काठमाडौं । सेयर बजारमा दोहोरो अंकको सुधार आएको छ ।
साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) १५.७० अंकले बढेर २५६६.०७ बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ९.७८ अंकले बढेर २५५०.३६ बिन्दुमा कायम थियो ।
मंगलबार नेप्सेमा कुल ४ अर्ब १० करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा ३ अर्ब ८९ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये २०७ कम्पनीको सेयर मूल्य बढ्दा ४४ कम्पनीको घटेको छ । यस्तै, पाँच कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
मंगलबार पाँच कम्पनीको सेयर मूल्य नौ प्रतिशत बढीले उकालो लाग्दा सबै समूह हरियाली बनेका छन् ।
सेयर बजारमा १५.७०अंकको सुधार, ४ अर्ब माथिको कारोबार
दुर्गा प्रसाईं पक्राउ, उपत्यकामा उच्च सतर्कता अपनाउन प्रहरीको सर्कुलर
काठमाण्डौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाण्डौं र काठमाण्डौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले सोमबार मध्यरातमा भक्तपुरस्थित उनकै घरबाट प्रसाईंलाई पक्राउ गरेको हो ।
अराजक गतिविधि गर्न र हिंसा भड्काउने खालका अभिव्यक्ति दिएको आरोपमा उनलाई पक्राउ गरेको हो ।
यसअघि २०८१ चैत १५ को हिंसात्मक आन्दोलनपछि पक्राउ परेका प्रसाईं अदालतको आदेशमा छुटेका थिए ।
प्रसाईं बैंकबाट लिएको ऋण मिनाहा गरिदिनुपर्ने लगायत माग राख्दै मंसिर ७ गतेदेखि देशव्यापी आन्दोलनको तयारीमा रहेका थिए ।
यता प्रसाईंलाई पक्राउ गरेको विरोधमा नागरिक बचाउ दलले आजैबाट संघर्षका कार्यक्रम सुरु गर्ने घोषणा गरेको छ ।
विरोधमा प्रदर्शन गर्नसक्ने अनुमान गर्दै प्रहरीले काठमाण्डु उपत्यकामा उच्च सतर्कता अपनाउन सर्कुलर गरेको छ ।
एमाले संसदीय दलको बैठक १ बजे बस्दै
काठमाडौं । नेकपा (एमाले) को संसदीय दलको बैठक आज बस्दैछ ।
बैठक विघटित प्रतिनिधि सभाका सांसदहरूसहित दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्न लागेको हो । विकसित असामान्य र जटिल परिस्थिति तथा यसको लोकतान्त्रिक, संवैधानिक निकासका लागि छलफल गर्न बैठक बोलाइएको निवर्तमान प्रमुख सचेतक महेश बर्तौलाले जानकारी दिए ।
एमालेले वर्तमान सरकार गठन र प्रतिनिधि सभा विघटनलाई असंवैधानिक भन्दै पुनर्स्थापनाको माग गरिरहेको छ ।
एनपीएलमा आज चितवन र कर्णाली, विराटनगर र पोखरा भिड्ने
काठमाण्डौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तरगत आज दुई रोचक खेल हुँदैछन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा हुने पहिलो खेलमा चितवन राइनोज र कर्णाली याक्स प्रतिस्पर्धा गर्ने भएका छन् । खेल बिहान ११ः४५ बजे हुनेछ ।
यस्तै आज हुने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् । यी दुई टिम अपरान्ह ४ बजे भिड्नेछन् ।
चितवन राइनोजको नेतृत्व कुशल मल्लले गर्नेछन् भने कर्णाली याक्सको कप्तानी सोमपाल कामीले गर्नेछन् । त्यसैगरी, विराटनगर किंग्स सन्दीप लामिछानेको कप्तानी टिम हो भने पोखरा एभेन्जर्सका कप्तान कुशल भुर्तेल हुन् ।
