काठमाडौँ । पूजा गुरुङ र जश्मिन श्रेष्ठको लगानीमा तयार भएको फिल्म ‘हली’को प्रमोशनल गीत ‘चान्स पाएँ त’ सार्वजनिक गरिएको छ । काठमाडौँमा शुक्रबार आयोजित एक कार्यक्रम बिच सार्वजनिक गीतमा बाबुल गिरी र शान्ती श्री परियारको स्वर, जश्मिन श्रेष्ठको शब्द र बाबुल गिरीको सङ्गीत छ ।
यो गीतको भिडियोलाई पनि आकर्षक बनाइएको छ । सुभ चिरायू फिल्मस्सँग जापुरा फिल्मस् प्रोडक्सनको ब्यानरले सहकार्य गर्दै निर्माण गरिएको यो फिल्ममा ओम प्रतिकको लेखन तथा निर्देशन छ ।
सार्वजनिक प्रमोशनल गीतमा फिल्मका मुख्य नायक प्रमोद दीपसँगै कलाकारहरू दीपाश्री निरौला, किरण केसी, दीलिप रायमाझी, प्रियंका कार्की र पूजा शर्माले नृत्य गरेका छन् ।
कलाकारहरूको बलियो नृत्यले गीतको भिडियोलाई सशक्त बनाएको छ । वास्तविक जीवनका घटनाहरूबाट प्रेरित भनिएको यो फिल्ममा नम्रता भण्डारी सह–निर्माताको रूपमा छिन् ।
फिल्ममा प्रमोद दीप, सुजता थापा, ओम प्रतिक, सरोज खनाल, अरुणा कार्की, अर्जुन गुरुङ, विद्या कार्की, नविन श्रेष्ठ, कञ्चन दुलाल, कमल गाउँले र विशाल पहाडीको अभिनय छ ।
अर्जुन भुसाल कार्यकारी निर्माता रहेको फिल्ममा लक्ष्मण बज्राचार्य लाइन प्रोड्यूसर, जीवननाथ गौतम मुख्य सहायक निर्देशक, राम प्रसाद चौधरीको सम्पादन छ ।
फिल्मको प्रमोशनल गीतलाई भने विपिन मल्लले सम्पादन गरेका हुन् । गीतको भिडियोलाई कविराज गहतराजले कोरियोग्राफी गरेका हुन् । फिल्ममा राहुल राइको छायाङ्कन छ ।
फिल्ममा शम्भुजित बास्कोटा, बाबुल गिरी र कृष्ण भारद्धाजको सङ्गीत, कुमार महर्जनको एक्सन, कविराज गहतराज र ओम प्रतिकको कोरियोग्राफी छ ।
‘हली’को ‘चान्स पाएँ त’ गीत सार्वजनिक
२५ दिनमा सकियो ‘द ब्ल्यू लाइट’को छायाकंन
काठमाडौं । साइकोलोजिकल थ्रिलर जनरामा निर्माण भएको चलचित्र ‘द ब्ल्यू लाइट’को इन्डकल्याप भएको छ । जेठ २२ गतेबाट छायाकंन सुरु गरिएर उपत्यका भित्रका विभिन्न स्थानमा खिचिएको चलचित्रको छायाकंन २५ लगाएर सम्पन्न भएको हो ।
‘द ब्ल्यू लाइट’लाई बलिराम चौहानले निर्देशन गरेका हुन् । प्रतिक्षित चलचित्र ‘बलिदान’को लेखक तथा मुख्य सहायक निर्देशक समेत रहेका चौहानकोको यो डेब्यु सिनेमा हो ।
स्काइफल पिक्चर्सको प्रस्तुति रहेको चलचित्र ‘द ब्ल्यू लाइट’को प्रमुख भूमिकामा बेनिशा हमाल, अर्पण थापा, महेश त्रिपाठी, आयुसमान देशराज जोशी, सृष्टि श्रेष्ठ, सुरक्षा इटानी छन् । चलचित्रको बाल कलाकारमा ग्रिसमा कटुवाल र सहारा शर्मा छन् ।
यो चलचित्रको थिम पोस्टर र फस्टलुक पोस्टर पहिल्यै सार्वजनिक भइसकेका छन् । थिम पोस्टरमा निलो रङले घेरिएको वातावरणबीच एक बालिका उभिएकी थिइन् । जसमा बालिकाको कम्मरदेखि माथिसम्मको भाग देखाइएको थियो । उनको जुङरुङ्ग कपाल तथा विछिप्त मुद्राबाट चलचित्रको रहस्यमय तथा मनोवैज्ञानिक पृष्ठभूमि झल्किन्छ ।
