Page 10

आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्दा महासंघ अझ सशक्त र प्रभावकारी बन्छः अध्यक्ष ढकाल

0

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले महासंघको आगामी नेतृत्व सर्वसम्मत रूपमा चयन गर्नुपर्नेमा जोड दिएका छन् ।
ललितपुर उद्योग वाणिज्य महासंघको ५९औँ स्थापना दिवसका अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ढकालले महासंघभित्र सहमति र सहकार्यमार्फत नेतृत्व चयन गर्नु सके संस्थागत एकताको आधार हुने जनाए । उनले निजी क्षेत्रको साझा संस्था भएकाले यसको नेतृत्व पनि साझा सहमतिमै चयन हुँदा महासंघ अझ सशक्त र प्रभावकारी बन्ने धारणा राखे ।
अध्यक्ष ढकालले ललितपुरलाई मौलिक उत्पादनको सहरका रूपमा विकास गर्दै यहाँको उत्पादनको गुणस्तर कायम राख्दै उत्पादन पनि बढाउनु पर्नेमा जोड दिए । “यहाँका परम्परागत सीप, कला र स्थानीय उत्पादनलाई प्रवर्द्धन गर्न सके निर्यात वृद्धि गर्ने ठूलो सम्भावना रहेको छ । तर मौलिक उत्पादनलाई अन्तर्राष्ट्रिय बजारसँग जोड्न गुणस्तरसंगै परिमाण पनि बढाउन आवश्यक छ । ” उनले भने ।
उनले उत्पादनमूलक क्षेत्रमा लगानी वृद्धि, प्रविधिको प्रयोग र बजार विस्तारमार्फत निर्यात अभिवृद्धि गर्नुपर्नेमा जोड दिए । साथै, स्थानीय तह, निजी क्षेत्र र सरकारबीच समन्वय गरी उत्पादनदेखि बजारसम्मको श्रृंखलालाई सुदृढ बनाउनुपर्ने धारणा व्यक्त गरे । साथै उनले उद्यमशीलता विकास, रोजगारी सिर्जना तथा समग्र आर्थिक विकासका लागि ललितपुर उद्योग संघले निर्वाह गरेको भूमिकाको प्रशंसनीय रहको जनाए ।
अध्यक्ष ढकालले देशमा औद्योगिक वातावरण निर्माणका लागि नीतिगत सुधार अपरिहार्य रहेको उल्लेख गर्दै लगानीमैत्री नीति, सरल कर प्रणाली, पूर्वाधार विकास र प्रशासनिक झन्झट कम गर्नु आवश्यक रहेको जनाए । उनले निजी क्षेत्रको आवाजलाई राज्यले गम्भीरतापूर्वक सुन्नुपर्ने र नीति निर्माण प्रक्रियामा निजी क्षेत्रको प्रभावकारी सहभागिता सुनिश्चित गर्नुपर्नेमा जोड दिन्दै त्यका लागि निजी क्षेत्रको एउटै आवाज हुनु पर्ने धारणा राखे ।
अध्यक्ष ढकालले जिल्ला तथा नगरस्तरबाट उठेका माग र सुझावलाई समेट्दै महासंघको विधान संशोधन गरिएको जानकारी दिँदै उनले यसले संगठनलाई थप समावेशी, प्रतिनिधिमूलक र सुदृढ बनाउने विश्वास व्यक्त गरे । संशोधित विधानले जिल्ला नगर तथा महिला उद्यमीहरुको प्रतिनिधित्व बढ्ने जनाए ।

