काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करणअन्तर्गत आयोजित ट्रफी टुर सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडमा पुगेको छ। क्रिकेट असोसिएसन अफ नेपाल (क्यान) द्वारा आयोजना गरिएको एनपीएल–२ को ट्रफी कम्पनीको नक्सालस्थित प्रधान कार्यालयमा विशेष कार्यक्रममा प्रदर्शन गरिएको हो।
सह–प्रायोजकका रूपमा रहेको सानिमा रिलायन्सका अध्यक्ष रतनलाल केडियाले नेपालमा क्रिकेटप्रतिको जनचासो निरन्तर बढिरहेको उल्लेख गर्दै एनपीएलले राष्ट्रिय खेलाडीहरूलाई अन्तर्राष्ट्रिय स्तरमा परिचित गराउने महत्वपूर्ण प्लेटफर्म बनेको जनाए।
आगामी मंसिर १ गतेदेखि कीर्तिपुर क्रिकेट मैदानमा सुरु हुने प्रतियोगिताको सफलताको शुभकामना दिंदै उनले दोस्रो संस्करणमै समेत सह–प्रायोजक बन्न पाउनु कम्पनीका लागि गर्वको विषय भएको जनाए।
ट्रफीमा राखिएको सगरमाथा क्षेत्रको कालापत्थरको पत्थर निमा शेर्पा र मिङ्मा डेविड शेर्पाले राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको अनुमति र सहयोगमा सुरक्षित रूपमा ल्याइएको हो। यसले ट्रफीलाई हिमालको पहिचानसँग जोड्ने उद्देश्य राखिएको आयोजकले जनाएको छ। हाल सानिमा रिलायन्स लाइफले १६९ शाखामार्फत सेवा विस्तार गरिरहेको छ।
पाँच अर्बभन्दा बढी चुक्ता पुँजी रहेको कम्पनीले २० अर्बभन्दा बढीको लगानी गरिसकेको छ भने करिब २० हजारभन्दा बढी अभिकर्ता कम्पनीमार्फत बीमा सेवा प्रदान गर्दै आएका छन्।
नेपाल प्रिमियर लिगको दोस्रो संस्करणको ट्रफी टुर सानिमा रिलायन्स लाइफमा
आईएमई मोटर्सले एनपीएलको ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनरको रुपमा कार्य गर्ने
काठमाडौं । आईएमई मोटर्सले नेपाल प्रिमियर लिग (एनपीएल) सिजन २ को ब्याकअप पावर पार्टनर र ट्राभल पार्टनरको रुपमा कार्य गर्ने भएको छ । यस अनुसार आगामी नोभेम्बर १७ देखि डिसेम्बर ७ सम्म हुने एनपीएलमा आईएमई मोटर्स अन्तर्गतका लेपावर र अशोक लेल्यान्ड ब्रान्डले इलेक्ट्रिसिटी पावर ब्याकअप र यातायात सुविधा उपलब्ध गराउने छन् ।
पावर पार्टनरको रुपमा लेपावरले सम्पूर्ण इलेक्ट्रिकल ब्याकअप उपलब्ध गराउने छ । यसका लागि आवश्यक सेटअप, अपरेसन र लगातार रुपमा अनुगमन गर्नका लागि प्राविधिक जनशक्ति समेत उपलब्ध गराउने छ ।
त्यसैगरी ट्राभल पार्टनरको रुपमा अशोक लेल्यान्डले बस लगायतका सवारी साधन उपलब्ध गराउने छ । इभेन्टसँग सम्बन्धित खेलाडी, अम्पायर ओसारपसार कार्यमा यी सवारी साधनको प्रयोग हुनेछ । यसका लागि अनुभवी ड्राइभर समेत कम्पनीले उपलब्ध गराउने छ ।
यस सम्बन्धी सम्झौता पत्रमा नेपाल क्रिकेट संघको तर्फबाट सचिव पारस खड्का र आईएमई मोटर्सको तर्फबाट डीजीएम सुशिल सुवेदीले हस्ताक्षर गरेका छन् ।
यस अनुसार ‘ट्राभल पार्टनर – अशोक लेल्यान्ड’ र ‘ब्याकअप पावर पार्टनर – लेपावर’ को रुपमा पहिचान गरिने छ । त्यसैगरी खेलको बीचमा हुने स्ट्राटेजिक टाइमआउट ब्रेकलाई पनि ‘अशोक लेल्यान्ड स्ट्राटेजिक टाइमआउट ब्रेक’ भनिने छ ।
