काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले गोल्मा देवी आधारभुत विद्यालय धुलिखेल १ मितिनछाप काभ्रेपलान्चोकका विद्यार्थीहरुलाई सुइटर र ब्याग बितरण गरेको छ । कम्पनीले शुक्रबार बिहान एक कार्यक्रमको आयोजना गरी उक्त सामाग्री हस्तान्तरण गरेको हो ।
कार्यक्रमलाई सम्बोधन गर्दै कम्पनीका बागमती प्रदेश प्रमुख हरि शर्मा पौडेलले बीमाको बजारलाई सहजीकरण गर्नको लागि विद्यार्थी र विद्यालय तथा शिक्षक–शिक्षिकाको भुमिका महत्वपूर्ण रहेको जनाएका छन् ।
साथै, पेशागत बीमा अभिकर्ता संघका केद्रिय उपाध्यक्ष दामोदर गौतमले मानिसको जीवनमा बीमाको निकै महत्वपूर्ण भूमिका रहेको भएकाले बीमा गर्नु परेको खण्डमा हिमालयन लाइफ इन्स्योरेन्सलाई नै रोज्न सम्पूर्णलाई आग्रह गरेका छन् ।
शैक्षिक सामाग्री वितरण कार्यक्रममा बाग्मती प्रदेश प्रमुख हरि शर्मा पौडेल, बनेपा शाखा प्रमुख मदन सापकोटा,पेशागत बिमा अभिकर्ता संघ नेपाल केन्द्रिय उपाध्यक्ष दामोदर गौतम, धुलिखेल १ वडा अध्यक्ष सन्त बहादुर तामाङ, प्रधान अध्यापक र शिक्षकहरु, स्कुल ब्यबस्थापन समिति, अभिभावकहरु तथा विद्यार्थीहरुको सहभागिता रहेको छ ।
हिमालयन लाइफ इन्स्योरेन्सद्वारा शैक्षिक सामाग्री वितरण
सिद्धार्थ बैंकले मनायो २३ औँ वार्षिकोत्सव
काठमाडौं । २०५९ सालमा स्थापना भएको सिद्धार्थ बैंकले स्थापनाकालको २३ औँ वर्ष पूरा गरेको छ ।
बैंक संचालनको २३ वर्ष पूरा भएको अवसरमा बैंकले नक्साल स्थित प्रधान कार्यालय भवनमा कामु प्रमुख कार्यकारी अधिकृत लगायत बैंकमा कार्यरत कर्मचारीहरुको उपस्थितिमा एक कार्यक्रम गरी वार्षिकोत्सव सम्पन्न गरिएको हो ।
यसैगरी बैंकले आफ्नो वार्षिकोत्सवलाई भव्य र सभ्य बनाउने उद्देश्यले विभिन्न कार्यक्रमहरूको आयोजना गरेको छ । यस अवसरमा, फुटसल प्रतियोगिता, टेबल टेनिस, देशका विभिन्न स्थानहरुमा रक्तदान कार्यक्रमका साथै बैंकमा कार्यरत रहि १५ वर्ष सेवा अवधि पूरा गरेका कर्मचारीहरुको योगदानलाई कदर गर्दै सम्मान पनि गरेको छ ।
यहि अवसरमा बैंकले देशका विभिन्न स्थानहरु विराटनगर, दमक, वीरगंज, सिमरा, जनकपुर, हात्तीसार, नारायणगढ, पोखरा, भैरहवा, सुर्खेत र धनगढी गरी एघार स्थानमा रक्तदान कार्यक्रमको आयोजना गरेको छ । उक्त रक्तदान कार्यक्रममा बैंकका कर्मचारीहरुका साथै, ग्राहक महानुभावहरु एवं स्थानीयवासीहरु (४३४ पुरुष र ५४ महिला) गरी जम्मा ४८८ जना रक्तदाताहरुले रक्तदान गरेका छन् ।
बैंकले आफ्नो २३ वर्षे यात्रालाई स्मरण गर्दै आयोजना गरिएका यी कार्यक्रमहरुले संस्थागत एकता, कर्मचारीहरुको मनोबल अभिवृद्धि तथा सामाजिक उत्तरदायित्वप्रति बैंकको प्रतिबद्धतालाई थप मजबुत बनाउने लक्ष्य लिएको छ ।
नागरिक लगानी कोषका सहभागीलाई मौलाकालिका अस्पतालमा छुट
काठमाडौं । नागरिक लगानी कोषका सहभागी, सेयरधनी र कर्मचारीहरूलाई मौलाकालिका अस्पताल प्रालि भरतपुर, चितवनले सबै सेवामा २० प्रतिशत छुट दिने भएको छ ।
