Page 18

नेपाल लाइफ समृद्धि योजना माघ ४ गतेदेखि निष्कासनमा आउने

काठमाडौं । कोष प्रवर्द्धकमा नेपाल लाइफ इन्स्योरेन्स र योजना व्यवस्थापकमा नेपाल लाइफ क्यापिटल रही नेपाल लाइफ म्युचुअल फण्ड अन्तर्गत सञ्चालित नेपाल लाइफ समृद्धि लगानी योजना माघ ४ गतेदेखि निष्कासनमा आउने भएको छ।
यस योजना अन्तर्गत प्रति इकाई १० रुपैयाँका दरले कुल १६ करोड इकाई बिक्रीमा आउनेछ। जसमध्ये २ करोड ४० लाख वा कुल बिक्री भएको इकाईको न्यूनतम १५ प्रतिशत इकाईमध्ये नेपाल लाइफ इन्स्योरेन्सलाई १४ प्रतिशत वा २ करोड २४ लाख इकाई र नेपाल लाइफ क्यापिटललाई १ प्रतिशत वा १६ लाख इकाई सुरक्षित गरिनेछ।
बाँकी न्यूनतम १३ करोड १६ लाख इकाई भने सर्वसाधारणका लागि बिक्री खुला गरिने भएको हो। यसमा आवेदन दिंदा न्यूनतम १०० इकाईका लागि र अधिकतम १ करोड ६० लाख इकाईसम्म माग गर्न सकिनेछ। निष्कासन बन्द छिटोमा माघ ८ गते र ढिलोमा माघ १८ गते हुनेछ।
यो बन्दमुखी प्रकृतिको योजना हो र यसको अवधि १० वर्ष रहेको छ। १० वर्ष पूरा भएपछि यो परिपक्व हुनेछ र त्यसपछि योजनाको सम्पत्तिलाई नगदमा परिणत गरी इकाई धनीहरूलाई समानुपातिक हिसाबले बाँडफाँड गरिनेछ। यो इकाई नेप्सेमा सूचीकृत गरी कारोबार हुने व्यवस्था पनि गरिनेछ।

नेपाल टेलिकमद्वारा अनलाइन केवाईसी अपडेट प्रणालीको परीक्षण सुरु

काठमाडौं । नेपाल टेलिकमले जीएसएम प्रिपेड सिमकार्ड प्रयोगकर्ता ग्राहकहरुको कम्पनीमा रहेको ग्राहक विवरण (केवाईसी) क्युआर कोडबाट लिंक प्राप्त गरी अपडेट गर्न सकिने कार्यको परीक्षण शुभारम्भ गरेको छ । हाल दूरसञ्चार कार्यालय, सुन्धाराबाट यसको परीक्षण शुभारम्भ गरिएको हो ।
यससम्बन्धी परीक्षण कार्यको शुभारम्भ नेपाल टेलिकमका प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छे र प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले संयुक्त रुपमा गरे । यस अवसरमा प्रमुख व्यावसायिक अधिकृत गंगा सागर मातन्छेले नेपाल टेलिकमको सेवालाई ग्राहकमैत्री बनाउनमा यसले भुमिका खेल्ने अपेक्षा गरे ।
प्रादेशिक निर्देशनालय काठमाडौं, बागमती प्रदेशका निर्देशक इन्दल यादवले थोरै समयमा धेरै कार्य सम्पन्न हुन गई कम्पनीको उत्पादकत्वमा समेत प्रभाव पर्ने विश्वास व्यक्त गरे । दूरसञ्चार कार्यालय, सुन्धाराका कार्यालय प्रमुख निर्मल चटौतले डिजिटल रुपान्तरण, पेपरलेस वर्क र डाटा अद्यावधिक कार्य गर्नका लागि यसले सहयोग पुग्ने अपेक्षा गरे ।
यस अनुसार हाल आफ्नो नाम वा अन्य विवरण सच्याउनु पर्ने अवस्था भएका ग्राहकहरुले ग्राहक सेवा केन्द्रमा रहेको क्युआर कोड स्क्यान गरी आवश्यक विवरण भर्न सक्ने छन् । सो विवरणको आधारमा नेपाल टेलिकमको सिस्टमले ग्राहकको विवरण प्रमाणित गरी अद्यावधिक गर्नेछ ।
हाल पहिलो चरणको परीक्षणको क्रममा क्युआर कोडबाट स्क्यान गर्न सकिने अवस्था भएको र भविष्यमा नेपाल टेलिकमको वेबसाइट वा एपबाट समेत ग्राहक विवरण भर्न सकिने व्यवस्था हुनेछ । पहिलो चरणमा दूरसञ्चार कार्यालय, सुन्धाराबाट परीक्षण प्रारम्भ गरिएको र सो परीक्षणको सफलता पश्चात क्रमशः काठमाडौं उपत्यकाका अन्य कार्यालय र उपत्यका वाहिरका कार्यालयहरुमा समेत यो सुविधा उपलब्ध हुनेछ ।