आईएमई मोटर्सले उच्चतम प्रदर्शन र इन्धन किफायतीपना उपलब्ध गराउने गरी डिजाइन गरिएको हिनो इन्जिनद्वारा सञ्चालित लेपावर जेनसेट नेपाली बजारमा उपलब्ध गराउदै आएको छ । यसले नेपालको सहरी, औद्योगिक र व्यावसायिक क्षेत्रको पावर सोलुसनमा महत्त्वपूर्ण योगदान दिने गरेको कम्पनीको भनाइ छ ।
त्यसैगरी अशोक लेल्यान्डका पिकअप देखि लाइट कमर्सियल भेइकल, हेभी ड्युटी ट्रक, विभिन्न मोडलका ट्रिपर, प्यासेन्जर र स्कुल बस लगायतका विभिन्न सवारी साधन उपलब्ध छन् ।
सगरमाथा लुम्बिनी इन्स्योरेन्सद्वारा बीमा सचेतना वाकाथन कार्यक्रम सम्पन्न
काठमाडौं । सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडले आज बिहान काठमाडौँमा ‘बीमा सुरक्षित भविष्यको आधार’ भन्ने मूल नाराका साथ बीमा सचेतना वाकाथन सम्पन्न गरेको छ।
यस वाकाथनको उद्देश्य सर्वसाधारणबीच बीमाको महत्वबारे जनचेतना फैलाउनु र “सुरक्षित भविष्य” निर्माणमा बीमाको भूमिकाबारे सन्देश प्रवाह गर्नु रहेको कम्पनीले जनाएको छ ।
कार्यक्रम कम्पनीको नक्सालस्थित केन्द्रीय कार्यालयबाट सुरु भई नक्साल भगवती मन्दिर – नागपोखरी – गैरीधारा – प्रहरी मुख्यालय – हिल्टन होटल – नक्साल भगवती मन्दिर हुँदै पुनः केन्द्रीय कार्यालयमा समापन गरिएको थियो।
झन्डै ४ किलोमिटरको यो वाकाथनमा कम्पनीको उपत्यका भित्रका शाखा कार्यालयहरुको करिब १०० जना कर्मचारीहरूको सक्रिय सहभागिता रहेको थियो।
उक्त अवसरमा सहभागीहरूले बीमाको आवश्यकता र फाइदाबारे जनचेतना फैलाउने उद्देश्यले “बीमा सुरक्षित भविष्यको आधार” भन्ने सन्देशसहितको ब्यानर र प्लेकार्ड बोकेका थिए।
सगरमाथा लुम्बिनी इन्स्योरेन्स कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत चंकी क्षेत्रीका अनुसार, ‘यस किसिमका सार्वजनिक अभियानहरूले सर्वसाधारणमा बीमाप्रति सचेतना बढाउनेछन्, जसले गर्दा नागरिकहरू अझ जानकार, जिम्मेवार हुनुका साथसाथै अन्ततः राष्ट्र अझ सुरक्षित बन्नेछ ।’
कम्पनीले भविष्यमा पनि यस्ता जनमुखी सचेतनामूलक गतिविधिहरू निरन्तर रूपमा सञ्चालन गरिनै रहने प्रतिवद्दता जनाएको छ।
सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा समता एजुकेशन फाउन्डेशनलाई आर्थिक सहयोग
काठमाडौँ। सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत समता एजुकेशन फाउन्डेशनलाई पाँच लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
समता एजुकेशन फाउन्डेशन नेपालको शैक्षिक क्षेत्रमा स्थापित एक गैर–नाफामुखी संस्था हो, जसले “शिक्षा सबैका लागि” भन्ने मूल नारा अनुरूप आर्थिक रूपमा कमजोर तथा दुर्गम क्षेत्रका बालबालिकाहरूलाई सुलभ र गुणस्तरीय शिक्षा प्रदान गर्दै आएको छ। संस्थाले हाल देशका विभिन्न जिल्लामा समता विद्यालयमार्फत अत्यन्त न्यून शुल्कमा (रु. १०० प्रति महिना) शिक्षा प्रदान गर्दै आएको छ, जसले हजारौं विद्यार्थीहरूलाई विद्यालय शिक्षा प्राप्त गर्न सक्षम बनाएको छ।
