Page 9

कांग्रेस निर्वाचन घोषणापत्र तयारीमा जुट्यो

काठमाण्डौं । प्रतिनिधि सभानिर्वाचनको मनोनयन दर्ता भएपछि नेपाली कांग्रेस घोषणापत्र तयारीमा जुटेको छ।
घोणणा पत्र तयारीका लागि कांग्रेसले बुधबार काठमाण्डौंमा उपलब्ध नेताहरुसँग छलफल गर्दैछ ।
प्रवक्ता देवराज चालिसेका अनुसार सभापति गगन थापाको समूहले घोषणापत्रको तयारीमा छ। घोषणापत्र तयारीबारे थप विमर्शका लागि काठमाण्डौंमा उपलब्ध नेताहरुसँग बुधबार छलफल गरिने उनले जनाए ।
यस्तै कांग्रेसले उपसभापति विश्वप्रकाश शर्माको संयोजकत्वमा निर्वाचन परिचालन समिति बनाएको छ।
निर्वाचन प्रचार प्रसारका रणनीति लगायत विषयमा पनि छलफल हुनेछ। १६५ वटै निर्वाचन क्षेत्रमा प्रभावकारी प्रचारप्रसार, कांग्रेसका नीति, योजना र कार्यक्रम जनतालाई बुझाउनेसहितका समग्र निर्वाचन अभियानबारे छलफल हुनेछ।
कांग्रेसको आधिकारिकता विवादमा तत्कालीन संस्थापन पक्षको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै विशेष महाधिवेशनबाट निर्वाचित थापा नेतृत्व निर्वाचनकेन्द्रित अभियानमा जुटेको हो ।

निर्वाचन ४३ दिन बाँकीः उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने

काठमाडौँ । प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवारी दिएका उम्मेदवारको विरोधमा आज उजुरी दिन सकिने व्यवस्था गरिएको छ ।
निर्वाचन आयोगले तय गरेको समयसीमा अनुसार पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फको निर्वाचन कार्यक्रम अनुसार मनोनयन पत्र दर्ता भएका उम्मेदवारको विरोधमा उजुरी दिन सकिनेछ । उक्त उजुरीपछि यही माघ ८ गते बेलुका पाँच बजेसम्म मनोनयपत्र र उजुरी उपर जाँचबुझ एवम् आवश्यक निर्णय गरी अन्तिम नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।
आयोगले माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सक्ने व्यवस्था गरेको छ । सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्ममा उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्ममा उम्मेदवारलाई निर्वाचन चिन्ह प्रदान गरिने छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनको पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीतर्फ उम्मेदवारको मनोनयन पत्र दर्ता कार्यक्रम सम्बन्धित मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको कार्यालयमा उत्साहजनक तथा शान्तिपूर्ण रूपमा सम्पन्न भएको छ । आयोगका अनुसार हालसम्म दुई हजार ९२५ जनाको उम्मेदवारी परेको छ ।
उत्साहजनक र शान्तिपूर्ण रुपमा मनोनयन सम्पन्न भएकामा कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले धन्यवाद व्यक्त गरेका छन । निर्वाचनका बाँकी कार्यक्रममा पनि राजनीतिक दल र सरोकारवाला सबैको सहयोग पाउनेमा उहाँले अपेक्षा व्यक्त गरेको आयोगले जनाएको छ ।
निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले दुई हजार ९२५ उम्मेदवारी परेको जानकारी दिए । उनका अनुसार त्यसमा महिला उम्मेदवार तीन सय ३६ र पुरुष दुई हजार पाँच सय ८९ जना रहेका छन् ।
यस्तै अपाङ्गता भएका व्यक्ति ८५ र पिछडिएको क्षेत्रका एक सय ३८ जनाको उम्मेदवारी परेको आयोगले जनाएको छ ।

फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसार गर्न पाइने

काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा निर्वाचनका लागि फागुन ४ गतेदेखि १८ गतेसम्म निर्वाचन प्रचारप्रसारको समय तोकेको छ । आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीका अनुसार तोकिएको अवधिभित्र आचारसंहिता पालना गर्दै प्रचारप्रसार गर्न राजनीतिक दल र उम्मेदवारलाई आग्रह गरिएको छ ।
मंगलबार आयोगमा आयोजित पत्रकार सम्मेलनमा भण्डारीले मनोनयनपत्र दाखिल गरेपछि प्रचार गर्न नपाइने भन्ने भ्रम चिर्दै निर्वाचन चिह्न प्राप्त भएपछि घरदैलो कार्यक्रममार्फत मतदातासँग भेटघाट गर्न र रायसुझाव लिन पाइने स्पष्ट पारे ।
तर उनले ठूला आमसभा, गोष्ठी, सेमिनारजस्ता गतिविधि दलगत रूपमा गर्न नपाइने जनाए ।
‘निर्वाचन आचारसंहिता लागू भइसकेको छ । आयोगले आचारसंहिता उल्लंघनसम्बन्धी उजुरी आएमा छानबिन गरी आवश्यक निर्णय लिने अधिकार राख्छ,’ उनले भने ।
कार्यवाहक प्रमुख आयुक्त भण्डारीले प्रतिनिधिसभा सदस्यमा उम्मेदवार बनेका प्रदेशसभा तथा स्थानीय तहका जनप्रतिनिधिको पद रिक्त हुने स्पष्ट गर्दै ती रिक्त स्थानमा फागुन २१ गतेपछि निर्वाचन गरिने जानकारी पनि दिए । निर्वाचन आयोगले निष्पक्ष, स्वच्छ र मर्यादित निर्वाचन सुनिश्चित गर्न सबै पक्षको जिम्मेवार भूमिका अपरिहार्य रहेको जनाएको छ ।

रास्वपा सभापति लामिछानेसँग पर्सा अदालतमा १ करोड धरौटी माग

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेसँग जिल्ला अदालत पर्साले १ करोड धरौटी माग गरेको छ ।
सानो पाइला बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलन अभियोगमा रविसँग अदालतले १ करोड धरौटी माग गरेको अदालतका तहसिलदार देवराज भट्टराईले जानकारी दिए ।
मुद्दामा लामिछानेसहित २९ जनालाई विपक्षी बनाइएको थियो । न्यायाधीश रुद्र सुवेदीको एकल इजलासले धरौटी माग गर्न आदेश गरेको जनाइएको छ ।

प्रतिनिधिसभा निर्वाचनमा २ हजार ९२५ जनाको उम्मेदवारी मनोनयन दर्ता

काठमाण्डौं । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनको लागि अहिलेसम्म २ हजार ९२५ जनाले उम्मेदवारी मनोनयन दर्ता गरेको जानकारी दिएको छ ।
मंगलबार पत्रकार सम्मेलन गर्दै निर्वाचन आयोगका सचिव कृष्णबहादुर राउतले महिला ३३६ र पुरुष २ हजार ५८९ जनाले मनोनयन दर्ता गरेको जनाए ।
उनले भने, ‘अहिले हाम्रो सिस्टमा आइसकेको २ हजार ९२५ उम्मेदवारी मनोनयन दर्ता भएको सूची प्राप्त भएको छ । त्यसमा महिला ३३६ र पुरुष २ हजार ५८९ दर्ता भएको छ । समावेशी समूह अन्तर्गत अपाङ्गताको ८५ जना, पिछडिएको क्षेत्रबाट १३८ जनाको उम्मेदवारी परेको भनेर आएको छ, बाँकी निरन्तर अपडेट भई नै रहन्छ ।’
बिहान १०.०० बजेबाट सुरु भएर अपराह्न ५ बजेसम्म तोकिएको उक्त समयभित्र सम्बन्धित निर्वाचन अधिकृतको कार्यालयमा उपस्थित भएका कतिपय उम्मेदवारहरूको दर्ता कार्य हालसम्म पनि जारी नै रहेको आयोगले जनाएको छ ।
आयोगले माघ ७ गते बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म उम्मेदवारको विरोधमा उजुरी दिन सकिने कार्यक्रम रहेको जनाएको छ भने सोही दिन दिउँसो ३ बजेदेखि माघ ८ गते बेलुका ५ बजेसम्ममा मनोनयन पत्र र उजुरी उपर जाँचबुझ एवम् निर्णय गरी माघ ८ गते बेलुका ५ बजेदेखि ७ बजेसम्म उम्मेदवारको नामावली प्रकाशन गरिनेछ ।
माघ ९ गते बिहान १० बजेदेखि दिउँसो १ बजेसम्म उम्मेदवारको नाम फिर्ता लिन सकिनेछ भने सोही दिन दिउँसो १ बजेदेखि ३ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गरी दिउँसो ४ बजेदेखि साँझ ७ बजेसम्म उम्मेदवारहरूलाई निर्वाचन चिह्न प्रदान गरिने आयोगले जनाएको छ ।

