काठमाडौं । नेशनल लाईफ इन्स्यारेन्स कम्पनी लिमिटेडले आफ्नो ३९औं बार्षिकोत्सव समारोह सप्ताहव्यापी रूपमा देशैभरीका विभिन्न स्थानहरूमा विभिन्न कार्यक्रम गरी भव्य रूपमा सम्पन्न गरेको छ।
काठमाण्डौंस्थित होटल ह्यात सेण्ट्रिकमा सम्पन्न समापन समारोहको पानसमा दीप प्रज्वलन गरी समुद्घाटन गर्दै कम्पनी अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंंहले कम्पनीलाई अग्रस्थानमा पुर्याउन मुख्य भूमिका खेल्ने कर्मचारी, अभिकर्ता, बीमित, शुभेच्छुक, सरोकारवाला प्रति आभार व्यक्त गरे।
उनले सेवाग्राहीलाई उच्चस्तरीय तथा सर्वसुलभ सेवा प्रदान गरी कम्पनीको व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य अनुरूप कर्मचारीलाई प्रविधिमा थप दक्ष बनाउनेतर्फ कम्पनीले विशेष ध्यान दिंदै आएको र यसै सन्दर्भमा कम्पनीका सम्पूर्ण प्रशासनिक कर्मचारीलाई एआई सम्बन्धी विस्तृत तालिम प्रदान गरिएको जनाए।
सो समारोहमा प्रमुख कार्यकारी अधिकृत सुरेश प्रसाद खत्रीले कर्मचारी, अभिकर्ता बीमित लगायत सरोकारवाला सबैको प्रत्यक्ष अप्रत्यक्ष साथ र सद्भावले गर्दा कम्पनीले आफ्नो छुट्टै पहिचान बनाउन सफल भएको र भविष्यमा पनि यस प्रकारको साथ सद्भाव प्राप्त रहने विश्वास व्यक्त गरे। साथै उनले नियामक निकाय लगायत अन्य सम्वन्धित संस्थाबाट प्राप्त मार्गदर्शन र सहयोगका लागि पनि कृतज्ञता ज्ञापन गरे।
सो अवसरमा कम्पनीले सामाजिक उत्तरदायित्व अन्तर्गत मातृ नेपाल बालगुह तारकेश्वरलाई शैक्षिक सामाग्री वितरण सहित त्यहाँ रहेका बालबालिकालाई खाना भोजनका साथै रक्तदान कार्यक्रम समेत सम्पन्न गरिएको र सोही अवसरमा कम्पनीका देशैभर रहेका प्रदेश तथा शाखा कार्यालयले पनि विभिन्न वृद्धाश्रम, बाल कल्याण संस्था एवं मानव सेवा आश्रम जस्ता संस्थामा यस प्रकारका कार्यक्रमहरु आयोजना गरीएको जनाए।
उनले कर्मचारीलाई आन्तरिक क्रियाकलापमा सहभागी गराई शारीरिक तथा मानसिक रूपमा सबल र सक्षम बनाउने उद्देश्यले अन्तर कर्मचारी खेलकुद प्रतियोगिता अन्तर्गत पुरुष तथा महिलाको क्रिकेट, फुटसल, टेवुल टेनिस र बुद्धिचाल जस्ता विभिन्न प्रकारका खेल प्रतियोगिताको आयोजना गरिएको जनाए।
मनोरञ्जानात्मक प्रस्तुति सहित भव्य रूपले सम्पन्न गरिएको वार्षिकोत्सव समापन कार्यक्रममा अध्यक्ष प्रेमा राज्य लक्ष्मी सिंहले विविध खेलकुदमा विजेता कर्मचारीलाई पदक तथा प्रमाणपत्र र रक्तदान गर्ने कर्मचारीलाई प्रमाण पत्र प्रदान गर्नुका साथै नृत्य प्रदर्शन गर्ने कर्मचारीलाई मायाको चिनो प्रदान गरेकी थिइन्।
देशव्यापी कार्यक्रम सहित नेशनल लाइफले मनायो वार्षिकोत्सव
