Page 3

एमाले सचिवालय बैठक बस्दै

काठमाडौं । नेकपा (एमाले) को सचिवालय बैठक आज (आइतबार) बस्दैछ । पार्टीको ११ औं महाधिवेशनपछि पहिलोपटक बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्नेछ ।
बैठकमा देशभरबाट प्राप्त भएका समानुपातिकतर्फका उम्मेदवारहरूका बारेमा छलफल हुने जनाईएको छ । निर्वाचन आयोगले फागुन २१ गते हुने निर्वाचनका लागि पुस १३ गते (आइतबार) समानुपातिक उम्मेदवारको बन्दसूची बुझाउने अन्तिम मिति तोकेको छ ।
जिल्ला र प्रदेशबाट समानुपातिकतर्फका आकांक्षीहरूको नाम संकलन गरी पार्टी अध्यक्ष केपी शर्मा ओली र महासचिव शंकर पोखरेलसहितका नेताहरूले ती नामहरूको छोटो सूची तयार गरेका छन् ।
आजको बैठकमा नेताहरूले दिएका सुझावका आधारमा समानुपातिक उम्मेदवारहरूको अन्तिम नामावली टुंग्याएर निर्वाचन आयोगमा बुझाउने तयारी रहेको जनाईएको छ ।

बालेन लक्षित हर्कको टिप्पणी– सहकारी काण्डमा तानिएकासँग मिलेर देशलाई लिलाम गर्न खोजिँदैछ

काठमाडौं । श्रम संस्कृति पार्टीका अध्यक्ष एवम् धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले रवि–बालेन सम्झौताको कडा शब्दमा आलोचना गरेका छन् ।
आइतबार रवि–बालेनबीचको सम्झौतापछि सामाजिक सञ्जालमा भिडियो राख्दै उनले बालेनलाई लक्षित गर्दै सहकारी काण्डमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि चुनावमा आउन लागेको भन्दै यस्तो व्यक्तिलाई सबै नेपालीले प्रश्न गर्नुपर्ने जनाए ।
मेयर साम्पाङले भने, ‘जेनजी आन्दोलनको मागको सम्बोधन जसले गर्दैन्, चुनावको कुरा बाहेक अरु केही पनि गर्दैन् । त्यस्तो खालको व्यक्ति को होला र त्यो व्यक्ति फेरि चुनावमा आउने भन्ने कुरा पनि सुनिरहेको छु । सहकारी केस के केमा तानिएका मान्छेहरुसँग मिलेर एउटा सत्ताको लागि र यो देशलाई लिलाम गर्नको लागि एउटा मान्छे लुकेर बस्ने मान्छेलाई प्रत्यक नेपालीले प्रश्न गर्नुपर्छ ।’
यस्तै, उनले ७०, ८० जना मान्छेको मृत्यु हुँदा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा खरानी भएको देश टुलुटुलु भित्र बस्ने व्यक्ति अहिले बाहिर आउन लागेको पनि उल्लेख गरेका छन् ।
उनले भने, ‘एउटा विदेशी दलाल जो भित्रभित्र लुकेर खेल खेल्छ, डर लाग्दो खेल खेल्छ । जेनजीलाई उस्काएर आन्दोलनमा लड्न पठाउछ, जब ७०, ८० जना मान्छेको मृत्यु हुन्छ, सयौं मान्छे घाइते हुन्छ । एउटा जेनजीले गरेको आन्दोलन उत्कर्षमा पुग्दा देश जलेर खरानी हुन्छ त्यो खरानी भएको देश टुलुटुलु भित्र बसेर हेरिरहन्छ, मुसुमुसु हासेर, बाहिर आउँदैन् । त्यति बेला सघाइदिनुपर्‍यो भनेर जेनजीले बोलाउँदा आउने सहास गर्दैन् । तर भित्र बसेर विदेशी शक्तिको सेटिङमा फलाना यस्तो, उस्तो भनेर एउटा आफ्नै मातहतको सरकार बनाउँछ ।’
मेयर साम्पाङले एमसीसी र सहकारीसँग जोडेर रवि लक्षित टिप्पणी पनि गरेका छन् ।