कांग्रेस विवादमा अन्तरिम आदेश दिन सर्वोच्चद्वारा अस्वीकार

काठमाण्डौं । नेपाली कांग्रेसको विशेष महाधिवेशन विवादको सम्बन्धमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।
गगन थापालाई कांग्रेस सभापतिमा मान्यता दिने निर्वाचन आयोगको निर्णयविरुद्ध परेको रिटमा सर्वोच्च अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो ।
सर्वोच्चका न्यायाधीश सुनिलकुमार पोखरेलको इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाली कांग्रेसको शेरबहादुर देउवा पक्षले विशेष महाधिवेशनबाट सभापति निर्वाचित थापा नेतृत्वको केन्द्रीय समितिलाई मान्यता दिने निर्वाचन आयोग विरुद्ध सर्वोच्चमा रिट हालेको थियो ।
सर्वोच्चले अन्तरिम आदेश दिन अस्वीकार गरेसँगै निर्वाचन कार्यक्रम नरोकिने भएको छ ।

यूनाइटेड अजोड इन्स्योरेन्सको निमित्त सीईओमा रेना रिजाल नियुक्त

काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडको निमित्त सीईओमा रेना रिजाल नियुक्त भएकी छिन् ।
सञ्चालक समितिको माघ ४ गते आइतबार बसेको बैठकले सीईओ कमल गौतमको राजीनामा स्वीकृत गर्दै माघ ५ गतेदेखि लागू हुने गरी डेपुटी सीईओ रिजाललाई निमित्त सीईओ तोक्ने निर्णय गरेको कम्पनी सचिव वैद्यानान उपाध्यायले जनाएका छन् ।

सेयर बजारमा ४२.२६ अंकको उछाल, पौन १२ अर्बको कारोबार

काठमाडौं । देशमा चुनावी माहौल बढ्दै गएपछि अर्थतन्त्र चलायमान हुने संकेत देखा परेको छ ।
आज देशभर प्रत्यक्ष निर्वाचनतर्फको मनोनयन जारी भइरहँदा शेयर बजार उच्च अंकले बढेको छ भने कारोबार पनि पौने १२ अर्ब नाघेको छ ।
नेपाल स्टक एक्सचेञ्ज लिमिटेड (नेप्से) का अनुसार आज बजार ४२.२६ अंकले बढेको छ । १.५८ प्रतिशतले बजार बढ्दा नेप्से परिसूचक २७१४.८१ अंकमा उक्लिएको छ ।
बजारमा उछाल आउँदा सबै समूहमा हरियाली छाएको छ । होटल समूह सबैभन्दा बढी ३.३६ प्रतिशतले बढेको छ ।
आज ३३९ कम्पनीको २ करोड ५१ लाख ८५ हजार ६ सय ४७ कित्ता शेयर किनबेच हुँदा ११ अर्ब ८५ करोड ८४ लाख २१ हजार ७०.६७ रुपियाँ बराबरको कारोबार भएको छ ।
गोर्खाज फाइनान्सका लगानीकर्ताले सबैभन्दा बढी १० प्रतिशतले नाफा कमाएका छन् भने सिद्धार्थ बैंकको ऋणपत्र २०८९ का लगानीकर्ताले सबैभन्दा बढी ४.२३ प्रतिशतले घाटा व्यहोरेका छन् । आज ६९ कम्पनीको शेयर मूल्य घटेको छ भने बाँकी सबैको बढेको छ ।
एनआरएन इन्फ्रास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडको उच्च कारोबार भएको छ । उक्त कम्पनीको ४० करोड ७९ लाख २५ हजार ६सय ३२ रुपियाँ बराबरको शेयर किनबेच भएको नेप्सेले जनाएको छ ।
साताको पहिलो दिन आइतबार बजार ३१.१२ अंकले बजार बढ्दा ८ अर्ब ४० करोड २७ लाख ९७ हजार ७ सय ७५.५९ रुपियाँ बराबरको कारोबार भएको थियो । हिजो सोमबार भने सोनाम ल्होसार पर्वको सार्वजनिक बिदाका कारण शेयर बजार बन्द रहेको थियो ।

