मुम्बई । बलिउड अभिनेता सनी देओलको बहुप्रतिक्षित चलचित्र ‘बोर्डर २’ ले सिनेमाघरमा धमाका मच्चाइरहेको छ। प्रदर्शनको १४ औँ दिनसम्म आइपुग्दा पनि यो चलचित्रको क्रेजमा कुनै कमी आएको छैन।
दर्शकले सामाजिक सञ्जालमा फिल्मको निकै तारिफ गरिरहेका छन् भने बक्स अफिसमा यसले नयाँ रेकर्ड कायम गरेको छ। १४ दिनको छोटो अवधिमै बोर्डर २ ले विश्वभरबाट ४०० करोड भारुको आँकडा पार गर्दै यो वर्षकै सर्वाधिक कमाइ गर्ने चलचित्रको सूचीमा आफ्नो नाम सुरक्षित गरेको छ।
रिपोर्टअनुसार बोर्डर २ ले १४ औँ दिनमा मात्रै ३.३५ करोड भारुको व्यापार गरेको छ। भारतमा मात्रै यो चलचित्रले अहिलेसम्म २९४.२५ करोड भारु सङ्कलन गरिसकेको छ भने विश्वव्यापी रूपमा यसको कलेक्सन ४०२.५ करोड पुगेको छ। सनी देओलसँगै दिलजीत दोसांझ, वरुण धवन र अहान शेट्टीको मुख्य भूमिका रहेको यस चलचित्रले दर्शकलाई हलसम्म तान्न सफल भइरहेको छ।
अर्कोतर्फ रानी मुखर्जीको सशक्त अभिनय रहेको मर्दानी ३ को व्यापार भने निकै सुस्त देखिएको छ। प्रदर्शनको सातौँ दिनमा फिल्मले मात्र १.८५ करोडको कमाइ गरेको छ।
भारतमा अहिलेसम्म यस चलचित्रले २६.३० करोड भारु मात्र जोड्न सकेको छ भने विश्वभर ३९ करोडको व्यापार गरेको छ। रानी मुखर्जीको अभिनयको प्रशंसा भए तापनि व्यापारिक हिसाबले फिल्मले सोचेजस्तो रफ्तार लिन सकेको छैन। यद्यपि, आउँदो साताको अन्त्यमा यसको व्यापारमा केही सुधार हुने अपेक्षा गरिएको छ।
बोर्डर २ मा सोनम बाजवा, मोना सिंह जस्ता कलाकारहरूको समेत अभिनय रहेको छ भने मर्दानी ३ मा रानीको अपोजिट मल्लिका प्रसाद भिलेनको भूमिकामा देखिएकी छिन्। एजेन्सी
सनीको ‘बोर्डर २’ को कमाइ ४०० करोड पार गर्दा रानीको ‘मर्दानी ३’ सुस्त
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडलाई अन्तर्राष्ट्रिय सम्मान “बेस्ट स्ट्राटेजिज फर इन्स्योरेन्स कभरेज फर द इयर” अवार्ड प्राप्त
काठमाण्डौं । सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले छैठौ इमर्जिङ एसिया इन्स्योरेन्स कन्क्लेभ एण्ड अवार्ड्स २०२५ मा ‘बेस्ट स्ट्राटेजिज
फर इन्स्योरेन्स कभरेज फर द इयर को प्रतिष्ठित
अन्तर्राष्ट्रिय अवार्ड प्राप्त गरेको छ।
थाइल्याण्डको बैंककमा सम्पन्न उक्त कार्यक्रम इन्डियन चेम्बर अफ कमर्स द्वारा आयोजना गरिएको हो, जसमा एसियाका उदाउँदा
बीमा बजारहरूमा नवीनता, रणनीतिक प्रभाव, बीमा पहुँच विस्तार तथा ग्राहक(केन्द्रित पहलहरूलाई मूल्याङ्कन गरी प्रदान गरिने एक
प्रतिष्ठित अन्तर्राष्ट्रिय अवार्ड हो। यस विधामा सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडको छनोट हुनु कम्पनीले अवलम्बन गरेको
