काठमाडौं । गरिमा विकास बैंक लिमिटेडले आफ्नो उन्नाइसौँ वार्षिकोत्सवको अवसरमा आज विभिन्न ८ स्थानमा बृहत रक्तदान कार्यक्रम र १९ स्थानमा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सफलतापूर्वक सम्पन्न गरेको छ ।
बैंकले सुनसरीको इटहरी, पर्साको बीरगञ्ज, चितवनको नारायणगढ, काठमाण्डौको बालुवाटार, कास्कीको पोखरा, म्याग्दीको बेनी, रुपन्देहीको बुटवल र बाँकेको कोहलपुरमा आयोजना गरेको बृहत रक्तदान कार्यक्रमबाट कुल ६०२ युनिट रगत संकलन भएको छ ।
त्यस्तै १९औँ वार्षिकोत्सवको अवसरमा आज नै देशका विभिन्न १६ स्थानका विद्यालयहरुमा शैक्षिक सामाग्री, विद्यालय पोशाक, पानी फिल्टर मेसिन लगायतका सामग्री वितरण, श्री निस्कोट स्वास्थ्य चौकी, म्याग्दीलाई सरसफाई सामाग्री हस्तान्तरण, मातातिर्थ वृद्धाश्रम समिति, चन्द्रागिरी, काठमाडौंलाई खाद्यान्न सामाग्री हस्तान्तरण र सत्य साई राष्ट्रिय परिषद् नेपाल, चितवनलाई वाटर डिस्पेन्सर हस्तान्तरण समेत गरी १९ वटा संस्थागत सामाजिक उत्तरदायित्वमूलक कार्यक्रमहरु सम्पन्न गरेको छ ।
त्यसैगरी “स्वस्थ जीवनशैली का लागि खेलकुुद” भन्ने नाराका साथ विकास बैंकले हिजो दोश्रो संस्करणको गरिमा रोड रेस २०८२ समेत सफलतापूर्वक सम्पन्न गरेको थियो । जसमा १,००० भन्दा बढी धावकहरुको सहभागिता रहेको थियो ।
गरिमा विकास बैंकको वार्षिकोत्सवमा ६०२ युनिट रगत संकलन
सोलु हाइड्रोपावरको आइपीओ आजदेखि निष्कासनमा
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपाली श्रमिकका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आईपीओ) निष्कासन गरेको छ ।
कम्पनीले जारी पूँजी १० अर्ब रुपैयाँको २० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २ करोड कित्ता शेयर निष्कासन गर्ने अनुमति पाएको थियो । जसमध्ये १ अर्ब रुपैयाँ बराबरका प्रतिशेयर १०० रुपैयाँ दरका १ करोड कित्ता साधारण शेयर आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दालाई लक्षित गरी निष्काशन गरिएको हो ।
आईपीओका लागि न्यूनतम १० कित्ता र अधिकतम १ लाख कित्ता सेयरमा आवेदन दिन सकिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित क्षेत्रका स्थानीय बासिन्दाका लागि आवेदन अवधि छिटोमा मंसिर २१ गते र ढिलोमा पुस ७ गतेसम्म रहनेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि भने छिटोमा मंसिर १० गते र ढिलोमा मंसिर २१ गते आवेदन दिने समय तोकिएको छ ।
आयोजना प्रभावितबारे वातावरणीय प्रभाव मूल्यांकन प्रतिवेदनका आधारमा सोलु दूधकुण्ड नगरपालिका–७ र ११ तथा थुलुङ दूधकोशी गाउँपालिका–१ का स्थानीयलाई ४० लाख कित्ता ९४० प्रतिशत० र अन्य प्रभावित वडाका स्थानीय बासिन्दालाई ६० लाख कित्ता (६० प्रतिशत) गरी सेयर बाँडफाँट गरिने कम्पनीले जनाएको छ ।
त्यस्तै, सर्वसाधारणका लागि छुट्याइएको कुल सेयरको १० प्रतिशत बराबरका १० लाख कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि छुट्याइएको छ । उनीहरूले श्रम स्वीकृति प्रमाणित कागजातका आधारमा आवेदन दिन पाउनेछन् ।
