काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले ह्याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी–२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी) लाई पराजित गरेको छ ।
नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।
एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक केघले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे । नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए ।
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो । नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।
नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी–२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी–२० र एक वान डे खेल खेल्नेछ । टप एन्ड टी–२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो ।
नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।
सन्दीपको ह्याट्रिकसहित ५ विकेटमा नेपालले एसीटीलाई हरायो
भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न सकिँदैन ः रास्वपा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नेपाली भूमि लिपुलेक नाका खोल्न भारत र चीनबीच भएको एकतर्फी सहमति वैध मान्न नसकिने जनाएको छ ।
मंगलबार अन्तर्राष्ट्रिय सम्बन्ध विभाग प्रमुख शिशिर खनालले विज्ञप्ति जारी गर्दै यस विपरितका कार्यले आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेमा रास्वपा स्पष्ट रहेको जनाए । नेपालको प्रत्यक्षसहमति बिना भएका सहमति स्वीकार्न नसकिने रास्वपाको धारणा छ ।
विज्ञप्तिमा भनिएको छ, ‘राष्ट्रिय स्वतन्त्र पार्टी नेपालको राष्ट्रिय अखण्डता, सार्वभौमिकता र भौगोलिक स्वाधीनताको संरक्षणलाई सर्वोच्च दायित्व मान्दछ । नेपाली भू–भागमाथि अन्य देशहरूको कुनैपनि गतिविधि वा सम्झौता नेपालको प्रत्यक्ष सहभागिता र सहमति बिना वैध मान्न सकिँदैन । यस विपरितका कार्य हुन्छन् भने आपसी सम्मान तथा शान्तिपूर्ण सहअस्तित्वका सिद्धान्त विपरित भएको मानिनेछ भन्नेमा रास्वपा स्पष्ट छ ।’
प्रधानमन्त्रीको आसन्न भारत तथा चीन भ्रमणका क्रममा सम्बन्धित नेतृत्वसँग लिपुलेक, लिम्पियाधुरा र कालापानी क्षेत्रको प्रश्न स्पष्ट र दृढतापूर्वक प्रस्तुत गर्न रास्वपाले माग पनि गरेको छ । साथै, हालैको सम्झौतापछि सरकारले प्रस्तुत गरेको रवैयाप्रति रास्वपाको गम्भीर ध्यानाकर्षण भएको पनि जनाएका छन् । विवादहरूको समाधान सत्तापक्ष र प्रतिपक्ष नभई एकमतले कूटनीतिक, शान्तिपूर्ण तर प्रभावकारी माध्यमबाट खोजिनुपर्छ भन्ने अटल सिद्धान्तमा पार्टी प्रतिबद्ध रहेको जनाएका छन् ।
यस वर्ष घट्यो धान रोपाइँ
काठमाडौँ । मनसुन अनुकूल नहुँदा यस वर्ष धान रोपाइँ घटेको छ । कृषि तथा पशुपन्छी विकास मन्त्रालयअन्तर्गत कृषि विभागले उपलब्ध गराएको तथ्याङ्कअनुसार आइतबारसम्म गत वर्षको तुलनामा ३ दशमलव ६४ प्रतिशत कम रोपाइँ भएको छ ।
गत वर्ष यही समयमा मुलुकभर ९८ दशमलव ५४ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष भने ९४ दशमलव ९ प्रतिशत रोपाइँ भएको विभागले जनाएको छ । विभागको तथ्याङ्कअनुसार मुलुकमा धान रोपाइँ हुने क्षेत्रफल १३ लाख ७६ हजार ४६६ हेक्टर रहेकामा हालसम्म १३ लाख ६ हजार २९३ हेक्टरमा रोपाइँ सम्पन्न भएको छ, जुन कुल क्षेत्रफलको ९३ दशमलव ३ प्रतिशत हो ।
