काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले सातै प्रदेशका लागि आवेदन खुलाएको छ । बैंकले सातै प्रदेशअन्तर्गतका कार्यालयहरूमा चौथो तहको सहायक र सहायक (नगद) पदका लागि खुला प्रतिस्पर्धाबाट ६२ जना कर्मचारीको माग गरेको हो ।
आवेदन दिन चाहने उम्मेदवारले मान्यताप्राप्त शिक्षण संस्थाबाट न्यूनतम प्लस टू उत्तिर्ण गरेको र लोक सेवा आयोगले गत कात्तिक १५ गते सञ्चालन गरेको पूर्व योग्यता परीक्षा उत्तीर्ण गरेको हुनु पर्नेछ ।
उमेरको हकमा १८ वर्ष पूरा भई २५ वर्ष ननाघेको हुनु पर्नेछ। इच्छुक उम्मेदवारले बैंकको आधिकारिक वेबसाइटमार्फत अनलाइन आवेदन दिनुपर्नेछ। आवेदन दिँदा नागरिकता, शैक्षिक योग्यता र समावेशी समूहसम्बन्धी प्रमाणपत्रलगायत आवश्यक कागजात पेस गर्नु पर्नेछ ।
परीक्षा दस्तुर पनि अनलाइन प्रणालीमार्फत भुक्तानी गर्नुपर्ने व्यवस्था गरिएको छ। अनलाइन दरखास्त दिने अन्तिम मिति फागुन २१ गते तोकिएको छ। दोब्बर दस्तुर तिरेर फागुन २८ गतेसम्म आवेदन दिन सकिनेछ।
राष्ट्रिय वाणिज्य बैंकले माग्यो ६२ जना कर्मचारी
कार्यसम्पादन मूल्यांकनमा काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर
काठमाडौं । कार्यसम्पादन मूल्यांकनमा देशभरिका ६ महानगरपालिकामध्ये काठमाडौं महानगरपालिका सबैभन्दा कमजोर देखिएको छ । राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले विभिन्न १७ सूचक आधार मानेर गरेको मूल्यांकनका आधारमा काठमाडौं महानगरपालिकाले सबैभन्दा कमजोर देखिएको हो ।
आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार काठमाडौंले ४४.९७ अंक मात्र प्राप्त गरेको छ । यो देशभरिका ६ महानगरपालिकाको तुलनामा सबैभन्दा कमजोर हो । काठमाडौं छैटौं स्थानमा छ ।
यस वर्षको आयोगले गरेको मूल्यांकनमा मोरङको विराटनगर महानगरपालिका सबैभन्दा अब्बल सावित भएको छ । विराटनगरले ७८.११ अंक पाएर पहिलो स्थानमा छ । दोस्रो स्थानमा ललितपुर महानगरपालिका छ ।
आयोगले सार्वजनिक गरेको पछिल्लो मूल्यांकनअनुसार ७६.३३ अंकसहित ललितपुर महानगरपालिका दोस्रो स्थानमा रहेको हो । चितवनको भरतपुर महानगरपालिका ६८.०४ अंकसहित तेस्रो स्थानमा परेको छ । चौथो स्थानमा रहेको कास्कीको पोखरा महानगरपालिकाले ५८.०४ अंक पाएको छ ।
पाँचौं स्थानमा रहेको पर्साको वीरगञ्ज महानगरले ५४ अंक पाएको छ । आयोगले स्थानीय तहका हकमा कुल १७ सूचकमा मूल्यांकन गरेको थियो । जसमा १० असारभित्र बजेट सार्वजनिक गरे नगरेको, असार मसान्तभित्र बजेट पास गरेरनगरेको उल्लेख छ ।
यसैगरी आर्थिक वर्ष २०८१, ८२ मा घरजग्गा रजिस्ट्रेसन शुल्क, मनोरञ्जन कर तथा विज्ञापन करबापत उठेको रकमध्ये प्रदेश सरकारलाई दिनुपर्ने ४० प्रतिशत रकम मासिक प्रदेश सञ्चित कोषमा दाखिला गरे नगरेको समेत मूल्यांकनमा समेटिएको छ ।
