काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनको सञ्चालन तथा व्यवस्थापन प्रयोजनका लागि निर्वाचन आयोगले आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्ने भएको छ ।
प्रत्यक्ष निर्वाचन प्रणालीतर्फको उम्मेदवारी मनोनयन ६ माघमा हुँदै छ। त्यस पूर्व सम्बन्धित निर्वाचन क्षेत्रहरूका लागि निर्वाचन कार्यालय खोलेर कर्मचारी खटाउने तयारीमा आयोग जुटेको हो। आयोगका सहायक प्रवक्ता सीता श्रीस पुनले आजदेखि १ सय ६५ वटै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय सञ्चालनमा आउने जनाईन ।
आयोगले प्रत्येक जिल्लामा खटिने ७७ जना मुख्य निर्वाचन अधिकृत तथा ८८ जना निर्वाचन अधिकृतहरू तोकिसकेको छ। मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतलाई एउटा–एउटा निर्वाचन क्षेत्रको जिम्मेवारी रहनेछ।
जिल्ला न्यायाधीशहरूबाट मुख्य निर्वाचन अधिकृत तोकिएका छन्। त्यस्तै, न्याय सेवाका द्वितीय श्रेणीका अधिकृतहरूलाई निर्वाचन अधिकृत बनाइएको छ। न्याय परिषद्सँगको परामर्शमा आयोगले मुख्य र बाँकी निर्वाचन अधिकृतहरूको नाम तोकेको हो।
आज सबै निर्वाचन क्षेत्रमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गर्दै आयोग
आज दुई संसदीय समितिको बैठक बस्दै
काठमाडौँ । आज राष्ट्रिय सभाअन्तर्गतका दुई वटा समितिको बैठक बस्दैछ । जसअनुसार बिहान साढे ११ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्नेछ ।
सिंहदरबार स्थित समितिको कार्यालयमा बस्ने बैठकमा पर्यटन विधेयक, २०८१ मा दफावार छलफल हुने कार्यसूचीमा उल्लेख छ ।
त्यस्तै बिहान ११ बजे बस्ने सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठकमा समितिको छैटौँ वार्षिक प्रतिवेदन २०८१–२०८२ माथि छलफल हुनेछ ।
प्रधानमन्त्रीद्वारा मकर सङ्क्रान्तिको शुभकामना
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले माघी, मकर सङ्क्रान्ति पर्वले सबैलाई एकताबद्ध भई शान्ति, स्थायित्व र समृद्धितर्फ अघि बढ्न प्रेरणा प्रदान गरोस् भन्ने शुभकामना व्यक्त गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले आज स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइमा हार्दिक शुभकामना व्यक्त गर्दै हामीबीच अझ बढी एकता, सद्भाव र आपसी विश्वासको खाँचो भएको जनाएकी छन् ।
“आज माघ १ माघी, मकर सङ्क्रान्ति, माघे सकराती, नाम फरक भए पनि यसको आत्मा एउटै छ, “प्रधानमन्त्री कार्कीले सामाजिक सञ्जाल फेसबुकमा जारी गरेको शुभकामना भनिएको छ, “हामी नेपालीबीच प्रेम, सद्भाव, सहिष्णुता र एकताको भावना मजबुत बनाउने पर्व हो ।”
रवि लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउँछ ः महासचिव पोखरेल