दीर्घकालीन, समावेशी र व्यवहारिक बीमा रणनीतिहरूको स्पष्ट प्रतिबिम्ब हो।
अवार्ड ग्रहण गर्दै कम्पनीका अध्यक्ष रतन लाल केडियाले अन्तर्राष्ट्रिय सम्मान प्राप्त गर्नु कम्पनीको लागि गौरवको विषय रहेको र यो
अवार्ड कम्पनीको रणनीतिक सोच, टिमको समर्पण र ग्राहक केन्द्रित दृष्टिकोणको मान्यता रहेको जनाए । साथै सानिमा
रिलायन्स लाईफ इन्स्योरेन्स सधैं बीमालाई सरल, पहुँचयोग्य र विश्वासिलो बनाउने उद्देश्यमा केन्द्रित रहँदै आएको उल्लेख गरे।
यस उपलब्धिप्रति प्रतिक्रिया दिँदै कम्पनीका प्रमुख कार्यकारी अधिकृत शिवनाथ पाण्डेले, कम्पनीले प्राप्त गरेको अन्तर्राष्ट्रिय अवार्डले
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडलाई नेपालमा मात्र नभई, एसियाली बीमा बजारमा समेत एक सक्षम, रणनीतिक र
भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा थप सुदृढ रूपमा स्थापित गरेको जनाए ।
उक्त अवार्ड कार्यक्रममा नेपालसहित भारत, बंगलादेश, भुटान, श्रीलंका, म्यानमार र थाइल्याण्डका बीमा क्षेत्रका वरिष्ठ प्रतिनिधिहरूको
उल्लेखनीय सहभागिता रहेको थियो। कार्यक्रमले एशियाली बीमा उद्योगमा सहकार्य, ज्ञान आदान–प्रदान र ग्राहक केन्द्रित
नवप्रवर्तनलाई प्रवर्द्धन गर्ने उद्देश्य राखेको छ।
सानिमा रिलायन्स लाईफ इन्स्योरेन्स लिमिटेडले डिजिटल सेवा विस्तार, दाबी प्रक्रिया सहजता, ग्राहक सम्पर्क प्रणाली सुदृढीकरण तथा
दीर्घकालीन विश्वास निर्माणमार्फत आफूलाई नेपालको अग्रणी र भरोसायोग्य जीवन बीमा कम्पनीका रूपमा स्थापित गर्दै आएको छ।
हाल सानिमा रिलायन्स लाईफ इन्स्योरेन्सले देशभर १६९ शाखा सञ्जालमार्फत सेवा प्रदान गर्दै आएको छ। कम्पनीको पूँजी ५ अर्ब
रुपैयाँभन्दा बढी रहेको छ भने २० अर्ब रुपैयाँभन्दा बढी लगानी रहेको छ। साथै, २०,००० भन्दा बढी अभिकर्ताहरू कम्पनीमा
कार्यरत रहेका छन्।
नेपाल जेसीजले ‘बिगुल’को प्रदर्शनमा सघाउने
काठमाण्डौं । आगामी फागुन १ गतेबाट प्रदर्शन हुन लागेको फिल्म ‘बिगुल’लाई नेपाल जेसीजले साथ दिने भएको छ । बिहीबार काठमाडौंमा आयोजित एक कार्यक्रममा फिल्मका निर्माता दिनेश कोइराला र नेपाल जेसीजका राष्ट्रिय अध्यक्ष जीवन कार्कीले प्रदर्शनसम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरे । अब जेसीजले देशभरका शाखालाई फिल्म हेर्न आह्वान गर्ने जनाइएको छ ।
केही साताअघि पूर्वदेखि पश्चिमसम्म भएको फिल्मको प्रचार अभियानमा पनि नेपाल जेसीजले सघाएको थियो । फिल्मका निर्माता कोइरालाले जेसीजसँगको सहकार्यले आफूहरूलाई अझ उर्जा मिलेको जनाए । जेसीजका पूर्वअध्यक्ष समेत रहेका उनले आफूले देश र जनताको पक्षमा सन्देशका साथमा मनोरञ्जनात्मक फिल्म निर्माण गरेको दाबी गरे ।
