दाङ । नेकपा एमालेको चुनाव चिन्ह अंकित झण्डा जलाएको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय दाङले तुलसीपुर उपमहानगरपालिका–७ कालाखोला निवासी ५५ वर्षीय बुद्धिबहादुर बस्नेतलाई पक्राउ गरेको हो ।
बिहीबार तुलसीपुर उपमहानगरपालिका–५, वीरेन्द्र चोकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको स्वागतमा भेला भएका व्यक्तिहरुले नेकपा एमालेको चुनाव चिह्न अंकित झण्डा जलाएको अभियोगमा उनी पक्राउ परेका हुन् ।
शान्ति सुरक्षा र सामाजिक सद्भावमा खलल पुग्ने यस्ता गतिविधि नगर्न र सम्पूर्ण सरोकारवाला पक्षलाई संयमित एवं जिम्मेवार भईदिन पनि जिल्ला प्रहरी कार्यालयले अनुरोध गरेको छ ।
एमालेको झण्डा जलाएको आरोपमा एक जना पक्राउ
पल र उषाले उद्घाटन गरे इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल
काठमाण्डौं । इलाममा फ्रेन्ड्स सिनेमाजको नयाँ हल सञ्चालनमा आएको छ । शुक्रबार अभिनेता पल शाह र अभिनेत्री उषा उप्रेतीले संयुक्त रूपमा रिवन काटेर हलको उद्घाटन गरे । कार्यक्रममा अहिलेको सुपरहिट फिल्म ‘आ बाट आमा’का निर्देशक चन्द पन्तको पनि उपस्थिति रहेको थियो । सो हलमा पहिलो फिल्म पनि यही देखाइयो ।
इलामको पुरानो बसपार्कस्थित नगरपालिकाको पार्किङ भवनमा सञ्चालनमा आएको उक्त हलमा १८८ सिट क्षमताको एउटा मात्र स्क्रिन रहेको छ । करिब ३ करोड ५० लाख रूपैयाँको लगानीमा निर्माण भएको यो हलमा टुके प्रोजेक्सन र डल्बी डिजिटल साउन्ड सिस्टम जडान गरिएको फ्रेन्ड्स सिनेमाजका अध्यक्ष प्रदीप धामीले जनाए ।
हलको उद्घाटनपछि धामीले भने, ‘हाम्रो लक्ष्य भनेकै मोफसलका दर्शकलाई राजधानी स्तरको सेवा दिनु हो । अब इलामका दर्शकले फिल्म हेर्नका लागि झापा झर्नुपर्ने बाध्यता अन्त्य भएको छ । हामीले अत्याधुनिक प्रविधिसँगै आरामदायी बस्ने व्यवस्था र पारिवारिक वातावरणलाई प्राथमिकता दिएका छौँ ।’ उनले फ्रेन्ड्स सिनेमाजको शाखा अन्य जिल्लामा पनि विस्तार गरिने जनाए ।
त्यस्तै, फ्रेन्डस् सिनेमाजका निर्देशक आशिस एच तामाङले पहाडी भेगका दर्शकको फिल्मसम्म पहुँच पुर्याउन इलाममा हल खोलेको जनाए । नेपाली फिल्मको बजार विस्तार गर्न सबैभन्दा पहिला घरेलु बजार बढाउनुपर्नेमा उनले जोड दिएका छन् । हरेक जिल्लामा हल खोल्ने हो भने अहिलेकै अवस्थामा पनि घरेलु बजार दोब्बरले बढ्ने उनको भनाइ छ ।
विजय बरालसँग ‘जिरो डिग्री’मा देखिँदै सनिशा
