काठमाडौं । नेपाल बैंक लिमिटेडको सञ्चालक समितिमा बद्री खनाल र ध्रुब भट्टराई नियुक्त भएका छन् ।
बैंकले सर्वसाधरण सेयर धनीको तर्फबाट बद्री खनाल र कर्मचारी सञ्चय कोषको तर्फबाट ध्रुब भट्टराई सञ्चालक समिति सदस्यमा नियुक्त गरेको हो।
यसअघि, गत चैतको वार्षिक साधारण सभामा हुने भनिएको निर्वाचन कार्यक्रमका विरुद्धमा रिट परेपछि रोकिएको थियो ।
सो रिट उच्च अदालत पाटनले खारेज गरिदिए पछि सञ्चालक समितिमा खनाल र भट्टराई निर्वाचित भएका हुन् ।
नवनियुक्क्त सञ्चालक समिति सदस्यले पद तथा गोपनियताको सपथ लिएका छन् ।
नेपाल बैंकको सञ्चालक समितिमा खनाल र भट्टराई नियुक्त
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको सीईओमा पुनः लोहनी नियुक्त
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको सीईओमा पुनः नारायणबाबु लोहनी नियुक्त भएका छन् ।
सञ्चालक समितिको गत बिहीबार बसेको बैठकले लोहनीलाई नै सीईओ नियुक्त गर्ने निर्णय गरेको कमपनी सचिव माधवराज शर्मा पोखरेलले जनाएका छन् ।
लोहनीको नयाँ ४ वर्षे कार्यकाल आगामी साउन १८ गतेबाट शुरु हुनेछ ।
हिमालयन बैंकले १ अर्ब ४५ करोड रुपियाँको एफपीओ निष्काशन गर्ने
काठमाडौं । हिमालयन बैंक लिमिटेडले १ अर्ब ४५ करोड २३ लाख २३ हजार ६३३ रुपियाँ बराबरको एफपीओ निष्काशन गर्ने भएको छ ।
नेपाल धितोपत्र बोर्ड (सेबोन) ले उक्त बैंकलाई आज रु. १५७ प्रतिकित्ताका दरले ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ निष्काशनका लागि अनुमति दिएको हो ।
सेबोनबाट अनुमति पाएसँगै बैंकले एफपीओ निष्काशनको प्रक्रिया शुरु गर्ने बिक्री प्रबन्धक सिटिजन्स क्यापिटलले जनाएको छ ।
आज हरिशयनी एकादशी, घर–घरमा तुलसीको बिरुवा सारिँदै
काठमाण्डौं । हरेक वर्ष असार शुक्ल एकादशीका दिन घर–घरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आजदेखि शुरु भएको छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घर–घरको तुलसी मोठमा राखिएको दलको बिरुवा आज मोठमा सारिन्छ । सनातन वैदिक परम्पराअनुसार तुलसीलाई विष्णुको प्रतीकका रूपमा मानिन्छ ।
आजदेखि कार्तिक शुक्ल एकादशीका दिनसम्म तुलसीको विशेष पूजा हुन्छ । असार शुक्ल एकादशीदेखि कार्तिक शुक्ल एकादशीसम्म चार महिना भगवान् विष्णु क्षीरसागरमा शयन गर्नुहुने भएकाले आजको दिनलाई हरिशयनी एकादशी भनिएको धर्मशास्त्रविद् एवम् नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा।डा देवमणि भट्टराई जनाउँछन । भगवान् विष्णु शयन गर्नुहुने चार महिनालाई चर्तुमासा पनि भनिन्छ ।
