काठमाडौं । निर्वाचन आयोगले मतदाता नामावलीमा नाम दर्ता गर्न अपिल गरेको छ ।
आयोगका सहसचिव एवम् प्रवक्ता नारायण प्रसाद भट्टराईले अपिल जारी गरेर २०८२ साल फागुन २० गतेसम्म १८ वर्ष उमेर पूरा हुने नागरिकहरू मतदाता नामावलीमा नाम दर्ता गर्न भनेको हो ।
नाम दर्ता स्थलहरूमा देखिएको सेवाग्राहीको अधिक चापलाई व्यवस्थापन गर्न र सहज रूपमा सेवा प्रवाह गर्नको लागि दैनिक ८०० भन्दा बढी नाम दर्ता भईरहेका जिल्लाहरूमा ६,६ घण्टाका दरले दुई सिफ्टमा दैनिक १२ घण्टा सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको आयोगले जनाएको छ ।
यसका लागि काठमाडौं उपत्यकाभित्रका तीन जिल्लाको हकमा राष्ट्रिय परिचयपत्र तथा पञ्जीकरण विभागबाट थप १४ जना दर्ता कर्मचारी खटाएर सेवा प्रवाह गर्ने व्यवस्था मिलाइएको छ ।
अन्य जिल्लाको हकमा सम्बन्धित जिल्लाका प्रमुख जिल्ला अधिकारीले सेवाग्राहीको चापका आधारमा थप जनशक्ति खटाउने गरी गृह मन्त्रालयमा पत्राचार गरिएको पनि आयोगले जनाएको छ ।
दुई सिफ्टमा मतदाता नामावली संकलन, नाम दर्ता गर्न आयोगको अपिल
जेनजी आन्दोलनमा पनि माओवादीले लडाकु प्रयोग गरेको शंकर पोखरेलको आरोप
बनेपा । नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले नेपालमा हाल देखिएका राजनीतिक अस्थिरता र जेन्जी आन्दोलनका पछिल्ला घटनाहरू ‘योजनाबद्ध षड्यन्त्रको परिणाम’ भएको जनाएका छन् ।
मंगलबार नेकपा (एमाले) बनेपा नगरपालिका कमिटी, काभ्रेद्वारा आयोजित कार्यक्रममा बोल्दै उनले नेपाल अझै बलियो र सक्षम राष्ट्र बन्न नसक्दा पटक–पटक प्रतिगमनको दुष्चक्रमा फसिरहेको जनाएका हुन् । ‘नेपाल बलियो र सक्षम राष्ट्र बन्न सकेको छैन । त्यसैले देश पटक–पटक प्रतिगमनको दुष्चक्रमा फस्ने गर्छ,’ उनले भने, ‘नेपाली समाजमा भ्रम सिर्जना गर्नेहरूले भ्रमकै खेती गरेर भदौ २३ र २४ का घटना गराए ।’
महासचिव पोखरेलका अनुसार, राजावादी शक्तिहरूले सो घटना चैत १५ गते नै गर्न चाहेका थिए, तर त्यतिबेला नसकेर पछि मात्रै उक्त योजना भदौमा कार्यान्वयन भएको हो । उनले माओवादी केन्द्र र अन्य शक्तिहरू पनि सो षड्यन्त्रको प्रतीक्षामा रहेका दाबी गरे । ‘म्याजिक नम्बर भएको ३२ सिटे माओवादी केन्द्र पनि त्यस अवसरको पर्खाइमा थियो,’ उनले भने, ‘जेलमा रहेका रवि लामिछानेको पार्टी पनि सो दिनको प्रतिक्षामा थियो ।’
महासचिव पोखरेलले भदौ २३ र २४ का घटनामा विभिन्न विदेशी शक्ति र संस्था समेत संलग्न रहेको दाबी गरे । ‘बाहिर देखिएका पात्र हेर्ने हो भने राजावादी, माओवादी, रास्वपा, बारबरा फाउन्डेसन र ओरिजिनल तिब्बतियन ब्लड ग्रुपलगायतका विदेशी शक्तिहरू भदौ २३ र २४ का घटनामा संलग्न थिए,’ उनको भनाइ छ, ‘वैधानिक सत्तालाई कमजोर बनाएर देशमा अस्थिरता ल्याई आफ्नो अनुकूल लाभ लिने योजनाअनुसार नै केपी ओली नेतृत्वको सरकार ढालिएको हो ।’
