जनकपुर । भारतको कश्मिरमा भएको आतंकवादी हमला र पाकिस्तानी सेना प्रमुखले दिएको अभिव्यक्तिविरुद्ध प्रर्दशन गरिएको छ ।
नेपाल भारत खुल्ला सीमा संवाद समूह र शहीद संजय चौधरी स्मृती प्रतिष्ठानको संयुक्त आयोजनामा मंगलबार जनकपुरधाममा विरोध जुलुस निकालिएको हो ।
केही दिनअघि पाकिस्तानी सेना प्रमुखले हिन्दु मुस्लिमबीच द्वन्द्व फैलने अभिव्यक्ति दिएका थिए । त्यसको केही दिनपछि कश्मिर घटना भएको थियो ।
पाकिस्तान र पाकिस्तानी सेना प्रमुखको सो अभिव्यक्तिविरुद्व जनकपुरधाममा प्रदर्शन गरिनुका साथै पाकिस्तानी सेना प्रमुखको पुत्ला समेत जलाइएको छ ।
प्रदर्शनका अगुवा संवाद समूहका अध्यक्ष राजिव झाले पाकिस्तानी सेना प्रमुखले गैर राजनीतिक, धार्मिक द्वन्द्व फैलाउने अभिव्यक्ति दिएको र त्यसपछि भएको घटनामा हिन्दुहरुलाई मात्र मारिएकाले पाकिस्तान र सेना प्रमुखविरुद्व पनि प्रदर्शन गरेको जानकारी दिए ।
उनले आतंकवाद कुनै पनि हालतमा कसैका लागि पनि हितकर नभएकाले आतंकवादविरुद्व सबै एक हुनपर्नेमा जोड दिएका छन् । विरोध प्रदर्शनमा जनकपुरधामका मुस्लिम समुदायका अगुवा र युवाहरुको पनि सहभागिता रहेको थियो । उनीहरुले पनि आतंकवादको विरोध गर्दै आतंकवादीलाई प्रस्रय दिनेको विरोधमा उत्रन आवश्यक रहेको जनाउँदै आक्रोस व्यक्त गरका थिए ।
जनकपुरमा पाकिस्तानी सेना प्रमुखको पुत्ला दहन
शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संसदमा सम्बोधन गर्ने
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले आगामी शुक्रबार संसद बैठकमा सम्बोधन गर्ने भएका छन् ।
वैशाख १९ गते शुक्रबार संघीय संसदका दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने तय भएको सभामुख देवराज घिमिरेले जानकारी दिएका हुन्।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ९५ बमोजिम संवत् २०८२ वैशाख १९ गते शुक्रबारका दिन ३ बजे संघीय संसदको दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने घिमिरेले जानकारी दिए ।
चिकित्सकहरुसँग शिक्षामन्त्री रघुजी पन्तको छलफल निष्कर्षविहीन
काठमाडौं । आन्दोलनरत आवासीय चिकित्सकहरुसँग शिक्षा मन्त्री रघुजी पन्तले गरेको छलफल निस्कर्षहीन बनेको छ । छलफलबाट निस्केर डाक्टरहरुले सरकार मेडिकल माफिया र विचौलीयाको प्रभावमा परेको आरोप लगाएका छन् ।
आज शिक्षा मन्त्रालयमा चिकित्सक संघका प्रतिनिधिहरु शिक्षामन्त्रीसँग अनौपचारिक वार्तामा बसेका हुन् । दुई दिनअघि चिकित्सा शिक्षा सेवा आयोगको वैठकले निजी मेडिकल कलेजमा अध्ययनरत आवासीय चिकित्सकलाई सरकारी सरह निर्वाह भत्ता उपलब्ध गराउने निर्णय गरेको थियो ।
