काठमाडौं । ग्लोबल आइएमई बैंकले ग्लोबल मनि विक २०२६ को अवसरमा विद्यार्थी तथा युवा लक्षित वित्तीय साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको छ ।
बैंकले ग्लोेबल मनि विक २०२६ को अवसर पारेर मुलुकका सातवटै प्रदेशमा सप्ताहव्यापी रुपमा विद्यार्थी तथा युवा लक्षित वित्तीय तथा डिजिटल साक्षरताका कार्यक्रमहरु आयोजना गर्न लागेको हो ।
बैंकले ग्लोबल मनि विक २०२६ को मुख्य नारा “स्मार्ट मनि टक्स”लाई आत्मसाथ गरी यहि मार्च १६ देखी मार्च २२, २०२६ सम्म बैंकका विभिन्न शाखा कार्यालयहरुबाट वित्तीय साक्षरताको कार्यक्रम संचालन गर्नेछ ।
यसका साथै, बैंकले वित्तीय साक्षरतासम्बन्धी विभिन्न सामाग्रीहरु उत्पादन तथा प्रकाशन गरी आफ्नो आधिकारिक सामाजीक सञ्जालहरुमार्फत् पनि प्रशारण गर्नेछ ।
वित्तीय साक्षरता अभिवृद्विका लागि बैंकले हरेक वर्ष आफ्ना शाखा कार्यालयहरुमार्फत् विभिन्न कार्यक्रमहरु संचालन गर्दै आईरहेको छ ।
यस आर्थिक वर्षमा हालसम्म बैंकको ७० भन्दा बढि शाखा कार्यालयहरुले वित्तीय साक्षरता कार्यक्रम सम्पन्न गरीसकेका छन् ।
कार्यक्रममा बचत, कर्जा, रेमिट्यान्स, डिजिटल बैंकिङ्ग, बीमा, लगानी, अतिरिक्त बैंकिङ्ग सेवाहरु, वित्तीय ठगी र वित्तीय अनुशासनसम्बन्धी विषयवस्तुमा जानकारी गराइएको छ ।
बैंकको ३५२ शाखा कार्यालय, ३७९ एटिएम, १४७ शाखा रहित बैंकि∙ सेवा, ६८ एक्सटेन्सन तथा राजश्व संकलन काउन्टर तथा ३ वटा बैदेशिक प्रतिनिधि कार्यालय समेत गरी १,००० भन्दा बढि सेवा केन्द्रबाट आफ्ना ग्राहकलाई उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको छ ।
ग्लोबल आइएमई बैंकले विद्यार्थी तथा युवालक्षित वित्तीय साक्षरता कार्यक्रम आयोजना गर्ने
कालंगा हाइड्रोको आईपीओ चैत १० देखि निष्काशन खुला
काठमाडौं । कालंगा हाइड्रो लिमिटेडले चैत १० गतेदेखि आईपीओ निष्काशन गर्ने भएको छ ।
कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा तथा वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि आईपीओ निष्काशन गर्न लागेको हो ।
बिक्री प्रबन्धक सानिमा क्यापिटल लिमिटेडका अनुसार कम्पनीले १४ करोड रुपियाँबराबरको १४ लाख कित्ता शेयर आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुका लागि निष्काशन गर्न लागेको हो ।
त्यस्तै ३ करोड ५० लाख रुपियाँबराबरको ३ लाख ५० हजार कित्ता साधारण शेयर नेपाल सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृती प्राप्त गरी विदेशमा रोजगार गरी रहेका नेपालीहरुका लागि निष्काशन गर्न लागेको हो ।
उक्त कम्पनीको आईपीओका लागि लआयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दाहरुले छिटोमा चैत २४ गते र ढिलोमा २०८३ बैशाख ९ गतेसम्म आवेदन दिन सक्ने छन् ।
