमाडौँ । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहेको छ।
आज दिउँसो देशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागको मौसम मुख्यतया सफा रहनेछ । कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।
आज राति कोशी, गण्डकी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ ।
कोशी र गण्डकी प्रदेशको पहाडी भूभागको एक–दुई स्थानमा चट्याङ्गसहित हल्का वर्षाको साथै उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेकोले दैनिक जनजीवन, कृषि, स्वास्थ्य, सडक तथा हवाई यातायातमा आंशिक प्रभाव पर्न सक्ने हुँदा त्यसबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।
आज तीन वटा संसदीय समितिका बैठक बस्दै
काठमाडौं । संघीय संसद्अन्तर्गत आज विभिन्न तीन वटा समितिका बैठक बस्दैछन् । प्रतिनिधिसभा अन्तर्गतका तीन समितिका बैठक बस्न लागेका हुन् । बिहान ११ बजे बस्ने अर्थ समितिको बैठकमा भन्सार सम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकको मस्यौदा प्रतिवेदनमाथि छलफल हुनेछ ।
बिहान ११ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालय विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ ।
यस्तै ३ बजे बस्ने सार्वजनिक लेखा समितिको बैठकमा हुलाकी, बीपी र अरनिको राजमार्ग लगायत राष्ट्रिय राजमार्गको वर्तमान अवस्थाबारे छलफल हुने संसद सचिवालयले जानकारी दिएको छ ।
पीएन क्याम्पस पोखरामा अनेरास्ववियुको प्यानल नै विजयी
पोखरा । पोखराको पृथ्वीनारायण क्याम्पसको स्ववियूमा अनेरास्ववियुको प्यानल नै निर्वाचन भएको छ ।
पृथ्वीनारायण क्याम्पसको स्ववियु अध्यक्षमा अनेरास्ववियुका विष्णु पोखरेल ११०५ मत ल्याएर विजयी भए भने उनका निकटतम प्रतिस्पर्धी नेपाल विद्यार्थी संघका सुशील न्यौपानले ५०३ मत ल्याए। स्वतन्त्र उम्मेदवार विप्लवी भट्टराईले ४६९ मत ल्याइन् ।
अखिल क्रान्तिकारीका नवीन अधिकारीले २२३, संयुक्त प्यानलका सन्तोष पौडेलले १९६, अखिल छैठौंका मिलन सुनारले २८ मत ल्याए।
सचिवमा अनेरास्ववियुका विराट दुवाडी १४१३ मतसहित निर्वाचित भए। उनका निकटतम प्रतिस्पर्धी नेविसंघका विवेक भट्टराईले ६२८ मत ल्याए। अखिल क्रान्तिकारीका सचिवका उम्मेदवार मिराज थापा मगरले २९३ मत ल्याए।
राष्ट्रपति र प्रचण्डबीच शीतल निवासमा भेटवार्ता
काठमाण्डौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ राष्ट्रपतिलाई भेट्न शीतल निवास पुगेका छन्।
उनी सोमबार अपराह्न राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतल निवास पुगेका हुन्।
अध्यक्ष प्रचण्डले समसामयिक विषयमा राष्ट्रपतिसँग कुराकानी गरेको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ।
अहिले अपराह्न प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र प्रचण्डबीच भेटवार्ता हुँदैछ।
कांग्रेस, एमाले र माओवादीबीच जुट्यो सहमति
काठमाण्डौं । सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमाले तथा प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रबीच शान्ति प्रक्रिया टुंगोमा पुर्याउनका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको छ ।
सत्य निरूपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठनका लागि सिफारिस गर्ने समिति बनाउन ३ दलका शीर्ष नेताबीच सहमति जुटेको छ ।
नेपाल सरकारले गठन गर्ने दुवै आयोगको नियुक्ति प्रक्रियाका लागि सिफारिस समिति र सहज कमिटी गठन गर्ने विषयमा सहमति जुटेको जनाईएको छ ।
