Page 16

ज्योति विकास बैंकको वार्षिक साधारण सभा सम्पन्न, गतवर्ष तिर्यो रु. ४१ करोड कर

0

काठमाडौं । ज्योति विकास बैंक लिमिटेडको १८औं वार्षिक साधारण सभा आज सञ्चालक समितिका अध्यक्ष हरि चन्द्र खड्काको सभापतित्वमा सम्पन्न भएको छ ।
उक्त समारोहमा बैंकका शेयरधनीहरु तथा बैंकका सञ्चालक समितिका सदस्यहरु, पूर्व सञ्चालकहरु, बैंकका विभिन्न पदाधिकारीहरु र कर्मचारीवर्गको उपस्थिति रहेको थियो । बैंकका अध्यक्ष हरिचन्द्र खड्काले औपचारिक रूपमा सभाको शुभारम्भ गरेका थिए ।
सभाले बैंकको आर्थिक वर्ष २०८१–८२ को सञ्चालक समितिको वार्षिक प्रतिवेदन पारित गर्नुका साथै लेखा परीक्षकको प्रतिवेदन सहित २०८२ आषाढ मसान्तसम्मको वासलात, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरण लगायतका वार्षिक वित्तीय विवरणहरू माथि छलफल गरी स्वीकृत गर्ने प्रस्ताव पारित गरेको छ ।
यसैगरी सभाले यस विकास बैंकको सहायक कम्पनी ज्योति क्यापिटल लि। को आव २०८१–८२ को वित्तीय विवरण सहितको बैंकको एकीकृत वित्तीय विवरण छलफल गरी पारित गर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ । साथै, सभाले बैंकको आव २०८२–८३ को लेखापरिक्षण गर्न लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव छलफल गरी पारित गरेको छ ।
साधारण सभामा बैंकका अध्यक्ष खड्काले वार्षिक प्रतिवेदन संक्षेपमा प्रस्तुत गरेका थिए । यसैगरी, सभामा बैंकका प्रमुख कार्यकारी अधिकृत कपिल ढकालले समीक्षाधीन अवधिमा बैंकले हासिल गरेका मुख्य उपलब्धिहरूको जानकारी गराएका थिए ।
साथै, आर्थिक वर्ष २०८१–८२ को वार्षिक प्रतिवेदनमा विभिन्न शेयरधनीहरूले आ–आफ्ना जिज्ञासा र सुझावहरू व्यक्त गरेका थिए । शेयरधनीहरुबाट आएका उक्त जिज्ञासाको जवाफ अध्यक्ष खड्का र प्रमुख कार्यकारी अधिकृत ढकालले दिएका थिए ।
आफ्नो खुद मुनाफाबाट नेपालमा हाल सञ्चालनमा रहेका अन्य बैंक तथा वित्तीय संस्थाहरुले सामाजिक उत्तरदायित्व अन्तर्गत समाजिक कार्यमा गर्ने योगदान भन्दा ५० प्रतिशत बढी रकम छुट्याई समाजप्रति थप उत्तरदायी बनेको यस विकास बैंकले नागरिकको सर्वोत्तम हित सदा उच्च प्राथमिकतामा राखेको छ ।
स्वस्थ्य र सुदृढ जनशक्ति नै राष्ट्र निर्माणको मेरुदण्ड हो भन्ने दृढ़ मान्यतालाई शिरोधार्य गर्दै, यस विकास बैंकले नवजात शिशुको अकाल मृत्यु रोकथाम र जीवन रक्षा गर्न चालेको स्पष्ट पहलकदमी तथा योगदानले ७० वटा न्यानो नानी मार्फत हरेक वर्ष २५९० भन्दा बढी नेपाली शिशुहरुको अमूल्य जीवन रक्षा गर्न सफल भएको छ । यस्ता जिवन रक्षण गर्ने अतिप्रमुख क्षेत्रमा नेपालमा रहेका बैंक तथा वित्तीय संस्थाहरू मध्ये ज्योति विकास बैंकले अग्रस्थानमा रही काम गर्दै समाजमा एक सकारात्मक परिवर्तनको बीजारोपण गरेको छ।
यस विकास बैंकले राष्ट्रप्रति आफ्नो दायित्व पूर्ति गर्दै गएको आर्थिक वर्षमा रु. ४१ करोड करमा योगदान पुर्‍याएको छ । बैंकको हालको चुक्ता पूँजी रू. ४ अर्ब ३९ करोड ५७ लाख ८५ हजार रहेको छ । बैंकले उपत्यका र उपत्यकाबाहिर गरी हाल ११७ शाखा कार्यालय, ३ विस्तारित काउन्टर तथा ७५ वटा एटीएम मार्फत बैंकिङ्ग सेवा उपलब्ध गराउँदै आइरहेको जनाएको छ ।