कम्पनीबाट प्राप्त पाँच लाख रुपैयाँको सहयोग उक्त फाउन्डेशनले विद्यालयमा अध्ययनरत विपन्न तथा जेहेन्दार विद्यार्थीहरूका लागि शैक्षिक सामग्री (पाठ्यपुस्तक, कपी, पोशाक, स्टेशनरी) खरिद, भौतिक संरचना सुधार तथा शैक्षिक गुणस्तर वृद्धिमा प्रयोग गर्नेछ। यस सहयोगबाट फाउन्डेशनले शिक्षा पाउन कठिनाइमा परेका बालबालिकालाई निरन्तर अध्ययनको अवसर सुनिश्चित गर्न योगदान पुग्ने विश्वास लिएको छ।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता र विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सहयोग गर्दै समाजप्रतिको उत्तरदायित्वलाई अझ सशक्त बनाउँदै लैजाने योजना बनाएको छ। यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यापारसँगै सामाजिक हित र साझा विकासलाई पनि अग्रसर गराउने विश्वास लिएको छ।
हाल कम्पनीले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ, पूँजी ५ अर्बभन्दा बढी रहेको छ, २० अर्बभन्दा बढीको लगानी भइसकेको छ र करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्। २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।
भूकम्प प्रतिरोधी भवन निर्माण गर्न नयाँ संहिता लागू
काठमाडौं । सरकारले भूकम्प प्रतिरोधी भवन निर्माणका लागि राष्ट्रिय भवन संहिता (कोड) लाई परिमार्जन गरी लागू गरेको छ।
पुरानो कोडमा रहेका प्रावधान अव्यावहारिक र अन्तर्राष्ट्रिय मानकसँग मेल नखाने, डिजाइन गणनामा जटिलता र निर्माणमा अनावश्यक खर्च बढाउने जस्ता व्यवस्थालाई परिमार्जन गरिएको छ।
परिमार्जित राष्ट्रिय भवन संहितालाई बिहीबार राजपत्रमा प्रकाशित गरी कार्यान्वयनमा ल्याइएको छ। नयाँ कोडले भवन मात्र नभएर जलविद्युत आयोजनाका बाँध, विद्युतगृह, सुरुङजस्ता भूमिगत संरचना निर्माणका लागि मार्गदर्शन प्रदान गर्नेछ।
शहरी विकास मन्त्री कुलमान घिसिङले यो परिमार्जित कोड देशको सुरक्षित भविष्य निर्माणका लागि कोशेढुङ्गा रहेको जनाए। मन्त्री घिसिङले नयाँ कोड अनुसार बनाइएका भवनबाट आगामी दिनमा आउनसक्ने भूकम्पबाट हुने ज्यान र सम्पत्तिको हानिलाई न्यून बनाउने विश्वास व्यक्त गरे।
स्थानीय तह, इन्जिनियर र आम नागरिकलाई नयाँ भवन निर्माणमा कोडलाई काडाइकासाथ लागू गर्न आह्वान उनले आग्रह गरे। परिमार्जित कोडमा ७५३ वटै स्थानिय तहलाई समेट्ने गरी नयाँ सिस्मिक जोनिङ्ग म्याप (भूकम्पीय क्षेत्रगत नक्सा) तयार गरिएको छ।
जसले स्थानअनुसार डिजाइनमा स्पष्ट दिशानिर्देश गर्छ। माटोको वर्गीकरणमा सुधार गर्दै काठमाण्डौ उपत्यकाको माटोको प्रकार सम्बन्धमा विशेष नक्सा समावेश गरिएको छ।
नयाँ लोड संयोजन सूत्रहरूमा हिमपात, तरल पदार्थको दवाव र माटोको दवाव समावेश गरी लोड संयोजन गरी स्थायित्व जाँचको लागि नयाँ समीकरण समेत अद्यावधिक गरिएको छ।
संरचनाको लचिलोपन सुधार गर्न नयाँ मापदण्ड समावेश गरी भवनहरूलाई भूकम्पका बेला थप ऊर्जा वहन गर्न सक्ने बनाइएको छ। अग्ला भवनहरुको स्थायित्वको लागि सफ्टस्टोरी र टोर्सनल इरेगुलरिटीमा नियन्त्रणको विषयमा सुधार गरिएको छ । यसबाट भवन निर्माणमा हुने खर्च कटौती हुनेछ।
पेशागत डिजाइनर,स्ट्रक्चरल इन्जिनियरर्स एसोसिएसन (सिनेप), पेशागत समाज, विश्वविद्यालयका प्राज्ञहरुलगायतका सरोकारवालासँग छलफल तथा अन्तक्रिया गरी प्राप्त सुझावलाई समेटेर नयाँ कोडा तयार गरिएको हो।