सोमबार भएको खेलमा साविक विजेता जनकपुर बोल्ट्सलाई पाँच विकेटले पराजित गर्दै काठमाण्डौं गोर्खाजले उत्कृष्ट सुरुआत गरिसकेको छ भने सोसँगै काठमाण्डौंले अंकतालिकामा दुई अंक समेत जोडेको छ । मंसिर १ गतेदेखि सुरु भएको एनपीएलको यो प्रतियोगिता मंसिर २७ सम्म हुनेछ ।
अन्योलमा कांग्रेस, फेरि सर्यो बैठक
काठमाण्डौं । पार्टीको १५ औँ महाधिवेशन विवादमा निष्कर्षमा पुग्न नसकेपछि नेपाली कांग्रेस केन्द्रीय कार्यसमितिको बैठकको मिति पुनः परिवर्तन भएको छ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलकाअनुसार सोमबार दिउँसो ११ बजे पार्टीको केन्द्रीय कार्यालयमा बस्ने भनिएको बैठक मंसिर ४ गते बिहीबार दिउँसो २ बजे बस्ने भएको छ।
बैठकमा केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य, आमन्त्रित सदस्य र सातवटै प्रदेश कार्यसमितिका सभापतिको उपस्थितिका लागि निर्देशनअनुसार अनुरोध गरिएको उनले जानकारी दिए।
कांग्रेसभित्र महाधिवेशनलगायतका विषयमा सहमति नजुटेकाले बैठक प्रभावित भएको हो ।
कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक एक महिना अघिदेखि जारी छ। महाधिवेशन चुनाव अघि गर्ने कि पछि भन्ने विषयमा कांग्रेसभित्र तीव्र विवाद छ।
बैठकमा सबै नेताहरूले बोलिसकेपनि कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्णय नदिएर सभापति शेरबहादुर देउवालाई पर्खिएका थिए। देउवा सिंगापुरमा उपचार सकेर नेपाल फर्किसकेका छन्। देउवा स्वदेश फर्केलगत्तै चुनावपछि महाधिवेशन गर्नेगरी सक्रियता बढाएका छन्।
आजदेखि सर्वोच्च अदालतमा सबै प्रकारका मुद्दाको सुनुवाइ हुने
काठमाण्डौं । जेन जी आन्दोलनमा आगजनीपछि ध्वस्त भएको सर्वोच्च अदालतले सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्न लागेको छ ।
भदौ २४ गते जेन जी आन्दोलनको दुई महिनापछि सर्वोच्चको सेवा पूर्ण रूपमा सञ्चालन हुन लागेको हो ।
सामान्य मर्मतसम्हारपछि सोमबारदेखि सबै प्रकारका मुद्दामा सुनुवाइ गर्ने अदालतले जनाएको छ । आन्दोलनमा सर्वोच्चको भवन र मिसिलहरू जलेपछि मुद्दा प्रभावित हुँदै आएको थियो ।
यसबिचमा बन्दी प्रत्यक्षीकरण र रिटसम्बन्धी निवेदनमा मात्र सुनुवाइ हुँदै आएको थियो । सोमबारदेखि सबै प्रकारका मुद्दाको पेसी तोकेर नियमित सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
नियमित सुनुवाइ गर्ने भनिए पनि सर्वोच्चको एनेक्स भवनमा पाँचवटा मात्र इजलास छन् । कर्मचारी बस्न ठाउँसमेत अभाव छ । केही महिना थोरै मात्र मुद्दा हुने भएकाले पाँचवटा इजलासबाटै काम गर्न सकिने सर्वोच्चको भनाइ छ ।
धेरै मुद्दाको मिसिल जलेकाले पुनः प्राप्त गर्न समय लाग्ने भएकाले सुनुवाइ हुने मुद्दाको संख्या पनि कम हुने छ । सर्वोच्चमा रहेका २४ हजार दुई सय मुद्दामध्ये करिब २० हजार मुद्दाका मिसिल जलेका छन् । ती मिसिल पुनः प्राप्त गर्न समय लाग्ने भएकाले अन्य चार हजार मुद्दा तथा नयाँ मुद्दामा सर्वोच्चले सुनुवाइ अघि बढाउनेछ ।
सर्वोच्चले २४ भदौदेखि २० कात्तिकसम्मको अवधिलाई हदम्याद, म्याद र तारेखको अवधिका रूपमा गणना नगरिने र १ मंसिरदेखि ३० दिनसम्म तारेख थामिने भन्दै सूचना जारी गरिसकेको छ ।
दोस्रो संस्करणको एनपीएल आजदेखि, उद्घाटन खेलमा जनकपुर र काठमाडौं भिड्दै