उनले राज्यका सबै निकायले सन्तुलनमा रही काम गर्न नसक्दा देश अस्थिर हुँदै गएको धारणा राखे । ‘राष्ट्रको सही गन्तव्यका लागि सबै निकाय सन्तुलित हुनुपर्छ, तर नेपालमा त्यो अवस्था बनेको छैन,’ उनले भने ।
महासचिव पोखरेलले माओवादी देशको लागि सधैँ समस्या भएर उभिएको जनाए । ‘माओवादी समाधान होइन, यो देशको समस्या हो । जेन्जी आन्दोलनमा पनि माओवादीले आफ्नो हिस्सा माग्यो, भदौ २३ र २४ का घटनामा आफ्ना पुराना लडाकुहरू प्रयोग गरेका आरोप लगाए ।’
उनले देशलाई स्थायित्व र विकासको मार्गमा लैजान कम्युनिष्ट आन्दोलन र समाजवादकै मार्ग उपयुक्त रहेको स्पष्ट पारेका छन् । ‘देशलाई सही बाटोमा फर्काउन प्रतिनिधि सभा पुनःस्थापना आवश्यक छ,’ उनले भने, ‘यो सरकारले चुनाव गराउन सक्दैन, यो सरकार त्यसका लागि बनेको पनि होइन ।’
पोखरेलले अहिलेका केही राजनीतिक दल र नेताहरूले चुनावको नाममा देशलाई फेरि अस्थिरताको दिशामा धकेल्न खोजिरहेका टिप्पणी गरे । ‘फेरि आक्रमणको डरले केही दल र नेताहरू चुनावको पक्षमा उभिएका छन्, तर यो सरकार चुनाव गराउन बनाइएको होइन,’ उनले जोड दिए ।
महासचिव पोखरेलले भदौ २३ का दिन विद्यालय ड्रेसमा विद्यार्थीहरूलाई माइतीघर मण्डलामा लैजाने कार्यसमेत योजनाबद्ध रूपमा भएको दाबी गरे । ‘त्यो दिन विद्यालयका विद्यार्थीहरूलाई बोर्डिङ स्कुलहरूले माइतीघरमा ल्याएर छाडियो, त्यो किन गरियो ?’ उनले प्रश्न गरे, ‘पानी बाँड्न गएका सुधन गुरुङ कसरी जेन्जी आन्दोलनका वार्ताकार बने ? त्यो काम बारबरा फाउन्डेसन र फ्रि तिब्बत अभियानमार्फत भएको अब सार्वजनिक भइसकेको छ ।’
उनले एमालेलाई अब निर्णायक राष्ट्रिय शक्ति बनाउने लक्ष्यका साथ अगाडि बढ्नुपर्ने जनाए । ‘अब एमालेलाई निर्णायक राष्ट्रिय शक्ति बनाउनु जरुरी छ,’ उनले निष्कर्ष निकाले, ‘त्यही शक्तिले मात्र देशलाई वर्तमान संकटबाट निकास दिन सक्छ । कोही निराश र हतास हुनुपर्ने छैन, अब जनताका बीचमा गएर जनताका कुरा सुन्ने हो आफ्ना कुरा भन्ने हो ।’
पार्टीका केही साथीहरुको प्रवृत्ति आत्माघाती रहेको डा.महतको आरोप
काठमाडौं । नेपाली कांग्रेसका प्रवक्ता प्रकाश शरण महतले पार्टीभित्र सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने, आफ्नैलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति रहेको आरोप लगाएका छन् ।
पार्टी केन्द्रीय कार्यसमितिको मंगलबारको बैठकमा सञ्चारकर्मीहरुसँगको कुराकानीमा उनले सार्वजनिक रुपमा, सामाजिक सञ्जालमा लाञ्छना लगाउने प्रवृत्ति आत्माघाती रहेको धारणा राखे ।
उनले भने,‘हाम्रो पार्टीभित्र सार्वजनिक रुपमा,सामाजिक सञ्जालमा लाञ्छना लगाउने आफ्नै साथीभाईलाई होच्याउने र नियोजित रुपमा त्यसको प्रयोग गर्ने प्रवृत्ति छ, त्यो आत्माघाती छ । अहिले संकटको बेला पार्टी एकजुट भएर निर्वाचनमा होमिनुपर्छ । ’