धनगढीमा फागुन १२ देखि १४ गतेसम्म नबिल निःशुल्क जलन उपचार शिविर हुँदै
काठमाडौँ । नबिल बैंक, सुषमा कोइराला मेमोरियल अस्पताल तथा सेती प्रादेशिक अस्पतालको संयुक्त आयोजनामा धनगढीस्थित सेती प्रादेशिक अस्पतालमा ‘नबिल निःशुल्क जलन उपचार शिविर’ सञ्चालन गर्ने भएको छ । यही फागुन १२ देखि १४ गतेसम्म सञ्चालन हुने शिविरमार्फत जलनका घटनाबाट पीडित भएकाहरु लाभान्वित हुने बैंकले जनाएको छ ।
नबिल बैंकले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत शिविर आयोजना गरेको हो । बैंकले यसप्रकारका शिविर धनगढीबाट सुरु गरी विभिन्न प्रदेशमा आयोजना गरिने समेत उल्लेख गरेको छ । बैंकका अनुसार पहिलो चरणमा धनगढीमा सुषमा कोइराला मेमोरियल अस्पतालसँगको सहकार्यमा शिविर आयोजना गर्न लागिएको हो । उक्त शिविरबाट १२० जनाभन्दा बढी लाभग्राही लाभान्वित हुने बैंकको अपेक्षा छ ।
जलनका कारण दीर्घकालीन समस्या भोगिरहेका विपन्न तथा आर्थिक रूपमा कमजोर नागरिकलाई शिविरमा परामर्श, उपचार तथा शल्यक्रियालगायतका सेवा पनि प्रदान गरिने बैंकले जनाएको छ । बैंकले शिविर सञ्चालन गर्नका लागि कीर्तिपुर अस्पतालअन्तर्गतको फेक्ट नेपाल र सुषमा कोइराला मेमोरियल अस्पतालसँग सहकार्य गरिरहेको छ ।
शिविरमा आगोले पोलेर शरीरको कुनै भाग खुम्चिएको वा चलाउन नमिल्ने, कपाल गुमाएकाहरु, हातका औँलाहरु टाँसिएकाहरु, हात र खुट्टामा पाँच वटाभन्दा बढी औँलाहरु टाँसिएकाहरु, बिस्फोटनमा परी शरीरको कुनै भागको शल्यक्रिया गराउनु पर्ने अवस्था भएका तथा खुट्टाको पैतला भित्रतिर फर्किएकाहरुले निःशुल्क उपचार पाउनेछन् ।
साथै जटिल समस्या भएका बिरामीलाई काठमाडौँको सांखुस्थित सुषमा कोइराला मेमोरियल अस्पतालमा निःशुल्क उपचारको व्यवस्था मिलाइने बैंकले जनाएको छ । जलनका कारण पीडा भोगिरहेका व्यक्तिहरुलाई उपचार गरी उनीहरुको जीवनमा सुधार ल्याउने प्रयास स्वरुप शिविर आयोजना गरिएको बैंकको भनाइ छ ।
सरकारी तथ्यांकअनुसार नेपालमा प्रत्येक वर्ष ५६ हजारको हाराहारीमा जलनसम्बन्धी घटना हुने गरेका छन् । जसमध्ये औसतमा दुई हजार एक सयको मृत्यु हुने गरेको छ । जलन दुर्घटनाबाट बाँच्ने अधिकांशमा जलेको भाग खुम्चिने वा टाँसिने समस्या देखिने गरेका छन् । जसका कारण पीडितहरुमा दीर्घकालीन अपाङ्गता निम्त्याउने जोखिम रहन्छ ।
जलनका घटनाका पीडितलाई तत्काल र विशेष हेरचाह आवश्यक पर्दछ । तर आफ्नै ठाउँमा जलन उपचार केन्द्र नहुँदा पीडितहरूले समयमै गुणस्तरीय उपचार नपाउने अवस्था छ । उपचारका लागि काठमाडौँसम्म जानुपर्ने बाध्यता भएकाले आर्थिक रुपमा कमजोरहरुले उपचार नै नगर्ने देखिएको छ ।