दाङ । एमाले महासचिव शंकर पोखरेलले रबी लामिछानेको मुद्दा फिर्ताले कानुनी राज्यलाई कमजोर बनाउने जनाएका छन् ।
प्रेस चौतारी दाङले बिहीबार बिहान घोराहीमा आयोजना गरेको पत्रकार भेटघाट तथा सम्मान कार्यक्रममा बोल्दै उनले उक्त निर्णय फिर्ता लिन सरकारलाई आग्रह पनि गरेका हुन् ।
यस कार्यले भदौ २३ र २४ गतेको आन्दोलनको अन्तर्य पनि पुष्टि गरेको उनले जनाए । प्रहरी र अदालतमाथि आक्रमण गर्नुको उदेश्य पनि स्पष्ट हुँदै गएको उनको भनाइ छ ।
नयाँ शक्तिको नाममा कानुनी राज्यलाई चुनौती दिन नमिल्ने जनाउँदै उनले स्वतन्त्र पार्टीलेसमेत यस निर्णयको विरोध गर्न सक्नुपर्ने विचार व्यक्त गरे । प्रहरीको मनोबल गिराएर देशमा शान्ति सुरक्षा कायम गर्न नसकिने उल्लेख गर्दै उनले सरकारको गतिविधि प्रहरीको मनोबल बढाउनतर्फ केन्द्रित नभएको जनाए ।
गगन थापा नेतृत्वको काँग्रेसको केन्द्रीय समिति बैठक बस्दै
काठमाडौं । गगन थापा नेतृत्वको नेपाली काँग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्ने भएको छ ।
बैठक आज ललितपुरको कुपण्डोलस्थित एक पार्टी प्यालेसमा बस्न लागेको हो ।
हिजो सकिएको विशेष महाधिवेशनले थापाको नेतृत्वमा नयाँ केन्द्रीय कार्यसमिति चयन गरेको हो ।
रवि लामिछानेले अब सांसद र मन्त्री बन्न पाउने
काठमाण्डौं । सरकारले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेविरुद्ध लगाएको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिएको छ ।
बुधबार महान्यायाधिवक्ता कार्यालयमार्फत विभिन्न जिल्ला अदालतमा चलिरहेको संगठित अपराध र सम्पत्ति शुद्धीकरणको अभियोग फिर्ता लिएको हो ।
लामिछानेको तर्फबाट यसअघि नै संगठित अपराध र सम्पत्ति शुद्धीकरणको मुद्दा फिर्ता लिइदिन निवेदन परेको थियो ।
उनीविरुद्धको सहकारी ठगी मुद्दा भने यथावत रहेको छ ।
महान्यायाधिवक्ता सविता भणडरीको यो निर्णयसँगै अब रविले सांसद र मन्त्री बन्न पाउने छन्।
बुटवलमा हायात प्लेसको शुभारम्भ संगै पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा नयाँ युगको सुरुवात
बुटवल । पश्चिम नेपालको हस्पिटालिटी क्षेत्रमा एक ऐतिहासिक पाइला सार्दै, हायात प्लेस बुटवल’ले आधिकारिक रूपमा आफ्नो सेवा सुरु गरेको घोषणा गरेको छ। यो बुटवल सहरकै पहिलो अन्तर्राष्ट्रिय ब्रान्डको पाँचतारे होटल हो।
यो सुरुवातले बुटवलको बढ्दो आर्थिक र पर्यटकीय महत्त्वलाई उजागर गर्नुका साथै तीव्र विकासको पथमा रहेको यहाँको बजारमा विश्वस्तरीय हस्पिटालिटीको मापदण्ड स्थापित गरेको छ। होटलले हालै आफ्नो भव्य ओपनिङ समारोह ‘न्यु इयर्स इभ अन्डर द स्टार्स’ को सफल आयोजनासँगै सहरको सामाजिक र जीवनशैलीमा बलियो छाप छोडिसकेको छ।