यसैगरी वैदेशिक रोजगारीमा रहेका नेपालीहरुले छिटोमा चैत १५ गते र ढिलोमा चैत २४ गतेसम्म आवेदन दिन सक्ने छन् ।
कम्पनीले जारी पूँजी १ अर्ब ४० करोड रुपियाँको ३५ प्रतिशत अर्थात ४९ करोड रुपियाँ बराबरको ४९ लाख कित्ता शेयर निष्काशन गर्ने अनुमति पाएको थियो ।
कम्पनीले बझाङ जिल्लामा सञ्चालन गरेको १५.३३ मेगावाटको कालंगागाड जलविद्युत आयोजनाको कुल लागत ४ अर्ब ३३ करोड ९३ लाख ४२ हजार ३१० रुपियाँ ३ पैसा रहेको छ । सो आयोजनाबाट २०७९ माघ २७ गतेदेखि व्यवसायी उत्पादन भइरहेको छ ।
कम्पनीले पहिलो चरणको बाँडफाँट पनि दोस्रो चरणमा सर्वसाधारणका लागि आईपीओ निष्काशन गर्नेछ ।
नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष सञ्चालन सम्झौता
काठमाडौं । नागरिक लगानी कोष र काठमाडौं विश्वविद्यालयबीच उपदान कोष व्यवस्था एवम् सञ्चालनसम्बन्धी सम्झौता भएको छ ।
विश्वविद्यालयका उपकुलपति प्राडा अच्युतप्रसाद वाग्लेसमेतको उपस्थितिमा सोमबार भएको उक्त सम्झौतामा कोषको तर्फबाट कार्यकारी निर्देशक पर्वतकुमार कार्की र विश्वविद्यालयका तर्फबाट प्र.।डा. राजीव श्रेष्ठले हस्ताक्षर गरेका छन् ।
सम्झौता पश्चात विश्वविद्यालयबाट वार्षिक रूपमा कोष कट्टा गरी प्राप्त भएका रकम सम्बन्धित शिक्षक तथा कर्मचारीको खातामा कोषले अद्यावधिक गर्नेछ । कोष ऐनअनुसार कोषमा योगदान गरेको रकमबाट आर्जन गरेको ब्याज तथा प्रतिफल शिक्षक तथा कर्मचारीको कोषमा रहेको खातामा जम्मा गर्ने लगायतका अतिरिक्त सुविधा कोषले उपलब्ध गराउनेछ ।
विश्वविद्यालयका स्थायी शिक्षक तथा कर्मचारीहरूलाई कोषको नियमानुसार पाउने वा प्रदान गर्ने ऋण सापटी पनि कोषले प्रदान गर्नेछ । त्यसैगरी विद्यालयको सिफारिसमा सेवानिवृत शिक्षक, कर्मचारीलाई उपदान रकम कोषले भुक्तानी गर्ने सम्झौतामा उल्लेख छ ।
रविको मुद्दा फिर्तासम्बन्धी रिटमा आज निर्णय हुँदै
काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेविरुद्धको सम्पत्ति शुद्धिकरण र सङ्गठित अपराध मुद्दा फिर्ता गर्ने निर्णयविरुद्धको रिट निवेदनमा सर्वोच्च अदालतले सोमबार सुनुवाइ गर्दैछ ।
न्यायाधीशद्वय सारङ्गा सुवेदी र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले आइतबार हेर्दाहेर्दैमा राखेर सोमबार सुनुवाइ गर्न लागेको हो ।
यसअघि, सर्वोच्च अदालतका न्यायाधीशद्वय सपना प्रधान मल्ल र श्रीकान्त पौडेलको संयुक्त इजलासले उक्त निवेदनलाई नियमित सुनुवाइ गर्न आइतबारका लागि पेस गर्न आदेश दिएको थियो।
महान्यायाधिवक्ता सविता भण्डारी बरालले लामिछानेविरुद्ध अघिल्लो सरकारको पालामा लगाइएका सम्पत्ति शुद्धिकरण र