काठमाण्डौं । आकाश बराल र साजन काफ्लेको संयुक्त निर्देशनमा बन्न लागेको फिल्म ‘जिरो डिग्री’मा अभिनेत्री सनिशा भट्टराईले अभिनय गर्ने भएकी छन् । निर्माण पक्षले फिल्मको मुख्य महिला पात्रको भूमिकामा उनलाई अनुबन्धित गरेको हो । अभिनयको हिसाबले यो उनको तेस्रो फिल्म हुनेछ । यसअघि उनले दुई एक्सन फिल्म ‘१२ गाउँ’ र ‘नरसिंहा अवतार’मा अभिनय गरेकी थिइन् ।
सनिशाको प्रवेशसँगै फिल्ममा कलाकारको लाइनअप थप बलियो बनेको छ । यसअघि कीर्तिमानी अभिनेता विजय बराल फिल्ममा आबद्ध भइसकेका छन् । तर, निर्माण पक्षले विजयको जोडीका रूपमा सनिशा देखिने वा उनको भूमिका फरक रहने भन्नेबारे खुलाएको छैन । फिल्ममा अनुबन्धित भएसँगै सनिशाले वर्कसप समेत सुरू गरिसकेकी छन् ।
निर्देशक द्वय बराल र काफ्ले स्वयंको लेखन तथा निर्माणमा बन्ने यस फिल्मको कथा राजन भुसालले लेखेका हुन् । फिल्ममा राजनको पनि अभिनय रहनेछ । मेघौली फिल्म्सको ब्यानरमा निर्माण हुने फिल्मको कार्यकारी निर्मातामा मोती कार्की रहेका छन् । निशाल पौडेलको छायांकन रहने फिल्मको सम्पादन चानस मगरले गर्नेछन् ।
सडक सञ्जालले नछोएको एक दुर्गम गाउँमा आमाबुवाको निधनपछि विदेशमा रहेका सन्तान नआइपुग्दासम्म शव सुरक्षित राख्न सहरबाट ‘डीप फ्रिज’ बोकेर गाउँ भित्र्याएपछि उत्पन्न हुने परिस्थितिलाई फिल्ममा देखाइने निर्देशक काफ्लेले जनाए । उनका अनुसार फिल्ममा एउटा फ्रिज गाउँसम्म पुर्याउने प्रसंग मात्र नभइ लाइट कमेडी कथा पनि रहेको छ ।
विवाह बन्धनमा बाँधिइन् अभिनेत्री नीति शाह
काठमाण्डौं । अभिनेत्री नीति शाह वैवाहिक जीवनमा बाँधिएकी छन् । उनले शुक्रबार प्रेमी याञ्चित राणासँग विवाह गरेकी हुन् । अहिले काठमाडौंको एउटा होटलमा उनीहरूको वैवाहिक समारोह चलिरहेको छ । विवाहमा नीतिले रातो रंगको आकर्षक लेहेंगा लगाएकी छन् भने याञ्चित सेतो रंगको शेरवानीमा सजिएका छन् । प्राप्त तस्वीरमा दुवैलाई खुसी मुद्रामा देख्न सकिन्छ ।
गत बैशाखमा काठमाडौं जिल्ला अदालतमा कानूनी विवाह गरेका नीति र याञ्चित करिब ४ वर्षदेखि प्रेम सम्बन्धमा थिए । विवाहपूर्व प्रि वेडिङ फोटोसुटसँगै आफू नजिकका साथीहरूसँग सीक्रेट ब्याचलर पार्टी मनाएका उनीहरूले बुधबार काठमाडौंमा आयोजना गरेको संगीत कार्यक्रममा पल शाह, बेनिशा हमाल, सन्ध्या केसी, आकृति राजभण्डारी लगायतले विशेष प्रस्तुति दिएका थिए ।
नीति र याञ्चितले शनिबार साँझ रिसेप्सन पार्टी आयोजना गरेका छन् । पार्टीमा उपस्थितिका लागि राजेश हमालदेखि अनमोल केसीसम्मलाई निम्तो गरिएको जनाइएको छ । नीतिका श्रीमान् याञ्चित पेशाले एयरक्राफ्ट मेन्टेनेन्स इन्जिनियर हुन् । अर्थात् विमान मर्मत गर्ने इन्जिनियर । उनी हेलिकप्टर सेवा प्रदायक कम्पनी एयर डाइनेस्टीमा कार्यरत छन् ।