फिल्मका निर्देशक रमेश कोइरालाले ‘बिगुल’मा समसामयिक राजनीतिक घटनाक्रमसँगै भुइँमान्छेको कथा पनि उठाइएको जनाए । उनले भने, ‘वर्तमान राजनीतिक र सामाजिक परिदृश्यसँग मिल्दो भएकाले हरेक नेपालीले एकपटक यो फिल्म हेर्नुपर्छ । फिल्ममा भरपुर मनोरञ्जनका साथै आम नेपालीलाई देश र माटोप्रति अझ बढी प्रेम जगाउने सन्देश पनि छ ।’
अभिनेता नीर शाहले ‘बिगुल’ जस्तो वास्तविक कथामा विरलै फिल्म बन्ने गरेको उल्लेख गर्दै आफू यस फिल्मको हिस्सा बन्न पाएकोमा खुसी व्यक्त गरे । फिल्ममा न्यायाधीशको भूमिकामा अभिनय गरेका उनले कार्यक्रममा भने, ‘नेपालीमाझ भन्नैपर्ने कथामा ‘बिगुल’ बनेको छ । यसप्रकारका फिल्म निर्माणमा अझै जोड दिनुपर्छ ।’
अभिनेत्री बेनिशा हमालले फिल्ममा आफू चुनौतीपूर्ण भूमिकामा रहेको जनाईन । देशप्रतिको माया र जिम्मेवारीको सन्देश बोकेको ‘बिगुल’ एकपटक हरेक नेपालीले हेर्नैपर्ने उनको धारणा छ । अभिनेता नरेन खड्काले फिल्ममा आफू युवा शक्तिको रूपमा प्रस्तुत भएको प्रस्ट पार्दै देशप्रति सचेत र जागरूक सबै नेपालीले फिल्म मन पराउने विश्वास व्यक्त गरे ।
कल्पना पौडेल प्रस्तुतकर्ता रहेको यस फिल्ममा नीर शाह, बेनिशा हमाल, नरेन खड्का, सरोज खनाल, हेमन्त बुढाथोकी, शिशिर वाङ्देल, मीरा पण्डित लगायतका कलाकारहरूको अभिनय रहेको छ । फिल्ममा प्रदीप भारद्वाज र मौनता श्रेष्ठको पटकथा तथा संवाद, शिव ढकालको छायांकन तथा तारा थापा ९किम्भे०को सम्पादन रहेको छ ।
एक सातामै ‘आ बाट आमा’ हिट भएको निर्माताको दाबी
काठमाण्डौं । अघिल्लो साता प्रदर्शनमा आएको फिल्म ‘आ बाट आमा’ हिट भएको निर्माताले दाबी गरेका छन् । शुक्रबार फिल्मको एक साताको कमाइ सार्वजनिक गर्दै निर्माण पक्षले फिल्मलाई हिट घोषणा गरेको हो । फिल्मका निर्माता तथा निर्देशक चन्द्र पन्तले फेसबुकमा सेअर गरेको एक पोस्टरमा फिल्मको एक साताको कमाइ ३ करोड १८ लाख रुपैयाँ ग्रस उल्लेख छ ।
पोस्टरमा ‘आ बाट आमा’लाई पहिलो साता उच्च कमाइ गर्ने पल शाहको पहिलो फिल्म समेत भनिएको छ । यदि निर्माताले सार्वजनिक गरेको आँकडा चलचित्र विकास बोर्डको बक्स अफिस तथ्यांककै आधारमा भए पनि यो पलको पहिलो साता सर्वाधिक कमाइ गर्ने पहिलो फिल्ममा भने पर्दैन । यसअघि उनी अभिनीत फिल्म ‘शत्रु गते’ले एक सातामा करिब ४ करोड कमाएको थियो ।
