नवलपरासी । एनआईसी एशिया बैंकका ग्राहकहरुलाई नवलपरासीमा रहेको लन्डन ब्रिज गार्डेन रिसोर्ट विशेष छुट उपलब्ध गराउने सम्बन्धमा रिसोर्ट र बैंकबीच सम्झौता सम्पन्न भएको छ । यस समझदारीसँगै बैंकका ग्राहकहरुले बर्दघाट, नवलपरासीमा रहेको रिसोर्टमा सेवा लिई डिजिटल भुक्तानी गर्दा १० प्रतिशत छुट प्राप्त गर्न सक्नेछन् ।
यस सुविधाको उपयोग गर्न ग्राहकहरुले एनआईसी एशिया बैंकको डेबिट कार्ड, क्रेडिट कार्ड वा प्रिपेड कार्ड प्रयोग गरी वा मोबैंक एपमार्फत भुक्तानी गर्नुपर्ने छ । रिसोर्टसँगको सहकार्यले ग्राहकहरुलाई छुट सुविधा उपलब्ध हुनुको साथै मुलुकको डिजिटल भुक्तानी सेवालाई प्रवर्द्धन गरी नगदरहित कारोबारमा सहयोग पुग्ने बैंकले विश्वास लिएको छ ।
एनआईसी एशिया बैंकका ग्राहकलाई लन्डन ब्रिज गार्डेन रिसोर्टमा विशेष छुट
एनएमबि बैंकका ग्राहकहरूलाई याडिया इलेक्ट्रिक स्कुटर किन्दा विशेष छुट
काठमाडौं । चाडपर्वको अवसर पारेर आफ्ना ग्राहकहरूलाई थप सुविधा प्रदान गर्ने उद्देश्यका साथ एनएमबि बैंक लिमिटेडले नेपालको याडिया इलेक्ट्रिक स्कुटरको आधिकारिक वितरक कुजु नेपालसँग विशेष सहकार्य गरेको छ ।
उक्त सहकार्य अन्तर्गत एनएमबि बैंकका ग्राहकहरूले याडिया ब्रान्डका स्कुटर खरिद गर्दा बैंकको कार्ड, मोबाइल बैंकिङ वा क्युआर मार्फत भुक्तानी गर्दा रु ५,००० को छुट प्राप्त गर्न सक्नेछन् ।
उक्त छुट कुजु नेपालद्वारा सञ्चालित याडिया शो–रुमहरूमा उपलब्ध हुने छ र यो छुट चाडपर्वको समयमा मात्र लागु हुनेछ, यस छुटले वातावरणमैत्री सवारीसाधनतर्फ ग्राहकको आकर्षणलाई बढावा दिने अपेक्षा गरिएको छ । छुट प्राप्त गर्नको लागी ग्राहकले भुक्तानी गर्नु अघि शो–रुमलाई जानकारी गराउनुपर्नेछ र एनएमबि बैंकको डिजिटल भुक्तानी माध्यम प्रयोग गर्नुपर्ने छ ।
एनएमबि बैंकले यस सहकार्यबाट आफ्ना ग्राहकहरूलाई थप लाभ प्रदान हुनुका साथै देशमा हरित ऊर्जा र दिगो सवारी प्रवद्र्र्धनमा टेवा पुग्ने विश्वास लिएको छ । साथै, बैंकले नगदरहित कारोबारलाई प्रवद्र्धन गर्न यस्ता ग्राहकमैत्री योजनाहरू निरन्तर ल्याउँदै आएको छ ।
बैंकले हाल देशभर २०२ शाखा, १८७ एटिएम र ९ विस्तारित काउन्टर मार्फत आफ्ना ग्राहकहरूलाई पहुँचयुक्त र नवीन वित्तीय सेवा प्रदान गरिरहेको छ ।
आज घरघरमा घटस्थापना गरिँदै
काठमाण्डौं । यस वर्षको बडादशैँ आजदेखि शुरु भएको छ । असोज शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म १५ दिन धूमधामका साथ दशैँ मनाउने गरिन्छ । बडादशैँको पहिलो दिन आज घरघरमा विधिपूर्वक दियो, कलश र गणेश स्थापनासहित घटस्थापना गरिन्छ । पूजा कोठा वा दशैँघरमा वैदिक विधि पूर्वक शक्तिकी अधिष्ठात्री देवी दुर्गाको आह्वान गरी पूजा आरम्भ हुन्छ ।