बालेन पार्टीको जिम्मेवारीमा नबस्ने, दोस्रो वरीयतामा रहने

काठमाण्डौं । काठमाण्डौं महानगरपालिकाका मेयर बोलन शाह ७ बुँदे सहमति गरेर राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा प्रवेश गर्ने निर्णय गरेपनि उनी कुनै पनि जिम्मेवारीमा नबस्ने भएका छन् ।
बालेन निकट स्रोतका अनुसार पार्टीमा उनी कुनै पदीय जिम्मेवारी नलिने गरी साधारण सदस्यमा मात्र रहनेछन् । उनी पार्टीको दोस्रो वरीयतामा बस्ने छन् ।
रास्वपा सभापति रवि लामिछाने र मेयर बालेनबीच आइतबार बिहान ७ बुँदै सहमतिमा हस्ताक्षर भएको छ । हस्ताक्षर पछि बालेन राजनीतिक दलमा आबद्ध भएका छन् ।
बालेनले अहिले कुनै पनि पद नमागे पनि पार्टीमा दोस्रो वरीयता रहने भएको हो । स्रोतका अनुसार उनले केन्द्रीय समितिमा सदस्य मात्रै बस्ने जनाएका हुन् ।
रास्वपामा हाल सभापति रवि लामिछाने, उपसभापति डीपी अर्याल र स्वर्णीम वाग्ले क्रमशः वरीयतामा छन् ।
सहमतिअनुसार बालेनलाई रास्वपाले भावी प्रधानमन्त्रीका रूपमा अघि सार्ने छ । फागुन २१ मा हुने प्रतिनिधिसभाको निर्वाचनमा रास्वपाले बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाएर चनावी मैदानमा जानेछ ।
यस्तै बालेनसँग भएको सहमतिअनसार अब राष्ट्रिय स्वतन्त्र पार्टीलाई निर्वाचन आयोगमा अद्यावधिक गरिनेछ । बालेन पक्षका व्यक्तिहरूलाई संलग्न गरेर त्यसकोविवरण निर्वाचन आयोगमा अद्यावधिक गरिने भएको हो ।
सहमतिपत्रको बुँदा नम्बर ६ मा भनिएको छ, ‘यस सम्झौता बमोजिम राष्ट्रिय स्वतन्त्र पार्टी सम्बन्धी दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने ।’
रास्वपाको संरचनालाई थप सक्षम र फराकिलो बनाउनका लागि युवा अभियन्ता र अनुभवी विज्ञलाई ल्याइने छ ।
‘बृहत् एकता पश्चात् पार्टीको संगठनात्मक संरचनालाई थप सक्षम र फराकिलो बनाउन युवा अभियन्ता एवं अनुभवी विज्ञहरुलाई समुचित समायोजन गर्दै जिम्मेवारी तोक्दा योग्यता, समावेशिता र सार्वजनिक छविलाई आधार मान्ने,’ सहमतिपत्रमा उल्लेख छ ।

कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै

काठमाडौँ । नेपाली कांग्रेस केन्द्रीय कार्य सम्पादन समितिको बैठक आज पनि बस्ने भएको छ ।
केही दिन यता लगातार बसिरहेको बैठक पार्टी केन्द्रीय कार्यालयमा दिउसो १ बजेबाट सुरु हुनेछ ।
यसअघि शुक्रबार महाधिवेशनको तयारी र निर्वाचनबारे नेताहरूले धारणा राखेका थिए । नेताहरूले नियमित महाधिवेशन सम्भव नभए विशेष महाधिवेशन गर्नुपर्ने जनाईरहेका छन् ।
विशेष महाधिवेशन मागकर्ताहरूले पक्षधरले पनि हिजो नै पार्टीलाई स्मरण पत्र बुझाएका छन् । पूर्वनिर्धारित नियमित महाधिवेशनमा अलमल देखिएपछि उनीहरूले पार्टी केन्द्रीय कार्यालयमा पुगेर महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोधार्थ दिएर केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेललाई स्मरण पत्र बुझाएका हुन् ।

तीन दलका शीर्ष नेताहरुसँग छलफल गर्दै प्रधानमन्त्री

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले प्रमुख तीन दलका शीर्ष नेताहरुसँग आज छलफल गर्ने भएकी छन् ।
प्रधानमन्त्री कार्कीले नेपाली कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’सँग छलफल गर्न लागेका हुन् । छलफल अपराह्न ४ बजे हुने जनाईएको छ ।
छलफल निर्वाचन केन्द्रित हुने जनाईएको छ । यसअघि शुक्रबार सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले कांग्रेस सभापति देउवा, एमाले अध्यक्ष ओली र नेकपाका संयोजक प्रचण्डलाई भेटेर निर्वाचनको वातावरण बनाउन आग्रह गरेका थिए ।