सो सम्बन्धी सम्झौतामा कोषका निर्देशक शोभा श्रेष्ठ सुवेदी र अस्पतालका प्रबन्ध निर्देशक डा। केशवराज भुर्तेलले हस्ताक्षर गरेका छन् ।
सम्झौतासँगै अब कोषका सदस्य, सहभागी, सेयरधनी र कर्मचारीले उक्त छुट पाउनु हुनेछ । छुटको लागि कोषको परिचयपत्र वा सहभागी कार्ड पेस गर्नु पर्ने व्यवस्था गरिएको छ ।
आज क्रिसमस दिवस
काठमाण्डौं । क्रिश्चियन धर्मका संस्थापक येशु ख्रीष्टको जन्मदिनको सम्झनामा यस धर्मावलम्बीहरूले क्रिसमस दिवस मनाउँदैछन् । आजभन्दा दुई हजार २५ वर्षअघि डिसेम्बर २५ तारिखका दिन येशु ख्रीष्टको जन्म इजरायलको वेथलेहेममा भएको थियो ।
विश्वका धेरै मानिसले मनाउने क्रिसमस दिवस नेपालमा भने २०६३ सालपछि महोत्सवका रूपमा मनाउन थालिएको हो ।
पवित्र आत्माबाट गर्भवती भई कुमारी मरियमबाट जन्मएको भनिएका येशु ख्रीष्टले तीन मुख्य खुसियाली दिएको नेपाल ख्रिष्टियन महासङ्घका अध्यक्ष सिबी गहतराजले जानकारी दिए । उनले मुक्ति, प्रेम र शान्ति दिएको विश्वासमा क्रिश्चियन समुदायले आजको दिनलाई तीनवटै दिवसका रूपमा मनाउने गरेको उनले जनाए ।
दिवसका अवसरमा २०६३ सालदेखि २०७४ सम्म सार्वजनिक बिदा दिइएको थियो । २०७५ सालदेखि २०७७ सम्म क्रिश्चियन धर्मावलम्बीलाई मात्र बिदा दिइएको थियो । २०७८ सालदेखि फेरि सबैलाई सार्वजनिक बिदा दिइएको छ ।
पछिल्लो समय मुख्य शहरका प्रमुखस्थल क्रिसमस ‘ट्रि’ ले सजाउने गरिएको छ । विशेष गरी पर्यटक बढी आउने पर्यटकीय क्षेत्र ठमेल, बौद्ध, पोखरा, सौराहालगायत सहरमा क्रिसमसको रमझम बढी हुने गरेको छ ।
क्रिसमस दिवसको पूर्वसन्ध्यामा गएराति काठमाण्डौं, ललितपुर सहितका शहरहरुका सपिङ मलहरूमा विभिन्न कार्यक्रम आयोजना गरिएको छ ।
नेपालमा ३० लाख क्रिश्चियन धर्मावलम्बी र १३ हजारभन्दा बढी चर्च छन् ।
निर्वाचन आयोगले जारी गर्यो निर्वाचन आचारसंहिता – २०८२ को मस्यौदा
काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता २०८२ को मस्यौदा सल्लाह सुझावका लागि जारी गरेको छ ।
आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आयोगले आचारसंहिताको मस्यौदा जारी गरेको हो ।
निर्वाचनमा स्वतन्त्रता, स्वच्छता, निष्पक्षता, पारदर्शिता, मितव्ययिता तथा भयमुक्त वातावरण कायम राख्न निर्वाचन आचारसंहिताको मस्यौदा जारी गरिएको आयोगले जनाएको छ ।
निर्वाचन आयोग ऐन, २०७३ को दफा २२ ले अधिकार प्रयोग गरी आयोगले आचारसंहिताको मस्यौदा सल्लाह, सुझावका लागि जारी गरेको हो । आचारसंहितामा १० वटा परिच्छेद, पाँच वटा अनुसूची छन् । यो आचारसंहिता जारी भएसँगै निर्वाचन आचारसंहिता २०७९ खारेज गरिएको आयोगले जनाएको छ ।
जारी आचारसंहिता उल्लंघन गर्नेको नाम सार्वजनिक गरिने, विद्युतीय माध्यम वा सूचना प्रविधिको उपयोग गर्न सकिने व्यवस्था गरिएको छ । आचारसंहितामा निर्वाचन घोषणापत्र सार्वजनिक गरिनुपर्ने व्यवस्थासमेत गरिएको छ ।
कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै
काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि बस्दैछ । हिजो बुधबारदेखि सुरु भएको बैठक आज पनि बस्न लागेको हो ।
