काठमाडौं । रास्वपा सभापति रवि लामिछाने प्रधानमन्त्री सुशीला कार्कीलाई भेट्न जाने भएका छन् ।
उनी केहीबेरपछि प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जान लागेका हुन् । निकट स्रोतका अनुसार, लामिछाने र प्रधानमन्त्रीको भेटघाटको कार्यक्रम साँझ साढे ६ बजेका लागि तय भएको छ ।
भैरहवा कारागारमा रहेका लामिछाने अदालतको आदेशपछि थुनामुक्त भएपछि हिजो उनी काठमाडौं आएका थिए ।
लगत्तै उनलाई आज पार्टी कार्यालयमा स्वागत गरिएको थियो ।
प्रधानमन्त्री कार्कीलाई भेट्न बालुवाटार जाँदै रवि लामिछाने
जेनजी विद्रोहलाई क्रान्तिमा बदल्न बाँकी रहेको रवि लामिछानेको धारणा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको धारणा व्यक्त गरेका छन् ।
आइतबार पार्टी केन्द्रीय कार्यालयमा आयोजित स्वागत कार्यक्रममा उनले जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी रहेको भन्दै अहिलेको नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने जनाए । जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्ने पनि उनको प्रतिबद्धता छ ।
उनले भने, ‘जेनजीले गरेको विद्रोहलाई क्रान्तिमा परिवर्तन गर्न बाँकी छ । जलेको सिंहदरबार त बनाउला तर सिंहदरबार बनाएर मात्र हुदैँन् । सिंहदरबार बदल्न बाँकी छ र त्यो क्रान्तिबाट मात्र सम्भव छ । हामीलाई विश्वास छ, हाम्रो नेतृत्व र पुस्ताले भत्किएका जलेका संरचनाहरु बनाउने मात्र होइन बदल्ने पनि काम गर्ने छ । अर्थात जेनजीले गरेको अभियान र त्यागलाई क्रान्तिमा बदल्नको लागि दत्तचित्त भएर लाग्नेछौं ।’
यस्तै, उनले यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर गएका साथीहरुलाई शुभकामना व्यक्त गर्दै उनीहरुले धेरै गुण लगाएर गएको जनाए ।
उनले भने, ‘यात्राका क्रममा हामीले सबैलाई समेट्न सकेनौ होला । तर उहाँहरुले हाम्रो पार्टीमा दिनु भएको योगदानको सँधै स्मरण गरिरहने छु । उहाँहरुलाई धन्यवाद दिइरहनेछु । हामीले धेरै केही गर्न सकेनौ तर उहाँहरूले धेरै गरेर जानुभएको छ । सिकाएर जानुभएको छ । हामीलाई धेरै उपलब्धीहरुमा साथ दिनुभएको छ । केही गर्न नसके पनि उहाँहरूले दिनु भएको योगदान त हाम्रो मनमा छ । यात्राको क्रममा आफ्नै कारण वा जुनसुकै कारणले पनि छुटिएर जानु भएकाहरुलाई पनि म शुभकामना व्यक्त गर्न चाहन्छु । धेरै गुण लगाएर जानु भएको छ, ऋणि रहनेछु ।’
उनले आफूसँग एक मुठ्ठी सास र सत्यको साहस मात्रै बाँकी रहेको भन्दै सत्यको सँधै विजय हुने जनाए । उनले भने, ‘म माथि अन्यायका श्रीखंलाहरु बाँकी नै छन् । तर मलाई विश्वास छ, आजसम्म सत्य हारेको छैन् । त्यसकारण अब पनि हार्दैन् भन्ने कुरामा विश्वास छ । त्यो विश्वासले जिल्लैपिछे मुद्दा लगाउँदा पनि छाडेको छैन्, कारागारमा लैजाँदा पनि छाडेको छैन् । यही एउटा विश्वास छ । मसँग बाँकी रहेको एक मुठ्ठी सास र सत्यको साहस मात्रै हो । अरु मसँग केही पनि बाँकी छैन् । तर सत्यको साथ र साहस भयो भने बाँकी केही कुरा चाहिदो रहेनछ ।’
उनले चौतर्फि हमलाको बीचमा पनि पार्टीलाई अगाडि बढाउनको लागि काम गरेका सबैलाई धन्यवाद पनि दिएका छन् ।
रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको लाभांश घोषणा
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले गत आर्थिक वर्षको मुनाफाबाट सेयरधनीहरुलाई वितरण गर्ने नगद लाभांश घोषणा गरेको छ ।