यी हुन् प्रतिनिधिसभा सदस्यका लागि मतदान गर्ने अस्थायी मतदाता

काठमाडौँ । फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभाको निर्वाचनका लागि निर्वाचन आयोगले अस्थायी मतदाता नामावलीमा नाम समावेश हुनेहरुको निर्धारण गरेको छ ।
आयोगले अन्तिम मतदाता नामावलीमा नाम रहेका नेपाल सरकार, प्रदेश सरकार, स्थानीय तह तथा नेपाल सरकार वा प्रदेश सरकारको स्वामित्व वा नियन्त्रणमा रहेको संस्थामा कार्यरत कर्मचारी अस्थायी मतदाताका रूपमा रहनेछन् ।
यस्तै, व्यारेकमा रहेका नेपाली सेना, नेपाल प्रहरी वा सशस्त्र प्रहरी, कारागारमा रहेका थुनुवा र कैदी, निर्वाचन कार्यमा खटिएका कर्मचारी र सुरक्षाकर्मी पनि अस्थायी मतदाताका रूपमा रहनेछन् ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तहले सञ्चालन गरेको वा ती सरकारको स्वीकृत लिई सञ्चालन भएको वृद्धाश्रममा बसेका व्यक्ति, संवैधानिक निकायका प्रमुख तथा पदाधिकारी पनि अस्थायी मतदाताका रुपमा रहनेछन् । अस्थायी मतदाता नामावली समन्वय समितिको संयोजमा मतदाता नामावली हेर्ने निर्वाचन आयुक्त रहने व्यवस्था छ ।
समितिमा निर्वाचन आयोगका सचिव, गृह मन्त्रालय, रक्षा मन्त्रालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव सदस्य रहने व्यवस्था छ । निर्वाचन आयोगका सबै महाशाखाका सहसचिव आयोगका वरिष्ठ कम्युटर अधिकृत सदस्य रहने व्यवस्था छ । यस्तै, मतदाता नामावली तथा निर्वाचन सञ्चालन शाखा वा तोके बमोजिमको उपसचिव सदस्यसचिव रहनेछन् ।
यसैगरी जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा जिल्लास्थित सुरक्षा निकायका प्रमुख, जिल्ला कारागार प्रमुख सदस्य रहनेछन् । निर्वाचन अधिकारीलाई सदस्य सचिवका रुपमा रहने व्यवस्था गरिएको छ ।
अस्थायी मतदाता नामावली सङ्कलनका लागि सम्बन्धित निकायसँग कर्मचारीको विवरण माग गर्ने र विद्युतीय प्रतिसहित निर्वाचन कार्यालयमा पठाउनुपर्ने व्यवस्था छ । अस्थायी मतदाता नामावली प्रमुख नाम दर्ता अधिकारीले सम्बन्धित निर्वाचन अधिकृतलाई उपलब्ध गराउनुपर्नेछ ।
निर्वाचन अधिकृतले मतदाता केन्द्रमा खटिने कर्मचारी वा सुरक्षाकर्मीको अस्थायी मतदाता नामावली निर्धारित ढाँचामा तयार पार्नुपर्ने व्यवस्था छ ।

राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने शंकर पोखरेलको दाबी

नेपालगञ्ज । नेकपा (एमाले) का महासचिव शङ्कर पोखरेलले राजनीतिमा धैर्य र समर्पण नभए दुर्घटना निम्तिने दाबी गरेका छन् ।
नेपालगञ्जमा आजदेखि सुरु भएको राष्ट्रिय वाणिज्य बैंक कर्मचारी सङ्घ नेपालको १२औँ महाधिवेशनको उद्घाटन समारोहमा महासचिव पोखरेलले राजनीतिमा ‘तातै खाऔँ, जल्दै मरौँ’ जस्तो हतार गरे सफलता हासिल नहुने जनाएका हुन् ।
युवापुस्ताले भावनामा बहकिएर होइन, परिस्थितिलाई तथ्य र सत्यका आधारमा विश्लेषण गरेरमात्र समाज परिवर्तनको यात्रामा लाग्नुपर्नेमा उनले जोड दिए ।
एमाले युवाका नाममा राजनीति गर्ने पार्टी नभई युवालाई राजनीतिमा जोड्ने पार्टी भएको जनाउँदै उनले ११औँ महाधिवेशनबाट एकतिहाइ नयाँ युवा सदस्य निर्वाचित भएको उल्लेख गरे ।