काठमाडौं । दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि सुरु हुँदैछ । उद्घाटन खेलमा जनकपुर बोल्ट्स र काठमाडौं गोर्खाजले प्रतिस्पर्धा गर्दैछन् भने खेल आज दिउँसो ४ बजे सुरु हुने तय भएको छ ।
एनपीएल दोस्रो सिजनका सबै खेल कीर्तिपुरस्थित त्रिवि मैदानमा दिउँसो र राति हुनेछन् ।
एनपीएल आज मंसिर १ देखि २७ गतेसम्म सञ्चालन हुनेछ भने लिग चरण, तीन वटा प्लेअफ र फाइनलसहित ३२ खेल हुनेछ ।
उद्घाटनसँगै शनिबारका लागि टिकट मूल्य साधारणतर्फ पाँच सय र प्रिमियमतर्फ १५ सय रुपैयाँ राखिएको छ ।
यसैगरी, लिग चरण र अन्य दिनको खेलका लागि टिकटको मूल्य पाँच सय र एक हजार रुपैयाँ तोकिएको छ ।
प्लेअफपछिका खेलका लागि जनरलतर्फ एक हजार र प्रिमियरतर्फ दुई हजार रुपैयाँ राखिएको छ । क्यानले सिजनल टिकटको एकमुस्ट मूल्य १५ हजार रुपैयाँ तय गरेको छ ।
एनपीएलमा जनकपुर बोल्ट्स, सुदूरपश्चिम रोयल्स, कर्णाली याक्स, पोखरा एभेन्जर्स, विराटनगर किंग्स, चितवन राइनोज, काठमाडौं गुर्खाज र लुम्बिनी लायन्स गरेर आठ फ्रेन्चाइज टोलीले प्रतिस्पर्धा गर्दैछन् ।
प्रतियोगितामा दोस्रो दिन मंगलबार चितवन राइनोज र कर्णाली याक्सले पहिलो प्रतिस्पर्धा गर्नेछन् भने दोस्रो खेलमा विराटनगर किंग्स र पोखरा एभेन्जर्स भिड्नेछन् ।
प्रतिनिधिसभा निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत
काठमाण्डौं । फागुन २१ गते घोषणा गरिएको प्रतिनिधि सभाको निर्वाचनका लागि एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरिएको छ ।
गृहमन्त्री ओमप्रकाश अर्यालको अध्यक्षतामा आईतबार बसेको ४ वटै सुरक्षा निकाय सहितको बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गर्ने निर्णय गरेको हो ।
गृह मन्त्रालयका प्रवक्ता आनन्द काफ्लेका अनुसार बैठकले एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ को प्रस्तावअनुसार नेपाली सेना परिचालनको विषयमा समेत निर्णय भएको छ । उनले नेपाली सेना परिचालनका लागि राष्ट्रिय सुरक्षा परिषद्मा सिफारिस गर्ने र त्यसका लागि रक्षा मन्त्रालयमा लेखेर पठाउने निर्णय भएको छ ।
उनले भने, ‘विभिन्न कार्ययोजना सहितको एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ स्वीकृत गरेको छ र यो अनुसार क्रमश कार्यान्वयनमा जान्छ । एकीकृत निर्वाचन सुरक्षा योजना–२०८२ ले नेपाली सेना परिचालन गर्ने विषयमा प्रस्ताव गरेको छ । सो अनुसार नेपाली सेना परिचालन गर्नका लागि राष्ट्रिय सुरक्षापरिषद् समक्ष सिफारिस गर्ने प्रयोजनको लागि रक्षा मन्त्रालयमा लेखी पठाउने भन्ने छ ।’
उनले मंसिर ९ गते लुम्बिनी प्रदेशबाट प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने समेत जनाए । ‘निर्वाचनलाई लक्षित गरी प्रदेशस्तरीय सुरक्षा गोष्ठी सञ्चालन गर्ने भनेका छौं । पहिलो सुरुवात चाहिँ लुम्बिनी प्रदेशमा मंसिर ९ गते निर्वाचनलाई लक्षित गरेर सुरक्षा गोष्ठी गर्ने जसमा जिल्लागत र प्रदेशगत भएका सुरक्षाका चुनौतीहरू उहाँहरूको निर्वाचनको तयारीको अवस्थामा व्यापक छलफल गर्छौं,’ उनले भने ।
बैठकमा नेपाल प्रहरी महानिरीक्षक दानबहादुर कार्की, सशस्त्र प्रहरीका महानिरीक्षक राजु अर्याल, राष्ट्रिय अनुसन्धान विभागका प्रमुख टेकेन्द्र कार्की र नेपाली सेनाका रथी सहभागी थिए ।