ग्लोबल आइएमई बैंकको १९औँ वार्षिकोत्सवका अवसरमा १७५ कर्मचारीलाई सम्मान

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडले आफ्नो स्थापनाको १९औँ वार्षिकोत्सवका अवसरमा बैंकमा १५ वर्ष सेवा पुरा गरेका १७५ कर्मचारीहरुलाई सम्मान गरेको छ । बैंकद्वारा आयोजित एक विशेष कार्यक्रमकाबीच ग्लोबल आइएमई बैंक तथा नेपाल उद्योग वाणिज्य महासघंका अध्यक्ष चन्द्रप्रसाद ढकालको प्रमुख आतिथ्यमा १५ वर्षदेखि निरन्तर बैंकमा सेवारत कर्मचारीहरुलाई सम्मान गरिएको हो ।
काठमाडौँमा आयोजित विशेष समारोहबिच बैंक सञ्चालक समितिका अध्यक्ष ढकाल लगायत सदस्यहरु राधेश पन्त, रामबहादुर भण्डारी, कृष्णप्रसाद शर्मा, मदनलाल जोशी र नारायणप्रसाद पौडेल, प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मी र नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले संयुक्त रुपमा खादा र सम्मानपत्र प्रदान गरी कर्मचारीहरुलाई सम्मान गरेका हुन् ।
सम्मान समारोहमा सम्बोधन गर्दै अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकले मर्जर र व्यवसाय विस्तारसँगै बैंकको गुणस्तर वृद्धिलाई ध्यानमा राखेर बैंकको सेवालाई थप प्रभावकारी र प्रविधिमैत्री बनाउने जनाए । उनले १९ वर्ष पहिले १९औँ वाणिज्य बैंकको रुपमा स्थापना भएको यस ग्लोबल आइएमई बैंकले स्थापनाको १९ वर्षमा नै आफूलाई अधिकांश वित्तीय सूचकहरुमा अब्बल बनाउन सफल रहेको जनाए ।
उनले बैंक वा कुनै पनि संस्था सफल हुनका पछाडि नेतृत्वका साथै सम्पूर्ण टिमको सहकार्य, मिहिनेत र लगनशिलताको उत्तिकै महत्व हुने जनाउँदै सम्पूर्ण कर्मचारीहरुलाई अझ लगनशिल भएर आफ्नो कर्तव्य पालना गर्न आग्रह गरे । अध्यक्ष ढकालले ग्लोबल आइएमई बैंकलाई उत्कृष्ट बैंक बनाउन आफ्नो तर्फबाट पुर्‍याएको विशेष योगदानप्रति सबै कर्मचारीहरुलाई धन्यवाद समेत प्रकट गरे ।
यसैगरी, बैंकका प्रमुख कार्यकारी अधिकृत सुरेन्द्रराज रेग्मीले बैंकले आफ्नो सेवालाई नविनतम् तथा ग्राहकमैत्री बनाउँदै अहिलेको डिजिटल युगमा समयसापेक्ष सेवा दिनेगरी लक्ष्य निर्धारण गरेर अगाडि बढेको जनाए । बैंकका नायव प्रमुख कार्यकारी अधिकृत सुमन पोखरेलले बैंकले आगामि वर्षहरुमा ग्राहकको सेवा र सन्तुष्टिलाई ध्यानमा राख्दै अझ गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे ।
ग्लोबल आइएमई बैंक ख्यातिप्राप्त विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संस्थाहरुबाट फरकफरक विधामा सम्मानित भएको छ । बैंकले बैंक अफ द इयर २०१४, बेष्ट इन्टरनेट बैंक २०१६, बेष्ट बैंक नेपाल २०२४ र २०२५, युरो मनी अवार्ड फर एक्सलेन्स २०२२, २०२४ र २०२५, बेष्ट बैंक ईएसजी नेपाल २०२४, बेष्ट इम्प्लोयर जस्ता प्रतिष्ठित अवार्डहरु प्राप्त गरिसकेको छ ।
ग्लोबल आइएमई बैंक देशका ७७ वटै जिल्लामा शाखा सञ्जाल भएको निजी क्षेत्रको पहिलो वाणिज्य बैंक हो । बैंकका ३५२ शाखा कार्यालय, ३८४ एटिएम, १५० शाखारहित बैंकिङ सेवा, ६८ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसहित १,००० भन्दा बढी सेवा केन्द्रमार्फत ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आएको छ ।
बैंकले रेमिट्यान्स सेवामार्फत नेपाली नागरिकहरूलाई विश्वभरबाट आर्थिक सेवा उपलब्ध गराउँदै आएको छ । अमेरिका, बेलायत, क्यानडा, अष्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई, बहराइन, कुवेत, भारत र जोर्डनजस्ता देशहरूबाट बैंकले रेमिट्यान्स सेवा सञ्चालन गर्दै नेपालमा आर्थिक समृद्धिमा योगदान पुर्‍याउँदै आएको छ ।