आगामी आवको बजेट प्रक्षेपण सहित विवरण अर्थ मन्त्रालयमा बुझाए नबुझाएको, बजेट समिक्षा गरी कात्तिक मसान्तभित्र सार्वजनिक गरे नगरेको अवस्थालार्ई समेत आधार बनाइको छ ।
आसन्न चुनावका लागि भारतद्वारा २२३ सवारीसाधन हस्तान्तरण
काठमाण्डौं । भारत सरकारले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि नेपाल सरकारलाई तेस्रो चरणअन्तर्गत २२३ वटा सवारीसाधन हस्तान्तरण गरेको छ ।
बिहीबार आयोजित कार्यक्रममा भारत सरकारले सवारीसाधन नेपाल सरकारलाई औपचारिक रूपमा हस्तान्तरण गरेको हो ।
गृह मन्त्रालयका सहसचिव आनन्द काफ्लेका अनुसार निर्वाचन प्रयोजनका लागि सवारी साधन हस्तान्तरण गर्ने कार्यक्रमअन्तर्गत यो तेस्रो लट हो । उनका अनुसार पहिलो लटमा ६१ वटा, दोस्रो लटमा २५४ वटा र तेस्रो लटमा २२३ वटा गाडी हस्तान्तरण गरिएको छ ।
बिहीबार हस्तान्तरण गरिएका सवारीसाधनमध्ये ५० वटा गाडी नेपाली सेनाका लागि रहेका छन् ।
भारत सरकारले यी सवारीसाधन अनुदानस्वरूप उपलब्ध गराएको छ । निर्वाचन सुरक्षा सम्बन्धी प्रहरीका केही सामग्रीहरू आइसकेका छन् भने बाँकी सामग्री आउने क्रम जारी रहेको सहसचिव काफ्लेले जानकारी दिए ।
सवारीसाधनहरू मूलतस् सुरक्षा निकाय तथा निर्वाचनसँग सम्बन्धित निकायहरूलाई क्रमशः हस्तान्तरण गरिने जनाइएको छ ।
टी–२० विश्वकपः इटालीसँग नेपाल १० विकेटले पराजित
काठमाडौं । टी–२० विश्वकप अन्तर्गत नेपालले लगातार दोस्रो हार ब्यहोरेको छ । त्यो पनि १० विकेटको फराकिलो हार ।
यस हारसँगै नेपालको सुपर ८ सम्म पुग्ने सम्भावना पनि अत्यन्तै न्यून भएको छ । बिहीबार टस हारेर पहिले ब्याटिङ गर्दै नेपालले दिएको १२४ रनको सामान्य लक्ष्य इटालीले १२.४ ओभरमा बिना विकेटको क्षतिमा पूरा गर्यो ।
इटालीको सहज जितमा जस्टिन मोस्का र एन्थोनी मोस्काले सानदार साझेदारी गरे । जस्टिन ६० तथा एन्थोनी ६२ रनमा अविजित रहे । यी दुवै दाजुभाई हुन् । ४४ बल खेलेका जस्टिनले ५ चौका तथा ३ छक्का प्रहार गरे । यस्तै, एन्थोनीले ३ चौका र ६ छक्का हिर्र्काए । नेपालका कुनै पनि बलर चल्न सकेनन् र विकेटविहिन बने ।
त्यसअघि मुम्बईस्थित वानखेडे मैदानमा टस हारेर पहिले ब्याटिङ थालेको नेपाल १९.३ ओभरमा १२३ रनमै अलआउट भयो ।
आरिफ शेखले २७, रोहित पौडेलले २३, आसिफ शेखले २० दीपेन्द्र सिंह ऐरीले १७, करण केसी १८ रनमा अविजित रहँदा अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन जोड्न सकेनन् ।
कुशल भुर्तेलले ५, लोकेश बम र गुलशन झाले ३–३ रन बनाउँदा नन्दन यादवले खाता पनि खोल्न सकेनन् ।