भवन संहितालाई समय सापेक्ष प्रयोगकर्तालाई सहज र सरल हुने गरी प्रयोग गर्न सक्ने बनाउन विभिन्न देशले प्रयोगमा ल्याएका कोडको व्यवस्थालाई समेत अध्ययन गरी आन्तरिक तथा वाह्य विशेषज्ञहरु समक्ष छलफल गराई प्राविधिक रुपमा परिमार्जन गरिएको छ।
पुरानो कोडमा केही अन्तर्राष्ट्रिय मापदण्डहरू अपुग भएका कारण डिजाइनमा प्राविधिक कठिनाइ देखिएको थियो। परिमार्जित कोडले भवन भूकम्पमा कम क्षति हुने, मानव जीवनको सुरक्षा बढ्ने, डिजाइन र निर्माणमा एकरूपता र पारदर्शिता कायम हुने, स्थानीय तहका भवन स्वीकृति प्रक्रियामा वैज्ञानिक मूल्याङ्कन गर्न सजिलो हुने, दीर्घकालीन लागत घट्ने, मर्मतसम्भार सरल हुने, इन्जिनियर र डिजाइनरका लागि स्पष्ट दिशानिर्देश गर्नेछ।
कांग्रेस केन्द्रीय समितिको बैठक शनिबार पुनः बस्ने
ललितपुर । गत असोज २८ गतेदेखि सुरु भएको नेपाली कांग्रेस केन्द्रीय समितिको बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्यहरुले धारणा राख्ने क्रम सकिएको छ ।
पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलले दिएको जानकारीअनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको सभापतित्वमा बसेको बिहीबारको बैठकमा उपसभापति धनराज गुरुङ, महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा, सहमहामन्त्रीहरू फरमुल्लाह मन्सुर, उमाकान्त चौधरी, भीष्मराज आङ्दम्बे र किशोरसिंह राठौरले आ–आफ्नो धारणा राखेका थिए ।
पार्टीको बैठक यही कात्तिक २९ गते दिउँसो २ः०० बजे केन्द्रीय कार्यालय सानेपाका पुनः बस्ने गरी बिहीबारको बैठक सम्पन्न भएको मुख्यसचिव पौडेलले जानकारी दिए ।
बैठकपछि प्रतिक्रिया दिँदै पार्टीका सहमहामन्त्री किशोरसिंह राठौरले पार्टीको महाधिवेशन सम्पन भएर चार वर्षको कार्यकाल पूरा भएको अवस्थामा विशेष महाधिवेशन हुँदैन भन्दै पार्टीलाई एक ढिक्का बनाएर जानुपर्छ भन्नेमा जोड दिए ।
अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन जसक्ने ओलीको दाबी
भक्तपुर । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले अराजकताबाट जन्मिएको सरकार लोकतान्त्रिक हुन नसक्ने दाबी गरेका छन् । अध्यक्ष ओलीले भदौ २३ र २४ गतेको विध्वंसबाट गठन भएको गैह्र लोकतान्त्रिक सरकारबाट लोकतन्त्रप्रतिको प्रतिवद्धता खोज्नु नहुने दाबी गरेका हुन् ।
एमाले झापाका अगुवा कार्यकर्ताहरुलाई बिहीबार साँझ भर्चुअल सम्बोधन गर्दै अध्यक्ष ओलीले अलोकतान्त्रिक सरकारले चुनाव गराउने नाटक गर्नु आफैंमा हास्यास्पद भएको जनाए ।
अध्यक्ष ओलीले सरकारले चुनाव गराउने भनेर घोषणा गरेको मिति अब चार महिना मात्र बाँकी रहेको तर नेताहरुलाई स्थान हद तोकेर चुनावको मञ्चन गर्नु जनता झुक्याउने खेल मात्र भएको जनाए ।
‘यो सरकार चुनाव गराउने भन्छ । नेताहरुलाई स्थान हद तोकेको छ । जिल्ला जान नपाउने, निर्वाचन क्षेत्र जान नपाउने, प्रचार गर्न नपाउने’ अध्यक्ष ओलीले सरकारप्रति आक्रोश पोख्दै भने, ‘राजनीतिक दल र नेताहरुलाई यस प्रकारको अवरोध गरेर कस्तो प्रकारको चुनाव गर्न खोजिएको हो ?’
