Page 4

नेपाल इन्स्योरेन्स कम्पनीको अध्यक्षमा चन्द्र सिंह साउद चयन

काठमाडौं । नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडको अध्यक्षमा चन्द्र सिंह साउद चयन भएका छन् ।
सञ्चालक समितिको हिजो बसेको बैठकले साउदलाई सर्वसम्मतीबाट अध्यक्षमा चयन गरेको कम्पनी सचिव सुलना श्रेष्ठले जनाएकी छिन् ।
साउद नेपाल स्टक एक्सचेञ्ज लिमिटेडका पूर्व सीईओ हुन् ।
कम्पनीको अन्य सञ्चालकहरुमा सविता श्रेष्ठ जोशी, निशान्त जोगाईं, वीरविक्रम रायमाझी, साजल मास्के र समता पन्त पन्त रहेका छन् ।

ट्रेड टावर लिमिटेडको आईपीओ बुधबारदेखि निष्काशन खुला

काठमाडौं । ट्रेड टावर लिमिटेडले यही जेठ १४ गते बुधबारदेखि जेठ १९ गते सोमबारसम्म सर्वसाधारणका लागि आईपीओ बिक्री खुला गर्ने भएको छ ।
कम्पनीले आफ्नो जारी पूँजी ८१ करोड ५६ लाख ९ हजार ७०० को रुपियाँको ४८.६९६ प्रतिशतले हुन आउने ३९ लाख ७१ हजार ६९३ कित्ता आईपीओ निष्काशन गर्न अनुमति पाएको थियो ।
जसमध्येबाट पहिलो चरणमा प्रतिकित्ता १०० रुपियाँका दरले ३ लाख ९७ हजार १६९.३० कित्ता शेयर वैदेशिक रोजगारीमा गएका नेपालीहरूका लागि, १ लाख ९८ हजार ५८४.६५ कित्ता सामूहिक लगानी कोषलाई र ७९ हजार ४३३.८६ कित्ता कम्पनीका कर्मचारीमा बाँडफाँट गरिसकेको छ ।
यसरी बाँकी रहेको ३२ लाख ९६ हजार ५०५.१९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धक लक्ष्मी सनराइज (एलएस) क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त शेयर ३ लाख २९ हजार ६ सय ५० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।

कामीरिता शेर्पाले गरे ३१औँ पटक सगरमाथाको आरोहण

काठमाडौं । पर्वतारोही कामीरिता शेर्पाले ३१औँ पटक सगरमाथाको सफल आरोहण गरेका छन् । आज बिहान ४ बजेतिर उनले सर्वोच्च शिखर सगरमाथाको ३१औं पटक सफल आरोहण गरेको सेभेन समिट ट्रेक्सका सञ्चालक छाङ दावा शेर्पाले जनाएका छन् । यो सँगै उनले आफ्नै कीर्तिमान तोड्दै नयाँ कीर्तिमान जनाएका हुन् ।
उनी २२ जना भारतीय सैनिकहरूको आरोहण दलको मुख्य गाइडका रूपमा सगरमाथा आरोहणमा गएका थिए । भोलि सगरमाथा आधार शिविरसम्म झर्ने र त्यहाँबाट काठमाडौं फर्किने तालिका रहेको जनाईएको छ । अघिल्लो वर्ष उनी ३०औं पटक सगरमाथाको चुचुरोमा पुगेका थिए ।

राप्रपा संसदीय दलको बैठक आज १०ः३० बजे बस्दै

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) को संसदीय दलको बैठक आज बस्दैछ ।
संसद भवन बानेश्वरस्थित दलको कार्यालयमा बस्ने बैठकमा पछिल्लो राजनीतिक र भिजिट भिसा प्रकरणमा छलफल हुने राप्रपा प्रमुख सचेतक ज्ञानेन्द्रबहादुर शाहीले जानकारी दिए । बैठक बिहान १०ः३० बजे बस्नेछ ।