सम्बन्धित पक्षसँग भएका छलफल र प्राप्त प्रतिवेदनसमेतका आधारमा आवासीय चिकित्सकको समान सुविधा (मासिक रु ४८ हजार सात सय) कायम गर्ने निर्णय भएको छ ।
चिकित्सक संघको टोलीले सो निर्णय सकारात्मक भए पनि ‘आठौं तह’ भनेर स्पष्ट उल्लेख नगरिएकोमा असन्तुष्टि जनाएको थियो । यसअघि संघले विज्ञप्ति जारी गर्दै नेपालका आवासीय चिकित्सकहरूको निर्वाह भत्तालाई सरकारी आवासीय चिकित्सक आठौँ तह सरह गर्ने निर्णय एवं हप्तामा ८० घण्टा हुने तथा बिदालगायत अन्य विषयमा सरकार देखिएकोमा सरकारलाई धन्यवाद दिएको थियो ।
शेयर बजारमा १५.०८ अंकको गिरावट, ८ अर्ब ९१ करोडको कारोबार
काठमाण्डौं । शेयर बजार नेप्से परिसूचक मंगलबार १५ अंकले घटेको छ ।
सोमबार १४ अंक बढीले घटेको नेप्से मंगलबार १५.०८ अंकले घटेर २६३१.९८ विन्दुमा झरेको छ ।
नेप्सेसँगै मंगलबार कारोबार रकम पनि घटेको छ । सोमबार ८ अर्ब ९१ करोडको शेयर खरिदबिक्री भएकोमा ७ अर्ब ५७ करोड ५२ लाख शेयर खरिदबिक्री भएको छ ।
मंगलबारको कारोबारमा ५७ कम्पनीको शेयर मूल्य बढ्दा १८८ कम्पनी मूल्यको घटेको छ । १३ उपसमूहमध्ये मंगलबार १ उपसमूहको परिसूचक बढेको छ भने १२ उपसमूहको परिसूचक घटेको छ ।
म्युचुअल फण्ड उपसमूहको परिसूचक सामान्य बढेको छ । कारोबारमा आएको वित्त उपसमूहको परिसूचक मंगलबार सर्वाधिक १.२२ प्रतिशत घटेको छ ।
माछापुच्छ्रे बैंक र सिबिएल मनी ट्रान्सफरबीच सम्झौता
काठमाडौं । विदेशबाट नेपालमा भित्रिने रेमिट्यान्स सेवा अझ सहज, सरल र विश्वासिलो बनाउन माछापुच्छ्रे बैंक लिमिटेडले मलेसियास्थित सिबिएल मनी ट्रान्सफरसँग औपचारिक सम्झौता गरेका छन्। बैंकले मलेसियामा रहेका नेपालीलाई नेपालमा छिटो र सुरक्षित रेमिट्यान्स पठाउन सहज होस् भन्ने उद्देश्यले २०८२ वैशाख १५ गतेदेखि सेवा सुरु गरेको हो।
सम्झौतापत्रमा सिबिएल मनी ट्रान्सफरका प्रमुख कार्यकारी अधिकृत मोहम्मद सैदुर रहमान फराजी र माछापुच्छ्रे बैंकका नायब प्रमुख कार्यकारी अधिकृत प्रसिद्ध राज अर्यालले हस्ताक्षर गरेका छन्।
सम्झौतापछि मलेसियामा रहेका नेपालीहरूले सिबिएल मनी ट्रान्सफरका १५ वटा शाखा तथा सिटी रेमिट एप प्रयोग गरी रकम नेपाल पठाउन सक्नेछन्। नेपालमा पठाएको रकम माछापुच्छ्रे बैंकका १६५ शाखा, ९९ शाखारहित बैंकिङ सेवा, ११ एक्सटेन्सन काउन्टर तथा २० हजारभन्दा बढी रेमिट्यान्स एजेन्टमार्फत सजिलै भुक्तानी लिन सकिनेछ।
साथै, सिबिएल मनी ट्रान्सफर र सिटी रेमिट एपमार्फत पठाइएको रकम नेपालका कुनै पनि बैंक खातामा तुरुन्तै जम्मा हुने सुविधा पनि उपलब्ध गराइएको छ। माछापुच्छ्रे बैंकले मलेसियामा रहेका नेपाली कामदारहरूलाई लक्षित गरी मलेसियाकै मोबाइल नम्बरमा मोबाइल बैंकिङ सेवा पनि उपलब्ध गराएको छ।