वीरगञ्जमा कर्फ्यु लम्बियो

काठमाण्डौं । वीरगञ्जमा जारी कर्फ्यु मंगलबार दिउँसो सम्म थपिएको छ । सोमबार साँझबाट लगाइएको कर्फ्यु मंगलबार दिउँसो १ बजेसम्म थपिएको हो ।
गत आइतबार देखि धार्मिक विषयलाई लिएर दुई समुदायबीच तनाव बढेपछि स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
प्रमुख जिल्ला अधिकारी भोला दाहालले सूचना जारी गर्दै कर्फ्यु लम्ब्यिाइएको जानकारी दिए ।
वीरगञ्ज महानगरपालिका क्षेत्रअन्तर्गत पूर्वमा बसपार्क, नगवा, इनर्वा, पश्चिममा सिर्सिया नदी, उत्तरमा गण्डक चोक र दक्षिणमा शंकराचार्य गेटसम्म कुनै किसिमको भेला, सभा, जुलुस तथा प्रदर्शन गर्न नपाउने गरी कर्फ्यू आदेश जारी गरिएको छ ।
प्रशासनले कर्फ्यूको समयमा अत्यावश्यक बाहेक घर बाहिर ननिस्किन र निस्किनु पर्दा नजिकको सुरक्षाकर्मीसँग समन्वय गरी वा १०० नं मा फोन गरी बाहिर निस्कन अनुरोध गरेको छ ।

आज ९ बजे एमाले सचिवालय बैठक बस्दै

काठमाडौँ । नेकपा (एमाले) को पार्टी सचिवालय बैठक आज बस्ने भएको छ।
बैठक बिहान ९ बजे च्यासलस्थित केन्द्रीय कार्यालयमा बस्न लागेको हो।
बैठकमा राष्ट्रियसभा सदस्य निर्वाचनको उम्मेदवारका विषयमा छलफल हुने जनाईएको छ। साथै तालमेल प्रयासबारे अध्यक्ष केपी शर्मा ओलीले ब्रिफिङ गर्ने तयारी रहेको बुझिएको छ। राष्ट्रियसभामा तालमेल गर्नेबारे कांग्रेस, एमाले र नेपाली कम्युनिस्ट पार्टीबिच निरन्तर छलफल भए पनि तिनै दल कुनै टुङ्गोमा पुग्न सकेका छैनन्।
आजको बैठकमा नेताहरूको कार्यविभाजनबारे पनि छलफल हुने एक पदाधिकारीले जानकारी दिए। ति पदाधिकारीका अनुसार देश निर्वाचनतर्फ उन्मुख रहेकोले हाललाई अस्थायी कार्यविभाजन गरेर अघि बढ्ने एमालेको तयारी छ।
जस अनुसार मुख्य मुख्य विभागका प्रमुख, प्रदेशका इन्चार्जहरूलाई संयोजक र जिल्ला इन्चार्जहरूलाई पनि संयोजकको भूमिका दिइने तयारी छ।