सङ्गठित अपराधका मुद्दा फिर्ता गर्ने निर्णय गरेकी थिइन्। उक्त निर्णयविरुद्ध युवराज पौडेल, वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी र अधिवक्ता आभास रेग्मीले सर्वोच्च अदालतमा छुट्टाछुट्टै रिट निवेदन दायर गरेका थिए।
रिट निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ताहरू टीकाराम भट्टराई, दिनेश त्रिपाठी, सुरेन्द्र भण्डारी र अनुपम भट्टराईलगायतले बहस गरेका थिए । महान्यायाधिवक्ताले अभियोगपत्र संशोधनको आवरणमा मुद्दा फिर्ता लिएको दाबी गर्दै उनीहरूले सर्वोच्चले न्यायिक हस्तक्षेप गर्नुपर्ने तर्क गरेका थिए । यसलाई मान्यता दिँदा महान्यायाधिवक्ताले अधिकार दुरुपयोग गर्ने अभ्यासको सुरुआत हुने उनीहरूको दाबी थियो ।
अब सरकारका तर्फबाट नायब महान्यायाधिवक्ता सञ्जीवराज रेग्मीसहितको टोलीले बहस गर्नेछन् भने लामिछानेका तर्फबाट वरिष्ठ अधिवक्ताहरू सुशीलकुमार पन्त, रमणकुमार श्रेष्ठ र अधिवक्ता दीपेन्द्र झाले बहस गर्ने तयारी छ ।
महान्यायाधिवक्ता भण्डारीले लामिछानेविरुद्ध कास्की, काठमाडौं, रूपन्देही र पर्सा जिल्ला अदालतमा दायर मुद्दामा संगठित अपराध र सम्पत्ति शुद्धीकरणको दाबी कायम नरहने गरी अभियोगपत्र संशोधन गर्ने निर्णय गत ३० पुस २०८२ मा गरेकी थिइन् ।
उक्त निर्णयमा लामिछानेमाथि राजनीतिक प्रतिशोधका आधारमा अभियोग लगाइएको र बचतकर्ताको हितलाई प्राथमिकता दिनुपर्ने तर्क प्रस्तुत गरिएको थियो ।
प्रधानमन्त्री कार्कीले आफ्नै स्वकीयलाई दिएको नियुक्ति १०० प्रतिशत गलत ः महावीर पुन
काठमाडौं । नवनिर्वाचित सांसद तथा पूर्वमन्त्री महावीर पुनले प्रधानमन्त्री सुशीला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुख पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई नियुक्त गरेकोप्रति असन्तुष्टि व्यक्त गर्दै सच्याउन सुझाव दिएका छन् । सामाजिक सञ्जालमा लेख्दै पुनले उक्त नियुक्ति सय प्रतिशत गलत भएको जनाए ।
‘प्रधानमन्त्रीज्यूले राष्ट्रिय प्रकृति संरक्षण कोषको कार्यकारी प्रमुखको पदमा आफ्नै स्वकीय सचिव आदर्श श्रेष्ठलाई गरेको नियुक्ति १०० प्रतिशत गलत हो,’ पुनले लेखेका छन्, ‘आदर्श भाइ, प्रधानमन्त्रीज्यूको इज्जत धुलोमा नमिसियोस् भन्नाको खातीर त्यो पद नलिउ । त्यति सानो लोभले प्रधानमन्त्रीज्यूले कमाउनु भएको ऐतिहासिक इज्जत कृपया धुलोमा नमिलाई देउ ।’
यस्तै, उनले नातावाद र कृपावादका कारण पुराना दलहरू कमजोर बनेको उल्लेख गर्दै यस्तै अभ्यास दोहोरिए नयाँ दलहरू पनि भविष्यमा कमजोर बन्नसक्ने उल्लेख गरे ।
कांग्रेस सुधारका लागि महामन्त्री पौडेलले मागे सुझाव
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले आगामी दिनमा पार्टीमा गरिनुपर्ने सुधारका लागि कार्यकर्ता तथा शुभेच्छुकसँग सुझाव मागेका छन् ।
सामाजिक सञ्जालमार्फत महामन्त्री पौडेलले नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयमा सुझाव दिन सार्वजनिक आह्वान गरेका हुन् ।