इन्स्योरेन्सले हाल कायम चुक्ता पुँजीको १२ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।
पुस ४ गते बसेको इन्स्योरेन्सको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो ।
नेपाल बिमा प्राधिकरणबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो लाभांश वितरण गरिनेछ ।
मुक्तिनाथ कृषि कम्पनीले हकप्रद निष्काशन गर्ने, बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल
काठमाडौं । मुक्तिनाथ कृषि कम्पनीले हाल कायम चुक्ता पुँजी ७५ करोड ६० लाख बराबरको प्रति सेयर १०० रुपैयाँ अंकित दरका ७५ लाख ६० हजार कित्ता साधारण सेयरको १ः०.६ (अर्थात विद्यमान १ कित्ता साधारण सेयर बराबर नयाँ ०.६ कित्ता साधारण सेयर) को अनुपातमा ४५ करोड ३६ लाख बराबरको प्रति सेयर १०० अंकित दरका ४५ लाख ३६ हजार कित्ता हकप्रद साधारण सेयर निष्काशन गर्नकोे लागि निष्काशन तथा बिक्री प्रबन्धकमा नेपाल लाइफ क्यापिटल लिमिटेडलाई नियुक्त गरेको छ ।
पौष ३ गते बिहीबार मुक्तिनाथ कृषि कम्पनी लिमिटेड बसुन्धारा, काठमाडौं स्थित कार्यालयमा सम्पन्न एक कार्यक्रमकाबीच कम्पनीले नेपाल लाइफ क्यापिटललाई शेयर निष्काशन तथा बिक्री प्रबन्धकमा नियुक्त गरेको हो ।
सम्झौता पत्रमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेडका तर्फबाट नायब प्रमुख कार्यकारी अधिकृत रामशरण तिमल्सिना तथा नेपाल लाइफ क्यपिटल लिमिटेडका तर्फबाट प्रमुख कार्यकारी अधिकृत मनिष घिमिरेले हस्ताक्षर गरेका छन् ।
मुक्तिनाथ कृषि कम्पनी लिमिटेडले नेपालको कृषि क्षेत्रको व्यवसायिक विकासका लागि कृषक र उपभोक्ताहरुलाई जोड्न संस्थागत मुल्य श्रृंखला व्यवस्थापकको रुपमा कार्यरत अग्रणी कम्पनी हो ।
कम्पनीले कृषकहरुको लागि आवश्यक उत्पादनका साधनको उपलब्धता, परामर्श सेवा, प्रविधि प्रसार, प्रशोधन उद्योगहरुको विकास र उपभोक्ताहरुलाई स्वस्थ, गुणस्तरीय र पोषिलो कृषि उत्पादनहरु उपलब्ध गराउने सम्बन्धि व्यवसाय गरिरहेको छ ।
नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको सहायक कम्पनी नेपाल लाइफ क्यापिटल लिमिटेड धितोपत्र बोर्डबाट लगानी व्यवस्थापन, धितोपत्र प्रत्याभूती, निक्षेप सदस्य सेवा, योजना व्यवस्थापक, डिपोजिटरी सेवा, संस्थागत परामर्श, शेयर रजिष्ट्रेशन र निष्काशन तथा बिक्री प्रबन्ध गर्ने अनुमती प्राप्त मर्चेन्ट बैंकिङ्ग संस्था हो ।
सानिमा रिलायन्सको बीमालेख नवीकरणमा शत प्रतिशत विलम्ब शुल्क छुट
काठमाडौँ । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले व्यतीत बीमालेखको नवीकरण गर्दा लाग्ने विलम्ब शुल्कमा शत प्रतिशत छुट सहितको पुनर्जागरण अभियान शुरु गरेको छ ।
विभिन्न कारणले समयमै बीमाशुल्क भुक्तानी गर्न असमर्थ ग्राहकवर्गहरूलाई मध्य नजर गर्दै यो योजना सार्वजनिक गरेको हो ।
पुनर्जागरण अभियान पुस ६ गतेदेखी २८ गतेसम्म लागू हुनेछ । पुनर्जागरण अभियान अन्तर्गत बिमालेख अवधिभित्र एक पटक मात्र ब्याज छुटको सुबिधा प्रदान गरिने संस्थाले जनाएको छ ।
व्यतीत बीमालेखमा ब्याज छुटको सुविधा लिए पश्चात ६ महिना भित्रमा बीमालेख समर्पण गरेमा भने छुट पाएको सम्पूर्ण रकम भुक्तानी गराई समर्पण गरिने छ । साथै बीमालेख परिपक्व हुन १ वर्ष वा १ वर्ष भन्दा कम अवधि बाकी रहेको बीमालेखमा ब्याज छुट नपाइने व्यहोरा कम्पनीले जनाएको छ। सामान्य अवस्थामा बीमालेख ब्यतीत रहँदा बिमितले रक्षावरण गुमाउनुका साथै अतिरिक्त विलम्ब शुल्क पनि भुक्तानी गर्नुपर्ने हुन्छ ।