यस्तै, छायाकंनकै क्रममा सार्वजनिक गरिएको पोस्टरमा सिनेमाकी मुख्य कलाकारमध्ये एक बेनिशा हमाल थिइन् । उक्त पोस्टरमा उनलाई बारमा देखाइएको छ । जहाँ औंलामा चुरोट च्यापेर बसेकी उनी तनावमा देखिएकी थिइन् ।
निर्माणपक्षले कलाकारको भूमिका र चलचित्रको कथाबारे प्रष्ट पारेको छैन । निर्देशक चौहानले विस्तारै खुलाउँदै जाने जनाएका छन् ।
‘हामीले जे बनाउन खोजेका थियौं, त्यसका लागि सफल भयौं । अब पोस्ट प्रडक्सनको काम अघि बढ्छ,‘ निर्देशक चौहानले भने ’कालाकारहरुको काम कथालाई जीवन्त बनाएको छ, हामी उत्साहित छौं । दर्शकलाई हामीले राम्रो सिनेमा देखाउने छौं ।’
‘द ब्ल्यू लाइट’को को–प्रोडुसरको रुपमा रमन ग्रे रहनेछन् । कार्यकारी निर्मातामा भने छायाकार नरेन्द्र मैनाली र नायिका बेनिशा हमाल रहनेछन् । चलचित्रको छायांकन मैनालीले नै गरेका हुन् ।
आकाश उखेडा मुख्य सहायक निर्देशक रहेको चलचित्रमा रेलिजा श्रेष्ठ प्रोडक्सन डिजाइनर, दिलीप पन्त निर्माण नियन्त्रक रहेका छन् ।
‘द ब्ल्यू लाइट’ सन् २०२५ भित्रै रिलिज हुने निर्देशक चौहानले जनाएका छन् ।
‘यो मन त मेरो नेपाली हो’ ट्रेलरमा भाषा बचाउने अभियानको कथा
काठमाण्डौं । देशभक्ति भावनाको कथावस्तुमा बनेको फिल्म ‘यो मन त मेरो नेपाली हो’को ट्रेलर सार्वजनिक गरिएको छ । शुक्रबार काठमाडौंमा एक कार्यक्रमका बीच सार्वजनिक ट्रेलरमा नेपालको भूमि, भाषा, धर्म, संस्कृतिमाथि भइरहेको अतिक्रमण र त्यसलाई बचाउन नेपालीहरुले चलाएको अभियानलाई देखाइएको छ । भुटानी शासकबाट लखेटिएका भुटानीहरुको कथा पनि यसमा छ ।
मित्र प्रधान (नर) को निर्देशनमा तयार भएको फिल्ममा विजय बराल, रोशन श्रेष्ठ, विल्सन विक्रम राई, बुद्धि तामाङ, आयुषा समाल, नारायण खाती, भुपेन्द्र लिङ्देन, सुवास भण्डारी, विजय सुब्बा, विजिता परियार, देवराज राजबंशी लगायतको अभिनय रहेको छ ।
पद्यमा इश्वर इन्टरटेन्मेन्टको प्रस्तुतिमा मित्र प्रधान प्रस्तुतकर्ता रहेको फिल्मलाई ज्ञान बहादुर प्रधान (रोशन) ले निर्माण गरेका हुन् । यसमा शिवम् अधिकारीको लेखन, सौरभ लामाको छायांकन, देव महर्जन द्वन्द्व निर्देशन, समीर मियाको भिएफएक्स, कविराज गहतराज र प्रमोद भण्डारीको कोरियोग्राफी तथा बनिश शाहको सम्पादन रहेको छ ।
यही असार २७ गतेबाट प्रदर्शनमा आउने तयारीमा रहेको फिल्मले नेपाली भाषाप्रतिको आकर्षण, महत्त्व र इतिहासलाई दर्शाउने जनाइएको छ । नेपालको झापा र इलामसहित भारतको सिक्किम, दार्जिलिङ, पश्चिम बङ्गाल राज्यको जयगाउँ र अमेरिकामा छायांकन गरिएको फिल्ममा दीपक शर्मा, विकास चौधरी र थोरम्पो ह्यङ राईको संगीत रहेको छ ।
हिम स्टार ऊर्जा कम्पनीको आईपीओ भर्ने आज अन्तिम दिन