निर्वाचन आयोगमा १२२ दल दर्ता, ७ खारेज, २८ प्रक्रियामै
काठमाडौं । निर्वाचनमा आयोगमा एक सय २२ वटा दल दर्ता भएका छन् । आयोगले आज पत्रकार सम्मेलनको आयोजना गर्दै यस्तो जानकारी दिएको हो ।
पत्रकार सम्मेलनमा बोल्दै आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले निर्वाचन घोषणाका दिन एक सय २२ दल दर्ता थियो भने अहिले पनि सोही संख्यामा दल दर्ता कायम रहेका छन् ।
उनका अनुसार यस अवधिमा सातवटा दल खारेज भएका छन् भने सातवटा नयाँ दलले प्रमाणपत्र पाएका छन् । खारेज भएकाहरूमध्ये एउटा राजनीतिक दललाई सर्वोच्चले खारेज गर्न आदेश दिएअनुसार र बाँकी ६ दलहरू नेतृत्वको आग्रहमा खारेज उनको भनाइ छ ।
उनले हाल २८ वटा दल दर्ता प्रक्रियामा रहेको जनाए। भदौ २७ गते प्रतिनिधि सभा विघटन भई नयाँ निर्वाचन मिति घोषणा भएको थियो । भट्टराईले २१ फागुनमा हुने प्रतिनिधि सभा निर्वाचनको लागि नयाँ दल दर्ता गर्ने आज अन्तिम दिन भएपनि दल दर्ता प्रक्रिया नियमित चलिरहने जनाए ।
उनले प्रतिनिधि सभा र राष्ट्रिय सभा निर्वाचनमा सहभागी हुने प्रयोजनको अवधिभित्र दल दर्ता प्रमाण पत्र पाएका दलहरूले निर्वाचनमा सहभागी हुन पाउने पनि जनाए । उनले मतदाता नामावलीमा नाम संकलनको कार्य जारी रहेको समेत जनाए । उनका अनुसार मतदाता नामावलीमा नाम संकलन गर्ने कार्य अगामी ५ मंसिरसम्म जारी रहने समेत जनाए ।
शनिवार साँझसम्मको तथ्यांकअनुसार मतदाता नामावलीको लागि आयोगमा पुगेर सनाखत गर्नेको संख्या दुई लाख ८५ हजार र राष्ट्रिय परिचय पत्रबाट आवेदन दिनेको संख्या २ लाख रहेको समेत प्रवक्ता भट्टराईले जनाए ।
राष्ट्रियसभाको उमेदवारी मनोनयन पुस २३ मा
काठमाडौं । राष्ट्रियसभाको निर्वाचनका लागि आगामी पुस २३ गते उमेदवारी मनोनयन दर्ताको कार्यसूची तय भएको छ । निर्वाचन आयोगले आइतबार राष्ट्रियसभा सदस्य निर्वाचनको निर्वाचन कार्यक्रम प्रकाशन गरेको छ ।
पुस २३ गते बिहान १० देखि दिउँसो ३ बजेसम्म उमेदवारको मनोनयन पत्र दर्ता गर्ने कार्यक्रम रहेको आयोगले जनाएको छ ।
स्वीकृत निर्वाचन कार्यक्रमअनुसार पुस १९ गते बिहान १० देखि ११ बजेसम्म मतदाता नामावली प्रकाशन हुनेछ । मतदाता नामावली उपरको दाबी विरोध तथा निवेदन, उजुरीमाथि छानबिन गरी पुुस २२ गते अन्तिम मतदाता नामावली प्रकाशन हुनेछ ।
पुस २४ गते बिहान १० देखि दिउँसो ४ बजेसम्म उमेदवारको विरोधमा उजुरी दिने, पुस २७ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारले नाम फिर्ता लिने कार्यक्रम छ । दिउँसो १ देखि २ बजेसम्म उमेदवारको अन्तिम नामावली प्रकाशन हुनेछ । पुस २८ गते बिहान १० देखि दिउँसो १ बजेसम्म उमेदवारलाई निर्वाचन चिह्न सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयबाट प्रदान गरिने तालिका रहेको छ ।
निर्वाचन माघ ११ गते बिहान ९ बजेदेखि दिउँसो ३ बजेसम्म सम्बन्धित मतदान केन्द्रमा हुने आयोगका सहसचिव एवम् प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
राष्ट्रियसभाका १९ सांसद आउँदो फागुनमा बिदा हुँदै छन् । २०७६ माघ ९ गते चुनिएका सांसदहरूको ६ वर्षे कार्यकाल फागुनमा सकिन लागेको हो ।

