बलिङतर्फ इटालीका क्रिसन कलुगामागेले तीन तथा बेन मनेन्टीले दुई विकेट लिए भने अलि हसन, जेजे स्मट्स र जसप्रीत सिंहले एक–एक विकेट लिए ।
यसअघिको खेलमा नेपाल इंग्ल्यान्डसँग ४ रनले तथा इटाली स्कटल्यान्डसँग ७३ रनले पराजित भएका थिए । आजको जितसँगै इटालीले खाता खोलेको छ भने नेपाल अझै अंकविहिन बन्न पुगेको छ ।
सानिमा रिलायन्स लाइफको वित्तीय विवरणमा चमक, नाफासँगै व्यवसायमा प्रगति
काठमाडौं । सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासिकको वित्तीय विवरणमा अधिकांश सूचांकमा प्रगति गर्न सफल भएको छ । आज प्रकाशित कम्पनीको अपरिस्कृत वित्तीय विवरण अनुसार व्यवसायमा सामान्य बृद्धि भएको छ भने जीवन बीमा कोषमा करिव २२ अर्ब रुपैयाँ संचित गर्न सफल भएको छ ।
कूल पाँच अर्ब एक करोड चुक्ता पुँजि भएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सको महाबिपत्ती कोषमा १७ करोड ५३ लाख रुपैयाँ र जगेडा कोषमा २६ करोड ५७ लाख रुपैयाँ सञ्चिती रहेको छ ।
चालु आर्थिक वर्षको पुष मसान्तसम्मको अवधिमा कम्पनीको व्यवसायमा पनि बृद्धि भएको छ । कम्पनीको खुद बीमा व्यवसाय १४.२९ प्रतिशतले बृद्धि भई तीन अर्ब ११ करोड रुपैयाँबाट तीन अर्ब ५५ करोड रुपैयाँ रहेको छ । समग्र रुपमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सका प्रमुख वित्तीय सूचांकहरुमा चमक देखिएको छ ।
कम्पनीले बीमा अभिकर्तालाई दिने कमिशन रकम १८.७९ प्रतिशतले बढेर ३१ करोड पाँच लाख रुपैयाँबाट ३६ करोड ८८ लाख रुपैयाँ रहेको छ । व्यवसाय बढेसँगै अभिकर्ता कमिशन पनि बढ्न पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको खुद नाफा १९.२१ प्रतिशतले बढेको छ । गत आर्थिक वर्ष २३ करोड १६ लाख रुपैयाँ कमाएको सानिमा रिलायन्स लाइफ इन्स्योरेन्सले हाल २७ करोड ६१ लाख रुपैयाँ मुनाफा आर्जन गर्न सफल भएको छ ।
त्यस्तै, कम्पनीको कुल बीमा दावी भुक्तानी रकम ७९ करोड १२ लाख रुपैयाँ रहेको छ । समीक्षा अवधिमा सानिमा रिलायन्स लाइफ इन्स्योरेन्स कम्पनीको लगानी तथा कर्जाबाट प्राप्त ब्याज आम्दानी ७७ करोड ५८ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधीमा सानिमा रिलायन्स लाइफको कूल खर्च ७.२९ प्रतिशत बढेर चार अर्ब १६ करोड रुपैयाँ रहेको छ भने कुल आम्दानी ७.९५ प्रतिशतले बढेर चार अर्ब ४४ करोड रुपैयाँ रहेको छ । समीक्षा अवधिमा कम्पनीको ईपीएस ११.१ रुपैयाँ रहेको छ ।
सञ्चालन आम्दानी बढे पनि टेलिकमको नाफामा दबाब, ओटीटी प्रभावले आय संरचना चुनौतीमा
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड ९नेपाल टेलिकम (एनटीसी) ले चालु आर्थिक वर्ष २०८२, ८३ को दोस्रो त्रैमासमा सञ्चालन आम्दानीतर्फ सामान्य वृद्धि देखाए पनि नाफा सूचकहरू भने दबाबमा परेका छन्।