कोशी प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ भएकामा यस वर्ष ९७ दशमलव २४ प्रतिशत रोपाइँ भएको छ । यसैगरी, मधेस प्रदेशमा गत वर्ष ९७ प्रतिशत रोपाइँ भएकामा यस वर्ष भने ८६ दशमलव ३५ प्रतिशत मात्रै रोपाइँ सम्पन्न भएको छ ।
बागमती प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो । यस वर्ष ९७ दशमलव २७ प्रतिशत मात्र रोपाइँ सम्पन्न भएको छ । गण्डकी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष ९६ दशमलव ६३ प्रतिशत रोपाइँ भएको छ । लुम्बिनी प्रदेशमा गत वर्ष ९८ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९८ दशमलव ३७ प्रतिशत रोपाइँ सम्पन्न भएको विभागले जनाएको छ ।
कर्णाली प्रदेशमा गत वर्ष ९९ प्रतिशत रोपाइँ सम्पन्न भएको थियो भने यस वर्ष ९९ दशमलव ७२ प्रतिशत रोपाइँ सम्पन्न भएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेशमा गत वर्ष शत्प्रतिशत रोपाइँ सम्पन्न भएकामा यस वर्ष पनि ९९ दशमलव ७२ प्रतिशत रोपाइँ भएको छ ।
कृषि विभागका महानिर्देशक प्रकाशकुमार सञ्जेलले यस वर्ष समयमा नै वर्षा हुन नसक्दा धान रोपाइँ कम भएको जानकारी दिए । “वर्षा कम हुँदा मधेस प्रदेशमा अझ ढिलो गरी रोपाइँ सम्पन्न भयो । वर्षा पर्याप्त नहुँदा रोपिसकेको धानलाई सिँचाइ सुविधा पुगेको छैन । यसले यस वर्ष धान उत्पादनमा कमी आउने प्रक्षेपण गरिएको छ,” उनले भने ।
मन्त्रालयले उपलब्ध गराएको तथ्याङ्कअनुसार गत वर्ष ५९ लाख ५५ हजार ४७६ मेट्रिक टन धान उत्पादन भएको थियो । अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (विसं २०८१) मा ४ दशमलव ०४ प्रतिशतले धान उत्पादनमा वृद्धि भएको थियो ।
विसं २०८१ मा कोशी प्रदेशमा १४ लाख ६६ हजार ५१८ मेट्रिक टन, मधेस प्रदेशमा १४ लाख ८० हजार ८३० मेट्रिक टन, बागमती प्रदेशमा चार लाख ९८ हजार ६३२ मेट्रिक टन, गण्डकी प्रदेशमा तीन लाख ७९ हजार ३२ मेट्रिक टन, लुम्बिनी प्रदेशमा १३ लाख ६४ हजार ३१ मेट्रिक टन, कर्णाली प्रदेशमा एक लाख ३० हजार १९१ मेट्रिक टन र सुदूरपश्चिम प्रदेशमा ६ लाख ३६ हजार २१२ मेट्रिक टन धान उत्पादन भएको थियो ।
अघिल्लो वर्ष (विसं २०८०) को तुलनामा गत वर्ष (विसं २०८१) मा उत्पादन वृद्धिदर कोशी प्रदेशमा २ दशमलव १६ प्रतिशत, मधेस प्रदेशमा १० दशमलव ७ प्रतिशत, लुम्बिनी प्रदेशमा ४ दशमलव ०६ प्रतिशत र सुदूरपश्चिम प्रदेशमा ६ दशमलव १९ प्रतिशत रहेको थियो । तर, बागमती प्रदेशमा १ दशमलव १३ प्रतिशत, गण्डकी प्रदेशमा ३ दशमलव २२ प्रतिशत र कर्णाली प्रदेशमा १० दशमलव ३ प्रतिशतले उत्पादनमा ह्रास आएको तथ्याङ्क छ ।
शेयर बजारमा २१ अङ्कको सुधार, पाँच अर्व बढीको कारोवार
काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २१ दशमलव ३० अङ्कले बढेर दुई हजार ७६१ दशमलव २६ को बिन्दुमा कायम भएको छ । आज परिसूचक शून्य दशमलव ७७ प्रतिशतले बढेको हो ।
आज ३१७ कम्पनीको एक करोड आठ लाख ७७ हजार ९४२ कित्ता शेयर ५७ हजार १५७ पटक खरिदबिक्री हुँदा रु पाँच अर्ब ७५ करोड ३२ लाख १९ हजार ६५२ दशमलव ७८ को कारोबार भएको छ ।