निर्वाचनको विकल्प नभएको प्रचण्डको धारणा

काठमाडौं । नेपाली कम्युनिस्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मुलुकमा विद्यमान राजनीतिक समस्या समाधान गर्न निर्वाचनको विकल्प नभएको धारणा व्यक्त गरेका छन् ।
केन्द्रीय कार्यालय पेरिसडाँडामा आज आयोजित पार्टी प्रवेश कार्यक्रममा उनले संसद् पुनर्स्थापनाको पछाडि नलाग्न आग्रह गर्दै भयरहीत वातावरणमा निष्पक्ष चुनाव जनताले माग गरिरहेकाले दलहरूल त्यसको तयारीमा लाग्नुपर्ने जनाएका हुन् ।
उनले कम्युनिस्टले मात्र देश विकास तथा जनताको पक्षमा काम गर्न सक्ने भएकाले कम्युनिस्ट शक्तिबीच एकता वर्तमान आवश्यकता भएको उल्लेख गरे ।
पूर्वप्रधानमन्त्रीसमेत रहेका दाहालले मुलुकमा राष्ट्रिय स्वाधीनताको रक्षा गरी देशमा विद्यमान सङ्कटको समाधान गर्न समान वैचारिक दृष्टिकोण बोकेका वाम शक्तिबीच ध्रुवीकरण प्रारम्भ भएको जनाए ।

रवि र बालेनबीच आज सम्झौता नहुने

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने र काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र साहबीच आज सम्झौता नहुने भएको छ ।
यसअघि रवि र बालेनबीच आज सम्झौता हुने जनाईएको थियो ।
बालेनको समय अभावका कारण सहमतिपत्रलाई टुंग्याउन नभ्याउँदा आज सहमति नहुने भएको हो । अब भोलिमात्रै सहमतिपत्रमा हस्ताक्षर हुनेछ ।

प्रभु बैंकका सीईओ अशोक शेरचन रिहा

काठमाडौं । प्रभु बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अशोक शेरचरन रिहा भएका छन्।
तीनवटा केसमा म्याद थपका लागि लगिएकोमा विशेष सरकारी वकिलको कार्यालयले छाड्ने आदेश दिएको केन्द्रीय अनुसन्धान व्यूरोका प्रवक्ता शिवकुमार श्रेष्ठले जानकारी दिए । उनका अनुसार शेरचनलाई बाहिरै राखेर मुद्दाको थप अनुसन्धान हुने छ ।
स्वास्थ्यमा समस्या देखिएपछि शेरचन चीरायू अस्पतालमा उपचाररत छन् । मंसिर १४ गते शेरचनलाई बैंकको केन्द्रीय कार्यालय बबरमहल पक्राउ गरेको थियो ।
प्रभु ग्रुपका अध्यक्ष देवी प्रकाश भट्टचन र उनका व्यवसायिक साझेदार कुसुम लामाबीच देखिएको लेनदेन विवाद चुलिँदा प्रभु बैंक र यसका सीईओ शेरचन पनि छानबिनको दायरामा तानिएका हुन् ।
भट्टचन र लामा लगायतको लागनी रहेको प्रभु म्यानेजमेन्टले प्रभु मनि ट्रान्सफर र प्रभु बैंकको रेमिट्यान्सको सुपर एजेन्ट भएर काम गरेको र रेमिट्यान्स कारोबारका लागि सहकारीबाट लिएको धरौटीवापतको रकम अपचलन गरेको आरोपमा सीआईबीले अनुसन्धान गरिरहेको हो ।

लेटेष्ट समाचार

साफ महिला च्याम्पियनसिपमा आज दुई खेल हुँदै

काठमाण्डौं । पोखरा अन्तर्राष्ट्रिय फुटबल रंगशालामा सञ्चालन भइरहेको १९ वर्षमुनिको साफ महिला च्याम्पियनसिप फुटबल प्रतियोगिता अन्तर्गत सोमबार लिग चरणका दुई खेल हुँदैछन्। पहिलो खेल बांग्लादेश...

राष्ट्रपति पौडेल जापानमा, नेपाल –जापान सम्बन्धको ७०औँ वार्षिकोत्सव मनाइँदै

काठमाण्डौं । नेपाल र जापानबिच कूटनीतिक सम्बन्ध स्थापना भएको ७०औँ वार्षिकोत्सव सोमबार मनाइँदैछ । यस अवसरमा आयोजित विशेष समारोहमा सहभागी हुन राष्ट्रपति रामचन्द्र पौडेल...

प्रतिनिधिसभा निर्वाचन ः प्रत्यक्षतर्फ २५ जिल्लाका ३० लाख मतपत्र छापियो

काठमाडौं । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा निर्वाचनको प्रत्यक्षतर्फ हालसम्म ३० लाख मतपत्र छपाइ भएको छ । निर्वाचन आयोगका अनुसार कूल २५...