‘आ बाट आमा’लाई हिट घोषणा गर्न पनि निर्माताले हतार गरेको देखिन्छ । निकट स्रोतका अनुसार फिल्मको बजेट प्रचारसहित २ करोड हो । यसले हिटको ट्याग पाउन लगानी सुरक्षित गरेर कम्तीमा पनि २५–३० प्रतिशत नाफा कमाउनुपर्छ । यो भनेको साढे ६ करोड ग्रस कमाइ हो । यसअर्थ फिल्मलाई हिट हुन अझै ३ करोड रुपैयाँ ग्रस कमाउनुपर्छ ।
यद्यपि, फिल्मको पहिलो हप्ताको रफ्तार हेर्दा व्यावसायिक सफलताको सम्भावना उच्च देखिएको छ । फिल्मले प्रदर्शनको पहिलो दिनदेखि नै देशभर दर्शकको राम्रो साथ पाइरहेको छ । ‘रुवाउने फिल्म’ भन्दै व्यापक प्रचार भइरहेकाले त्यसले हरेक उमेर समूहका दर्शकलाई हलसम्म तानेको छ । यसले गर्दा बक्स अफिसमा फिल्म लामो रेसको घोडा बन्न सक्ने देखिन्छ ।
आमा र छोराको भावनात्मक सम्बन्धको कथामा आधारित यस फिल्ममा विपना थापा, प्रदीप रावत (गजनी भिलेन), पल शाह, साइग्रेस पोखरेल, उषा उप्रेती, सिम्रन पन्त, रचना गौतम लगायतको अभिनय रहेको छ । फिल्ममा कृष्ण प्रसाद सुवेदी, ओमकार पन्त, प्रकाशजंग कुँवर,ध्रुव प्रसाद न्यौपाने र क्षितिज ढुंगाना निर्माताको रूपमा छन् ।
कुमारी हेरेका दर्शकले गरे व्यापक प्रशंसा
काठमाण्डौं । नेपाली प्रेम कथानक फिल्म ुकुमारीु आज (शुक्रवार) बाट देशभरका सिनेमा हलहरूमा एकसाथ प्रदर्शनमा आएको छ। विनिश इन्टरटेन्मेन्टको ब्यानरमा निर्माण भएको यो फिल्मले रिलिजसँगै देशभरका हलहरूबाट निकै उत्साहजनक शो प्राप्त गरेको छ।
करिब २ सय शोसहित हल प्रवेश गरेको ‘कुमारी’ले बक्स अफिसमा ठुलो ओपनिङ गर्ने अपेक्षा अनुरूप नै बिहानी शोहरूमा दर्शकको उपस्थिति देखिएको छ। काठमाडौं उपत्यकाका मल्टिप्लेक्स तथा मोफसलका हलहरूमा दर्शकको उत्साहजनक साथ मिलेको वितरकले जनाएका छन्। उल्लेखनीय कुरा के छ भने यस फिल्मले बिहानी शो हेरेका दर्शकबाट एकदमै सकारात्मक प्रतिक्रिया प्राप्त गरेको छ। पहिलो शो हेरेर निस्किएका दर्शकहरूले नयाँ कलाकारहरूको काम र निर्देशकको प्रस्तुतिको प्रशंसा गरेका छन्। दर्शकले नेपाली प्रेमकथामा बनेका फिल्महरूमा कुमारीु उत्कृष्ट मध्ये एक रहेको प्रतिक्रिया दिएका छन्। फिल्म युनिट कलाकारहरूसहित बिहानै देखि हलमा दर्शक भेटी प्रतिक्रिया लिइरहेका छन्। प्रतिक्रियाबाट टिम उत्साहित देखिएको छ।
प्रेम कथानक फिल्म निर्देशनमा माहिर मानिने निर्देशक दिनेश राउतले यस फिल्मको निर्देशन गरेका हुन्। फिल्ममा प्रेम, मानवीय सङ्घर्ष र पारिवारिक अन्तर्द्वन्द्वको कथालाई कलात्मक ढङ्गले चित्रण गरिएको छ। यसै फिल्ममार्फत अविषेक खड्का र आकृति राजभण्डारीले मुख्य भूमिकामा डेब्यु गरेका छन्। उनीहरूसँगै पर्दामा घनश्याम जोशी, सुनिता श्रेष्ठ, आकाङ्क्षा कार्की, मधु खड्का, सनम श्रेष्ठ, सकु शाह, सरोज लामिछाने र मनषा शर्मा लगायतका कलाकारहरूको अभिनय देख्न सकिन्छ।