कम्पनीले सार्वजनिक गरेको वित्तीय विवरणअनुसार पुस मसान्तसम्म एनटीसीको कुल सञ्चालन आम्दानी १७ अर्ब २९ करोड रुपैयाँ नाघेको छ। यो अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा करिब १.७ प्रतिशतले बढी हो। गत आवको दोस्रो त्रैमासमा कम्पनीको सञ्चालन आम्दानी करिब १७ अर्ब रुपैयाँ आसपास थियो।
तर सञ्चालन आम्दानी बढे पनि कुल आम्दानी भने घटेको देखिन्छ। समीक्षा अवधिमा कम्पनीको कुल आम्दानी करिब १९ अर्ब २२ करोड रुपैयाँमा सीमित भएको छ, जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा करिब डेढ प्रतिशतले कम हो।
ब्याज, कर, मूल्यह्रास तथा डिप्रिसिएसन अघिको आम्दानीमा समेत गिरावट आएको छ। यो शीर्षकअन्तर्गतको आम्दानी करिब २.६ प्रतिशतले घटेर ९ अर्ब ७७ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्षको यही अवधिमा यस्तो आम्दानी १० अर्ब रुपैयाँ नाघेको थियो।
नाफा सूचकहरू अझै कमजोर देखिएका छन्। कर अघिको नाफा करिब ४.६ प्रतिशतले घटेर ५ अर्ब ९१ करोड रुपैयाँमा सीमित भएको छ। यसैगरी, खुद नाफा पनि दोहोरो अंकले घटेको छ। चालु आवको पहिलो ६ महिनामा कम्पनीको खुद नाफा करिब १३ प्रतिशतले घटेर ४ अर्ब १६ करोड रुपैयाँमा झरेको छ। अघिल्लो वर्ष सोही अवधिमा कम्पनीले ४ अर्ब ७८ करोड रुपैयाँभन्दा बढी खुद नाफा कमाएको थियो। यस अवधिमा प्रतिसेयर आम्दानी ४६ रुपैयाँभन्दा केही माथि रहेको छ।
कम्पनीका अनुसार नाफा घट्नुका पछाडि संरचनात्मक तथा बजारगत कारणहरू रहेका छन्। ओटीटी सेवाको बढ्दो प्रयोगका कारण विदेशबाट नेपालमा आउने आगमन कलको संख्यामा उल्लेखनीय कमी आएको छ। चालु आवको पहिलो ६ महिनामा आगमन कल करिब ६ प्रतिशतले घटेको छ, जसको प्रत्यक्ष असर भ्वाइस र एसएमएस सेवाबाट हुने आम्दानीमा परेको कम्पनीको भनाइ छ।
त्यस्तै, लगानीको मूल्यमा आएको उतारचढाव र ब्याजदरमा निरन्तर गिरावटका कारण ब्याज आम्दानीमा ठूलो कमी आएको छ। अघिल्लो वर्षको दोस्रो त्रैमासको तुलनामा ब्याज आम्दानी करिब ७४ करोड रुपैयाँले घटेको छ, जुन करिब ३२ प्रतिशत बराबर हो।
नेपाल टेलिकमले राष्ट्रको प्रमुख सञ्चार सेवाप्रदायकको हैसियतले दुर्गम तथा विकट क्षेत्रमा समेत सेवा विस्तार र गुणस्तर सुधारमा निरन्तर लगानी गर्नुपर्ने बाध्यता रहेको जनाएको छ। यसले लागत संरचनामा दबाब सिर्जना गरेको छ। साथै, सेवा दरसम्बन्धी नीति तथा नियामकीय परिवर्तनका कारण दर घट्दा अपेक्षित रूपमा राजस्व वृद्धि हुन नसकेको कम्पनीको विश्लेषण छ।