भेनेजुएलाको राष्ट्रपति भवन नजिकै फेरि गोलीबारी, शंकास्पद ड्रोनहरू देखिए

काठमाडौं । भेनेजुएलाको राजधानी काराकासस्थित राष्ट्रपति भवन नजिकै फेरि गोलीबारी भएको छ । अमेरिकी आक्रमणको दुई दिनपछि राष्ट्रपति निवास मिराफ्लोरेस भवन नजिकै गोलीबारी भएको हो ।
आकाशमा धेरै शंकास्पद ड्रोनहरू देखिएको छ । सेनाले ड्रोनहरू खसाल्ने प्रयास पनि गरेको छ ।
आक्रमण कसले गर्‍यो भन्ने अझै स्पष्ट भएको छैन । यो आक्रमणले भेनेजुएलामा फेरि एकपटक आतंक मच्चाएको छ । भेनेजुएलाको सेनाले अनुसन्धान सुरु गरेको जनाएको छ ।
हालै संयुक्त राज्य अमेरिकाले भेनेजुएलामाथि आक्रमण गरेर त्यहाँका राष्ट्रपति निकोलस मादुरो र उनकी श्रीमती सिलिया फ्लोरेसलाई पक्राउ गरेर न्यूयोर्क लगेको छ ।

महालक्ष्मी विकास बैंकको साधारणसभा सम्पन्न, १०.३७ प्रतिशत लाभांश पारित

काठमाडौं । महालक्ष्मी विकास बैंक लिमिटेडकोे चौबीसौं वार्षिक साधारणसभा बैंकको सञ्चालक समितिका अध्यक्ष राजेश उपाध्यायको नेतृत्वमा सम्पन्न भएको छ। सभा हिजो पुस २१ गते काठमाडौंको भद्रकालीस्थित त्रिभुवन आर्मी अफिसर्स क्लबमा सम्पन्न भएको हो।
सभाले गत असार मसान्तसम्मको वासलात तथा गत आर्थिक वर्ष (आव) को नाफा नोक्सान हिसाव एवं सोही अवधिको नगद प्रवाह विवरण, नाफा नोक्सान बाँडफाँड हिसाब, ईक्विटीमा भएको परिवर्तन लगायत वार्षिक आर्थिक विवरणसँग सम्बन्धित वित्तीय विवरणहरू छलफल गरी स्वीकृत गरेको छ।
त्यसैगरी सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम गत आवको वितरणयोग्य मुनाफा रकमबाट हाल कायम चुक्ता पूँजीको ५.३७ प्रतिशत नगद लाभांश (नगद र बोनसमा लाग्ने कर सहित) र ५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पनि सभाबाट पारित भएको छ। बैंकले अघिल्लो आवमा ७ प्रतिशत लाभांश वितरण गरेको थियो।
बैंकका अनुसार आव ०८०, ८१ को तुलनामा आव ०८१, ८२ मा बैंकका समग्र वित्तीय सूचकहरूमा सकारात्मक परिवर्तन देखिएको छ। आव ०८०, ८१ को अन्त्यमा आधार दर ९.३९ प्रतिशत रहेकोमा आव ०८१, ८२ को अन्त्यमा ६.९४ प्रतिशत रहेको छ। साथै पूँजीकोष पर्याप्यता अनुपातमा उल्लेख्य सुधार भई १४.९३ प्रतिशतबाट बढेर १७.०६ प्रतिशत पुगेको छ। आव ०८१, ८२ को अन्त्यमा बैकको निक्षेप ५६.२२ अर्ब रुपैयाँ रहेको छ भने कर्जा तथा सापटी ४७.२१ अर्ब रुपैयाँ रहेको छ।
साथै बैंकको नियमावली बमोजिम संस्थापक समूह (क) बाट ३ जना र सर्वसाधारण समूह (ख) बाट ३ जना गरी ६ जना सञ्चालक निर्वाचन गर्ने प्रस्ताव भए बमोजिम संस्थापक शेयरधनी समूह (क) बाट ३ जना क्रमशः राजेश उपाध्याय, संजय गिरि र ग्रोइङ्ग प्रा.लि. को तर्फबाट सागर मल्ल निर्वाचित भएका छन्।
त्यसैगरी सर्वसाधारण शेयरधनी समूह (ख) बाट ३ जना क्रमशः श्याम सुन्दर रुंगटा, राहुल अग्रवाल र शालिक राम अर्याल निर्वाचित भएका छन्। नवनिर्वाचित संचालक समितिको सोही दिन बसेको पहिलो बैठकबाट राजेश उपाध्याय संचालक समितिको अध्यक्षको रूपमा चयन भएका छन्।
सभाका अध्यक्ष उपाध्यायले शेयरधनीबाट प्राप्त सल्लाह, सुझावलाई आत्मसाथ गर्दै बैंकले ग्राहकलाई सन्तुष्टि एवं लगानीको उचित प्रतिफल प्रदान गर्न बैंकका क्रियाकलापलाई थप परिमार्जन तथा विशिष्टीकरण गर्दै अझ बढी सक्षमताका साथ गुणस्तरीय वित्तीय सेवा प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे।