नेपाल बैंकले ल्यायो ब्याज छुटसहित कर्जा चुक्ता वा नियमित गर्ने योजना

0

काठमाडौं । नेपाल बैंकबाट कर्जा उपभोग गरिरहेका आफ्ना कर्जा ग्राहकहरुलाई लक्षित गरी ब्याज छुट सहित कर्जा चुक्ता वा नियमित गर्ने बारे आकर्षक योजना ल्याएको छ ।
सो योजना अनुसार नेपाल बैंकबाट कर्जा उपभोग गरी वि.सं. २०७९ साल चैत्र मसान्त अगाडि खराब वर्गमा वर्गीकरण भएका बक्यौता सावाँ रू. १ करोड सम्मका खराब तथा अपलेखित कर्जा ग्राहकहरूले वि.सं.२०८३ असार मसान्त भित्र योजना अनुसार शर्त सहितको ब्याज छुट सुविधा उपभोग गरी कर्जा चुक्ता गर्ने अवसर प्रदान गरिएकोले बैंकले आफ्ना सम्बन्धित कर्जा ग्राहकहरूलाई ब्याज छुटको सुविधा लिई कर्जा चुक्ता गर्नुहुन अनुरोध समेत गरेको छ ।
साथै वि.सं. २०८० बैशाख १ गते पश्चात निष्कृय वर्ग र सक्रिय वर्गमा रहेका कर्जा ग्राहकहरूले वि.सं. २०८२ चैत्र मसान्त भित्र बक्यौता सावाँ, ब्याज बुझाई कर्जा चुक्ता वा नियमित गरेमा ब्याज छुटको व्यवस्था गरिएकोले बैंकको शाखा कार्यालयमा सम्पर्क गरी ब्याज छुट सुविधाको लाभ लिनुहुन समेत बैंकले अनुरोध गरेको छ ।