त्यस्तै उनले महाधिवेशनको विषयमा केही निर्णय भइनसकेको भन्दै बैठकको अन्तिम दिनसम्म सबैको एकमत निर्णय आउने जानकारी दिए । राष्ट्रिय निर्वाचनको संघारमा आन्तरिक निर्वाचन उपयुक्त नहुने उनको भनाई छ ।
‘यतिबेला महाधिवेशन प्रमुख विषय बनेको छ । १५ औं अधिवेशन गर्नुपर्छ भन्नेमा सबैको एकमत छ । तर राष्ट्रिय निर्वाचनको संघारमा हाम्रो आन्तरिक निर्वाचन कति उपयुक्त छ र सँगै त्यसको लागि यथेष्ट छलफल पुगेको छैन् । बैठकको अन्तिमसम्म एकतापूर्ण निष्कर्षमा हामी पुग्छौं,’ उनले भने ।
सानिमा रिलायन्स लाइफको स्टार एजेन्सी मिट–२०८२ः उत्कृष्टलाई सम्मान, सयौं अभिकर्ता लाभान्वित
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले आर्थिक वर्ष २०८१, ८२ मा उत्कृष्ट व्यवसाय गर्न सफल अभिकर्ताहरूलाई पुरस्कृत गर्नुका साथै प्रदेश स्तरीय प्रोत्साहनको कार्यक्रम स्टार एजेन्सी मिट–२०८२ सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजन प्रदेशमा सम्पन्न गरेको छ। सुदूरपश्चिम प्रदेश र नेपालगञ्ज रिजनका अभिकर्ताहरू मध्ये प्रथम बीमाशुल्क संकलन, बीमालेख संख्या र टीम व्यवसाय विधामा उत्कृष्ट ३ भित्र पर्न सफल स्टार एजेन्सीहरूलाई विशेष सम्मान गरिएको हो।
सुदूरपश्चिम प्रदेशमा र नेपालगञ्ज रिजन आयोजित कार्यक्रममा उल्लेखनीय सहभागिता देखिएको थियो। सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा प्रमुख कार्यकारी अधिकृत (सीईओ) शिवनाथ पाण्डे, प्रमुख व्यवसाय अधिकृत गुणराज श्रेष्ठ, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित ३०० भन्दा बढी सहभागीहरू उपस्थित रहेका थिए।
साथै नेपालगञ्जमा सम्पन्न कार्यक्रममा नायब प्रमुख कार्यकारी अधिकृत निराजन कँडेल, प्रमुख व्यवसाय अधिकृत सन्दीप कसजु, क्षेत्रीय प्रबन्धक, एरिया म्यानेजर र शाखा प्रमुख सहित २०० भन्दा बढी अभिकर्ता तथा कर्मचारीहरू उपस्थित रहेका थिए। दुवै कार्यक्रम उत्साहपूर्ण वातावरणमा सम्पन्न भएको र अभिकर्ताहरूले नयाँ ज्ञान र प्रेरणा प्राप्त गरेको जनाएका छन्।
नेपालगञ्ज क्षेत्रमा आयोजित कार्यक्रममा ट्रेनर अर्णिको सिंहले बीमा व्यवसायमा सफल हुन आवश्यक सीप, आत्मविश्वास र सकारात्मक सोचका विषयमा प्रशिक्षण सञ्चालन गरेका थिए। त्यस्तै सुदूरपश्चिम प्रदेशमा सम्पन्न कार्यक्रममा ट्रेनर सैयद अफजल अहमदले अभिकर्ताहरूलाई ग्राहकसँग प्रभावकारी संवाद, बिक्री कलाको सुधार र दीर्घकालीन व्यवसायिक सम्बन्ध निर्माणका उपायहरूबारे उपयोगी प्रशिक्षण दिएका थिए।