विदेशी विनिमय सञ्चिति ३३ खर्ब नाघ्यो

0

काठमाण्डौं । चालू आर्थिक वर्षको माघ मसान्तसम्म नेपालको कुल विदेशी विनिमय सञ्चिति ३३ खर्ब रुपैयाँ नाघेको छ ।
नेपाल राष्ट्र बैंकले बुधबार सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनअनुसार गत असार मसान्तको तुलनामा विदेशी विनिमय सञ्चिति २३.३ प्रतिशतले बढेर २६ खर्ब ७७ अर्ब रुपैयाँबाट ३३ खर्ब २ अर्ब रुपैयाँ पुगेको हो ।
अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा १९ अर्ब ५० करोड रहेकोमा माघ मसान्तसम्म १६.७ प्रतिशतले बढेर २२ अर्ब ७६ करोड पुगेको छ । कुल सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति पनि बढेको छ ।
असार मसान्तमा २४ खर्ब १४ अर्ब रुपैयाँ रहेको यस्तो सञ्चिति माघ मसान्तसम्म २१.२ प्रतिशतले वृद्धि भई २९ खर्ब २६ अर्ब रुपैयाँ पुगेको छ । कुल विदेशी विनिमय सञ्चितिमा भारतीय मुद्राको अंश २१.५ प्रतिशत रहेको राष्ट्र बैंकले जनाएको छ ।
राष्ट्र बैंकका अनुसार चालू आर्थिक वर्षको सात महीनासम्मको आयातलाई आधार मान्दा हालको विदेशी विनिमय सञ्चिति बैंकिङ क्षेत्रसँग २१.३ महीनाको वस्तु आयात तथा १८ महीनाको वस्तु र सेवा आयात धान्न पर्याप्त रहेको छ ।

उदयपुर–२ का रास्वपा सांसद तामाङ कालोसूचीमा

0

उदयपुर । उदयपुर–२ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित राष्ट्रिय स्वतन्त्र पार्टीका सूर्यबहादुर तामाङ कर्जा सूचना केन्द्रको कालोसूचीमा रहेको तथ्य सार्वजनिक भएको छ।
केन्द्रको अभिलेखअनुसार तामाङ संलग्न ‘मकालु कान्जिरुवा अटो लिंक प्रालि’ चेक बाउन्स प्रकरणमा कालोसूचीमा परेको देखिएको हो। उक्त कम्पनीका सञ्चालक तामाङ र लीला राई रहेको उल्लेख छ।
हालै सम्पन्न निर्वाचनमा तामाङले १४ हजार ८०२ मत प्राप्त गर्दै विजयी भएका थिए। उनका निकटतम प्रतिस्पर्धी एमालेका अम्बरबहादुर रायमाझीले ७ हजार ६४८ मत ल्याएका थिए।
निर्वाचन परिणाम सार्वजनिक भइसकेपछि मात्रै तामाङको नाम कालोसूचीमा रहेको विवरण बाहिर आएको हो। यस विषयमा सम्बन्धित निकायले आवश्यक प्रक्रिया र अध्ययन अघि बढाउने जनाइएको छ।