उत्पादन तथा प्रशोधन समूह शून्य दशमलव शून्य पाँच र म्युचुअफ फण्ड समूह शून्य दशमलव ३४ प्रतिशतले घटेको छ भने अरु सबै समूहको उपसूचक बढेको छ ।
बैंकिङ शून्य दशमलव ५८, विकास बैंक शून्य दशमलव ९५, वित्त शून्य दशमलव २०, होटल तथा पर्यटन शून्य दशमलव ४५, जलविद्युत् शून्य दशमलव ३२, लगानी शून्य दशमलव ३४, र जीवन बिमा समूह शून्य दशमलव ५६ प्रतिशतले बढेको छ । त्यस्तै, लघुवित्त एक दशमलव ५०, निर्जीवन बिमा शून्य दशमलव ३१, व्यापार शून्य दशमलव शून्य पाँच र अन्य समूह दुई दशमलव ७९ प्रतिशतले बढेको छ ।
आजको कारोबारमा नारायणी डेभलपमेन्ट बैंक लिमिटेडको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । सबैभन्दा बढी आरबिबी म्युचुअल फण्ड–१ को शेयर मूल्य तीन दशमलव ८७ प्रतिशतले घटेको छ ।
कारोबार रकमका आधारमा आज सबैभन्दा बढी नेपाल रिइन्स्योरेन्स कम्पनी लिमिटेडको रु ७६ करोड ९६ लाख ७७ हजार ९५१ बराबरको शेयर किनबेच भएको छ । त्यस्तै, कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सिटिजन्स सुपर ३० म्युचुअल फण्डको सबैभन्दा बढी पाँच लाख ३७ हजार ५५० कित्ता शेयर किनबेच भएको छ ।
सिटिजन्स बैंकको ‘सेमिनार अन् कोशी लिडरसिप् इन्स्पाएरिङ् पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स’ सम्पन्न
काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कोशी प्रदेशमा आफ्ना प्रदेश प्रमुख, क्लस्टरहेड, शाखा–प्रबन्धक तथा अन्य सहकर्मीहरू माझ “सेमिनार अन् कोशी लिडरसिप् इन्स्पाएरिङ्ख पर्फरमेन्स एण्ड अचिभिङ एक्शिलेन्स” कार्यक्रम आयोजना गरेको छ ।
सेमिनार बैंकका प्रमुख कार्यकारी अधिकृत श्री गणेशराज पोखरेल ,उप–प्रमुख कार्यकारी अधिकृत र वरिष्ठ कार्यकारीको उपस्थितिमा सम्पन्न भएको हो । सेमिनारमा गत आर्थिक बर्षको कार्य प्रगति समिक्षा एवं चालु आर्थिक वर्षका प्राथमिकताहरूमा छलफल गर्दै केन्द्र र प्रदेश बीच सहकार्य सुदृढ गर्ने विषयमा गहिरो अन्तरक्रिया भएको छ ।
हालै मधेश र बागमती प्रदेशमा यस्तै प्रकारको सेमिनार सञ्चालन गरिएको थियो । त्यसैको निरन्तरता स्वरूप कोशी प्रदेशमा त्यसै किसिमको सेमिनार गरिएको र प्रदेशहरूमा पनि यसै गरी क्रमश आयोजना गरिने जानकारी दिइएको छ । कोशी केन्द्रित भएको यो कार्यक्रम अन्य प्रदेशमा पनि गरिने योजना रहेको बैंकले जानकारी दिएको हो । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले आर्थिक वर्ष २०८१, ८२ को असार मसान्तसम्म कर्जा, निक्षेप, खुद ब्याज आम्दानी जस्ता सूचकमा दोहोरो अंकको वृद्धि गर्दै कोषको लागत घटाउने, बेस रेट कम गर्ने तथा कर्जा जोखिम व्यवस्थापनमा उल्लेखनीय सुधार गर्ने सफलता हासिल गरेको छ ।
समिक्षा अवधिभरमा बैंककोे कर्जा प्रवाहमा ११.१५ प्रतिशत वृद्धि बढ्दै १ खर्ब ७५ अर्ब १६ करोड रुपैयाँ पुगेको छ । यस अघि २०८०, ८१ को असार मसान्तमा यो रकम १ खर्ब ५७ अर्ब ५८ करोड रुपैयाँ थियो । निक्षेप संकलनमा पनि ११.६९ प्रतिशतको वृद्धि भएको छ, जसले कुल २ खर्ब १४ अर्ब ८ करोड रुपैयाँको निक्षेप संकलन पुर्याएको छ । यो अघिल्लो वर्षको तुलनामा करिब २२ अर्ब रुपैयाँ बढी हो । खुद व्याज आम्दानीमा ११.२० प्रतिशतको वृद्धि हुँदै यो रकम ६ अर्ब ३६ करोड रुपैयाँ पुगेको छ । कर्जा–निक्षेप अनुपात (सीडी रेसियो) ८१.९१ प्रतिशत रहेको छ, जसले बैंकको तरलता व्यवस्थापन सन्तुलित भएको देखाउँछ । यस अवधिमा सम्पत्ति प्रतिफल दर ०.५५ प्रतिशत र पुँजी प्रतिफल दर ५.८१ प्रतिशत कायम भएको छ ।