उक्त कार्यक्रममा प्रतिष्ठित व्यवसायी, सामाजिक व्यक्तित्वहरू र सर्वसाधारणको उल्लेख्य उपस्थिति थियो, जसले ह्यात प्लेस बुटवलको विश्वस्तरीय कार्यक्रम र अनुभवहरू प्रदान गर्ने क्षमतालाई पुष्टि गरेको छ।
हायात प्लेस बुटवलका जनरल म्यानेजर तुषार नगर भन्छन्, “हाम्रो नयाँ वर्षको कार्यक्रमप्रति देखिएको उत्साहजनक प्रतिक्रियाले बुटवल अब प्रिमियम जीवनशैलीको अनुभव गर्न तयार छ भन्ने स्पष्ट पारेको छ। भैरहवास्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आउनु र यहाँको तीव्र औद्योगिक विस्तारले अन्तर्राष्ट्रिय स्तरको आवासको माग ह्वात्तै बढाएको छ। ह्यात प्लेस बुटवलले व्यापारिक यात्री , पर्यटक र यस क्षेत्रको विस्तारित व्यापारिक इकोसिस्टमलाई सेवा दिँदै त्यही अभावलाई पूरा गर्ने लक्ष्य राखेको छ।”
बुटवलः पश्चिम नेपालको उदाउँदो आर्थिक र कनेक्टिभिटी हब
महेन्द्र राजमार्ग (एसियन हाइवे) र सिद्धार्थ राजमार्गको संगममा रणनीतिक रूपमा अवस्थित बुटवल, एक ‘ट्रान्जिट सहर’ बाट व्यापारिक र औद्योगिक पावरहाउसमा तीव्र रूपमा रूपान्तरण हुँदैछ।
अन्तर्राष्ट्रिय हवाई सम्पर्क, विस्तारित औद्योगिक क्षेत्र र रणनीतिक राजमार्गको पहुँचका कारण बुटवल व्यापार, पर्यटन र पारवहन जोड्ने पश्चिम नेपालको सबैभन्दा महत्त्वपूर्ण सहर बन्दै गएको छ।
गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको सञ्चालनले सीमापार व्यापार, लगानी र पर्यटनलाई बढावा दिँदै यो गतिलाई थप तीव्र बनाएको छ। लुम्बिनी प्रदेशभरि उद्योग र कलकारखाना विस्तार भएसँगै बुटवल कर्पोरेट गतिविधि र व्यापारिक यात्राको लागि मुख्य केन्द्र बन्दै गएको छ।
यस रूपान्तरणलाई सहयोग गर्दै हायात प्लेस बुटवलले कर्पोरेट बसाइ, उच्चस्तरीय बैठक, सम्मेलन र नेटवर्किङका लागि सहरकै पहिलो अन्तर्राष्ट्रिय स्तरको गन्तव्य प्रदान गरी यस क्षेत्रको हस्पिटालिटीलाई नयाँ परिभाषा दिएको छ।
यात्रीहरूले हायात प्लेस बुटवल रोज्नु पर्ने मुख्य कारण के हो ?
व्यापारिक र मनोरञ्जनका लागि भ्रमण गर्ने दुवै थरीका यात्रीहरूका लागि ह्यात प्लेस बुटवल पश्चिम नेपालको उत्कृष्ट प्रवेशद्वार हो।
लुम्बिनीको प्रवेशद्वारः
भगवान बुद्धको जन्मस्थल लुम्बिनीबाट नजिकको दूरीमा रहेको यो होटलले तीर्थयात्री र सांस्कृतिक पर्यटकहरूलाई आफ्नो आध्यात्मिक यात्रापछि विश्राम लिन र तरोताजा हुन एक उत्कृष्ट र परिष्कृत वातावरण प्रदान गर्छ।
अतुलनीय आराम र विश्वस्तरीय मापदण्डः
सहरको पहिलो पाँचतारे होटलको रूपमा, ह्यात प्लेस बुटवलले यस क्षेत्रमै पहिले उपलब्ध नभएको विश्वस्तरीय आराम, स्वच्छता र सेवाको नयाँ मापदण्ड स्थापित गरेको छ।