कार्यक्रममा कम्पनीका सीईओले गत आर्थिक वर्षमा सानिमा रिलायन्सले ७०० करोड रुपैयाँभन्दा बढीको व्यापार संकलन गरेको जानकारी दिएका थिए। साथै सानिमा रिलायन्सको सफलतामा एजेन्सी मेनेजरहरूको हात महत्वपूर्ण रहेको जनाएका थिए। उनले भने, “यो पेशा सेवा गर्ने पेशा हो, सुखदुःखमा साथ दिने पेशा हो त्यसैले यसलाई मर्यादासँग अघि बढाउनुपर्छ।”
कम्पनीका नायव प्रमुख कार्यकारी अधिकृतले जीवन बीमा व्यवसायमा बीमा सल्लाहकारहरूको महत्व र अपरिहार्यता माथि प्रकाश पार्दै कार्यक्रमबाट सिकेका कुराहरूलाई व्यवहारमा उतारेर यस वर्ष कम्पनिलाई अझै नयाँ उचाईमा पुर्याउनु पर्ने जनाएका थिए।
आइएमई लिमिटेडको २५औं वार्षिक साधारणसभा सम्पन्न
काठमाडौं। आइएमई लिमिटेडको २५औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । कात्तिक २५ गते मंगलबारका दिन काठमामण्डौमा कम्पनीको साधारण सभा सम्पन्न भएको हो ।
कम्पनीका स्थापक तथा अध्यक्ष हेमराज ढकालको अध्यक्षतामा सम्पन्न साधारण सभामा अध्यक्ष ढकालले वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सभाले सो वार्षिक प्रतिवेदन सर्वसम्मत रूपले पारित गरेको छ ।
सभामा अध्यक्ष ढकालले रेमिट्यान्स सेवा उद्योग क्षेत्रमा अग्रणी कम्पनीको रूपमा रहेको आइएमई लिमिटेड सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा रहन सफल भएकोमा सम्बद्ध सबैमा हार्दिक बधाई एवं शुभकामना व्यक्त गरे । अध्यक्ष ढकालले २५ औं वर्षमा व्यावसायिक हिस्सा बिस्तार गर्दै नयाँ प्रविधि एव रणनीतिका साथ आगामी दिनहरूमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
सभामा आइएमईका संस्थापक अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्र प्रसाद ढकालले २५ औं वर्षमा आइएमई लिमिटेड थप परिपक्व बन्दै नागरिकको जिवनस्तर सुधार र उद्यमशीलता विकासमा योगदान पुर्याउदै सर्वाधिक लोकप्रिय ब्रान्डको रूपमा स्थापित हुनु गौरवपूर्ण क्षण रहेको जनाए ।
आइएमई लिमिटेडका प्रमुख कार्यकारी अधिकृत दिवाकर पौडेलले आगामी दिनमा वित्तीय प्रविधिको अधिकतम उपयोग गर्दै रेमिटेन्स सेवालाई थप सरल र सहज र सुरक्षित बनाउँदै लैजाने जनाए । प्रमुख कार्यकारी दिवाकर पौडेलले राष्ट्रिय र अन्तर्राष्ट्रिय बजारमा आइएमईको पहिचानलाई थप उचाइमा पुर्याउन सफल रहने विश्वास पनि व्यक्त गरे ।
कुमारी बैंकको ‘एक खाता, एक रुख’ योजना पर्यावरणीय योगदानसहित उच्च ब्याज र विशेष सुविधा
काठमाडौँ । दिगो विकासका लक्ष्यहरु प्राप्तीका राष्ट्रिय तथा अन्तराष्ट्रिय प्रतिबद्धताहरुलाई आफ्नो सेवा, सुविधा, प्रक्रिया तथा व्यवसायिक साझेदारीहरु मार्फत टेवा पुर्याउन अग्रसर कुमारी बैंकले ग्रिन सेभिङ्गस डिपोजिट अकाउन्ट नामक निक्षेप योजना ल्याएको छ ।
“एक खाता एक रुख” सिद्धान्तमा आधारित यो योजना अन्तर्गत खोलिने हरेक खाता बापत एक रुख बैंकका तर्फबाट रोपिने हुनाले प्रत्येक निक्षेपकर्ताहरुकोे पर्यावरण संरक्षण तथा प्रवद्र्धनमा अप्रत्यक्षरुपमा सहभागिता रहनुका साथै खातावालहरुले निम्नानुसारका आकर्षक सुविधाहरु समेत प्राप्त गर्ने छन् ।
– साधारण बचत खाताको भन्दा ०.२५ प्रतिशत अधिक ब्याजदर
– एक लाख सम्मको बिमा सुविधा
– दुई वर्ष सम्म निःशुल्क मोबाइल बैकिङ्ग सेवा
– दुई लाख सम्मको फोनलोन सुबिधा (योग्यता अनुसार)
– यस योजना अन्तर्गत खोलिएका प्रत्येक खाता बापत एक रुख रोपिने
यस योजनाबाट संकलन हुने निक्षेपलाई दिगो विकास प्रवद्र्धन गर्ने, पर्यावरणलाई सकरात्मक प्रभाव सृजना गर्ने क्षेत्रहरुमा कर्जा प्रवाह गर्ने तथा प्रत्येक खाता बापत एक रुख रोप्ने भएकोले यस अभ्यासबाट वातावरण संरक्षणमा दोहोरो प्रभाव सृजना हुने बैंकका दिगो बैकिङ्ग विभागका प्रमुख अर्पण पौडेलले जनाएका छन् । बैंकले सबै शाखाहरूमा यो योजना उपलब्ध गराएको छ र इच्छुक ग्राहकहरूले बैंकको वेबसाईट वा नजिकको शाखामा सम्पर्क गरी विस्तृत जानकारी लिन सक्नेछन् ।
विगत २४ वर्ष देखि निरन्तर बैंकिङ्ग सेवा दिदै आएको कुमारी बैंकले अनवरतरुपमा वित्तिय साक्षरता प्रवद्र्धन तथा दिगो विकासका अन्य लक्ष्यहरु हसिल गर्न संस्थागत सामाजिक उत्तरदयित्व अन्तर्गत विभिन्न परियोजनाहरुमा सहभागि हुदै देशभर रहेका अफ्नो ३०२ शाखा सञ्जाल, ३१७ एटिएम, ५० एक्सटेन्सन काउन्टर तथा ४८ शाखा रहित बैंकिङ्ग ईकाईहरु मार्फत आफ्ना ग्राहकवर्गलाई अत्याधुनिक तथा प्रभावकारी सेवाहरु प्रदान गर्दै आइरहेको छ र आगामी दिनहरुमा पनि अझ सरल, सुलभ तथा उत्कृष्ट सेवाका निमित्त सहकार्यहरु गर्दै जाने समेत प्रतिबद्धता जनाएको छ ।
महालक्ष्मी विकास बैंक र दराज नेपालबीच ११.११ अभियानको लागि सहकार्य
काठमाडौं । महालक्ष्मी विकास बैंक र दराज नेपाल बीच ११.११ अभियानको लागि ग्राहकहरुलाई विशेष अफर र लाभहरु प्रदान गर्ने गरी सहकार्य भएको छ ।
११.११ को रुपमा विश्वव्यापी रुपमा नै मनाइने यस अभियानमार्फत महालक्ष्मी विकास बैंकले प्रदान गर्दै आएका डिजिटल बैंकिङ्ग सुविधाहरुलाई अझ विस्तार गर्दै जाने निति अनुरुप दराज नेपालसँग सहकार्य भएको हो ।
यस सहकार्य अन्तर्गत २०८२ कात्तिक २५ गते देखी २०८२ मंसिर ५ गते सम्मको लागि लागु हुने गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड तथा क्रेडिट कार्ड लिएका गा्रहकहरुले दराज नेपाल मार्फत सामान खरिद गर्दा विशेष छुट प्राप्त गर्न सक्नेछन् ।
ग्राहकहरुले डेबिट कार्डबाट भुक्तानी गर्दा १५ प्रतिशत वा अधिकतम रु. १५०० सम्म छुट तथा क्रेडिट कार्डबाट भुक्तानी गर्दा २० प्रतिशत वा अधिकतम रु. २००० सम्म छुट प्राप्त गर्न सक्नेछन । छुटको लागि ग्राहकहरुले दराजबाट भौचर संकलन गर्नुपर्नेछ ।
