Page 4

व्यवसायीहरुलाई राजनीतिक दल र उम्मेदवारलाई नगद चन्दा नदिन आयोगको आग्रह

0

काठमाडौँ । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा राजनीतिक दल र उम्मेदवारले बैंकिङ प्रणालीबाट आर्थिक कारोबार गर्नुपर्ने जनाएका छन् ।
आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधिसभा सदस्य निर्वाचनलाई लक्षित गरी निर्वाचन आयोगले आज आयोजित निजी क्षेत्रका छाता संस्थासँगको अन्तरक्रियामा उनले निर्वाचनका समयमा राजनीतिक दल र उम्मेदवारसँग नगद कारोबार नगर्न आग्रह गरे ।
दल र उम्मेदवारले बैंकिङ प्रणाली विपरीत कारोबार गरे उम्मेदवारी रद्दसम्मका कारबाही गर्न सकिने कानुनी व्यवस्था रहेको पनि कार्यवाहक प्रमुख आयुक्त भण्डारीले जनाए । उनले मुलुक बङ्गलादेशको जस्तो स्थितिमा गुज्रिनु नपरोस् भनी अनुशासनमा राख्न र लयमा फर्काउन सबै पक्षले निर्वाचनलाई सहयोग गरेको पनि जनाए ।
गत भदौ २३ र २४ गतेको अवस्थाबाट देशलाई लयमा फर्काउन निर्वाचन नै उपयुक्त माध्यम हो भनी आयोग सुरुदेखि नै लागिपरेको जनाउँदै उनले यसमा व्यवसायी र सञ्चारमाध्यमले पनि सहयोग गरेकामा धन्यवाद दिए । सुशासन र स्थायी शान्ति भएन भने मुलुक अझै पर धकेलिने भएकाले पनि अहिले निर्वाचन नै पहिलो आवश्यकता भएको उनको भनाइ थियो ।
निर्वाचन बिथोल्ने शक्ति अहिले क्षीण भएर गएकाले फागुन २१ गते निर्वाचन हुने विषयलाई अब कसैले नकार्न नसक्ने कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीको भनाइ थियो ।
राष्ट्रिय झन्डाको दुरुपयोग रोक्न आयोगले सरकारलाई लेखी पठाएपछि गृह मन्त्रालयले सरोकार भएका निकायलाई ध्यानाकर्षण गराई यसको कार्यविधिअनुसार गर्न आह्वान गरेको उनले स्मरण गराए ।
निर्वाचन आचारसंहिताको सबैले पूर्ण पालना नगरेमा कानुन अनुसारका कारबाही गर्ने प्रक्रिया अघि बढाइएको जानकारी पनि कार्यक्रममा उनले गराए । पर्यवेक्षणका नाममा विदेशीहरु पनि विभिन्न रुपमा आउने गरेकाले यसपटक पर्यवेक्षकको पनि पर्यवेक्षण गर्नुपर्ने आवश्यकता औँल्याउँदै कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारीले निजी क्षेत्रका प्रतिनिधिलाई पनि यसमा सहयोग गर्न आह्वान गरे ।
आयोगका सचिव कृष्णबहादुर राउतले निजी क्षेत्रले निर्वाचन आचारसंहिता पालनामा सहयोग गर्नुपर्ने जनाउँदै सबैको सहकार्यमा आवधिक निर्वाचन गराएर लोकतन्त्रलाई स्थायित्व दिनुपर्ने जनाए । निर्वाचनका क्रममा करिब रु ३१ अर्ब खर्च हुने जानकारी गराउँदै उनले त्यसबाट उद्योग, व्यवसायलगायत अर्थतन्त्र चलायमान हुने उल्लेख गरे ।

बीमा प्राधिकरणको अध्यक्ष चन्द्रकला पौडेलद्वारा पदभार ग्रहण

0

काठमाडौं । नेपाल बीमा प्राधिकरणका अध्यक्ष चन्द्रकला पौडेलले आज प्राधिकरणमा अध्यक्षको कार्यभार सम्हालेकी छिन् ।
यसअघि, अर्थमन्त्री रामेश्वरप्रसाद खनालले अध्यक्ष पौडेललाई पद तथा गोपनीयताको शपथ गराएका थिए ।
नेपाल सरकार, मन्त्रिपरिषद्को माघ १२ गतेको बैठकले अर्को व्यवस्था नभएसम्मका लागि संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव चन्द्रकला पौडेललाई नेपाल बीमा प्राधिकरणको अध्यक्षको कामकाज गर्ने गरी जिम्मेवारी दिने निर्णय गरेको हो ।
अध्यक्ष पौडेललाई आज नेपाल बीमा प्राधिकरणमा प्राधिकरणका कार्यकारी निर्देशक सुशील देव सुवेदी र निर्देशकहरू लगायत कर्मचारीहरूले स्वागत गरेका थिए ।