सरकारले ल्याउने दीर्घकालीन परियोजनामा कोषको लगानी आवश्यकः अर्थमन्त्री खनाल

0

काठमाडौं । अर्थमन्त्री रामेश्वरप्रसाद खनालले सरकारले ल्याउने दीर्घकालीन परियोजना कोषले लगानी गर्नुपर्ने जनाएका छन्। कोषको ३६ औं वार्षिकोत्सवको उद्घाटन कार्यक्रममा उनले बूढीगण्डकी जलविद्युत आयोजना अघि बढाउने सरकारले स्वीकृत गरिसकेको हुँदा उक्त परियोजनामा लगानी कोष जस्तै अन्य संस्थाले पनि लगानी गर्नुपर्ने जनाए।
उनले दोहोरो कर हटाउन आवश्यक रहेकोमा जोड दिँदै भने,‘कर प्रणालीमा समानता र नीतिगत सहजता आवश्यक रहेको छ ’।
दोहोरो करको विषय आफ्नो कार्यकालमा समाधान नभए पनि अबको सरकारले यसतर्फ काम गर्ने उनले विश्वास व्यक्त गरे। १५– २० वर्षे अवधिको ऋणपत्र जारी गर्ने तयारी अन्तिम चरणमा रहेको जनाउँदै उहाँले त्यस्ता ऋणपत्रले पनि अधिक तरलता न्यूनीकरणमा सहयोग गर्ने जनाए।
सार्वजनिक निजी साझेदारीबाट पनि नयाँ परियोजना, कृषि परियोजनाको लागि भूमिको हदबन्दी हटाउने जस्ता कार्य गरेर अघि बढ्न सकिनेमा उनले जोड दिए।
२०४७ सालमा अन्तरिम सरकारको समयमा खुलेको कोष अहिलेको जेनजी आन्दोलनपछि ३६ औ वर्षमा प्रवेश गरेको स्मरण गराउँदै उनले ७२ औ वर्षसम्मको शुभकामना दिए।
अर्थतन्त्रका सूचकहरु सकारात्मक रहे पनि मध्यपूर्वमा सिर्जित अवस्थाले आपूर्ति संयन्त्र प्रभावित हुन सक्ने चिन्ता उनले व्यक्त गरे।
कोष सञ्चालक समितिका अध्यक्ष तुलसीप्रसाद घिमिरेले कोष स्थापना कालदेखि नै निरन्तर नाफामा सञ्चालन भइरहनु, फरक–फरक किसिमका योजनाहरू सञ्चालनमा ल्याउनु, प्रत्येक वर्ष सहभागी संख्या वृद्धि गर्न सफल हुनु कोषको सफलताको आधार भएको जनाए।
उनले देशको आर्थिक वृद्धिदरमा टेवा पुर्‍याउन, रोजगारी सिर्जना गर्न, कृषि पर्यटन, ऊर्जा र पूर्वाधार निर्माणजस्ता उत्पादनशील क्षेत्रमा लगानी गर्नुपर्ने खाँचो औँल्याए।
सो अवसरमा कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्कीले कोषले सात वटा योजना सञ्चालन गरिरहेको बताउँदै कोषमा उपलब्ध फन्डलाई पूर्वाधार निर्माणका क्षेत्रमा लगानी गर्न र भेन्चर क्यापिटलमार्फत लगानी विस्तार गर्न आवश्यक कार्य गरिरहेको जनाए। यसका लागि ऐन, नियम र कानुन संशोधन प्रक्रियामा अघि बढाइएको समेत उनले बताए। कोषले यान्त्रिकीकरण र अटोमेसनलाई उच्च प्राथमिकतामा राखेर काम गरिरहेको उनको भनाइ थियो।
ब्याजदरमा आएको गिरावटले कोषको आम्दानी प्रभावित भएको जनाए। उपदान कोष भुक्तानीमा करसम्बन्धी अन्योलता रहेकोले त्यसमा समानता ल्याउनुपर्ने जनाउँदै उनले भने,‘ सरकारले दिने सामाजिक भत्ताको कार्य कोषले सञ्चालनमा ल्याएको नागरिक पेन्सन योजनाले दिन सक्छ। तर, त्यसको लागि सरकारले करका दररेटमा समायोजन गर्नुपर्छ’।
नेपाल बैंकर्स संघका अध्यक्ष सन्तोष कोइरालाले कोषले लगानीका नयाँ उपकरण र नयाँ परियोजनामा लगानी गर्नुपर्ने जनाए। उनले बैंकले प्रवाह गर्ने कर्जा असुलीमा समस्या आएको धारणा राखे। कोषका पूर्व अध्यक्ष डा.महाश्रम शर्माले आर्थिक, सामाजिक रूपान्तरणमा कोष अघि बढिरहेको जनाए।
सो अवसरमा नेपाल वित्तीय संस्था कर्मचारी संघका अध्यक्ष अच्युतम पौडेलले कर्मचारीको वृति विकास र सेवा सुविधामा वृद्धि गर्नुपर्ने धारणा राखे भने नागरिक लगानी कोष कर्मचारी युनियनका अध्यक्ष नेत्रविक्रम थापाले अब आउने बजेटमा कर सहुलियतको व्यवस्था गर्नुपर्ने, करार कर्मचारीलाई सिमित प्रतियोगिताको अवसर दिनुपर्ने भनाई राखे। कार्यक्रममा उत्कृष्ट कर्मचारी र जेनजी आन्दोलनमा कोषमा कार्यरत सुरक्षाकर्मीहरूलाई सम्मान गरिएको थियो।