एक वर्षमा २४ एकादशी पर्छन् । सक्नेले सबै एकादशीमा फलाहार मात्र गरेर व्रत बस्छन् । नसक्नेले चतुमासका चार महिनामा पर्ने आठ एकादशीमा व्रत गर्छन् । कामकाजमा सक्रिय हुनुपर्ने र चार महिनासम्म पनि फलाहार गर्न नसक्नेले भने हरिशयनी एकादशी र हरिबोधिनी एकादशीका दिन फलाहार गरी व्रत बस्ने गर्छन् ।
हरिशयनी एकादशीका अवसरमा आज बिहानैदेखि काठमाडौंको बूढानीलकण्ठ, उपत्यकाका चारनारायणलगायत देशभरका नारायण एवम् विष्णु मन्दिरमा भक्तजनको भीड लाग्ने गर्छ । एकादशीका दिन विशेषगरी चामलबाट बनेका परिकार नखाने रोटी, ढिँडोलगायत खाने गरिन्छ । वैज्ञानिक रुपमा पनि बढी अक्सिजन पाइने प्रमाणित भएको तुलसी विभिन्न रोगका लागि औषधिका रूपमा प्रयोग गरिन्छ ।
तुलसीको मोठ भएका ठाउँमा रोग सार्ने विषालु प्रकारका कीटाणु नआउने विश्वास समेत छ । चार महिनासम्म विधिपूर्वक पूजाआराधना गरिएको तुलसीलाई कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीका दिन दामोदरसँग विवाह गरिदिने वैदिक विधि छ ।
एमालेको सबै जिल्ला अधिवेशन सकियो, पालिकाको ९८ प्रतिशत सम्पन्न
काठमाडौं । नेकपा (एमाले) ले प्रदेश र सबै जिल्लाका अधिवेशन सम्पन्न गरेको छ । स्थानीय तहतर्फ ९८ प्रतिशत पालिका, ९० प्रतिशत वडा र ५० प्रतिशत टोल कमिटीको अधिवेशन सकिएको महासचिव शंकर पोखरेलले जानकारी दिएका छन् ।
महासचिव पोखरेलले निर्वाचन सबै प्रदेश कमिटीसँगको बैठकपछि शनिबार पार्टी निर्वाचन आयोगको बैठकको रिर्पोटिङको आधारमा यो जानकारी गराएकमा हुन् । निर्धारित समयमा नै अधिवेशनहरु सम्पन्न गरेकोमा निर्वाचन आयोगलाई पोखरेलले धन्यवाद ज्ञापान गरेका छन् ।
निर्वाचन आयोगका अध्यक्ष विजय सुब्बाका अनुसार पालिकातर्फ बढीमा १० वटा कमिटीको अधिवेशन गर्न बाँकी रहेको छ । ती अधिवेशनहरु विभिन्न कारणले रोकिएका छन् । पार्टीको आन्तरिक व्यवस्थापनपछि तत्काल तिनीहरुको अधिवेशन सक्ने सुब्बाले जानकारी दिए ।
यसैगरी, करिब ६ हजार वडाका अधिेशनहरु सकिएका छन् । बाँकी रहेकाहरुको पनि विधान महाधिवेशनभन्दा पहिला नै सक्नेगरी काम अघि बढाएको छ ।
महासचिव पोखरेलले निर्वाचन आयोगको व्यवस्थापनमा प्रदेश, जिल्ला र जनसंगठनका अधिवेशनहरु सम्पन्न गरेकोमा आयोगलाई धन्यवाद दिएका छन् । पार्टीका २३ वटा जनसंगठन मध्ये १६ वटाको महाधिवेशन सम्पन्न भइसकेको छ ।
भोजपुरमा एकै परिवारका चार जनाको हत्या
काठमाडौं । भोजपुरको रामप्रसादराई गाँउपालिका–२ को धोर्लेखानीमा गएराति चार जनाको हत्या भएको छ ।
जिल्ला प्रहरी कार्यालय भोजपुरका अनुसार ६८ वर्षीय बेलबहादुर गिरी, उनकी श्रीमती ४५ वर्षीया मञ्जु, छोरी मनिषा र छोरा सपन गिरीको हत्या भएको हो ।