आफैंमा एक गन्तव्यः
अत्याधुनिक आउटडोर स्विमिङ पुल, आधुनिक फिटनेस सेन्टर र विशेष डाइनिङ अनुभवका साथ, यो होटल एक ‘लाइफस्टाइल गन्तव्य’ पनि हो, जसले आन्तरिक पर्यटक र स्थानीय बासिन्दाहरूलाई प्रिमियम स्टेकेसन को अनुभव प्रदान गर्छ।
प्राइम कमर्सियल बैंकको लाभांश पारित, सञ्चालकमा डा. बिष्ट निर्विरोध निर्वाचित
काठमाडौं । प्राइम कमर्सियल बैंक लिमिटेडको १८औं वार्षिक साधारणसभा बैंक सञ्चालक समितिका अध्यक्ष राजेन्द्रदास श्रेष्ठको अध्यक्षतामा सम्पन्न भएको छ ।
आज सम्पन्न भएको साधारणसभाले सञ्चालक समितिले सिफारिस गरे बमोजिम आर्थिक वर्ष २०८१, ८२ को मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई ८ (आठ) प्रतिशत बोनस सेयर तथा चुक्ता पूँजीको ०.४२१ प्रतिशत नगद लाभांश, बोनस शेयरको कर प्रयोजनको लागि दिने निर्णय गरेको छ ।
आजै सम्पन्न साधारण सभाले बैंकको सञ्चालक समितिमा निर्वाचन कार्यक्रम अनुसार सर्वसाधारण शेयर धनीहरुको तर्फबाट सञ्चालक पदमा वरिष्ठ आर्थिक पत्रकार डा. गजेन्द्र विष्टज्यूलाई निर्विरोध निर्वाचित गरेको छ । डा. बिष्टज्यू यस अघि पनि बैंकको सञ्चालक थिए ।
नबिल बैंकका नवनियुक्त अध्यक्ष चौधरीले लिए शपथ
काठमाडौं । नबिल बैंक लिमिटेडका नवनियुक्त सञ्चालक समितिका अध्यक्ष निर्वाणकुमार चौधरीले नेपाल राष्ट्र बैंकका गर्भनर प्रा.डा. विश्वनाथ पौडेलबाट पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । नेपाल राष्ट्र बैंकमा आज आयोजित एक कार्यक्रममा बैंकका नवनियुक्त अध्यक्ष चौधरीले शपथ लिएका हुन् । बैंक सञ्चालक समितिको २०८२ पुस २८ गते सम्पन्न ६९९ औं बैठकले चौधरीलाई सर्वसम्मतिले अध्यक्षमा चयन गरेको थियो ।
व्यावसायिक घराना चौधरी ग्रुपका प्रबन्ध सञ्चालक रहेका उनी चौधरी समूहका विभिन्न कम्पनीमा सञ्चालकका रुपमा जिम्मेवारी वहन गर्दै आएका छन् । समाज सेवामा पनि रुचि राख्ने उनी चौधरी फाउण्डेशनको उपाध्यक्ष तथा नेपाल उद्योग परिसंघ (सीएनआई) को वरिष्ठ उपाध्यक्ष पनि हुन् ।
शपथ ग्रहण कार्यक्रममा नेपाल राष्ट्र बैंकबाट डेपुटी गभर्नरद्वय डा. नीलम ढुङ्गाना तिम्सिना र बमबहादुर मिश्र, कार्यकारी निर्देशकहरु रामु पौडेल, गुरुप्रसाद पौडेल, दयाराम शर्मा तथा दीर्घबहादुर रावल, निर्देशक निरा ताल्चाभडेल र सञ्चालक समितिका सचिव तथा निर्देशक शरणकुमार अधिकारी तथा नबिल बैंकबाट बैंकका सञ्चालकहरू मलय मुखर्जी, अनन्त पौड्याल, प्रविन टिवडेवाला, सरिता भट्ट अधिकारी, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत भुपेन्द्र पाण्डे र कम्पनी सचिव भिष्म नेउपाने लगायतको उपस्थिति थियो ।
नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
