काठमाडौँ । निर्वाचन आयोगले समानुपातिकतर्फ ८ निर्वाचन क्षेत्रको मतगणना बाँकी रहेको जनाएको छ ।
आयोगका अनुसार, संखुवासभा, इलाम १, अछाम २, बाजुरा, गोरखा १ र २, तथा धनुषा १ र २ मा मात्रै समानुपातिकको मत गणना शुरु हुन बाँकी रहेको हो ।
अहिलेसम्म धनुषा ३, महोत्तरी १, सर्लाही २, बारा १, २, ३ र ४, रौतहट १, पर्सा १, २ र ४ को मतगणना सकिएको छ ।
यस्तै, रसुवा, सिन्धुली १ र २, दोलखाको मतगणना सकिएको छ ।
यस्तै, कञ्चनपुर १, २ र ३, दार्चुला, डडेल्धुरा, बझाङ, डोटी, कैलाली १मा मतगणना सकिएको छ ।
यस्तै, ताप्लेजुङ, धनकुटा, झापा ३, मोरङ २,३,४ र ६, सुनसरी ३, तेह्रथुम, उदयपुर २ को पनि मतगणना सकिएको छ ।
यस्तै, गुल्मी १, रोल्पा, रुकुम पश्चिम, बाँके १, २ र३, अर्घाखाँची, कपिलवस्तु २, दाङ २ र ३, पर्वत, तनहुँ, कास्की, लमजुङ, नवलपरासी पूर्व १ र २, मुस्ताङ, म्यादी, स्याङ्जा १, मनाङ, बाग्लुङ, काठमाडौँ १ देखि १०का सबै, भक्तपुर १ र २, ललितपुर १ र ३ मा पनि मतगणना सकिएको छ ।
बाँकी क्षेत्रको मतगणना जारी छ ।
८ निर्वाचन क्षेत्रको समानुपातिक मतगणना बाँकी, कहाँ कहाँ सकियो मतगणना ?
खुलेको १ मिनेटमै सेयर बजारमा सर्किट ब्रेक
काठमाण्डौं । प्रतिनिधिसभाको निर्वाचन पछि खुलेको सेयर बजारमा सर्किट ब्रेक लागेको छ ।
कारोबार सुरु भएको १ मिनेटमै पहिलो सर्किट ब्रेक लागेको हो । बजार १०८ अंक (४ प्रतिशत) ले बढेर कारोबार २० मिनेटका लागि स्थगित गरिएको छ ।
यस अवधिमा १८ करोडको कारोबार भएको छ ।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रचण्ड बहुमत ल्याएपछि राजनीतिक स्थिरता हुने अपेक्षाले लगानीकर्ताको मनोबल उच्च हुँदा सोमबार खुलेको शेयर बजारमा सुरुवातमै तीव्र उछाल देखिएको हो ।
लगानीकर्ताहरूले नयाँ सरकारबाट नीतिगत स्थिरता आउने र त्यसले अर्थतन्त्रमा सुधार ल्याउने अपेक्षा गरेपछि बजारमा खरिद चाप बढेको विश्लेषकहरू जनाउँछन । यही कारण बजार खुल्नासाथ अधिकांश कम्पनीहरूको मूल्य उच्च दरमा बढेको देखिएको छ ।
राजेन्द्र महतोको जमानत जफत
काठमाण्डौं । प्रतिनिधिसभा सदस्य निर्वाचनमा सर्लाही–२बाट उम्मेदवार बनेका राष्ट्रिय मुक्ति पार्टी नेपालका अध्यक्ष एवम् पूर्व उपप्रधानमन्त्री राजेन्द्र महतोको जमानत जफत भएको छ।
सो क्षेत्रमा महतोसहित २९ जनाको जमानत जफत भएको हो । त्यसमा १७ जना स्वतन्त्र उम्मेदवार छन्।
जमानत जोगाउन यस क्षेत्रका उम्मेदवारले सदर ७२ हजार ३८१ मतको १० प्रतिशतले हुन आउने सात हजार २३९ मत प्राप्त गर्नुपर्ने छ। सम्पन्न मतगणनाको परिणाम अनुसार महतोले पाँच हजार ९९२ मत मात्र प्राप्त गरेका हुन्।
प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्षतर्फ खसेको कुल सदर मतको १० प्रतिशत भन्दा कम मत ल्याएको अवस्थामा उम्मेदवारको जमानत अर्थात् उम्मेदवारी दर्ता गर्दा राखेको रकम जफत हुने कानुनी व्यवस्था छ। उम्मेदवारबाट जफत भएको रकम राज्यकोषमा जाने निर्वाचन आयोगले उल्लेख गरेको छ।
महतोले कुल सदर मतको १० प्रतिशत मत समेत प्राप्त गर्न सकेनन्।