आज घोडे जात्रा, काठमाडौं उपत्यकामा सार्वजनिक बिदा

0

काठमाडौं । चैत्र कृष्ण औँसीका दिन प्रत्येक वर्ष मनाइने घोडे जात्रा पर्व आज विभिन्न कार्यक्रम आयोजना गरी काठमाडौँ उपत्यकामा मनाइँदैछ।
जनविश्वासअनुसार टुँडिखेलको पूर्व–दक्षिण दिशामा रहेको एउटा रूखमा बास गर्ने गुरुमापा भन्ने राक्षसले सहरका बालबालिकालाई खाने गरेको थियो।
पीडित स्थानीयवासीले विभिन्न उपायले त्यसलाई संहार गरे। राक्षसको प्रेतात्मा फेरि जागा भई बालबालिकालाई अनिष्ट गर्नसक्ने भय स्थानीयवासीमा रहिरह्यो। यसै कारण प्रत्येक वर्ष चैत्र कृष्ण औँसीका दिन घोडेजात्रा गरी गुरुमापाको आत्मालाई घोडाको टापले कुल्चाएर दबाउने गरिएको हो।
साथै सहरका कुनै पनि बालबालिकामाथि खतरा नहोस् भनी आजै राति त्यही रूखको फेदमा गुरुमापालाई खानेकुरा पनि दिइन्छ।
यसो गरेपछि वर्षभर बालबालिकालाई गुरुमापाबाट खतरा नहुने विश्वास राजधानीवासीमा छ।
नेपाली सेनाका तर्फबाट आजै टुँडिखेलमा अश्वकला, मोटरसाइकल खेल, शारीरिक व्यायाम, युद्धकला लगायतको प्रदर्शन गरिन्छ।घोडा दौडाएर घोडेजात्रा मनाउने परम्परा छ। यस अवसरमा सरकारले काठमाडौँ उपत्यकामा सार्वजनिक बिदा पनि दिएको छ।

निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएकोमा प्रधानमन्त्रीले गरिन् पशुपतिमा पूजा

0

काठमाण्डौं । प्रधानमन्त्री सुशीला कार्की बुधबार पशुपतिनाथको दर्शन गरी रुद्राभिषेक पूजा गरेकी छन्।
प्रधानमन्त्री कार्कीले निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भएपछि आराध्यदेव पशुपतिनाथलाई धन्यवादस्वरुप उक्त पूजा गरेकी हुन्।
मुलुकलाई शान्ति तथा स्थायित्वको मार्गमा अग्रसर गराउन सबैतर्फबाट साथ र सहयोग प्राप्त भएकोमा आफू कृतज्ञ रहेको भन्दै उनले आगामी दिनमा मुलुक थप उन्नतिको मार्गतर्फ अग्रसर होस् भनी कामना पनि गरिन्।
मुलुकभर सबै नेपालीबीच एकता, सद्भाव र आत्मीयताको भावना बलियो बन्दै जाओस् भनी उनले पुकारा पनि गरिन्।
संकृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री अनिलकुमार सिन्हा, पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव प्रकाशमणि शर्मा, कार्यकारी निर्देशक सुवास जोशीलगायत पनि सहभागी थिए।

रास्वपाको अभिमुखीकरणलाई सभापति लामिछानेले सम्बोधन गर्दै

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदका लागि आयोजना गरेको दुईदिने आवासीय अभिमुखीकरणमा आज सभापति रवि लामिछानेले सम्बोधन गर्ने भएका छन् ।
ललितपुरको ग्वार्कोस्थित होटेल रोयल टुलिपमा हिजो (मंगलबार) उपसभापतिद्धय स्वर्णिम वाग्ले र डीपी अर्यालले कार्यक्रमको उद्घाटन गरेका थिए ।
महामन्त्री कवीन्द्र बुर्लाकोटीले आज सभापति लामिछाने र वरिष्ठ नेता बालेन साह आजको समापन समारोहमा सहभागी हुने जानकारी दिएका छन् ।
अभिमुखीकरणको पहिलो दिन हिजो सभापति लामिछाने र वरिष्ठ नेता साह दुवैजना सहभागी भएका थिएनन् ।

सरकारी तलब भत्ता तथा सुविधा नलिने रास्वपा सांसद गुरुङको घोषणा

0

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद सुदन गुरुङले आफूले सरकारी तलब, भत्ता तथा सेवा–सुविधा नलिने घोषणा गरेका छन्।
पार्टीद्वारा आयोजित अभिमुखीकरण कार्यक्रममा सहभागी हुने क्रममा उनले व्यक्तिगत रूपमा आर्थिक रूपमा सक्षम भएकाले राज्यबाट उपलब्ध हुने सुविधा नलिने स्पष्ट पारे। आफ्नो धारणा व्यक्त गर्दै गुरुङले सार्वजनिक पदलाई सेवा भावका रूपमा लिनुपर्ने उल्लेख गरे।
उनले यातायातका लागि पनि निजी साधन नै प्रयोग गर्ने जनाएका छन्। यद्यपि, सांसदहरूलाई सवारी साधन सुविधा उपलब्ध नहुने व्यवस्था रहेको छ।