सन् २०१७ मा मिस इन्टरनेशनल नेपालको उपाधि जितेकी नीति पछिल्लो समय फिल्म अभिनयमा व्यस्त छिन् । २०८१ सालमा प्रदर्शन भएको फिल्म ‘खजुरे ब्रो’बाट अभिनेत्रीको रूपमा डेब्यु गरेकी उनले त्यसयता ‘ज्वाइँ साब’, ‘नरसिंहा अवतार’, ‘मोहर’, र ‘कोशेढुंगा’ जस्ता फिल्ममा अभिनय गरिसकेकी छन् । अहिले उनको हातमा आधा दर्जनभन्दा बढी फिल्म छन् ।
प्रधानमन्त्रीले गरिन् विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीले आज गण्डकी प्रदेशका विभिन्न जिल्ला भ्रमण गरी निर्वाचन तयारीको अनुगमन तथा समीक्षा गरेकी छन् ।
प्रधानमन्त्री कार्कीले मुस्ताङ जिल्लामा पुगेर मुक्तिनाथ मन्दिर, जोमसोम लगायतका क्षेत्रको अवलोकन गरेकी हुन् । उनले स्थानीय बासिन्दा, सुरक्षा निकायका प्रमुखहरू तथा निर्वाचन तयारीमा खटिएका कर्मचारीहरूसँग प्रत्यक्ष छलफल गरेकी छन् ।
जोमसोममा आयोजित बैठकमा प्रमुख जिल्ला अधिकारी, मुख्य निर्वाचन अधिकारी (जिल्ला न्यायाधीश) तथा सुरक्षा निकायका प्रमुखहरूसँग निर्वाचनको अवस्था, सम्भावित चुनौती तथा विशेष गरी मौसमी प्रतिकूलताका विषयमा विस्तृत छलफल भएको थियो ।
हिमाली तथा माथिल्लो भेगमा हिमपात वा वर्षा भएमा मतदान प्रभावित हुन सक्ने विषय उठेपछि प्रधानमन्त्री कार्कीले त्यस्ता क्षेत्रमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीका लागि आवश्यक औषधी, प्राथमिक उपचार सामग्री र अन्य उपकरणको पर्याप्त व्यवस्था गर्न निर्देशन दिइन् । प्रधानमन्त्रीले मुस्ताङका विभिन्न हिमाली बस्तीहरूको हवाई निरीक्षणसमेत गरेकी छन् ।
मुस्ताङबाट फर्किएपछि प्रधानमन्त्री पोखरा पुगेकी थिइन् । विजयपुरस्थित नेपाली सेनाको पश्चिम पृतना मुख्यालयमा गण्डकी प्रदेश कमान्ड पोस्ट तथा निर्वाचन सेलमा उच्चस्तरीय बैठक सम्पन्न भयो ।
बैठकमा प्रमुख सचिव डण्डुराज घिमिरे, पृतनापति उपरथी भोला थापा, कास्कीका मुख्य निर्वाचन अधिकृत हिमलाल बेलबासे, नेपाल प्रहरीका डीआईजी दीपेन्द्र जीसी, सशस्त्र प्रहरीका डीआईजी दीपेन्द्र शाह, प्रदेश निर्वाचन अधिकारी नारायण ढकाल, कास्कीका प्रमुख जिल्ला अधिकारी रुद्रादेवी शर्मा लगायतको उपस्थिति थियो ।
प्रमुख सचिव र पृतनापतिले निर्वाचन तयारी, सुरक्षा व्यवस्थापन, मतदान स्थल, मौसमी चुनौती तथा आकस्मिक योजनासम्बन्धी प्रस्तुतीकरण गरेका थिए । त्यसपछि विभिन्न निकायका प्रमुखहरूले आफ्नो धारणा राखेका थिए ।
एमालेको झण्डा जलाउने रास्वपाका रहेछन् भने कारबाही हुने रवि लामिछानेको दाबी
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नेकपा (एमाले) को झण्डा जलाउने रास्वपाका कार्यकर्ता भए कारबाही गर्ने दाबी गरेका छन् ।
दाङमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले राजनीतिक दलको झण्डालाई जलाउने रास्वपाको चरित्र नभएको जनाउँदै कारबाही गर्ने स्पष्ट पारेका हुन् ।
उनले घुसपैठ गरेर रास्वपालाई दोष लगाउन खोजिएको हुन सक्ने आशंका पनि व्यक्त गरेका छन् ।
उनले भने, कसैले जलायो च्यातयो भन्ने कुरा आएको छ । त्यो रास्वपाको चरित्र होइन, रास्वपाको कसैले गरेको रहेछ भने कारवाही हुन्छ । तर आफैं घुसपैठ गरेर हामीलाई दोसाउन खोजेको, कागले खाएर पिना सुकाउने हो भने होसियार, रास्वपाले गरेको रहेछ भने कारवाही हुन्छ । तर रास्वपाले गरेको होइन रहेछ, यसो बिथोल्न पाइने रहेछ भनेर आँखा चम्काएको हो भने चाहिँ नचम्काए हुन्छ ।’
सिटिजन लाइफ इन्स्योरेन्सको एमडीआरटी २०२६ सम्मान तथा प्रशिक्षण कार्यक्रम सम्पन्न
काठमाडौं । सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीले एमडीआरटी २०२६ (मिलियन डलर राउन्ड टेबल) सम्मान तथा प्रशिक्षण कार्यक्रम सफलतापूर्वक सम्पन्न गरेको छ । उक्त कार्यक्रम २०८२ साल फागुन ५ गतेदेखि ७ गतेसम्म होटल पोखरा ग्रान्ड, पोखरामा दुई रात तीन दिनसम्म भव्य रूपमा आयोजना गरिएको थियो ।
कार्यक्रममा कुल ७० जना सिटिजन लिडरहरुलाई सम्मान गरिएको थियो । जसअन्तर्गत ६७ जना एमडीआरटी (मिलियन डलर राउन्ड टेबल), २ जना सिओटी (कोर्ट अफ द टेबल) तथा १ जना टिओटी (टप अफ द टेबल) योग्यकर्ता रहेका थिए । सँगै सिनियर एजेन्सी म्यानेजर, उत्कृष्ट कार्यसम्पादन छनोट भएका शाखा प्रमुख तथा क्षेत्रीय प्रमुखहरुको समेत सहभागिता रहेको थियो ।
यस कार्यक्रमको उद्देश्य उत्कृष्ट कार्यसम्पादन गर्ने लिडरहरुलाई सम्मान गर्नुका साथै आगामी व्यवसायिक लक्ष्य तथा रणनीतिबारे छलफल र सशक्त प्रशिक्षण प्रदान गर्नु थियो । कार्यक्रम अन्तर्गत “द सेक्रेट अफ प्रोग्रेसिभ लाइफ” विषयमा प्रख्यात सेल्स कोच तथा मोटिभेशनल स्पीकर डा. रबिन कटवालले विशेष प्रशिक्षण सत्र सञ्चालन गर्नुभएको थियो, जसले सहभागीहरूलाई व्यक्तिगत तथा व्यवसायिक विकासका लागि प्रेरित गरेको कम्पनीले जनाएको छ ।
कार्यक्रममा कम्पनीका प्रशिक्षण विभाग प्रमुख कुबेर पाठक, प्रमुख वित्तीय अधिकृत गोपाल पंगेनी, प्रमुख बजार व्यवस्थापन अधिकृत भुषण रिमाल तथा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले आ–आफ्नो प्रस्तुति तथा मार्गदर्शन प्रदान गरेका थिए ।
साथै कम्पनीका ब्राण्ड एम्बेसडरहरू मदनकृष्ण श्रेष्ठ तथा हरिवंश आचार्यको विशेष उपस्थिति रहेको थियो । उनीहरूले सहभागीहरूलाई सम्बोधन गर्दै हाँस्य व्यंग्यमार्फत उत्साह थप्नुका साथै एमडीआरटी योग्यकर्ताहरूलाई सम्मान समेत गरेका थिए ।
समापन समारोहमा प्रमुख कार्यकारी अधिकृत पोषक राज पौडेलले कम्पनीको निरन्तर प्रगति र सफलताको प्रमुख आधार सिटिजन लिडरहरुको समर्पण, प्रतिबद्धता र उत्कृष्ट कार्यसम्पादन रहेको उल्लेख गर्दै सम्पूर्ण सहभागीहरूलाई धन्यवाद ज्ञापन गरे । उनले आगामी दिनहरूमा अझै उच्च उपलब्धि हासिल गर्ने विश्वास व्यक्त गरे ।
समग्रमा, एमडीआरटी २०२६ कार्यक्रम भव्य, प्रभावकारी तथा पूर्ण रूपमा सफल भएको कम्पनीले जनाएको छ । यस्तो प्रकारका कार्यक्रमले लिडरहरुलाई थप उत्प्रेरणा प्रदान गर्नुका साथै व्यवसाय विस्तार र व्यक्तिगत क्षमताको अभिवृद्धिमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास कम्पनीले लिएको छ ।
राष्ट्र बैंकको संयोजनमा चैत २ देखि ८ गतेसम्म ‘ग्लोबल मनी विक’ मनाइँदै
काठमाडौँ । बालबालिका र युवामा वित्तीय साक्षरता विस्तार गर्ने उद्देश्यले सञ्चालन हुँदै आएको ‘ग्लोबल मनी विक’ को चौधौँ संस्करण आगामी चैत २ देखि ८ गते (मार्च १६–२२, २०२६) सम्म नेपालसहित विश्वभर मनाइने भएको छ ।
नेपालमा रहेक वर्षजस्तै यस वर्ष पनि नेपाल राष्ट्र बैंकले राष्ट्रिय संयोजकको भूमिका निर्वाह गर्दै ‘ग्लोबल मनी विक २०२६’ आयोजना गर्ने भएको हो ।
केन्द्रीय बैंकको संयोजनमा बैंक तथा वित्तीय संस्था, लघुवित्त संस्था, बिमा कम्पनी, सहकारी संस्था, पुँजीबजारसँग सम्बन्धित निकाय तथा अन्य वित्तीय सेवा प्रदायकको सक्रिय सहभागिता रहने जनाईएको छ ।
राष्ट्र बैंकले वित्तीय साक्षरता अभिवृद्धिमा क्रियाशील सम्पूर्ण सङ्घसंस्था, शैक्षिक प्रतिष्ठान, गैरसरकारी संस्था तथा सरोकारवाला निकायलाई ‘ग्लोबल मनी विक’ मा सक्रिय सहभागिता जनाउन आह्वान गरेको छ । वित्तीय पहुँच विस्तारसँगै वित्तीय सेवाको सुरक्षित र जिम्मेवार प्रयोग सुनिश्चित गर्नु वर्तमान आवश्यकता रहेको जनाउँदै बैंकले सामूहिक प्रयासबाट मात्र दिगो वित्तीय समावेशिता सम्भव हुने उल्लेख गरेको छ ।
‘ग्लोबल मनी विक’ मूलतः किशोरकिशोरी तथा युवा÷युवतीमा वित्तीय शिक्षाको महत्त्वबारे जागरण ल्याउने उद्देश्यका साथ विश्वव्यापी रूपमा थालिएको अभियान हो । ‘अर्गनाइजेसन फर इकोनोमिक कोअपरेसन एण्ड डेभलपमेन्ट’ (ओइसिडी) को संयोजनमा सन् २०१२ देखि प्रत्येक वर्ष विश्वव्यापी रूपमा यो अभियान सञ्चालन हुँदै आएको छ ।
राष्ट्र बैंकको संयोजनमा सन् २०१३ देखि नेपालमा यो अभियान सञ्चालन भइरहेको छ । अभियानबाट हालसम्म विश्वका १७६ भन्दा बढी मुलुकका करिब सात करोड बालबालिका, किशोरकिशोरी र युवा लाभान्वित भएको ओइसिडीले जनाएको छ ।
ग्लोबल मनी विकको स्थायी नारा ‘सिक, बचाउ, कमाउ’ (लर्न, सेभ, अर्न) रहेको छ भने यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ । वित्तीय निर्णयहरूमा सचेत सहभागिता, बचत तथा लगानीको संस्कार विकास, डिजिटल वित्तीय सेवाको सुरक्षित प्रयोग तथा जिम्मेवार उपभोग प्रवर्द्धन गर्नु यस अभियानका प्रमुख उद्देश्यहरू रहेका राष्ट्र बैंकले जनाएको छ ।
अभियानअन्तर्गत विद्यालय तथा क्याम्पस केन्द्रित वित्तीय शिक्षा कार्यक्रम, अन्तरक्रियात्मक छलफल, निबन्ध तथा वक्ततृत्व प्रतियोगिता, डिजिटल वित्तीय साक्षरतासम्बन्धी तालिम, वित्तीय उपभोक्ता अधिकारबारे सचेतनामूलक कार्यक्रमलगायत विविध गतिविधि सञ्चालन हुँदै आएका छन् ।
बीमितको घरमै गएर रिलायबल नेपाल लाइफले दियो दाबी भुक्तानी
काठमाडौं । रिलायबल नेपाल लाइफ इन्स्योरेन्स लिमिटेडको अत्तरिया शाखा कार्यालयमा बीमा गराएका बीमित अमर बहादुर एडी क्षेत्रीको मृत्यु भएपछि शाखा कार्यालयले बीमितको परिवारलाई घरमै गएर दाबी भुक्तानी रकम हस्तान्तरण गरेको छ।
मृतक क्षेत्रीले कम्पनीको अत्तरियास्थित शाखा कार्यालयबाट ३ लाख ५० हजार रुपैयाँ बीमाङ्कको ‘सुलभ जीवन बीमा’ योजना खरीद गरेका थिए। उनले दुई किस्ता रकम मात्र जम्मा गरेको अवस्थामा घरमै अचानक बेहोस भई अस्पताल लैजाँदै गर्दा बाटोमै निधन भएको थियो। बीमितको निधनपछि कम्पनीले मृत्यु सुविधा, बीमाङ्क रकम र बोनस समेत गरी कुल ३ लाख ७१ हजार १७५ रुपैयाँ बीमितको आश्रित परिवारलाई हस्तान्तरण गरेको छ। उक्त रकम मृतककी श्रीमती धना देवी एडी क्षेत्रीलाई घरमै आयोजित एक कार्यक्रमका बीच चेक मार्फत हस्तान्तरण गरिएको हो।
दाबी रकम हस्तान्तरण कार्यक्रम आलिताल गाउँपालिका–६ सेरीस्थित मृतकको घरमा आयोजना गरिएको थियो। कार्यक्रममा वडा नम्बर ६ का वडाध्यक्ष कुम्भर बुढाको प्रमुख आतिथ्य, शाखा प्रमुख मोहन बहादुर बोहराको अध्यक्षता तथा एजेन्सी प्रमुख धर्म सिंह ऐर र तीनपटक ‘एमडीआरटी’ उपाधि प्राप्त अभिकर्ता प्रेम साउदको उपस्थिति रहेको थियो। कार्यक्रममा स्थानीय बुद्धिजीवी, समाजसेवी तथा गाउँबासीहरूको उल्लेखनीय सहभागिता थियो।
शाखा प्रमुख मोहन बहादुर बोहराले सम्पूर्ण आवश्यक कागजात पेश भएको एक हप्ताभित्रै दाबी रकम भुक्तानी गरिएको जानकारी दिए। उनका अनुसार अत्तरिया शाखाबाट परेका सबै दाबीहरू नियमित र समयमै फछ्र्योट गरिएको छ। वडाध्यक्ष कुम्भर बुढाले बीमा प्रत्येक व्यक्तिका लागि आवश्यक रहेको जनाउँदै आफ्नो वडाबाट बीमा सम्बन्धी सचेतना र सहजीकरणमा सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उनले सानो रकमबाटै भए पनि सबैले बीमा गर्नुपर्ने धारणा राखे।
कार्यक्रममा बोल्दै शाखा प्रमुख बोहराले बीमा सुखमा मात्र नभई दुःखमा पनि साथ दिने भरोसायोग्य माध्यम भएको उल्लेख गरे। उनले बीमाले बचत गर्ने बानी विकास गराउने र भविष्य सुरक्षित बनाउन सहयोग गर्ने जनाए। साथै बीमित र अभिकर्ताको हकहितका लागि निरन्तर क्रियाशील रहने प्रतिबद्धता जनाए।
एजेन्सी प्रमुख धर्म सिंह ऐरले मृतकलाई आफूले प्रेरित गरी बीमा गराएको उल्लेख गर्दै कठिन समयमा परिवारलाई आर्थिक सहयोग गर्न पाउँदा आफूलाई सन्तोष लागेको जनाए। उनले बीमा करले होइन इच्छाले गर्नुपर्ने विषय भएको भन्दै सबैलाई सचेत हुन आग्रह गरे। त्यस्तै तीनपटक ‘एमडीआरटी’ उपाधि प्राप्त प्रेम साउदले बीमाले टुटेको परिवारलाई आर्थिक सुरक्षा दिन सक्ने जनाउँदै आगामी दिनमा अझ बढी नागरिकलाई बीमाको दायरामा ल्याउने प्रतिबद्धता जनाए।
बीमा दाबी लिन बाँकी बीमितलाई सम्पर्कमा आउन यूनाइटेड अजोडको आग्रह
काठमाडौं । यूनाइटेड अजोड इन्स्योरेन्स लिमिटेडले कम्पनीमा बीमा दाबीका लागि निवेदन दिएर लामो सयमदेखि सम्पर्कमा नआएका दाबीकर्तालाई सम्पर्कमा आउन आग्रह गरेको छ।
कम्पनीमा विभिन्न समयमा प्राप्त भएको दाबी निवेदनहरूमध्ये कतिपयमा आवश्यक कागजात अपुग रहेकोले दाबी फर्छ्यौटका लागि कम्पनीको नजिको उपशाखा कार्यालय, शाखा कार्यालय, प्रादेशिक कार्यालय लगायत कम्पनीको प्रधान कार्यालय सुन्धारा, काठमाडौंस्थित दाबी विभागमा सम्पर्क गर्न आग्रह गरेको हो।
कम्पनीले सम्पत्ति बीमा, इन्जिनियरिङ्ग बीमा, मोटर बीमा, मरिन बीमा तथा विविधि बीमा अन्तर्गतका दाबीको दाबी भुक्तानी लिन अबको ३५ दिनभित्र सम्पर्कमा आउन आह्वान गरेको छ। उक्त समयसम्म पनि सम्पर्कमा नआउने बीमितको दाबी फाइल बन्द गरिने कम्पनीले सूचनामा उल्लेख गरेको छ।

