ज्वाइँ राजेन्द्र राईले ससुरा बेलबहादुर, सासू मञ्जु, श्रीमती मनिषा र सालो सपनको हत्या गरेको हुनसक्ने प्रहरीले आशंका गरेको छ ।
यसैबीच, राईले घरायसी झगडाका क्रममा गएराति ससुरालीका सदस्यहरूले प्रहार गरेपछि आफूले प्रतिकार गर्दा घटना भएको प्रारम्भिक बयान दिएको जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रहरी निरीक्षक दीपक श्रेष्ठले जानकारी दिएका छन् ।
राईको पेट लगायत भागमा धारिलो हतियारको चोट लागको प्रहरीले जनाएको छ । उनको जिल्ला अस्पताल भोजपुरमा उपचार भइरहेको जनाईएको छ ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
‘मेरी बास्सै’की ‘अप्सरा आमा’को निधन
काठमाडौं । चर्चित हास्य टेलिसिरियल ‘मेरी बास्सै’मा ‘अप्सरा आमा’को भूमिकाबाट दर्शकमाझ लोकप्रिय बनेकी कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ । श्रेष्ठको शुक्रबार राति निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।
श्रेष्ठ स्तन क्यान्सरलगायतका रोगबाट पीडित थिइन् । पछिल्ला केही सातादेखि उनी ओछ्यानमै थलिएकी थिइन् ।
लामो समयदेखि अभिनयमा सक्रिय रहेकी श्रेष्ठले ‘मेरी बास्सै’, ‘जिरे खुर्सानी’, ‘कान्छी’, ‘उल्टो सुल्टो’ जस्ता टेलिसिरियल तथा केही फिल्ममा पनि अभिनय गरेकी थिइन् ।
महिला एशियन कप छनोटको निर्णायक खेलमा नेपाल र उज्वेकिस्तान खेल्दै
काठमाण्डौं । एएफसी महिला एशियन कप सन् २०२६ को छनोटअन्तर्गत निर्णायक खेलमा नेपालले शनिबार उज्वेकिस्तानसँग खेल्दैछ ।
खेल उज्वेकिस्तानको तास्केन्तमा रहेको बुनयोदकोर रङ्गशालामा नेपाली समयअनुसार राति सवा ८ बजे शुरु हुनेछ ।
समूह एफमा रहेको नेपाल तीन खेलमा छ अङ्कसहित तालिकाको दोश्रो स्थान र समान खेलमा छ अङ्क नै बनाएको उज्वेकिस्तान शीर्ष स्थानमा छ । शनिबार हुने समूह चरणको तेस्रो तथा अन्तिम खेलको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछ ।
पछिल्लो फिफा वरियतामा नेपाल एक सयौं स्थानमा रहँदा उज्वेकिस्तान ५१औं स्थानमा छ । आफ्नो पहिलो खेलमा नेपालले लाओसलाई ९–० र दोश्रो खेलमा श्रीलङ्कालाई ८–० गोलले हराएको थियो ।
यस्तै उज्वेकिस्तानले पनि आफ्नो पहिलो खेलमा श्रीलङ्कालाई १०–० र लाओसलाई ७–० गोलले हराएको थियो । दुवै टोलीले गोल नखाइकन समान १७ गोल गरेका छन् ।
यदि खेलमा अङ्क र गोल अन्तर पनि बराबर भएमा एएफसी महिला एशियन कप प्रतियोगिताको नियमावली अनुसार सिधै पेनाल्टी सुटआउट हुनेछ । महिला एशियन कप छनोटमा ३४ वटा टोलीलाई आठ वटा समूहमा विभाजन गरिएको छ ।
