Page 2

निर्वाचनको वातावरण बन्दैछ, सबैको सुझबुझ जरुरी छ ः प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले सांस्कृतिक विविधता नेपालको गौरव र ठूलो शक्ति भएको जनाएकी छन् ।
मंगलबार काठमाडौंमा आयोजित तमु ल्होसार महोत्सव २०८२ मा उनले सांस्कृतिक विविधता नेपालको गौरव भएको भन्दै तमु ल्होसारजस्ता पर्वहरूले मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गरेको जनाईन ।
उनले भनिन्, ‘सांस्कृतिक विविधता नेपालको गौरव हो । यही विविधता नै हाम्रो ठूलो शक्ति पनि हो । तमु ल्होसारजस्ता पर्वहरूले हामीलाई आफ्नो मौलिक पहिचान जोगाउँदै आपसी सद्भाव, सहिष्णुता र एकताको भावना अझ बलियो बनाउन प्रेरित गर्छन् । यस्ता पर्वहरूले समाजमा मेलमिलापको सन्देश फैलाउँछन् र प्रकृतिसँग सहअस्तित्वको पाठ सिकाउँछन् ।’
यस्तै, उनले सरकार पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएको पनि जानकारी दिएकी छन् ।
उनले भनिन्, ‘पछिल्ला दिनहरूमा देखिएका परिस्थितिबाट पाठ सिक्दै आज हामी शान्तिपूर्ण, संविधानसम्मत र लोकतान्त्रिक बाटोमार्फत युवाहरूले चाहेजस्तो देश निर्माण गर्ने दिशामा अग्रसर भएका छौँ । त्यसको मुख्य आधार भनेको स्वच्छ र निष्पक्ष निर्वाचन नै हो । आगामी फागुन २१ गते हुन लागेको निर्वाचनको वातावरण देशभरि बन्दै गएको छ । राजनीतिक दलहरुका तर्फबाट उत्साहका साथ समानुपातिक निर्वाचन प्रणालीतर्फका उम्मेदवारको बन्दसूची निर्वाचन आयोगमा पेस भएका छन् ।’
उनले निर्वाचन सम्पन्न गर्ने दिशामा नयाँ कोशेढुंगा पार गरेको भन्दै यसका लागि राजनीतिक दलको नेतृत्व तथा युवाहरुले देखाएको सुझबुझका लागि आभार व्यक्त पनि गरेकी छन् ।
सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी नराखेको पनि उनको भनाई छ ।
उनले भनिन्, ‘सरकारले शान्ति, सुरक्षा र सुव्यवस्था कायम गर्दै भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न कुनै कसर बाँकी राखेको छैन । यस कार्यमा सबै राजनीतिक दल, नागरिक समाज र सम्पूर्ण नेपाली दाजुभाइ दिदीबहिनीहरूको साथ, सहयोग र सक्रिय सहभागिता अत्यन्तै आवश्यक छ । मुलुकले अब थप अस्थिरता होइन, स्थायित्व र विश्वास चाहेको छ । हामी सबै मिलेर शान्ति, एकता र समृद्धिको मार्गमा अघि बढ्नुको विकल्प छैन ।’

सालपा विकास बैंकको आईपीओ बुधबारदेखि निष्काशन खुला

काठमाडौँ । सालपा विकास बैंक लिमिटेडले पुसर १६ गते बुधबारदेखि पुस २० गते आइतबारसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्ने भएको छ ।
बैंकले वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरेको आईपीओ बाँडफाँटपछि सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
बैंकले जारी पूँजी ५२ करोड २३ लाख ८८ हजार रुपियाँको ३३ प्रतिशतले हुन आउने १७ करोड २३ लाख ८८ हजार रुपियाँ बराबरको १७ लाख २३ हजार ८८० कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो ।
यसमध्ये विदेशमा रोजगारी गरिरहेका नेपालीहरुका लागि र सामूहिक लगानी कोषहरुका लागि आईपीओ बाँडफाँट गरिसकेको छ ।
२६ हजार ११९ कित्ता शेयर बैंकका कर्मचारीहरुलाई सुरक्षित राखी बाँकी रहने १४ करोड ३९ लाख १७ हजार ९०० रुपियाँबराबरको १४ लाख ३९ हजार १७९ कित्ता शेयर सर्वसाधारणका लागि निष्काशन गर्न लागेको बिक्री प्रबन्धक मुक्तिनाथ क्यापिटल लिमिटेडले जनाएको छ ।
उक्त कम्पनीको शेयर १ लाख ४३ हजार ९ सय ८ जनाले १०–१० कित्ता र ९ जनाले ११–११ कित्ताका दरले पाउने छन् ।