अध्यक्ष ओलीले एमालेमाथि जेनजीका नाममा भएको आक्रमण पार्टीले राष्ट्रियता, राष्ट्रहित, विकास र समृद्धिका काम गरेकोमा तिनलाई निस्तेज पार्ने प्रयास भएको जनाए । यस प्रकारको आक्रमण रोक्न एमाले सक्षम रहेको उनको भनाइ छ ।
अध्यक्ष ओलीले समाजमा बढ्दै गएको अराजकतालाई रोक्न एमालेले टोलटोलमा टोल सुरक्षा समिति गठन गरिरहेको जनाए । यस्ता सुरक्षा समितीले अपराधिक गतिविधिको नियन्त्रण, त्यसमा संलग्नहरुलाई प्रहरीलाई बुझाउने र समुदायमा सुरक्षाको प्रत्याभूति दिने काम गर्ने जनाए ।
अध्यक्ष ओलीले गैरसंवैधानिक तरिकाबाट विघटन गरिएको प्रतिनिधि सभाको पुनर्स्थापनाका लागि एमालेले व्यापक दबाब सृजना गर्न कार्यकर्ताहरुलाई निर्देशन दिए। उनले प्रतिनिधि सभाको पुनर्स्थापनामार्फत लोकतान्त्रिक पद्धतिलाई सही बाटोमा ल्याइने जनाए ।
बैठकमा अध्यक्ष ओलीले कात्तिक २९ गतेको जागरण सभालाई झापामा भव्य रुपमा आयोजना गर्न निर्देशन दिएका छन् । उनले केन्द्रीयस्तरको जनपरिचालन कार्यक्रम सकिए पनि जिल्लाले अलग्गै आन्दोलनका कार्यक्रम बनाएर निरन्तरता दिन पनि निर्देशन दिए ।
बैठकमा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले भदौ २३–२४ को विध्वंस, आगजनी, र तोडफोडपछिको अवस्थाका बारेमा अध्यक्ष ओलीलाई जानकारी गराएका थिए ।
निर्वाचन क्षेत्रबाहिर र विदेशबाट मतदानको सम्भावना खोज्दै प्रधानमन्त्री
काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्कीले अन्तरनिर्वाचन क्षेत्र (निर्वाचन क्षेत्रबाहिर) र विदेशमा रहेका नेपाली नागरिकका लागि मतदानको सम्भाव्य व्यवस्थाबारे बिहीबार प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा विस्तृत छलफल गरेकी छन् ।
बैठकमा गृहमन्त्री ओमप्रकाश अर्यालको नेतृत्वमा गृह मन्त्रालयको टोली सहभागी थियो । कानून, न्याय तथा संसदीय मामिला मन्त्रालय, निर्वाचन आयोग, नीति अनुसन्धान प्रतिष्ठान र राष्ट्रिय पञ्जीकरण विभागका वरिष्ठ अधिकारीहरू पनि उपस्थित थिए ।
छलफलका क्रममा नीति अनुसन्धान प्रतिष्ठानले विदेश र आफ्नो निर्वाचन क्षेत्रभन्दा बाहिर रहेका नागरिकका लागि मतदान प्रणालीका सम्भावित विकल्पहरूबारे अध्ययन प्रतिवेदनको सारांश प्रस्तुत गरेको थियो ।
प्रस्तुति सुनेपछि प्रधानमन्त्री कार्कीले कम्तीमा अन्तरनिर्वाचन क्षेत्र मतदान प्रणाली लागू गर्न सकिने सम्भाव्यतातर्फ अघि बढ्नुपर्ने जनाईन । उनले मतदाता ओसार्नुपर्ने बाध्यताले उम्मेदवार र दलहरूमा परेको आर्थिक भारले भ्रष्टाचार र अन्य बेथितिहरू बढाएको भन्दै त्यसको समाधानका लागि ठोस कदम चाल्नुपर्ने धारणा राखिन् ।