नबिल बैंक लिमिटेड नेपालको अग्रणी वाणिज्य बैंक हो । नबिल बैंकले सामाजिक उत्तरदायित्वअन्तर्गत समाजमा सकारात्मक परिवर्तन ल्याउने उद्देश्यसहित विभिन्न सामाजिक कार्य गर्दै आएको छ । नबिल एसएसई मार्फत बैंकले सामाजिक उद्यमशीलता, विकास र रोजगारी सृजना मार्फत दिगो विकासमा योगदान पु¥याउन आफ्नो प्रतिबद्धताको एक मुख्य आधारका रूपमा लिएको छ ।
आजबाट सुरु भयो होली, वसन्तपुरमा ठड्याइयो चीर
काठमाडौं । फागु पर्व अर्थात रंगहरुको उत्सव होली आज (मंगलबार) देखि औपचारिक रुपमा सुरु भएको छ ।
काठमाडौंको वसन्तपुरस्थित हनुमानढोकामा तीन खण्डे चीर ठड्याइएसँगै यस वर्षको फागु पर्व अर्थात होली उपत्यका लगायत मुलुकभर औपचारिक रुपमा सुरु भएको हो ।
आज बिहान ७ः१३ बजेको शुभ साइतमा पारेर बाजागाजासहित रंगीचंगी ध्वजा र पताकाले सिँगारिएर तीन छत्रे होलीको चीर ठड्याएका हुन् । फागुन शुक्ल अष्टमीदेखि फागुन शुक्ल पूर्णिमासम्म होली पर्व मनाउने गरिन्छ ।
यस वर्षको होली पर्वको मुख्य दिन फागुन १८ र १९ गते परेको छ ।
१८ गते हिमाली तथा पहाडी जिल्लामा र १९ गते तराई जिल्लामा होलीको सार्वजनिक विदा दिइएको छ ।
रवि र बालेनले आज इटहरीमा सम्बोधन गर्ने
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले इटहरीमा मंगलबार चुनावी सभाको आयोजना गर्दैछ ।
चुनावी सभालाई सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन शाहले सम्बोधन गर्नेछन् ।
रास्वपाको ‘हामी आयौं’ परिवर्तन उद्घोष सभालाई सम्बोधन गर्न सभापति रवि र वरिष्ठ नेता बालेन इटहरी पुगेका छन् ।
भेलाको लागि रास्वपाले आवश्यक तयारी गरिसकेको जानकारी दिएको छ ।
धादिङ बस दुर्घटना ः मृतकको संख्या १८ पुग्यो, २४ घाइतेलाई काठमाडौं पठाइयो
धादिङ। बेनीघाट रोराङ गाउँपालिकाको चरौदीमा आज भएको बस दुर्घटनाका घाइतेहरुलाई थप उपचारका लागि काठमाडौं पठाइएको छ।
पोखराबाट काठमाडौं आउँदै गरेको ग२ख १४२१ नम्बरको बस आज बिहान करिब सवा १ बजेतिर त्रिशूलीमा खसेको थियो।
दुर्घटनामापरि मृत्यु हुनेको संख्या अहिलेसम्म १८ जना पुगेको प्रहरीले पुष्टि गरेको छ। २५ जना घाइते भएका छन्। घाइतेमध्ये २४ जनलाई भने थप उपचारका लागि काठमाडौँ पठाइएको हो।
घाइते एक जनाको भने मलेखु टिचिङ अस्पतालमा उपचार भइरहेको छ। उनी न्युजिल्यान्डकी नागरिक हुन्। अवस्था सामान्य भएकाले उनले आफू काठमाडौं नजाने र यही उपचार गर्ने जनाएकी थिइन्।
मृतकको शव पोष्टमार्टमका लागि गजुरी सामुदायिक अस्पतालमा पठाइएको छ।