‘भर्खरै सम्पन्न आम निर्वाचन २०८२ को नतिजा हाम्रासामु आइसकेको छ । पुषमा सम्पन्न विशेष महाधिवेशनले निर्देश गरेका कार्यदिशालाई समेत आत्मसात गर्दै पार्टीको नियमित महाधिवेशनको छिट्टै आयोजना गर्नुपर्नेछ । यिनै पृष्ठभूमिमा पार्टीलाई आगामी दिनमा कसरी अगाडि लैजाने भन्ने सम्बन्धमा छलफल गर्न नेपाली कांग्रेसको केन्द्रीय कार्य समितिको बैठक बस्दै छ,’ उनले लेखेका छन्, ‘यसै परिस्थितिमा नेपाली कांग्रेसमा गर्नुपर्ने नीतिगत, संरचनागत तथा व्यवहारिक सुधारका विषयहरू के हुन सक्लान् रु सुझाव उपलब्ध गराई सहयोग गरिदिनुहुन नेपाली कांग्रेसका समर्थक तथा शुभेच्छुक सबैमा विनम्र अनुरोध गर्दछौँ ।’
महामन्त्री पौडेलले प्राप्त सुझावलाई पार्टीले आत्मसात गर्ने प्रतिबद्धता समेत जनाएका छन् । कांग्रेसले आम निर्वाचनका सन्दर्भमा समीक्षा गर्दै भावी रणनीति तय गर्दै छ । यसैका लागि महामन्त्री पौडेलले सुझाव मागेका हुन् ।
कांग्रेसले २० जना समानुपातिक सांसदको नाम टुंग्यायो, १५ जना महिला अनिवार्य
काठमाण्डौं । नेपाली कांग्रेसले समानुपातिक तर्फका २० जना सांसदको नाम टुंग्याएको छ ।
आईतबार कांग्रेस पार्टी कार्यालय सानेपामा बसेको कार्यसम्पादन समितिको बैठकले २० जनाको नाम टुंग्याएको हो ।
कांग्रेसले समानुपातिकमा प्राप्त गरेको २० सिटमध्ये १५ जना महिलाको अनिवार्य सहभागिता हुनुपर्नेछ । सोहीअनुसार सांसद छानिएको कांग्रेसका प्रवक्ता देवराज चालिसेले जानकारी दिए ।
उनले भने, ‘गत निर्वाचनको कुल सदर मत १ करोड ८ लाख ३५ हजार ३५ मध्ये नेपाली कांग्रेस पार्टीले १७ लाख ५९ हजार १७२ मत प्राप्त गरेको थियो । निर्वाचन आयोगको नियम बमोजिम हामीले प्राप्त गरेको मतको आधारमा २० वटा सिट संख्या प्राप्त गरेको छ । २० जना प्रतिनिधि पठाउँछौं, त्यसमा १५ जना महिला अनिवार्य छ । आदिवासी जनजातिबाट ६, खसआर्यबाट ६, थारु, दलित, मधेशी, मुस्लिम र पिछडिएको क्षेत्रबाट मिलाएर अन्य सांसद चयन गरिएको छ ।’
उनले संघीय संसद्मा ३३ प्रतिशत महिला अनिवार्य सुनिश्चित हुनुपर्ने भएकाले २० सिटमध्ये १५ जना महिला अनिवार्य रहेको जनाए । उनले विभिन्न क्लस्टर मिलाएर समानुपातिक सांसद छानिएको र आईतबार नै निर्वाचन आयोगमा नामावली बुझाइने जानकारी दिए ।
प्रवक्ता चालिसेले बन्दसूचीमा आधारित भएरै निर्णय गरिएको र आयोगले रुजु गरेपछि नामावली सार्वजनिक हुने जनाए ।
रवि लामिछानेको मुद्दा हेर्दाहेर्दैमा
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको मुद्दा आज हेर्दाहेर्दैैमा रहेको छ ।
उनीविरुद्धको सम्पत्ति सम्पत्ति शुद्वीकरण र संगठित अपराधको मुद्दामा फिर्ता लिने महान्यायाधिवक्ता कार्यालयको निर्णयविरूद्व परेको रिटको सुनुवाई आज हेर्दाहेर्दैमा रहेको हो ।