वित्तिय साक्षरता सिकाउँदै नबिल बैंक

0

काठमाडौं । नबिल बैंकले ग्लोबल मनी विक अन्तर्गत देशका विभिन्न स्थानमा विद्यार्थी तथा युवा लक्ष्ति वित्तिय साक्षरता अभियान कार्यक्रम मनाइ रहेको छ। यसै सिलसिलामा सोमबार गोरखास्थित श्री सरस्वती माध्यमीक विद्यालयका विद्यार्थीले बैंकिङ प्रणाली, डिजिटल कारोबार, साइबर सुरक्षा लागयतका विषयमा व्यवहारीक जानकारी लिए।
व्यवहारीक ज्ञान सिक्न पाएको भन्दै विद्यार्थीहरुले खुशी व्यक्त गरे। सो विद्यालयकी कक्षा १२की छात्रा लक्ष्मी श्रेष्ठले बचतको महत्वो र बचत गरेको पैसा कहाँ र कसरी सुरक्षीत रुपमा राख्ने जस्ता विषयमा पाएको जानकारी निकै प्रभावकारी रहेको उनले जनाईन।
‘पैसा बैंक जस्ता भरपर्दो संस्थामा जम्मा गर्नु पर्छ। दर्ता नभएका संघ संस्थामा चाहिँ हामीले कहिल्यै पैसा जम्मा गर्न हुँदै भन्ने कुरा एकदम सहि लाग्यो,’ सिकेका कुरा मध्ये सबैभन्दा मन परेका कुरा बारे श्रेष्ठले भनिन्। सुन्दा सामान्य लाग्ने तर दैनिक जीवनमा धेरै उपयोगी हुने यस्ता कुरा अब आफ्ना साथीहरु र परिवारका सदस्यसँग पनि बाँढ्ने उनले जनाईन।
व्यवहारीक र दैनिक जीवनमा चाहिने कुरा सिक्न पाउँदा विद्यार्थीहरु उत्साहित देखिएका थिए र चाख लागेका विषयमा घरीघरी प्रश्न गर्दै ती विषयमा थप प्रष्ट हुँदै थिए। डिजिटल कारोबार गर्दा अपनाउनु पर्ने सुरक्षा उपायहरु बारे विद्यार्थीहरुले धेरै रुचि दिएर सुनेका थिए।
मोबाइलमा व्यक्तिगत र संवेदनशील विवरण हुने र त्यो गलत हातमा गए समस्या पर्न सक्ने कुरालाई विद्यार्थीहरुले निकै ध्यान दिएर सुने। ‘मोबाइल बनाउन जाँदा सिम छोड्न हुन्न भन्ने महत्वपूर्ण कुरा पनि सिकेँ,’ श्रेष्ठले भनिन्। ‘मोबाइलको सिममा पनि हाम्रा महत्वपूर्ण व्यक्तिगत विवरणहरु हुने रहेछन्। मलाई थाहा थिएन।’
यस वर्ष ग्लोबल मनी विक चैत २ देखि ८ गतेसम्म मनाइँदै छ। यस वर्षको नारा ‘स्मार्ट मनी टक्स’ रहेको छ। यस अवसरमा नबिल बैंकले देशभर रहेका आफ्ना विभिन्न शाखा कार्यालय मार्फत वित्तीय साक्षरता कार्यक्रम सञ्चालन गरिरहेको छ ।
कार्यक्रममा सहभागी धेरै विद्यार्थीहरूका रुची पनि यीनै विषयमा केन्द्रति रहेको उनीहरुले सोधेका प्रश्नबाट प्रष्ट हुन्थ्यो। धेरैले कर्जा कसरी लिने भन्ने सोधे भने कतिले धितोका रूपमा कस्ता सम्पत्ति राख्न सकिन्छ भन्ने जिज्ञासा राखेका थिए। कक्षा १२ मा अध्ययनरत छात्र अनिश खत्री चाहिँ विदेशबाट सहि तरिकाले पैसा पठाउने तरिका सिकेकोमा खुशि व्यक्त गरे। ‘हामीले कमाएको पैसा कसरी लगानी गर्न सकिन्छ भनेर सिक्यौं,’ उनले भने। ‘यो एकदमै उपयोगी कुरा हो। यस्तै विदेशबाट पैसा पठाउने माध्यहरु रहेछन्। त्यसबारे पनि थाहा पाइयो।’
नबिल बैंकले ग्लोबल मनी विक अभियान मार्फत देशभर रहेका करिव १ सय ९० विद्यालय मार्फत १५ हजार बढी विद्यार्थीहरुलाई वित्तिय शिक्षाबारे जागरण गर्ने योजना बनाएको छ।

