काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा विशेष महाधिवेशन आयोजक महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्मासँग वार्ता गर्न तयार भएका छन् ।
आज देउवाले बोलाएको आफू निकट नेताहरूको बैठकमा गगन र विश्वसँग संवादका लागि तयार रहेको जनाएका हुन् ।
देउवाले महामन्त्रीद्वयसँग आजै छलफल गर्ने जनाईएको छ ।
महामन्त्रीद्वयसँग वार्ताका लागि सभापति देउवा तयार
राष्ट्रपति पौडेलद्वारा माघ ४ गतेका लागि राष्ट्रियसभा अधिवेशन आह्वान
काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले राष्ट्रिय सभाको आगामी अधिवेशन माघ ४ गते आईतबारका लागि आह्वान गरेका छन् ।
सोमबार राष्ट्रपति कार्यालयका प्रवक्ता रितेशकुमार शाक्यद्वारा जारी विज्ञप्ति अनुसार संघीय संसद् सचिवालय सिंहदरबारमा माघ ४ गते बिहान ११ बजे बैठक बस्ने गरी अधिवेशन आह्वान गरिएको छ ।
मन्त्रिपरिषद्को सोमबारको बैठकले गरेको सिफारिसका आधारमा राष्ट्रपति पौडेलले अधिवेशन बोलाएका हुन् । आगामी फागुन २१ गतेका लागि तय भएको निर्वाचन र मुलुकको समसामयिक राजनीतिक घटनाक्रमबिच बस्न लागेको अधिवेशनलाई विशेष चासोका साथ हेरिएको छ ।
राष्ट्रिय सभामा रिक्त हुने सदस्य पदका लागि माघ ११ गते निर्वाचन गर्ने कार्यतालिका यसअघि नै सार्वजनिक भइसकेको छ । निर्वाचनको पूर्वसन्ध्यामा सुरु हुने अधिवेशनमा विभिन्न विधेयक र समसामयिक प्रस्तावहरूमाथि छलफल हुने अपेक्षा गरिएको छ ।
सोलु हाइड्रोको आईपीओ मंगलबारदेखि निष्काशन खुला
काठमाडौं । सोलु हाइड्रोपावर लिमिटेडले पुस २९ गते मंगलबारदेखि माघ ४ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन खुला गर्ने भएको छ ।
कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरूलाई आईपीओ बाँडफाँड गरिसकेपछि सर्वसाधारण लगानीकर्ताका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
कम्पनीले प्रतिकित्ता १०० रुपियाँ अंकित मूल्यमा कुल २ करोड कित्ता आईपीओ निष्काशन गर्ने अनुमति पाएको थियो । सोअनुसार पहिलो चरणमा आयोजना प्रभावितलाई १ करोड कित्ता र वैदेशिक रोजगारीमा रहेका नेपालीहरूका लागि १० लाख कित्ता शेयर निष्काशन गरी बाँडफाँट सम्पन्न भइसकेको छ ।
बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेड र हिमालयन क्यापिटलका अनुसार अब बाँकी रहेको ९० लाख कित्तामध्ये ५ लाख कित्ता सामूहिक लगानी कोषका लागि र ३ लाख कित्ता कम्पनीका कर्मचारीहरूका लागि सुरक्षित राखी बाँकी ८२ लाख कित्ता शेयर सर्वसाधारण लगानीकर्ताका लागि खुला गर्न लागिएको हो ।
उक्त कम्पनीको शेयर ८ लाख २० हजार जनालाई १०–१० कित्ताका दरले पर्नेछ ।
लुम्बिनी विकास बैंकको शेयर सर्वसाधारणलाई बिक्रीमा
काठमाडौं । लुम्बिनी विकास बैंक लिमिटेडले संस्थापक शेयरधनी कान्छा गुरुङको १ लाख कित्ता र प्रकाश मान श्रेष्ठको २० हजार ९० कित्ता गरी कुल १ लाख २० हजार ९० कित्ता शेयर बिक्रीमा राखेको छ।
बैंकले यसअघि मंसिर २१ गते शेयर बिक्री खुला गरी बैंकका विद्यमान संस्थापक शेयरधनीहरूलाई खरीद आह्वान गरेकोमा कुनै पनि शेयरधनीबाट निवेदन प्राप्त नभएपछि सर्वसाधारणका लागि बिक्री खुला गरेको हो।
अतः सो शेयर किन्न इच्छुक सर्वसाधारणले आगामी १५ दिनभित्र आवश्यक कागजात सहित काठमाडौंको डिल्लीबजारस्थित बैंकको मुख्य कार्यालयमा निवेदन पेश गर्नु पर्नेछ।
नबिल बैंकको अध्यक्षमा निर्वाण चौधरी चयन
काठमाडौं । नबिल बैंक लिमिटेडको सञ्चालक समितिको अध्यक्षमा निर्वाण कुमार चौधरी चयन भएका छन्। बैंकको ४१ औं वार्षिक साधारणसभाले अध्यक्ष पदमा निर्वाण कुमार चौधरीलाई चयन गरेको हो ।
वर्तमान अध्यक्ष उपेन्द्र प्रसाद पौडेलको कार्यकाल समाप्त भएसँगै आज बसेको सञ्चालक समितिको बैठकले चौधरीलाई सर्वसम्मत रूपमा नयाँ अध्यक्ष चयन गरेको छ । बैंकको ४१ औं वार्षिक साधारणसभा आज काठमाडौँको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा भव्यताका साथ सम्पन्न भएको छ। सोही सभाले आर्थिक वर्षका लागि सञ्चालक समितिले प्रस्ताव गरेको १२.५० प्रतिशत लाभांश (बोनस सेयर र नगद लाभांश समेत) लगायतका सम्पूर्ण प्रस्तावहरू सर्वसम्मतिले पारित गरेको छ।