काठमाडौं । हिम स्टार ऊर्जा कम्पनी लिमिटेडले जेठ ३० गतेदेखि निष्कासन गरेको आईपीओमा आवेदन दिने आज (असार १३) अन्तिम दिन हो ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ खुलाएको छ । यसमा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले आजसम्म आवेदन दिइसक्नुपर्नेछ । आयोजना प्रभावित बासिन्दाले छिटोमा असार १३ गते हुनेछ भने ढिलोमा असार २९ गतेसम्म आवेदन दिन पाउनेछन् ।
कम्पनीले नेपाल धितोपत्र बोर्डबाट जारी पुँजी ३७ करोड ३० लाख रुपियाँको ३० प्रतिशत अर्थात् प्रतिकित्ता १०० अंकित दरका ११ करोड १९ लाख रुपियाँबराबरको ११ लाख १९ हजार कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो ।
जसमध्ये जारी पुँजीको ५ प्रतिशत अर्थात् १ लाख ८६ हजार ५०० कित्ता आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा र २५ प्रतिशत अर्थात् ९ करोड ३२ लाख ५० हजार रुपियाँबराबरको ९ लाख ३२ हजार ५०० कित्तामध्ये ९३ हजार २५० कित्ता साधारण शेयर वैदेशिक रोजगारीमा गएका नेपालीका लागि बिक्री खुला गरिरहेको छ ।
आयोजना प्रभावितका लागि छुट्याइएको आईपीओमा ओखलढुंगा जिल्ला, जिजिदेम्बा गाउँपालिका वडा नं ८ (साबिक भुसिंगा गाविसका सबै वडा) र सोलुखुम्बुको लिखुपिके गाउँपालिका वडा नं. २ (साबिक गोली गाविस वडा नं. १, २, ३, ४, ५) का स्थानीय बासिन्दाले आवेदन दिन सक्नेछन् ।
दुवै श्रेणीका लगानीकर्ताले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।
यता कम्पनीले ७० हजार ९१० कित्ता साधारण शेयर कर्मचारीहरुका लागि र १ लाख ७७ हजार २७५ कित्ता शेयर सामूहिक लगानी कोषहरुका लागि सुरक्षित गरेको छ। बाँकी रहेको २९ लाख ४२ हजार ७६० कित्ता शेयर भने कम्पनीले सर्वसाधारणका लागि निष्काशन गर्नेछ ।
आईपीओ निष्कासनका लागि गराएको रेटिङमा इक्रा नेपालले कम्पनीलाई इक्रा एनपी इस्युअर रेटिङ डबल बी माइनस प्रदान गरेको छ । यसले कम्पनीको दायित्व बहन गर्ने क्षमतामा औसत जोखिम रहेको संकेत गर्दछ ।
कम्पनीको धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकमा एनआइसी एशिया क्यापिटल रहेको छ ।
नेशनल लाइफ ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स’ अवार्डबाट सम्मानित
काठमाडौं । नेशनल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड ‘बेष्ट म्यानेज्ड लाइफ इन्स्योरेन्स कम्पनी २०२५’ बाट सम्मानित भएको छ । न्यू बिजनेश एज लिमिटेडको आयोजनामा काठमाडौंमा भइरहेको नवौं संस्करणको ‘न्युबिज कन्क्लेभ एन्ड बिजनेश एक्सिलेन्स अवार्डस्’ मा उक्त कम्पनीले सो अवार्ड हासिल गरेको हो ।
नेशनल लाइफ इन्स्योरेन्स जीवन बीमाको क्षेत्रमा आफूलाई स्थापित गर्न सफल कम्पनी हो । कम्पनीको अध्यक्षमा प्रेमा राज्यलक्ष्मी सिंह रहेकी छन् । यो कम्पनी सञ्चालक समितिमा महिलाको राम्रो उपस्थिति कायम गर्ने केही कम्पनीहरूमध्ये यो पनि पर्छ ।