सानिमा रिलायन्स लाइफद्वारा इलाम नगरपालिकाका पहिरो प्रभावित क्षेत्रलाई आर्थिक सहयोग

काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सद्वारा संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत इलाम नगरपालिकाको पहिरो प्रभावितलाई एक लाख रुपैयाँ आर्थिक सहयोग हस्तान्तरण गरिएको छ।
उक्त सहयोग रकम सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सका प्रदेश प्रमुख कर्मराज पौडेलको उपस्थितिमा इलाम नगरपालिकाका मेयर केदार थापालाई हस्तान्तरण गरिएको हो।
कार्यक्रममा इलाम नगरपालिकाका प्रवक्ता तथा वडा नं. ४ का अध्यक्ष नुतनदेव दुलाल, सानिमा रिलायन्स लाईफ इलाम शाखा प्रबन्धक मदन घिमिरे, एजेन्सी मेनेजरहरू प्रकाश भट्टराई, डिकेन्द्र दाहाल, खेमराज ढकाल, खिन माया बस्नेत, सितामाया थेगिम तथा अग्रज व्यक्तित्व रोशन कर्माचार्यलगायत कम्पनीका अन्य कर्मचारीहरूको उपस्थिति रहेको थियो।
संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत कम्पनीले आगामी दिनहरूमा पनि शिक्षा, स्वास्थ्य, वातावरण संरक्षण, वित्तीय साक्षरता तथा विपद् व्यवस्थापनजस्ता क्षेत्रमा सक्रिय भूमिका निर्वाह गर्दै समाजप्रतिको उत्तरदायित्वलाई आत्मसात गर्ने योजना रहेको जनाएको छ। यस्ता प्रयासहरू मार्फत कम्पनीले नाफामुखी व्यवसायसँगै सामाजिक हितलाई समेत समान रूपमा अघि बढाउने विश्वास लिएको छ। साथै, भविष्यमा सामाजिक उत्तरदायित्वका कार्यक्रमहरूलाई अझ प्रभावकारी र समुदायमैत्री बनाउँदै लैजाने प्रतिबद्धता कम्पनीले व्यक्त गरेको छ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढीको लगानी भइसकेको छ। साथै, करिब २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा कार्यरत रहेका छन्।

आज तमु ल्होसार मनाइँदै, सार्वजनिक बिदा

काठमाण्डौं । गुरुङ समुदायको नयाँ वर्षका रूपमा मनाइने तमु ल्होसार आज देशभर विविध कार्यक्रमसहित मनाइँदैछ । पर्वको अवसरमा सरकारले सार्वजनिक बिदा दिएको छ भने राजधानी काठमाण्डौंसहित विभिन्न स्थानमा सांस्कृतिक गतिविधि बढेका छन् ।
तमु ल्होसार गुरुङ समुदायको समय–चक्र र सूर्यसँग जोडिएको पर्व हो । ‘ल्हो’ वर्ष र ‘सार’ फेरिनु भन्ने अर्थ राख्ने यस पर्वलाई वर्षको नयाँ सुरुवातका रूपमा लिइन्छ । गुरुङ समुदायको बसोबास रहेको हिमाली तथा पहाडी भू–भागमा सूर्यको ताप चाँडो पर्ने विश्वासका कारण पुस महिनामै तमु ल्होसार मनाइने परम्परा रहँदै आएको जानकारहरू जनाउँछन ।
विशेष गरी लमजुङ, गोरखा, तनहुँ, कास्की, स्याङ्जा, मनाङ र पर्वतलगायत जिल्लामा आज बिहानैदेखि गुरुङ समुदायका घर–घरमा परम्परागत पूजा, शुभकामना आदान–प्रदान तथा सामूहिक भोजको तयारी गरिएको छ ।
पुस १५ गते वर्षकै सबैभन्दा लामो रात पर्ने र त्यसपछि दिन क्रमशः लामो हुँदै जाने भएकाले तमु ल्होसारलाई प्रकाश, आशा र नयाँ ऊर्जाको प्रतीकका रूपमा समेत लिइन्छ । यही कारणले यस पर्वलाई प्रकृतिसँग नजिकको पर्वका रूपमा पनि चिनिन्छ ।
काठमाडौंको टुँडिखेलमा गुरुङ समुदायले विशेष सांस्कृतिक कार्यक्रम आयोजना गरेका छन् । कार्यक्रममा गुरुङ समुदायका पुरुष–महिला परम्परागत वेषभूषामा सजिएर घाटु, सोरठी तथा अन्य मौलिक नृत्य प्रस्तुत गर्दै सांस्कृतिक पहिचान झल्काउनेछन् । साथै मौलिक परिकारहरूको प्रदर्शनीसमेत गरिनेछ ।
पछिल्ला वर्षहरूमा तमु ल्होसार केवल समुदायभित्र सीमित नभई राष्ट्रिय सांस्कृतिक पर्वका रूपमा पनि स्थापित हुँदै गएको छ । सार्वजनिक बिदा र खुला सांस्कृतिक कार्यक्रमले बहुसांस्कृतिक समाजमा आपसी सद्भाव र सांस्कृतिक सहअस्तित्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ ।