त्यस क्षेत्रबाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रविन महतो निर्वाचित भएका छन् ।
महतोले ४२ हजार ५१२ मत सहित निर्वाचित भएका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कम्युनिष्ट पार्टीका महिन्द्र राय यादवले जम्मा ८ हजार ५२३ मत प्राप्त गरे । महतो तेस्रो स्थानमा रहे ।
यस क्षेत्रमा कुल एक लाख २५ हजार ३११ मतको ६२.०८ प्रतिशत अर्थात् ७७ हजार ७८९ मत खसेको थियो। त्यसमध्ये यहाँ ७२ हजार ३८१ मत सदर र पाँच हजार आठ मत बदर भएको छ।
सर्लाहीका चारवटै निर्वाचन क्षेत्रबाट उम्मेदवारी दिएका १५४ जनाको जमानत जफत भएको छ। निर्वाचन ऐन अनुसार कुल सदर मतको १० प्रतिशत प्राप्त गर्न नसक्ने उम्मेदवारको जमानत जफत हुने व्यवस्था छ।
जमानत जफत हुनेमा पूर्वमन्त्रीदेखि निवर्तमान प्रतिनिधिसभा सदस्यसमेत छन्।
यस पटक जिल्लाका चारवटै क्षेत्रमा निर्वाचित उम्मेदवारले भारी मत प्राप्त गर्दा जमानत गुमाउने उम्मेदवारको सङ्ख्या ह्वात्तै बढेको हो।
पूर्वसभामुख घिमिरेलाई हराउँदै पूर्वउपसभामुख रानामगर निर्वाचित
झापा । झापा निर्वाचन क्षेत्र नम्बर २ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार इन्दिरा रानामगर निर्वाचित भएकी छन् ।
पूर्वउपसभामुखसमेत रहेकी रानामगरले पूर्वसभामुखसमेत रहेका नेकपा (एमाले) का देवराज घिमिरेलाई ४८ हजार ७४२ मतान्तरले पराजित गरेकी हुन् ।
आइतबार मध्यराति घोषणा गरेको अन्तिम मतपरिणामअनुसार रास्वपाकी रानामगरले ६० हजार ११० मत प्राप्त गरेकी हुन् ।
निकटतम प्रतिस्पर्धी रहेका घिमिरेले ११ हजार ३६८ मत मात्र प्राप्त गरे । रानामगर लगातार दोस्रोपटक सांसद भएकी हुन् । यसअघि २०७९ मा उनी रास्वपाको समानुपातिक सूचीबाट सांसद भएकी थिइन ।
एमालेको ‘गढ’ मानिएको झापा– २ मा रास्वपाकी रानामगरले इतिहासमै सर्वाधिक मतान्तरले जित हासिल गरेकी हुन् । २०७९ मा देवराज घिमिरे २८ हजार ७१६ मत ल्याउँदै प्रतिनिधिसभा सदस्य पदमा निर्वाचित भएका थिए ।
श्रम संस्कृति पार्टीले पनि खोल्यो खाता, खोटाङमा आरेन राई विजयी
खोटाङ । श्रम संस्कृति पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचन २०८२ मा खाता खोलेको छ ।
खोटाङमा श्रम संस्कृति पार्टीका आरेन राई विजयी भएसँगै यो पार्टीले प्रतिनिधिसभा सदस्य निर्वाचनमा खाता खोलेको हो । १६ हजार ६१२ मत ल्याएर राई विजयी भएका हुन् ।
नेकपा एमालेका देवबिक्रम राईले १२ हजार ७१४ मत ल्याएका छन् ।
नेपाली कांग्रेस्का वीरकाजी राईले ११ हजार ९५७ मत ल्याउँदा नेपाली कम्युनिस्ट पार्टीका हरि रोकाले ९ हजार ४४३ मत ल्याएका छन्
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का रुद्र गिरीले ५ हजार ७०४ मत प्राप्त गरेका छन् ।
टी–२० विश्वकपको उपाधिका लागि आज भारत र न्युजिल्याण्ड भिड्दै
काठमाडौं । टी–२० विश्वकपको फाइनल आज डिफेन्डिङ च्याम्पियन भारत र न्युजिल्याण्डबीच हुँदैछ ।
