काठमाडौं । ज्योति विकास बैंक लिमिटेडले काठमाडौं रातोपुलस्थित ‘रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्स’मा बैंकका ग्राहकहरूलाई विशेष छुट प्रदान गर्ने सम्बन्धी सम्झौता गरेको छ।
यस सम्झौतापश्चात्, ज्योति विकास बैंकका ग्राहकहरूले उक्त कम्पनीबाट उपलब्ध विभिन्न सफाइ तथा सम्बन्धित सेवाहरूमा ५० प्रतिशतसम्म छुट प्राप्त गर्न सक्नेछन् ।
व्यावसायिक दक्षता, गुणस्तरीय सेवा र ग्राहक सन्तुष्टिलाई प्राथमिकता दिँदै आएको यस कम्पनीले घर, कार्यालय तथा व्यावसायिक स्थानहरूका लागि भरपर्दो र प्रभावकारी सफाइ सेवा प्रदान गर्दै आएको छ ।
ज्योति विकास बैंकका ग्राहकहरुलाई उक्त कम्पनीबाट सोफा तथा अपहोल्स्ट्री सफाइ, शौचालय सफाइ, चिम्नी सफाइ, पानी ट्यांकी सफाइ, किरा नियन्त्रण (बेडबग), एसी सर्भिसिङ लगायतका विभिन्न सेवाहरुमा छुट प्रदान गर्ने भएको छ।
संस्थागत सुशासनलाई शिरोपर गर्दै, समाजप्रति उत्तरदायी यस विकास बैंकले नवीनतम चिन्तनका साथ समाजको अभ्युदय र दिगो परिवर्तनको संवाहक बन्दै समस्त नागरिकको जीवन जाज्वल्यमान बनाउने उद्देश्यलाई सदैव उच्च प्राथमिकतामा राख्ने कार्यलाई निरन्तरता प्रदान गर्ने र आगामी दिनहरू पनि परिवर्तनको ज्योति बन्ने अठोट प्रति प्रतिबद्ध रहेको छ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ ।
यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ। यस विकास बैंकले राष्ट्र प्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्याएको छ।
ज्योति विकास बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११८ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको छ ।
ज्योति विकास बैंकका ग्राहकलाई ‘रोयल क्लिनिङ सर्भिस एन्ड सप्लायर्स’मा विशेष छुट
कुमारी बैंकको सूचना सुरक्षा प्रणालीलाई अन्तर्राष्ट्रिय प्रमाणिकरण
काठमाडौं । कुमारी बैंकले अन्तर्राष्ट्रिय स्तरमा मान्यता प्राप्त आईएसओरआईईसी २७००१, २०२२ सूचना सुरक्षा व्यवस्थापन प्रणाली (आईएसएमएस) प्रमाणपत्र प्राप्त गरेको छ ।
यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा नीति, प्रक्रिया तथा नियन्त्रणहरू अन्तर्राष्ट्रिय मापदण्डअनुरूप रहेको देखाउछ ।
यसमा मूलतः ९३ वटा नियन्त्रणहरू हुन्छन्, जसलाई अर्गनाइजेसनल ९३७०, पिपल ९८०, फिजिकल ९१४० र टेक्नोलोजिकल ९३४० मा विभाजन गरिएको हुन्छ ।
यी नियन्त्रणहरू कार्यान्वयन भए नभएको स्वतन्त्र बाह्य अडिटमार्फत सुनिश्चित गरी आईएसओरआईईसी २७००१, २०२२ प्रमाणपत्र प्रदान गरिन्छ ।
यस प्रमाणपत्रले बैंकको सूचना सुरक्षा जोखिम पहिचान, मूल्याङ्कन तथा व्यवस्थापन गर्ने राम्रो क्षमता रहेको र सो अन्तर्राष्ट्रिय मापदण्डबमोजिम रहेको सुनिश्चित गर्दछ । साथै यस प्रमाणपत्रमार्फत बैंकले ग्राहकहरुको तथ्याङ्क सुरक्षित तथा गोप्य राखेको, आवश्यक परेको बेला उपलब्ध गराउने, अनधिकृत पहुँचबाट जोगाउने गरेको र सुदृढ सुरक्षा प्रणाली कार्यान्वयन गरिरहेको छ भनी प्रमाणित गर्छ ।