नेशनल लाईफको एमडिआरटी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न

काठमाडौं । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीले धुलिखेल स्थित दुषित थानी हिमालयन रिसोर्टमा कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहको प्रमुख आतिथ्य तथा प्रमुख कार्यकारी अधिकृतको सभापतित्वमा एम.डि.आर.टी सम्मान तथा तालिम कार्यक्रम सम्पन्न गरेको छ ।
अभिकर्ताहरुको अन्तराष्ट्रिय फोरम एमडिआरटीले एमडिआरटी २०२६ का लागि तोकेको बीमाशुल्क संकलन गरी नेपालभरबाट टिओटीमा २ जना सिओटीमा ४ जना र एमडिआरटीमा ७७ जना गरी छनौट हुनुभएका ८३ जना अभिकर्ताहरुलाई भव्य समारोहकाबीच सम्मान गरेको छ ।
कम्पनीका अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले पानसमा द्विप प्रज्वलन गर्दै शुभारम्भ गरिएको सो कार्यक्रममा सहभागि भएका अभिकर्ताहरुलाई चर्चित अन्तर्राष्ट्रिय प्रशिक्षक काजिम रजाले जीवन बीमा व्यवसायमा थप हौसला प्रदान गर्दै अभिकर्ताहरुको व्यवसायिक दक्षता अभिवृद्धि गरी निरन्तर एमडिआरटीको लक्ष्य पुरा गराउने उदेश्यले विभिन्न उदाहरण प्रस्तुत गर्दै तालिम प्रदान गरेका थिए ।
समारोहमा प्रमुख कार्यकारी अधिकृतज्यूले कम्पनीलाई अग्रस्थानमा पु¥याउन महत्वपूर्ण भुमिका खेल्ने अभिकर्ता समूहलाई उच्च प्राथमिकतामा राख्दै केही नयाँ अभ्यासहरु शुरु गरेको र यसबाट अभिकर्ताहरु उत्साही भएको जनाए ।
उनले एमडिआरटी २०२६ मा तोकिएको बीमाशुल्क संकलन गरी एमडिआरटी सिओटी र टिओटीको गरिमामय लक्ष्य हासिल गर्न सफल सबै अभिकर्ताहरुलाई विशेष सम्मान गरेका थिए साथै कम्पनीले एमडिआरटी अभिकर्ता उत्पादनलाई थप बल पुग्ने गरी ल्याएको मासिक योजना चेज योर एमडिआरटीमा सफल हुने अभिकर्तालाई तोकिएको प्रोत्साहन प्रदान गरेका थिए ।
यसै गरी सबै भन्दा बढि एमडिआरटी अभिकर्ता उत्पादन गर्न सफल तिनकुने शाखालाई पनि सम्मान गरेका थिए ।
कम्पनीको उप प्रमुख कार्यकारी अधिकृत स्मृती राज कँडेलले सहभागिहरुलाई स्वागत गरेको सो कार्यक्रममा कम्पनीका नायब महाप्रवन्धक प्रज्वल सायमीज्यूले धन्यवाद ज्ञापन गरेका थिए ।
विभिन्न मनोरन्जानात्मक प्रस्तुती, उपलब्धिमूलक उत्प्रेरक तालिम र उच्चस्तरको सम्मान कार्यक्रम समावेश गरिएको भव्य समारोहमा सम्मानित भई प्रमुख कार्यकारी अधिकृतबाट सम्मान ग्रहण गर्न पाउँदा आफुहरुले गरेको मेहनतको कदर भएको र अत्यन्तै गर्व लागेको सम्मानित बिजनेश लिडरहरुले जनाएका थिए ।

