काठमाण्डौं । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि आज देशभर उम्मेदवारको मनोनयन दर्ता हुँदैछ।
निर्वाचन आयोगले निर्धारण गरेको कार्यसूचीअनुसार सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन प्रक्रिया सुरु भएको हो।
प्रत्यक्षतर्फ उम्मेदवारी दिन नागरिकताको प्रमाणपत्र वा मतदाता परिचयपत्रको प्रतिलिपि, सम्बन्धित निर्वाचन क्षेत्रको अन्तिम मतदाता नामावलीमा नाम समावेश भएको निस्सा अनिवार्य गरिएको छ। उम्मेदवारले एक जना प्रस्तावक र एक जना समर्थकको विवरणसहित मनोनयनपत्र पेस गर्नुपर्नेछ।
नेपाल सरकार, प्रदेश सरकार वा स्थानीय तह तथा सरकारी स्वामित्व वा अनुदान प्राप्त संस्थामा बहाल रहेका व्यक्तिले उम्मेदवारी दिनुअघि पदबाट राजीनामा दिएको निस्सा बुझाउनुपर्ने व्यवस्था छ। दलको तर्फबाट उम्मेदवारी दिने हकमा सम्बन्धित दलको केन्द्रीय कार्यकारिणी समितिबाट प्रदान गरिएको औपचारिक मनोनयन पत्र पनि आवश्यक पर्ने आयोगले जनाएको छ।
उम्मेदवारले १० हजार रुपैयाँ धरौटी रकम जम्मा गरेको रसिद पेस गर्नुपर्नेछ भने महिला, दलित, अल्पसंख्यक र आर्थिक रूपमा विपन्न उम्मेदवारलाई सो धरौटी रकममा ५० प्रतिशत छुटको व्यवस्था गरिएको छ। आर्थिक विपन्नताको हकमा स्थानीय तहको सिफारिस पत्र अनिवार्य हुनेछ।
यसका साथै उम्मेदवारले स्वघोषणा पत्र, वैयक्तिक विवरण फाराम, सम्पत्ति विवरण, पेस्की फछ्र्योट तथा बेरुजु फछ्र्योटसम्बन्धी आवश्यक निस्साहरू पनि पेस गर्नुपर्नेछ।
मनोनयन दर्तासँगै देशभर राजनीतिक दलहरूका गतिविधि तीव्र बनेका छन् भने निर्वाचन कार्यालय वरपर चुनावी चहलपहल बढेको छ।
फागुन २१ निर्वाचन ः आज देशभर उम्मेदवारी दर्ता
शेरबहादुर देउवाले चुनाव नलड्ने
काठमाडौं । नेपाली कांग्रेसका पूर्वसभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले आगामी प्रतिनिधिसभा निर्वाचन नलड्ने भएका छन्।
देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले उक्त जानकारी दिएका हुन्।
ुशेरबहादुर देउवाज्यू आगामी प्रतिनिधिसभा निर्वाचनमा उम्मेदवार नहुने जानकारी गराउँछु,ु उनले भनेका छन्।
पूर्वसभापति देउवाले डडेल्धुराबाट चुनाव लड्न टिकट मागिरहेका थिए, तर कांग्रेसले दिन मानिरहेको थिएन।
विशेष महाधिवेशनबाट निर्वाचित कार्यसमितिले देउवालाई संरक्षक रहँदै अभिभावकीय भूमिका निर्वाह गर्न भनेको थियो।
फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि माघ ६ गते सोमबार उम्मेदवारी दर्ताको कार्यक्रम छ।
उम्मेदवार हेरेर जित्न सक्ने नेताहरूलाई टिकट दिन संस्थापन पक्ष तयार भए पनि निवर्तमान सभापति देउवालाई भने टिकट दिने पक्षमा पदाधिकारीहरू थिएनन्।
देउवाले २०४८ सालदेखि निरन्तर डडेल्धुराबाट चुनाव लड्दै र जित्दै आएका थिए। उनी अहिलेसम्म सात पटक निर्वाचित भइसकेका छन्।
गृहमन्त्रीका रूपमा सरकारमा प्रवेश गरेका देउवा पाँच पटक प्रधानमन्त्री भए।
झापाबाट अध्यक्ष ओलीको सन्देश– हराएका र भत्किएका सपना जगाउने रोपाइँ आजैबाट सुरु
दमक (झापा) । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवारी मनोनयनको दिन विशेष भएको बताउँदे मंगलबार बिहानीको सन्देश प्रवाह गरेका छन् ।
झापा–५ बाट उम्मेदवारी दिन सोमबार दमक आएका अध्यक्ष ओलीले हराएका र भत्किएका सपनाहरुलाई आजैबाट रोपाइँ सुरु हुने सन्देश दिएका छन् ।
सामाजिक सञ्जाल फेसबुक वालमा अध्यक्ष ओलीले भनेका छन्– ‘शुभ विहानी हाम्रो लागि आज एक विशेष दिन हो । हराएका र भत्किएका सपनाहरूलाई फेरि जगाउँदै, सुन्दर भविष्य निर्माण गर्ने सपनाको रोपाइँ आजबाट सुरु हुँदैछ ।’
‘हामीलाई पूरा विश्वास छ– हामी नेपालीले जित्ने छौँ, नेपालले जित्ने छ । जलेका सपनाहरूलाई फेरि जागृत गर्दै नयाँ पुस्ताको सुन्दर भविष्य साकार बनाउँने छौँ । आउनुहोस्, यस यात्रामा हामी सबै मिलेर अगाडि बढौँ । हामी नेपाली सबैको जय होस् ’ अध्यक्ष ओलीले भनेका छन् ।
उम्मेदवार टुंगो लगाउन कांग्रेस संसदीय बोर्ड बैठक बस्दै
काठमाडौं । नेपाली कांग्रेसका उम्मेदवार टुंगो लगाउन सभापति गगन थापाले संसदीय बोर्डको बैठक बोलाएका छन् ।
बिहान ११ बजेदेखि बैठक बस्ने संसदीय बोर्डका एक सदस्यले जानकारी गराए । ‘सबै पक्षलाई मिलाएर टिकट बाँड्ने निश्चित भएको छ । संसदीय बोर्डको बैठक बसेर उम्मेदवारको टुंगो लगाउँछौं ।’
खेलकुद मन्त्री गुप्ताले दिए राजीनामा,सिरहा–१ बाट चुनाव लड्ने
काठमाण्डौं । युवा तथा खेलकुद मन्त्री बब्लु गुप्ताले पदबाट राजीनामा दिएका छन् । गत कात्तिक ९ गते मन्त्री भएका गुप्ताले सोमबार प्रधानमन्त्री सुशीला कार्कीसमक्ष राजीनामा दिने मौखिक जानकारी गराएका हुन् ।
उनले आज मेल मार्फत लिखित पत्र बुझाउने तयारी गरेको जनाएका छन । आज सार्वजनिक बिदा भएकाले मेल मार्फत राजीनामा बुझाउन लागेको उनले जनाए ।
पछिल्लो समय उनी अमेरिका भ्रमणमा जाने विषयले विवाद बढेको थियो। रास्वपासँग नजिक देखिएका बब्लुलाई प्रधानमन्त्री कार्कीले राजीनामा दिन दवाव दिदैं आएकी थिइन् ।
गुप्ता सिरहा–१ बाट चुनाव लड्ने तयारीमा रहेका छन् । उनी रास्वपाको तर्फबाट चुनाव लड्ने तयारी छन् ।
मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा बालेन साहद्वारा माल्यार्पण
सिरहा । सिराहा जिल्लाको लहान नगरपालिकामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता तथा काठमाडौं महानगरपालिकाका पूर्वमेयर बालेन साहले मधेशका प्रथम सहिद रमेश महतोको शालिकमा माल्यार्पण गरेका छन् ।
मधेश आन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद रमेश महतोप्रति श्रद्धाञ्जली अर्पण गर्दै साहले उनको योगदान मधेश मात्र नभई सम्पूर्ण राष्ट्रका लागि प्रेरणादायी रहेको जनाए ।
कार्यक्रमका क्रममा उनले सहिदहरूको बलिदानकै कारण आजको लोकतान्त्रिक उपलब्धि सम्भव भएको उल्लेख गर्दै सहिदको सपना पूरा गर्न इमानदार राजनीति, सुशासन र न्याय आवश्यक रहेको धारणा व्यक्त गरे । उनी यसअघि आज बिहानै जनकपुरधामस्थित ऐतिहासिक जानकी मन्दिर पुगेर नियमित हुने बिहानी आरतीमा सहभागी भएका थिए ।
घण्टीघरमा बालेनलाई रविको स्वागत, रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण
काठमाण्डौ । भावी प्रधानमन्त्री बन्ने तयारीमा रहेका बालेन्द्र शाहले काठमाण्डौंका महानगरको मेयरबाट राजीनामा दिएर घण्टीघर प्रवेश गरेका छन् ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बनेका शाहले आईतबार महानगर प्रमुख पदबाट राजीनामा दिएर रास्वपा केन्द्रीय कार्यालय घण्टीघर प्रवेश गरेका हुन् ।
घण्टीघरमा बालेनलाई रास्वपा सभापति रवि लामिछानेले स्वागत गरेका छन् । उनले रास्वपा वरिष्ठ नेताको पदभार ग्रहण गरेका छन् ।
उनी फागुन २१ गतेको लागि तोकिएको चुनावमा उम्मेदवार बन्ने तयारीमा छन् ।
हर्क साम्पाङले पनि दिए राजीनामा
विराटनगर । धरान उपमहानगरपालिकाका प्रमुख हर्कराज राई (हर्क साम्पाङ) ले पदबाट राजीनामा दिएका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा निर्वाचनमा सुनसरी १ बाट उम्मेद्वार बन्ने तयारीमा रहेका साम्पाङले राजीनामा दिएका हुन् ।
उनले प्रतिनिधिसभाको निर्वाचनमा उम्मेद्वारी दिनका लागि संविधानको धारा २१६ को उपधारा ८ (क) बमोजिम नगरप्रमुखका पदबाट राजीनामा दिएको जनाएका छन् । यसअघि आज नै बालेन शाहले काठमाडौँ महानगरको प्रमुखबाट राजीनामा दिएका थिए ।
दुर्गा प्रसाईंलाई कारबाही गर्न निर्वाचन आयोगको निर्देशन
काठमाडौं । दुर्गा प्रसाईंलाई कारबाहीको माग गर्दै निर्वाचन आयोगले प्रहरी साइबर ब्यूरोलाई निर्देशन दिएको छ ।
प्रसाईंले कांग्रेसको विशेष महाधिवेशनलाई आयोगले प्रलोभनमा परेर अद्यावधिक गरिदिएको भन्दै सार्वजनिकरुपमा राखेको धारणा गलत भएको भन्दै कारबाही गर्न निर्देशन दिएको हो ।
साइबर ब्यूरोका एसपी दीपकराज अवस्थीले पत्र आएको पुष्टि गर्दै अनुसन्धान सुरु भएको जनाए ।
आइएमई लाइफ इन्स्योरेन्सद्वारा सन् २०२६ का एमडीआरटी छनौट अभिकर्ता सम्मानित
काठमाडौं। आइएमई लाइफ इन्स्योरेन्स ले सन् २०२६ का लागि मिलियन डलर राउन्ड टेबल एमडीआरटी सदस्यता हासिल गर्न सफल अभिकर्ताहरूलाई विशेष सम्मान कार्यक्रममार्फत सम्मानित गरेको छ।
काठमाडौंस्थित चन्द्रागिरी हिल्स रिसोर्ट मा आयोजित भव्य समारोहमा १ जना सीओटी र ७४ जना एमडीआरटीसहित कुल ७५ जना अभिकर्ताहरूलाई सम्मान प्रदान गरिएको हो। कार्यक्रममा कम्पनीका सञ्चालक समितिका अध्यक्ष तथा सदस्यहरू, प्रमुख कार्यकारी अधिकृतसहित उच्च व्यवस्थापन तहको उल्लेखनीय उपस्थिति रहेको थियो।
कम्पनीले अभिकर्ताहरूको व्यावसायिक उत्कृष्टता, निरन्तरता, समर्पण र नैतिक आचरणप्रति कदर व्यक्त गर्दै उनीहरूको योगदानलाई सम्मान गर्न यो विशेष कार्यक्रम आयोजना गरेको जनाएको छ।
जीवन बीमा अभिकर्ताहरूको अन्तर्राष्ट्रिय स्वतन्त्र संस्था हो, जसलाई विश्वव्यापी रूपमा पेशागत उत्कृष्टताको मानकका रूपमा मानिन्छ। योग्यता, मेहनत, उत्कृष्ट ग्राहक सेवा र उच्च नैतिक आचरणको प्रतीकका रूपमा एमडीआरटी सदस्यतालाई जीवन बीमा क्षेत्रमा प्रतिष्ठित सम्मानका रूपमा लिने गरिन्छ।
समारोहलाई सम्बोधन गर्दै कम्पनी प्रमुख कार्यकारी अधिकृत पवन कुमार खड्का ले अभिकर्ताहरूको निरन्तर साथ र योगदानप्रति आभार व्यक्त गरेका छन्। उनले कम्पनीले प्रविधिमैत्री, बीमित तथा अभिकर्ता–केन्द्रित सेवाहरूलाई प्राथमिकतामा राख्दै दिगो व्यवसाय विस्तार गर्ने प्रतिबद्धता व्यक्त गरेपछि कार्यक्रमको समापन गरिएको थियो।

