नेपाल लाइफले दुई लाख कित्ता संस्थापक समूहको सेयर बेच्दै

काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले आफ्नो दुई लाख कित्ता संस्थापक शेयर बिक्री गर्ने भएको छ । मंगलबार एक सूचना जारी गर्दै कम्पनीले बुधबारदेखि संस्थापक सेयर बिक्री गर्न लागेको जनाएको हो ।
यो शेयरमा इच्छुक योग्य जोकोही व्यक्ति तथा संस्थाले खरिद आवेदन दिन सक्नेछन्।
बिक्रीमा राखिने शेयरको न्यूनतम मूल्य प्रतिकित्ता ४०० रुपैयाँ तोकिएको छ। साथै, खरिद गर्न चाहनेले २ लाख कित्ता नै बोलकबोलमा राख्नुपर्नेछ । यसको अर्थ लगानीकर्ताले न्यूनतम ४०० रुपैयाँमा दुई लाख कित्ता सेयर गरिद गर्न सक्ने अवस्था भएमा मात्रै आवेदन दिन सक्नेछन् ।
बोलपत्र पुस २३ गतेसम्म पेस गर्नुपर्नेछ। बोलपत्र काठमाडौंको नक्सालस्थित मुक्तिनाथ क्यापिटलमा बुझाउन सकिनेछ।

देश हितलाई सर्वोपरि राखेर एक ठाउँमा उभियौँ ः कुलमान घिसिङ

काठमाडौं । ऊर्जामन्त्री एवं उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङले व्यक्तिगत लाभभन्दा जनताको चाहना र देश हितलाई सर्वोपरि राखेर आफूहरू अघि बढेको जनाएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सँग उज्यालो नेपालको एकीकरणपश्चात् उनले प्रतिक्रिया दिएका हुन् ।
मंगलबार (पुस १५) सामाजिक सञ्जाल फेसबुकमा उनले रास्वपासँग उज्यालो नेपालको एकीकरणले देशलाई सही निकासतर्फ लैजाने विश्वास लिइएको उल्लेख गरेका छन् । उनले दुई पार्टीबीच ‘ऐतिहासिक एकीकरणको सहमति’ भएको जनाएका छन् ।
“उज्यालो नेपाल पार्टी र राष्ट्रिय स्वतन्त्र पार्टीबीच ऐतिहासिक एकीकरणको सहमति भएको छ । पद, स्वार्थ र व्यक्तिगत लाभभन्दा माथि उठेर जनताको चाहना र देशको हितलाई सर्वोपरि राख्दै उज्यालो भविष्यको मार्गतर्फ हामी एक ठाउँमा उभिएका हौँ,” उनले लेखेका छन्, “यो एकीकरणले देशलाई सही निकासतर्फ लैजाने दृढ विश्वास लिएका छौँ ।”
उज्यालो नेपाल अभियानलाई अझ सशक्त बनाउन सबैको साथ र सहयोग रहने उनले विश्वास व्यक्त गरेका छन् ।

एकैदिन तोलामा ८ हजारले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा मंगलबार (पुस १५) सुनको मूल्य ह्वात्तै घटेको छ ।
यस दिन सुन तोलामा ७ हजार ९०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन प्रतितोला दुई लाख ६२ हजार १०० रुपैयाँमा कारोबार भइरहेको छ ।
यस्तै, यस दिन चाँदी तोलामा ३०५ रुपैयाँले घटेर चार हजार ९३५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