अपेक्षा गरेजस्तो मत पाउन सकिएन, जनताको फैसला स्वीकार्य छ ः अध्यक्ष ओली

0

काठमाडौं । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले आफू र आफ्नो पार्टीले अपेक्षा गरेजस्तो मत पाउन नसकेको स्वीकार गरेका छन् ।
‘यस पटकको निर्वाचनमा मैले अपेक्षा गरेजस्तो परिणाम प्राप्त गर्न सकिनँ । हाम्रो पार्टीले पनि अपेक्षित परिणाम ल्याउन सकेन । लोकतन्त्रमा अन्तिम फैसला जनताकै हुन्छ, र त्यो फैसला शिरोधार्य गर्नु म र मेरो पार्टीको कर्तव्य हो । जनताको मतलाई म पूर्ण सम्मानका साथ स्वीकार गर्दछु ।’ अध्यक्ष ओलीले फेसबुकमा लेखेका छन् ।
अध्यक्ष ओलीले यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर पार्टीको पक्षमा उभिने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
‘यस कठिन घडीमा पनि सूर्य चिन्हमा मतदान गरेर हाम्रो पक्षमा उभिनुहुने सम्पूर्ण मतदाता, नेता, कार्यकर्ता, स्वयंसेवक, शुभेच्छुक र समर्थकहरूप्रति म हार्दिक धन्यवाद व्यक्त गर्दछु। तपाईंहरूको विश्वास नै हाम्रो शक्ति हो । तपाईंहरूको साथ नै हाम्रो ताकत हो ।’ अध्यक्ष ओलीले भने, ‘निर्वाचनको परिणाम हाम्रो पक्षमा आएन । तर जनताप्रतिको हाम्रो प्रतिबद्धता र सेवाभाव कत्ति पनि कमजोर भएको छैन । हामी जनताकै बीचमा रहनेछौँ, जनताकै लागि काम गरिरहनेछौँ, र विश्वासको यो सम्बन्धलाई अझ बलियो बनाउँदै अघि बढ्नेछौँ । मत दिनुहुने, साथ दिनुहुने, विश्वास राख्नुहुने सबैमा हृदयदेखि धन्यवाद ।’

निर्वाचन प्रहरीको बिदाइ भोलि, विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरिने

0

काठमाण्डौं । फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशभर खटिएका निर्वाचन प्रहरीलाई बिहीबार बिदाइ गरिने भएको छ ।
नेपाल प्रहरीका प्रवक्ता अवि नारायण काफ्लेले निर्वाचन (म्यादी) प्रहरीलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर औपचारिक रूपमा बिदाइ गर्न लागिएको जानकारी दिए ।
उनका अनुसार नेपाल प्रहरीको कार्यविधि अनुसार म्यादी प्रहरीलाई भेला गराई मौखिक रूपमा धन्यवाद दिइनेछ । ‘हामी भोलि उहाँहरूलाई विशेष धन्यवादसहित प्रमाणपत्र प्रदान गरेर बिदाइ गर्छौं । कार्यविधिअनुसार सबैलाई भेला गरेर मौखिक रूपमा पनि धन्यवाद दिने व्यवस्था गरिएको छ,’ उनले भने ।
प्रवक्ता काफ्लेका अनुसार सम्भव भएसम्म कार्यक्रम आयोजना गरी विभिन्न स्थानका कार्यालय प्रमुखहरूको उपस्थितिमा सामूहिक फोटो खिच्ने तथा चियापान कार्यक्रम समेत गरिनेछ ।
उनले म्यादी प्रहरीहरूको कार्यसम्पादन प्रभावकारी रहेको उल्लेख गर्दै उनीहरूको सहयोग, अनुशासन र कर्तव्यनिष्ठाका कारण निर्वाचन शान्तिपूर्ण र व्यवस्थित रूपमा सम्पन्न गर्न सम्भव भएको जनाए ।
‘उहाँहरूको सहयोग, साथ र समर्थनले नै अनुशासन कायम राख्दै कुनै ठूलो घटना बिना चुनावलाई शान्तिपूर्ण, व्यवस्थित र निष्पक्ष रूपमा सम्पन्न गर्न सफल भयौँ,’ काफ्लेले भने । उनले निर्वाचन सफल बनाउन नेपाल प्रहरी का सदस्यहरू, अन्य सुरक्षा निकाय, निर्वाचनमा खटिएका कर्मचारी तथा नेपाल सरकार का विभिन्न निकायहरूको पनि महत्वपूर्ण भूमिका रहेको जनाए ।
नेपाल प्रहरीका अनुसार देशभर सम्पन्न निर्वाचनका क्रममा १ लाख ३३ हजार ९३८ जना म्यादी प्रहरी परिचालन गरिएको थियो ।