कर्मचारी खर्च पनि उल्लेखनीय रूपमा बढेको छ। कर्मचारीहरूको बीमांक रकम वृद्धि हुनुका साथै नेपाल लेखामान १९ अनुसार योगदानमा आधारित पेन्सन योजनाको दायित्व गणनामा प्रयोग हुने डिस्काउन्ट रेट ७.५ प्रतिशतबाट घटेर ७ प्रतिशतमा झरेकाले पेन्सन तथा उपदान खर्च बढेको कम्पनीले स्पष्ट पारेको छ। यसका कारण समग्र कर्मचारी खर्च करिब ११.५ प्रतिशतले बढेको हो।
साल्ट ट्रेडिङ कर्पोरेशनद्वारा १० प्रतिशत लाभांश घोषणा
काठमाडौं । साल्ट ट्रेडिङ कर्पोरेशनले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश वितरण गर्ने घोषणा गरेको छ ।
कम्पनीको माघ २८ गते बसेको सञ्चालक समितिको बैठकले हाल कायम चुक्ता पूँजीको ९.४९ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५१ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । यससँगै कम्पनीले शेयरधनीहरुलाई कुल १० प्रतिशत लाभांश दिने भएको हो । घोषित लाभांश आगामी वार्षिक साधारण सभाबाट पारित भएपछि मात्र शेयरधनीहरुलाई वितरण गरिने कम्पनीले जनाएको छ ।
साल्ट ट्रेडिङ कर्पोरेशनले नियमित रूपमा नाफा आर्जन गर्दै शेयरधनीलाई प्रतिफल उपलब्ध गराउँदै आएको छ । यसपटक पनि बोनस शेयरमार्फत पूँजी वृद्धि गर्दै नगद लाभांश समेत दिने निर्णयले लगानीकर्तामा सकारात्मक सन्देश गएको छ ।
‘कमलादी नबिल हाउस’मा नबिल बैंकको डिजिटल लाउञ्ज सेवा सुरु
काठमाडौँ । नबिल बैंकले कमलादीस्थित नबिल हाउसमा आधुनिक डिजिटल लाउञ्ज सेवा सुरु गरेको छ । बैंकले आफ्ना ग्राहकलाई सहज, छरितो र प्रविधिमैत्री बैंकिङ सेवा प्रदान गर्ने उद्देश्यले उक्त सेवा सुरु गरेको जनाएको छ ।
बैंकका अध्यक्ष निर्वाण कुमार चौधरी तथा सञ्चालक सरिता भट्ट अधिकारीले संयुक्त रुपमा आज आयोजित एक कार्यक्रममा डिजिटल लाउञ्ज उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका सञ्चालकहरु प्रविन टिवडेवाला, अनिल केशरी शाह, प्रमुख कार्यकारी अधिकृत मनोजकुमार ज्ञवाली, नायब प्रमुख कार्यकारी अधिकृत द्वय भुपेन्द्र पाण्डे तथा आदर्श बजगाईं, नायब महाप्रबन्धक द्वय गणेशप्रसाद अवस्थी तथा ज्ञानेन्द्रप्रताप शाह लगायत बैंकका उच्च पदाधिकारीहरुको उपस्थिती थियो ।
डिजिटल लाउञ्जको उद्घाटन गर्दै अध्यक्ष चौधरीले ग्राहकले अब डिजिटली २४सै घण्टा सहजै बैंकिङ कारोबार गर्न सक्ने जनाए । उनले नवप्रवर्तन र डिजिटाइजेसनमा नबिल बैंक सधैं अब्बल रहेको जनाए ।
डिजिटल लाउञ्जमा ग्राहकहरूले एटीएममार्फत नगद झिक्न, क्यास डिपोजिट मेसिनबाट नगद जम्मा गर्न, कियोस्क मेसिनमार्फत चेक डिजिटली जम्मा गर्न सक्ने छन् । बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञवालीले एउटै स्थानमा बहुउद्देश्यीय डिजिटल सेवा उपलब्ध गराइएकाले ग्राहकको समय बचत हुनुका साथै सेवा प्रवाह अझ प्रभावकारी हुने विश्वास लिएको जनाए ।