बयान दिन जाँचबुझ आयोग जाँदै पूर्वगृहमन्त्री लेखक

काठमाडौं । पूर्वगृहमन्त्री एवम् नेपाली कांग्रेसका नेता रमेश लेखक आज (सोमबार) जाँचबुझ आयोगमा बयान दिन जाने भएका छन् ।
लेखक भदौ २३ र २४ गतेको घटनासम्बन्धी जाँचबुझ आयोग २०८२ को कार्यालयमा उक्त घटनाको जानकारी गराउन आज मध्यान्ह १२ बजे जान लागेका हुन् ।
पूर्वगृहमन्त्री लेखकले आज नै दिउँसो २ बजे नेपाली कांग्रेस संसदीय दलको कार्यालय सिंहदरबारमा सञ्चारमाध्यममार्फत पनि आफ्नो धारणा सार्वजनिक गर्ने छन् ।
भदौ २३ र २४ गते भएको घटनाको छानबिन गर्न बनेको जाँचबुझ आयोगले तत्कालीन गृहमन्त्री लेखकलाई बयानका लागि पत्र काटेको थियो ।

रवि र बालेनले घिसिङसँग निर्णायक छलफल गर्दै

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाण्डौ महानगरपालिकाका मेयर बालेन्द्र शाहले उज्यालो नेपाल पार्टीका संरक्षक कुलमान घिसिङसँग सहकार्यका लागि पुनः छलफल थालेका छन्।
आइतबार रास्वपामा प्रवेश गरेका बालेन र लामिछानले आइतबार राति घिसिङसँग पार्टी एकताबारे छलफल गरेका थिए । तर छलफल निष्कर्षमा नपुगेपछि तीन वटै नेताबीच सोमबार पनि छलफल हुँदैछ ।
छलपmलमा सहभागि एक नेताका अनुसार सोमबार निर्णायक छलफल हुनेछ । ‘सोमबार निर्वाचन आयोगमा समानुपातिक उम्मेदवारको बन्दसूची पेस गर्ने अन्तिम दिन हो, त्यसको समयसीमालाई ख्याल गर्दै घिसिङसँग सहमतिको अन्तिम प्रयास गरिनेछ,’ ती नेताले भने ।
शनिबार राति करिब सात घण्टासम्म चलेको वार्तापछि बालेन र रविबीच सहकार्य गर्ने सहमति भएको थियो । जसमा निर्वाचनपछि सरकार सञ्चालनको भूमिका बालेनले लिने र रविले पार्टीको नेतृत्व गर्ने सहमति भएको छ ।
रवि, बालेन र घिसिङबीच एकताको प्रयास भएपनि त्यसमा प्रगति नभएपछि आइतबार बिहान रवि र बालेनबीच एकताको सात बुँदे सम्झौता भएको थियो ।
पार्टीमा घिसिङलाई कुन पद दिने भन्ने विषयमा कुरा मिल्न सकेको थिएन । तर रवि–बालेनबीच सहमति भएपछि घिसिङले आइतबार पोखरामा सहकार्य गर्न आफू तयार रहेको जनाएका थिए ।

नेकपा र एमालेले आज समानुपातिकको बन्दसूची बुझाउँदै

काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) र एमालेले सोमबार समानुपातिकतर्फको बन्दसूची बुझाउँदै छ ।
नेकपाका नेता देव गुरुङले जिल्लाबाट आएका उम्मेदवारको सिफारिसलाई प्रदेशले निर्णय गरेर केन्द्रमा पठाएको जनाउँदै त्यसैलाई जोडेर सोमबार निर्वाचन आयोगमा बुझाउने जनाए ।
नेकपाले एउटा जिल्लाबाट एकजना महिला अनिवार्य हुने गरी सूची पठाउन सर्कुलर जारी गरेको थियो । समानुपातिक तर्फ ११० जनाका लागि आकांक्षी धेरै भएकाले नयाँलाई अथवा मौका नपाएका उम्मेदवारलाई यस पटक समेट्ने नेता गुरुङले जनाए ।
यस्तै अध्यक्ष केपी शर्मा ओलीले तयार पारेको बन्दसूचीलाई सुझावसहित पारित गर्दै सोमबार निर्वाचन आयोगमा बुझाउने तयारी एमालेको छ ।
एमाले उपमहासचिव लेखराज भट्टले विभिन्न जिल्ला हुँदै प्रदेशबाट सिफारिस भएका आधारमा बन्दसूची तयार पारिएको जानकारी दिए ।
भट्टका अनुसार बन्दसूचीमा अध्यक्ष ओलीले आवश्यक ठानेमा करेक्सन गरेर निर्वाचन आयोगमा दर्ता गर्न पठाउने सचिवालय बैठकले निर्णय गरेको छ ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...