यस कम्पनीको सञ्चालक समितिमा महिलाको उपस्थिति ४२.४६ प्रतिशत अर्थात् सात जनाको सञ्चालक समितिमा तीन जना महिला छन् । कम्पनीको प्रमुख कार्यकारी अधिकृतमा भने सुरेश प्रसाद खत्री छन् । कम्पनीको वित्तीय अवस्था राम्रो देखिन्छ । कम्पनीले चालू आर्थिक वर्षको तेस्रो त्रैमाससम्म कम्पनी ४० करोड ८५ लाख रुपैयाँभन्दा बढी खुद नाफामा रहेको छ ।
यस अवधिसम्म कम्पनीको खुद बीमा शुल्क आर्जन रकम भने १४ अर्ब ७ करोड रुपैयाँभन्दा बढी छ । शेयर प्रिमियममा २ करोड ७८ लाख रुपैयाँभन्दा बढी रहेको कम्पनीको महाविपत्ति कोषमा ६१ करोड ६ लाख रुपैयाँभन्दा बढी छ । तेस्रो त्रैमाससम्म कम्पनीको कुल सम्पत्ति ९८ अर्ब १६ करोड रुपैयाँभन्दा बढी छ । कम्पनीको प्रतिशेयर नेटवर्थ १३६ रुपैयाँ ४७ पैसा छ ।
हालै सम्पन्न कम्पनीको साधारण सभावाट यस वर्ष लगानीकर्ताका लागि ५ प्रतिशत बोनश शेयर र १० प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।
बोनस शेयर कर प्रयोजनका लागि कम्पनीले छुट्टै शून्य दशमलव ७९ प्रतिशत नगद लाभांशसमेत कम्पनीले वितरण गर्ने भएको हो । ५ प्रतिशत बोनस शेयरपछि कम्पनीको चुक्तापूँजी ५ अर्ब ४७ करोड २७ लाख ४० हजार रुपैयाँ कायम भएको छ ।
लाभांश वितरणको इतिहासलाई हेर्दा कम्पनीले अधिकतम ७२ दशमलव ५० प्रतिशतसम्म वितरण गरेको देखिन्छ । आर्थिक वर्ष ०६९, ७० को मुनाफाबाट कम्पनीले ५५ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि समेत १७ दशमलव ५० प्रतिशत नगद लाभांश वितरण गरेको तथ्याङ्क रहेको छ । लाभांश वितरणलाई कम्पनीले निरन्तरता दिँदै आएको छ ।
ग्लोबल आइएमई बैंकबाट ९ लाख लुटपाटमा संलग्न एक अभियुक्त पक्राउ
सिरहा । सिरहाको कल्याणपुरस्थित ग्लोबल आइएमई बैंक शाखाबाट रु नौ लाख लुटिएको घटनामा संलग्न एक अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ ।
पक्राउ परेका व्यक्ति उदयपुरको त्रियुगा नगरपालिका–१२ का ३० वर्षीय सुजेन्द्र लोहनी रहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक वीरेन्द्रकुमार पासवानले जानकारी दिए । उनलाई सिरहा नगरपालिका–१७, खैरटोकाबाट पक्राउ गरिएको हो ।
लोहनी २०७९ फागुन १० गते मिर्चैया नगरपालिका–३ बतहा पुल नजिकै भएको लुटपाट घटनामा संलग्न थिए । सो दिन ग्लोबल आइएमई बैंक मिर्चैया शाखाबाट रकम लिएर आउँदै गरेका बैंकका कर्मचारी र सुरक्षामा खटिएका प्रहरीलाई लक्षित गरी लोहनीसहित चार जनाको समूहले पिस्तोल देखाएर लुटपाट गरेका थिए । उनीहरू नम्बर नखुलेका मोटरसाइकलमा आएका थिए ।
इलाका प्रहरी कार्यालय कल्याणपुरमा कार्यरत प्रहरी जवान निकेश खवासलाई हतियार देखाई कुटपिट गर्दै बैंक कर्मचारीसँग रु नौ लाख लुटेर उनीहरू फरार भएका थिए । घटनापछि भारतमा लुकेर बस्दै आएका लोहनीलाई सिरहाको सीमावर्ती क्षेत्र खैरटोकाबाट पक्राउ गरिएको र जिल्ला अदालत सिरहामा पेस गरी आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ ।