वीरगञ्जमा कर्फ्यु आदेश जारी

वीरगञ्ज । पर्साको वीरगञ्जमा कर्फ्यु आदेश जारी गरिएको छ ।
हिन्दुवादीले फेरि प्रदर्शन सुरू गरेपछि स्थिति नियन्त्रण बाहिर जान सक्ने भन्दै स्थानीय प्रशासनले कर्फ्यु आदेश जारी गरेको हो ।
जिल्ला सुरक्षा समितिको निर्णयअनुसार आज साँझ ६ बजेदेखि भोलि बिहान ८ बजेसम्मका लागि कर्फ्यु लगाइएको छ । कर्फ्युको समयमा सर्वसाधारणलाई घरबाहिर निस्कन र हिँडडुल गर्न पूर्ण रूपमा रोक लगाइएको छ।
प्रशासनले सूचनाको उल्लङ्घन गर्नेलाई सुरक्षाकर्मीले नियन्त्रणमा लिई कानुनबमोजिम कारबाही गर्ने चेतावनी समेत दिएको छ ।

रेशम चौधरीलाई आममाफी दिने निर्णयको फाइल झिकाउन सर्वोच्चको आदेश

काठमाडौं । नागरिक उन्मुक्ति पार्टी नेपालका अध्यक्ष रेशमलाल चौधरीलाई आममाफी दिने निर्णयको फाइल झिकाउन सर्वोच्च अदालतले आदेश दिएको छ ।
आममाफीविरुद्ध शारदा कडायतसहितले दायर गरेको रिट निवेदनमा सुनुवाई गर्दै न्यायाधीश मनोजकुमार शर्मा र सुनीलकुमार पोखरेलको इजलासले फाइल झिकाउन आदेश दिएको हो ।
टीकापुर घटनामा तीनै तहको अदालतले चौधरीलाई दोषी ठहर गरेको थियो। दोषी ठहर भएका चौधरीलाई राष्ट्रपतिले आममाफी दिएपछि २०८० जेठ १५ गते कारागारबाट रिहा भएका थिए।

रास्वपा र थरुहट अभियन्ताबीच एकता, ‘थारु विशेष क्षेत्र’ घोषणा गर्ने सहमति

काठमाण्डौं । वैकल्पिक राजनीतिक शक्तिहरूलाई बलियो बनाउने उद्देश्यका साथ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र नागरिक उन्मुक्ति पार्टीका पूर्व नेतृत्वसहित थरुहट अभियन्ताहरूबीच एकता भएको छ ।
आईतबार भएको सहमति पत्रमा रास्वपाका उपसभापति डोलप्रसाद अर्याल, नागरिक उन्मुक्तिका वरिष्ठ उपाध्यक्ष दामोदर पण्डित तथा थरुहट अभियन्ताहरू लक्ष्मण थारु र सुरेन्द्र चौधरीले हस्ताक्षर गरेका छन् ।
सहमति पत्रको सबैभन्दा महत्त्वपूर्ण पक्ष थारु बाहुल्य क्षेत्रलाई ‘थारु संरक्षित विशेष क्षेत्र’ घोषणा गर्ने प्रतिबद्धता रहेको छ । संविधानको धारा ५६(५) को मर्म अनुरूप यसका लागि कानुनी र संवैधानिक प्रक्रिया सुरु गर्ने सहमति भएको छ । दुवै पक्षले टीकापुर घटनालाई राजनीतिक आन्दोलनका रूपमा स्वीकार गरेका छन् ।
रास्वपाको नेतृत्वमा सरकार बनेपछि शान्ति सुरक्षासँग सम्बन्धित उच्च स्तरीय आयोगका सिफारिसहरू कार्यान्वयन गर्ने बुँदामा समेत सहमति जुटेको छ ।
सहमतिमा निजामती, न्यायिक र प्रहरी लगायतका सबै सरकारी सेवामा थारु समुदायका लागि तोकिएको आरक्षण व्यवस्थालाई पूर्णत लागू गर्ने उल्लेख छ । भूगोल, जनसंख्या र सांस्कृतिक पहिचानका आधारमा प्रादेशिक सुशासनका लागि सर्वदलीय राजनीतिक सहमतिको पहल गरिने जनाईएको छ ।
समायोजनपछि बन्ने दलको नाम ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ नै रहनेछ भने चुनाव चिह्न ‘घण्टी’ र झण्डा साविककै रहनेछ । नागरिक उन्मुक्तिका पूर्व नेतृत्व र थरुहट अभियन्ताहरूलाई रास्वपाको तहगत संरचनामा सम्मानजनक रूपमा समायोजन गरिने सहमति भएको छ ।
२०८२ भदौमा भएको जेनजी आन्दोलनको अपनत्व लिँदै नयाँ शक्तिले भ्रष्टाचार र कुशासनविरुद्ध लड्ने अठोट गरेको छ । आगामी १० वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्न दुवै पक्ष प्रतिबद्ध देखिएका छन् ।
एकतासँगै रास्वपाले अन्य सुसंस्कृत र परिवर्तनकामी शक्तिहरूलाई पनि ‘घण्टी’ चिह्नमा गोलबद्ध हुन आह्वान गरेको छ ।

लेटेष्ट समाचार

सानिमा रिलायन्स लाइफको नगद लाभांश वितरण

काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडको पुस २४ गतेको ९औं वार्षिक साधारण सभाले पारित गरेको लाभांश शेयरधनीलाई वितरण गरिएको छ। सो सभाले गत आर्थिक...

महालक्ष्मी विकास बैंकद्धारा विभिन्न संस्थागत सामाजिक उत्तरदायित्वका कार्यक्रम सम्पन्न

काठमाडौं । महालक्ष्मी विकास बैंकले वित्तीय साक्षरता, शिक्षा, स्वास्थ्य, दैवी प्रकोप व्यवस्थापन, वातावरण संरक्षण, सांस्कृतिक प्रवद्र्धन, पुर्वाधार निर्माण, सुधार, दिगो विकास लक्ष्य, मानव सेवा...

नेपाल लाइफको एमडीआरटी अचिभर्स अवार्ड सम्पन्न

काठमाडौं । नेपालको सर्वाधिक विश्वासिलो जीवन बीमा कम्पनी नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले माघ १३ –१५ गते पोखरा ग्रान्डमा ‘एमडीआरटी अचिभर्स अवार्ड, २०२६’ सम्पन्न गरेको...