बस आइतबार साँझ ७ बजे पोखराको पर्यटक बसपार्कबाट काठमाडौँका लागि छुटेको थियो। पृथ्वीराजमार्ग बस सञ्चालक कम्पनी प्रालीले सञ्चालन गरेको बसमा केही विदेशी नागरिक पनि चढेका थिए।
बस सञ्चालक समितिका अध्यक्ष ऐनकुमार शाहीका अनुुसार बस धनी ओमकुमार श्रेष्ठ पनि त्यही बसमा थिए। उनको घटनास्थलमै मृत्यु भएको छ। गाडी चालक भने बेपत्ता छन्।
रास्वपामा एकपछि अर्को नेताले पार्टी छाड्दै, मकवानपुर जिल्ला सभापतिले पनि दिए राजीनामा
काठमाण्डौं । प्रतिनिधिसभा निर्वाचन नजिकिँदै गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मा एकपछि अर्को नेताहरू पार्टी छाड्ने क्रम जारी छ ।
पछिल्लो तीन सातामा केन्द्र, प्रदेश र स्थानीय तहका नेताहरूले क्रमशः पार्टी परित्याग गरेका छन्। पार्टीका मकवानपुर सभापति भरत पराजुलीले पनि पार्टी छाडेर नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।
काङ्ग्रेसका सभापति थापाले पराजुलीलाई सर्लाहीमा स्वागत गरेका छन् । उनी प्रतिनिधिसभा निर्वाचनमा रास्वापाबाट टिकट नपाएपछि असन्तुष्ट थिए।
पार्टीको भनाइ र गराइमा एकरूपता नदेखिएको, टिकट वितरण र निर्णय प्रक्रियामा पारदर्शिता नभएको तथा नेतृत्व शैलीप्रति असहमति रहेको उनको आरोप छ। यस्तै आरोप पार्टी छाड्ने अन्य नेताहरूले पनि लगाएका छन् ।
त्यसअघि रास्वपाका केन्द्रीय तहका नेता प्रणय शमसेर राणाले पार्टीको वैकल्पिक राजनीतिक प्रतिबद्धता व्यवहारमा नदेखिएको, निर्णय प्रक्रिया सीमित घेरामा केन्द्रित भएको र आन्तरिक बहसको संस्कृति कमजोर बनेको आरोप लगाउँदै पार्टी परित्याग गरेका थिए।
यस्तै पश्चिम नवलपरासी सुस्ता गाउँपालिका उपसभापति गुप्त सेन ठकुरीले पनि हालै पार्टी परित्याग गरेका छन्। उनी रास्वपाका जिल्ला सभापति महेन्द्र सेन ठकुरीका दाजु हुन्।
वागमती प्रदेश उपसभापति दिपेन्द्र हुमागाईंले सदस्यता र आर्थिक व्यवस्थापनमा पारदर्शिताको अभाव, टिकट छान्नमा भेदभाव, आन्तरिक लोकतन्त्र कमजोर बन्दै गएको र पार्टी विधानको अवमानना भएको आरोप लगाउँदै राजीनामा दिएका हुन् ।
प्युठानका नगर सदस्य सूर्यबहादुर गैरेले रास्वपा छाडेर एमालेमा प्रवेश गरेका छन्। मधेस प्रदेशकी संस्थापक सभापति रहेकी ममता शर्मा र बर्दघाटका नेता जीतबहादुर हरिजनले पनि पार्टी छोडेका हुन्।
एनभीएफ कोशी प्रदेशस्तरीय भेला आज, अध्यक्ष ओलीले सम्बोधन गर्दै
झापा । नेकपा (एमाले) को नवगठित युवा संगठन नेसनल भोलेन्टियर फोर्स (एनभीएफ) को कोशी प्रदेशस्तरीय भेला आज झापाको दमकमा हुँदैछ ।
अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्ने भेलामा प्रदेशका विभिन्न जिल्लाबाट फोर्सका कार्यकर्ता सहभागी हुने जनाइएको छ ।