आईपीओ निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड रहेको छ । स्थानीय बासिन्दाले ग्लोबल आइएमई बैंकको सल्लेरी शाखा, लक्ष्मी सनराइज बैंकको नेले शाखा तथा आयोजनास्थल तिङ्गला, सोलुखुम्बुबाट दरखास्त फाराम भरी आवेदन दिन सक्नेछन् । स्थानीय बासिन्दाले फाराम भर्नका लागि २ रुपैयाँ शुल्क बुझाउनुपर्नेछ । वैदेशिक रोजगारीमा रहेका नेपालीले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थामार्फत अनलाइन प्रणाली प्रयोग गरी आवेदन दिन सक्ने व्यवस्था छ ।
महालक्ष्मी विकास बैंकका ग्राहकलाई अरेबिका कफी र क्याफियोफिलिया कफीमा विशेष छुट
काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना ग्राहकलाई सधैँ नयाँ सुविधा थप गर्दै जाने क्रममा स्वास्थ्य क्षेत्र, रेस्टुरेन्ट लगायतका व्यापारिक संस्थाहरूसँग समन्वय गरी अगाडि बढ्ने अभिप्रायका साथ कफी पारखीहरूलाई लक्षित गर्दै अरेबिका कफी र क्याफियोफिलिया कफी, भैँसेपाटीसँगको सहकार्यमा विशेष छुट प्रदान गर्ने गरी सम्झौता गरेको छ ।
सम्झौता अन्तर्गत महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले अरेबिका कफीका विभिन्न फ्रेन्चाइजहरू दरबारमार्ग, बौद्ध, बानेश्वर, राधे राधे भक्तपुर, यू.एन. पार्क ललितपुर, मानभवन, कालीमाटी, बुढानिलकण्ठ र भैंसेपाटी ललितपुरले प्रदान गर्ने सेवाहरूमा १५ प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । जस अन्तर्गत कफी तथा तातो पेय पदार्थमा १० प्रतिशत र इटालियन खानामा १५ प्रतिशत सम्म छुट ग्राहकहरूले प्राप्त गर्न सक्नेछन् ।
त्यसै गरी महालक्ष्मी विकास बैंकका डेबिट कार्ड, क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरूले क्याफियोफिलिया भैंसेपाटीले प्रदान गर्ने बेकरी आइटम बाहेकका सेवाहरूमा १० प्रतिशत सम्म छुट प्राप्त गर्न सक्नेछन् । यस किसिमको सहकार्यबाट बैंकका डेबिट अथवा क्रेडिट कार्ड तथा मोबाइल बैंकिङ्ग प्रयोग गर्ने ग्राहकहरू प्रत्यक्ष रूपमा लाभान्वित हुने विश्वास बैंकले लिएको छ ।
हालै मात्र बैंकले आफ्ना क्रेडिट कार्ड वाहकहरूले विभिन्न ट्राभल एजेन्सी मार्फत टुर प्याकेज खरिद गर्दा महालक्ष्मी बैंकको क्रेडिट कार्ड प्रयोग गरी खरिद गर्न सक्ने योजनाको सुरुवात गरेको छ । यस अन्तर्गत आफूले खरिद गरेको टुर प्याकेजको मूल्य बराबरको रकमको भुक्तानी ६ महिना देखी १२ महिना सम्मको लचिलो अवधि रहने गरी मासिक रूपमा भुक्तान गर्न मिल्ने गरी रूपान्तरण गर्न समेत सक्नेछन् ।
एनएमबी बैंकको लाभांश घोषणा
काठमाडौं । एनएमबी बैंकले गत आर्थिक वर्षको नाफाबाट लाभांश घोषणा गरेको छ । बैंकले आइतबार नेपाल स्टक एक्सचेन्जलाई पत्र लेख्दै शुक्रबार बसेको सञ्चालक समितिको बैठकले बोनस शेयर र नगद लाभांशको निर्णय गरेको जनाएको हो ।
बैंकका अनुसार सञ्चालक समितिले पाँच प्रतिशत बोनस सेयर र पाँच प्रतिशत नगद लाभांशको निर्णय गरेको हो ।
सो शेयर राष्ट्र बैंकबाट स्वीकृत भई साधारणसभाबाट पारित भएपछि लागू हुने जनाईएकोे छ ।