“विश्वकै प्रतिष्ठित अवार्ड बैंक अफ द ईयर २०२४ को उपाधि प्राप्त गर्न सफल भएको बैंकले केही समय अघि मात्र फोनपेसँगको सहकार्यमा नेपालमै पहिलो पटक “सिटिजन्स फोनपे क्रेडिट कार्ड” भर्चुअल क्रेडिट कार्ड सञ्चालनमा ल्याएको छ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी ६१ जिल्लामा फैलिएका आफ्ना २०० वटा शाखा, १६९ वटा एटिएम, ३ विस्तारित काउन्टर र ७४ वटा शाखा रहित बैंकिङ्ग ईकाइहरुबाट १९ लाख ३० हजार ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।
सानिमा बैंकका ग्राहकहरुलाई चिरायु नेशनल अस्पतालमा छुट दिने सम्झौता
काठमाडौं । सानिमा बैंकले आफ्ना ग्राहकहरुलाई डिजिटल बैंकिङ्गका माध्यमहरु प्रयोग गरी डिजिटल भुक्तानीको प्रोत्साहन गर्न बसुन्धारा, काठमाडौंस्थित चिरायु नेशनल अस्पतालसंग छुटको व्यवस्था गरेको छ ।
उक्त व्यवस्था अन्तर्गत सानिमा भिसा डेबिट–क्रेडिट कार्ड तथा सानिमा मोबाइल बैंकिङ्ग (क्यूआर स्क्यान) मार्फत डिजिटल भुक्तानी गर्दा वेड र डाइग्नोस्टिक शुल्क तथा फामेर्सीको बिलमा १० प्रतिशतसम्मको छुट प्राप्त गर्न सक्नेछन् ।
बैंकले यसैगरी ग्राहकहरुलाई विभिन्न छुट तथा अफरहरु प्रदान गरी डिजिटल भुक्तानीको अधिकतम् प्रयोग गर्न प्रोत्साहन गर्दै आएको छ ।
सानिमा बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा एटिएमहरु संचालनमा रहेका छन् ।
होन्डाको दशैं योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक
काठमाडौं । नेपालका लागि होन्डा कारको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ्ग कम्पनी प्रा. लि. ले हिन्दूहरूको महान् चाड दशैंको अवसर पारेर आफ्ना ग्राहकहरूका लागि आकर्षक योजना ‘चंगा उड्छ फरर, होन्डा कारमा सरर’ सार्वजनिक गरेको छ ।
‘यो दशैं वेष्ट भ्यालु रोज्नुहोस्’ भन्ने नाराका साथ ल्याइएको यो योजना भदौ ७ देखि कार्तिक १४ सम्म नेपाल अधिराज्यभरका सबै होन्डा शोरूमहरूमा लागू हुनेछ । यस योजनाको मुख्य उद्देश्य चाडपर्वको समयमा गाडी खरिद गर्न चाहने ग्राहकहरूलाई उत्कृष्ट मूल्य र सेवा प्रदान गर्नु रहेको छ होण्डाको नेपालको आधिकारिक बिक्रेता स्याकार ट्रेडिङ कम्पनीले जनाएको छ ।
यस योजनाअन्तर्गत ग्राहकहरूले होन्डा कारको खरिदमा विभिन्न आकर्षक सुविधा प्राप्त गर्न सक्नेछन् । कम्पनीले रु. चार लाख सम्मको आकर्षक नगद छुटको व्यवस्था गरेको छ । यसका साथै, ग्राहकहरूले पाँच वर्षको लागि निःशुल्क सर्भिसिङ, एक वर्षको निःशुल्क फुल इन्स्योरेन्स र एक वर्षको लागि सडक करमा छुट जस्ता सुविधा पनि पाउनेछन् । पुराना गाडीसँग नयाँ होन्डा साट्न चाहने ग्राहकहरूका लागि रु. २५ हजार बराबरको एक्सचेन्ज बोनसको पनि व्यवस्था गरिएको कम्पनीको विज्ञप्तिमा उल्लेख छ ।