फोर्सका कोशी प्रदेश संयोजक राजकुमार थापाका अनुसार करिब ५० हजार युवालाई आज दमकमा उतार्ने तयारी गरिएको छ । थापाका अनुसार झापा–५ का जनताहरुको पनि उल्लेख्य उपस्थिति हुने सभामा जनगायक बैकुण्ठ महतको टिमले विविध साँस्कृतिका कार्यक्रम पनि प्रस्तुत गर्ने तयारी गरेको छ ।
दमक–७ स्थित पशु हाटमा हुने सभा बिहान ११ बजे सुरु हुने आयोजकले जनाएको छ ।
सभालाई फोर्सका केन्द्रीय कमाण्डर पुष्पराज श्रेष्ठले पनि सम्बोधन गर्नेछन् ।
निर्वाचन आयोगले भन्यो – चुनाव चिह्नको भौतिक स्वरूप प्रयोग नगर्नू, कारबाही हुनेछ
काठमाण्डौं । निर्वाचन आयोगले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ को प्रचारप्रसारका क्रममा धातु, काठ वा अन्य सामग्रीबाट बनेका भौतिक स्वरूपका निर्वाचन चिह्नहरू प्रयोग नगर्न राजनीतिक दल र उम्मेदवारहरूलाई कडा निर्देशन दिएको छ ।
यस्ता चिह्नहरूको प्रयोगले सुरक्षा जोखिम बढेको र शान्ति सुरक्षामा प्रतिकूल असर परेको गुनासो आएपछि आयोगले यस्तो निर्णय लिएको हो ।
आयोगका सहसचिव एवं प्रवक्ता नारायणप्रसाद भट्टराईद्वारा जारी विज्ञप्तिअनुसार उम्मेदवारहरूले तोकिएको मापदण्ड बमोजिम कपडा, तुल, फ्लेक्स वा कागजमा छापिएका निर्वाचन चिह्नहरू मात्र प्रयोग गर्न पाउनेछन् । तर चुनाव चिह्नको आकारमा बनाइएका धातु वा काठका भौतिक वस्तुहरू साथमा बोकेर हिँड्न वा प्रदर्शन गर्न पाइने छैन ।
प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ र निर्वाचन निर्देशिका–२०८२ ले तोकेको मापदण्ड विपरीतका सामग्री प्रयोग हुनु आचारसंहिता प्रतिकूल हुने आयोगको ठहर छ । ‘भौतिक स्वरूपका सामग्री बोकेर प्रचार गर्दा आमजनमानसको सुरक्षामा असर पर्ने र उजुरीहरू समेत प्राप्त भएकाले यस्तो कार्य नगर्न सरोकारवाला सबैमा अनुरोध गरिएको छ,’ विज्ञप्तिमा भनिएको छ ।
निर्वाचन आचारसंहिता–२०८२ को दफा १३ को खण्ड (ड) मा तोकिएको मापदण्ड बमोजिम दलको झण्डा र चुनाव चिह्नको माध्यमबाट मात्र प्रचारप्रसार गर्न आयोगले सचेत गराएको छ । यदि कसैले सो नियमको विपरीत भौतिक सामग्री प्रयोग गरेको पाइएमा निर्वाचन आचारसंहिता बमोजिम कारबाही गरिने चेतावनी समेत दिइएको छ ।
आसन्न फागुन २१ गते हुने निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन आयोगले आफ्ना नियमहरूलाई थप कडाइका साथ लागू गर्दै आएको छ ।
टी–२० विश्वकपः सुपर ८ मा श्रीलंकालाई ५१ रनले हराउँदै इंग्ल्यान्डको विजयी सुरुवात