संस्थाले सार्बजनिक गरेको पुनर्जागरण अभियानमा भने बिलम्ब शुल्कमा छुटको सेवा सुबिधा लिई व्यतित बीमालेख नबिकरण गरि मौकाको फाईदा लिन कम्पनीले अनुरोध गरेको छ ।
ग्राहकहरुले संस्थाको देशैभरि रहेका १६८ शाखा कार्यालयहरूबाट वा अनलाइन भुक्तानीको माध्यम हरूबाट यस योजनामा सहभागी हुन सक्ने छन् ।
नबिल बैंकले पायो नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’
काठमाडौँ । नबिल बैंकले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको ‘बेस्ट ट्रान्ज्याक्सन बैंक अवार्ड’ प्राप्त गरेको छ । बैंकले ट्रान्ज्याक्सन बैंकिङ क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको प्रविधिमैत्री र ग्राहककेन्द्रित सेवा प्रवाह गरेको उल्लेख गर्दै उक्त अवार्ड प्रदान गरिएको हो ।
बैंकले व्यक्तिगत, संस्थागत, एसएमई ग्राहकका लागि उपलब्ध गराएको प्रभावकारी ट्रान्ज्याक्सन बैंकिङका डिजिटल भुक्तानी सेवा तथा सुविधाका लागि उक्त अवार्ड प्रदान गरिएको जनाइएको छ । बैंकले प्रविधिको अधिकतम उपयोग गर्दै सेवाहरूलाई सरल, सुरक्षित र छरितो बनाउँदै आएको र यसले ग्राहकका दैनिकी व्यवसाय सञ्चालनलाई सहज बनाएको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवालीले युरोमनी ट्रान्ज्याक्सन बैंकिङ अवार्ड, २०२५ अन्तर्गत नेपालको सर्वोत्कृष्ट ट्रान्ज्याक्सन बैंकका रूपमा नबिल बैंक सम्मानित हुनु गर्वको विषय भएको जनाए । “यो सम्मान हाम्रो निरन्तर मेहनत, नवप्रवर्तनप्रतिको प्रतिबद्धता र ग्राहकहरूको विश्वासको परिणाम हो । हामी हाम्रा सबै ग्राहक तथा कर्मचारीलाई लागि हार्दिक आभार व्यक्त गर्दछौँ”, सिइओ ज्ञवालीले भने ।
विश्वभर बैंकिङ तथा वित्तीय क्षेत्रको मूल्यांकन गर्ने युरोमनी अवार्डलाई विश्वसनीय र सम्मानित अवार्डका रूपमा लिइन्छ । यस अवार्डमार्फत सेवा उत्कृष्टता, नवप्रवर्तन, रणनीतिक स्पष्टता र ग्राहक अनुभवमा अग्रणी संस्थाहरूलाई सम्मान गरिन्छ ।
सन् १९९२ मा स्थापना गरिएको यो अवार्ड विश्व बैंकिङ क्षेत्रमा सुरु गरिएको पहिलो अवार्ड हो । जसले, बैंकको गुणस्तरीय सेवा, सृजनात्मकता र ग्राहकप्रतिको विशेषज्ञतालाई सम्मानित गर्दछ । यो अवार्ड विश्वका १०० वटा देशमा सञ्चालन हुँदै आएको छ ।
नबिलले २५ लाखभन्दा बढी सेवाग्राहीहरूलाई देशभरिको २६८ शाखा र ३२१ एटिएममार्फत सेवा प्रदान गर्दै आएको जनाएको छ ।
देउवाले उपसभापति र महामन्त्रीलाई छलफलमा बोलाए
काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले शीर्ष तहका चार नेतालाई छलफलका लागि बोलाएका छन् ।
शनिबार बिहान ९ बजे बैठक बस्ने गरी देउवा उपसभापतिद्वय पूर्णबहादुर खड्का र धनराज गुरुङ, महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मालाई बोलाएका हुन् ।
महाधिवेशनको कार्यतालिका, विधान मस्यौदा समितिलगायतका विषयमा छलफल गर्न बैठक डाकेको जानकारी गराइएको छ ।
प्राइम कमर्सियल बैंकको लाभांश घोषणा
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले ८.४२१ प्रतिशत लाभांश घोषणा गरेको छ।
बैठकले गत आर्थिक वर्षको वितरणयोग्य मुनाफाबाट हाल कायम चुक्ता पूँजीको ८ प्रतिशत बोनस शेयर र ०.४२१ प्रतिशत नगद लाभांश (कर तिर्न) वितरणको घोषणा गरेको हो।