पार्टीविरुद्ध गतिविधि गरेको आरोपमा कांग्रेसका ५ जना निष्कासित

0

झापा । नेपाली कांग्रेस झापाको जिल्ला कार्यसमितिले पार्टीहित विपरीत गतिविधि गरेको आरोपमा ३ जनालाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको प्रक्रिया अघि बढाएको छ ।
जिल्ला कार्यसमितिका सदस्यद्वय ठमनाथ नेपाल (झापा) मुना भट्टराई (बुद्धशान्ति) तथा क्षेत्रीय प्रतिनिधिहरू शम्भु खड्का (कन्काई), टेकनारायण सङ्गगौला (कन्काई) र दिपेन्द्र थापा (गौरिगञ्ज) ले केही समयदेखि पार्टीहित विपरीत गतिविधि गर्दै आएको पाइएपछि यस्तो निर्णय गरिएको जनाइएको छ ।
जिल्ला कार्यसमिति झापाको फागुन २६ गते बसेको बैठकले प्रतिनिधिसभा निर्वाचन २०८२ मा पार्टीले उठाएको उम्मेदवारविरुद्ध गतिविधि गर्दै विपक्षी उम्मेदवारको पक्षमा प्रचारप्रसार गरेको निष्कर्ष निकालेको थियो । सोही निर्णयअनुसार उनीहरूलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्कासनको कारबाही गर्न सिफारिस गरिएको छ ।
उक्त निर्णयबारे जानकारी दिँदै नेपाली कांग्रेस झापा जिल्ला कार्यसमिति सचिव कृष्ण हुमागाईंले पार्टी अनुशासन विपरीत गतिविधि गर्नेहरूलाई कारबाही गरिएको जनाएका छन् । कारबाहीका लागि नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिमा सिफारिस गरिएको पनि विज्ञप्तिमा उल्लेख गरिएको छ ।
जिल्ला कार्यसमितिले पार्टीको नीति, अनुशासन र निर्णयको पालना गर्न सबै सदस्यलाई आग्रह समेत गरेको छ ।

इजरायलस्थित नेपाली सुरक्षित, उद्धारको अवस्था आएको छैन ः परराष्ट्र मन्त्रालय

0

काठमाडौं । परराष्ट्रमन्त्री बाला नन्द शर्माले इजरायलमा कृषि क्षेत्रमा कार्यरत नेपाली कामदारहरूको सुरक्षाबारे विभिन्न टिकाटिप्पणी भए पनि त्यहाँ आवश्यक सुरक्षा व्यवस्था रहेको जनाएका छन् ।
बुधबार परराष्ट्र मन्त्रालयमा आयोजित प्रेस ब्रिफिङमा बोल्दै मन्त्री शर्माले इजरायलका धेरै कृषि क्षेत्रमा बंकर (सुरक्षा आश्रय) उपलब्ध रहेको दाबी गरे। उनले आफू स्वयं त्यहाँ पुगेर बंकरको अवस्था अवलोकन गरेको बताउँदै इजरायली पक्ष यस विषयमा गम्भीर रहेको उल्लेख गरेका हुन् ।
उनले भने, ‘इजरायलमा एग्रिकल्चरमा काम गर्नेलाई बंकर उपलब्ध छैन भन्ने कुरा धेरै सुनिएको छ, तर धेरै कृषि क्षेत्रमा बंकर छन्। म आफैं गएको छु, देखेको छु र केही बंकरमा बसेर पनि आएको छु। यस विषयमा इजरायलीहरू गम्भीर छन्।’
मन्त्री शर्माले विदेशमा रहेका नेपाली नागरिकको सुरक्षाप्रति सरकार पूर्ण रूपमा जिम्मेवार रहेको स्पष्ट पार्दै आवश्यक परे उद्धार गर्न सरकार तयार रहेको जनाए ।
‘हाम्रा नागरिक बाहिर अलपत्र परे भने ल्याउन सक्दिन भन्न पाइँदैन। ३० लाख नेपाली पश्चिम एशियामा छन्, उनीहरूको सुरक्षाका लागि योजना बनाएर अघि बढ्नुपर्छ र राज्यलाई निरन्तर सक्रिय बनाउनुपर्छ,’ उनले भने।
यसैबीच परराष्ट्र मन्त्रालयका सचिव अमृतबहादुर राईले पश्चिम एशियामा विकसित घटनाक्रमलाई मन्त्रालयले नजिकबाट नियालिरहेको जानकारी दिए। उनले हालसम्म उक्त क्षेत्रमा रहेका नेपाली नागरिक सुरक्षित रहेको जनाएका छन्।
सचिव राईका अनुसार तत्कालै नेपाली नागरिकलाई उद्धार गरेर स्वदेश फर्काउनुपर्ने जस्तो जोखिमपूर्ण अवस्था अहिलेसम्म देखिएको छैन ।
‘अहिलेसम्मको हाम्रो विश्लेषणअनुसार सुरक्षाकै दृष्टिकोणबाट त्रास, डर वा जीवनमाथिको जोखिम उत्पन्न भएर तत्काल उद्धार गरी ल्याइहाल्नुपर्ने अवस्था छैन,’ उनले भने।
परराष्ट्र मन्त्रालयले पश्चिम एशियामा रहेका नेपाली कूटनीतिक नियोगहरूसँग दैनिक रूपमा बिहान र बेलुका गरी दुई पटकसम्म सम्पर्क गरिरहेको पनि उनले जनाए। सरकारद्वारा गठन गरिएको ‘इमर्जेन्सी रेस्पोन्स टिम’ को बैठकले गरेका निर्णयहरू त्यहाँ रहेका नेपाली नियोगमार्फत निरन्तर कार्यान्वयन भइरहेको उनको भनाइ छ ।
सचिव राईले नेपालमा रहेका परिवारजन र पश्चिम एशियामा बसोबास गर्ने नेपालीहरूलाई अनावश्यक रूपमा विचलित वा चिन्तित नहुन आग्रह गरेका छन्। सरकारले नागरिकको उद्धार गर्न नसक्ने हो कि भन्ने आशंका निराधार भएको जनाउँदै सचिव राईले सरकार आफ्नो नागरिकको सुरक्षा र उद्धार गर्न पूर्ण रूपमा सक्षम रहेको दाबी गरे। उनका अनुसार आवश्यक अवस्था आएमा सरकारले जुनसुकै हालतमा पनि नेपाली नागरिकको उद्धार गर्नेछ ।

बैंक तथा वित्तीय संस्थामा ६ प्रतिशतले बढ्यो निक्षेप

0

काठमाडौं । नेपालमा सञ्चालित बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६ ( प्रतिशत) ४ खर्ब ३३ अर्ब ७१ करोड रुपैयाँ० ले वृद्धि भई रु.७६९७ अर्ब ५९ करोड पुगेको छ ।
विवरण अनुसार अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ३.८ प्रतिशत (२ खर्ब ४५ अर्ब ३४ करोड रुपैयाँ) ले बढेको थियो । वार्षिक विन्दुगत आधारमा २०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप १४.९ प्रतिशतले बढेको छ ।
माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा चल्ती, बचत र मुद्दती निक्षेपको अंश क्रमशः ६.५ प्रतिशत, ४२.८ प्रतिशत र ४१.६ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अंश क्रमशः ५.२ प्रतिशत, ३४.८ प्रतिशत र ५२.४ प्रतिशत रहेको थियो ।
२०८२ माघ मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ३४.३ प्रतिशत रहेको छ । २०८१ माघ मसान्तमा यस्तो निक्षेपको अंश ३५.३ प्रतिशत रहेको थियो।

राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाहरूबाट रु. ३० अर्ब निक्षेप तान्दै

0

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज बैंक तथा वित्तीय संस्थाहरूबाट ३० अर्ब रूपियाँ निक्षेप तान्ने भएको छ ।
आज मध्यान्ह ३ बजे बोलकबोल मार्फत राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट सो बराबरको पैसा तान्ने भएको हो ।
राष्ट्र बैंकले २८ दिनका लागि सो बराबरको निक्षेप तान्न लागेको हो । यसमा बाणिज्य, विकास र वित्त कम्पनी सहभागी हुन सक्नेछन् । उनीहरुले बोलकबोलमा ब्याजदर प्रस्ताव गर्नुपर्ने हुन्छ ।
बैंकहरुले ब्याजदरमा बहुबोलकबोल पनि गर्न सक्नेछन् । त्यसमा सबै भन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकतामा राखिनेछ ।
अहिले बैंकहरूमा अधिक तरलता रहेको छ । त्यसलाई व्यवस्थापन गर्न राष्ट्र बैंकले पटक पटक बोलकबोलबाट पैसा तान्दै आएको छ । सोही क्रममा आज राष्ट्र बैंकले ३० अर्ब रूपियाँ निक्षेप बोलकबोल गर्न लागेको हो ।
आजको बोलकबोलमा बैंकहरुले घटीमा १० करोड रूपियाँ र बढीमा ५ करोडले भाग गर्दा निशेष भाग जाने गरी कुल आह्वान रकमसम्म प्रस्ताव गर्न सक्नेछन् । बैंकहरूले यसरी राष्ट्र बैंकमा राखेको निक्षेप यस बैंक बाहेक अन्य बैंक तथा वित्तीय संस्थामा पनि धितोको रुपमा प्रयोग गर्न सक्नेछन् ।
२८ दिन अर्थात् आगामी २०८२ चैत २५ गते बैंकहरुलाई सावाँ र ब्याज भुक्तानी गरिनेछ । कर्जाको माग न्यून हुँदा अहिले बैंकहरुमा पैसा थुप्रिएको छ । त्यो अवस्थामा बैंकहरुलाई तरलता व्यवस्थापन गर्न यो उचित विकल्प हुने देखिन्छ ।