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको साढे ३ लाख कित्ता शेयर बिक्रीमा

0

काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडले ९ जना संस्थापक शेयरधनीहरूको नाममा रहेको ३ लाख ४८ हजार ८५३ कित्ता संस्थापक शेयर बिक्रीमा राखेको छ ।
संस्थापक शेयर बिक्री गर्दा पहिलो प्राथमिकता सम्बन्धित संस्थाकै विद्यमान संस्थापक शेयरधनीलाई दिनु पर्ने भएकाले हाल बैंकका विद्यमान संस्थापक शेयरधनीहरूले मात्रै यो शेयर खरीद गर्न सक्नेछन् ।
शेयर खरीद गर्न इच्छुक संस्थापक शेयरधनीले आगामी ३५ दिनभित्र के–कति रकममा खरीद गर्न चाहेको हो सो समेत खुलाई काठमाडौंको कमलादीस्थित बैंकको शेयर रजिष्ट्रारको कार्यालयमा निवेदन दिनु पर्नेछ ।
म्यादभित्र विद्यमान संस्थापक शेयरधनीबाट निवेदन प्राप्त हुन नआएमा प्रचलित नियमानुसार अन्य व्यक्ति वा संस्थालाई उक्त शेयरहरू खरीद बिक्री गर्न आवश्यक कारवाही अघि बढाइने बैंकले जानकारी दिएको छ।

 

सेयर बजारमा ४२.५८ अंकको गिरावट, कारोबार रकम पनि घट्यो

0

काठमाडौं । सेयर बजारमा उच्च अंकको गिरावट आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ४२.५८ अंकले घटेर २७२६.५१ बिन्दुमा रोकिएको हो ।
अघिल्लो कारोबार दिन सोमबार पनि नेप्से ३.०७ अंकले घटेको थियो । तर, आइतबार भने नेप्से एकै दिन ५७.५५ अंकले बढेको थियो ।
मंगलबार सूचकसँगै कारोबार रकम पनि घटेको छ । आज नेप्सेमा कुल १४ अर्ब १६ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन सोमबार भने नेप्सेमा १६ अर्ब माथिको कारोबार भएको थियो ।
मंगलबार कारोबारमा आएकामध्ये ३४ कम्पनीको सेयर मूल्य बढ्दा २२४ कम्पनीको घटेको छ । यस्तै, २ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।

आज र भोलि देशैभर वर्षा र हिमपात हुने

0

काठमाण्डौं । नेपालमा पश्चिमी वायूको आंशिक प्रभाव हाल गण्डकी र कर्णाली प्रदेशको पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागेको छ ।
हिमाली भू–भागमा आंशिक बादल लागी गण्डकी प्रदेशका हिमाली भू–भागका एक–दुई स्थानमा हल्का हिमपात वर्षा भैरहेको र बाँकी भूभागमा मौसम मुख्यतया सफा रहेको मौसम पूर्वानुमाान महाशाखाले जनाएको छ ।
महाशाखाका अनुसार आज दिउँसो गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा साधारणतया बादल लागी बाँकी भू–भागमा आंशिक बादल लाग्नेछ ।
राति गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बाँकी हिमाली भूभागमा साधरणतया बादल लाग्नेछ। बाँकी भूभागमा आंशिक बादल लाग्नेछ ।
गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा मध्यम हिमपातसहित वर्षाको सम्भावना छ। बाँकी प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का हिमपातसहित वर्षाको सम्भावना छ।
यस्तै महाशाखाले बुधबार देशका धेरै स्थानमा हिमपात तथा वर्षा हुने सम्भावना देखिएको जनाएको छ ।
मंगलबार राति र बुधबार सबै प्रदेशका उच्च पहाडी तथा हिमाली भू‍भागका केही स्थानमा मध्यम हिमपातरवर्षाको सम्भावना छ।
यस्तै ती २ दिन लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत बागमती र गण्डकी प्रदेशका पहाडी भू‍भागका केही स्थानमा मध्यम वर्षा तथा बाँकी भूभागका थोरै स्थानमा मध्यम वर्षाको सम्भावना छ।
यसैगरी बुधबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशको पहाडी तथा तराई भूभागमा मेघगर्जन र चट्याङसहितको वर्षाको समेत सम्भावना छ।