आज बिहानै नित्य कर्म समाप्त गरी नजिकको नदी वा चोखो स्थलबाट बालुवा वा माटो ल्याई गाईको गोबरले लिपपोत गरिएको पूजा कोठा अथवा दशैँ घरमा विधिपूर्पक राखेर त्यसमाथि यव अर्थात् जौ रोप्ने गरिन्छ । यस कार्यलाई जमरा राख्ने पनि भनिन्छ । घटस्थापनाको साइत अहिले बिहान ९ बजेर १३ मिनेटमा छ । आज विधिपूर्वक घर घरमा आह्वान गरी पूजा आराधना गरिने दुर्गा देवीलाई आउँदो १६ गते विजयादशमीका दिन विसर्जन गरी मान्यजनबाट प्रसादका रूपमा टीका, जमरा र फुलप्रसाद ग्रहण गर्ने गरिन्छ ।
मन्त्रीमा सिफारिस संगीता मिश्रको नाम काटियो
काठमाडौं । स्वास्थ्य मन्त्रीमा सिफारिसमा परेकी संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राखिएको छ । राष्ट्रपति कार्यालय स्रोतका अनुसार आइतबार राति पाँच जना मन्त्रीको नाम सरकारले सिफारिस गरेको थियो ।
सिफारिस गरिएको नाममध्ये एक संगीता मिश्रको नाम तत्कालका लागि होल्डमा राख्न फेरि आग्रह गरिएका कारण मन्त्रीहरु नियुक्ति हुन सकेको छैन । सरकारले फेरि नाम पठाउने कि त्यसैलाई सच्याउने भन्ने विषयमा अहिले परामर्श हुँदै गरेको ती अधिकारीले जानकारी दिए ।
मिश्राविरुद्ध अख्तियारमा भ्रष्टाचार सम्बन्धी मुद्दा रहेका कारण उनलाई तत्काल मन्त्री बनाउन नहुने निष्कर्षमा प्रधानमन्त्री सुशीला कार्कीसहितका मन्त्री पुगेको प्रधानमन्त्री कार्यालय स्रोतले जानकारी दियो ।
मन्त्रिपरिषद् विस्तारको तयारी, शपथ २ बजे
काठमाडौं । अन्तरिम सरकार प्रधानमन्त्री सुशीला कार्कीले आज मन्त्रिपरिषद् विस्तारको तयारी गरेकी छन् । नवनियुक्त मन्त्रीहरुको शपथका लागि आज दिउँसो दुई बजेको समय निर्धारण गरिएको छ ।
कार्कीले आइतबार पूर्वन्यायाधीश अनिलकुमार सिन्हा, राष्ट्रिय आविष्कार केन्द्रका संस्थापक महावीर पुन, अतिरिक्त स्वास्थ्य सचिव डा. संगीता मिश्र, पत्रकार जगदिश खरेललाई मन्त्रीका लागि सिफारिस गरेका समाचार सार्वजनिक भएका थिए । यद्यपि यी नाममा केही थपघट पनि हुनसक्ने सम्भावना रहेको स्रोत जनाउँछ ।
पूर्वप्रधानन्यायाधीश सुशीला कार्की गत भदौ २७ गते प्रधानमन्त्री नियुक्त भएकी थिइन् । हाल सरकारमा तीन जना मात्र मन्त्रीहरु छन् ।
४५ घण्टापछि एकतर्फी खुल्यो नारायणगढ–मुग्लिन सडकखण्ड
काठमाडौं । पहिरोले अवरुद्ध नारायणगढ–मुग्लिन खण्ड एकतर्फी सञ्चालनमा आएको छ।
पहिरो हटाइसकेकाले सवारी आवागमन सुरु भएको हो।
पहिरो खसेपछि गत शुक्रबारदेखि सडक पूर्णरुपमा अवरुद्ध भएको थियो। नारायणगढ र मुग्लिनतर्फबाट मेसिन प्रयोग गरी आज बिहान चार बजेदेखि पहिरो पन्छाउन सुरु गरिएको थियो।
आइतबार अपरान्ह सवा ४ बजेबाट राजमार्ग एकतर्फी सुचारु भएको छ।सडक डिभिजन भरतपुरले सडक दुईतर्फी खुलाउनको लागि डोजर, रोलर प्रयोग गरेर बाटो खुलाउने प्रयास गरिरहेको छ।
मन्त्री छान्न परामर्शमा प्रधानमन्त्री कार्की
काठमाडौं । जेनजी आन्दोलनपछि बनेको अन्तरिम सरकारकी प्रधानमन्त्री सुशीला कार्कीले मन्त्रिपरिषद्लाई पूर्णता दिन विभिन्न व्यक्तिहरूसँगको परामर्श तीव्र बनाएकी छन् । सरकार बनेको दश दिन भइसकेकाले छिटो चयन गर्न उनीमाथि दबाब बढेको छ ।