न्यायाधीश सारंगा सुवेदी र सुनीलकुमार पोखरेलको इजलासमा मुद्दाको सुनवाइ भएको थियो । मुद्दाको सुनुवाई भोलि पनि हुनेछ ।
गृहमन्त्री अर्याल राष्ट्रियसभा सदस्यमा मनोनितका लागि सिफारिस
काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल रिक्त राष्ट्रियसभा सदस्यका लागि सिफरिस भएका छन् ।
आज बसेको मन्त्रिपरिषद् बैठकले अर्याललाई राष्ट्रियसभा सदस्यमा मनोनीतिका लागि राष्ट्रपति रामचन्द्र पौडेल समक्ष सिफारिस गर्ने निर्णय गरेको हो ।
हिमालयन लाइफ इन्स्योरेन्सका बीमितले एक लाखसम्मको कर्जा अनलाइनबाटै लिन पाउने
काठमाडौँ । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडका बीमितहरुले एक लाख रुपैया सम्मको कर्जा अनलाइनबाटै आवेदन गरी लिन पाउने भएका छन् । कम्पनीका बीमितहरुलाई सहज रुपमा कर्जा उपलब्ध गराउने उद्धेश्यले खल्ती एपको सहकार्यमा यस प्रकारको सुविधा उपलब्ध गराईएको हो ।
कम्पनीमा बीमा गरेका बीमितहरुले बीमालेख अन्तर्गत कर्जा लिन योग्य भई अनलाइन आवेदन गरे पश्चात कम्पनीले कर्जा उपलब्ध गराउने व्यवस्था गरेको छ । बीमा कम्पनीहरुको नियमनकारी निकाय नेपाल बीमा प्राधिकरणले जारी गरेको निर्देशिका अनुसार बीमा गरेको तीन बर्ष पुरा भए पश्चात बीमितहरुले कर्जा लिन पाउने व्यवस्था रहेको छ ।
कम्पनीले खल्ती एपको सहकार्यमा अनलाइनबाट बीमालेख अन्तर्गतको कर्जा लिन सक्ने व्यवस्था गरेको कारण एक लाखसम्मको कर्जा लिन कम्पनीमा जानै नपर्ने र जुनसुकै स्थानमा बसेर पनि कर्जा प्राप्त गर्न सकिने भएको छ । कम्पनीका बीमितहरुले बीमालेख अन्तर्गत कर्जा लिनको लागि सर्वप्रथम खल्ती एपमा रहेको एचएलआइ डिजिटल लोन अप्सनमा जाने, त्यसमा आउने बीमालेख नम्बरमा आफ्नो बीमालेख नम्बर दर्ता गरे पश्चात एक लाख सम्मको सिमा भित्र रही कर्जाको आवेदन गर्नु पर्ने र त्यसपछि प्राप्त हुने ओटिपी नम्बर दर्ता गरे पश्चात आफुले लिन चाहेको बीमालेख कर्जा आफ्नो खल्ती वालेटरखातामा प्राप्त हुने व्यवस्था रहेको छ । कम्पनीबाट अनलाइन बीमालेख कर्जा सुविधा प्राप्त गर्नको लागि कम्पनीमा बीमा गर्दा र खल्ती एप खोल्दा प्रयोग गरिएको केवाइसी र मोबाइल नम्बर समेत मिलेको हुनु पर्ने अन्यथा कर्जा प्राप्त नहुने कम्पनीले जनाएको छ ।
कम्पनीका बीमितहरुलाई छिटो, छरितो रुपमा तत्कालै बीमालेख अन्तर्गतको कर्जा प्रदान गर्न यस प्रकारको सुविधा ल्याईएकोले यस सुविधाको अधिकतम रुपमा प्रयोग गर्नका लागि कम्पनीका प्रमुख कार्यकारी अधिकृत कपिल कुमार दाहालले सवैलाई आग्रह गरे । अनलाइन बीमालेख कर्जा सुविधाको प्रभावकारिता हेरेर आगामी दिनमा यस प्रकारको सुविधालाई बिस्तार गर्दै लगिने कम्पनीले जनाएको छ ।

