राष्ट्रिय सभा बैठक बस्दै, यस्तो छ कार्यसूची

0

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज बस्दैछ । संघीय संसद सचिवालयका अनुसार बैठक दिउँसो १ः१५ बजे सिंहदरबारमा बस्नेछ ।
आजको बैठकमा विधायन व्यवस्थापन समितिकी सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयक, २०८१ सम्बन्धी समितिको प्रतिवेदन पेश गर्ने कार्यसूची रहेको छ ।
यसैगरी, आजको बैठकमा संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिका सभापति सोनाम गेल्जेन शेर्पाले ‘संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको आर्थिक वर्ष २०८१, ८२ को वार्षिक प्रतिवेदन’ सभासमक्ष पेश गर्ने कार्यसूची छ ।

आज कैलाली र कञ्चनपुरमा बालेनको चुनावी अभियान

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) आज कैलाली र कञ्चनपुरमा चुनावी अभियानमा खटिने भएका छन् ।
बालेनलाई स्वागत तथा अभिनन्दन गर्न कैलाली र कञ्चनपुरमा एक विशेष कार्यक्रमको आयोजना गरिएको पार्टीले जनाएको छ ।
बिहान ७ बजे राजापुरमा स्वागत तथा अभिनन्दन कार्यक्रम भएसँगै उनको अभियान सुरु भइसकेको छ । राजापुरबाट टिकापुर हुँदै लम्की, बर्दगोरिया, सुखड, परमानपुर, मसुरिया, चौमाला, अत्तरियामा र धनगढी बजारमा स्वागत तथा अभिनन्दन कार्यक्रम आयोजना गरिने भएको छ ।
दिउसो ३ः३० बजे उनी धनगढीबाट पुनर्वासतर्फ लाग्ने जनाईएको छ । कञ्चनपुरमा उनी झलारी र महेन्द्रनगरमा आयोजित कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।

सर्लाहीमा गगन थापाको भब्य स्वागत

0

काठमाण्डौं । भावी प्रधानमन्त्रीका उम्मेदवार बनेका गगनकुमार थापा चुनावी अभियानका लागि सर्लाही पुगेका छन्।
सोमबार बुद्ध एयरको जहाजमार्फत सिमरा पुगेका उनलाई स्वागत तथा सम्मानमा ठूलो भीड लागेको थियो। सर्लाही–४ बाट मनोनयन दर्ता गराएका उनी केही दिन कार्यकर्ता भेटघाट र चुनावी अभियान संचालन गर्नेछन्।
कांग्रेस सभापति बनेपछि गगनले कांग्रेसको बदलेको र अब देश बदल्ने घोषणा गरेका छन्। पार्टीले थापालाई नै भावी प्रधानमन्त्रीको उम्मेदवार बनाएर चुनावमा होमिने निर्णय गरेको छ। सर्लाही जानुअघि थापाले आफू देश जोड्नका लागि मधेश जान लागेको प्रतिक्रिया दिएका छन्। एक भिडिओ सन्देश जारी गर्दै उनले भनेका छन्, ‘म मधेश जाँदै छु, किनकी म देश जोड्न चाहन्छु।’
यसपटक सर्लाही क्षेत्र नम्बर ४ बाट प्रतिनिधिसभा सदस्य निर्वाचनको उम्मेदवार बनेका उनले आफू एक क्षेत्रको मात्रै नभएर सिंगो नेपालको हुन्छ भन्ने विश्वास रहेको उनले जनाए। यसअघि काठमाडौं क्षेत्र नम्बर ४ बाट ३ पटक चुनाव जितेका नेता थापाले सो क्षेत्रलाई पनि मनमुटुमा राख्ने जनाएका छन्।
सभापति थापाको स्वागतका लागि बारा, रौतहट , पर्सा र सर्लाही लगायत मधेसका विभिन्न जिल्लाबाट ठूलो संख्यामा कांग्रेसका कार्यकर्ताहरू बिहानैदेखि सिमरा विमानस्थल पुगेका थिए।
विमानस्थल ओर्लने क्रममा थापालाई फूलमाला, अबिर र नाराबाजीसहित स्वागत गरिएको थियो। कार्यकर्ताहरूको उत्साहजनक उपस्थितिले मधेस प्रदेशमा कांग्रेसको बढ्दो प्रभाव र थापाप्रतिको आकर्षणलाई प्रष्ट पारेको देखिन्थ्यो।
सर्लाही क्षेत्र नम्बर ४ बाट उम्मेदवारी दर्ता गरे पनि कार्यव्यस्तताका कारण उनी मनोनयनका दिन उपस्थित हुन सकेका थिएनन्। वारेसमार्फत मनोनयन दर्ता गराएका थापा आज पहिलोपटक प्रत्यक्ष रूपमा आफ्नो निर्वाचन क्षेत्रका मतदाता र कार्यकर्तासँग भेटघाट गर्न त्यसतर्फ प्रस्थान गरेका हुन्।
सिमराबाट उनी सडकमार्ग हुँदै सर्लाही पुग्ने कार्यक्रम रहेको छ। नेपाली कांग्रेसको नेतृत्व सम्हालेपछि थापाले मधेस केन्द्रित राजनीतिलाई प्राथमिकतामा राखेको पाइन्छ।