प्रतिनिधिसभा बैठक बस्दै,यस्तो छ कार्यसूची

काठमाण्डौं । प्रतिनिधिसभाको आजको बैठकमा चालु आर्थिक वर्षको आर्थिक सर्वेक्षण पेस हुनेछ। बैठक बिहान ११ बजे बस्नेछ ।
बैठकमा उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आव २०८१, ८२ आर्थिक सर्वेक्षण पेस गर्ने सम्भावित कार्यसूची तय भएको सङ्घीय संसद् सचिवालयले जनाएको छ ।
यस्तै, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालय र वन तथा वातावरण मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने कार्यसूचीसमेत तय भएको छ। साथै महिला बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले ‘बालबालिकासम्बन्धी (पहिलो संशोधन) विधेयक, २०८२’ प्रस्तुत गर्नेछन्।
आजको बैठकमा शिक्षा विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले ‘राष्ट्रियसभामा उत्पत्ति भएको तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१ विधेयकमाथि विचार गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची तय भएको संघीय संसद् सचिवालयका महासचिव पद्यप्रसाद पाण्डेयले जानकारी दिए।

सुर्यदर्शन सहकारी प्रकरणमा धरौटीमा छुटेका मेयर नेपाली इमेज सहकारीको मुद्दामा कारागार चलान

पोखरा । इमेज बचत तथा ऋण सहकारी संस्था ठगी प्रकरणका मुख्य अभियुक्त ढोरपाटन नगरपालिकाका मेयर देवकुमार नेपालीलाई कास्की जिल्ला अदालतले थुनामा पठाउने आदेश दिएको छ।
सोमबार न्यायाधीश हिमलाल बेल्बासेको इजलासले बागलुङको ढोरपाटन नगरपालिकाका मेयरसमेत रहेका इमेजका संस्थापक अध्यक्ष नेपालीलाई थुनामा पठाई मुद्दाको पुर्पक्ष गर्ने आदेश दिएको हो।
त्यसो त उनी इमेजकै सहकारी ठगी प्रकरणमै बागलुङ जिल्ला अदालतको यसअघिको आदेशले बागलुङ कारागारमै थिए। गत १५ असोजमा बागलुङका न्यायाधीश रमेशकान्त अधिकारीको इजलासले थुनामा पठाउने आदेश दिएको थियो।
बागलुङ र कास्कीमा उनीविरुद्ध छुट्टाछुट्टै मुद्दा दायर भएको थियो। कास्कीमा उनीसहित १५ जनालाई प्रतिवादी बनाई जिल्ला सरकारी वकिल कार्यालय कास्कीले ५७ करोड ३५ लाख ८४ हजार ९४७ माग दाबीसहित अदालतमा अभियोगपत्र दायर गरेको हो।
नेपाली बागलुङ कारागारमै रहेकाले उनलाई गत साता पनि सूर्यदर्शन सहकारीको मुद्दामा प्रहरी रोहवरमा बागलुङ–पोखरा आउजाउ गराइएको थियो।
गत ८ जेठमा पोखराको सूर्यदर्शन सहकारी ठगी मुद्दामा कास्की जिल्ला अदालतले उनलाई धरौटीमा रिहा गर्ने आदेश दिएको छ। न्यायाधीश कृष्णजंग शाहको इजलासले उनलाई २० लाख धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

गृहमन्त्रीको विवादमा माओवादी र राप्रपालाई सँगै उभिन रास्वपाको आह्वान

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलको बैठकले गृहमन्त्री रमेश लेखक जोडिएको भिजिट भिसा प्रकरणमा संसद्मा सँगसँगै उभिन नेकपा माओवादी केन्द्र र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) लाई आह्वान गर्ने निर्णय गरेको छ ।
सोमबार सिंहदरबारमा बसेको रास्वपा संसदीय दलको बैठकले प्रतिनिधिसभा बैठकमा गृहमन्त्री लेखकलाई घेर्ने रणनीति लिँदै माओवादी र राप्रपालाई सँगसँगै लैजाने तयारी गरेको छ ।
यसअघि रास्वपा केन्द्रीय समिति बैठकले छानबिनका लागि गृहमन्त्री लेखकले राजीनामा दिनुपर्ने माग गरेको छ । रास्वपा सभापति रवि लामिछाने गृहमन्त्री भएका बेला सहकारी ठगी विवाद चर्किंदा कांग्रेसको तर्फबाट लेखकले लामिछानेको राजीनामा मागेका थिए ।
रास्वपा कार्यबाहक प्रवक्ता मनिष झाले भने, ‘प्रचण्ड र लिङ्देनको नेतृत्वमा रहेको संसदीय दललाई रास्वपासँग उभिनका लागि आह्वान गर्छौं ।’