फाइनल खेल अहमदाबादको नरेन्द्र मोदी रंगशालामा नेपाली समयअनुसार साँझ ७ः१५ बजे सुरु हुनेछ । टस साँझ ६ः४५ बजे हुनेछ । यी दुई टोली फाइनलमा पहिलोपटक भिड्न लागेको हो ।
भारतीय टोलीले टी–२० विश्वकपको इतिहासमा न्युजिल्याण्डलाई हराउन सकेको छैन । दुई टोली तीन पटक आमनेसामने भएका छन् र भारतीय टोली तीनै पटक हारेको छ । साथै, आजसम्म न्युजिल्याण्डको टोलीले टी–२० विश्वकप जित्न पनि सकेको छैन ।
भारतीय टोली दुई पटक च्याम्पियन भइसकेको छ र चौथो फाइनल खेल्न लागेको हो । जारी विश्वकप भारतीय टोलीको प्रदर्शन उत्कृष्ट रहेको छ । आजको फाइनल खेल निकै रोमाञ्चक र प्रतिस्पर्धात्मक हुनेछ ।
सुदूरपश्चिममा एमालेले खोल्यो खाता, बझाङबाट महर निर्वाचित
बझाङ । बझाङबाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका ऐन महर निर्वाचित भएका छन् । महरको जितसंगै एमालेले सुदूरपश्चिम प्रदेशमा आफ्नो खाता खोलेको हो ।
महरले १८ हजार ५४३ मत प्राप्त गरे । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।
यस्तै, नेकपाका मीनबहादुर कुँवरले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंहले ९ हजार २६३ मत प्राप्त गरेका छन् ।
पर्सा–१ र बारा–३मा रास्वपाका उम्मेदवार निर्वाचित
काठमाण्डौं । पर्सा–१ र बारा–३मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवारहरू विजयी भएका छन् ।
दुईपल्ट सांसद र तीनपटक मन्त्री बनेका प्रदीप यादवलाई फराकिलो मतान्तरले हराउँदै पर्सा–१ मा रास्वपाका बुद्धिप्रसाद पन्त विजयी भएका छन् ।
उनले एमालेका उम्मेदवार यादवलाई १४ हजारभन्दा बढी मतान्तरले पछि पारेका हुन् ।
पन्तले २७ हजार २७४ मत प्राप्त गरे । उनका निकटम प्रतिस्पर्धी यादवले १३ हजार ३० मत ल्याए ।
तेस्रो स्थानमा रहेका नेपाली कांग्रेसका उमेदवार अनिल रुंगटाले ११ हजार ८८५ मत प्राप्त गरेका कार्यालयले जनाएको छ ।
यस्तै, बारा––३ मा पनि रास्वपाका उम्मेदवार अरविन्द साह विजयी भएका छन्।
साह ४० हजार ६ सय ९७ मतसहित निर्वाचित भएका हुन्। उनका निकटम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका फर्मुल्लाह मन्सुरले १० हजार ५२ मत पाए।
रुपन्देही–२ मा ४३ हजार ६८९ मतान्तरसहित रास्वपाका सुलभ खरेल विजयी
बुटवल । रुपन्देही–२ मा रास्वपाका सुलभ खरेल विजयी भएका छन् ।
उनले ५६ हजार ५५० मत पाए । उनका निकटतम प्रतिस्पर्धी एमालेका विष्णु पौडेले १२ हजार ८६१ मत पाए ।
खरेल ४३ हजार ६८९ मतान्तरसहित विजयी बनेका हुन् ।
यस्तै, कांग्रेसका चुन्न पौडेलले नौ हजार ३९२ पाए ।
ललितपुर–१ मा कांग्रेसका उदय शमशेर अगाडि
काठमाण्डौं । ललितपुर–१ मा प्रारम्भिक मतगणनामा उदयशम्शेर राणाले अग्रता लिएका छन्।
हालसम्मको मतपरिणामअनुसार नेपाली कांग्रेसका उम्मेदवार जबराले १ हजार ५५१ मत प्राप्त गरेका छन्।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ७१० मत प्राप्त गर्दै दोस्रो स्थानमा रहेका छन्। यस्तै एमालेका चेतनाथ सञ्जेलले ५९५ मत प्राप्त गरेका छन् भने नेपाल कम्युनिष्ट पार्टीका सुनिल महर्जनले १६८ मत प्राप्त गरेका छन्।

