देशभर १६५ शाखा, ९९ शाखारहित सेवा, ११ एक्सटेन्सन काउन्टर र २०४ वटा एटीएमसहित १७ लाखभन्दा बढी ग्राहकलाई सेवा दिइरहेको माछापुच्छ्रे बैंकले आगामी दिनमा पनि प्रविधिमैत्री सेवा विस्तार गर्ने प्रतिबद्धता जनाएको छ।
द ब्रिटिस कलेज र फिक्कल गाउँपालिकाबीच सम्झौता
काठमाडौं । द ब्रिटिस कलेज (टीबीसी) र सिन्धुलीको फिक्कल गाउँपालिकाबीच नवप्रवर्तन र उद्यमशीलता प्रवर्द्धनका लागि सहकार्य भएको छ ।
ब्रिटिस एजुकेशन ग्रुपअन्तर्गतको ब्रिटिस कलेजका सहसंस्थापक तथा कार्यकारी निर्देशक महेन्द्रराज कँडेल र फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले नवप्रवर्तन, उद्यमशीलता र दिगो विकासलाई प्रवर्द्धनको लागि सम्झौतापत्रमा हस्ताक्षर गरेका हुन् ।
ब्रिटिस कलेज इन्क्युबेसन सेन्टरका प्रमुख गणेश पौडेल र फिक्कल गाउँपालिकाका उपाध्यक्ष राजु बरालको उपस्थितिमा भएको सम्झौताले दुवै संस्थाले स्थानीय उद्यमीहरूका लागि स्टार्टअप इन्क्युबेसन र मार्गदर्शन गर्ने, डिजिटल साक्षरता, व्यापार, र प्रविधिमा सीप विकास कार्यशालाको आयोजना गर्ने, कृषि प्रविधि, ग्रामीण पर्यटन, र हस्तकला आधारित स्टार्टअपहरूमा सहयोग गर्ने उदेश्य लिएको छ । साथै, स्मार्ट गाउँ तथा डिजिटल शासन प्रणालीको प्रवर्द्धन गर्ने, उद्यमशिलतासम्बन्धी नीति निर्माणमा सहयोग गर्ने साथै, ग्रामीण नवप्रवर्तकहरूलाई बजार तथा लगानी पहुँच विस्तार गर्ने योजना रहेको छ ।
सम्झौतापछि प्रतिक्रिया दिँदै ब्रिटिस कलेजका कार्यकारी निर्देशक कँडेलले भने, ‘यो साझेदारी टीबीसीको ग्रासरुटमा आधारित नवप्रवर्तनप्रतिको प्रतिबद्धता हो । हाम्रो इन्क्युबेसनमा जोडिएका विद्यार्थी तथा ब्यवसायिक संस्थाहरु बीचका विशेषज्ञता प्रयोग गरी फिक्कलका युवा र किसानहरूको उद्यमशिल सम्भावनाको खोजी र अनुसन्धान गर्दै त्यसलाई बजार र प्रविधिसँग जोडिदिने कार्यको थालनी हुनेछ ।
त्यस्तै, फिक्कल गाउँपालिकाकी अध्यक्ष पार्वती सुनुवारले भनिन्, ‘यो समझदारी हाम्रो समुदायका लागि रूपान्तरणकारी कदम हो । टीबीसीसँगको सहकार्यले रोजगारी सिर्जना, सीप अभिवृद्धि, र स्थानीय अर्थतन्त्रलाई बलियो बनाउन सहयोग पुर्याउनेछ ।’
टीबीसी इन्क्यूबेशन सेन्टरका प्रमुख गणेश पौडेलले पनि आफूहरु नवप्रवर्तनलाई विकेन्द्रित गर्दै समावेशी आर्थिक अवसर सिर्जना गर्ने लक्ष्यमा रहेकोले यो साझेदारी महत्वपूर्ण रहेको जनाए ।
समझदारी अनुसार, दुवै संस्थाले संयुक्त रूपमा ‘स्टिरिङ कमिटि’ गठन गरी कार्यक्रमहरूको योजना, कार्यान्वयन, र मूल्याङ्कनको जिम्मा लिनेछन् । प्रारम्भिक कार्यक्रमहरू साझा स्रोतको प्रयोगबाट सुरु गरिनेछ भने दीर्घकालीन योजना तथा ठूला परियोजनाहरूका लागि बाह्य लगानी र सीएसआर खोजिनेछ ।