काठमाडौं । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत सुपर ८ को दोस्रो खेलमा इंग्ल्यान्डले श्रीलंकालाई ५१ रनको फराकिलो अन्तरले पराजित गरेको छ ।
टस हारेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले दिएको १४७ रनको लक्ष्य पछ्याउने क्रममा श्रीलंका १६ दशमलव ४ ओभरमा अलआउट हुँदै मात्र ९५ रनमै समेटियो ।
श्रीलंकाका लागि दसुन सनाकाले सर्वाधिक ३० रन बनाए भने कमिन्दु मेन्डिसले १३, दुनिथ वेल्लालग्गे र महिश थाकसिन्हाले १०, १० रन बनाउनुबाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
श्रीलंकाको ब्याटिङ अर्डर कोल्याप्स पार्ने क्रममा इंग्ल्यान्डका विल ज्याक्सले सर्वाधिक ३ विकेट लिए । जोफ्रा आर्चर, लाइम डावसन र आदिल रासिदले २, २ विकेट लिँदा जेमी ओभर्टनको नाममा एक विकेट रह्यो ।
त्यसअघि पहिले ब्याटिङ गरेको इंग्लयान्डले निर्धारित २० ओभरमा ९ विकेट क्षतिमा १४६ रन बनाएको थियो । उसका लागि फिल सल्टले ६२ रनको अर्धशतकीय पारी खेले । विल ज्याक्सले २१, ह्यारी ब्रुकले १४, साम करणले ११ र जेमी ओभर्टनले १० रन बनाए ।
बलिङमा श्रीलंकाका लागि दिलसान मधुसनाकाले २, दुनिथ वालालग्गेले ३ र महिश थाकसिन्हाले २ विकेट हात पार्दा दुशामन्था चमीराले १ विकेट लिए ।
यसअघि शनिबार पहिलो खेल पाकिस्तान र न्युजिल्यान्डबीच वर्षाका कारण खेल रद्द भई अंक बाँडेका थिए ।
सुपर ८ अन्तर्गत आज अर्को खेल सवा ७ बजे भारत र दक्षिण अफ्रिकाबीच हुँदैछ ।
भ्रष्टाचार मुद्दामा पूर्वमन्त्री श्रेष्ठ ५ लाख धरौटीमा रिहा
काठमाण्डौं । पोखरास्थित लिची बगैँचा क्षेत्रको जग्गा सम्बन्धी घुस प्रकरणका आरोपी रञ्जिता श्रेष्ठलाई ५ लाख रुपैयाँ धरौटीमा रिहा गर्न विशेष अदालतले आदेश दिएको छ ।
आईतबार अदालतमा उपस्थित भएपछि न्यायाधीशहरू सुदर्शनदेव भट्ट, हेमन्त रावल र डिल्लीरत्न श्रेष्ठ सम्मिलित इजलासले धरौटीमा रिहा गर्न आदेश दिएको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गत असोज २२ गते श्रेष्ठसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको थियो । मुद्दामा श्रेष्ठमाथि ७८ लाख रुपैयाँ बिगो दाबी गरिएको छ ।
अनुसन्धानका क्रममा पोखराको विवादित जग्गा सम्बन्धी निर्णय प्रभावित पार्ने उद्देश्यले रकम लेनदेन भएको आरोप लगाइएको थियो । त्यतिबेला राजकुमार गुप्ता सहितका व्यक्तिले कास्की मालपोत कार्यालयका तत्कालीन प्रमुख रामचन्द्र अधिकारीसँग आर्थिक लेनदेन गरेको तथा अन्य नियुक्ति प्रक्रियासम्बन्धी रकमको सहमति भएको अडियो सार्वजनिक भएपछि आयोगले अनुसन्धान अघि बढाएको थियो । पूर्वमन्त्री गुप्ता पुर्पक्षका लागि कारागारमा रहेका छन् ।

