यस्तै साधारणसभाले नयाँ कार्यसमिति चयन गर्ने क्रममा बैंकका पूर्व प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहलाई संस्थापक समूहको तर्फबाट सञ्चालक समिति सदस्यमा निर्वाचित गरेको छ। बैंकिङ क्षेत्रमा लामो अनुभव संगाल्नुभएका शाहको आगमनले बैंकको रणनीतिक नेतृत्वलाई थप मजबुत बनाउने अपेक्षा गरिएको छ।
सानिमा बैंक र नेपाल क्लियरिङ्ग हाउसबीच सम्झौता
काठमाडौं । सानिमा बैंक लिमिटेड र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडबीच एनपीएस नेशनल कार्ड स्वीच अन्तर्गत डोमेस्टिक कार्ड स्कीम–नेपालपे कार्डको प्रमुख सदस्यताको लागि सम्झौता भएको छ ।
उक्त सम्झौता पत्रानुसार एनपीएस नेशनल कार्ड स्वीचलाई डोमेस्टिक कार्ड प्रयोग भई गरिने कारोबारहरुको राउटिङ र सेटलमेन्टमा अन्तरसञ्चालन सुनिश्चितताका लागि केन्द्रीय भुक्तानी पूर्वाधारको रूपमा स्थापना गरिएको हो ।
सम्झौता पत्रमा बैंकको तर्फबाट प्रमुख निक्षेप अधिकृत हेमराज सन्ज्याल र नेपाल क्लियरिङ्ग हाउस लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत नीलेश मान सिंह प्रधानले हस्ताक्षर गरेका छन् ।
बैंकको देशको सातै प्रदेशमा १३४ वटा कार्यालयहरु तथा १२७ वटा ए।टि।एम।हरु संचालनमा छन् ।
कांग्रेस विषेश महाधिवेशन ः यसरी हुँदैछ बन्दसत्र
काठमाण्डौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माको आह्वानमा सुरु भएको विषेश महाधिवेशनअन्तर्गत बन्दसत्र सोमबार सुरु हुँदै छ ।
काठमाडौंको भृकुटीमण्डपमा आएतबार विषेश महाधिवेशनको उद्घाटन भएको थियो ।
महाधिवेशन प्रचार प्रसार समिति संयोजक सुभास पोखरेलका अनुसार भृकुटिमण्डपस्थित हलमा बिहान १० बजेदेखि बन्दसत्र सुरु हुने छ । बन्दसत्रको अध्यक्षता भने पार्टीको ज्येष्ठ सदस्यले गर्ने कार्यक्रम रहेको छ। बन्दसत्रको सुरुमा विषेश महाधिवेशनको कार्याविधि पारित गरिने छ ।
बन्दसत्रबाट कार्यविधि पारित भएसँगै सात प्रदेश, उपत्यका र भ्रातृ, शुभेच्छुक एवम् जनसम्पर्क समितिको छुट्टाछुट्टै ९ समूह बनाएर नीति, नियम, विधान, राजनीतिक घटनाक्रमका बारेमा गहन छलफल गर्ने कार्यसूची छ।
चार विषयहरूमध्ये विधान संशोधन, नीति र नेतृत्व, शासकीय सुधार र समसामयिक विषयमाथि बृहत छलफल हुने पोखरेलले जानकारी दिए ।
नीति छलफलपछि नेतृत्व परिवर्तन गर्ने या नगर्ने भन्नेबारे बृहत छलफल हुनेछ । यदि नेतृन्व परिवर्तनको पक्षमा निर्णय भएमा निर्वाचन समिति गठन गरी थप प्रक्रिया बढाइनेछ ।
नयाँ कार्यसमिति निर्विरोध हुने सम्भावना रहेकोले मतदान गर्नु नपर्ने पोखरेलको भनाइ छ ।
यसैबीच, महाधिवेशन प्रतिनिधिको दर्ता कार्यक्रम सोमबार बिहान ११ बजेसम्म पनि जारी रहने छ । क्षेत्र तथा जिल्ला समन्वय समिति संयोजक युवराज पाण्डेयका अनुसार विभिन्न जिल्लाबाट अधिकांश प्रतिनिधिहरु सोमबार बिहान मात्रै आइपुगेकोले उनीहरूले बिहान ११ बजेसम्म दर्ता गर्न पाउने व्यवस्था मिलाइएको हो ।
ट्रम्पले आफूलाई घोषणा गरे भेनेजुएलाको कार्यवाहक राष्ट्रपति
काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गरेका छन् । उनले सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलमार्फत आफूलाई भेनेजुएलाको कार्यवाहक राष्ट्रपति घोषणा गर्दै नयाँ सनसनी फैलाएका छन् । यससँग सम्बन्धित एउटा तस्बिर पनि उनले सेयर गरेका छन् ।
ट्रम्पले आफ्नो सामाजिक सञ्जाल अकाउन्टमा एउटा तस्बिर पोस्ट गरेका छन् । त्यसमा उनले आफूलाई ‘भेनेजुएलाको कार्यवाहक राष्ट्रपति’ भनेर उल्लेख गरेका हुन् ।
ट्रुथ सोसलमा सेयर गरिएको पोस्टमा भेनेजुएलाको हालैको घटनाक्रमपछि ट्रम्पलाई कार्यवाहक राष्ट्रपतिका रूपमा देखाइएको डिजिटल रूपमा सम्पादित एउटा तस्बिर देखिन्छ ।
ट्रम्पले यसअघि भेनेजुएलामा सैन्य कारबाही गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरोलाई पक्राउ गरी विश्वभर हलचल मच्चाएका थिए ।
अमेरिका भेनेजुएलामा के गर्न चाहन्छ ?