महेन्द्र अधिकारीले निर्माण गरेको यस फिल्मका कार्यकारी निर्माता केदार भुसाल हुन्। फिल्मको प्राविधिक पक्ष पनि बलियो रहेको दाबी गरिएको छ। विकास सुवेदीको लेखन रहेको ुकुमारीु मा सुसन प्रजापतिको छायाङ्कन र सुप्रिम पराजुलीको सम्पादन रहेको छ। रोयल भीमसेनले पोस्टर तथा पब्लिसिटी डिजाइन गरेको यो फिल्मले मौलिक कथा वाचनमार्फत दर्शकको मन जित्ने निर्माण पक्षको विश्वास छ।
पर्दामा लभ र ब्रेकअपको कथा
काठमाण्डौं । भोलिदेखि ‘भ्यालेन्टाइन सप्ताह’ सुरू हुँदैछ । यो सप्ताहलाई प्रेमिल जोडीहरूले एकअर्कालाई गुलाब, चकलेट वा विभिन्न उपहार दिएर प्रेम व्यक्त गर्ने अवसरका रूपमा मनाउने गरेका छन् । पछिल्ला वर्षहरूमा गीतसंगीत र फिल्ममार्फत पनि प्रेम अभिव्यक्त गर्ने चलन बढ्दै गएको छ ।
यही सन्दर्भमा यस वर्षको ‘भ्यालेन्टाइन डे’ प्रेमिल जोडीका लागि अझ विशेष बन्ने देखिएको छ । कारण, शुक्रबारबाट लभ र ब्रेकअपको कथामा आधारित फिल्म हलमा लागेका छन् । ती फिल्म हुन्, ‘कुमारी’ र ‘रमिताको पिरती’ । यी दुवै फिल्म जेनजी पुस्तालाई लक्षित गरेर निर्माण गरिएका भए पनि विषयवस्तुका हिसाबले विल्कुलै फरक छन् ।
‘कुमारी’ विशुद्ध प्रेमकथामा आधारित फिल्म हो । अझ भनौं, जेनजी लभस्टोरी । किनकि, फिल्मका मुख्य नायक, नायिका नै जेनजी पुस्ताका छन् । अबिषेक खड्का र आकृति राजभण्डारीको मुख्य भूमिकामा रहेको यस फिल्मले सामाजिक मूल्य, मान्यता र पारिवारिक अवरोधले प्रेममा आउने उतारचढावको कथामा पेश गरेको छ ।
‘डोको बुन्ने निगालो चोयाले’ गीतका कारण चर्चामा रहेको यो फिल्मलाई दिनेश राउतले निर्देशन गरेका हुन् । उनी ‘नोभेम्बर रेन’ र ‘क्लासिक’ जस्ता लभस्टोरी फिल्मका लागि परिचित छन् । महेन्द्र अधिकारी निर्माता रहेको फिल्ममा विकास सुवेदीको लेखन छ । देशव्यापी १५० भन्दा बढी शो पाएको यो फिल्मले बक्स अफिसमा सुखद व्यापार गर्ने अपेक्षा गरिएको छ ।
सुदिप्ताको निर्देशन बनेको ‘रमिताको पिरती’ भने ब्रेकअपको कथा हो । आदर्श प्रेम खोजिरहेकी युवतीले लगातारको ब्रेकअपपछि भोग्ने मानसिक तनाव, चिन्ता र पीडालाई फिल्ममा देखाइएको छ । आना शर्मा, विनय श्रेष्ठ, धीरज मगर, समीर श्रेष्ठ, गौमाया गुरुङ, रेनु योगी लगायतको अभिनय रहेको यस फिल्मका निर्माता सागर लम्साल हुन् ।
चुनौतीकै बीच जीवन बीमा क्षेत्र सकारात्मक गतिमा अघि बढ्दैछ ः अध्यक्ष पराजुली
काठमाडौं । जीवन बीमक संघका अध्यक्ष तथा नेपाल लाइफ इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले थुप्रै चुनौतीका बीच पनि नेपाली जीवन बीमा क्षेत्र सकारात्मक दिशामा अघि बढिरहेको जनाएका छन्। शुक्रबार एक कार्यक्रममा बोल्दै उनले यस्तो जनाएका हुन् ।
पछिल्लो समय बीमा कम्पनीहरूले समग्र रूपमा राम्रो प्रदर्शन गरिरहेको पराजुलीको दबाी छ । उनले भने, ‘जीवन बीमा कम्पनीले राम्रो प्रदर्शन गरी रहेका छन् । जसले गर्दा आम नागरिकको विश्वास पनि क्रमशः बढ्दै गएको छ।’
पराजुलीले देशमा विभिन्न समयमा घट्ने राजनीतिक, आर्थिक तथा प्राकृतिक घटनाहरूले चुनौती सिर्जना गरे पनि तिनै चुनौतीहरूलाई अवसरका रूपमा उपयोग गर्न सकिने बताए। चुनौतीलाई सही रूपमा व्यवस्थापन गर्न सके जीवन बीमा क्षेत्र अझ सबल र दिगो बन्न सक्ने उनको भनाइ छ।
एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले
काठमाडौं । एनएलजी इन्स्योरेन्स कम्पनीको अध्यक्षमा बिमल प्रसाद वाग्ले मनोनित भएका छन् । गत पुस ३० गते सम्पन्न भएको बार्षिक साधारणसभाबाट सञ्चालकमा चयन भएका वाग्लेलाई कम्पनीको सञ्चालक समितिको बैठकले अध्यक्षमा मनोनित गरेको हो ।
पूर्व सचिव समेत रहेका वाग्लेले आज नियामक नेपाल बीमा प्राधिकरणकी अध्यक्ष चन्द्रकला पौडेल समक्ष पद तथा गोपनियताको शपथ लिएका छन् । सो शपथ ग्रहण समारोहमा प्राधिकरणका कार्यकारी निर्देशक सुशिलदेव सुवेदी र कम्पनीका सिईओ सुनिल बल्लभ पन्तको पनि उपस्थिति रहेको थियो ।
नेपाल टेलिकमको निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त
काठमाडौं । नेपाल दूरसञ्चार कम्पनी लिमिटेड (नेपाल टेलिकम) को निमित्त प्रबन्ध निर्देशकमा रीना डंगोल नियुक्त भएकी छिन् ।
बिहीबार प्रधानमन्त्री एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्रीस्तरीय निर्णयानुसार उनलाई निमित्त प्रबन्ध निर्देशक तोकिएको छ ।
नवनियुक्त निमित्त प्रबन्ध निर्देशक रीना डंगोलले बंगलादेश युनिभर्सिटीबाट इलेक्ट्रोनिक्स एन्ड इलेक्ट्रिकल विषयमा बीई गरेकी छिन् । उनले २०५१ जेठ १ बाट तत्कालीन नेपाल दूरसञ्चार संस्थानमा इन्जिनियर पदमा अस्थायी नियुक्ति लिएर सेवा प्रवेश गरी २०५२ जेठ ९ मा स्थायी नियुक्ति लिएकी थिइन् ।
उनी २०८० जेठ ३२ देखि नेपाल टेलिकमको नायव प्रबन्ध निर्देशक नियुक्त भइन् । प्रादेशिक निर्देशनालय, विराटनगर र काठमाडौं एवम् वायरलाइन तथा ग्राहक सेवा निर्देशनालयको निर्देशकको जिम्मेवारी लिएकी थिन । हाल प्रमुख प्राविधिक अधिकृतको रुपमा कार्यरत थिइन् ।
पदभार ग्रहण गर्दै नवनियुक्त निमित्त प्रबन्ध निर्देशक डंगोलले आफूप्रति नेपाल सरकारले देखाएको विश्वास र सद्भावका लागि धन्यवाद व्यक्त गर्दै ग्राहकको चाहना र सरकारको प्राथमिकता बमोजिम कम्पनी, कर्मचारी र राष्ट्रको हितलाई केन्द्रमा राखेर अगाडि बढ्ने जनाईन ।
उनले कम्पनीलाई ग्राहक–केन्द्रित, प्रविधिमैत्री र आर्थिक रूपमा सक्षम बनाउँदै सार्वजनिक दायित्व र प्रतिस्पर्धात्मक क्षमतालाई सन्तुलित रूपमा अघि बढाउने विचार व्यक्त गरिन् । आफ्नो स्पष्ट दृष्टिकोण सार्वजनिक गर्दै उनले आत्मविश्वास, प्रतिबद्धता र साझा उद्देश्यका साथ अघि बढ्न कर्मचारीहरुलाई आह्वान गरिन् ।
नबिल इन्भेस्टमेन्ट बैंकिङ लिमिटेड १६औं वर्षमा प्रवेश
काठमाडौं । नबिल इन्भेस्टमेन्टले १५ औ वर्षको उत्कृष्ट सेवा प्रदान गर्दै आज १६औँ वर्षमा प्रवेश गरेका छ । यस अवसरमा आज यस संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत नक्साल, नारायणचौरको प्रांगणमा रक्तदान कार्यक्रम संचालन गरिरहेको छ । मिति २०६६ साल माघमा स्थापना भएको नबिल इन्भेस्टमेन्टले नेपालको पूँजी बजार तथा लगानी व्यवस्थापन क्षेत्रमा निरन्तर योगदान दिँदै आएको छ ।
स्थापनादेखि हालसम्म नबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले व्यावसायिकता, सुशासन, पारदर्शिता र ग्राहक–केन्द्रित सेवाका माध्यमबाट संस्थागत विश्वास निर्माण गर्न सफल भएको छ । बदलिँदो वित्तीय परिवेशमा आफूलाई निरन्तर परिमार्जन गर्दै संस्थाले दीर्घकालीन योगदान सिर्जना गर्ने लक्ष्यका साथ विभिन्न लगानी तथा परामर्श सेवाहरू प्रदान गर्दै आएको छ ।
नबिल इन्भेष्टमेन्टले मर्चेन्ट बैंकिङ्ग अन्तर्गत निष्काशन तथा बिक्री प्रबन्धन सेवा, डिपी सेवा, शेयर रजिष्ट्रार सेवा, शेयर प्रत्याभूति सेवा लगाएतका सेवाहरु प्रदान गर्दै आइरहेका छ भने ईन्भेष्टमेण्ट बैंकिङ्ग अन्तर्गत लगानी व्यवस्थापन सेवा, सामूहिक लगानी कोष अन्तर्गतका सेवा र संस्थागत परामर्श सेवा जस्ता उत्कृष्ट सेवाहरु प्रदान गर्दै आइरहेका जनाएको छ ।
यसका अलावा यस संस्थाका ग्राहकहरुका लागि संस्थागत परामर्श सेवा अन्तर्गत संगठित संस्थाको संरचना हेरफेर, मुल्याङ्कन, व्यवसायिक योजना, लोन सिन्डिकेशन, सम्पत्ति व्यवस्थापन, मर्जर तथा एक्युजिसन तथा लगानी सम्बन्धि परामर्श सम्बन्धि सेवाहरु समेत प्रदान गर्दै आइरहेका छौ । त्यस्तै निकट भविष्यमा विशिष्टिकृत लगानी कोष अन्तर्गत प्राईभेट ईक्विटी फण्ड संचालनको तयारीमा छ ।
१५औं वर्षको यस उपलब्धिलाई संस्थागत गौरवको रूपमा मनाउँदै, नाबिल इन्भेस्टमेन्ट बैंकिङ्ग लिमिटेडले आगामी दिनहरूमा पनि नवीनतम सोच, सुदृढ जोखिम व्यवस्थापन, प्रबिधीमैत्री र दिगो लगानी अभ्यास मार्फत नेपाली पूँजी बजारको विकासमा थप योगदान पु¥याउने प्रतिबद्धता व्यक्त गरेको छ ।

