ग्लोबल आइएमई बैंकले मनायो अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस
काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस भव्य रुपमा मनाएको छ ।
बैंकले आफूले ऋण लगानी गरेका लघु, साना तथा मझौला उद्यमीले उत्पादन गरेका वस्तुहरुलाई बजारीकरणमा सहजीकरण गर्ने उद्देश्यले सञ्चालन गरेको ग्लोबल हाटबजार सञ्चालनमा ल्याएको थियो ।
बैंकले शुक्रबार अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजार २५औं हप्तामा प्रवेश गरेको अवसर पारेर आफ्नो हाटबजारमा विशेष मेला आयोजना गरेको थियो ।
उद्यमीको उत्पादन, ग्लोबल आइएमईको प्रोत्साहन– भन्ने नारालाई आत्मसाथ गर्दै बैंकले आफ्नो लगानीमा सञ्चालित लघु, साना तथा मझौला उद्यमीहरुले गरेका उत्पादनलाई बजारसम्मको पहुँच विस्तार गराउने उद्देश्यले बैंकको काठमाडौँको कमलादी शाखामा हरेक शुक्रबार हाटबजार सञ्चालन गर्दै आएको छ ।
अन्तर्राष्ट्रिय लघु, साना तथा मझौला व्यवसाय दिवस तथा हाटबजारको २५औं हप्ता प्रवेशको अवसरमा आयोजित कार्यक्रममा बोल्दै बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले मुलुकको अर्थतन्त्रमा लघु, साना तथा मझौला व्यवसायको महत्वपूर्ण भूमिका रहेको उल्लेख गर्दै हाटबजारले त्यस्ता उद्यम व्यवसायको प्रवद्र्धनमा विशेष योगदान पुर्याउने जनाए ।
उनले हाटबजारले दिगो तथा हरित अर्थतन्त्र निर्माणमा योगदान पु¥याइरहेका लघु, साना तथा मझौला उद्यमहरुको बजारमा पहुँच विस्तार गर्न, कृषक र उपभोक्ताबिच प्रत्यक्ष सम्बन्ध बनाउन र कृषकलाई आफ्नो उत्पादनको उचित मूल्य प्रदान गर्न सहयोगी भूमिका खेलेको जनाए ।
साथै, उनले हाटबजारले अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनलाई प्रोत्साहित गर्दै बजारीकरण गर्न सहजीकरण गर्ने र नेपाली उत्पादकलाई हौसला प्रदान गरेको जनाए ।
“हामीले सानो तथा सिम्बोलिक अभियानको रुपमा सञ्चालन गरेको हाटबजार आजसम्म आइपुग्दा व्यापक भइसकेको छ । साथै, यो हाटबजारले नेपालको अर्गानिक, रैथाने तथा स्थानीय उत्पादनको प्रवद्र्धन गर्न महत्वपूर्ण योगदान गर्ने र उत्पादकलाई हौसला प्रदान गर्नेछ,” उनले भने ।
हाटबजारमा विषादी रहित कृषि उपज, रैथाने बाली तथा सो अनुरुपका बालीका उत्पादन, स्थानीय स्रोतको उपयोग गरी उत्पादन गरिएका हस्तकला सामग्री, सजावटमा प्रयोग हुने बिरुवा लगायतका दुई दर्जन बढी कृषक तथा व्यवसायीहरुका उत्पादनरसामग्रीहरु प्रदर्शन तथा बिक्रीका लागि राखिएको छ ।
आफ्ना ग्राहकहरुको सुविधालाई मध्यनजर गर्दै बैंकले विभिन्न किसिमका समय सान्दर्भिक योजनाहरु ल्याएर ग्राहकहरुलाई लावान्भित गर्दै आएको छ ।
बैंकले ३५२ शाखा कार्यालय, ३८५ एटिएम, १५८ शाखा रहित बैंकिङ्ग सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको जनाएको छ ।
जसपा नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लियो