एमालेले आज काठमाडौँमा कार्यक्रम गर्ने
काठमाडौँ । नेकपा एमालेले आज काठमाडौँ कार्यक्रम गर्ने भएको छ। एमालेको नेसनल भोलिन्टियर फोर्सले बिहान ११ बजे कार्की ब्यांक्वेटमा कार्यक्रम गर्ने भएको हो । बबरमहलमा भेला भएर माइतीघर हुँदै बबरमहल र त्यहाँबाट बानेश्वर जाने कार्यक्रम रहेको फोर्सले जनाएको छ ।
कार्यक्रमको प्रमुख अतिथि एमाले अध्यक्ष केपी शर्मा ओली रहनेछन् । एमालेले कार्यक्रमबारे जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई जानकारी गराइसकेको छ ।
प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलले कार्यक्रमका लागि निवेदन आएको भएपनि त्यसबारे विचाराधीन नै रहेको जनाए।
त्यसैगरी शनिबार प्रदर्शनीमार्गमा एमाले बागमती प्रदेश कमिटीले अर्को कार्यक्रम आयोजना गर्ने जनाएको छ। त्यस दिन शान्तिपूर्ण जनप्रदर्शन तथा जनसभा कार्यक्रम गर्ने भनिएको छ।
मतदाता नामावलीमा नाम दर्ता गर्ने आज अन्तिम दिन
काठमाण्डौं । फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य चुनावको लागि मतदाता नामावलीमा नाम दर्ता गर्ने शुक्रबार अन्तिम दिन हो ।
यसअघि कात्तिक मसान्तसम्म समयसीमा रहेकोमा निर्वाचन आयोगले शुक्रबारसम्मको समय थप गरेको थियो । राष्ट्रिय परिचयपत्र नम्बर भएमा अनलाइनमार्फत नै नाम दर्ता गर्न सकिनेगरी आयोगले व्यवस्था मिलाएको छ ।
जैविक तथ्याङ्क अर्थात बायोमेट्रिकका लागि राष्ट्रिय परिचयपत्रसँग लिंक गरेपछि मतदाता नामावलीमा नाम दर्ता गराउन सकिन्छ । अहिलेसम्म ७ लाखभन्दा धेरै नयाँ मतदाता थपिएका आयोगले जनाएको छ ।
यसैबीच निर्वाचन आयोगले मतदाता नामावलीको त्रुटि सच्याउन मंसिर २१ देखि २७ गतेसम्मको समय तोकेको छ ।
नामावलीमा कुनै त्रुटि भएमा सच्याउन, कसैले झुटा विवरण दिई नामावलीमा नाम समावेश गरेको भए विरोधमा उजुरी दिन, कुनै मतदाताको नाम एकभन्दा बढी ठाउँमा समावेश भएकोमा एक ठाउँमा मात्र कायम गर्न निवेदन दिन तथा ज्यान गएका वा नागरिकता त्याग गरेका मतदाताको नाम मतदाता नामावलीबाट हटाउनका लागि आयोगको वेबसाइट वा सम्बन्धित प्रदेश निर्वाचन कार्यालय वा जिल्ला निर्वाचन कार्यालयमा निवेदन, उजुरी वा सूचना दिन सकिनेछ ।
प्राप्त गुनासा, उजुरी वा सूचनाहरूका सम्बन्धमा सम्बन्धित निर्वाचन कार्यालयबाट छानबिन गरी आउँदो पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
एनपीएलमा आज पोखरा र सुदूरपश्चिम खेल्दै
काठमाण्डौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणमा शुक्रबार सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्सबीच खेल हुँदैछ ।
कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा हुने यो खेल अपराह्न ४ बजेदेखि सुरु हुनेछ ।
यसअघि पोखराले प्रतियोगिताको पहिलो खेलमा विराटनगर किंग्सविरुद्ध ५३ रनको फराकिलो हार व्यहोरेको थियो ।
तालिकाको सातौँ स्थानमा रहेको पोखरा अंकविहीन छ ।
यता, पोखराविरुद्ध मैदान उत्रिँदा सुदूरपश्चिम भने लगातार दोस्रो जितको खोजीमा हुनेछ ।