प्रतिनिधिसभा निर्वाचन ः समानुपातिक तर्फको मतपत्रको छपाइ सकियो

0

काठमाडौं । आगामी प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिकतर्फको मतपत्र छपाइ सकिएको छ ।
प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले समानुपातिक तर्फको दुई करोड आठ लाख ५४ हजार आठ सय मतपत्र छापिएको हो ।
आजबाट प्रत्यक्षतर्फको २ करोड ३ लाख २३ हजार मतपत्र छपाई थालिएको उनले जानकारी दिए ।
१५ दिनभित्र प्रत्यक्षतर्फको पनि सकिने उनको भनाइ छ ।

बालेन शाहविरुद्ध निर्वाचन आयोगमा उजुरी

0

काठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख बालेन शाहको सामाजिक सञ्जाल गतिविधि निर्वाचन विवादको केन्द्रमा पुगेको छ ।
एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई लक्षित गरी गरिएको टिप्पणीप्रति आपत्ति जनाउँदै निर्वाचन आयोगमा उजुरी दर्ता गरिएको हो ।
धर्मराज तिमिल्सिनाले आयोगमा दायर गरेको उजुरीमा बालेन शाहको अभिव्यक्ति तथ्यमा आधारित नभएको, घृणा र द्वेष फैलाउने खालको रहेको तथा निर्वाचन आचारसंहिता उल्लङ्घन भएको उल्लेख छ । यस्तो गतिविधिले निष्पक्ष निर्वाचन वातावरणलाई नै प्रभावित पार्ने भन्दै आवश्यक कारबाहीको माग गरिएको छ ।
उजुरीमा उल्लेख भएअनुसार एमाले अध्यक्ष ओलीले हालै सार्वजनिक रूपमा राजनीतिक दलका शीर्ष नेताहरूबीच पारदर्शी, बौद्धिक र मर्यादित बहस हुनुपर्ने प्रस्ताव अघि सारेका थिए । लोकतान्त्रिक अभ्यासलाई सुदृढ बनाउने उद्देश्यसहित आएको उक्त प्रस्तावको जवाफमा रास्वपाका वरिष्ठ नेता तथा झापा क्षेत्र नम्बर ५ का उम्मेदवार बालेन शाहले सामाजिक सञ्जालमार्फत ओलीमाथि ‘७६ जना बच्चाको हत्यारा, आतंकवादी, देश जलाउने’ जस्ता गम्भीर आरोप लगाएका थिए ।
उजुरीकर्ता तिमिल्सिनाका अनुसार यस्ता अभिव्यक्ति लोकतान्त्रिक बहसको मर्मविपरीत मात्र होइनन्, ती मानमर्दन गर्ने, घृणा फैलाउने र मतदातालाई भ्रमित पार्ने प्रकृतिका छन् । कुनै प्रमाण वा अदालतको फैसलाविना सार्वजनिक रूपमा यसरी गम्भीर आरोप लगाइनु राजनीतिक प्रतिशोधको उदाहरण भएको र यसले निर्वाचन प्रक्रियामा नकारात्मक असर पार्ने उजुरीमा उल्लेख गरिएको छ ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...