उनले भनिन्, ‘पुरानै तरिकाको निर्वाचन गर्ने हो भने जेनजी आन्दोलन गर्नुको अर्थ छैन । अब सन्देशयुक्त र सुदृढ प्रणाली बनाऔं । भोलिका पुस्ताका लागि स्थायी व्यवस्था तयार गरौं । हाम्रो सन्तान डिजिटल साक्षरतामा अगाडि छन्, राजनीतिक नेतृत्वले यो कुरा बुझ्न जरुरी छ । यति कुरा पहिला नै बुझिएको भए भदौ २३ र २४ को घटना पनि नघट्थ्यो होला ।’
गृहमन्त्री अर्यालले सरकार चुनावी सुधार ल्याउन प्रतिबद्ध भएको जनाउँदै भने, ‘यो चुनावी सरकार हो । विगतका कमजोरी सुधार्दै अघि बढ्ने हाम्रो उद्देश्य हो । त्यसैले यसपालि केही न केही फड्को मार्नैपर्छ ।’
छलफलपछि प्रधानमन्त्री कार्कीले अन्तरनिर्वाचन क्षेत्र र विदेशमा रहेका नेपालीको मताधिकारका विषयमा गर्न सकिने काम, त्यसका लागि लाग्ने लागत र कानूनी संरचनाबारे सुझाव पेश गर्न कार्यदल गठन गरेकी छन् ।
संयन्त्रमा नीति अनुसन्धान प्रतिष्ठानका कार्यकारी अध्यक्ष, कानून मन्त्रालयका सचिव पाराश्वर ढुंगाना र निर्वाचन आयोगका प्रतिनिधि रहनेछन् ।
रवि र छविको मुद्दामा मिसिल झिकाउन आदेश
काठमाडौं । सहकारी ठगी आरोपमा थुनामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र छविलाल जोशीको मुद्दामा मिसिल झिकाउने आदेश भएको छ ।
आज उच्च अदालत बुटवलमा न्यायधिशद्वय बासुदेव आचार्य र ओमप्रसाद अर्यालको संयुक्त इजलासमा थप मिसिल झिकाउन आदेश दिएको हो ।
यसअघि पनि अदालतले प्रमाण मिसिल झिकाउने आदेश दिएको थियो ।
प्रतिनिधिसभा निर्वाचन ः माघ ६ गते उमेदवारी दर्ता गर्ने आयोगको प्रस्ताव
काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनमा प्रत्यक्षतर्फको उमेदवारी मनोनयन आगामी माघ ६ गते गर्ने प्रस्ताव राखेको छ ।
फागुन २१ गते हुने निर्वाचनको कार्यतालिकाबारे बिहीबार दलहरूसँगको छलफलमा आयोगले उक्त मिति प्रस्ताव गरेको हो । तर, प्रस्तावित मितिमा दलहरूले सहमति नजनाएपछि फेरि छलफल गर्ने जवाफ आयोगले दिएको छ ।
“प्रचारप्रसारको मिति १५ दिन दिने भनिएको छ । उमेदवारी दर्ता छिट्टै गर्ने कुरा अलि मिलेन कि भन्ने कुरा आएपछि फेरि छलफल गर्ने कुराकानी भएको छ,” स्रोतले भन्यो ।
समानुपातिकतर्फको उमेदवारीको बन्दसूची पेस गर्ने मिति पुस १८ र १९ यसअघि नै सार्वजनिक भइसकेको छ । तर, आयोगले त्यसमा पनि परिमार्जन गर्ने गरी प्रस्ताव राखेको स्रोतले जनाएको छ ।

