अमेरिका आफ्ना तेल कम्पनीले भेनेजुएलामा लगानी गरून् भन्ने चाहन्छ । त्यहाँको तेल उत्पादन र पूर्वाधारलाई पुनः खडा गरियोस् भन्ने अमेरिका चाहन्छ । भेनेजुएलाको तेलको विश्वव्यापी बिक्रीमा अमेरिकाको पकड कायम रहोस् भन्ने उसले चाहेको छ । ट्रम्प प्रशासनले यसलाई आर्थिक पुनर्निर्माणको बाटोका रूपमा प्रस्तुत गरिरहेको छ ।
देउवा विशेष महाधिवेशन अन्तरगत बन्दसत्रमा नजाने
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरी देउवा विशेष महाधिवेशन जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन् ।
‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ ।’
कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ ।
नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आज विशेष महाधिवेशनमा उपस्थित हुने भनेर भ्रम फैलाइएको भन्दै उनको सचिवालयले खण्डन गरेको छ ।
देउवाका स्वकीय सचिव भानु देउवाले सूचना जारी गरी देउवा विशेष महाधिवेशन जाने कार्यक्रम नरहेको जानकारी गराएका हुन् ।
‘सामाजिक सञ्जालमा केही व्यक्तिहरूले भ्रम फैलाउने उद्देश्यले नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाज्यू आज भृकुटीमण्डप जाने भन्ने गलत सूचना प्रवाह गरेकोमा सचिवालयको गम्भीर ध्यानकर्षण भएको छ’, उनले लेखेका छन्, ‘उक्त कार्यक्रममा पार्टी सभापति जाने कुनै पनि कार्यक्रम नरहेको स्पष्ट गर्न चाहन्छौँ ।’
कांग्रेसको केन्द्रीय कार्यसमितिले आगामी वैशाखमा नियमित महाधिवेशन गर्ने निर्णय गरे पनि त्यसमा फरक मत राखेका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको नेतृत्वमा काठमाडौँको भृकुटीमण्डपमा आइतबारदेखि विशेष महाधिवेशन जारी छ ।
विशेष महाधिवेशनले पार्टीलाई एकजुट बनाउँछ ः महामन्त्रीद्वय
काठमाण्डौं । नेपाली कांग्रेसका महमन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले विशेष महाधिवेशन विधानसम्मत रहेको जनाएका छन् ।
कांग्रेसको विधान पालना गर्दै पार्टीलाई जीवन्त बनाउनका लागि विशेष महाधिवेशन आयोजना गरिन लागिएको थापा र शर्माले जनाएका छन् ।
उनीहरूले संयुक्त विज्ञप्तिमार्फत कांग्रेस विधानको धारा १७ (२) अनुसार विशेष महाधिवेशन माग भएको तीन महिनाभित्र विशेष महाधिवेशन बोलाउनैपर्ने कानुनी बाध्यता रहेको उल्लेख गरेका छन्।
महाधिवेशन प्रतिनिधिहरूले बदलिँदो राजनीतिक परिस्थितिमा कांग्रेसलाई सुदृढ बनाउन, जनभावना अनुरूपको नीति निर्माण गर्न र नयाँ ऊर्जासहितको नेतृत्वमार्फत पार्टीको समग्र पुनर्निर्माणका लागि विशेष निर्णय लिनु अपरिहार्य रहेको भनी विशेष कारणसहित निवेदन दर्ता गरेको अवस्थामा विशेष महाधिवेशन सम्पन्न गर्नु केन्द्रको जिम्मेवारीको विषय भएको उनीहरूको भनाइ छ।
महामन्त्रीद्वय थापा र शर्माले जस्तोसुकै कठिन अवस्थामा पनि पार्टीलाई एकढिक्का राख्न आफूहरू कटिबद्ध एवं प्रतिबद्ध रहेको उल्लेख गरेका छन्।

