ग्यासको अनावश्यक भण्डारण नगर्न र बिजुलीको खपत बढाउन निगमको आग्रह

0

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थ तथा ग्यासको आवश्यक परिमाणमा मात्र खरिद तथा प्रयोग गर्न आग्रह गरेको छ ।
निगमले आज विज्ञप्ति जारी गर्दै मासिक एक सिलिन्डर खपत हुने अवस्थामा अरु सिलिन्डर नभर्न, अनावश्यक भण्डारण नगर्न र ग्यासको सट्टा बिजुलीको खपत बढाउन आग्रह गरेको हो ।
नेपाल पेट्रोलियम पदार्थमा पूर्ण रूपमा आयातमा परनिर्भर रहेको अवस्थामा यसको खपतमा केही सुरक्षात्मक प्रबन्ध गर्न जरुरी रहेको निगमले स्पष्ट पारेको छ ।
अनावश्यक रूपमा ग्यास सिलिन्डर होल्डिङ गरेको पाइएमा, बढी मूल्य लिइ ग्यास तथा पेट्रोलियम पदार्थ बिक्री गरेमा, नयाँ सिलिण्डरको बजारीकरण गरेको पाइएमा कारबाही हुने निगमले जनाएको छ ।
निगमद्वारा जारी विज्ञप्तिमा भनिएको छ, “औद्योगिक प्रयोगमा पेट्रोलियम पदार्थ तथा ग्यासको खपत कम गर्ने, इन्धन तथा एलपी ग्यासको आयात र बिक्री वितरणको अवस्था नियमित भइरहेको एवं आगामी दिनमा पनि निरन्तर हुँदै जाने भए तापनि मध्यपूर्वमा देखिएको समस्याका कारण विश्वमा पर्ने प्रभावबाट नेपाल पनि अछुत हुन नसक्ने सम्भावनालाई दृष्टिगत गरी आवश्यक परिणाममा मात्र इन्धन तथा ग्यास खरिद गर्न र अनावश्यक भण्डारण नगर्न अनुरोध छ ।”

लेटेष्ट समाचार

ट्रम्पको ‘अल्टिमेटम’ ः बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि बम बर्सिनेछ

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई बुधबारसम्म कुनै सम्झौता नभए इरानमाथि व्यापक बमबारी सुरु हुने चेतावनी दिएका छन् । यसअघि युद्धविराम मंगलबार समाप्त...

सडक सीमाभित्रका अवैध संरचना वैशाख १० भित्र हटाउन अल्टिमेटम

रौतहट । सडक डिभिजन कार्यालय हेटौंडाले महेन्द्र राजमार्ग र त्रिभुवन राजपथअन्तर्गत पर्ने सडक सीमाभित्र निर्माण गरिएका अवैध घर तथा टहराहरू हटाउन अन्तिम चेतावनी दिएको...

भारतसँग जोडिएको पूर्वी सीमा बन्द

काठमाण्डौं । भारतको पश्चिम बङ्गाल प्रान्तमा हुने विधानसभाको चुनावलाई लक्षित गर्दै सोमबार साँझदेखि ७२ घण्टाका लागि पूर्वी सीमा नाका बन्द गरिएको छ। भारतको दार्जिलिङ जिल्ला...