रास्वपाका दुई सांसदविरूद्व मुद्दा दायर

0

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका दुई नवनिर्वाचित सांसदविरुद्ध सर्वोच्च अदालतमा मुद्दा परेको छ।
सिन्धुली क्षेत्र नं १ बाट निर्वाचित धनेन्द्र कार्की र उदयपुर क्षेत्र नं २ बाट निर्वाचित सूर्यबहादुर तामाङविरुद्ध मंगलबार रिट दायर भएको हो।
सिन्धुली १ का एमाले उम्मेदवार प्रदीपकुमार कटुवाल र उदयपुर २ का नेकपा (एमाले) कै उम्मेदवार अम्बरबहादुर रायमाझीले उनीहरूलाई निर्वाचित घोषणा गर्ने आयोगको निर्णय बदर गरेर आफूलाई निर्वाचित घोषणा गर्न माग गरेका छन्। उनीहरू कालोसूचीमा रहेको भन्दै अयोग्य भएको दाबी गरेका छन्।
रिटमार्फत निर्वाचन आयोगको निर्णय खारेज गरी आफूहरूलाई विजयी घोषणा गर्न माग गरिएको छ भने शपथ रोक्न अन्तरिम आदेशसमेत माग गरिएको छ।
यस विषयमा अदालतले चैत २५ गते सुनुवाइ गर्ने तय भएको छ।

रवि लामिछानेको रिटमा बिहीबार सुनुवाइ हुने

0

काठमाडौँ । सर्वोच्च अदालतले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धीकरण र संगठिन अपराधसम्बन्धी मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदन आज हेर्न नभ्याएपछि ‘हेर्दाहेर्दै’मा बिहीबार सुनुवाइ हुने भएको छ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासमा आइतबारदेखि सुनुवाइ सुरु भएको थियो । आज पनि सुनुवाइ नसकिएकाले हेर्दाहेर्दैमा यही ५ चैत (बिहीबार) मा सुनुवाइ हुने सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए ।
यसअघि सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न यही १ चैतका लागि पेस गर्न आदेश दिएको थियो ।
महान्यायाधीवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धीकरण र संगठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन् । उक्त निर्णयविरूद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए ।

लेटेष्ट समाचार

आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन

काठमाडौं । आज मातातीर्थ औँसी अर्थात् आमाको मुख हेर्ने दिन । प्रत्येक वर्ष वैशाख कृष्ण औँसीका दिनमा आमालाई श्रद्धा तथा भक्तिसाथ आमालाई मीठा मीठा...

भारत भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने निकट भविष्यमा भारत भ्रमणमा जाने भएका छन्। भारतको सत्तारुढ भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष...

एक महिने युद्धपछि इजरायल र लेबनानबीच १० दिने युद्धविराम

काठमाण्डौं । इजरायल र लेबनानबीच झन्डै एक महिना लामो युद्धपछि १० दिनको युद्धविराम भएको छ । योसँगै नागरिकहरूले केही शान्तिको महसुस गरेका छन् । लामो...