योजना अवधीभर सहभागी हुने ग्राहकहरुलाई पहिलोलाई प्राथमिकतामा राखी छुट प्रदान गरिनेछ । यस प्रकारका समझदारीबाट ग्राहकहरुसँग डिजिटल रुपमा जोडिन, ग्राहकहरुको भुक्तानी प्रक्रियालाई सुनिश्चित गर्न तथा डिजिटल नवप्रवर्तनको माध्यमबाट ग्राहक सन्तुष्टिलाई बढवा दिन सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरुले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफुले खरिद गरेको टुर प्याकेजको मुल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधी रहने गरी मासिक रुपमा भुक्तान गर्न मिल्ने गरी रुपान्तरण गर्न समेत सक्नेछन् ।
कुलमान घिसिङको पार्टी ‘उज्यालो नेपाल’ दर्ता हुँदै
काठमाडौं । पूर्वसचिव अनुपकुमार उपाध्यायको नेतृत्वमा कुलमान घिसिङको पार्टी दर्ता हुने भएको छ ।
तत्कालका लागि उपाध्यायको नेतृत्व रहने भए पनि सरकारबाट हटेपछि घिसिङ पार्टी प्रमुख हुने जनाईएको छ ।
पार्टीको दर्ता प्रक्रिया आज टुंगो लगाउने उपाध्यायको भनाइ छ । पार्टी दर्ताका लागि आज निर्वाचन आयोगमा जाने उपाध्यायले जानकारी दिए ।
पार्टीको नाम ‘उज्यालो नेपाल’ रहनेछ । चुनाव चिह्न बलिरहेको चिम रहनेछ ।
यसअघि साउन २७ गते नै यो पार्टी दर्ताका लागि ज्ञानबहादुर तामाङले निर्वाचन आयोगमा निवेदन दिएका थिए । तर, आयोगले थप विवरण उपलब्ध गराउन भनेको थियो ।
भारतको बिहारमा दोस्रो चरणको विधानसभा चुनाव आज
काठमाण्डौं । भारतको बिहारमा आज मंगलबार दोस्रो र अन्तिम चरणको विधानसभा निर्वाचन हुँदैछ । बिहान ७ बजेदेखि बेलुकी ५ बजेसम्म मतदान तालिका भएकाले मतदाता मतदानमा सहभागी हुँदैछन् ।
पूर्वी नेपालसँग सीमा जोडिएका जिल्लासहित २० जिल्लाका १२२ विधानसभा निर्वाचन क्षेत्रमा मतदान सुरु भएको छ । निर्वाचनमा एक हजार ३०२ उम्मेदवारले प्रतिस्पर्धा गरिरहेका छन् ।
३ करोड ७० लाखभन्दा बढी मतदाता मतदानमा सहभागी हुने अपेक्षा गरिएको छ। तीमध्ये १ करोड ७५ लाख महिला छन् । ४५ हजार ३ सय ९९ मतदान केन्द्रमा मतदान व्यवस्था मिलाइएको छ । ४० हजार ७३ मतदान केन्द्र ग्रामीण क्षेत्रमा छन् ।
नोभेम्बर ६ मा १८ जिल्लाका १२१ निर्वाचन क्षेत्रमा पहिलो चरणको मतदान भएको थियो । मतदानमा ६५.०८ प्रतिशतले मतदान गरेका थिए ।
बिहारको विधानसभा निर्वाचनका लागि नेपालसँग जोडिएका नाकाहरु बन्द गरिएका छन् ।
आज कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ ।
पूर्वमन्त्री तथा पार्टीका पूर्वकेन्द्रीय सदस्य मोहम्मद अफताब आलमको निधन भएपछि बैठक दुई दिन स्थगित भएको थियो ।
बैठक बिहान साढे ११ बजे पार्टी कार्यालयमा बस्ने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।
गत असोज २८ गतेबाट जारी केन्द्रीय कार्यसमिति बैठकमा पार्टीको १५ औं महाधिवेशनबारे छलफल भइरहेको छ । महाधिवेशन कहिले गर्ने भन्नेबारे बैठकमा नेताहरूले धारणा राखिरहेका छन् ।

