काठमाण्डौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) नेपालले लुम्बिनी प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।
जसपा नेपालले संघमा केपी ओली नेतृत्वको सरकारलाई समर्थन फिर्ता लिने निर्णय गरेसँगै प्रदेशमा पनि समर्थन फिर्ता लिएको हो ।
लुम्बिनी प्रदेश सभा सदस्य अम्बिका काफ्लेले शुक्रबार पत्र काट्दै समर्थन फिर्ता लिएको जानकारी गराएका छन् ।
एसईईको नतिजा सार्वजनिक, ६२ प्रतिशत विद्यार्थी ग्रेडेड, ४८ हजार १७७ विशिष्ठ श्रेणीमा
काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको छ ।
नतिजामा ६२ प्रतिशत विद्यार्थीहरु ग्रेडेड भएका छन् । जसमध्ये ३.६ देखि ४ जीपीए ल्याउने विद्यार्थीको संख्या ४८ हजार १७७ जना रहेका छन् ।
नन ग्रेडेड भएका विद्यार्थीका लागि ग्रेड वृद्धिको परीक्षा साउन २९ गतेदेखि हुने पनि जनाईएको छ ।
शुक्रबार साँझ बसेको बोर्डको बैठकले कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा सार्वजनिक गरेको हो ।
२०८१ को एसईई परीक्षा ७ चैतदेखि सञ्चालन भएको थियो ।
परीक्षामा नियमिततर्फ ४ लाख ३१ हजार ४६६ र ग्रेड वृद्धितर्फ ६७ हजार ७१५ गरी जम्मा ४ लाख ९९ हजार १८३ विद्यार्थी सहभागी भएका थिए ।
देशभर मनसुनी वायुको प्रभाव, यी प्रदेशहरूमा भारी वर्षा हुने
काठमाण्डौं । देशभर आंशिकदेखि साधारणतया बदली रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार पछिल्लो समय कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा छिटपुटदेखि हल्का वर्षा भएको छ।
महाशाखाका अनुसार शुक्रबार दिउँसो देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि साधारणतया बदली रहने छ। दिउँसो गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत बाँकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा र बाँकी भू–भागका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ।
त्यस्तै गण्डकी प्रदेश, लुम्बिनी प्रदेश, कर्णाली प्रदेश, सुदूरपश्चिम प्रदेशलगायत कोशी प्रदेश र बागमती प्रदेशका पहाडी भू–भागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ। आज राति देशभर आंशिकदेखि साधारणतया बदली रहनेछ। राति कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थानमा तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ।
राति कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना छ।
राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरू र बाँकी प्रदेशका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको पनि सम्भावना रहेको छ ।
कोशी, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको कारण नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जन स्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ।