Page 3

पूर्वसभामुख महरालाई २० लाख धरौटीमा छाड्न उच्चको आदेश

काठमाण्डौं । उच्च अदालत पाटनले पूर्वसभामुख कृष्णबहादुर महरालाई धरौटीमा छाड्न आदेश दिएको छ ।
न्यायाधीशद्वय तेजेन्द्रप्रसाद शर्मा र अर्जुनप्रसाद कोइरालाको संयुक्त इजलासले महरालाई २० लाख धरौटीमा छाड्न आदेश दिएको हो ।
काठमाण्डौं जिल्ला अदालतले असोज २९ गते महरालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश दिएको थियो ।
भेप भित्र ९ किलो सुन लुकाएर तस्करी गरेको आरोपमा महरालाई सीआईबीले पक्राउ गरी अनुसन्धान अघि बढाएको थियो ।
२०७९ पुस १० गते, फ्लाई दुबईको एफजेड ०५८७ नम्बरको विमानमार्फत काठमाण्डौं आएका चिनियाँ नागरिक लि हानसोङले २ वटा सुटकेशमा ७३ बट्टा (७३० थान भेप) ल्याएका थिए। ती भेपभित्र ८ करोड ५५ लाख २८ हजार ३७४ रुपैयाँ बराबरको सुन लुकाइएको पाइएको थियो।
भन्सारका तत्कालीन नासु रेवन्त खड्कालगायतको मिलेमतोमा उक्त सुन बेचिएको खुलेको छ। अनुसन्धानका क्रममा महराले भन्सारमा दबाब दिएको प्रमाण फेला परेको जनाईन्छ।
सोही प्रकरणमा उनका छोरा राहुल महरा पक्राउ परेर कारागार चलान भइसकेका थिए।

सक्रियता, समर्पण र विश्वास—बीमा क्षेत्रमै सफलताको शिखर चुमेकी एक अभिकर्ताको कथा

काठमाडौं। चितवन खैरेनीटारकी ममता मिश्र पेसाले शिक्षक हुन्। स्नातक तहको अध्ययन पूरा गरेपछि
उनले निजी स्कुलमा वर्षौँ शिक्षण गरिन्। शिक्षणप्रति गहिरो रुची भएकी ममताको निजी स्कुलमा पढाउदा
खासै आकर्षक पारिश्रमिक भने थिएन। यसै क्रममा दिदि कविता न्यौपानेको सुझावले उनको जीवनले नयाँ
मोड लियो, बीमा अभिकर्ताको रूपमा।
कविताले ‘तिम्रो स्कुलमा विद्यार्थीका अभिभावकसँग राम्रो सम्बन्ध हुन्छ, अभिकर्ता पेशा तिम्रो लागि
एकदमै उपयुक्त हुन्छ’ भनेर दिएको सल्लाहले उनलाई निकै छोयो। दिदिको मार्गदर्शनअनुसार उनले
तत्कालीन सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सबाट अभिकर्ता लाइसेन्स लिइन् र अभिभावकका घर–घर
धाउन थालिन्। विद्यार्थीको भविष्य सुरक्षित गर्न चाहने अभिभावकहरूलाई प्रत्यक्ष भेटेर बुझाउँदा उनका
प्रस्तावहरू अस्वीकार हुने प्रश्न नै आएन। यसै सक्रियताले उनि सानिमा रिलायन्समा सबैभन्दा धेरै बीमा
पोलिसी बिक्री गर्ने अभिकर्तामध्ये पर्न सफल भइन्। काम सुरु गरेको पहिलो महिनामै उनी एजेन्सी
म्यानेजरमा नियुक्त भइन्।
स्नातक तहसम्म अध्ययन पूरा गरेकी ममता निजी विद्यालयमा लामो समय काम गरिन्। अहिले भने
उनि एउटा सरकारी स्कुलमा पढाउदै आइरहेकी छिन्।
२०७७ देखि निरन्तर सफलताको यात्रा
अभिकर्ता बनेको पहिलो वर्षमै २०७७ मा उनी कम्पनीबाट विभिन्न अवार्ड जित्न सफल भइन्। “मैले २०७७
सालमै पहिलो एजेन्सी म्यानेजर अवार्ड पाएँ,” उनी गौरवका साथ सम्झन्छिन्। ममताको दिनचर्या व्यस्त
छ। उनी महिनामा कम्तीमा ६, ७ जनाको बीमा गराउँछिन्। शिक्षक भएकै कारण उनि प्रति अभिभावकको
विश्वास बलियो छ।
उनमा कहिल्यै पनि ठुला ठुला बीमा गराएर कम्पनीले दिने ठुला ठुला टार्गेट पुरा गर्ने महत्वकांक्षा
पलाएन। १० हजार नै प्रिमियम किन नहोस् पछ्याउन छाड्दिनन्। अभिकर्ता पेशाबाट हुने सानो सानो
आम्दानीले पनि उनलाई सन्तुष्ट बनाउछ।
उनको ध्यान प्रिमियम बढाउन भन्दा पनि ‘कसरी हुन्छ धेरै परिवारले बीमा सुरक्षामा जोड दिने’ भन्नेमा
हुन्छ। विद्यार्थीलाई केन्द्रमा राख्ने भएकाले उनका धेरै पोलिसी साना–साना प्रिमियमका हुन्छन्। तर, संख्यामा
भने उनी कहिल्यै पछाडि परिनन्। उनका कुनै वर्षमा पनि ५० भन्दा कम पोलिसी जारी भएको अनुभव
छैन।
यसले गर्दा सानिमा रिलायन्स लाइफको टाडी शाखामा उनी सधैँ दोस्रो शीर्ष बीमा अभिकर्तामा पर्छिन्।
पहिलो स्थानमा हुने कल्पना विष्ट जस्तै, ममता पनि कम्पनी भित्र पुरै नेपालकै अग्र अभिकर्ताभित्र पर्छिन्।
विद्यार्थीमार्फत अभिभावकलाई जोड्ने अनौठो तरिका
ममताको काम गर्ने शैली अरु भन्दा केही फरक छ। धेरै अभिकर्ताले साथी–भाइ वा आफन्तलाई लक्षित
गर्छन्। तर ममता भने विद्यार्थीमार्फत उनीहरूको अभिभावकलाई भेट्छिन्। अभिभावकमा पनि आमा बुबा
दुवैलाई एकैसाथ बीमाको महत्व बुझाउँछिन्। उनी बीमालाई ‘बचत’ को रूपमा प्रस्तुत गर्छिन् “बीमा भनेको
बचत हो,” उनी भन्छिन्, “पोलिसी परिपक्व हुँदा भविष्यमा छोराछोरीको उच्च शिक्षा तथा सामाजिक कार्य
विवाह लगायतका अनिवार्य खर्च गर्दै पर्ने कुरामा ठूलो सहयोग हुन्छ।”
यसरी बीमाबाट प्राप्त हुने बचत मात्र होइन, भविष्यमा हुनसक्ने दुर्घटना तथा घातक रोगको कभरेज बारे
पनि उनी अभिभावकलाई विस्तृतमा जनाउँछिन।
‘मेरो मुटु जीवन बीमा’ उनको सबैभन्दा मन पर्ने पोलिसी
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको ‘मेरो मुटु जीवन बीमा’ योजना उनी अभिभावकलाई सबैभन्दा धेरै
सुझाउँछिन्। अघिल्लो ग्राहकहरूसँग कहिलेकाहीँ सम्पर्क टुट्ने अन्य अभिकर्ताभन्दा फरक, ममता भने
आफ्ना विद्यार्थीमार्फत निरन्तर सम्पर्कमा रहन्छिन्। त्यसैले उनी अभिकर्ता क्षेत्रमा ‘सदावहार सक्रिय’
मानिन्छिन्।
उनको सफलताको सूत्र सरल छ “सबैभन्दा पहिले म मेरा विद्यार्थीको घरमा जान्छु, आर्थिक अवस्था बुझ्छु,
अनि मात्र बीमालाई बचतका रूपमा बुझाउँछु।”
विद्यार्थी र अभिभावकसँगको विश्वासकै कारण ममताले अभिकर्ता पेशालाई केवल अतिरिक्त आम्दानीका
रूपमा होइन, भविष्य सुरक्षित गर्न सहयोग पुर्‍याउने सेवाको रूपमा बुझेकी छिन्। आज ममता मिश्र केवल
एक शिक्षक वा अभिकर्ता मात्र होइनन्, उनी त्यस्ता व्यक्तिमध्ये एक हुन् जसले आफ्नो समुदायमा वित्तीय
सचेतना फैलाउँदै, एक–एक परिवारको भविष्य सुरक्षित गर्ने उद्यम जारी राखेकी छिन्।
“अहिले अलिअलि गरेर गरिएको बचत भोलि गएर धेरै हुन्छ, जसले तपाईंको बच्चाको भविष्यमा ठूलो
सहारा बन्छ,” ममता जनाउँछिन। अभिभावकलाई उच्च शिक्षा, विवाह तथा अन्य महत्वपूर्ण खर्चका लागि
ऋण नखोज्नु पर्ने यथार्थ उदाहरणसहित बुझाएपछि धेरै परिवारहरू सजिलै कन्भिन्स हुने उनको अनुभव
छ। विशेषतः उनी स्कुलमै अभिभावक भेट्न सफल नहुँदा घरघरमै पुगेर बीमा सिकाउने गर्छिन्, जसले
उनको दैनिकी अत्यन्त व्यस्त तर फलदायी बनाइदिएको छ।
उनी भन्छिन्, “म कसैको घरमा एक जना मात्र हुनुहुन्छ भने बीमा गराउँदिनँ, श्रीमान–श्रीमती दुवैलाई
बुझाएर मात्र प्रक्रिया अगाडि बढाउँछु।” आर्थिक विषय संवेदनशील हुने भएकाले परिवारभित्र पैसाकै कारण
मनमुटाव नहोस् भन्ने उनको सोच हो। त्यही कारणले उनी स्कुल समय बाहेक पूरै समय बीमामा नै
समर्पित हुन्छिन्। स्कुल सकिएपछि उनी बीमित परिवारको घरमै पुगेर बीमा पढाउँछिन् र दिनमा दुई–तीन
परिवार भेट्ने लक्ष्य पूरा नगरी घर फर्किन्नन्।
उनको सफलताको सबभन्दा ठूलो आधार भने परिवारकै साथ रहेको उनी जनाउँछिन। सासु ससुरा र
श्रीमानको सहयोगले उनलाई हरेक चुनौती पार गर्न सजिलो भएको उनको अनुभव छ। श्रीमान केही वर्ष
जापान बसेर अहिले नेपालमै मौरी पालन व्यवसायमा छन्। बीमासम्बन्धी कुनै असहज परिस्थिति आयो
भने श्रीमानले नै सहज बनाइदिने, बैठकमा लैजाने–ल्याउनेदेखि लिएर आवश्यक समाधान खोजिदिदा उनको
जीवन शैली निकै सहज भएको छ।
उनले कहिल्यै पनि एमडिआरटी बन्ने वा ठूलो रकमको पोलिसी भित्र्याउने महत्त्वाकांक्षा बनाइनन्। उनी
सामान्य आय भएका घरपरिवारमै बढी पुग्छिन्, यही कारणले जारी पोलिसी संख्यामा उनी सधैं
अग्रस्थानमा रहन्छिन्। बीमा शुल्क आर्जनमा धेरै अगाडि नहुँदासमेत यही नै आफ्नो विशेषता भएको
जनाउँदै उनी भन्छिन्, “म धेरैभन्दा धेरै घर परिवारमा पुगेर विद्यार्थीहरूको बीमा गराउन चाहन्छु।” उनको
लक्ष्य एक हजारभन्दा धेरै बालबालिकालाई बीमाको दायरामा ल्याउने छ, र अन्ततः जीवनकै अन्तिम पेशा
नै बीमा बनाउने सोच उनले बनाइसकेकी छन्।
उनी विगत केही वर्षमा धेरै स्कुल र समुदायका बालबालिकाको बीमा गराइसकेकी छन्। यसक्रममा उनलाई
विश्वास गर्ने, सम्मान गर्ने र घरमा बोलाएर चिया खान आग्रह गर्ने व्यक्तिहरूको संख्याको कमि छैन।
सानिमा रिलायन्स इन्स्योरेन्स कम्पनीले उनलाई उत्कृष्ट अभिकर्ताका रुपमा दिने अवार्ड तथा प्रोत्साहनले
अझै अभिप्रेरित गर्ने गरेको छ।
उनको बुझाइमा अभिकर्ता भनेको केवल मध्यस्थकर्ता मात्र हो तर बीमा सबै व्यक्तिका लागि अत्यावश्यक
छ। “बीमाले नियमित बचत गराउँछ, र भविष्यमा पार्नुपर्ने आर्थिक भारलाई निकै सहज बनाइदिन्छ,” उनी
भन्छिन्। बीमितहरू प्रायः कम्पनीभन्दा अभिकर्तालाई विश्वास गरेर बीमा गर्ने भएकाले आफूले गरेको
बीमालाई देखाउँदा उनीहरू ढुक्क हुने जनाउँछिन।
उनी जुन परिवारमा जान्छिन् बीमा गराएरै फर्किने भएकाले आफूलाई अत्यन्त भाग्यमानी ठान्छिन्।
आयस्रोत कमजोर हुने घरमा पनि न्यूनतम एक लाख रुपैयाँको बीमा गराउन कन्भिन्स गर्न सकिने उनको
अनुभव छ। “हाम्रो समाजमा वार्षिक पाँचरछ हजार तिर्न नसक्ने त कोहि हुँदैन। त्यसैले म उहाँहरुको
आयस्रोत बुझेर बचतकै लागि भए पनि यति बराबरको बीमा गर्नुपर्छ भनेर सुझाउने गर्छु।” उनी भन्छिन्।
अहिलेसम्म कसैमाथि अपेक्षा राख्नुपरेको छैन, यही कारण पनि उनी यस क्षेत्रमा सफल भएको जनाउँछिन।
उनको अर्को विशेषता भनेको जारी पोलिसीहरु अन्तिमसम्म कायम राखिनु हो। उनका कुनै पनि पोलिसी
ल्याप्सेस वा सरेण्डर भएको छैन।
बीमा गरिसकेपछि पनि उनी बीमितसँग नियमित सम्पर्कमा रहन्छिन्, भेटघाट गर्छिन्, नवीकरणको मिति
सम्झाइदिन्छिन्। यस्तै सकारात्मक व्यवहारका कारण उनीसँग बीमा गराउन आउनेहरूको संख्या बढ्दो छ।
“एक हजारभन्दा धेरैको बीमा गरेपछि पूर्ण रूपमा बीमा पेशामा समर्पित हुने छु,” उनी भन्छिन्।
आर्थिक रूपमा स्वा वलम्बी भइसकेकी उनी साधारण जीवनशैलीमा रमाउँछिन्, जसलाई सामान्य परिवारले
सजिलै आत्मसात् गर्न सक्छन्। शाखाको पूर्ण सहयोग रहेको जनाउँदै उनी भन्छिन्, “फुर्सद मिल्यो कि म
घरदैलोमै पुगेर बीमा गराउँछु। यस यात्रामा धेरै अभिभावकहरूलाई बीमित बनाउन सकेकी छु, यही नै मेरो
सबैभन्दा ठूलो उपलब्धि हो।”

लामिनार टाइल्सले नबिल बैंकसँग ‘च्यानल फाइनान्सिङ’ सुरु गर्न साझेदारी गरेको घोषणा

काठमाडौं । लुम्बिनी सिरेमिक्स लिमिटेड द्वारा उत्पादित लामिनार टाइल्स र नबिल बैंकबीच देशभरका लामिनार टायल्सका डिलरहरूलाई च्यानल फाइनान्सिङ सुविधा प्रदान गर्ने सम्झौता गरिएको छ ।
काठमाडौंमा आयोजित कार्यक्रममा लुम्बिनी सिरेमिक्सका प्रमुख वित्त अधिकारी प्रकाश पौडेल र नबिल बैंकका प्रमुख व्यापार अधिकारी टेक राज भट्टबीच सम्झौता–पत्र हस्ताक्षर गरी आदान–प्रदान गरिएको छ ।
यस साझेदारीमार्फत डिलरहरूले सजिलै चालु पूँजी प्राप्त गर्न सक्नेछन्, जसले इनभेन्टरी व्यवस्थापन सहज बनाउने र व्यवसाय सञ्चालनलाई थप सुदृढ बनाउनेछ ।
नबिल बैंकले ०.५ प्रतिशत लोन प्रशासकीय शुल्क, एलसि तथा बैंक ग्यारेन्टी जारी गर्दा छुट, कर्पोरेट मोबाइल बैंकिङ, सेफ–डिपोजिट लकर र पिओएस मेसिन शुल्कमा ५० प्रतिशत छुट, निःशुल्क एसएमएस ट्रान्जेक्सन अलर्ट, मुख्य कर्मचारीका लागि अधिकतम रु. ५ लाख सीमासहित निःशुल्क क्रेडिट कार्ड, तथा नबिल केयर अन्तर्गतको क्रिटिकल इलनेस बीमा जस्ता विशेष सुविधाहरू उपलब्ध गराउनेछ ।
दुबै संस्थाले यो सहकार्यले डिलरहरूको लिक्विडीटि बढाउने, आर्थिक बोझ कम गर्ने र नेपालको टाइल्स उद्योगको दिगो विकासमा सहयोग गर्ने विश्वास व्यक्त गरेका छन् ।

एनएमबि बैंकलाई भिसा इन्टरनेशनलद्वारा एक्सिलेन्स ईन कमर्सियल कार्डस् बिजनेश अवार्ड प्रदान

काठमाडौं । एनएमबि बैंकले भिसा इन्टरनेशनलद्वारा हालै आयोजित ‘लिडरसिप कन्क्लेभ नेपाल २०२५ सम्मेलनमा ‘एक्सिलेन्स ईन कमर्सियल कार्डस् बिजनेश अवार्ड प्राप्त गरेको छ ।
यो सम्मान बैंकले व्यावसायिक कार्ड क्षेत्रमा गरेको उत्कृष्ट प्रदर्शन र डिजिटल भुक्तानीलाई अगाडि बडाउनमा गरेको महत्वपूर्ण योगदानको सम्मानस्वरूप प्रदान गरिएको हो ।
एनएमबि बैंकले हाल देशभर २०२ वटा शाखा, १८४ वटा एटिएम र ९ वटा एक्सटेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा प्रदान गर्दै आइरहेको छ ।