बैंकले नियमित जोखिम मूल्याङ्कन, कर्मचारी सचेतना कार्यक्रम, सुरक्षा परीक्षण तथा निरन्तर निगरानी प्रणालीमार्फत सम्भावित साइबर जोखिमहरूको रोकथाम, पहिचान तथा व्यवस्थापन गर्ने संरचना कार्यान्वयन गर्दै आएको छ ।
बैंकले सूचना सुरक्षा एक पटकको उपलब्धि नभई निरन्तर सुधारको प्रक्रिया भएको र आगामी दिनहरूमा पनि नियामक मापदण्ड तथा अन्तर्राष्ट्रिय उत्कृष्ट अभ्यासहरू अनुरूप आफ्ना सुरक्षा संयन्त्रहरू थप सुदृढ गर्दै जाने प्रतिबद्धतासमेत जनाएको छ ।
माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्न अनुमति
काठमाडौँ । नेपाल धितोपत्र बोर्डले माछापुच्छ्रे बैंकलाई अग्राधिकार शेयर जारी गर्ने अनुमति दिएको छ । बोर्डले बैंकलाई ३ अर्ब रुपैयाँ बराबरको अग्राधिकार शेयर जारी गर्न स्वीकृति दिएको हो ।
अब बैंकले १०० रुपैयाँ अंकित दरका कुल ३ करोड कित्ता अविमोच्य असञ्चिति अग्राधिकार शेयर जारी गर्नेछ । बैंकले यो अग्राधिकार शेयरको लाभांश दर ८.२५ प्रतिशत तय गरेको छ ।
बैंकको अग्राधिकार शेयरको बिक्री प्रबन्धकमा लक्ष्मी सनराइज क्यापिटल रहेको छ ।
महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३ को पुरस्कार वितरण सम्पन्न
काठमाडौं । ‘महालक्ष्मी विकास बैंक बिजचित्र फोटोग्राफी प्रतियोगिता–संस्करण ३’ को पुरस्कार वितरण गरिएको छ ।
महालक्ष्मी विकास बैंकले विश्व फोटोग्राफी दिवसको अवसर पारेर बिजचित्र फोटोग्राफी प्रतियोगिता सञ्चालन गर्दै आईरहेकोमा यस वर्ष संस्करण ३ सफलतापूर्वक सम्पन्न गरेको जनाएको छ ।
२०८२ साल भाद्र ११ गते देखि २०८२ साल आश्विन ३१ गते सम्म विभिन्न फोटोहरु संकलन गरिएको थियो । यस प्रतियोगितामा सहभागी हुनका लागि स्थानीय साना तथा मझौला व्यापारहरू झल्कने फोटोहरु खिचेर पठाउनुपर्ने नियम अनुसार विभिन्न फोटोग्राफरहरू मार्फत विभिन्न फोटोहरू प्राप्त भएका थिए ।
प्रतियोगितामा समावेश सम्पूर्ण फोटोहरू उत्कृष्ट तथा स्थानीय तहमा सञ्चालित व्यवसायहरु मार्फत सकारात्मक सन्देश प्रदान गर्ने खालका थिए ।
प्रतियोगिताको मूल्याङ्कनको लागि छानिएको ३ सदस्यीय निर्णायक समिति मार्फत १५ वटा उत्कृष्ट तस्बिरहरू छानिएको थियो ।
काठमाण्डौंमा आयोजित उक्त कार्यक्रममा प्रथम, द्धितिय तथा तृतीय स्थान र पब्लिक च्वाईस अवार्ड हासिल गर्ने फाटोग्राफरहरुलाई पुरस्कार वितरण गरिएको हो ।
उक्त प्रतियोगितामा सुयोग कुँवर प्रथम, पारस बज्राचार्य दोस्रो र देवानन्द पोख्रेल तेस्रो भएका छन् ।
विजेताले प्रमाणपत्रका साथमा क्रमश २५ हजार, २० हजार र १५ हजारनगद पुरस्कार प्राप्त गरेका छन् । पब्लिक च्वाईसमा सबैभन्दा बढी भोट प्राप्त गरी शर्मन राज भण्डारीले पब्लिक च्वाइस अवार्ड जित्न सफल भएका छन् ।
उनले प्रमाणपत्रको साथै १० हजार रुपैयाँ प्राप्त गरेका छन् । यसका साथै पुरस्कार वितरण कार्यक्रममा बैंकको तर्फबाट उत्कृष्ट १५ फोटोग्राफरहरूलाई प्रमाणपत्र प्रदान गरिएको थियो । यस संस्करणमा अघिल्लो संस्करणको तुलनामा पुरस्कार राशिमा समेत वृद्धि गरिएको थियो । यस्ता कार्यहरुबाट स्थानीय व्यवसाय, उद्यमशिलता, स्थानीय कलाको प्रबद्र्धन तथा प्रचारप्रसार गर्न सहयोग पुग्ने विश्वास बैंकले लिएको छ ।
ग्राहकहरुलाई अत्याधुनिक, सुरक्षित तथा सहज डिजिटल बैंकिङ्ग सुविधा उपलब्ध गराउँदै आएको महालक्ष्मी विकास बैंकले डिजिटल कारोबार प्रबद्र्धन गर्न, ग्राहक सुविधा अभिवृद्धि गर्न तथा सुरक्षित र नगद रहित बैंकिङ्ग कारोबारलाई बढावा दिन सञ्चालन गरेको “महालक्ष्मी माघ महोत्सव” समेत सफलतापुर्वक सम्पन्न भएको छ ।
मलंगवामा इन्जिनियरको गोली हानी हत्या, सीमा क्षेत्रमा सुरक्षा कडा
रौतहट । सर्लाहीको सदरमुकाम मलंगवामा आइतबार साँझ एक इन्जिनियरको अज्ञात समूहले गोली प्रहार गरी हत्या गरेको छ ।
मलंगवास्थित पूर्वाधार विकास कार्यालयमा कार्यरत ३६ वर्षीय इन्जिनियर प्रमोदकुमार यादवको गोली हानी हत्या गरिएको हो ।
सिरहाको सुखीपुर नगरपालिका–६ घर भई मलंगवा–१० देबिटोलमा श्रीमतीसँगै डेरा गरी बस्ने यादवमाथि अज्ञात समूहले छातीमा गोली प्रहार गरेको थियो ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीका सूचना अधिकारी एवं डिएसपी सरोज राईका अनुसार प्रारम्भिक अनुसन्धानमा इन्जिनियर यादवलाई फोन गरेर डेरा बाहिर बोलाइएको र लगत्तै गोली प्रहार गरिएको देखिएको छ । गोली लागेर अचेत भएका यादवलाई तत्काल प्रादेशिक अस्पताल मलंगवा पुर्याइए पनि चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए ।
घटनाको कारण अझै खुल्न सकेको छैन । प्रहरीले शंकास्पद क्षेत्रमा ‘सिल’ गरेर अनुसन्धान अगाडि बढाएको जनाएको छ । मृतकको शव अहिले प्रादेशिक अस्पताल मलंगवामा राखिएको छ ।
सर्लाहीका प्रमुख जिल्ला अधिकारी रामुराज कडरियाका अनुसार नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बल परिचालन गरी अपराधीको खोजी तीव्र बनाइएको छ । नेपाल–भारत सीमा क्षेत्रमा सुरक्षाकर्मी तैनाथ गरिएको र आवागमनमा अत्यन्त कडाइ गरिएको उनले जानकारी दिए ।
सदरमुकामको आवासीय क्षेत्रमै सरकारी कर्मचारीको हत्या भएपछि स्थानीय बासिन्दा त्रसित बनेका छन् ।
विश्वकपमा आज तीन खेल हुँदै
काठमाडौं । आइसिसी टी–२० विश्वकपअन्तर्गत सोमबार तीन खेल हुँदैछन् । जसमा आज पहिलो खेलमा समूह ‘डी’बाट अफगानिस्तान र यूएईले प्रतिस्पर्धा गर्दैछ भने दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटाली भिड्दैछन् ।
यसैगरी तेस्रो खेलमा सोमबार (आज) साँझ अस्ट्रेलिया र श्रीलंका भिड्नेछन् ।
भारतको दिल्लीमा हुने अफगानिस्तान र यूएईको खेल बिहान ११ बजेर १५ मिनेटमा सुरु हुँदैछ । यो विश्वपमा अफगानिस्तान जितविहीन छ भने यूएईले दुई अंक जोडेको छ । समूह ‘डी’मा अफगानिस्तान अंकबिहीन अवस्थामा तालिकाको चौथो स्थानमा छ भने दुई अंक जोडेको यूएई तेस्रो स्थानमा छ ।
दोस्रो खेलमा समूह ‘सी’का इंग्ल्यान्ड र इटालीबीचको यो खेल भारतको इडन गार्डेनमा दिउँसो ३ बजेर १५ मिनेट जाँदा सुरु हुनेछ । विश्वकपमा इंग्ल्यान्डले दुई खेलमा जित निकालेर चार अंक जोडेको छ भने इटालीले दुई अंक जोडेको छ ।
समूह ‘सी’को इंग्ल्यान्डको यो अन्तिम खेल हो । एक खेल गुमाएको इंग्ल्यान्ड समूह चरणको अन्तिम खेलमा जित निकाल्दै सुपर आठ पुग्न चाहन्छ । पहिलो पटक विश्वकप खेलेको इटाली भने दोस्रो जितको खोजीमा हुनेछ ।
यसैगरी, अस्ट्रेलिया र श्रीलंकाबीचको यो खेल साँझ ७ बजेर १५ मिनेटमा श्रीलंकामा हुँदैछ । शीर्ष स्थानमा रहेको आयोजक श्रीलंका तेस्रो जितको खोजीमा हुनेछ । एक जित र एक हारको सामना गरेको अस्ट्रेलिया भने दोस्रो जितको खोजीमा छ ।
आजदेखि निर्वाचन प्रचार–प्रसार गर्न पाइने
काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि आजदेखि औपचारिक रुपमा प्रचार–प्रसार गर्न पाइने भएको छ ।
मतदान हुने दिनभन्दा १५ दिन अघिदेखि मात्र निर्वाचन प्रचारप्रसारअन्तर्गत जुलुस, आमसभा, कोणसभा गर्न र सञ्चारमाध्यममा आफ्नो निर्वाचनसम्बन्धी सामग्री प्रकाशन वा प्रसारण गर्न सकिने व्यवस्था छ ।
सोही व्यवस्थाअनुसार, आजदेखि यही फागुन १८ गते राति १२ बजेसम्म राजनीतिक दल तथा उम्मेदवारहरूले निर्वाचन प्रचार–प्रसार गर्न सक्ने छन् । निर्वाचनको निष्ठालाई उच्च प्राथमिकतामा राखेर दल तथा उम्मेदवार एवं अन्य सरोकारवाला सबैले निर्वाचन आचारसंहिताको पूर्ण पालना गरी निर्वाचन प्रचार–प्रसार गर्न सक्ने जनाइएको छ । सोही व्यवस्थाभित्र रहेर राजनीतिक दलका उम्मेदवारले औपचारिक रुपमा मतदातासमक्ष मत माग्न पाउनेछन्।
आयोगले आचारसंहिता कार्यान्वयन तथा अनुगमनमा विभिन्न संयन्त्र परिचालन गरिरहेको छ । राजनीतिक दल तथा उम्मेदवारहरूलाई आचारसंहिता उल्लंघन भएको बारे पत्र काटेर स्पष्टीकरण सोध्ने, कानुनी कारबाहीका लागि अघि सर्नुपर्ने अवस्था नआओस् भन्ने स्पष्ट पारेको छ ।
आचारसंहिता राजनीतिक दल एवं सरोकारवाला पक्षहरूसँग व्यापक विचार–विमर्श गरेर तर्जुमा गरिएको आयोगले स्मरण गराएको छ । आचारसंहिताको पूर्ण परिपालना गर्छौं भनेर सबै राजनीतिक दलहरूले प्रतिबद्धता जनाएका छन् ।
आचारसंहिता उल्लंघनका घटनामा आयोगले शून्य सहनशीलता नीति अवलम्बन गरेको कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले जानकारी दिए । उल्लंघनकर्तालाई आयोगले स्पष्टीकरण सोध्ने र उल्लंघनको प्रमाण तथा अवस्था हेरेर सचेत, दण्डजरिवाना तथा उम्मेदवारी खारेजीसम्म हुने कानुनी व्यवस्था छ ।
यसैगरी, दल र उम्मेदवारले तोकिएको मापदण्डका आधारमा पत्रपत्रिकाका साथै ‘अनलाइन’ सञ्चारमाध्यममा पनि विज्ञापनवाट प्रचारप्रसार गर्न सक्नेछन् । निर्वाचन प्रचारप्रसारका लागि आमसभा, कोणसभा गर्दा मञ्चको तयारीका लागि लागेको खर्चको विवरण सम्बन्धित उम्मेदवारले आफैँ वा प्रतिनिधिमार्फत निर्वाचन कार्यालयमा पेस गर्नुपर्नेछ ।
निर्वाचनका समयमा कुनै पनि दल वा उम्मेदवारविरुद्ध तथा निर्वाचनलाई प्रतिकूल असर पार्ने उद्देश्यले सामाजिक सञ्जाल तथा अनलाइन माध्यमबाट एवं संगठितरूपमा निहित राजनीतिक स्वार्थका लागि फैलाइने मिथ्या सूचना, दुष्प्रचार र द्वेषपूर्ण अभिव्यक्ति दिन नपाइने आयोगले उल्लेख गरेको छ ।
आज महाशिवरात्रि, पशुपतिनाथका चार वटै ढोका खुला
काठमाण्डौं । महाशिवरात्रि पर्व आइतबार देशभरका शिवालयमा विधिपूर्वक पूजा, आराधना एवम् दर्शन गरी मनाइँदैछ । महाशिवरात्रिको अवसरमा पशुपतिनाथमा बिहानैदेखि चहलपहल शुरु भएको छ ।
बिहान ४ बजेदेखि नै पशुपतिनाथका चार वटै ढोका खोलिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । दर्शनार्थी र साधुसन्तको घुइँचो लागेको छ । यस वर्ष ८ लाखभन्दा धेरै दर्शनार्थीले पशुपतिमा दर्शन गर्न सक्ने गरी व्यवस्थापन गरिएको छ ।
पशुपति क्षेत्र आसपासमा गाडीको आवागमनमा विशेष व्यवस्थापन गरिएकोछ । कोषका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी बल र ट्राफिक प्रहरीको संयुक्त टोली परिचालन गरिएको छ । भीड नियन्त्रण, हराएका व्यक्तिको खोजतलास, आपत्कालीन उद्धार तथा शङ्कास्पद गतिविधि निगरानीका लागि सिसीटिभी क्यामेरा तथा मोबाइल गस्ती बढाइएको छ ।
पशुपति क्षेत्रमा प्रवेश गर्ने मुख्य नाका तथा मन्दिर परिसर वरिपरि पैदलमार्गको व्यवस्था गरिनुका साथै आपत्कालीन अवस्थामा गाडीका लागि छुट्टै मार्ग निर्धारण गरिएको कोषले जनाएको छ । कोषका कार्यकारी निर्देशक एवं प्रवक्ता सुभाष जोशीका अनुसार दर्शनार्थीको लागि चार वटा छुट्टाछुट्टै लाइनमार्फत दर्शनको व्यवस्था मिलाइएको छ ।
सुरक्षा, स्वास्थ्य, सरसफाइ र ट्राफिक व्यवस्थापनमा विशेष ध्यान दिइएको छ । काठमाण्डौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले दर्शनार्थीलाई सहज रूपमा आवत–जावत तथा दर्शन गर्ने वातावरण मिलाउन ट्राफिक व्यवस्थापन मिलाएको छ ।
गौशाला क्षेत्र भई चक्रपथमा चल्ने गाडी भिडभाड हेरेर सञ्चालन गर्न नसक्ने अवस्था आए मात्रै गौशाला क्षेत्रमा आवागमन निषेध गरी वैकल्पिक मार्गको प्रयोग गरी सहज आवागमनको व्यवस्थापन गर्ने ट्राफिक प्रहरीको तयारी छ । चाबहिल, गौशाला, तिलगंगा क्षेत्रमा निर्वाधरुपमा गाडी चलाउने व्यवस्था मिलाइएको छ । तर आवागमनमा कुनै समस्या हुने अवस्थामा भने डाईभर्सन गरी वैकल्पिक मार्गबाट सञ्चालनको व्यवस्था मिलाउने योजना छ ।
तिनकुनेबाट सिनामङ्गलतर्फ, बौद्ध एरियाबाट गौरीघाटतर्फ, पुरानो बानेश्वर, गौशाला र मित्रपार्क तर्फ आउने सम्पूर्ण मालबाहक गाडीलाई निषेध गरिएको छ । बागमती करिडोर र जोरपाटीबाट चाबहिल हुँदै आउनेलाई गुहेश्वरी पारी पार्किङ स्थान तोकिएको छ ।
गौशाला चोकमा भिडभाड धेरै भई गाडी चल्न नसक्ने अवस्था भएमा चाबहिलबाट गौशालातर्फ, पुरानो बानेश्वरबाट गौशाला तर्फ, ज्ञानेश्वर मैतिदेवीको मोडबाट रातोपुल हुँदै गौशालातर्फ, सिफल चौरबाट जय बागेश्वरीतर्फको रुटमा चल्नेलाई वैकल्पिक मार्ग भई सञ्चालनको व्यवस्था मिलाइने योजना छ ।
आजदेखि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै
काठमाडौँ । प्रतिनिधिसभा निर्वाचनका लागि आजदेखि देशभरि मतदाता शिक्षा कार्यक्रम सुरु हुँदै छ ।
प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि निर्वाचन शिक्षा तथा मतदाता शिक्षा निर्देशिका, २०७८ बमोजिम आजदेखि मतदाता शिक्षा विशेष कार्यक्रम स्वीकृत भएको छ । सोही कार्यक्रमअनुसार सो कार्यक्रम अगाडि बढाउन लागिएको हो ।
आमनागरिकलाई मताधिकारको महत्व र मतदानको प्रक्रियाका विषयमा जानकारी दिने उद्देश्यले आयोगबाट स्वीकृत विशेष कार्यक्रमअनुसार मतदाता शिक्षा कार्यक्रम अगाडि बढ्न लागेको आयोगले जनाएको छ ।
आजदेखि सुरु भएको सो कार्यक्रम यही फागुन १७ गतेसम्म देशभरका ७ सय ५३ स्थानीय तहका छ हजार ७ सय ४३ वडामा सञ्चालन हुनेछ । त्यसका लागि एक–एक जना मतदाता शिक्षा स्वयम्सेवक परिचालन हुनेछन् ।
आयोगका अनुसार त्यसरी खटिएका स्वयंसेवकले आम मतदाताको बस्ती र घरदैलोमा पुगेर नमूना मतपत्रको माध्यमबाट निर्वाचनको महत्व र मतदान प्रक्रियाका बारेमा मतदातालाई जानकारी गराउनेछन्।
प्रभावकारी मतदाता शिक्षाले निर्वाचनमा मतदाताको सहभागिता बढाउनेदेखि बदर मतको अनुपात न्यूनीकरणमा महत्त्वपूर्ण भूमिका खेल्ने विश्वास लिइएको छ ।
आयोगले यो कार्यमा सहयोग, समन्वय र सहजीकरणका लागि सातै प्रदेश सरकार, सबै स्थानीय तह, निर्वाचनको प्रतिस्पर्धामा रहेका राजनीतिक दल, उम्मेदवार तथा सञ्चार जगत्लगायत सम्पूर्ण सरोकारवालामा आयोगले अनुरोध गरेको नारायणप्रसाद भट्टराईले जानकारी दिए ।
टी–२० विश्वकप ः नेपाल र वेस्ट इन्डिज भिड्दै
काठमाडौँ । आईसीसी टी–२० विश्वकप २०२६ अन्तर्गत आज नेपाल र वेस्ट इन्डिज भिड्दै छ । यो खेल मुम्बईको वानखेडे स्टेडियममा बिहान ११ः१५ बजेदेखि सुरु हुनेछ । दुवै टोली आज जित निकाल्ने लक्ष्यसाथ मैदान उत्रिनेछ ।
नेपालले यसअघिका आफ्ना दुवै खेल हारेकाले यो खेलमा जित आवश्यक रहेको छ ।
त्यस्तै, वेस्ट इन्डिजले यसअघिका आफ्ना दुवै खेल जितेर विश्वकपमा शानदार सुरुवात गरेको छ ।
जारी विश्वकपमा नेपाल पहिलो जितको खोजीमा रहेको छ । आफ्नो पहिलो खेलमा इंग्ल्यान्डसँग ४ रनको झिनो हार बेहोरेको नेपाल दोस्रो खेलमा इटालीसँग १० विकेटले पराजित भएको थियो ।
यस्तै, आजै हुने खेलमा दिउँसो नामिबिया र अमेरिका तथा साँझमा भारत र पाकिस्तान भिड्नेछ ।
