नागरिक लगानी कोषको ३१ औं साधारणसभा सम्पन्न, १३ प्रतिशत लाभांश दिने प्रस्ताव पारित
काठमाडौं । नागरिक लगानी कोषको ३१ औं वार्षिक साधारणसभा कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेको अध्यक्षतामा सम्पन्न भएको छ । सभाले आर्थिक वर्ष २०८१, ८२ को आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको प्रस्तावित पाँच प्रतिशत बोनस सेयर र ८ प्रतिशत नगद लाभांशको प्रस्ताव पारित गरेको छ ।
त्यसैगरी, आव २०८१, ८२ को सञ्चालक समितिको प्रतिवेदनमाथि छलफल भई पारित भएको छ । योसँगै लेखापरीक्षकको प्रतिवेदनसहितको २०८२ असार मसान्तको वासलात, नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरणमा छलफल गरी पारित भएको हो । सभामा कोष सञ्चालक समितिका अध्यक्ष घिमिरेले कोषको कार्यक्रममा नसमेटिएका स्वरोजगार तथा वैदेशिक रोजगारमा रहेका सर्वसाधारणहरूलाई समेट्ने गरी नागरिक पेन्सन योजनालाई प्रवद्र्घन गर्दै लैजाने योजना रहेको जनाए । आगामी दिनमा कोषले बचत संकलनको दायरा विस्तार गर्दे जानेमा उनले जोड दिए । कोषले नेपाल सरकारका प्राथमिकतामा रहेका परियोजनामा लगानी बढाउने, सहभागीहरूलाई प्रदान गर्दै आएको सहभागी कर्जालाई विस्तार गर्ने, सेयर धितो कर्जा प्रदान गर्ने, जोखिम विश्लेषण गरी उपयुक्त पूर्वाधार सम्बन्धी परियोजनामा लगानी बढाउँदै लैजानेमा उनले जोड दिए ।
साधारणसभामा सेयरधनीहरुबाट उठाइएका जिज्ञासाहरुको बारेमा कोषका कार्यकारी निर्देशक पर्वतकुमार कार्कीले जवाफ दिए । उनले कोषको वस्तुस्थितिबारे जनाउँदै सेयरधनीहरूबाट उठाइएका जिज्ञासा तथा सुझावहरूलाई आगामी दिनमा पूरा गर्दे लाने प्रतिबद्धता व्यक्त गरे । उनले कोषले गत वर्षदेखि नागरिक लगानी कोष ऐनले निर्दिष्ट गरेको समयावधि भित्रै साधारणसभा गर्न सफल भएको जनाए । अबको युग डिजिटल युग भएकाले कोषले पनि सोही अनुसार कार्य गरिरहेको समेत उनले जनाए ।
कार्यकारी निर्देशक कार्कीले हाल अधिक तरलताको कारण कोषको मौज्दात रकमलाई पूर्ण रुपमा परिचालन गर्न चुनौतीपूर्ण रहेको विषय उल्लेख गरे । कोषले लगानी विविधीकरणका लागि विभिन्न नीतिगत व्यवस्था गरेको, नागरिक लगानी कोष ऐन संशोधनको प्रक्रियामा लगेको, विभिन्न जलविद्युत आयोजनामा लगानीका लागि कार्य अघि बढाएको एवम् उत्पादनशील क्षेत्रमा कर्जा विस्तार गर्न आवश्यक गृहकार्य भइरहेको उनले जनाए । साधारणसभामा प्रस्तुत विवरण अनुसार आर्थिक वर्ष २०८२, ८३ को असोज मसान्तसम्म कोषको खुद कोष मौज्दात रकम २ खर्ब ९६ अर्ब ८९ करोड रुपैयाँ पुगेको छ । सञ्चालक समितिमा सर्वसाधारण सेयरधनीको तर्फबाट नारायणप्रसाद घिमिरे निर्विरोध निर्वाचित भएका छन् ।

