सुदूरपश्चिमले यसअघि दोस्रो संस्करणको आफ्नो पहिलो खेलमा काठमाण्डौं गोर्खाजविरुद्ध २९ रनको जित निकालेको थियो । पहिलो खेलबाट दुई अंक जोडेको सुदूरपश्चिम तालिकाको तेस्रो स्थानमा छ ।
यसअघि एनपीएलको पहिलो संस्करणमा यी दुई टिम एकपटक आमनेसामने भएका थिए । उक्त खेलमा चितवनले सुदूरपश्चिविरुद्ध ३३ रनको जित निकालेको थियो ।
बन्चरेडाँडाका स्थानीय र सरकारबीच सहमति
काठमाडौं । ल्याण्डफिल्ड साइट बञ्चरेडाँडाका स्थानीय र सरकारबीच सहमति भएको छ ।
आज दुई पक्षबीच ११ बुँदे सहमति भएको हो । सहमति जुटेसँगै स्थानीयवासी तथा स्थानीय जनप्रतिनिधिहरू फोहोर विसर्जन गर्न दिन तयार भएका छन् ।
सहमतिमा फोहोर अवरोधका क्रममा स्थानीयवासीमाथि लगाइएको मुद्दा फिर्ताका लागि पत्राचार गर्ने, ल्यान्डफिल्ड साइनटको ईआईए तत्कालै तयार गर्ने, एक महिनाभित्र मुआब्जा वितरण गर्ने लागयतका छन्।
निर्वाचनमा सेना परिचालन गर्न सिफारिस गर्ने निर्णय
काठमाडौं । राष्ट्रिय सुरक्षा परिषद्ले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको छ ।
सिंहदरबारमा आज बसेको राष्ट्रिय सुरक्षा परिषद्को ४१ औँ बैठकले प्रतिनिधिसभा निर्वाचन स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्न संविधानको धारा २६६ को उपधारा (१) बमोजिम सेना परिचालन गर्न मन्त्रिपरिषद्समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
बैठकले राष्ट्रिय सुरक्षा परिषद्को आठौँ वार्षिक प्रतिवेदनको मस्यौदामाथि छलफल गर्दै आवश्यक संशोधनका साथ स्वीकृत गरेको छ । प्रतिवेदनलाई राष्ट्रपतिसमक्ष पेस गर्ने निर्णय भएको रक्षा मन्त्रालयका सचिव एवं राष्ट्रिय सुरक्षा परिषद्का सदस्य सचिव सुमनराज अर्यालले जानकारी दिए ।
बैठकमा राष्ट्रिय सुरक्षामा आउन सक्ने विविध चुनौती तथा राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा देखापरेका पछिल्ला घटनाक्रमले राष्ट्रिय सुरक्षामा पार्न सक्ने प्रभाव तथा चुनौती र अपनाउनुपर्ने भावी रणनीतिबारे पनि छलफल भएको परिषद् सचिवालयले जनाएको छ ।
प्रधानमन्त्री सुशीला कार्कीको अध्यक्षतामा बसेको बैठकमा अर्थमन्त्री रामेश्वर खनाल, गृहमन्त्री ओमप्रकाश अर्याल, मुख्यसचिव एकनारायण अर्याल, प्रधानसेनापति अशोकराज सिग्देललगायतको उपस्थिति थियो ।
दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश
काठमाण्डौं । नागरिक बचाउ अभियान नेपालका संयोजक दुर्गा प्रसाईंलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन सर्वोच्च अदालतले प्रहरीलाई आदेश गरेको छ ।
प्रसाईंका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै न्यायाधीश मेघराज पोखरेलको इजलासले कारण देखाऊ आदेशसहित प्रतिवादीलाई उपस्थित गराउन निर्देशन दिएको छ ।
आन्दोलनको तयारीमा रहेका प्रसाईंलाई अराजक अभिव्यक्ति दिएको आरोपमा प्रहरीले सोमबार मध्यराति भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । पक्राउपछि उनीमाथि ४ दिनको म्याद थप गरी प्रहरी हिरासतमा राखिएको छ ।

