नबिल बैंकका यसै प्रकृतिका डिजिटल लाउञ्ज यसअघि केन्द्रीय कार्यालय र इटहरीमा सञ्चालनमा आइसकेका छन् । यस डिजिटल लाउञ्ज सेवा बिस्तारसँगै नबिल बैंकले परम्परागत काउन्टरमा आधारित सेवामा निर्भरता कम गर्दै डिजिटल बैंकिङतर्फको यात्रालाई थप सशक्त बनाएको छ । ग्राहक सुविधा, सेवा पहुँच, विस्तार र प्रविधिको प्रभावकारी प्रयोगमार्फत नबिल बैंकले डिजिटल बैंकिङ केन्द्रका रूपमा विकास गर्ने लक्ष्य लिएको छ ।
नबिल बैंकले देशभर २६८ शाखा सञ्जालसहित ३२१ एटिएम मेसिनबाट सेवा प्रदान गर्दै आएको छ । बैंकले २५ लाखभन्दा बढी ग्राहकलाई बैंकिङ सेवा प्रदान गर्दै आफ्ना सबै सरोकारवालासँग मिलेर सँगै अघि बढ्ने विश्वास राखेको छ । चार दशकदेखि गुणस्तरीय बैंकिङ सेवा प्रदान गर्दै आएको बैंकले पछिल्लो समयमा दिगो बैंकिङको अवधारणालाई आत्मसाथ गर्दै डिजिटल बैंकिङका लागि एनबैंक सञ्चालनमा ल्याएको छ ।
बिमाबापत एक लाख बराबरको उपचार सेवा यथावत छ ः स्वास्थ्य बिमा बोर्ड
काठमाण्डौं । स्वास्थ्य बिमा बोर्डले बीमितले पाउँदै आएको एक लाख रुपैयाँको उपचार सेवा सुविधा नघटाइएको स्पष्ट पारेको छ ।
बीमा कार्यक्रमअन्तर्गत तीन हजार ५ सय बराबरको योगदान बराबर पाँच जना परिवारले पाउने वार्षिक कुल एक लाख रुपैयाँ बराबरको उपचार सेवाको सीमा यथावत् राखिएको हो ।
बोर्डका सूचना अधिकारी विकेश मल्लका अनुसार बोर्डले २५ हजार रुपैयाँ ओपिडी सेवा र ७५ हजार रुपैयाँ अस्पतालमा भर्ना तथा आकस्मिक सेवाका लागि प्रयोग गर्न सकिने गरी छुट्याएको छ ।
बोर्डले अनावश्यक रूपमा हुने ओपिडी सेवाको प्रयोग र दोहोरोपन रोक्न तथा गम्भीर, जटिल र ज्यान जोखिममा पर्ने रोगको उपचारका लागि स्रोत सुनिश्चित गर्नका लागि सेवाको रकम छुट्याएकाले सोहीअनुसार प्रयोग गर्न पनि आग्रह गरेको छ ।
स्वास्थ्य बिमा कार्यक्रमअन्तर्गत पाँच जना परिवारसम्मका लागि तीन हजार ५ सय रुपैयाँ बराबरको योगदानका आधारमा एक लाख रुपैयाँसम्मको स्वास्थ्य सेवा सुविधा उपलब्ध गराइन्छ । यस्तै, थप प्रतिसदस्य सात सय रुपैयाँका दरले योगदान रकम थपिँदै जाने र प्रतिसदस्य २० हजार रुपैयाँ बराबरको सेवासुविधा थपिने प्रावधान रहेको छ ।
आज दुई संसदीय समितिको बैठक बस्दै, यस्ता छन् कार्यसूची
काठमाडौँ । आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । जसअनुसार दिउँसो १ बजे बस्ने विधायन व्यवस्थापन समितिको बैठकमा ऐन कार्यान्वयन मापनको मस्यौदा प्रतिवेदन उपर छलफल हुनेछ ।
त्यस्तै बिहान ११ बजे बस्ने सङ्घीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा समितिको दुई वर्षे कामकारबाहीको समीक्षा सम्बन्धमा छलफल हुनेछ ।

