आन्दोलनको भावना, समावेशीता र सरकारको चुनावी मुख्य कार्यभार बहन गर्न सक्ने व्यक्तिहरूलाई उनले मन्त्रीमा ल्याउन चाहेकी छन् । त्यसका लागि राजनीतिक दलहरूमा आवद्ध नभएका व्यावसायिक छविका व्यक्तिहरू खोजेकी छन् । उनीहरूले केही व्यक्तिहरूलाई बोलाए र केहीलाई जेनजीका प्रतिनिधिहरू मार्फत् कुराकानी गरेकी छन् ।
उनले कुराकानी गरेकामध्ये केहीले सहयोग गर्ने वचन दिएका छन् । केही व्यक्तिहरूले हिले मन्त्रिपरिषद्मा बस्न नसक्ने जवाफ दिएका छन् । प्रधानमन्त्री कार्कीले आफ्नो समूहमा छलफल चलाएका केही नामहरू छन् । तीन नामबारे अहिलेसम्म राष्ट्रपति कार्यालयमा कुनै जानकारी पुगेको छैन ।
प्रधानमन्त्री कार्कीको समूहमा छलफल चलेका नामहरूमा पूर्व न्यायाधीश अनिलकुमार सिन्हा, मानव अधिकार आयोगकी पूर्वआयुक्त मोहना अन्सारी, वैज्ञानिक महावीर पुन, स्वास्थ्यकर्मी संगीता मिश्र, सञ्चारकर्मी जगदीश खरेल, सम्पदाकर्मी गणपतिलाल श्रेष्ठ, बब्लु गुप्ता, रक्षा बम लगायत छन् । तर यी नामहरू छलफलमा रहेपनि अन्तिम निर्णय हुन बाँकी छ ।
जेनजी युवाहरूले कतिपय नामहरूमा प्रश्न गरेकाले प्रधानमन्त्री कार्कीले उनीहरूको पृष्ठभूमिबारे थप खोजबिन गरिरहेकी छन् । जसका कारण आइतबारै मन्त्रीहरूको नियुक्ति हुने निश्चित छैन । राष्ट्रपति कार्यालयका अनुसार नाम आइसकेको छैन ।
प्रधानमन्त्री कार्कीले बढीमा ११ सदस्यीय मन्त्री बनाउने यसअघि नै घोषणा गरिसकेकी छन् । हालसम्म तीन जना मन्त्री बनिसकेका छन् । ११ सदस्यीय मन्त्रिपरिषद् बनाउने आफ्नो अडानमा उनी टिकिरहे अब ७ जना मन्त्री थपिन सक्छन् । तर प्रधानमन्त्री कार्यालयसहित २२ वटा मन्त्रालय रहेकाले त्यति संख्यासम्म मन्त्री बनाउनलाई कुनै बाधा छैन ।
थोरै मन्त्री बनाएर एउटैले धेरैवटा जिम्मेवारी दिने उनको नीती छ । त्यस नीति अन्तर्गत कुलमान घिसिङले तीन वटा मन्त्रालयको जिम्मेवारी सम्हालिरहेका छन् ।
अर्थमन्त्री रामेश्वर खनालले एउटा मात्र मन्त्रालयको जिम्मेवारी सम्हालेका छन् । ओमप्रकाश अर्याललाई गृह र कानुन गरी दुई मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्राधिकरणबाट हितेन्द्रदेव हटाइए
काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक हितेन्द्रदेव शाक्य पदबाट हटाइएका छन् ।
आइतबार बसेको मन्त्रिपरिषद् बैठकले शाक्यलाई हटाएर मनोज सिलवाललाई प्राधिकरणको नियुक्त गरेको अर्थमन्त्री रामेश्वर खनालले जनाए ।
शाक्यलाई जल तथा ऊर्जा आयोगको विशिष्ट श्रेणीको विशेषज्ञ पदमा नियुक्त गर्ने र रिक्त रहेको प्राधिकरणको कार्यकारी निर्देशक पदमा प्राधिकरणका पूर्व उपकार्यकारी निर्देशक इन्जिनियर मनोज सिलवाललाई नियुक्त गर्ने निर्णय गरिएको अर्थमन्त्री रामेश्वर खनालले जनाए ।
वाणिज्य बैंकहरुको निक्षेप ९४ अर्ब रुपियाँ बढ्यो, कर्जा प्रवाहमा ४३ अर्बको वृद्धि
काठमाडौं । चालु आर्थिक बर्ष २०८२–८३ को भदौ महिनामा वाणिज्य बैंकहरूको निक्षेप ९४ अर्ब रूपियाँले बढेको देखिएको छ ।