पर्यटकलाई कुनै पनि कानुनी झञ्झट नदिन प्रधानमन्त्रीको आग्रह

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल आउने पर्यटकलाई कुनै पनि कानुनी र प्रशासनिक झञ्झट नदिइ न्यानो आतिथ्य दिन आग्रह गरेका छन् ।
संस्कृति, पर्यटन तथा नागरिक उडड्यन मन्त्रालयद्वारा आज सिंहदरबारमा आयोजित राष्ट्रिय पर्यटन संवादमा प्रधानमन्त्री ओलीले विद्यमान अवरोधहरु हटाइ सुशासन र विकासको गतिलाई साहसिक ढंगले अगाडि बढाउन व्यापक सुधार गर्न आग्रह गरेका हुन् ।
अध्यागमनमा यात्रुलाई अनावश्यक दुःख दिने, लगेज हराउने, सीमानाकाहरुमा पर्यटकलाई प्रवेशमा अनेक बाहना बनाउने जस्ता कार्य अन्त्य हुनुपर्नेमा प्रधानमन्त्रीको जोड थियो । उनले सार्वजकि खरिद ऐन र अन्य नियमहरुमा व्यवसाय र काम गर्नका लागि कुनै बाधा छ भने परिवर्तन गर्न सरकार तयार रहेको पनि स्पष्ट पारे ।
“हामीले पूर्वाधार विकाससँगै पर्यटन वृद्धिको कोशिश गरिरहेका छौँ । सम्पर्क सञ्जाल विस्तार गरिएको छ । नेपाल अब दुर्गम रहेन । जुम्लाको स्याउ काठमाडौँ राम्ररी आएर बजार पाउन थालेको छ । चीनसँग १४ नाका खोलिएको छ । किमाथांका नाकामा पुल बन्दैछ ।”, प्रधानमन्त्री ओलीले भने, “केही पनि नभएका ठाउँमा एकै पटक सबैथोक गर्न पर्दा समय लाग्छ । केही पनि भएन भनेर आत्मश्लाघा लिनुपर्ने अवस्था छैन । सम्बन्धित निकायबाट हुनुपर्ने सहजीकरणका काममा कुनै कमजोरी नगरी समृद्धिको आधारका रुपमा पर्यटनलाई अघि बढाऔँ ।”
प्रधानमन्त्री ओलीले नेपालको आकाश सुरक्षित भए पनि युरोपको आकाश नेपालका लागि अझै प्रतिबन्धित (कालो सूची) राखिएकामा शर्तबमोजिम हवाइ क्षेत्रका दुई निकायलाई अविलम्ब अलग्याउन र अरु मापदण्ड पनि पूरा गर्न सम्बन्धित निकायलाई निर्देशन दिए ।
छलफलमा काडमाडौँ–मुग्लिन–पोखरा, बुटवल–पाल्पा–पोखरा, काठमाडौँ–धुलिखेललगायत मुख्य सडकहरु समयमै निर्माण, सीमानाकाहरुबाट पर्यटकको प्रवेशमा सहजता, युरोपियन मुलुकमा सिधा हवाइ सम्पर्क, विश्वमञ्चमा नेपालको ब्राण्ङिङ, पर्यटन प्रवद्र्धनको गुरुयोजना निर्माण, नेपाल वायुसेवा निगमको पुनःसंरचना, सगरमाथा संवाद पश्चातको कार्यान्वयन, गुणस्तरीय लगानी, जनशक्ति व्यवस्थापन, कर तथा मुद्रा सटहीमा सहजता, हिमालयहरुको सफाइ, डिजिटल क्षमता विस्तार र अन्तर निकाय समन्वय वृद्धि गर्नुपर्नेमा जोड दिइएको छ ।
सङ्घका सम्बन्धित मन्त्रीहरु, प्रदेश सरकारका पर्यटन हेर्ने मन्त्रीहरु, उच्चाधिकारीहरु र निजी क्षेत्रका प्रतिनिधि सहभागी कार्यक्रममा पर्यटन क्षेत्रमा विद्यमान समस्या र समाधनका उपायबारे निजी क्षेत्रसमेतबाट प्राप्त सुझावको आधारमा तयार गरिएको कार्ययोजना प्रस्तुत गरिएको थियो ।