हरेक समूहको विजेताले आउँदो वर्ष अस्ट्रेलियामा हुने एशियन कप खेल्नेछन् । १२ वटा टोली सहभागी हुने प्रतियोगितामा आयोजक अस्ट्रेलियासँगै चीन, दक्षिण कोरिया र जापान छनोट भइसकेका छन् ।
काभ्रेको नालामा पुल भाँचियो, राजधानी जाने वैकल्पिक सडक अवरुद्ध
काभ्रेपलाञ्चोक । काभ्रेपलाञ्चोकको बनेपा नगरपालिका ४ र १ को सीमास्थलमा रहेको पुल गएराति भाँचिएपछि सडकखण्डमा यातायात पूर्ण रूपमा अवरुद्ध भएको छ ।
काभ्रेपलाञ्चोकको नाला र भक्तपुरको च्यामासिङ सडकखण्डअन्तर्गत पर्ने यो सडक पूर्वतर्फबाट राजधानी काठमाडौं जाने वैकल्पिक मार्गका रुपमा प्रयोग हुँदै आएको थियो ।
यो पुल विसं २०३७ मा निर्माण भएको जनाइएको छ । स्थानीय शान्तलाल श्रेष्ठका अनुसार आज बिहान सबेरै मालबाहक गाडी पुल पार गरेलगत्तै ४५ वर्षअघि निर्माण भएको पुल भाँचिएको हो । पुल भाँचिएपछि सडकखण्ड अवरुद्ध भएको हो । यही बाटो प्रयोग गरी राजधानी जाने र राजधानीबाट मध्यपूर्वतर्फ बाहिरिने सवारीलाई पूर्णतः रोक लगाइएको छ ।
हाल अरनिको राजमार्गअन्तर्गत भक्तपुरको सूर्यविनायकदेखि काभ्रेपलाञ्चोकको धुलिखेलसम्मको सडक विस्तार भइरहेकाले विगत दुई वर्षदेखि राजमार्गमा गुड्ने अधिकांश सवारी नाला–च्यामासिङ सडकखण्ड प्रयोग गर्दै आइरहेका थिए । जिल्ला ट्राफिक कार्यालय बनेपाले भक्तपुरबाट यो सडकखण्डमा सवारी नपठाउन भनिएको र बनेपाबाट राजधानीतर्फ जाने सवारी बनेपामा रोकिएको जनाएको छ ।
कार्यालय प्रमुख प्रहरी निरीक्षक सुनिल धाँजूले सडकखण्ड अस्थायी रुपमा सञ्चालन गर्न सडक विभाग र स्थानीय तहसँग समन्वय भइरहेको जानकारी दिए ।
सोमबार आकस्मिक बाहेकका सम्पूर्ण स्वास्थ्य सेवा बन्द गर्ने चिकित्सक संघको घोषणा
काठमाडौँ । नेपाल चिकित्सक संघले सोमबार देशभरका अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा आकस्मिक बाहेकका सम्पूर्ण सेवा बन्द गर्ने घोषणा गरेको छ ।
उपचारमा लापरबाही गर्ने स्वास्थ्य संस्था र डाक्टरहरूलाई उपभोक्ता अदालतले क्षतिपूर्ति भराउने फैसला गरेसँगै त्यस्तो फैसलालाई नै चुनौती दिँदै चिकित्सक संघ आन्दोलित बनेको हो ।
संघका महासचिव डा सञ्जीव तिवारीले शुक्रबार जारी गरेको विज्ञप्तिका अनुसार आफूहरूको मागका सम्बन्धमा शुक्रबार संघका कार्यालयहरूमार्फत सम्बन्धित जिल्ला प्रशासन कार्यालयहरूमा प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाइएको छ ।
यस्तै आइतबार कार्यस्थलमा एक घण्टा धर्ना दिने, २४ गते नेपाल मेडिकल काउन्सिललाई आफूहरूको प्रमाणपत्र बुझाउने विज्ञप्तिमा उल्लेख छ । संघको अगुवाइमा भएका आन्दोलनमा स्वास्थ्यसँग सम्बन्धित विभिन्न ९ वटा संघसंस्थाले ऐक्यबद्धता जनाएका छन् ।