नेपाल बैंकर्स संघले तयार पारेको भदौ महिनाको कर्जा निक्षेप सम्बन्धी प्रारम्भिक तथ्यांकले यस्तो देखाएको हो । गत साउनमा निक्षेप ५२ अर्ब रुपियाँले घटेको थियो । भदौमा भने यो ९४ अर्ब रुपियाँले बढेको तथ्यांकमा उल्लेख छ ।
हाल नेपालमा २० वाणिज्य बैंक रहेका छन् । साउन मसान्तसम्म वाणिज्य बैंकहरुमा ६४ खर्ब ७९ अर्ब रुपैयाँ निक्षेप थियो । भदौ मसान्तसम्म आउँदा त्यो ६५ खर्ब ७३ अर्ब रुपियाँ पुगेको छ ।
तथ्यांकअनुसार भदौ १–६ गतेसम्ममा तीन अर्ब ८१ करोड रुपियाँ, भदौं ७–१३ गतेसम्ममा सात अर्ब १२ करोड रुपियाँ, भदौ १४–२० गतेसम्ममा १९ अर्ब ७९ करोड रुपियाँ, भदौ २० देखि २७ गतेसम्ममा ३६ अर्ब सात करोड रुपैयाँ र भदौ २८ देखि २१ गतेसम्ममा २७ अर्ब १५ करोड रुपियाँले निक्षेप बढेको छ । जेन जी आन्दोलन र निषेधाज्ञा ९भदौ २३–२७० को अवधिमा निक्षेप उच्च दरमा बढेको देखिन्छ ।
यस्तै, भदौमा सरकारको खर्च पनि उच्च थियो । साथै, रेमिट्यान्स आप्रवाह पनि उच्च छ । दशै मान्नका लागि विदेशमा रहेका नेपालीले यो बेला झन् धेरै रेमिट्यान्स पठाउछन् । त्यसले गर्दा निक्षेप उच्च दरमा बढेको देखिन्छ ।
यस्तै, वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह भने ४३ अर्ब रुपियाँले बढेको छ । गत साउनमा कर्जा प्रवाह ११ अर्ब रुपियाँले घटेको थियो । असार मसान्तसम्म वाणिज्य बैंकहरुको कुल कर्जा प्रवाह ४९ खर्ब ७५ अर्ब रुपियाँ थियो । साउन मसान्तसम्म आउँदा त्यो ४९ खर्ब ६४ अर्ब रुपियाँमा सिमित भएको थियो ।
भदौ मसान्तसम्म आउँदा त्यो ५० खर्ब सात अर्ब रुपियाँ पुगेको संघको तथ्यांकमा उल्लेख छ ।
भदौ १–६ गतेसम्ममा १० अर्ब ५३ करोड रुपियाँ, भदौ ७–१३ गतेसम्ममा आठ अर्ब ३६ करोड रुपियाँ, भदौ १४–२० गतेसम्ममा १० अर्ब ७५ करोड रुपियाँ, भदौं २१–२७ गतेसम्ममा चार अर्ब ९३ करोड रुपियाँ र भदौ २८–२७ गतेसम्ममा आठ अर्ब ६८ करोड रुपियाँले कर्जा प्रवाह बढेको छ ।
सागर डिष्टिलरीको आईपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाडौं। सागर डिष्टिलरी लिमिटेडको साधारण जनता लक्षित आईपीओमा आवेदन दिने आज अन्तिम दिन हो ।
कम्पनीले भदौ ३० गतेदेखि १०० रुपैयाँ अंकित दरमा ११ करोड ९० लाख रुपैयाँभन्दा बढीको ११ लाख ९० हजार ६४० कित्ता सेयर जारी गरेको हो । यसमा सामूहिक लगानी कोषका लागि ७२ हजार ६०० कित्ता र कर्मचारीहरुका लागि ४३ हजार ५६० कित्ता सेयर छुट्टाइएको छ । सर्वसाधारणले न्यूनतम १० कित्ता र अधिकतम १० हजार कित्तासम्म आवेदन दिन सक्नेछन् ।
आईपीओ खरिदका लागि आवेदन आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरूका शाखा र मेरो सेयरमार्फत दिन सकिन्छ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ । यसअघि कम्पनीले वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई लक्षित गरेर साउन २८ देखि भदौ १ गतेसम्म आईपीओ जारी गरिसकेको छ ।