सान्भी इनर्जीको आईपीओ भर्ने मंगलबार अन्तिम दिन

काठमाडौं । सान्भी इनर्जी लिमिटेडले जेठ ९ गते शुक्रबारदेखि सर्वसाधारणका लागि निष्काशन खुला गरेको आईपीओमा आवेदन दिने १३ गते मंगलबार अन्तिम दिन हो ।
इच्छुक लगानीकर्ताहरुले मंगलबार बैंकिङ समयभित्र आवेदन दिन पाउने छन् । उक्त कमपनीको शेयर २ लाख ४१ हजार ५ सय ३० जनाले १०–१० कित्ताका दरले पाउने छन् ।
कम्पनीले प्रतिकित्ता १०० सय अंकित दरका ३७ लाख ९० हजार कित्ता शेयर निष्कासन गर्न नेपाल धितोपत्र बोर्डबाट स्वीकृति पाएको थियो । जसमध्ये ८ लाख ८० हजार कित्ता आयोजना प्रभावितका लागि र २ लाख ९१ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि निष्कासन गरी बाँडफाँट गरिसकेको छ ।
जसमध्ये बाँकी रहेको २६ लाख १९ हजार कित्तामध्ये १ लाख ४५ हजार ५०० कित्ता सामूहिक लगानी कोष र ५८ हजार २०० कित्ता कर्मचारीलाई छुट्याएर बाँकी २४ लाख १५ हजार ३०० कित्ता सर्वसाधारणका लागि निष्काशन गरेको बिक्री प्रबन्धकमा नेपाल एसबीआई मर्चेण्ट बैंकिङ लिमिटेडले जनाएको छ ।

 

अर्थमन्त्रीले आर्थिक सर्वेक्षण भोलि संसद्‍मा पेस गर्ने

काठमाण्डौं । मंगलबार अर्थमन्त्री विष्णु पौडेलले संसदमा आर्थिक सर्वेक्षण पेस गर्ने भएका छन्।
बजेटको पूर्वसन्ध्यामा पेस गरिने आर्थिक सर्वेक्षण प्रतिनिधिसभाको ११ बजे सुरु हुने बैठकमा पेस हुने भएको हो।
संसद् सचिवालयले सार्वजनिक गरेको कार्यसूचीअनुसार ऊर्जा, वन र पर्यटनमन्त्रीको प्रश्नोत्तर सकिएसँगै आर्थिक सर्वेक्षण पेस हुनेछ।
आर्थिक सर्वेक्षणले २०८१, ०८२ को आर्थिक गतिविधिको विषयमा जानकारी दिनेछ। सम्पूर्ण सरकारी कार्यालयहरुको आधिकारिक तथ्यांकसहितको आर्थिक सर्वेक्षण जारी हुनेछ। सरकारले सर्वेक्षणलाई आधार बनाई बजेट निर्माण गर्छ।
जेठ १५ गते बजेट आउनुअघि आर्थिक सर्वेक्षणसँगै सार्वजनिक संस्थानहरुको वास्तविक अवस्था पनि सार्वजनिक हुन्छ। जसमा आम्दानी, नाफा, घाटाको विषय उल्लेख हुन्छ।

लेटेष्ट समाचार

हमासको ग्रिनेड फालेर साथीहरूलाई जोगाए, आफू युद्धभूमिमै बिलाए विपिन

इजरायल र हमासबीचको युद्ध दुई वर्षपछि अन्त्य भएपछि सोमबार हमासले २० इजरायली बन्धक मुक्त गर्‍यो। गाजामा बन्धक बनाइएकाहरुको परिवारमा पुनर्मिलन हुँदाको क्षणले इजरायलमा खुसीयाली छ।...

‘जेनजी विद्रोह’पछि एमाले र माओवादीद्वारा मंसिरमा महाधिवेशन घोषणा, माैन कांग्रेस

काठमाडौं । भदौ २३ र २४ गतेको ‘जेनजी विद्रोह’पछि देशको राजनीतिक परिदृश्य उथलपुथल बनेको छ । यसबीच, दुई ठूला कम्युनिस्ट दल—नेकपा एमाले र नेकपा...

ओली–लेखकविरुद्धको जाहेरी प्रहरीबाटै सीधै जाँचबुझ आयोगमा

काठमाडौं । निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकविरुद्ध परेको जाहेरी प्रहरीमार्फत दर्ता नभई सीधै जाँचबुझ आयोगमा पुगेको छ। जेनजी आन्दोलनका क्रममा...