एनएमबि बैंकद्वारा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरू सार्वजनिक

काठमाडौं । एनएमबि बैंकले आफ्ना ग्राहकहरूलाई थप सुविधा र अझै उत्कृष्ट बैंकिङ अनुभव प्रदान गर्ने उद्देश्यले दुईवटा नयाँ भिसा प्लाटिनम डेबिट कार्डहरु सार्वजनिक गरेको छ ।
बैंकले ग्राहकहरूको बदलिँदो जीवनशैली र आवश्यकतालाई ध्यानमा राख्दै ‘प्लाटिनम डेबिट डिलाइट’ र ‘प्लाटिनम डेबिट’ कार्ड सार्वजनिक गरेको हो । यी कार्डहरूले ग्राहकको दैनिक बैंकिङ्ग अनुभवलाई सहज र प्रिमियम बनाउने विश्वास बैंकले लिएको छ ।
नयाँ प्लाटिनम कार्डधारकहरूले विभिन्न प्रिमियम आउटलेटहरूमा आकर्षक छुटका साथै विमानस्थलहरूमा लाउन्ज सुविधा पाउनेछन् (सर्तहरू लागू हुने)। विशेषगरी धेरै यात्रा गर्ने र बैंकिङ्ग सेवामा लचकता खोज्ने ग्राहकहरूका लागि ‘प्लाटिनम डेबिट डिलाइट’ कार्ड निकै उपयोगी हुने देखिन्छ। यस कार्डमार्फत ग्राहकहरूले नेपालभरका कुनै पनि बैंकको एटिएमबाट निःशुल्क नगद झिक्न सक्नेछन् भने भारतमा नगद झिक्दा समेत विशेष सहुलियत पाइनेछ ।
डिजिटल बैंकिङ्गमा सधैं अगाडि रहने एनएमबि बैंकले आफ्ना ग्राहकलाई विशेष अनुभव प्रदान गर्न यी अत्याधुनिक सुविधाहरू ल्याएको जनाएको छ। यी नयाँ विशेषताहरूले ग्राहकहरूलाई उत्कृष्ट डिजिटल बैंकिङ्ग अनुभव र विशिष्ट पहिचान प्रदान गर्नेमा बैंक विश्वस्त रहेको छ ।
यी नयाँ कार्डहरूबारे थप जानकारी लिन वा सेवा लिन चाहने ग्राहकहरूले आफ्नो नजिकैको एनएमबि बैंकको शाखामा सम्पर्क गर्न वा बैंकको कल सेन्टरमा सम्पर्क गर्न सक्नेछन् ।
बैंकले हाल देशभर रहेका २०२ शाखा, १८४ एटिएम र ९ वटा एक्स्टेन्सन काउन्टरहरू मार्फत आफ्ना ग्राहकहरूलाई भरपर्दो वित्तीय सेवा दिँदै आएको जनाएको छ ।

लेटेष्ट समाचार

चितवनमा दुर्गा प्रसाईका कार्यकर्ता र प्रहरीबीच झडप

चितवन । चितवनमा दुर्गा प्रसाईँका कार्यकर्ता र प्रहरीबीच झडप भएको छ । आज प्रसाईँ पक्षको प्रदर्शनका क्रममा दुई पक्षबीच झडप भएको हो । भरतपुरको साझा...

समानुपातिकतर्फको बन्दसूचीबाट ७६ जना उम्मेदवारको नाम हटाइयो

काठमाडौं । निर्वाचन आयोगले समानुपातिकतर्फका ७६ उम्मेदवारको नाम बन्दसूचीबाट हटाएको छ। आयोगले विभिन्न दलका ७६ जना उम्मेदवारको नाम हटाएको हो । आयोगले कर्जा सूचना केन्द्रको...

रवि लामिछाने विरुद्धको मुद्दा ‘हेर्न नभ्याइने’

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछाने विरुद्धको राहदानी दुरुपयोगसम्बन्धी मुद्दा सर्वोच्च अदालतमा सोमबार ‘हेर्न नभ्याइने’ भएको छ । सोमबार न्यायाधीशद्वय सपना प्रधान...