दिगो लगानीको लागि एनएमबि बैंकको पहल ः आईएफसी, बिआईआई र मेटलाइफसँग साझेदारी
काठमाडौं । एनएमबि बैंकद्वारा अन्तर्राष्ट्रिय निकायहरु आईएफसी, बिआईआई र मेटलाइफसँगको साझेदारीमा नेपालमै पहिलो पटक अमेरिकी डलर ६ करोड बराबरको नेपाली रुपैयाँ अंकित हरित वण्ड जारी गर्ने उद्देश्यका साथ साझेदारी पत्रमा हस्ताक्षर भएको छ ।
यस सहकार्यले जलवायु परियोजनाहरुमा संलग्न उद्ययमहरुमा लगानी विस्तार गरी प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा गुणस्तरीय रोजगारी श्रृजना हुने लक्ष्य समेत लिएको बैंकले जनाएको छ ।
त्यसैगरी, यसले देशको उर्जा क्षेत्रको विकसमा थप टेवा पुग्ने विश्वास बैंकको रहेको छ । यस वण्ड जारी गरी प्राप्त हुने रकम विशेषतः सौर्य उर्जा लगायतका नवीकरणीय उर्जाहरु, विद्युतीय सवारी, हरित भवन तथा बायोमास जस्ता परियोजनाहरुमा लगानी विस्तार गर्ने लक्ष्य लिएको छ ।
समझदारीपत्र हस्ताक्षर समारोहमा बैंकका सञ्चालक समितिका अध्यक्ष मनोजकुमार गोयलले आफ्नो मन्तव्य राख्दै यस प्रयासमार्फत नवीकरणीय उर्जा लगायतका क्षेत्रहरुमा एक पारिवर्तनकारी फड्को मारिने विश्वास व्यक्त गरे । साथै, उनले एनएमबि बैंकको यस पहलले विदेशी पूँजीलाई स्वदेशमा भित्र्याई जलवायु क्षेत्रमा लगानी गर्दै ती क्षेत्रमा परेको पर्यावरणीय प्रभावलाई न्युनिकरण गर्न थप सहयोग पुग्ने विश्वास व्यक्त गरे ।
चिकित्सकको आन्दोलन आज पनि
काठमाडौं । चिकित्सा शिक्षा आयोगको १९ औँ बैठकले वा सरोकारवालाहरुले बाचा गरिए अनुरूपको निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै चिकित्सक संघले अझै आन्दोलनरत नै रहेको जानकरी गराएको छ ।
सोमबार प्रेस विज्ञाप्ती जारी गर्दै निजी मेडिकल कलेजले आवासीय चिकित्सकका लागि निर्णय भएको मितिदेखि नै वृद्धि गरिएको निर्वाह भत्ता दिनुुपर्ने भएपनि निर्वाह भत्ताको व्यवहारिक समय तालिका सार्वजनिक नगरेको भन्दै संघ अझै आन्दोलनरत नै रहेको जानकरी गराएको हो ।
यस्तै, संघले सम्पूर्ण उपत्यका भित्र रहेका चिकित्सकहरूलाई, बिहान ११ः०० बजे माइतीघर मण्डलामा र उपत्यका बाहिरका चिकित्सकहरूलाई सोही समयमा आफ्नो जिल्ला प्रशासनिक कार्यालय बाहिर धर्ना दिन आग्रह गरेको छ ।
विज्ञप्ती जारी भएको मितिको २४ घण्टा भित्र मागको सटिक सम्बोधन नभएमा चिकित्सकहरु अझ कडा आन्दोलनको घोषणा गर्न बाध्य हुने पनि संघको भनाई छ ।
सरकार र शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक
काठमाडौं । सरकार र प्रदर्शनरत शिक्षक महासङ्घबीचको वार्ता सकारात्मक निष्कर्षका साथ स्थगित भएको छ । राति अबेरसम्म सिंहदरबारस्थित शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयमा भएको वार्तामा केही तयारी गर्नुपर्ने भएकाले आज सहमति हुन नसकेको हो ।
सरकारकोतर्फबाट वार्ताको नेतृत्व शिक्षामन्त्री रघुजी पन्तले गरेका थिए भने महासङ्घको तर्फबाट अध्यक्ष लक्ष्मीकिशोर सुवेदीसहितको टोलीले गरेको थियो ।
वार्तापछि शिक्षामन्त्री पन्तले वार्ता सकारात्मक दिशामा अगाडि बढेको प्रतिक्रिया दिए । उनले भने, ‘केही विषय टुङ्गो लगाउन बाँकी छ । वार्ता सकारात्मक रूपमा अगाडि बढेको छ ।’
शिक्षामन्त्री पन्तले कक्षा १२ को परीक्षा निर्धारित समयमा गर्ने पक्षमा आफूहरू रहेको जनाउँदै सरकार गम्भीर भएर छलफलमा लागेको उल्लेख गरे । उनले महासङ्घसँगको वार्ता सकारात्मक रूपमा अगाडि बढेकाले यथाशीघ्र वार्तालाई निष्कर्षमा टुङ्ग्याउने पक्षमा सरकार रहेको जानकारी दिए ।
महासङ्घका अध्यक्ष सुवेदीले केही विषयमा छलफल भए पनि धेरै विषयमा छलफल बाँकी रहेको जनाए । उनले छलफलबाट निकास निस्केपछि मात्रै आन्दोलन निष्कर्षमा पुग्ने उल्लेख गरे ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले शिक्षक महासङ्घसँग वार्तालगायत विषयमा सहमति गर्न शिक्षामन्त्री पन्तलाई जिम्मेवारी दिएको थियो । मन्त्रिपरिषद्को बैठकपछि सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले बुधबारसम्म शिक्षक आन्दोलनको माग सम्बोधन हुने जनाएका थिए ।
विद्यालय शिक्षा ऐनलगायत माग राखी शिक्षकहरूले गत चैत २० गतेदेखि राजधानी काठमाडौं केन्द्रित आन्दोलन गर्दै आएका छन् ।
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
काठमाडौँ । सङ्घीय संसद् अन्तर्गत प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बिहान ११ बजेका लागि बोलाइएको बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभामा उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ माथि विचार गरियोस् भन्ने प्रस्ताव प्रस्तुत गर्नेछन् ।
उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले ‘अर्थ समितिको प्रतिवेदन सहितको भन्सार विधेयक, २०८०’ छलफल र पारितका लागि प्रस्तुत गर्नेछन् ।
कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अजयकुमार चौरसियाले ‘कानुन, न्याय तथा मानव अधिकार समितिको प्रतिवेदन सहितको केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८० छलफलका लागि प्रस्तुत गर्नेछन् ।
मन्त्री चौरसियाले ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८१’ पारित गर्न प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ ।