काठमाण्डौं । बैतडीमा जन्ती बोकेको बस दुर्घटना हुँदा मृतकको संख्या १३ पुगेको छ । दुर्घटनामा ३४ जना घाइते भएका छन् ।
बिहीबार बेलुकी बैतडीको पुर्चौडी नगरपालिका–७ भवनेबाट बेहुली लिएर बझाङको सुनकुडातर्फ जाँदै गरेको सुप प्र ०२ ००१ ख १११९ नम्बरको बस पुर्चौडीको बडगाउँ मोडमा पल्टिएको हो ।
घाइतेहरुको स्थानीय अस्पताल, जिल्ला अस्पताल र डडेलधुरामा उपचार भइरहेको छ । उकालो सडकमा अत्यधिक भारका कारण बस दुर्घटनामा परेको हुनसक्ने प्रहरीको अनुमान छ ।
जिल्ला प्रहरी कार्यालय बैतडीका सूचना अधिकारी इन्सपेक्टर बलदेव बडुले दिएको जानकारी अनुसार डडेलधुरा अस्पतालमा उपचारको क्रममा मृत्यु हुनेमा बझाङ बित्थडचिर गाउँपालिका–७ का १७ वर्षीय बिसनदत्त जोशी, सोही स्थानका अन्दाजी २७ वर्षका दीपक जोशी र अन्दाजी ४५ वर्षका किसनदत्त जोशी छन् ।
यसैगरी बझाङको केदारस्यु गाउँपालिका ७ बस्ने अन्दाजी २६ वर्षीय केशवराज भट्ट र बैतडी पुर्चौडी नगरपालिका ७ का अन्दाजी १४ वर्षीय सुशील जोशीको पनि मृत्यु भएको छ ।
यसैगरी मृतकको सूचीमा बझाङको बित्थडचिर गाउँपालिका–७ का ४० वर्षीय केशवराज जोशी, १३ वर्षीय अशोकराज जोशी, ३५ वर्षीय बसन्त जोशी, ४१ वर्षीय विष्णुदत्त जोशी र ४२ वर्षीय नरेशराज जोशीको नाम छ ।
अन्य मृतकमा बझाङकै केदारस्यु गाउँपालिकाका ६० वर्षीय मोहनदेव भट्ट, जयपृथ्वी नगरपालिका–७ का ४० वर्षीय बसन्तराज रतला छन् ।
बेहुला–बेहुली भने अर्को गाडीमा रहेकाले सकुशल छन् ।
बैतडी बस दुर्घटना ः मृतकको संख्या १३ पुग्यो
दोलखाको चरिकोटमा बालेनको भेटघाट
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) वरिष्ठ नेता बालेन्द्र शाह (बालेन) चुनावी यात्राका क्रममा दोलखाको चरिकोट पुगेका छन्।
पूर्व तराईको यात्रापछि शाह शुक्रबार चरिकोट पुगेका हुन्। उनले रास्वपाका उम्मेदवारसँग चुनावी तयारी र रणनीतिबारे छलफल गरेका छन्।
शाह चरिकोट पुग्दा रास्वपा नेता तथा कार्यकर्ता र समर्थकको घुइँचो लागेको थियो। उनी केही दिनदेखि पूर्व नेपालको चुनावी यात्रामा छन्।
सामाजिक सञ्जाल विधेयक फिर्तासम्बन्धी प्रस्ताव राष्ट्रिय सभामा प्रस्तुत हुँदै
काठमाडौँ । राष्ट्रिय सभाको आजको बैठकमा प्रधानमन्त्री एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री सुशीला कार्कीले ‘सामाजिक सञ्जाल विधेयक, २०८१ फिर्ता गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने भएकी छन् ।
राष्ट्रिय सभाको बैठक आज अपराह्न १ः१५ बजे हुँदैछ।
गत मंगलबारको मन्त्रिपरिषद् बैठकले सो विधेयक संघीय संसद्बाट फिर्ता लिन स्वीकृति प्रदान गर्ने निर्णय गरेको थियो ।
राष्ट्रिय सभाको १७ औँ अधिवेशनमा दर्ता भएको उक्त विधेयक सभाको विधायन व्यवस्थापन समितिमा विचाराधीन थियो ।
बैठकको सम्भावित कार्यसूचीअनुसार प्रधानमन्त्री एवं शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कार्कीले ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ लाई पारित गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्नेछिन् ।
त्यसअघि प्रधानमन्त्री कार्कीले विधायन व्यवस्थापन समितिको प्रतिवेदनसहित ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने छिन् ।
बैठकमा सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिका सभापति मायाप्रसाद शर्माले ‘राष्ट्रिय निकुञ्जसँग सम्बन्धित नीतिगत समस्यासम्बन्धी समितिको अध्ययन प्रतिवेदन, २०८२ माथि छलफल गरियोस्’ भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ ।
एमाले अध्यक्ष ओली भोलि झापा जाँदै
काठमाण्डौं । नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली भोलि शुक्रबार झापा जाने भएका छन् ।
झापामा उम्मेदवारी दर्तापछि केही दिन कार्यकर्ता र मतदातासँग भेटवार्ता गरेका ओली हाल काठमाण्डौंमा छन् ।
काठमाण्डौंमा रहँदा ओलीले काठमाण्डौं–झापा सम्पर्क मञ्चको कार्यक्रमलाई सम्बोधन गरेका थिए ।
काठमाण्डौंमा बिहीबार प्रधानमन्त्री सुशीला कार्कीसँग भेटवार्ता गरेका ओली शुक्रबार झापा जाने भएका हुन् । प्रधानमन्त्रीसँगको भेटमा ओलीले चुनावी सुरक्षाबारे चासो राख्दै चुनाव एकैचरणमा हुनुपर्ने सुझाव दिएका छन् ।
चुनाव एकै दिनमा हुने प्रधानमन्त्री कार्कीको दाबी
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आगामी प्रतिनिधिसभाको निर्वाचन एकै दिनमा हुने दाबी गरेकी छिन् ।
भक्तपुरस्थित जनक शिक्षामा मतपत्र छपाइको निरीक्षणपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रधानमन्त्री कार्कीले फागुन २१ गते नै एकै पटक चुनाव हुने दाबी गरेकी हुन् ।
उनले भनिन्, ‘हामीले मतपत्र हेरेपछि लाग्यो अब निर्वाचन आयो । अब जनताले छाप लगाउन मात्रै बाँकी छ। निश्चिन्त मान्नुस्। चुनाव आयो फरक पर्दैन, एक दिनमा हुन्छ। दुई चोटि कहीँ हुनेवाला छैन ।’
‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी प्रभावकारी रूपमा निर्वाह गर्न निर्देशन
काठमाडौं । निर्वाचन आयोगले ७७ वटै जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारीलाई निर्वाचन आयोगले ‘निर्वाचन आचारसंहिता अनुगमन अधिकृत’ को जिम्मेवारी तोकिएको हुँदा प्राप्त जिम्मेवारीलाई प्रभावकारी रूपमा निर्वाह गर्न गृह मन्त्रालयले सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई एक विज्ञप्ति जारी गर्दै निर्देशन दिएको छ ।
०८२ फागुन २१ गते सम्पन्न हुने प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष, पारदर्शी एवम् विश्वसनीयरुपमा सम्पन्न गर्न निर्वाचन आयोगले आचार संहिता, २०८२ लागू गरिसकिएको हो ।
गृह सचिव राजकुमार श्रेष्ठद्वारा जारी एक विज्ञप्तिमा जिल्लाका सबै सहायक प्रमुख जिल्ला अधिकारीहरूलाई आयोगले प्रदान गरेको निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको जिम्मेवारी प्रभावकारी ढङ्गमा निर्वाह गर्न निर्देशन दिएको हो ।
विज्ञप्तिमा भनिएको छ, ‘आयोगद्वारा प्रदान यस जिम्मेवारीलाई कार्यान्वयन गर्न गराउन निष्पक्ष र निर्भीक भई कार्य गर्नुहुनेछ भन्ने विश्वास गृह मन्त्रालयले लिएको छ र सबै निर्वाचन आचारसंहिता अनुगमन अधिकृतको रूपमा सम्पादित कार्यहरूको प्रतिवेदन मन्त्रलायमा समेत उपलब्ध गराउन अनुरोध गर्दछ ।’
जिल्लास्तरमा आचारसंहिता पालना गर्न गराउन आयोगले सहायक प्रजिहरुलाई जिल्लाको आर्थिक विषय क्षेत्र बाहेकका अन्य विषयमा निर्वाचन आचारसंहिता अनुगमन अधिकृत तोकेको स्पष्ट पारेको छ ।
सिटिजन लाइफको ‘मिड –इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न, ४८ शाखा व्यवस्थापक सम्मानित
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडको चार दिने ‘मिड–इयर बिजनेस स्ट्राटिजी कन्फेरेन्स’ सम्पन्न भएको छ ।
माघ १७ गतेदेखि २० गतेसम्म सञ्चालन भएको उक्त कार्यक्रम अन्तर्गत औपचारिक सत्र सुकुटेमा आयोजना गरिएको थियो भने सहभागीहरुलाई दोलखा जिल्लाको रमणीय धार्मिक तथा पर्यटकीय क्षेत्र कालिञ्चोक र शैलुङ भ्रमण गराई ताजगी, प्रेरणा र टोलीभाव अभिवृद्धि गर्ने अवसर समेत प्रदान गरिएको कम्पनीले जनाएको छ ।
कम्पनीको मध्यावधि व्यवसायिक प्रगति समीक्षा, आगामी रणनीति निर्माण तथा कर्मचारीको मनोबल उच्च बनाउन आयोजित यस सम्मेलनमा व्यवस्थापन टिम, केही विभाग प्रमुख तथा देशभरका शाखा व्यवस्थापकसहित जम्मा ७७ जना सहभागी थिए ।
कार्यक्रममा चालु आर्थिक वर्षको मध्यावधिसम्मको व्यवसायिक उपलब्धिको समीक्षा गर्दै आगामी लक्ष्य प्राप्तिका लागि आवश्यक रणनीतिक छलफल गरियो ।
सम्मेलनको मुख्य आकर्षणको रूपमा चालु आर्थिक वर्षको मध्यावधिसम्म १०० प्रतिशत व्यवसायिक लक्ष्य हासिल गर्न सफल भएका ४८ जना शाखा व्यवस्थापकलाई व्यवस्थापन टिमद्वारा सम्मान गरिएको थियो । यसले कम्पनीका शाखा नेतृत्वलाई थप उत्साहित र जिम्मेवार बनाएको कम्पनीको विश्वास छ ।
साथै, कार्यक्रममा कम्पनीका सेवाहरुलाई थप ग्राहक–केन्द्रित, प्रविधिमैत्री र सरल बनाउन आवश्यक प्रशासनिक सुधारका विषयमा पनि विस्तृत छलफल भएको थियो । प्रक्रियालाई छिटो, पारदर्शी र सहज बनाउन व्यवस्थापन र शाखा स्तरबीच समन्वयात्मक छलफल गरिएको थियो ।
कम्पनीले आगामी दिनमा पनि नवीनतम डिजिटल सेवाहरु विस्तार गर्दै लैजाने, नियामकीय निर्देशनको पूर्ण पालना गर्ने तथा संस्थागत सुशासनलाई उच्च प्राथमिकतामा राख्दै व्यवसायिक लक्ष्य हासिल गर्न प्रतिबद्ध रहने जनाएको छ ।
आर्थिक समृद्धिमा नेपाल टेलिकमको भूमिका प्रशंसनीय छः गृहमन्त्री अर्याल
काठमाडौँ । गृहमन्त्री ओमप्रकाश अर्यालले मुलुकभर सञ्चारको पहुँच विस्तार गर्दै आर्थिक समृद्धिमा नेपाल टेलिकमले खेलेको भूमिका प्रशंसनीय रहेको जनाएका छन् ।
नेपाल टेलिकमको २२औँ वार्षिक उत्सव समारोहलाई सम्बोधन गर्दै उनले प्राकृतिक विपद्, भूकम्प तथा महामारीजस्ता संकटका समयमा नेपाल टेलिकमले निर्वाह गरेको भूमिका अत्यन्तै महत्वपूर्ण रहेको उल्लेख गरे ।
सेवा विस्तारसँगै डिजिटल सेवा, डिजिटल साक्षरता र समग्र देश विकासमा नेपाल टेलिकमले उल्लेखनीय योगदान पुर्याएको उनको भनाइ छ । गृहमन्त्री अर्यालले दूरसञ्चार सेवा सम्पर्कको माध्यम मात्र नभइ शैक्षिक, आर्थिक र सामाजिक विकासको प्रमुख पूर्वाधार बनेको जनाए ।
“नविनतम प्रविधिको आधारमा गुणस्तरीय सेवा प्रवाह गर्नु समयको आवश्यकता भएको छ,” उनले भने, “नयाँ–नयाँ प्रविधिमा आधारित सेवाको विकास गर्दै सार्वजनिक दायित्व र नवप्रवर्तनलाई सन्तुलनमा राखेर गुणस्तरीय सेवा उपलब्ध गराउनु सेवाग्राहीको हक र अधिकार हो ।” सन्तुष्ट ग्राहक नै कम्पनीको दिगो विकासको आधारस्तम्भ भएकाले यसतर्फ कम्पनीले विशेष ध्यान दिनुपर्ने उनको धारणा छ । आगामी दिनमा नेपाल टेलिकमले अत्याधुनिक प्रविधिमा आधारित सेवा प्रवाह गर्दै ग्राहकको आत्मसन्तुष्टिलाई केन्द्रमा राख्ने विश्वास पनि गृहमन्त्री अर्यालले व्यक्त गरे ।
सार्वजनिक संस्था नागरिक र सरकार जोड्ने सेतु भएको उल्लेख गर्दै उनले नागरिक–सरकार सम्बन्धलाई प्रगाढ बनाउन नेपाल टेलिकमको भूमिका महत्वपूर्ण रहने जनाए । सरकारको नीति तथा कार्यक्रमलाई आत्मसात् गर्दै नागरिकप्रतिको कर्तव्य निर्वाहमा नेपाल टेलिकमले सरकारसँगको सहकार्यलाई निरन्तरता दिने विश्वास आफूले लिएको उनले भने ।
नेपाल टेलिकमको सुदृढीकरण र विकासमा सरकारले अभिभावकत्वको भूमिका निर्वाह गर्ने प्रतिबद्धता पनि गृहमन्त्री अर्यालले व्यक्त गरे । समारोहमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सचिव लक्ष्मीकुमारी बस्नेतले नेपाल टेलिकमले गुणस्तरीय सेवा विस्तार गर्दै दुर्गम तथा पिछडिएका क्षेत्रमासमेत पहुँच स्थापित गरिने जनाए । उनले नेपाल टेलिकमको सेवा विस्तारले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्ने उल्लेख गर्दै सेवाको गुणस्तर अझै वृद्धि गरिने स्पष्ट पारे । सचिव बस्नेतले भने, “नेपाल टेलिकमले सर्वसाधारणको जीवनस्तरमा सकारात्मक प्रभाव पार्नेछ र सेवाको गुणस्तरलाई थप प्रभावकारी बनाउनेछ ।”
सचिव बस्नेतले डिजिटल समावेशिता विस्तार गर्दै सबै नागरिकलाई समान सञ्चार सेवाको पहुँच सुनिश्चित गर्न नेपाल टेलिकमले निरन्तर पहल गरिरहेको पनि जनाए । समारोहमा नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष भूपेन्द्र भण्डारीले कम्पनीले फोरजी–एलटीई सेवाको जडान, विस्तार, स्तरोन्नति तथा वितरणलाई निरन्तरता दिँदै हाल सातै प्रदेशका ७७ जिल्लाका ७४९ स्थानीव तहमा सो सेवाको पहुँच विस्तार गरेको जानकारी दिए ।
“हालसम्म टुजी, थ्रीजी र फोरजी प्रविधिमा आधारित मोबाइल सेवाका बिटीएसमार्फत देशभरका विभिन्न ४,७८८ स्थानमा मोबाइल सेवा उपलब्ध गराएको छ । अब थप चार स्थानीय तह हुम्लाको ताँजाकोट र अदानचुली, मुगुको सोरु तथा कार्मारोकक्या फोरजी सेवा सञ्चालनमा ल्याउन बाँकी रहेको छ,” उनले भने, “हाल सञ्चालनमा रहेको फोरजी कोर सिस्टमलाई स्तरोन्नती गरी फाइभजी सेवाको सुरुआत गर्नको लागि आपूर्तिकर्ताबाट प्राप्त प्रस्तावको अध्ययन सम्पन्न भई पुनराबलोकनका चरणमा रहेको छ ।”
टेलिकमका अनुसार गत असार मसान्तसम्म २१ लाख ७४ हजार ६४ क्षमता रहेको एफटिटीएच नेटवर्क हाल २२ लाख ६५ हजार पुगेको छ ।
सेयर बजारमा २७.१९ अंकको सुधार, साढे ११ अर्बको कारोबार
काठमाडौं । सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । साताको कारोबारको अन्तिम दिन बिहीबार सेयर बजार परिसूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २७.१९ अंकले बढेर २७०८.७० बिन्दुमा पुगेको छ ।
अघिल्लो कारोबार दिन बुधबार भने नेप्से १.६४ अंकले घटेको थियो ।
बिहीबार नेप्सेमा कुल ११ अर्ब ५८ करोड रुपैयाँ बढीको कारोबार भएको छ । बुधबार भने नेप्सेमा कुल ७ अर्ब ४५ करोड माथिको कारोबार भएको थियो ।
बिहीबार कारोबारमा आएकामध्ये २०१ कम्पनीको सेयर मूल्य बढ्दा ५५ कम्पनीको घटेको छ । यस्तै, ४ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।
बिहीबार कालिन्चोक दर्शन लिमिटेड, सुपर माई हाइड्रोपावर र मोदी इनर्जीको सेयर मूल्यमा सकारात्मक सर्किट लाग्दा तीन कम्पनीको मूल्य नौ प्रतिशत बढीले वृद्धि भएको छ ।
सानिमा बैंकको एटिएम र मोबाइल बैंकिङ्ग अवरुद्ध हुने
काठमाडौँ । सानिमा बैंकको बैंकिङ्ग सेवा अवरुद्ध हुने भएको छ । बैंकको प्रणाली मर्मत हुन गइरहेको हुँदा एटिएम, मोबाइल बैंकिङ्गलगायत पस, इ–कम सेवा अवरुद्ध हुने भएको हो ।
माघ २३ गते र माघ २६ गते बिहान ७ बजेदेखि ९ बजेसम्म अवरुद्ध हुने जनाइएको छ ।

