बैठक दिउँसो १ बजेदेखि सानेपास्थित केन्द्रीय कार्यालयमा बस्ने मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिएका छन् ।
बैठकले राष्ट्रिय सभा र प्रतिनिधिसभाअन्तर्गतको समानुपातिक उम्मेदवार चयन र महाधिवेशनसम्बन्धी महत्वपूर्ण निर्णय गर्ने जनाईएको छ ।
बैठकमा महाधिवेशनको कार्यतालिकामा सामान्य हेरफेर र क्रियाशील सदस्यताको विवाद छिटो टुंगाउने विषयमा समेत छलफल हुने जनाईएको छ ।
बुधबारको बैठकमा महामन्त्री गगन थापासहितका नेताहरुले आफ्नो धारणा राखेका थिए ।
राष्ट्रियसभा र प्रतिनिधिसभा निर्वाचन एकसाथ अघि बढाउँदै आयोग
काठमाडौं । निर्वाचन आयोगले राष्ट्रियसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनको तयारीलाई एकसाथ तीव्र बनाएको छ ।
आयोगले आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनका लागि जिल्ला न्यायाधीशलाई निर्वाचन अधिकृत नियुक्त गरिसकेको छ भने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि समानुपातिक प्रणालीतर्फको कार्यतालिका पनि सार्वजनिक गरिसकेको छ ।
समानुपातिकतर्फ सहभागी हुन इच्छुक राजनीतिक दलहरूले उम्मेदवारको बन्दसूची पेस गर्ने समय सीमा नजिकिँदै गर्दा आयोगले आवश्यक प्रशासनिक तथा प्राविधिक तयारी अघि बढाएको जनाएको छ । आयोगका अनुसार प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि ९३ राजनीतिक दलले समानुपातिक सूचीमा रहन निवेदन दिएका छन् ।
आयोगले राजनीतिक दललाई समानुपातिक प्रणालीअनुसार उम्मेदवार छनोट गर्न सहज होस् भनेर तालिमसमेत प्रदान गरेको छ । तालिममार्फत नयाँ जनगणनाका आधारमा तय गरिएको समावेशी प्रतिशत, समूहगत प्रतिनिधित्व र कानुनी मापदण्डबारे जानकारी गराइएको आयोगले जनाएको छ ।
राष्ट्रिय जनगणना २०७८ को तथ्यांकअनुसार समावेशी समूहमा आएको जनसङ्ख्यागत परिवर्तनलाई ध्यानमा राख्दै समानुपातिक निर्वाचन प्रणालीको प्रतिशत निर्धारण गरिएको आयोगले स्पष्ट पारेको छ ।
यसैबीच, राजनीतिक दलहरूले आगामी पुस १३ र १४ गतेसम्म समानुपातिकतर्फको उम्मेदवारको बन्दसूची पेस गर्नुपर्ने कार्यतालिका अनुसार आन्तरिक तयारीलाई तीव्र बनाएका छन् । आयोगका अनुसार निर्धारित समयसीमाभित्र सबै प्रक्रिया पूरा गर्ने तयारीमा आयोग जुटेको छ ।
प्रतिनिधि सभा पुनःस्थापनाको रिटमा आज पेशी
काठमाडौँ । प्रतिनिधिसभाको पुनर्स्थापना माग गर्दै कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले गरेको हस्ताक्षरसहितको पूरक रिटमा आजको लागि पेसी तोकिएको छ।
नेपाली कांग्रेसका ६५ र अन्य दलका तीनसहित ६८ सांसदले पूरक रिट दायर गरेका हुन्।
हस्ताक्षरसहितको पूरक रिट मङ्गलवार सर्वोच्च अदालतमा वारेसमार्फत दर्ता गरिएको थियो। सांसदहरूले पूर्वमहान्यायाधिवक्ता खम्मबहादुर खातीलाई हस्ताक्षरसहितको वारेस दिएका थिए।
प्रतिनिधिसभा पुनर्स्थापनाका लागि कांग्रेसबाहेक अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी, जनमत पार्टी र एक स्वतन्त्र सांसदले पनि हस्ताक्षर गरेका हुन्।