यसबाहेक, ग्राहकहरूले हरेक गाडीको खरिदमा निःशुल्क एसेसरिज, दुई वर्षको इन्जिन वारेन्टी, र एक पटकको लागि निःशुल्क रोडसाइड असिस्टेन्स जस्ता थप सुविधा पनि प्राप्त गर्नेछन् । यी सबै अफरहरूले ग्राहकहरूलाई होन्डा गाडीको स्वामित्व ग्रहण गर्दा पूर्ण मानसिक शान्ति र उत्कृष्ट अनुभव प्रदान गर्ने कम्पनीको विश्वास छ । यो योजना होन्डाका लोकप्रिय मोडेलहरू जस्तै होन्डा सिटी, सिटी ईःएचईभी, एलिवेट, अमेज, र सिटी फिफ्थ जेनेरेसन लगायतका गाडीहरूमा उपलब्ध हुनेछ ।
स्याकार ट्रेडिङ्ग कम्पनी विगत लामो समयदेखि नेपाली बजारमा उच्च गुणस्तरीय गाडी र उत्कृष्ट ग्राहक सेवा प्रदान गर्दै आएको कम्पनी हो जसले आफ्ना ग्राहकहरूको विश्वास जित्न सफल भएको छ ।
स्वास्थ्यमन्त्री पौडेल हैजा प्रभावित क्षेत्र अनुगमन गर्न वीरगञ्ज जाँदै
काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेल स्थलगत अनुगमनका लागि हैजा प्रभावित क्षेत्र वीरगञ्ज जाने भएका छन् ।
समुदायस्तरमै हैजा फैलिएपछि उनी दिउँसो २ बजे वीरगञ्ज जान लागेका हुन् । यसअघि खानेपानी मन्त्री हैजा प्रभावित क्षेत्र वीरगञ्जको स्थलगत अनुगमनका लागि पुगेका थिए । स्वास्थ्य सेवा विभागको टोली सहित मन्त्री यादव वीरगञ्ज पुगेका थिए ।
स्वास्थ्य मन्त्रालय स्रोतका अनुसार मन्त्री पौडेलले वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत हैजाका बिरामीहरूको स्वास्थ्य अवस्था, अस्पतालले दिइरहेको स्वा प्रवाहबारे अनुगमन गर्नेछन् ।
यसैगरी मन्त्री पौडेलले हैजा प्रकोप रोकथाम तथा नियन्त्रणका लागि भइरहेको प्रयासबारे वीरगञ्ज महानगरपालिकाका मेयर लगायत अन्य सरोकारवालासँग छलफल गर्ने कार्यक्रम छ ।
शुक्रबारयता वीरगञ्जमा ७१ जनामा हैजा संक्रमण पुष्टि भएको छ । वीरगञ्जका विभिन्न अस्पतालमा उपचाररत १६१ जना झाडापखलाका बिरामीमध्य ७१ जनामा हैजा संक्रमण पुष्टि भएको जिल्ला जनस्वास्थ्य कार्यालय पर्साले जनाएको छ ।
राज्यव्यवस्था तथा सुशासन समिति सभापतिका लागि निर्वाचनको मिति तय
काठमाडौँ । प्रतिनिधि सभा अर्न्तगतको राज्य व्यवस्था तथा सुशासन समिति सभापतिको निर्वाचन यही भदौ ११ गतेलाई तोकिएको छ।
सभामुख देवराज घिमिरेले सोमबार निर्वाचन तालिका तोकेका हुन्।
कुलिङ पिरियड सम्बन्धी विवादमा मुछिएपछि राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदबाट नेपाली कांग्रेसका सांसद रामहरि खतिवडाले गत साउन २८ गते राजीनामा दिएदेखि उक्त पद रिक्त छ। प्रतिनिधिसभा नियमावलीको नियम १७७ को उपनियम ५ मा संसदीय विषयगत समितिको सभापति पद रिक्त भएको १५ दिन भित्र निर्वाचन गरिसक्नुपर्ने व्यवस्था छ।
राष्ट्रपति पौडेल र भियतनामकी उपराष्ट्रपतिबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र नेपाल भ्रमणमा रहेकी समाजवादी गणतन्त्र भियतनामका उपराष्ट्रपति भो थि आन सुआनबीच भेटवार्ता भएको छ।
राष्ट्रपति पौडेलसँग भेटका लागि उपराष्ट्रपति सुआन शीतल निवासमा पुगेकी थिइन् ।
नेपाल(भियतनाम कूटनीतिक सम्बन्ध स्थापनाको ५० वर्ष पूरा भएको अवसरमा उपराष्ट्रपति यादवको निमन्त्रणामा भियतनामका उपराष्ट्रपति सुआन शुक्रबार नेपाल आएकी हुन्।
यसअघि उनले उपराष्ट्रपति यादव, प्रधानमन्त्रै केपी शर्मा ओली र परराष्ट्रमन्त्री आरजु राणा देउवासँग पनि भेटवार्ता गरेकी थिइन्। उनी आज स्वदेश फर्किँदै छिन् ।