बेपत्ता पारिएका व्यक्तिहरूको छानबिन तथा सत्य निरुपण तथा मेलमिलाप आयोग ऐन २०७१ को दफा ३ को उपदफा (३) बमोजिम दुवै आयोगको अध्यक्ष तथा सदस्यहरूको नियुक्तिका लागि सिफारिस समिति, सहज कमिटी गठन गर्ने प्रक्रिया अगाडि बढाउने निष्कर्ष निकालिएको जनाईएको छ ।
यसअघि संसद्मा सम्बोधन गर्दै प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग सम्पर्क हुन नसक्दा संक्रमणकालीन न्यायसम्बन्धी विषय टुंग्याउन नसकेको गुनासो गरेका थिए ।
सोमबारको छलफलमा प्रधानमन्त्री ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र माओवादी अध्यक्ष प्रचण्ड लगायत नेताहरू सहभागी थिए ।
सिंहदरबारमा मन्त्रिपरिषद्को नियमित बैठक जारी
काठमाडौँ । सोमबार मन्त्रिपरिषद्को नियमित बैठक बसिरहेको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बैठक बसिरहेको हो ।
प्रधानमन्त्रीको सचिवालय स्रोतका अनुसार दैनिक प्रशासनिक कामकारबाहीका साथै केही सरुवा बढुवाका सम्बन्धमा निर्णय गर्ने बैठकको एजेण्डा रहेको छ । मन्त्रिपरिषद् बैठकअघि तीन मुख्य दलका शीर्ष नेताहरूबीच भेटवार्ता भएको थियो ।
प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुको भेटवार्ताले संक्रमणकालीन न्याय टुंग्याउन सर्च कमिटी गठन गर्ने सहमति गरेको थियो । सोहीअनुसार सर्च कमिटी बनाउनेबारे समेत बैठकबाट निर्णय हुन सक्ने जनाईएको छ ।
मुक्तिनाथ विकास बैंकका ग्राहकले जिते बैंककको ‘राउन्ड ट्रिप फलाइट’ टिकट
काठमाडौं । मुक्तिनाथ विकास बैंकका भिसा डेबिट कार्ड होल्डर तिल प्रसाद पौडेलले दुई जनाको लागि बैंककको राउन्ड ट्रिप फलाइट टिकट जितेका छन् ।
यस वर्षको दशैं तिहारको उपलक्ष्यमा नगदरहित कारोबारलाई प्रोत्साहन गर्न अन्तरराष्ट्रिय भिसा नेटवर्कको सहकार्यमा भिसा कार्ड बहाकहरुबीच संचालित विशेष अभियान अन्तर्गत यस बैंकका ग्राहकले भाग्यशाली विजेता भएर पौडेलले पुरस्कार प्राप्त गरेका हुन् ।
भिसा र बैंकले यस कार्यक्रमको सफलता र ग्राहकहरुको उत्साहलाई ध्यानमा राखेर भविष्यमा यस किसिमका अन्य आकर्षक अफरहरु ल्याउने जनाएको छ ।
साथै बैंकहरूले हालै जारी ग्लोबल मनी वीक अन्तर्गत देशका विभिन्न स्थानहरुमा वित्तीय साक्षरता कार्यक्रम संचालन तथा सो सम्बन्धी जागरण अभियान कार्यक्रमहरुमा भाग लिईरहेका छन ।
ग्लोबल आइएमई बैंकले सातै प्रदेशमा गर्यो विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरता कार्यक्रम
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले ग्लोबल मनि विक २०२५ को सेरोफेरोमा विद्यार्थी तथा युवा युवतीहरु लक्षित वित्तीय साक्षरता कार्यक्रमहरु सप्ताहव्यापी रुपमा सञ्चालन गरेको छ । बैंकले युवा तथा विद्यार्थी लक्षित वित्तीय साक्षरता सम्बन्धी विभिन्न कार्यक्रमहरु सातवटै प्रदेशहरुमा संचालन गरेको हो ।
बैंकले ग्लोेबल मनि विक २०२५ को अवसर पारेर देशव्यापी रुपमा आयोजना गरेका विभिन्न कार्यक्रमहरुमा ६ हजार भन्दा बढी विद्यार्थी तथा युवा–युवतीहरुको सहभागिता रहेको थियो ।
यसका साथै, नेपाल राष्ट्र बैंक तथा अन्य संस्थाहरुले आयोजना गरेको कार्यक्रममा समेत ग्लोबल आइएमई बैंकका कर्मचारीहरु वित्तीय सचेतना अभिवृद्धि व्यानर सहित सहभागि भएका थिए ।
ग्लोबल आइएमई बैंकले आफ्ना ३५५ वटै शाखाहरुमार्फत वित्तीय साक्षरता तथा डिजिटल बैंकिङ्ग प्रवर्द्धन कार्यक्रमहरु सञ्चालन गर्ने उद्देश्य राखेको छ ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
बैंकको ३५५ शाखा कार्यालय, ३८५ एटिएम, २३७ शाखा रहित बैंकिङ्ग सेवा, ६७ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,१०० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई सेवा प्रदान गर्दै आइरहेको विज्ञप्तिमा उल्लेख छ ।