घोषित लाभांश नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई बैंकको अब हुने वार्षिक साधारणसभाले पारित गरेपछि शेयरधनीहरूमा वितरण हुनेछ।
नेपाल बैंकद्वारा लाभांश नदिने निर्णय
काठमाडौं । नेपाल बैंक लिमिटेडको हिजो बसेको सञ्चालक समितिको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको छ।
बैठकले गत आर्थिक वर्षको लेखापरीक्षण भएको वित्तीय विवरण पारित गरी साधारणसमा पेश गर्न स्वीकृतिका लागि नेपाल राष्ट्र बैंक समक्ष पेश गर्ने र शेयरधनीलाई लाभांश नदिने निर्णय गरेको हो।
हरेक आन्दोलनमा निजी क्षेत्रमा प्रहार हुने गरेकोमा अध्यक्ष ढकाल चिन्तित
काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले मुलुकको आर्थिक पुनरुत्थानका लागि निजी क्षेत्रको मनोबल माथी उठाँउँदै विश्वास पुनःस्थापना गर्नु आजको मुख्य आवश्यकता भएको जनाएका छन् ।
नवलपुर उद्योग वाणिज्य संघको ११औँ वार्षिक साधारणसभाको उद्घाटन गर्दै अध्यक्ष ढकालले राजनीतिक अस्थिरता, असुरक्षा र अन्यौलका कारण आर्थिक गतिविध चलायमान हुन नसकेकोले र निजी क्षेत्रको मनोबलमाथी नउठेसम्म आर्थिक गतिविधि चलायमान हुन कठिन हुने धारणा राखे ।
हरेक आन्दोलनका क्रममा निजी क्षेत्रका उद्योग, व्यवसायमा प्रहार हुने गरेकोमा चिन्ता व्यक्त गर्दै अध्यक्ष ढकालले यस्तो अवस्थाले लगानी वातावरण थप कमजोर हुने जनाए । नेपालमा व्यवसायीले गरेको योगदानको चर्चा भन्दा नकारात्मक प्रचार बढि हुने गरेको उल्लेख गर्दै यस प्रकारको धारणामा परिवर्तन आवश्यक भएको जनाए । “ देशमा सबैभन्दा बढि रोजगारी सिर्जना गर्ने निजी क्षेत्र, राजस्वमा योगदान गर्ने निजी क्षेत्र तर हरेक आन्दोलनमा निजी क्षेत्र तारो बन्ने गरेको छ । अब जुनसुकै प्रर्दशन या आन्दोलनमा निजी क्षेत्रमा आगजनी र तोडफोड गर्नु हुँदैन भन्ने सन्देश आमरुपमा प्रवाह गर्नु पर्दछ ।” अध्यक्ष ढकालले भने ।
भदौ २३ र २४ को गतेको प्रर्दशनका क्रममा भएको गलत घुसपैठबाट उद्योग व्यवसायदेखि उद्यमी व्यवसायीका शयन कक्षसम्म आगो लागेको, लुटपाट भएको र अर्बौंको क्षति भएको अवस्थामा दण्डहीनताले प्रशय पाउन नहुनेमा अध्यक्ष ढकालको जोड थियो ।
महासंघको पहलमा धेरै नीतिगत सुधार भएको उल्लेख गर्दै उहाँले नेपालमा अथाह सम्भावना भएको र ती सम्भावनाहरुबाट नेपालमै अवसर सिर्जना गर्नु पर्ने जनाए । उनले देशमा ठूला पूर्वाधार परियोजनाको लागि प्रत्यक्ष वैदेशिक लगानीको मात्रै मुख ताकेर नहुने भन्दै देशमै छरिएर रहेको पूँजीलाई एकत्रित पूर्वाधार विकास तथा उद्यमशीलताको विकास गर्नु पर्ने जनाए ।
अध्यक्षका ढकालले त्यसैको लागि महासंघको पहलमा १० अर्ब रुपियाँ पूँजीको नेपाल डेभलपमेन्ट पब्लिक लिमिटेड स्थापना गरि काम शुरु गरिएको जानकारी दिँदै यसबाट ठूला पूर्वाधार विकास तथा अन्य उद्यमका लागि पूँजीको अभाव नहुने जनाए । उनले नवलपरासीको धौवादी फलाम खानी सञ्चालनका लागि पनि सहकार्य गर्न सकिने धारणा राखे ।
महासंघको आग्रहमा सरकारले जिल्ला सुरक्षा समितिमा महासंघको प्रतिनिधि सहभागी गराएको जनाउँदै यसमा प्रभावकारी सहभागिताको लागि जिल्ला नेतृत्व आगह गरे । नवलपुर जिल्लामा कृषि, पर्यटन, ऊर्जा र साना तथा मझौला उद्योगमा ठूलो सम्भावना रहेको उल्लेख गर्दै अध्यक्ष ढकालले स्थानीय तह, प्रदेश र संघीय सरकारबीच समन्वय बढाएर ती सम्भावनालाई व्यवहारमा उतार्नु पर्नेमा समेत जोड दिए ।

