३ पूर्वसांसद कांग्रेस संसदीय दलमा पुगेर हस्ताक्षर गरेका हुन्। हस्ताक्षर गर्नेमा जनता समाजवादी पार्टीकी हसिना खान, जनमत पार्टीकी गोमा लाभ सापकोटा र स्वतन्त्र सांसद योगेन्द्र मण्डल छन्।
यसअघि नै नेकपा एमालेका ७५ सांसदहरूले प्रतिनिधिसभा पुनःस्थापना माग्दै सर्वोच्चमा हस्ताक्षर बुझाइसकेका छन्। २७५ सदस्यीय प्रतिनिधिसभामा बहुमतका लागि १ सय ३८ सांसदको आवश्यक पर्छ। हस्ताक्षर बुझाउने सांसदको सङ्ख्या जोड्दा १ सय ४३ पुगेको छ।
सरकारले रास्वपा, राप्रपा र जनमत पार्टीको कार्यालय अनुगमन गर्दै
काठमाडौँ । सरकारले निर्वाचनको वातावरण बनाउन राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र जनमत पार्टीको कार्यालय अनुगमन गर्ने भएको छ ।
सरकारले गठन गरेको उच्चस्तरीय राजनीतिक संवाद समितिले आज तीन दलका कार्यालयको अनुगमनका साथै वार्ता र संवाद गर्ने भएको हो ।
समितिले बिहान ११ बजे जनमत पार्टीको कार्यालय, दिउँसो १ बजे राप्रपा र दिउँसो ३ बजे रास्वपाको कार्यालय अनुगमनका साथै नेताहरूसँग छलफल गर्ने तालिका रहेको जनाइएको छ ।
सरकारले कानुन, न्याय तथा संसदीय मामिलामन्त्री अनिल सिन्हाको संयोजकत्वमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेल र प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार अजयभद्र खनालसहितको उच्चस्तरीय राजनीतिक संवाद समिति गठन गरेको थियो ।
आगामी फागुन २१ गते हुन गइरहेको प्रतिनिधिसभा सदस्यको निर्वाचनको वातावरण बन्दै गएको अवस्थामा सरकारले सरोकारवाला पक्षसँग वार्ता तथा संवादलाई तीव्रता दिएको हो ।
सरकारका प्रवक्ता समेत रहेका सञ्चार मन्त्री जगदीश खरेलले निर्वाचनको माहोल बनाउन चरणबद्ध राजनीतिक वार्ता र संवादलाई तीब्रता दिएर दलहरूकै कार्यालयमा पुगेर वार्ता गरिरहेको उल्लेख गरे । उनले भने, “निर्वाचनको वातावरणका लागि सरकारले चरणबद्ध वार्तालाई निरन्तरता दिएको छ, सरकार इमान्दारिताका साथ निर्वाचन गराउन खोजिरहेको भन्दे सन्देश हो र दलहारुलाई सकारात्मक दबाब पनि हो ।”
मन्त्री खरेलले निर्वाचनको माहोल बनाउन र राजनीतिक दलहरुलाई पनियसप्रत केन्द्रित गराउन सरकार दलको कार्यालयमै पुगेर वार्ता र संवाद गरिरहेको उल्लेख गरे ।
उक्त टोलीले मंकलबार नेपाली काँग्रेस, नेकपा एमाले र नेपाली कम्युनिष्ट पार्टीको कार्यालय पुगेर अनुगमनका साथै नेताहरूसँग वार्ता गरेको थियो ।
६ वटा दल खारेज गर्ने निर्वाचन आयोगको निर्णय
काठमाडौं । निर्वाचन आयोगले ६ वटा राजनीतिक दल खारेज गरेको छ । आयोगको मंगलबार बसेको बैठकले जरिवाना नतिरेका दल दर्ता खारेजको निर्णय गरेको हो ।
“६ वटा दल दर्ता खारेज गरिएको छ । आयोगले तोकेको जरिवाना नतिरेका दललाई स्पष्टीकरण सोधिएको थियो,” आयोग स्रोतले भन्यो, “स्पष्टीकरण सोध्दा पनि सम्पर्कमा नआएपछि कानुन व्यवस्थाअनुसार दल दर्ता खारेज गरिएको हो ।”
ती दलहरू निर्वाचन प्रयोजनाका निम्ति दर्ता भएका थिएनन् । त्यस्तै, आयोगले माघ ११ गते हुने राष्ट्रियसभा निर्वाचनका मतदाता पनि स्वीकृत गरेको छ ।