नबिल बैंक र एनआइबी जिएबीच साना तथा मझौला उद्यमको सुदृढीकरणका लागि साझेदारी

काठमाडौँ । नबिल बैंक र नेपाल इन बिजनेश – ग्रोथ अड्भाइजर्स (एनआइबी–जिए) बीच साना तथा मझौला उद्यमलाई अनुदान र प्राविधिक सहायता उपलब्ध गराउनका लागि रणनीतिक साझेदारी भएको छ ।
साझेदारी पत्रमा नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) मनोजकुमार ज्ञवाली र एनआइबी कार्यक्रमका प्रमुख रतिस बस्न्यातबीच हस्ताक्षर भएको छ ।
उक्त कार्यक्रमअन्तर्गत फरेन कमनवेल्थ एण्ड डेभलपमेन्ट कार्यालय (एफसिडिओ) ले एनआइबी–जिए मार्फत विभिन्न ४० वटा साना तथा मझौला उद्यमलाई एनआइबीले तोकेको मुख्य क्षेत्र र भूगोलका आधारमा ८४ करोड रुपैयाँ (४.५ मिलियन पाउण्ड) अनुदान उपलब्ध गराउनेछ । उक्त अनुदान सहयोगले उद्यमीलाई उत्पादन र सेवा विस्तार गर्दै निर्यात उन्मुख उद्यमका रुपमा विकास गर्न सहयोग गर्ने जनाइएको छ ।
बैंकका सिइओ ज्ञवालीले यसप्रकारका अभियानले साना तथा मझौता उद्यमीहरुको मनोबल बढाउन सहयोग पुग्ने जनाए । “यो परियोजना साना तथा मझौला उद्यमको विकास गर्न उद्यमी र नीति निर्मातासँग नजिक रही काम गर्ने उद्देश्यले तयार पारिएको छ”, उनले भने, “परियोजनाअन्तर्गत नबिल बैंकले साझेदार संस्थालाई एसएमई कर्जा र च्यानल फाइनान्सिङको सुविधा उपलब्ध गराउन सकिनेछ ।”
एनआइबी–जिए कार्यक्रमका प्रमुख बस्न्यातले परियोजनामा व्यवस्थित र पारदर्शी रुपमा अनुदान व्यवस्थापन गर्न लागेकामा नबिल बैंकप्रति आभार व्यक्त गरे । “यसप्रकारको सहकार्य सोही प्रकृत्तिका अन्य परियोजनामा पनि लागू गर्न सकिन्छ, सरकारले पनि पुँजीगत खर्चको प्रभावकारिता बढाउनका लागि यसप्रकारका ढाँचा अबलम्बन गर्न सक्छ”, उनले भने ।
साझेदारीअनुसार नबिल बैंकले कार्यक्रमको वित्तीय साझेदारका रुपमा उद्यमीलाई अनुदान वितरण गर्नेछ । बैंकले सबै साझेदार संस्थाका लागि सुरक्षित, पारदर्शी र प्रभावकारी रुपमा वित्तीय व्यवस्थापन गर्ने जनाइएको छ । एनआइबीको उक्त कार्यक्रम अनुदान र प्राविधिक सहायता प्रदान गरी साना तथा मझौला उद्यमलाई सुदृढीकरण गर्दै दिगो र उत्पादनशील रोजगारी सृजनामा केन्द्रित रहेको बैंकको भनाइ छ ।
एनआइबी–जिए पाँच वर्षे परियोजना हो । परियोजनामा बेलायतको यूके इन्टरनेशनल डेभेलप्मेन्टबाट वित्तीय सहयोग प्राप्त छ भने डिएआई ग्लोबल यूकेले कार्यान्वयन गर्दै आएको छ ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको छ ।

रवि लामिछाने र छविलाल जोशीको मुद्दाको आज पेशी

रुपन्देही । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र तत्कालीन गोर्खा मिडियाका सञ्चालक छविलाल जोशीको मुद्दाको पेशी आज पुनः तोकिएको छ ।
उच्च अदालत तुलसीपुर बुटवल इजलासमा आजका लागि पेशी तोकिएको अदालतका सूचना अधिकारी रामबहादुर कुँवरले जनाए । बुटवलको सुप्रिम सहकारी संस्थाको रकम ठगी र संगठित अपराध अभियोगमा थुनामा रहेका उनीहरुको मुद्दामा कात्तिक २० गतेको इजलासले सुरु मिसिल मगाउने आदेश दिएपछि अघिल्लो साता पेशी तोकेपनि लामिछानेका कानून व्यवसायीले माग गरेपछि स्थगित भएको थियो ।
कात्तिक २० गते न्यायाधीश बासुदेव आचार्य र ओमप्रसाद अर्यालको इजलासले शुरू मिसिल मगाउन आदेश दिएको थियो । यसअघि कात्तिक १३ गते तोकिएको पेशी छविलाल जोशीका कानून व्यवसायीले निवेदन दिएपछि सुनुवाइ स्थगित भएको थियो । त्यसअघि लामिछानेको मुद्दामा न्यायाधीशद्वय मिलनकुमार राई र ओमप्रसाद अर्यालको इजलासले एकै प्रकृतिका मुद्दा भएकाले छवि समेतको दुवै मुद्दा एकैसाथ राख्न आदेश गरेको थियो ।
बिगो बमोजिमको रकम बुझाइ थुनाबाहिरै बसेर मुद्दा लड्न लामिछानेले माग गरेकामा उच्च अदालतले रविसँगै छविलाल जोशीको पनि फाइल पेस गर्न आदेश दिएको थियो । यसअघि लामिछानेको मुद्दामा उच्च अदालत बुटवलले नै कैफियत प्रतिवेदन माग गर्ने आदेश गरेको थियो ।

जसपाको श्रेष्ठ समूहले आज नेकपासँग एकता गर्दै

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी नेकपा र जनता समाजवादी पार्टी (जसपा) को राजेन्द्र श्रेष्ठ समूहबिच बिहीबार एकता हुँदैछ ।
काठमाण्डौंको राष्ट्रियसभा गृहमा दिउँसो १ बजे एकता घोषणा हुन लागेको हो ।
जसपाका नेता दुर्गा सुवेदीकाअनुसार एकता घोषणा सभामा नेकपा र जसपा एकीकरण पक्षधर समूहका शीर्ष नेताहरूले सम्बोधन गर्ने छन् ।
आइतबार जसपाबाट सङ्घीय परिषद् अध्यक्ष राजेन्द्र श्रेष्ठलगायत ६ नेताहरू नेकपामा समाहित भएका छन् ।
श्रेष्ठसहित रणध्वज लिम्बू (कन्दङ्वा), परशुराम बस्नेत, दुर्गामणी देवान, डा. पुष्पराज राजकर्णिकार, कृष्णबहादुर घजु नेकपामा जान लागेका हुन्।

एनपीएलमा आज दुई खेल हुँदै

काठमाडौं । राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्स तथा जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा हुँदैछ ।
त्रिभुवन विश्वविद्यालयको अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा पहिलो खेल ११ः४५ र दोस्रो खेल अपराह्न ४ः०० बजे हुनेछ ।
रोहितकुमार पौडेलको कप्तानीमा लुम्बिनी सुदूरपश्चिमलाई पराजित गर्ने लक्ष्यमा छ । तीन खेलमा एउटा मात्र जितेको लुम्बिनी अङ्क तालिकाको छैटौँ स्थानमा छ ।
दीपेन्द्रसिंह ऐरीको कप्तानीमा सुदूरपश्चिम लगातार तीन जितका साथ अङ्क तालिकामा शीर्ष स्थानमा छ । यो टोलीले ६ अङ्क बटुलेको छ ।
अनिल शाह नेतृत्वको साविक विजेता जनकपुर र कुशल भुर्तेलको कप्तानीमा पोखरा जित आफ्नो पोल्टामा पार्ने दाउमा छन् । यसअघि जनकपुर र पोखरा दुवै खेलमा पराजित भएका थिए ।

निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन

काठमाडौं । प्रतिनिधि सभा सदस्य निर्वाचनमा भाग लिनका लागि निर्वाचन आयोगमा दल दर्ता गराउने आज अन्तिम दिन रहेको छ ।
आगामी फागुन २१ गते हुने निर्वाचनका लागि भाग लिन निर्वाचन आयोगमा राजनीतिक दल दर्ता गराउने समय आजबाट समाप्त हुन लागेको हो ।
निर्वाचन आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईका अनुसार आयोगमा कुल १३४ दल रहेका छन् भने तीमध्ये मंगलबारसम्म ८० दलले दल दर्ता गराएका छन् ।
पहिले दर्ता भइसकेको राजनीतिक दलहरूले पनि निर्वाचनमा भाग लिन फेरि दल दर्ता गराउनुपर्ने निर्वाचन आयोगको प्रावधान छ । त्यस अनुसार दल दर्ता र नविकरणका लागि आज अन्तिम दिन रहेको छ ।

सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन ः मन्त्री पुन

काठमाडौँ । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महावीर पुनले सिंहदरबार घेरेर मात्र देश विकास नहुने भन्दै कार्यशैली सुधार्न युवाहरूलाई आग्रह गरेका छन्।
सामाजिक सञ्जालमा उनले लेखेका छन्– अहिलेको परिस्थितिमा सिंहदरबार घेरेर मात्र देश विकास हुँदैन भन्ने कुरा युवाहरूले खोइ त बुझेको ? अहिलेको युवा पुस्ता सहित भावी पुस्ताहरूको भविष्य उज्ज्वल बनाउने एउटै मात्र बाटो भनेकै फाल्गुन २१ गतेको आम चुनावमा धेरै भन्दा धेरै युवा नेताहरूलाई जिताएर बुढा नेताहरूलाई बिदा गर्नु हो।
मन्त्री पुनले बुढा नेताहरू लोभीपापी र स्वार्थी समूहहरूले घेरिएकोले देशको संयन्त्रहरू बरबाद गरिरहेको पनि उल्लेख गरेका छन्।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...